विकासन्युज

जनप्रतिनिधिका छोराछोरीले निजी विद्यालयमा पढ्न नपाउने नगरपालिकाको निर्णय

बाजुरा । सरकारी, गैरसरकारी र जनप्रतिनिधिका छोराछोरीले निजी क्षेत्रमा सञ्चालन हुँदै आएका विद्यालयमा पढ्न नपाउने भएका छन् । बडीमालिका नगरपालिकाको तेस्रो बैठकबाट नगरभित्रको शैक्षिक अवस्था सुधार गर्नका लागि नगरभित्रका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र नवनिर्वाचित जनप्रतिनिधिका बालकालिकालाई बोर्डिङमा पढाउन नपाउने निर्णय गरिएको नगर उपप्रमुख कविता बुढा विष्टले बताए । उनले नगरपालिकाभित्रका छोराछोरी र सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीले बोर्डिङमा पढाउने गरेको र सर्वसाधारणका छोराछोरी सरकारी विद्यालयमा पढ्ने भएकाले शिक्षामा एकरुपता ल्याउनका लागि बैठकबाट निर्णय गरिएको बुढा विष्टले जानकारी दिए । विभिन्न उपसमितिमार्फत आएका सुझाव र निर्णयलाई कार्यसमितिमा प्रस्तुत गर्दै नगरवासीको हितमा निर्णय गरिएको विष्टको भनाइ रहेको छ । नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा दरबन्दी कम भएका तर माध्यमिक विद्यालय सञ्चालन गरिएका विद्यालय समायोजन गरिने भएका छन् । बैठकले कृषि क्षेत्रका एक घर एक करेसाबारीको नीति पारित गरेको नगर प्रमुख पदम बडुवालले बताए । उनले प्रत्येक घरमा खानेपानी, विद्युत्ल गायतका योजना पुर्याउने गरी निर्णय पारित भएको बताए । रासस

३० मेगावाटको चमेलिया पुसको दोस्रो सातादेखि सञ्चालनमा आउने, प्रतिमेगावाट लागत ५२ करोड

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सुदुरपश्चिमको दार्चुलामा निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया सबैभन्दा महंगो जलविद्युत आयोजना भएको छ । निर्धारित समय भन्दा ६ वर्ष ढिला गरी सकिन लागेको चमेलियाको लागत प्रतिमेगावाट ५२ करोड रुपैयाँ पुगेको छ । यो प्रारम्भीक लागत मात्र हो । वास्तविक खर्च आएपछि आयोजनाको आयोजनाको लागत अझ बढ्ने देखिन्छ ।   निजी लगानीमा प्रतिमेगावाट औसत १५ देखि २० करोड रुपैयाँ हारहारीमा जलविद्युत आयोजना निर्माण भइरहेका छन् । अन्य आयोजनाको तुलनमा चमेलियाको लागत झण्डै ३ गुणा बढी र हालसम्मको सबैभन्दा महंगो आयोजनामा दर्ज भएको छ । ५२ करोडले ३ मेगावाट जलविद्युत आयोजना सम्पन्न हुन्छ । गत आर्थिक वर्ष ०७३/०७४ को असारसम्म चमेलियामा १४ अर्ब ६० करोड रुपैयाँ खर्च भएको छ । काम बाँकी र दावी भुक्तानीलगायत अन्य गरी अझै १ अर्ब रुपैयाँ लगात थप हुने देखिएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । विकास न्युजसंग कुरा गर्दे उनले आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको बताए । अब एक महिनाभित्र (सेप्टेम्बर) काम सम्पन्न गरी ठेकेदार चाइना गेजुवा ग्रुप लिमिटेडले आयोजना हस्तान्तरण गर्ने सहमति भएको उनले जानकारी दिए । अहिले आयोजनाको मुल सुरुङमा प्रवेश गर्नका लागि बनाइएको सहायक (अडिट) सुरुङ बन्द गर्ने र सफाइको काम भइरहेको छ । आगामी डिसेम्बरसम्म आयोजना सञ्चालनमा आउने लक्ष्य लिए पनि एक महिना अगावै आउने संभावना रहेको दाहाल बताउछन् । दुई साता परीक्षण उत्पादन भएपछि मात्र व्यवसायीक उत्पादनमा जाने उनको भनाई छ । आयोजनाको सुरुङ भरिन २० दिन लाग्नेछ । आयोजनाले सेप्टेम्बर पहिलो साताबाट विद्युत्गृह दार्चुलाको बलाँचबाट कैलालीको अत्तरियासम्मको प्रसारणलाइन परीक्षण गर्ने कार्य सुरु गर्ने भएको छ । दुई हप्तासम्मको अवधिमा यो कार्य सम्पन्न गरिसक्ने लक्ष्य आयोजनाले लिएको छ । यस अघि आयोजनाले बलाँचदेखि अत्तरियासम्मको १३२ केभी प्रसारण लाइनका पोलको परीक्षण गरिसकेको छ । लाइन परीक्षण गरेलगत्तै पावर हाउस बलाँच र अत्तरियामा निर्माण गरिएको सवस्टेसनको परीक्षण सुरु गरिने कार्ययोजना रहेको दाहालले जानकारी दिए । आर्थिक वर्ष २०६३/६४ बाट निर्माण सुरु भएको चमेलिया २०६८ सालमा सम्पन्न गर्ने तालिका भए पनि झण्डै ११ वर्षपछि पूरा हुँदैछ । त्यसबेलामा ७ अर्ब रुपैयाँ लगानीमा ३ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य थियो । ठेकेदारसँगको अमिझदारी ,सुरुङमा देखिएको समस्या, भौगालिक विकटता, प्रसारण लाइनको समस्या आदि कारणले ढिलो र लागत बढेको प्राधिकरणको भनाई छ । चालु आर्थिक वर्षमा प्राधिकरणले निर्माण गरिरहेको चमेलिया मात्र सम्पन्न हुने भएको छ । चालु आर्थिक वर्षमा सरकारले ८ सय मेगावाट थप बिजुली उत्पादन गर्ने लक्ष्य लिएकोमा निजी क्षेत्रको समेत गरी बढीमा साढे २ सय मेगावाट थप हुने प्राधिकरणले अनुमान गरेको छ । गत वर्ष निजी क्षेत्रबाट ११ आयोजना सम्पन्न भई प्रणालीमा १२२ मेगावाट बिजुली थप भएको छ । हालसम्म बिजुली जडित क्षमता ९८० मेगावाट पुगेको छ ।  

