अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल चितवनमा बन्दै, करिब २५ करोडको लागत लाग्ने
चितवन, १९ जेठ । सरकारले बजेट विनियोजन गरेपछि भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनीस्थल निर्माण हुने भएको छ । उद्योग सङ्घ चितवनको अगुवाइमा भरतपुरको घरेलु तथा साना उद्योग कार्यालय परिसरमा प्रदर्शनी स्थलको निर्माण हुने भएको हो । आव २०७३/७४ मा स्थल निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको छ । प्रदर्शनी निर्माण समितिका संयोजक कृष्णप्रसाद अधिकारीका अनुसार २५ करोड रुपैयाँको लागतमा प्रदर्शनी स्थल निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ । निर्माणका लागि १५ करोड रुपैयाँ सरकारसँग माग गरिएको थियो । बजेटमा रकम उल्लेख गरेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सात करोड ५० लाख रुपैयाँ बजेटमा विनियोजन गरेका छन् । बाँकी रकम अन्य क्षेत्रबाट उपलब्ध गराउने आश्वासन दिइएको संयोजक अधिकारीले बताए । नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष समेत रहेएका अधिकारीका अनुसार अपुग रकम परिसङ्घ, उद्योगी व्यवसायी र दातृ निकायबाट जुटाइदै छ । आउँदो वर्षको असार मसान्तसम्ममा काम सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको उनले बताए । प्रदर्शनी केन्द्र ५१ हजार वर्गफिटको हुनेछ । सँगै ठूला उपकरण प्रदर्शनी गर्नका लागि ३० हजार वर्गफिट व्यवस्थित खुला ठाउँ समेत रहने छ । प्रदर्शनी केन्द्रमा तीन हजार वर्गफिटको सूचना केन्द्र हुनेछ । उद्योग, कृषि, पर्यटनलगायतको सूचना उपलब्ध गराइने छ । प्रदर्शनी केन्द्रमै दुई हजार ५०० वर्गफिटको बाल उद्यान केन्द्र समेत निर्माण गरिँदैछ । सँगै दुई हजार वर्गफिटमा खाना र परिकारका कक्ष रहने बताइएको छ । प्रदर्शनी केन्द्रको मुख्य भागमा २५० वटा कक्ष एकैसाथ राख्न मिल्नेछ भने राष्ट्रिय र अन्तर्राष्ट्रिय उत्पादन प्रदर्शनी गर्न सकिने छ । दसैँ र तिहारमा मेला हुनेछ भने अन्य समयमा नियमित प्रदर्शनी भइरहने छ । चालीस वर्षअघि भृकुटीमण्डपमा निर्माण गरिएको प्रदर्शनी केन्द्र पछिको अत्याधुनिक देशकै प्रदर्शनी केन्द्र यही नै हुने अधिकारीको दाबी छ । प्रदर्शनी केन्द्रले उत्पादित सामग्रीलाई बजारीकरण गर्न र उद्योगी व्यवसायीलाई नयाँ उत्पादन बजारमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । सरकारले ३० वर्षका लागि घरेलु तथा साना उद्योग कार्यालयको मातहतमा रहेको दुई बिगाहा साढे सात धुर जग्गा प्रदर्शनी केन्द्रलाई उपलब्ध गराएपछि सोही जग्गामा प्रदर्शनी केन्द्र निर्माण गर्न लागिएको उद्योग सङ्घका उपाध्यक्ष भेषराज दुवाडीले बताए । बाह्रै महिना प्रदर्शनी हुने हुँदा स्वदेशी र विदेशी ठूलो सङ्ख्यामा पर्यटक जिल्ला भित्रिने उनको भनाइ छ । चितवनमा एक लाख ७३ हजारसम्म पर्यटक भित्रिएको तथ्याङ्क छ । केन्द्र नजिकैको दूरसञ्चार कार्यालयदेखि बाइपास रोडसम्मको सडकलाई प्रदर्शनी मार्ग नाम दिएर प्रचारसमेत गर्न थालिएको छ । रासस
