विकासन्युज

उद्योगीको समस्या समाधात गर्ने कार्ययोजना हप्तादिनमा पेश गर्न उद्योग मन्त्रालयलाई निर्देशन

काठमाडौं, ९ मंसिर । व्यवस्थापिका–संसद अन्तरगत उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि तत्कालीन, मध्यकालिन र दीर्घकालिन नीति बनाई तत्काल देखिनै कार्य गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति भीष्मराज आङदेम्बेको सभापतित्वमा बुधबार बसेकोे बैठकले हाल उद्योगी व्यवसायीले भोगेका समस्याहरु समाधान गर्ने कार्ययोजना एक हप्ताभित्र पेश गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । करका समस्या, ऋणको प्रवाह, मजदुर समस्या, वक्यौता असुली, उद्योगको नविकरण आदि समस्याहरु गम्भिरता पूर्वक लिई एक हप्ताभित्र समस्या समाधानको कार्ययोजना पेश गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको हो । मन्त्रालयले कार्ययोजना पेश गरेपछि सम्बन्धित उद्योगी व्यावसायीहरु समेतको सहभागितामा समितिमा छलफल गर्ने निर्णय पनि भएको छ । बैठकले स्वदेशी वस्तुहरुको प्रयोग सम्बन्धी नीति र निर्णयहरु कडाइकासाथ कार्यान्वयनमा ल्याउन र स्वदेशी उत्पादनको संरक्षण गर्न निर्देशन दिएको छ । त्यस्तै, समितिले स्वेदश भित्र रहेका खानीहरुको उत्खनन्मा प्रभावकारी रुपले लाग्न उद्योग मन्त्रालयलाई पुनः निर्देशन दिएको छ । सरकारले राजस्वमुखी आयात नीति अपनाउदै आएकोले देश परनिर्भर बन्दै गएको निष्कर्षसहित समितिले आयातलाई निरुत्साहित गर्ने नीति लिन, कृृषि उत्पादन बढाउने, कृषिमा आधारित उद्योग घन्दाको विकास गर्ने, स्वदेशी उत्पादनलाई वढाउने, स्वदेशी वस्तुको प्रयोग गर्ने र स्वदेशी वस्तुहरुको उत्पादन प्रवद्र्धन र संरक्षण गर्ने नीति बनाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।

स्वेतपत्रको नाममा तथ्यांकको विवरण मात्रै, अर्थमन्त्री पनि डराए भारतको अघोषित नाकाबन्दी भन्न

काठमाडौं, ९ मंसिर । ग्यास र मट्टीतेलको अभावमा विरामी, बृद्धा र बालबच्चाले तातोपानी समेत खान नपाउने अवस्था सिर्जना भएको छ । इन्धन अभावमा अस्पतालको सेवा प्रभावित हुन लागेको छ भने अत्यावश्यक औषधिको अभाव छ । सार्वजनिक सवारी साधन चल्न नसक्दा मान्छेको स्वतन्त्रतापूर्वक हिडडुल गर्न पाउने नैसर्गिक अधिकार कुन्ठित भएको छ । बजारमा दैनिक उपभोग्य बस्तुको अभाव छ र भएको पनि किन्नै नसकिने गरी मूल्य बढेको छ । अत्यावश्यक बस्तुहरु तस्कर र कालोबजारियाको नियन्त्रणमा पुगेको छ । यस्तो अभाव र समस्या आइलागेको तराइमा सय दिनभन्दा लामो समयदेखिको आन्दोलन र २ महिनादेखिको भारतको अघोषित नाकाबन्दीले हो । सर्वसाधारणले अकल्पनीय पिडा भोग्नु परिरहेको बर्तमान समयमा सरकारले भने जनताको समस्याप्रति जानकारी नभए जस्तो ब्यवहार गरिरहेको छ । मंगलवार अर्थमन्त्री विष्णु पौडेलले सरकारको तर्फवाट अर्थतन्त्रको बर्तमान अवस्थाप्रतिको स्वेतपत्र जारी गरे । सो स्वेतपत्रमा तथ्य र तथ्यांकको विवरण वाहेक अन्य कुरा खासै छैनन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै एक बर्षभित्र लोडसेडिंग अन्त्य गर्ने र एक बर्ष भित्रमा काठमाडौंमा मेट्रो रेल चलाउने भन्ने जस्ता हावादारी योजना सुनाएका थिए । सैद्धान्तिक रुपम स्वेतपत्रमा समस्यावाट सिर्जत अवस्थाको यथार्थ चित्रण र समाधानको समय तालिका सहितको ठोस कार्ययोजना आउनु पर्ने हो । स्वेत पत्रमा ठोस कार्ययोजना केहि पनि आएको छैन । सर्वसाधारणले ग्यास नपाएको २ महिना नाघिसक्यो । सरकारले त्यसको विकल्प के कस्तो गर्दैछ भन्ने कुरा स्वेत पत्रमा आएन । इन्धनको अभावमा अस्पतालको सिसियु र आइसियु सेवा प्रभावित हुन लागेको छ । त्यस्तो सेवा नियमित गर्न सरकारले के कस्तो तयारी थालेको छ भन्ने जानकारी पनि स्वेत पत्रमा छैन । अत्यावश्यक र जटिल रोगका औषधि सकिन लागेको छ । त्यसको आपूर्तिको ब्यवस्था कसरी गरिदैछ भन्ने कुरा पनि स्वेत पत्रमा छैन । दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज गरिने भन्ने स्वेतपत्रमा उल्लेख गरिएको छ । यस्तो बस्तुको आपूर्ति असहज पारिने सरकारको कार्यक्रम कुनै पनि समय आएको छैन र आउदैन होला पनि । कालाबजारी नियन्त्रण गरिने भनिएको छ । कसरी गर्ने, कहिलेदेखि गर्ने भन्ने स्पष्ट छैन । प्रष्ट कार्ययोजना विहिन स्वेतपत्रले नागरिकका बर्तमान र दीर्घकालिन आवश्यकता पूरा गर्ने देखिएको छैन । र, प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दा भारतको अघोषित नाकाबन्दी भन्ने शब्दाबली प्रयोग भएको थियो । तर अर्थमन्त्रीको स्वेतपत्रमा यस्तो शब्दाबली पनि देखिएको छ । स्वेत पत्रका खेत बाँझो राख्न नपाइने भन्ने जस्ता हासउठ्दा कार्यक्रम भने राखिएको छ ।