सिजी ब्राण्डले परम्परा दशैं तिहार योजना ल्यायो

काठमाडौं । दशैं तथा तिहारको अवसरमा ईलेक्ट्र«ोनिक्स् ब्राण्ड सिजीले आफ्ना सबै ग्राहक वर्गमा सि.जी. परम्परा नामक योजना ल्याएको छ । यस योजनाअन्तरर्गत सिजी ब्राण्डका रेफ्रिजेरेटर र एलइडी टि.भी २० देखि ३२ इन्चकोे खरिदमा ग्राहकले सजिलै २० प्रतिशतसम्ममा क्यास ब्याक र फोर के स्मार्ट टि.भी, स्मार्ट टि.भी , टर्वो टि.भी, वासिन मेसिन तथा माइक्रो वेभको खरिदमा पक्का उपहारहरु पाउन सक्ने छन् । साथै, एसीको खरिदमा निःशुल्क जडानको सुविधा उपलब्ध गराएको कम्पनीले जनाएको छ । कम्पनिको अनुसार यो योजना १५ भाद्र२०७४ साल देखि नेपाल अधिराज्यभरि सीमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीले जानकारी दिएको छ ।    

दुबै हात नभएकी पाइलट जेसिकालाई स्वागत

काठमाडौं । जन्मदेखि नै दुई हात नभएकी तर १० हजार फिटमाथि प्लेन उडाएर वल्र्ड रेकर्ड अफ द गिनिज बुकमा नाम लेखाएकी अमेरिकी नागरिक जेसिका कक्सलाई काठमाडौं नयाँ वानेश्वर स्थित नर्थन लाइट एकेडेमी अफ एभिएशन एन्ड टेक्नोलोजि (नाट)ले सम्मान गरेको छ । उड्डयन क्षेत्रमा जेसिका विश्वकी एकमात्र विशाल प्रतिभासहित उत्प्रेरणाको स्रोत रहेको जनाउँदै नाटले उनलाई सम्मान गरेको छ । ह्यान्डिकेप्ट इन्टरनेशनलकी विश्व सद्भावना राजदूत जेसिकाले उड्डयन एउटा जोखिम र जनभावनाको पेशा रहेको सम्मानका क्रममा बताइन् । अमेरिकन तेक्वान्दो एशोसीएशनकी व्ल्याक बेल्ट समेत रहेकी जेसिको जन्म नै ‘कठिन’ मध्येको एक मानिन्छ । एरिजोना विश्वविद्यालयबाट साइकोलोजीमा स्नातक जेसिकाले सूचनाको विषयमा पनि अध्ययन गरेकी छिन् । उनले १४ वर्षको उमेरदेखि कृत्रिम हातको साहरा छाडेकी जेसिका खुट्टाले गाडी चलाउने, प्रति मिनेट २५ शव्द टाइप गर्ने क्षमता राख्छिन् । उनले २००५ मा प्लेन उडाएकी थिइन् । २००८ मा उनलाई पाइलटको लाइसेन्स दिइएको थियो । जेसिका विश्वका लागि उदाहरणीय पात्र रहेको बताउँदै सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा पाइलट विजय लामाले उनलाई खादा लगाएर सम्मान गरेका थिए । नाटका विद्यार्थी र सञ्चालक समुहले जेसिकालाई कलेजले सम्मान गर्न पाउनु निक्कै गर्वको अवसर रहेको बताएका थिए । नेपालमा पहिलो पल्ट कलेजका रूपमा नै उड्डयनप्रति चासो हुनेलाई सुविधा दिएकोमा लामाले नाटलाई धन्यवाद पनि दिए । ‘उड्डयन क्षेत्रको अध्ययन गर्न नेपालमा कठिन थियो । तर, नाटले यो सुविधा दिएको छ ।’, उनले भने,‘जेसिका कक्स जस्तो प्रेरणाको स्रोतलाई ल्याएर स्वागत पनि गर्नुभयो । यो सुविधा दिएकोप्रति कलेजलाई धन्यवाद दिन चहान्छु ।’