नेपाल–चीन उद्योग वाणिज्य संघद्धारा आयोजित ‘इन्भेस्टमेन्ट इन् नेपाल’ सम्मेलन सम्पन्न
काठमाडौं, १४ जेठ । चीनको कमिसन अफ इन्ड्रस्ट्री एण्ड इनफरमेसन टेक्नोलोजी अफ गन्सु प्रोभिन्सका उप–निर्देशक जङ्ग फुकीको नेतृत्वमा १३ सदस्यीय व्यापारिक टोली नेपाल भ्रमणमा आएको सन्दर्भमा नेपाल–चीन उद्योग वाणिज्य संघले इन्भेस्टमेन्ट इन् नेपाल विषयक एक सम्मेलनको आयोजना गरियो । कार्यक्रममा दुई देश बीच लगानी, आर्थिक, व्यापारिक तथा पर्यटन विस्तार गर्ने सम्बन्धमा छलफल भएको छ । सो अवसरमा संघका अध्यक्ष राजेश काजी श्रेष्ठले दुई देशबीचको सुमधुर सम्बन्धको चर्चा गर्दै, दुई देशबीच लगानी बृद्धि, आर्थिक व्यापारिक सम्बन्ध विस्तारका लागि आग्रह गरेका छन् । उनले नेपालमा जलविद्युत, पर्यटन, कृषिजन्य उत्पादन, सिमेन्ट, निर्माण, जडिजुटी क्षेत्रमा लगानी गर्न अनुरोध गरे । साथै गान्सु प्रान्तमा हुने व्यापार मेलाहरुमा नेपाली व्यवसायीहरु भाग लिन इच्छुक रहेको र गान्सु शहरमा नेपाली उत्पादनहरु प्रवद्र्धनका लागि अनुरोध गरेका छन् । कार्यक्रममा उपनिर्देशक जङ्ग फुकीले नेपाली व्यवसायीहरुसँग द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्ने जस्तो महत्वपूर्ण विषयमा छलफल गर्न पाएकोमा आभार व्यक्त गरेका थिए । गान्सुको लान्जाउबाट सिगात्से सम्म रेल आइपुगेको हुँदा यसबाट दुई देशबीचको व्यापार तथा सम्बन्ध अझ विस्तार हुने बताए । साथै संघ तथा सि.सी.पी.आइ.टी. गान्सु प्रान्त बीच सम्बन्ध विस्तारका लागि समझदारी पत्रमा समेत हस्ताक्षर भएको थियो । साथै द्विपक्षीय लगानीका लागि संघले ६ वटा नेपाली तथा चीनिया कम्पनीहरुबीच सम्झदारी पत्रमा हस्ताक्षर गरेको छ ।
बरियारपुरबाट उद्योगपति केडियाको अपहरण, अपहरणकारीको गोली प्रहारबाट चालक गम्भीर घाइते
पर्सा, १४ जेठ । वीरगन्जका उद्योगपति सुरेश केडियालाई बिहिबार साँझ बाराको बरियारपुरबाट अज्ञात समूहले अपहरण गरेको छ । कामविशेषले बरियारपुर गएका उद्योगपति केडियालाई बाराकै पशाहपुल नजिकैबाट अपहरण गरिएको हो । बा१०च ७२४० नंको जिपमा सवार भई वीरगन्जतर्फ आउने क्रममा हतियारधारीले चालक पर्सा, बिन्ध्यवासिनी निवासी श्यामउनेश साहलाई गोली हानी उद्योगपति केडियालाई अपहरण गरी लगेको अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जका वरिष्ठ प्रहरी उपरीक्षक नारायणसिंह खड्काले जानकारी दिए । उनले घाइते चालक साहको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको बताए । उद्योगपति केडियाको खोजी भइरहेको छ । घाइते साहको अवस्था गम्भीर रहेको र उनको थप उपचारका लागि काठमाडौँ सिफारिस गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । रासस