नाका बन्दीले बाँच्न पाउने अधिकारको उल्लंघन भयोः राष्ट्र संघ

काठमाडौं, ९ मंसिर । संयुक्त राष्ट्र संघ मानव अधिकार उच्च आयोगले सिमामा अवरोध गरेर इन्धन र औषधीको आयात रोकेर नेपाली जनताको बाँच्न पाउने अधिकार उल्लंघन भएको बताएको छ । मधेश आन्दोलन र भारतीय नाका बन्दीका सन्दर्भमा पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्दै उच्च आयोगले इन्धन, खाना पकाउने ग्यास र औषधी लगायतका अत्यावश्यक बस्तुको आयात रोक्नु अन्तराष्ट्रिय मानव अधिकारको गम्भिर उल्लंघन भएको समेत बताएको हो । उच्च आयोगकी प्रवक्ता रभिना शामदसानील प्रेस विज्ञप्ति प्रकाशिति गर्दै भनेकी छिन–इन्धन, खाना पकाउने ग्यास, औषधी र अत्यावश्यक समानको अभावले जनजिवन असहज भएको छ, हामी भन्न चाहान्छौं अत्यावश्यक समानको आपुर्ति र सेवामा अवरोध गर्नु अन्तराष्ट्रिय मानव अधिकार, कानुन र बाँच्न पाउने अधिकारको उल्लंघन हो । उच्च आयोगले आन्दोलनकारी र सरकारलाई आत्यावश्यक समानको आपुर्ति व्यवस्था तत्काल मिलाउन आग्रह समेत गरेको छ । ‘हामी नेपाल भारत सिमा समस्याका कारक दुबै पक्षलाई अत्यावश्यक समानको आपुर्ति व्यवस्था सहज बनाउन आग्रह गछौं’, विज्ञप्तिमा भनिएको छ । आयोगले सबै पक्षलाई वार्ता र सम्वादको माध्यमबाट समस्याको समाधान खोज्न पनि सुझाव दिएको छ । आन्दोलनकारी र सुरक्षा कर्मी दुबै पक्षले मानव अधिकारको गम्भिर उल्लंघन गरिरहेको बताउँदै आयोगले अन्तराष्ट्रिय कानुनको पालना गर्न सचेत समेत गराएको छ । एक दिन भन्दा लामो आन्दोलनमा ५० भन्दा बढि नागरिकले ज्यान गुमाई सकेको तथ्यलाई स्मरण गर्दै दुबै पक्षले तत्काल वार्ता र सम्वादको प्रक्रिया अघि बढाउन पनि आयोगले सुझाव दिएको छ ।

