मूल्यबृद्धि ११ प्रतिशतभन्दा माथि
काठमाडौं, १ साउन । गत जेठ महिनामा पनि उपभोक्ताले महंगीको राम्रै ताप सहनु परेको छ । सो महिनामा तरकारी र दालजन्य बस्तुको मूल्य अत्याधिक बढेको छ । साउन महिनामा तरकारीको मूल्य गत बर्षको सोही महिनाको तुलनामा २९ दशमलब ४ प्रतिशतले बढेको छ । यस्तै दालजन्य बस्तुको मूल्य २१ दशमलब ५ प्रतिशतले बढेको छ । समग्रमा मूल्यबृद्धि भने ११ दशमलब १ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७ दशमलब ४ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ दुवै समूहको मूल्य वृद्धि दोहोरो अंकमा रहेकोले मूल्यबृद्धिदर उच्च रहन गएको हो । खाद्य तथा पेय पदार्थ समूहको मूल्य बृद्धिदर ११ दशमलब ९ प्रतिशतले र गैर–खाद्य तथा सेवा समूहको मूल्य १० दशमलब ५ प्रतिशतले बढेको छ । तरकारी, दलहन तथा गेडागुडी, मदिराजन्य पेय पदार्थ, लत्ता कपडा तथा जुत्ता समूहको मूल्य वृद्धिदर उच्च रहेकाले वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीतिमा थप चाप परेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । लत्ता कपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र मदिराजन्य पेय पदार्थको मूल्यमा क्रमशः १७ प्रतिशत, १६ दशलमब ४ प्रतिशत र १५ दशमलब ९ प्रतिशतले वृद्धि भएकोले गैर खाद्य समूहको मुद्रास्फीति दर दोहोरो अंकमा पुगेको हो । क्षेत्रगत आधारमा काठमाडौं उपत्यकामा १३ प्रतिशत, पहाडमा १२ प्रतिशत, हिमालमा १० दशलमब २ प्रतिशत र तराईमा ९ दशमलब ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर काठमाडौं उपत्यकामा ७ दशमलब ८ प्रतिशत, पहाडमा ८ प्रतिशत र तराईमा ६ दशमलब ७ प्रतिशत रहेको थियो ।
दुग्ध विकास संस्थान ४९ औं बर्षमा, बार्षिक नाफा ६ करोड
काठमाडौं । दुग्ध विकास संस्थान ४९ औं बर्षमा प्रवेश गरेको छ । संस्थानको स्थापना २०२६ साल साउन १ गते भएको थियो । संस्थानले गत आर्थिक वर्ष २०७२/७३ मा करिब ६ करोड नाफा कमाउन सफल भएको छ । संस्थानले अघिल्लो आर्थिक वर्षमा जम्मा ५ करोड २१ लाख ५९ हजार नाफा कमाएको थियो । संस्थानले किसानहरुबाट प्रत्येक वर्ष ८ करोडको हाराहारीमा दुग्ध खरिद गर्दै आएको छ । संस्थानको व्यापार साढे तीन अर्बको हाराहारीमा हुनेगरेको छ । बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै संस्थानका महाप्रवन्धक गंगा तिम्लिसिनाले ४४ जिल्लामा कार्यक्षेत्र विस्तार गरेको र दुई लाख ५० हजार लिटर दुध किसानहरुबाट संकलन गर्दै आएको जानकारी दिए । महाप्रवन्धक तिमल्सिनाले पछिल्लो समयमा दुध आयातलाई प्रतिस्थापन गर्न सफल भएको बताए । संस्थानको सुधारका लागि विभिन्न कार्ययोजनाहरु ल्याएको भन्दै उनले ग्रामीण क्षेत्रका दुध उत्पादक कृषकहरुलाई दुधको उचित मुल्यका साथै निश्चित बजारको व्यवस्था गर्ने उद्देश्यले नयाँ कार्यक्रमहरु ल्याएको जानकारी दिए । संस्थानले मिल्क होलि डेको समस्या समधानका लागि विराटनगरस्थित पाउडर प्लाण्टको क्षमता विस्तार गर्ने भएको छ । यस्तै संस्थानले सरकारको सहयोगमा बुटवलमा युएचटी प्लाण्टको स्थापना तथा नेपालगञ्ज र अत्तरियामा प्रशोधन कारखानाको क्षमता विस्तार गर्ने तयारी गरेको छ । पशु आहार उत्पादन कारखाना व्यवसायीक उत्पादन तथा विक्री वितरण गरिने भएको योजना सार्वजनिक गरेको छ । यस्तै पोखरामा दुग्ध पदार्थ उत्पादन कारखाना, खुमलटारमा दहि