मापदण्ड विपरितका घर असोज भित्र भत्काइ सक्नु पर्ने
८ जेठ । नक्सा पास नगरी बनाएका तथा स्वीकृत नक्सा र मापदण्डभन्दा बढी तल्ला बनाएका घरधनीले बढी बनाएको तल्ला आफैले भत्काउनु पर्ने भएको छ । सरकारले तयार पार्दै गरेको पुननिर्माण सम्बन्धि कार्य योजनामा घरधनी आफैले आगामी असोज मसान्तभित्रमा त्यस्ता घर भत्काउनु पर्ने ब्यवस्था गर्न लागिएको हो । प्रधानमन्त्री कार्यालयले तयार पारेको सो कार्ययोजनालाई मन्त्रिपरिषले आर्थिक तथा पूर्वाधार विकास समितिमा पठाउने निर्णय गरेको छ । सो समितिले पारित गरेपछि कार्ययोजना कार्यान्वयन हुने छ । कार्ययोजनामा आगामी असोज मसान्तभित्रमा मापदण्ड वाहिरका संरचना भत्काउन सम्बन्धित घर धनीलाई आग्रह गरिने उल्लेख गरिएको छ । समय भित्रमा घरधनी आफैले संरचना नभत्काएमा सम्बन्धित महानगरपालिका/नगरपालिका वा गाविसले भत्काउने र त्यसको खर्च सम्बन्धित घरधनीवाट असुल गरिने प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिए । ‘नक्सापास नगरी बनाएका तथा स्वीकृत नक्सा र मापदण्डभन्दा बढी तल्ला बनाएका घरको बढी बनाइका तल्ला घरधनी आफैले भत्काउन आग्रह गरिन्छ,’ सचिव सुवेदीले भने– आगामी असोजमसान्त भित्रमा घरधनीले नभत्काए सम्बन्धित स्थानीय निकायले भत्काउने र त्यसको खर्च घरधनीवाट असुल गर्ने कार्ययोजना बनाउदै छौं । यस्तो कार्ययोजना केहि दिन भित्रै सार्वजनिक गर्ने तयार भएको सचिव सुवेदीले जानकारी दिए । यस्तै ५ बर्षयता बनेका सरकारी र अन्य सार्वजनिक भवन भत्किनुको कारण खोजी गरिने भएको छ । यस्तो कारण खोजी गर्न अधिकार सम्पन्न आयोग बनाउने र कुनै सरकारी अधिकारीको कमजोरीको कारण यस्तो भएको पाइए कारवाही गर्ने सरकारको तयारी छ । सरकारले तयार पारेको कार्ययोजनामा स्वीकृत नक्सा, मापदण्ड, गुणस्तर र प्रक्रिया जस्ता कुरा पूरा गरेर ५ बर्षभित्र बनेका सरकारी भवन, ब्यापारिक मल, सिनेमा हल, अपार्टमेन्ट जस्ता सार्वजनिक भवन भत्किएको भएमा कसको कमजोरीवाट भएको हो सोको छानविन गरी प्रतिवेदन पेश गर्न अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठन गर्ने भनिएको छ । यस्तो आयोगले गरेको सिफारिसको आधारमा कुनै सरकारी कर्मचारी वा निर्माणकर्ताको कुनै कमजोरी पाइएमा हदैसम्मको कारवाही गरिने सचिव सुवेदीले जानकारी दिए ।