ऋण लिने कि राहतः भूकम्प पीडितले रोज्न पाउने

काठमाडौँ, ८ मङ्सिर । सरकारले भूकम्पपछिको घर तथा आवास निर्माणका लागि रु दुई लाख सरकारी राहत अनुदान लिनेले ऋण नपाउनेसम्बन्धी कार्यविधिलाई अन्तिम रुप दिन लागिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास र सहरी विकास मन्त्रालयले संयुक्त रुपमा तयार पारिरहेको सो कार्यविधिलाई केही समयभित्रै पूर्णता दिएर पारित गरिने छ । राहत र ऋण दुवै लिँदा सरकारी स्रोतको दुरुपयोग हुन सक्ने वा मिसमास हुने भएकाले त्यसलाई ध्यान दिँदै राहत लिनेले ऋण नपाउने व्यवस्था गर्न लागिएको हो । मन्त्रालयले तयार पारेको कार्यविधिलाई केही दिनभित्रै पारित गर्न लागिएको र भूकम्पपछिको पुनः निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढ्ने विश्वास लिइएको छ । भूकम्पका कारण मुलुकका १४ जिल्ला बढी प्रभावित भएको र ३१ जिल्ला आंशिक रुपमा प्रभावित भएका थिए । यद्यपि रु दश लाखले घर निर्माण हुन नसक्ने भन्दै त्यसमा रु पाँच लाख बढाउनुपर्ने आवाज पनि सँगै उठेको छ । क्षतिग्रस्त छ लाख घरलाई रु दुई लाखका दरले रकम वितरण गर्दा रु एक खर्ब २० अर्ब रकम आवश्यक पर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाको भनाइ छ । भूकम्पपछिको पुनःनिर्माणका लागि सरकारले चालु आर्थिक वर्षको बजेटमा रु ७४ अर्ब बजेटको व्यवस्था गरेको उनले बताए । पुनःनिर्माण प्राधिकरण गठन नहुँदासम्म आयोगले नै काम गर्ने अख्तियारी सरकारले दिएपछि विद्यमान संरचनाबाटै काम गर्ने योजनामा उपाध्यक्ष डा खतिवडा छन । “सरकारले दिने एकै खालको अनुदानले पहाडी, हिमाली तथा सहरी क्षेत्रमा काम गर्दैन । हिमाली क्षेत्रमा ढुवानीको कारणले अन्याय हुन सक्छ । तोकिएको मापदण्ड र नाप नक्शाभित्र निर्माण गरिएका घरलाई मात्रै राहत रकम दिने भएकाले अझै कुरेर र अलमलमा परेर बसेका छन् । गुठी, लालपूर्जा नभएका जग्गा, बाटोका कारण मापदण्ड पूरा गर्न नसकिने अवस्था छ । त्यसलाई पनि मध्यनजर गरेर काम अगाडि बढाइन्छ” उपाध्यक्ष डा खतिवडाले भने । राजनीतिक दलहरुबीच सहमति हुन नसक्दा भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी विधेयक पारित हुन सकेको छैन । नेपाली काँग्रेस नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेललाई भूकम्पपछिको पुनः निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । प्राधिकरणले सामान्य काम सुरु गरेपनि संवैधानिक हैसियत समाप्त भएपछि काम अगाडि बढ्न सकेको थिएन । भूकम्पले छ लाख दुई हजार २५७ घर पूर्णरुपमा क्षति भएको छ भने दुई लाख ८५ हजार ९९ घर आशिंक क्षति भएको छ । आठ हजार ३०८ विद्यालयका १९ हजार ७०८ कक्षा कोठा पूर्ण क्षति तथा ११ हजार ४६ कोठा आशिंक क्षति भएको छ । यस्तै २९ हजार ४४३ किलोमिटर सडक भत्किएको छ । विश्व बैंकले आपतकालीन ऋण सहायताअन्तर्गत ५५ हजार घर निर्माणका लागि रु दुई अर्ब उपलब्ध गराउने सम्झौता गरिसकेको छ । यस्तै जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले ३० हजार घर निर्माण गर्नेसम्बन्धी सहयोग सम्झौता हुने क्रममा रहेको छ । जाइकाले एक अर्ब उपलब्ध गराउने वचन दिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराई बताउँछन। मौसमसँग तालमेल मिलाएर भूकम्पपछिको पुनः निर्माण गर्नुपर्ने अवस्था पनि एकातिर छ । यस्तै सरकारले यसअघि भूकम्पपीडितलाई प्रदान गरिएको १५ हजार नपाउनेको सङ्ख्या पनि उल्लेख्य रहेको छ । चार किस्तामा दिने भनिएको राहत अनुदान तीन किस्तामा दिन आग्रह गरिएको छ । पहाडी तथा ग्रामीण भेगका लागि २० प्रकारका नमुना घरको नक्सा यस अघि नै पारित भइसकेको सहसचिव भट्टराईको भनाइ छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले १७ करोड ८० लाख लागतमा भूकम्पबाट भत्केका सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, नुवाकोट र रामेछाप जिल्ला विकास समितिको भवन, मेलम्ची र चौतारा नगरपालिका, १७८ गाविस भवनबाट सेवा दिन प्रिफब्रिकेटेट अस्थायी भवन निर्माण गरिएको छ । सहरी विकास मन्त्रालयका सहायक प्रवक्ता कविन्द्र कार्कीकाअनुसार सङ्घीय मामिला मन्त्रालयसँग संयुक्तरुपमा भूकम्पपछिको पुनः निर्माणलाई अगाडि बढाउन ‘भूकम्पपछि पूर्णरुपमा क्षति भएका आवास पुनः निर्माण अनुदान प्रवाह कार्यविधि–२०७२’ स्वीकृत, ग्रामीण क्षेत्रमा बनाइने घरको नमुना घरको डिजाइन तयार पारि १४ जिल्लामा डिभिजन भवन कार्यालयको स्थापना गरिसकिएको छ । यद्यपि, पुनःनिर्माण गर्न चाहने दाता खास क्षेत्रमा केन्द्रित हुन चाहने प्रवृत्ति, स्थानीय निकायलाई पुनःनिर्माण प्रक्रियाका बारेमा स्पष्ट निर्देशन दिन नसक्दा दुविधा हुनु, गैर सरकारी संस्थाको समन्वय गर्ने एकल निकायको अभाव, पुनः निर्माणको स्थान पहिचान हुन नसक्नु, घर निर्माणका डिजाइन स्वीकृति हुनु नसक्नु प्रमुख समस्याको रुपमा देखिएको छ । रासस

