विकासन्युज

त्रिवि सेवा आयोगमा ४९ प्राध्यापक र ५१ सह प्राध्यापकलाई जागिर

काठमाडौं, २८ बैशाख । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ४९ जना प्राध्यापक र ५१ जना सह प्राध्यापकका लागि जागिर खुलाएको छ । सेवा आयोगले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै बिभिन्न बिषयका प्राध्यापक तथा सह प्राध्यापकका लागि खुल्ला दरखास्त आव्हान गरेको हो । पुर्णतः खुल्ला प्रतिष्पर्धाका आधारमा छनौट हुने यी पदहरुका लागि दोब्बर दस्तुर तिरेर असार १२ गते दिनको २ बजेसम्म दरखास्त भर्न सकिनेछ । अंग्रेजी, नेपाली, विज्ञान, अर्थशास्त्र, भुगोल, राजनीति शास्त्र, वातावरण विज्ञान, गणित, इतिहास, लगायतका अधिकांश बिषयका प्राध्यापक तथा सहप्राध्यापक मागिएको हो ।

ग्रीनसिटी अस्पतालमा निःशुल्क ओपन हार्ट सर्जरी

काठमाडौं, १८ जेठ । ग्रिनसिटी अस्पतालले ओखलढुंगा स्थित कुन्तादेवी गाविसका ३४ वर्षिय मुटुरोगी कमल धमलाको निःशुल्क मुटुको शल्यक्रिया (ओपन हार्ट सर्जरी) गरेको छ । काठमाडौंमा मजदुरी गर्दै आएका धमलाको ओपन हार्ट सर्जर बरिष्ठ मुटु शल्य चिकित्सक डा. अनिल भट्टराई नेतृत्वको टोलीले गरेको हो । मजदुरी गरी गुजारा चलाईरहेका धमलाको लागि आवश्यक करीब ४ लाख रुपैंयाँ खर्च लाग्ने ओपन हार्ट सर्जरी सेवा निःशुल्क उपलव्ध गराएको हो । त्यसका लागि सेभ द हार्ट, नेसनल हार्ट सेन्टर र अस्पताल स्वयंले आर्थिक सहयोग उपलब्ध गराएका थिए । ६ महिनाभित्र ग्रिनसिटी अस्पतालले १६ वटा ओपन हार्ट सर्जरी गरिसकेको छ । मुटुरोगी धमलाको जन्मजात मुटुमा प्वाल एवम् पिएपीभिसी अर्थात फोक्सोबाट मुटुमा आउने नलीहरु उल्टो जोडिने समस्या देखिएको थियो । नेपालको ईतिहासमा डा. भट्टराईले आफुले उक्त रोगको उपचार पहिलोपटक मिनिमल ईन्भ्याजिभ सर्जरी (सानो घाउबाट ओपन हार्ट सर्जरी) मार्फत सम्पन्न गरेको बताए । शल्यक्रियामा डा. भट्टराईलाई सर्जन डा. रन्जन सापकोटा, एनेस्थेसिया डा. विभुष श्रेष्ठ र डा. आशिष अमात्य, पर्फुजनिष्ट तथा स्टाफ नर्सहरुले सघाएका थिए । डा. भट्टराईले यस अघि पनि २०७२ आश्विन र मंसिरमा यसै गरी नेपालकै दुर्गम कालिकोट र धादिङ्ग जिल्लाका १० जनाको निःशुल्क शल्यक्रिया सम्पन्न गरिएको जानकारी गराएका थिए । गतहप्ता मात्रै आर्थिक रुपमा विपन्न नुवाकोट बागेश्वरी गाविस वडा नं. ३ चोगातेका १२ वर्षिय सुजन तामाङ्गको ढाडको नशाको निःशुल्क शल्यक्रिया नशारोग विशेषज्ञ डा. माया भट्टचनले गरेकी थिइन । ग्रिनसिटी अस्पतालमा एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल सहित अमेरिका, अष्ट्रेलिया, हङकङ्ग, युके र नेपालका व्यवसायीहरुले लगानी गर्ने भएका छन ।