पीडावासीको पीडा पुछ्दै प्रगतिशील मञ्च
काठमाडौं, २५ बैशाख । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले भुकम्पपीडितलाई राहत वितरण गरेको छ । मञ्च नेकपा एमाले निकट व्यवसायीको संस्था हो । मञ्चका अध्यक्ष नरेश गेलालको नेतृत्वमा गएको टोलीले धादिङको पीडा गाविसका करिब ३ सय परिवारलाई वितरण गर्ने गरी १५ थान त्रिपाल, १४० बोरा चामल, १५ बोरा चिउरा, १०० केजी दाल, १०० केजी नुन र १०० केजी चिनी, १५० लिटर तेल, ५० कार्टुन चाउचाउ तथा चियापत्ती, औषधि, साबुन, लगायतका सामग्री स्थानीय समितिलाई हस्तान्तरण गरेको बताइएको छ । सो क्षेत्रमा त्रिपालको माग अत्यधिक भए पनि विक्रेताले उपलब्ध गराउन नसक्दा बिहीबार १५ वटा मात्रै वितरण गरिएको र १३५ वटा शुक्रबार वितरण गरिने मञ्चले जनाएको छ । अध्यक्ष गेलाल, महासचिव राजेन्द्र भण्डारी र व्यवसायीहरु सरोज पोखरेल, कमल सापकोटा बलबहादुर तामाङ, कुमार केसी, एलपी साँवा, हरि थापा, भीष्मराज शर्मा , तथा एससीएम मेनपावरका कर्मचारीहरु संलग्ने टोलीले भूकम्पका कारण ज्यान गुमाएका २ जनाको परिवारलाई नगद १० हजारसमेत प्रदान गरेको थियो । सो गाविसमा ९० प्रतिशत घरमा क्षति पुगेको, ३ सय जना घाइते भएको, १२० जना जति अभैm उपचाररत रहेको र ५ जनाले ज्यान गुमाएको सो गाविसका स्थानीय बासिन्दासमेत रहेका भण्डारीले बताए । यसअघि गत आइतबार मञ्चले सिन्धुपाल्चोकको मेलम्ची अध्यक्ष नरेश गेलालको नेतृत्वमा ११० बोरा चामल, १०० बोरा दाल, १०० लिटर खाने तेल, १०० किलो नुन, १२० थान त्रिपाल, १२० थान म्याट्रेस लगायतका सामग्री वितरण गरेको थियो ।
पुरुष सौन्दर्य प्रतियोगिता जेठ ३० गते, पहिलो हुनेलाई नगद एक लाख
८ जेठ/प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल (पुरुष सौदर्य) प्रतियोगिता जेठ ३० गते राजधानीको आर्मी क्लवमा हुने भएको छ । १८ देखि ३० वर्ष उमेरका आकर्षक व्यक्तित्व भएका कम्तिमा ५ फिट ८ इन्च उचाई भएका नेपाली युवाहरुले यस प्रतियोगितामा भाग लिन सक्नेछन् । प्रतियोगितामा भाग लिन चाहानेले जेठ १ गतेसम्म आवेदन गर्नु पर्नेछ । प्रतियोगितामा पहिलो विजेतालाई १ लाख, दोस्रो विजेतालाई २० हजार, तेस्रो विजेतालाई १० हजार रुपैयाँ दिईने छ । त्यस्तै, रियल ट्यालेन्ट र प्रोस्टाईल बेष्ट हेयर विजेतालाई पनि १०/१०हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यस प्रतियोगिता आयोजना गर्नको लागि डावर नेपालमो मेल ग्रुमिङ रेन्जले गु्रप अफ इभेन्ट इन्टरटेनर्स सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । ग्रुप अफ इभेन्ट इन्टरटेनर्सका प्रबन्ध निर्देशक अनुप सक्सेना प्रोस्टाइल जस्तो