अर्थमन्त्रीको नेतृत्वमा अर्थतन्त्र मुल्यांकन समिति गठन गरौंः निजी क्षेत्र

काठमाडौं, ८ मंसिर । निजी क्षेत्रका प्रतिनिधी मुलक संघ संस्थाका प्रतिनिधीहरुले अर्थमन्त्रीको नेतृत्वमा अर्थ सचिव, उद्योग सचिव, बाणिज्य सचिव र निजी क्षेत्रको सहभागीतामा अर्थतन्त्रको समस्या पहिचान, मुल्यांकन तथा समाधान समिति गठन गर्न माग गरेका छन् ।नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघको नेतृत्वले अर्थमन्त्री बिष्णु पौडेललाई भेटेर समस्याको पहिचान, मूल्याङ्कन र समाधान गर्न तत्काल कार्यदल गठन गर्नुपर्ने माग गरेका हुन । उक्त कार्यदलले सरोकारवालासँग गहन छलफल गरी समग्र अर्थ व्यवस्था र निजी क्षेत्रको जीवन्तताका लागि तत्काल सुझाव दिने र मध्यकालीन र दीर्घकालीन रणनीतिक दूरदृष्टिसमेत प्रस्तुत गर्नुपर्ने निजी क्षेत्रले सुझाव दिएका हुन । भेटमा अर्थमन्त्री पौडेलले भने “म निजी क्षेत्रको सुझावलाई उद्योगी तथा व्यावसायी भएर बुझ्ने छु ।” अर्थमन्त्री पौडेलले तीन महिनादेखिको लगातार बन्द र अघोषित नाकाबन्दीबाट निजी क्षेत्रमा परेको असरलाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका थिए । सरकारका सीमाभित्र रहेर गर्न सकिने अधिकतम् मागलाई राज्यले पूरा गर्ने विश्वास दिलाउँदै अर्थमन्त्री पौडेलले निजी क्षेत्रको सुझाव केही मनन योग्य, केही ग्रहण योग्य र केही छलफलका लागि उपयुक्त भएकाले सोहीअनुसार सम्बोधन हुने बताए । निजी क्षेत्रले राष्ट्र निर्माणमा पु¥याएको योगदानलाई सरकारले उच्च मूल्याङ्कन गरेको उल्लेख गर्दै उनले भने, “आउँदा दिनमा निजी क्षेत्रको शिर उच्च गरेर अगाडि जाने वातावरण बनाउनका लागि आवश्यक पर्ने नीतिगत एवम् अन्य वातावरण तयार गर्ने सरकारको जिम्मेवारी हो, त्यो पूरा हुनेछ ।” अर्थमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा गोविन्द नेपालले वर्तमान समस्यालाई समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाएर अगाडि बढ्नुपर्ने बताए । राजस्व सचिव राजन खनालले उद्योगी व्यवसायीले भोग्नु परेको समस्यालाई सरकार र निजी क्षेत्र दुवै मिलेर अगाडि बढ्ने बताए । उनले भने, “नोक्सान कसैले व्योहोर्नेभन्दा पनि सबैले व्यहोर्ने हो ।” महासङ्घका अध्यक्ष पशुपति मुरारकाले सरकारसँग निजी क्षेत्रले स्वास्थ्य सेवा, औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन गर्नुपर्ने बताए । परिसङ्घका अध्यक्ष नरेन्द्र बस्न्यातले सरकारले आर्थिक सङ्कटकाल घोषणा गर्नुपर्ने माग गर्दै अर्थतन्त्रलाई सहजरुपमा अगाडि बढाउनुपर्ने वातावरणको सिर्जना गर्नुपर्ने बताए । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले राज्यले आज राजस्व आएन भन्ने भन्दा पनि निजी क्षेत्रले दीर्घकालीन सोचमा आधारित भएर सुझाव दिएको उल्लेख गर्दै त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताएका थिए