मृगौला रोगीको डायलासिस निःशुल्क, मासिक २४ हजार खर्चबाट विरामी मुक्त

काठमाडौं, ३१ बैशाख । मृगौला रोगिको लागि सुखद समाचार छ । अब मृगौला रोगीले हेमाडायलासिस उपचार निःशुल्क गर्न पाउने भएको छन् । हेमाडायलासिस गर्न विरामीले महिनमा कम्तिमा २४ हजार रुपैयाँ खर्च गर्नु पथ्र्यो । उक्त खर्च अब सरकारले नै बेहोरर्ने भएको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मृगौला रोगीको हेमाडायलासिस गर्न लाग्नै सबै खर्च सरकारले बेहोर्ने र विरामीलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने निर्णय गरेको हो । यसअघि सरकारले विरामीलाई २ महिनासम्म हेमाडायलासिस निःशुल्क गर्ने सक्ने सुविधा दिदै आएको थियो । त्यसपछि लाग्ने खर्च विरामी आफैले तिर्नु पर्दथ्यो । हाल नेपालमा एक हजार छ सय मृगौला रोगिले डायलासिस विधिबाट उपचार गर्दै आएका छन् । यस्तो रोग लागेको विरामीले मृगौला प्रत्यारोपण नगरेसम्म डायलासिस गर्नुपर्ने हुन्छ ।

ओम हस्पिटलले ल्यायो “हाम्रो हस्पिटल” एप, अस्पताल र स्वास्थ्य सेवा बारे सबै जानकारी एप मै पाईने

काठमाडौं, २३ बैशाख । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले हस्पिटलहरु मै पहिलोपटक मोबाइल एप सुरु गरेको छ । अस्पताल संग सम्बन्धित र स्वास्थ्य सेवाबारे सबै जानकारीका हस्पिटलले “हाम्रो हस्पिटल” नामक मोबाईल एप तयार पारेको हो । नेपालमा बिभिन्न सस्थाहरुसंग सम्बन्धित मोबाइल एप तयार भैसके पनि हस्पिटल र उसले दिने सेवा सुबिधाका बारेमा आधिकारीक जानकारी दिने गरी बनेको यो पहिलो मोबाइल एप भएको हस्पिटलको दाबी छ । के–के छ मोबाइल एपमा हस्पिटलले तयार पारेको मोबाइल एप मा ओम हस्पिटलले दिने सेवा सुबिधा थाहा पाउन सकिने छ । बिरामीहरुले आफ्नो स्वास्थ्यका बारेमा सम्बन्धित चिकित्सकहरुको सल्लाह सहित स्वास्थ्य जाँच गराउने समय एप बाटै लिन सक्नेछन् । एपमा एम्बुलेन्स, रक्तसंचार केन्द्र, अस्पताल, इमर्जेन्सी नम्बरहरु राखिएका छन् । त्यस्तै अस्पतालमा भएका सबै सेवा सुबिधा र सबै प्रकारका चिकित्सकहरुको नाम समेत एपमा समाबेश छन ।

निजी अस्पताललाई डेडिकेटिड फिडरबाट बिजुली नदिए आन्दोलन

काठमाडौं, २७ फागनु । निजी अस्पताललाई डेडिकेटिड फिडरबाट बिद्युत उपलब्ध नगराए निजी अस्पतालहरुले आन्दोलन गर्ने भएका छन् । निजी अस्पतालहरुको छाता संगठन एसोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपाल(अफिन)ले डेडिकेटिड फिडरबाट विद्युत नदिए कडा आन्दोलनको चेतावनी दिएको हो । अफिनले बिहिबार एक विज्ञप्ति प्रकाशित गर्दै मानविय स्वास्थ्यसँग जोडिएको सम्वेदनशिल बिषयमा सम्बन्धीत निकाय गम्भिर नभए कडा आन्दोलन गर्ने र त्यसले सर्वसाधारणमा पार्ने असरप्रति सरकार जिम्मेवार हुनु पर्ने पनि जनाएको छ । निजी अस्पतालहरुलाई डेडिकेटिड फिडरबाट विद्युत उपलब्ध गराउन पुनरावेदन अदालत हेटौडाले अन्तरिम आदेश दिएको थियो । अफिनले सो निर्णय कार्यान्वयन गराउनुका साटो उल्टै डेडिकेटिड फिडर काटेको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।