उत्पादन कारखाना स्थापना गर्ने, चिस्यान केन्द्रहरु तथा प्रशोधन कारखानाहरुमा अटोमाईटेजसन गरिने, भुस तथा दाउरा ब्वाईलर सञ्चालमा ल्याई डिजेल खपत घटाउने, दक्ष जनशक्ति आपूर्ति तथा ज्यालादारीहरुलाई स्थायी गर्ने, केन्द्रीय कार्यालयमा रहेको जगगाको उचित व्यवस्थापन गर्ने योजना डिडिसीले अघि सारेको छ । बार्षिकोत्सव समारोहमा पशुपंक्षी तथा कृषि विकास मन्त्री शान्ता मानवीले दुग्धजन्य पदार्थमा आत्मनिर्भर बन्दै निर्यातको बाटोमा अघि बढ्नु पर्ने बताइन् । उनले कृषि क्रान्तिले मात्रै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सक्ने बताउँदै सरकारले त्यसका लागि क्रियाशिल रहेको पनि बताईन् । संस्थानका अध्यक्ष खिम बहादुर थापाले संस्थानलाई सबल बनाउँदै दुग्धजन्य पदार्थमा मुलुकलाई आत्मनिर्भर बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । नयाँ उत्पादन दाना र टि मिल्क बजारमा संस्थानले आफ्नो ४८ औं वार्षिकोत्सवमा पहिलोपटक डिडिसी दाना टि मिल्क नामक छुट्टै दुध बजारमा ल्याएको छ । यी उत्पादन साउन १ गतेदेखि बजारमा आएका हुन् । संस्थानले चियाका लागि उत्पादन गरेको दुध फयाट कम भएको र वाक्लो रहेकोले हाल प्रचलनमा रहेको दुधभन्दा २ कप बढी चिया बनाउन सकिने जनाएको छ । संस्थानले होटलहरु व्यवसायीहरुको मागअनुसार बजार अध्ययन गरेरै टि मिल्क बजारमा ल्याएको बताएको छ । टि मिल्कमा फ्याटको मात्रा १ दशमलब ५ प्रतिशत रहेको छ भने एसएनएफको मात्रा सबैभन्दा बढी ९ दशमलब ५ प्रतिशत रहेको छ । सामान्य दुधमा एसएनएफको मात्रा ८ प्रतिशत र फ्याटको मात्रा ३ प्रतिशत हुने गरेको छ । टि मिल्कका कारण थप १० हजार लिटर दुधको खपत बढ्ने संस्थानको अनुमान छ । त्यस्तै सस्थानले हेटौडामा सञ्चालनमा ल्याएको पशु आहार कारखानाबाट हालसम्म ७० हजार मेट्रिक टन दाना परीक्षणस्वरुप किसानसम्म पुगिसकेको जनाएको छ । निजी क्षत्रको तुलनामा सस्तो र गुणस्तरीय रहेकोले पनि डिडिसी दानाका लागि बजारको कुनै समस्या नरहेको पनि संस्थानका अधिकारीहरुले बताएका छन् ।
आइफोन ७ को मोडेल र फोटो लिक भयो, हेर्नुहोस मूल्यसहित तस्विर
काठमाडौं , ३१ असार । एप्पलको आगामी उत्पादन आइ फोन सेभेन, आइफोन सेभेन प्लस र आइ फोन सेभेन प्रो सेप्टेम्बरमा रिलिज हुँदैछ। चाइनाको लोकप्रिय सामाजिक सञ्जाल विबोले तीन मोडलका मोबाइको मूल्यसूचीसहित फोटाहरु सार्वजनिक गरेको छ। विबोले सार्वजनिक गरेअनुसार ३२ जिवीको आइफोन ७ को मूल्य चिनियाँ मुद्रा युआन ५ हजार २ सय ८८ अर्थात् ८४ हजार ६ सय रुपैयाँ पर्न आउँछ। यो नेपाली बजारमा उपलब्ध हुने मूल्य भने होइन। यस करहरु तथा डिलरले लिने कमिसन अतिरिक्त रहन्छ। ६५ जिवीको आइफोन सेभेनको मूल्य ६०८८ युआन अर्थात् ९७ हजार ४ सय रुपैयाँ पर्नेछ। २ सय ५६ जिवीको लिने हो भने ७१ हजार १८ युआन यानि १ लाख १३ हजार ६ सय रुपैयाँ पर्नेछ। आइफोन ७ प्लसको ३२ जिवीको मूल्य ६ हजार ८८ युआन अर्थात् ९७ हजार ४ सय रुपैयाँ र १ सय २८ जिवीको र २ सय ५६ जिवीको क्रमश: ६८८८ युआन (१ लाख १० हजार २ सय रुपैयाँ) र ७८८८ युआन (१ लाख २६ हजार २ सय रुपैयाँ) पर्ने जनाइएको छ। तेस्रो र सबैभन्दा महँगो मानिएको आइफोन सेभेन प्रोको ३२ जिवीको मूल्य ७०८८ युआन (१ लाख १३ हजार ७ सय रुपैयाँ), १ सय २८ जिवीका लागि ७८८८ युआन (१ लाख २६ हजार २ सय रुपैयाँ) र २५६ जिवीका लागि ८८८२ (१ लाख ४२ हजार २ सय रुपैयाँ) पर्नेछ। हरेक वर्ष एप्पलले जारी गर्ने स्मार्टफोनको मूल्यसँग यसपाला लिकेज भएको मूल्य सूची मिल्दो छ। आइफोन ७ बारे लिक भएको सूचनाअनुसार यसमा होम बटन र ३.५ एमम हेडफोन ज्याक रहने छैन। वाटरप्रुफ च्यासिस रहने अपेक्षा गरिएको छ भने आइफोन ७ प्लसमा डुअल क्यामरा इमेजिङ सिस्टम रहने अपेक्षा गरिएको छ। र यसमा ३ जिवी र्याम रहने बताइएको छ।