भारतमा उपभोग्य बस्तु नेपालमा भन्दा ३.३ प्रतिशत सस्तो

काठमाडौं, ८ मंसिर । भारतको अघोषित नाकाबन्दीले समग्र अर्थतन्त्र नै संकटमा पर्न लागेको समयमा अर्काे तथ्य वाहिर आएको छ । सो तथ्य अनुसार भारतीय नागरिकले भन्दा नेपालीले ३ दशमलब ३ प्रतिशत बढी महंगो बस्तु तथा सेवा प्रयोग गर्नु परेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । गत असोज महिनामा नेपालमा मूल्य बृद्धि ८ दशलमब ३ प्रतिशत र भारतमा मूल्य बृद्धि ५ प्रतिशत रहेको छ । राष्ट्र बैंकले असोज महिनादेखि मात्रै नेपाल र भारतको मूल्य बृद्धिको तुलनात्मक विवरण प्रकाशित गर्न लागेको हो । अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मूल्यबृद्धिदर क्रमशः ७ दशमलब ५ प्रतिशत र ५ दशमलब ५ प्रतिशत थियो । सो समयमा दुई देशविचको मूल्यबृद्धि अन्तर २ प्रतिशत थियो । गत बैशाखमा गएको विनाशकारी भूकम्पको अन्तराल प्रभाव र हालै भारतले नेपाल माथि लगाएको अघोषित आर्थिक नाकाबन्दीको कारण नेपाल र भारत बीच मूल्यबृद्धि दरको अन्तरमा वृद्धि हुन गएको हो । नेपालमा गत असोज महिनाको मूल्यबृद्धिदर ८ दशमलब ३ प्रतिशत रहेको छ । गत बर्षको सोही अवधिमा यस्तो मूल्यबृद्धिदर ७ दशमलब ५ प्रतिशत थियो । यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ९ दशमलब ४ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ७ दशमलब ५ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मूल्य क्रमशः १० दशमलब ६ प्रतिशत र ४ दशलमब ९ प्रतिशतले वृद्धि भएका थिए । बन्द हडताल र भारतको अघोषित नाकाबन्दीका कारण देशभित्र अत्यावश्यक वस्तुहरुको आपूर्तिमा कमी आई बजारमा पर्याप्त मात्रामा वस्तुहरु उपलब्ध हुन नसकेकोले मूल्यमा चाप पर्न गएको छ । यो अवधिमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा ९ दशमलब १ प्रतिशतले मूल्य वृद्धि भएको छ भने पहाडमा ८ दशमलब ८ प्रतिशत, तराईमा ७ दशमलब ७ प्रतिशत र हिमालमा ७ दशमलब २ प्रतिशतले मूल्य वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ता मूल्य सूचकाङ्कहरुको वृद्धिदर काठमाडौं उपत्यकामा ७ दशमलब ७ प्रतिशत, पहाड र तराई दुबैमा ७ दशलमब४ प्रतिशत रहेको थियो ।