रातु नदीको पुल पाँच दिनका लागि बन्द

महोत्तरी । पूर्वपश्चिमराजमार्गअन्तर्गत महोत्तरी र धनुषाको साँधमा पर्ने रातुनदीको पुल आजदेखि पाँच दिनका लागि बन्द भएको छ । गत साउन २८ गते आएको भीषण बाढीले रातु पुल भासिएपछि पुलमा बेलिब्रिज राखिने भएपछि पुलबाट आवातजावत गर्ने सवारीसाधनमा रोक लगाइएको छ । पुलमा बेलिब्रिज राख्ने भएपछि वैकल्पिक मार्गको रुपमा नदीको दक्षिणतर्फ डाइभर्सन बनाइएको छ । त्यस्तै वर्षात्मा डाइभर्सन बगाएको खण्डमा ढल्केवर–जनकपुर–जलेश्वर–औरही– बर्दिवासको सडक प्रयोग गर्नका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । रासस

चितवनको सडक सञ्चालनमा

चितवन । शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको फिस्लिङ र घोप्टे भिरमा खसेको पहिरो पन्छाएपछि आज बिहान ८ः३० बजेदेखि सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवन प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार गजुरीबाट ग्रेडर झिकाएर पहिरो सफा गरिएको हो । पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ । सो खण्डमा गएराति १२ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । नारायणगढ–मुग्लिन सडकखण्ड भने अझै सञ्चालनमा आउन सकेको छैन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोला, केराबारी र चारकिलोमा खसेको पहिरो पन्छाउने क्रम शुरु भएको थापाले बताए । रासस

खम्बामा टाँगिएका अव्यवस्थित तार काटियो

काठमाडौं । सडकका खम्बामा अव्यवस्थितरूपमा टाँगिएका केबल र टेलिफोनका तारलाई व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणले तार काट्न शुरु गरेको छ । बिजुलीका तार, टेलिफोनका तार र अन्य केबलका तारसमेत एउटै खम्बा ९पोल०मा राखिएको हुँदा शहर अत्यन्त कुरुप देखिएको, असुरक्षा बढ्दै गएको र राजश्वसमेत हिनामिना भएको भन्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले माइतीघरस्थित खम्बामा टाँगिएका अव्यवस्थित तार काटेर त्यसको शुरुवात गरे । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले भन्नुभयो, “एशियन डेभलभमेन्ट बैंकको सहयोगमा ऊर्जा मन्त्रालयले जमिनमुनि तार विछ्याउने प्रयास अगाडि बढाइरहेको छ र सडक फराकिलो बनाउनेबारे पनि छलफल भइरहेको छ ।” यसअघि सञ्चार मन्त्रालयले सम्बन्धित निकायलाई बोलाएर तार पहिचान गर्न र व्यवस्थित गर्न भने पनि व्यवस्थित भएको थिएन । वैधानिकताको दायराभित्र नआएसम्म तार काट्ने अभियानलाई देशैभरि सञ्चालन गर्ने मन्त्री बस्नेतको भनाइ छ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले तार एकै ठाउँमा गन्जागोल हुँदा धेरै ठाउँमा असुरक्षा हुने, बाटोमा मोटरसाइकल तथा गाडी हिँड्दा बेरिएर दुर्घटना हुने भएकाले पनि केबल र टेलिफोनका तार हटाउनुपरेको बताए। अहिले ती तार काटेर एकै ठाउँमा व्यवस्थित गर्ने र भविष्यमा त्यसलाई जमिनमुनिबाट व्यवस्थित गर्ने प्राधिकरणको योजना रहेको छ । जमिनमुनि तार बिछ्याउनका लागि प्राधिकरणले बजेटको समेत व्यवस्था गरेको छ । रासस

निःशुल्क शिविरमा ५०९ जनाको मुटु जाँच

भक्तपुर । मध्यपुरथिमिको गठ्ठाघरमा सञ्चालित हेल्दी हार्ट क्लिनिकले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ५०९ जना लाभान्वित भएका छन् । सहज र सर्वसुलभरुपमा जिल्लामै मुटु रोगको सम्पूर्ण परीक्षण एवं उपचार गर्ने उद्देश्यले सञ्चालित क्लिनिकले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा शनिबार शिविर आयोजना गरेको हो । शिविरमा विशेषज्ञ चिकित्सकको टोलीले ५०९ जनाको निःशुल्क स्वास्थ्य जाँच गर्नाका साथै औषधिसमेत निःशुल्क वितरण गरिएको क्लिनिकका सञ्चालक बचन देउजाले जानकारी दिए । शिविरमा मुटुरोग, नाक, कान, घाँटी, प्रसूति रोग, हाडजोर्नी, इसिजी, इको, रगत तथा पिसाब परीक्षण गरिएको थियो । रासस