परीक्षा प्रणालीलाई थप आधुनिक र वैज्ञानिक बनाउन व्यवस्थापिका–संसद्को निर्देशन

काठमाडौं, ३० वैशाख । व्यवस्थापिका–संसद्, राज्यव्यवस्था समितिले लोकसेवा आयोगको परीक्षा प्रणालीलाई थप वैज्ञानिक बनाउन निर्देशन दिएको छ । नेपालको संविधानले आयोगको क्षेत्राधिकार विस्तार गरेको हुँदा त्यसैअनुरुपको भूमिका बहन गर्न तथा परीक्षा प्रणालीलाई पनि थप वैज्ञानिक र प्रविधियुक्त बनाउन समितिको आजको बैठकले निर्देशन दिएको हो । राज्यको प्रतिनिधिका रुपमा रहने गाविस सचिवका धेरै पद रिक्त रहेकाले त्यसको अविलम्ब पदपूर्ति गर्न आयोगका तर्फबाट लिइनुपर्ने पहलकदमीका लागि समेत समितिले आयोगलाई भनेको छ । राज्यबाट हुने सेवा प्रवाहलाई जनतासमक्ष पु¥याउने गाविस सचिवहरुको लामो समयदेखि पदपूर्ति हुन नसकेकामा समितिले आयोग र नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ । सभापति दिलबहादुर घर्तीको सभापतित्वमा बसेको समितिको बैठकले भूकम्पबाट भत्किएका आयोगका भौतिक संरचना पुनःनिर्माण गर्न आयोगबाट औचित्यसहित माग भएको बजेट तत्कालै उपलब्ध गराउन सरकारलाई निर्देशन पनि दिएको छ । यसअघि समितिको बैठकमा आयोगका अध्यक्ष उमेश मैनालीले आयोगको भावी कार्ययोजना तयारी र परीक्षा प्रणाली सुधारको सोचलगायतका विषयमा जानकारी दिएका थिए । सो अवसरमा आयोगको तर्फबाट नवीन प्रविधि अपनाउने सिलसिलामा सबै दरखास्त अनलाइनमार्फत लिने, हुलाक कार्यालयमार्फत दस्तुर बुझाउन सकिने तथा शाखा अधिकृतलगायतका पदहरुमा प्रथम चरणको परीक्षा उत्तीर्ण हुनेलाई मात्र अन्य परीक्षामा सामेल गराउने व्यवस्था गरेको जानकारी दिइएको थियो । रासस

भूकम्प पीडित ५ सयलाई सिटिइभिटीले निःशुल्क पढाउने

काठमाडौँ, २९ वैशाख । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले भूकम्प प्रभावित १४ जिल्लाका ५०० छात्रछात्रालाई निःशुल्क पढाउने भएको छ । राजधानीमा पत्रकार सम्मलेनमार्फत परिषद्ले विशेष प्राविधिक शिक्षाअन्तर्गत छनोट भएका ५०० जना छात्रछात्राका लागि आगामी जेठ २ गतेबाट निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । सिटिइभिटीका प्रवक्ता एवम् सूचना तथा अनुसन्धान महाशाखाका निर्देशक शिवशङ्कर घिमिरेले चालु आवको बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम भूकम्प प्रभावित मध्येबाट छनोट भएका विद्यार्थीका लागि कक्षा सञ्चालन गर्न लागेको बताए। काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली र ओखलढुङ्गाका भूकम्प प्रभावित ‘क’ वर्गको परिचयपत्र प्राप्त गरेका परिवारबाट छनोट भएका छात्रछात्राले निःशुल्क प्राविधिक शिक्षा लिन पाउने भएका हुन् । निःशुल्क पढ्न पाउने छात्राले निर्वाह भत्ताबापत् प्रतिमहिना तीन हजार ५००, बर्सेनि यातायात खर्च एक हजार ५००, पोसाक खर्च दुई हजार ५०० पाउनुका साथै निःशुल्क अध्ययन एवम् छात्रावासको पनि सुविधा प्राप्त गर्नेछन् । परिषद्का सदस्य सचिव रामहरि लामिछानेले ६५ करोड बराबरको रकम विपन्नलाई छात्रवृत्तिका लागि खर्च हुने जानकारी दिए । “वार्षिक एक अर्ब दुई करोडको छात्रवृत्ति ८८ छात्रछात्राका लागि खर्च हुनेछ” उनले भने। शारीरिक अपाङ्गता भएका बहिरा व्यक्तिका लागि पनि प्राविधिक शिक्षामा समावेश गर्ने हेतुले धवलागिरि बहिरा आवासीय माध्यमिक विद्यालय वागलुङ्लाई परिषद्को आङ्गिक शिक्षालयको रुपमा सञ्चालन गरी स्नातक तहको कम्प्युटर इन्जिनियरिङ कार्यक्रम समेत आव २०७३÷७४ बाट सुरु गर्न लागिएको लामिछानेले बताए । परिषद्बाट सम्बन्धन लिन प्रमाणपत्र तहको कार्यक्रम सञ्चालनका लागि आफ्नै अस्पताल, मेडिकल कलेज, सहकारी गुठी र ट्रष्ट्रले जुनसुकै बेला प्रस्ताव पेस गर्न पाउने निर्णय खारेज गरेको परिषद्ले जनाएको छ । अब यस्ता प्रस्ताव पेस गर्न परिषद्ले विज्ञापन गरेपछि मात्र पाइने छ ।