सन् १९१५ अघि नेपालको व्यापार भारतसँग भन्दा चीनसँग बढी

टंक कार्की नेपाल र चीनका बिचमा १९५५ मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापित भएको हो तर सातौै शताब्दीको पूर्वार्धदेखि नै अर्थात भृकुटीको विवाहदेखि नै दुई देशबीच सम्बन्ध थियो । वुद्धका बारेमा पहिलो शताब्दीदेखि नै चिनियाँ राजाप्रसादमा नेपालका बारेमा लेखिएको भेटिन्छ । सन ४०५ मा फासियान नेपालमा आएका थिए भने ४०९ मा बुद्धभद्र चीन गएका थिए । नेपाल र चीनबिचको सम्बन्ध निकै पुरानो हो र त्यसलाई अझै बलियो बनाउने उदेश्यसहित म चीन गएको थिएँ । चिनियाँ नेतृत्व सधैं नेपालमा शान्ति र स्थायीत्व चाहेको मैले बुझेको छु । नेपालको आर्थिक विकास र यहाँ लगानी गर्न चिनियाँ सरकार र त्यहाँका लगानीकर्ता उत्सुक थिए । तर हामीले त्यसलाई क्यास गर्न सकेनौं । चिनियाँ लगानीलाई नेपालमा भित्र्याउन र नेपालको विकासमा चिनियाँ सहयोग र सुभेक्षाको हामीले सदुपयोग गर्न सकेनौं । म राजदूत भएर चीन जाँदा जम्मा जम्मा बार्षिक १० हजार चिनियाँ पर्यटक नेपाल आउने गरेका थिए तर म फर्किदा त्यो संख्या बार्षिक ७५ हजार पुगेको थियो । अहिले त्यो ढेड लाखको हाराहारीमा पुगेको छ । जिन्ताओको सद्भाव तत्कालिन चिनियाँ राष्ट्रपति हु जिन्ताओलाई मैले ओहदाको प्रमाण पत्र बुझाउँदा १० मिनेट भेट गर्ने अवसर पाएको थिएँ । मेरा लागि जम्मा तीन मिनेट समय दिईएको थियो तर कुरा गर्दै जाँदा १० मिनेट कुरा गरियो । जिन्ताओले नेपालका बारेमा आफू जानकार रहेको बताएका थिए । आफू तिब्बतमा बस्दा नेपालका बारेमा धेरै अध्ययन गर्ने अवसर पाएको जिन्ताओको भनाई थियो । फासियान नेपालबाट चीन फर्किपछि चीनले नेपालका बारेमा जानकारी पाएको बताएका थिए । मैले त्यो भन्दा पहिले पनि नेपाल र चीनबीच सम्बन्ध थियो भनेको थिएँ । मेरै कार्यकालमा चिनियाँ प्रधानमन्त्री वेनजिआ वाओको नेपाल भ्रमणको मिति तय भएको थियो । पछि सुरक्षा चुनौतीका कारण त्यो समय पछि सर्यो र वेनले पछि नेपालको भ्रमण गरे । संसारले नै चिनियाँ विकासबाट आर्थिक लाभ लिने प्रयास गरिरहेका छन् । तर हामीले छेउकै छिमेकीलाई बुझ्न सकेनौं । १४ सय किलोमिटर सिमाना जोडिएको र हामीप्रति असल सद्भाव राख्ने मुलुकबाट पनि लाभ लिन नसक्ने हामी कस्ता ? हामी चिनियाँ लाभ लिन कुशल रणनीतिकार बन्न सकेनौं । तिब्बतमा रेल आईसकेपछि त्यसलाई नेपालको सिमासिम्म र त्यहाँबाट काठमाडौंसम्म ल्याउने योजनाका बारेमा मेरै कार्यकालमा पनि बनेको हो । चीन सरकारले नै २०२२ सम्ममा सिगात्से हुँदै नेपाली सीमा नाकासम्म रेल ल्याउनेबारे योजना बनाएको थियो । हिमाल सम्बन्धको पर्खाल होईन चीनतर्फ हिमाल र भारततर्फ समथर भूभागले हामी जोडिएका छौं । पहिलो हिमाल भनेको चीनसँगको अभेद्य पर्खालका रुपमा हेर्ने गरिएको छ । त्यो पुरानो चस्मा हो । १९१५ सम्मलाई हेर्ने हो भने भारत भन्दा चीन नै नेपालको ठूलो व्यापारिक साँझेदारका रुपमा रहेको थियो । आजको युगमा हिमाल भनेको व्यापारिक सम्बन्धका लागि पर्खाल होइन । चीनसँग मोटरेबल बाटो बनिसकेको छ । रेलवेको अवधारणा अघि आईकसको छ । यसले हिमाललाई पर्खालका रुपमा अथ्र्याउने मान्यतालाई गलत सावित गरिदिएको छ । तर हामीले आफ्नैतर्फ भने सडक र पूर्वाधार विकास गर्न यथोचित ध्यान दिन सकेनौं । हामीले चीनसँगको आर्थिक व्यापारिक सम्बन्धलाई महत्व नदिएको तथ्य कसैबाट छिपेको छैन् । चिनियाँ नाकासम्म पुग्ने पूर्वाधार विकासमा राज्यभित्रकै केहि शक्तिहरुले पनि भूमिका खेलेको हुनसक्छ । हामीमा दुरदृष्टि थिएन भन्ने पुष्टि भैसकेको छ । यदि त्यस्तो हुँदो हो त आज भारतले नाका बन्दी लगाईसकेपछि चीनबाट सहजै समान ल्याउने अवस्था बन्ने थियो । सित युद्धपछि एकथरी नेपालीहरु भारतको नाम सुन्दै नाक खुम्चयाउने अनि केहिले चीनको नाम सुन्ने वित्तिकै नाक