प्रतिष्ठित ब्र्राण्डसँग आवद्ध भई यस्तो कार्यक्रम गर्न पाउनु खुशीको विषय भएको बताए । डाबर नेपालका मार्केटिङ्ग प्रमुख अभय प्रसाद गोर्खालीले यस वर्षको म्यानहन्ट इन्टरनेशनललाई अझै ठूलो र राम्रो बनाउन सहयोग गर्ने बताए । युवाहरुलाई यस्तो व्यक्तित्व निखार्ने प्रतियोगितामा भाग लिन प्रोत्साहन गर्ने उदेश्यले पुरस्कारको पनि व्यवस्था गरिएको उनले बताए ।
पैसा कमाउनेलाई बधाई, खुशी बाढ्नेलाई ताली
३ फागुन, विकासन्युज । एक वर्षमा २० अर्ब सम्पत्ति थपेर फोब्स म्यागजिनमा नाम माथि उक्लिएपछि दाजु विनोद चौधरीलाई गत साता बधाई थाप्न भ्याईनभ्याई । तर उनका भाई बसन्त चौधरी अर्कै संसारमा रमाईरहेका थिए । उनी ‘दभ इन द एयर’मा मनाउन व्यस्त थिए । उनीलाई भ्यालन्टाइड डेमा दर्शकलाई प्रेम कहानी कविता सुनाउन आतुर थिए । फेब्रअरी १४, फागुन दुई, भ्यालेन्टाइन डे, छातीमा रातो गुलाब टाँसेर बसन्त चौधरी राजधानीको रंगिन मञ्चमा उक्लिए र गाएः ‘तिम्रो मायामा म बहकिएँ यसलाई म हार भनूँ कि जित’ कवि तथा गीतकार बसन्त चौधरीले कविता पाठ गर्दा दीर्घाका श्रोताहरूले साँचो अर्थमा प्रेमिल दिवसको अनुभूति गरे । ‘भ्यालेन्टाइन डे’ का अवसरमा फागुन २ गते राजधानीमा आयोजित ‘लभ इन दी एयर’ अन्तर्गत कवि चौधरीले आफूले २२ वर्षअघि रचेकादेखि हालै रचेकासम्म झन्डै डेढ दर्जन प्रेमिल कविता स्ुनाउँदा श्रोताहरू उमङ्गले झुमेका थिए । पे्रम नै जीवनको सार हो, राष्ट्रभक्तिभन्दा अर्को ठूलो भक्ति छैन र शान्तिका लागि सबैले आ–आफ्नो ठाउँबाट हरसम्भव प्रयत्न गर्नुपर्छ भन्ने मान्यतामा दृढ देखिए कवि चौधरी । चौधरीले कविता वाचन गर्ने क्रममा भने, ‘प्रेमलाई सजिलै व्यक्त गर्न सकिँदैन, सीमित शव्दमा यो व्यक्त हुनै सक्तैन । उनको आफ्नो अभिव्यक्ति थियो, ‘यो खालि हृदयले बुझ्छ र यसैले मात्र व्यक्त गर्न सक्छ । प्रेमले लपक्क भिजेका शव्द र वाक्यहरू पाठ गरिरहँदा श्रोता हर्षोल्लासले उम्लिएर कर्तलध्वनिले समर्थन गरिरहेका देखिन्थे । पाका प्रेमीहरू हल्लाका बीचमा हल्का ताली बजाउँथे भने नवयुवाहरू दिल खोलेर आफ्ना प्रेमिल अभिव्यक्ति साटिरहेका देखिन्थे । कवि चौधरीले कविता पाठ गरिरहेकै अवसरमा जब एउटा आफ्नो हिन्दी गजल स–स्वर स्ुनाए अनि श्रोता झन् रोमाञ्चित भएर हत्केला तातुन्जेल ताली बजाए । पाँचवटा पुस्तक, आठवटा सीडी एल्बम र ९० वटा गीत रेकर्ड गरिसकेका कवि–गीतकार चौधरीका प्रेमिल दिवसकै अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, ललिककला प्रज्ञा–प्रतिष्ठान र सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति त्रय क्रमशः गङ्गाप्रसाद उपे्रती, राघिनी उपाध्याय र सरुभक्तले गीतकार चौधरीका तीनवटा नवीनतम गीति एल्मबहरूको संयुक्त रुपमा विमोचन पनि गरेका थिए । यी एल्बमहरूमा वसन्त बेला, ‘कुछ ख्वाइशें कुछ बन्दिशें’ र ‘मुमेन्ट्स् अफ लभ’ थिए । सो अवसरमा गायक–गायिकाहरूमध्ये विश्व नेपाली, वाणिका प्रधान, मनोज राई, पवनराई र प्रकाश रसाइलीले एल्मबका नेपाली तथा हिन्दी गीत–गजलहरू गाएर स्ुनाएका थिए ।