पाठ्यपुस्तक उपलब्धताको अनुगमन सुरु

चितवन, २६ वैशाख । पाठ्यपुस्तक अनुगमन केन्द्रीय समितिको टोली जब चितवनको केन्द्रविन्दु भरतपुरमा रहेको चितवन उच्चमाविमा अनुगमनका लागि पुग्यो तब उसलाई थाहा भयो कि पुस्तकको पर्याप्तताको अवस्था निकै दयनीय रहेछ । केन्द्रीय अनुगमन समितिका सदस्यसमेत रहेका पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलको संयोजकत्वमा आएको टोलीले आज चितवनबाट पूर्वतर्फका जिल्लामा पाठ्यपुस्तक अनुगमन गर्दैछ । जनक शिक्षा सामग्री केन्द्रको क्षेत्रीय कार्यालयबाट दुई किलोमिटरको दूरीमा चितवन उच्च मावि रहेको छ । प्राचार्य मुक्तिनाथ लामिछानेले प्राविबाहेक माथिल्ला कक्षामा ४० प्रतिशत पुस्तक अपुग रहेको बताए । उनले उदाहारण दिए – “कक्षा ८ मा ७३ जना विद्यार्थी छन् । उनीहरुमध्ये विज्ञान, नेपाली र अङ्ग्रेजी विषयको पुस्तक नहुने ४० जना छन् ।” त्यस्तै, अन्य कक्षामा पनि पुस्तकको अवस्था दयनीय रहेको र पुस्तक अभावमा पढाइ प्रभावित भएको प्राचार्य लामिछानेले बताए । चित्र नबुझिने समस्या पुस्तकमा रहेको पनि उनले बताए। कक्षा ५ सम्मका पाठ्यपुस्तक छपाइका लागि निजी मुद्रकलाई दिइएको हुँदा फाटफुटबाहेक अधिकांशले पुस्तक सेट नै पाएका छैनन् । निजी क्षेत्रबाट सूचीकृत भएका १७ वटा मुद्रकलाई पुस्तक छाप्ने जिम्मा दिइएको थियो । चितवन माविमा मात्रै होइन जिल्लाका अधिकांश विद्यालयमा पाठ्यपुस्तकको समस्या रहेको जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले केन्द्रीय अनुगमन समितिलाई जानकारी गराएका थिए । देशभर शैक्षिकसत्र २०७३ मा कक्षा १ देखि ५ सम्म ३६ लाख ६५ हजार ६५९ विद्यार्थी अध्ययनरत रहेको अनुमान छ । यसका लागि एक करोड ८३ लाख २८ हजार २९५ थान पुस्तक आवश्यक पर्छ । कक्षा ६ देखि ८ सम्मका १५ लाख ४४ हजार २२९ जना विद्यार्थीलाई एक करोड ३८ लाख ९८ हजार १५१ थान पुस्तक आवश्यक पर्छ भने कक्षा ९ र १० का सात लाख २८ हजार २५६ विद्यार्थीलाई ५८ लाख २७ हजार ६४८ थान पुस्तक आवश्यक पर्छ । अनुगमनमा सँगै रहनुभएका निजी क्षेत्रको पाठ्यपुस्तक छपाइको संयोजन गर्नुभएका दीपक भण्डारीले कक्षा ५ सम्मका लागि आवश्यक पर्ने एक करोड ८३ लाख २८ हजार २९५ मात्रै भएकामा निजी मुद्रकले दुई करोड पुस्तकको छपाइ सकेको जानकारी दिए। उनले देशका कुनै पनि क्षेत्रमा पुस्तक आवश्यक परेमा तीन देखि सात दिनमा पुस्तक पु¥याउन सक्ने पनि बताए । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक पौडेलले कक्षा ६ देखि माथि एक करोड ९७ लाख थान पुस्तक आवश्यक पर्ने भए पनि १० लाख पुस्तक अझै छाप्न बाँकी रहेको जनक शिक्षाले जानकारी दिएको बताए । उनले एक साता भित्रमा दैनिक एक लाख ३५ हजारका दरले पुस्तक छापेर वितरण गरिने आश्वासन दिएको पनि बताए । यद्यपि छपाइ मात्र नभएर वितरण प्रक्रियाका कारण पनि विद्यार्थीको हातमा पुस्तक पुग्न नसकेको पाइएको उनले बताए। सेट पुस्तक नहुँदा ढुवानी महँगो हुने भन्दै बिक्रेताले नलगेका कारण समस्या आएको उनको भनाइ छ । यस वर्ष नाकाबन्दीका कारण कागजको अभावमा छपाइमा ढिलाइ भएको पनि उनले बताए । गत वर्ष भूकम्पका कारण सबै विद्यार्थीले पुस्तक पाउँदा असार मसान्त पुगेको बताउँदै उनले यस वर्ष त्यसअघि नै विद्यार्थीले पुस्तक पाउने दाबी गरे । जनक शिक्षाका क्षेत्रीय गोदाममा पुस्तक थुप्रिएको भए पनि सेटको अभाव र समयमा भुक्तानी नपाएका कारण पनि पुस्तक उठाउन बिक्रेताले ढिलाइ गरेको पाइएको छ । जनक शिक्षाको क्षेत्रीय कार्यालय भरतपुरका लेखा प्रमुख केदारराज विष्टले अझै १० लाख थान पुस्तक गोदाममा रहेको बताए। यो क्षेत्रीय कार्यालयले चितवनसहित ११ जिल्लामा पुस्तक वितरण गर्ने गर्दछ । पुस्तक बिक्रेताले नौदेखि ८९ प्रतिशतसम्म ढुवानी र बिक्री कमिसन पाउने गर्दछन् । जिल्ला शिक्षा कार्यालयले सबै विद्यालयमा ८० प्रतिशत पुस्तकका लागि भुक्तानी पठाइसकेको जनाएको छ । बिक्रेतासँग कमिसनको लोभ गरेर कतिपय प्राचार्यले समयमा भुक्तानी नदिने गरेको समेत गुनासो गर्ने गरेको पाइएको छ । पाठ्यक्रम विकास केन्द्रले शैक्षिकसत्र सुरु हुनुभन्दा ६ महिनाअघि नै जनक शिक्षामा पुस्तक छाप्न पठाउने गर्दछ । कार्यकारी निर्देशक पौडेलले यस वर्ष पनि ६ महिनाअघि नै पठाएको बताए । यस वर्ष सरकारले पुस्तक छपाइका लागि मात्र एक अर्ब ८५ करोड रुपैयाँ खर्च गर्दैछ । सामुदायिक विद्यालयका कक्षा १ देखि १० सम्मका विद्यार्थीले निःशुल्क पुस्तक पाउने गर्दछन् । वैशाखको पहिलो सातादेखि नयाँ शैक्षिकसत्र सुरु भएको हो । रासस