कुम्चयाउने संस्कार बस्यो । यसले पनि चीनसँगको आर्थिक व्यापारिक सम्बन्धलाई महत्व दिईरहेका थिएनौं । हामी एन्टि चाईनिज वा एन्टि इण्डियन कार्डका पक्षपाती होईनौं र हाम्रो चाहना पनि त्यो होईन् । हामी न उत्तरतर्फ ढकिल्कन्छौं न दक्षिण तिर नै ढल्किन्छौं । हामीले त नेपालको राष्ट्रिय स्वार्थ भित्र सिधा उभ्भिन चाहेका मात्रै हौं । हामीले सिधा उभिँदा कसैतर्फ वैरभाव राख्नु पर्छ भन्ने छैन र हामी राख्दैनौं पनि । हाम्रा लागि भारत र चीन दुबै अपरिहार्य छिमेकी हुन् । फेरी छिमेकी बदल्न पनि सकिन्न । हामीले भारत वा चीनमध्ये कुनै पनि मुलुकलाई निषेध गर्ने कुरा सम्भव छैन र त्यो गर्नु पनि हुन्न । ७३ प्रतिशत व्यापार भारतसँग मात्रै आश्रित नभैदिएको भए अहिले नेपालले यति दुःख पाउने अवस्था आउँदैनथ्यो । एउटै मुलुकसँगको निर्भरता आत्महत्या जस्तै हुने रहेछ । हामीले सबै तिरका झ्याल ढोकाहरु खुल्ला राख्नु पर्ने रहेछ । त्यसो भयो भने एउटा झ्याल वा ढोका बन्द हुँदा अर्काेबाट सुरक्षित अवतरण गर्न सकिन्छ । भारतीय नाका बन्दीले एकतिरको ढोका मात्रै खोलेर बस्नु हुन्न भन्ने पाठ पढाएको छ । हामीले आफ्नो तर्फको पूर्वाधार विकास गर्न सक्यौं भने चीनको माथिल्लो हेलुङज्याङबाट काठमाडौं हुँदै दिल्लीसम्म एक हप्तामा पुर्याउन सकिन्छ । त्यसका लागि हामीले नेपालतर्फको सडक र भौतिक पूर्वाधारको विकास भने राम्रोसँग गर्न सक्नुपर्छ । पहाडमा एण्टी इण्डियन, मधेशमा एण्टी चाईनिज सेन्टीमेण्ट पहाडमा भारतका विरुद्ध जनमत बढेको देखिन्छ भने मधेशमा चीनका विरुद्ध जनमत बढिरहेको छ । यसले केहि खतराको संकेत त गरेको छ तर पनि यो धेरै दिन रहँदैन् । नयाँ संबिधानका बारेमा समूदायस्तरका जनतालाई बुझाउने वित्तिकै यो समस्याको समाधन स्वत हुन्छ । जहाँ अभाव र गरिबी हुन्छ त्यहाँ रडाको स्वभाविक हुन्छ । त्यहाँ चेतनाले कामै गर्दैन् । त्यसकारण पनि अब न्योचित विकास र त्यसको वितरणको ग्यारेण्टी गरिनु पर्छ । अहिले सरकारले चीनसँग इन्धनको व्यवसायीक कारोबारका लागि अन्तिम सम्झौताको तयारीमा छ । भारती मिडियाहरुले पनि नेपालले सुरु गरेको भारत माथिको निर्भरता घटाउने अभियानको महशुस गरिरहेका छन् । भारतले हामीलाई जनु हुर्मत भोगायो त्यसले हाम्रो चेत खुलेको छ । अब हामीलाई भारतीय अम्ब्रेलाबाट बाहिर पनि संसार छ भन्ने महसुश गराईदिएको छ । यसलाई हामीले भारत बिरोधी कार्डका रुपमा नभएर आफ्नै खुट्टामा उभिने अवसरका रुपमा प्रयोग गर्नु पर्छ । नेपालाई तातोपानी, चीनलाई केरुङ नेपालका लागि चीनसँगको व्यापारका लागि तातोपानी नाका उत्तम विकल्प हो । त्यसका लागि हाम्रो तर्फ कालोपत्रे सडक सञ्जाल पनि छ । तर चीनका लागि तातोपानी नाका त्यहि सहज छैन । चीनले सन २०२२ सम्ममा नेपालको सिमासम्ममा रेलवे सेवा विस्तार गर्ने भनेको छ । त्यसका लागि तातोपानी नाका तर्फको भूगोल उपयुक्त छैन् । भौगोलिक कठिनाईका कारण चीनले तातोपानीको विकल्पका रुपमा केरुङलाई अघि सारेको हो । त्यसमा पनि बैशाख १२ गतेको भूकम्पले खासा तर्फको बस्ती नै जोखिममा पारिदिएको छ । त्यस कारण पनि चीनले केरुङ नाकालाई प्राथमिकतामा राखेको हो । अब नेपालले पनि केरुङ नाकालाई प्राथमिकतामा राख्दै सडक र अन्य पुर्वाधारका लागि फास्ट ट्रयाकमा काम थाल्नु पर्छ । त्यसका अलवा केहि बर्षभित्रैमा नेपाल र चीनका अन्य आठ वटा नाका पनि सञ्चालन गर्न सकिने अवस्थामा छन् । जस्तै मुस्ताङको कोरला नाका केहि प्रयास गर्नेवित्तिकै सञ्चालनमा ल्याउन सकिन्छ । ताप्लेजुङको ओलाङचोङगोला नाका, दार्चुलाको टिंकर नाका, दोलखाको लामबगर नाका, संखुवासभाको किमाथांका नाका, गोरखाको लार्के लगायतका नाकाहरुमा पुर्वाधार विकासका कामलाई तिब्रताका साथ अघि बढाउनु पर्छ । (चीनका लागि पूर्व नेपाली राजदुत कार्कीसँग कुराकानीमा आधारित)