पूर्णागिरिको मेलासँगै व्यापार बढ्यो
भीमदत्तनगर, २ वैशाख । भारतको उत्तराखण्डस्थित पूर्णागिरिमा मेला सुरु भएसँगै कञ्चनपुरको भीमदत्तनगर र ब्रह्मदेव बजारमा व्यापारिक कारोबार दोब्बरले बढेको छ । फागुनदेखि जेठ महिनासम्म लाग्ने मेला अवधिमा यहाँस्थित सिद्धनाथ मन्दिरमा आउने भारतीय दर्शनार्थीका कारण व्यापार बढेको हो । “दैनिक २० हजारभन्दा बढी भारतीय तथा नेपाली दर्शनार्थी सिद्धबाबाको दर्शनका लागि आउने गरेका छन्,” कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष माधवप्रसाद जोशीले भने, – “किनमेलका कारण व्यापार बढेको छ ।” यहाँका व्यापारीले तीन महिनाको मेलामा कमाएको पैसाले बाँकी नौ महिना घरखर्च धान्ने गरेका छन् । अरु समय दैनिक रु चार÷पाँच हजारको बिक्री हुने गरेकामा अहिले दैनिक रु २० देखि रु ३० हजारसम्म बिक्री हुने गरेको महेन्द्रनगर बजारका व्यापारी इन्द्रबहादुर बम बताउछन् । मेलाका कारण भीमदत्तनगर भन्दा सीमावर्ती ब्रह्मदेव बजारमा व्यापार फष्टाएको छ । सीमावर्ती भारतको टनकपुरदेखि करिब ५० किलोमिटर उत्तरमा पूर्णागिरि माताको तीर्थस्थल रहेको छ । यहाँ फागुपूर्णिमादेखि जेठ महिनासम्म मेला लाग्छ । पूर्णागिरिको दर्शनपछि यहाँस्थित सिद्धनाथ बाबाको मन्दिरमा दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यताका कारण बर्सेनि हजारौँ भारतीय दर्शनार्थी यहाँ आउने गर्छन् । दर्शनार्थीका लागि मुख्य समस्या यातायातको रहेको छ । उनीहरु सहजै सिद्धनाथ मन्दिरसम्म पुग्न सक्दैनन् । “आउजाउ गर्न यातायातको असुविधा रहेछ,” – पहिलोपटक पूर्णागिरि दर्शनका लागि भारतको इलाहावादबाट आउनुभएका राधेराम गुप्ताले भन्नुभयोे – “यातायातको साधन उपलब्ध नहुँदा कतिपय दर्शनार्थी ब्रह्मदेव बजारबाटै घर फर्के ।” महेन्द्रनगरदेखि १३ किलोमिटर टाढा ब्रह्मदेव बजारमा सिद्धनाथ बाबाको मन्दिर रहेको छ । यातायात असुविधाकै कारण कतिपय दर्शनार्थी त्यहाँको मन्दिरमा दर्शन गरी घर फर्किन्छन् । थोरै दर्शनार्थी मात्र महेन्द्रनगरस्थित सिद्धनाथ मन्दिरसम्म पुग्ने गरेका छन् । पूर्णागिरि दर्शन गर्न जाने नेपालीको सङ्ख्यासमेत उल्लेख्य छ । भारत उत्तराखण्ड राज्य चम्पावत जिल्लाको टनकपुर गाविसस्थित शिवालिक चुचुरोमा पूर्णागिरि मन्दिर रहेको छ । रासस