३५ हजार सिलिण्डर ग्यास र २६/२६ लाख लिटर डिजेल–पेट्रोल चीनसँग मागियो, १० वटा ग्यास बुलेट किन्ने तयारी

काठमाडौं, ७ मंसिर । सरकारले ३५ हजार सिलिण्डर ग्यास तथा २६/२६ लाख लिटर डिजेल तथा पेट्रोल अनुदानमा उपलब्ध गराउने चीन सरकारलाई आग्रह गरेको छ । बाणिज्य तथा आपुर्ति मन्त्रालयले चीन सरकारलाई पत्र लेखेर सो मात्रामा ग्यास तथा डिजेल र पेट्रोल अनुदानमा उपलब्ध गराउन आग्रह गरेको हो । ‘पाँच हजार मेट्रिक टन ग्यास तथा दुई दुई हजार मेट्रिक टन डिजेल र पेट्रोल अनुदानमा उपलब्ध गराउन चीन सरकारलाई पत्राचार गरेका छौं ।’ बाणिज्य सचिव ङइन्द्र प्रसाद उपाध्यायले सोमबार व्यवस्थापिका संसदको सार्वजनिक लेखा समिति बैठकमा भने । पाँच हजार मेट्रिक टन ग्यास बराबर ३५ हजार लिसिण्डर हुनेछ भने दुई हजार मेट्रिक टन डिजेल तथा पेट्रोलको मात्रा २६/२६ लाख लिटर हुनेछ । चीनले अनुदानमा दिएको एक हजार मेट्रिक टन अर्थात करिब १३ लाख लिटर पेट्रोल केरुङ नाका हुँदै नेपाल काठमाडौं ल्याईसकिएको छ । हाल सो पेट्रोल साविककै मुल्यमा बिक्रिवितरण भैरहेको छ । चीनसँग इन्धन कारोबारको औपचारिक सम्झौता भैसकेको र व्यवसायीक कारोबारको सम्झौता प्रक्रिया अघि बढिरहेका बेला सरकारले पुनः अनुदानमा ग्याससहितको इन्धन मागेको हो । कात्तिक ११ गते बेईजिङमा भएको सम्झौता अनुसार नेपालले कुल खपतको ३३ प्रतिशत इन्धन चीनसँग खरिद गर्नेछ । यसै बिच सरकारले चीनबाट ग्यास आयातका लागि १० वटा ग्यास बुलेट किन्ने तयारी सुरु गरेको छ । नेपाल–चीन जोड्ने सडकको अवस्थालाई मध्यनजर गर्दै १० टन क्षमताका १० वटा ग्यास बुलेट खरिद गर्न लागेको बाणिज्य तथा आपुर्ति मन्त्री गणेशमान पुनले जानकारी दिए । ‘नेपाल र चीन जोड्ने सडक पुर्वाधारलाई मध्यनजर गर्दै १० टन क्षमताका पाँचदेखि १० वटा ग्यास बुलेट खरिद गर्ने प्रक्रिया अघि बढेको छ, सार्वजनिक खरिद ऐन वा मन्त्री परिषदबाट खरिद गर्ने भन्नेबारे छलफल भैरहेको छ ।’ मन्त्री पुनले सार्वजनिक लेखा समिति बैठकलाई जानकारी दिँदै भने । कति छ इन्धन स्टक ? निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले काठमाडौंमा १३९७ किलोलिटर पेट्रोल, २०२३ किलोलिटर डिजेल, २०४ किलोटिर मट्टितेल स्टक रहेको जानकारी दिए । उनले मुलुकभर रहेका निगमका डिपोहरुमा २८५७ किलोलिटर पेट्रोल, ८४०८ किलोलिटर डिजेल तथा १०१४ किलो लिटर मट्टितेल तथा ३७७ किलोलिटर हवाई इन्धन स्टक रहेको पनि जानकारी दिए । मागको १० देखि १५ प्रतिशतसम्म मात्रै आपुर्ति भैरहेकाले बजार थेग्न नसकिएको उनले बताएका थिए । शनिबार रातीदेखि मधेशमा पुनः सुरु भएको हिंसात्मक प्रदर्शनसँगै एक ट्यांकर इन्धन समेत नेपाल प्रवेश नगरेको उनले बताए ।