यस कारण कुमारी बैंक एनसीसीसँगको मर्जको विपक्षमा–अमिर प्रताप राणा
काठमाडौं, ३१ असार । एनसीसीसहित ४ वटा विकास बैंकसँग मर्जमा जाने कुमारी बैंक सञ्चालक समितिको ८ महिना लामो प्रयास शुक्रबार सम्पन्न साधारणसभाबाट विफल भएको छ । मर्जको पक्षमा कम्तिमा ७५ प्रतिशत मत हुनुपर्नेमा मर्जको विपक्षमा ५० प्रतिशतभन्दा बढी मत खसेको छ । रोचक पक्ष के छ भने शुक्रबारसम्मन्न विशेष साधारणसभामा भीआईपी नामधारीसहित १९ जना सेयरधनीले कम्तिमा दुई घण्टा मर्जको पक्षमा आफ्नो विचार राखे । तर अन्तिम वक्ता अमिर प्रताप राणाले जम्मा ८ मिनेट आफ्नो विचार राखे मर्जको विपक्षमा । अमृतभोगको हलमा खचाखच सेयरधनीले उनको हरेक तर्कमा समर्थन गर्दै गट्टटट ताली बनाए । अन्तत राणाको विचारको पक्षमा र सञ्चालक समितिको प्रस्तावको पक्षमा सेयरधनीले मतदान गरे । प्रस्तुत छ साधारणसभामा राणाले व्यक्त गरेको विचारको मुख्य अंश । जब कुमारी बैंकको सञ्चालक समितिले एनसीसीलगायत अन्य ४ वटा विकास बैंकसँग मर्जमा जार्ने सम्झौता गर्यो, तब मैले यो प्रक्रियालाई नजिकबाट अध्ययन गर्न थाले । बैंक सञ्चालक समितिले, मर्जर कमिटिले दिएको तथ्याङ्कहरु अध्ययन गरेँ । ती तथ्याङ्कहरु मलाई राम्रो लागेन । मैले अन्य लगानीकर्ता साथीहरुसँग आफूले देखेको कुरा गरे । प्रवद्र्धकहरुसँग पनि कुरा गरे, साधारण सेयरधनीहरुसँग पनि कुरा राखे । सत्य तथ्य, वास्तविकता जे हो, त्यो भने । उहाँहरुको कुरा पनि सुने । उहाँहरुले पनि ‘यो त राम्रो भएन, सत्य तथ्य कुरा लगानीकर्तासम्म आएकै छैन’, भनेर भन्नुभयो । मर्जर प्रक्रियामा विशेष साधारणसभा गर्नै पर्छ, त्यतिबेला आफ्नो कुरा राख्छु पर्छ भन्ने कुरा भयो । साधारणसभाबाट नै उचित निर्णय लिनुपर्छ भन्ने कुरा भए । त्यसपछि डिडिए रिपोर्ट आयो, मर्जको लागि तय भएको स्वाप रेसियो हामीलाई देखाईयो । एनसीसीको १०० हुँदा कुमारीको ९८ रुपैयाँ देखाईयो । अरु चार विकास बैंकहरुमा कसैको ८०, कसैको ७५, कसैको ७०, एउटाको ५० भन्दा पनि कम देखियो । कुमारीको ९८, एनसीसीको १०० ? यो कसरी हुन सक्छ ? मैले डीडीए गर्दा लिएका आधारहरु विश्लेषण गर्न लगाए । सिनियर अटिरहरुलाई अध्ययन गर्न दिए । निष्कर्ष के आयो भने कुमारीको १०० हुँदा एससीसीको ८० भन्दा कम हुनुपर्ने । (फ्लोरमा गटट्ट् ताली) विकास बैंकहरुको ५० भन्दा माथि कुनैको पनि हुन सक्दैन । (फ्लोरमा गटट्ट् ताली) अब त मनले मानेन । यो त हुने कुरै भएन । यो मर्जको स्वाप रेरियो मुलतः नेटवर्थमा आधारित छ । अन्टराष्ट्रिय मापदण्ड फरक छ । नेटवर्थ, एनपीए, एनबीए, ऋणहरुको अवस्था लगायत ७/८ वटा मापदण्डका आधारमा स्वाप रेसियो निर्धारण गरिनुपथ्र्यो, त्यो यहाँ भएको छैन । पूर्ववक्ता साथीहरुको कुरा सुनेँ । मर्जमा नगए राष्ट्र बैंकले कारवाही गर्छ, झन समस्या आउँछ । मलाई त्यस्तो लाग्दैन । यो विशेष साधारणसभाले एनसीसी लगायत चार विकास बैंकसँग मर्जमा जाने प्रस्तावको विपक्षमा निर्णय गर्दा कुनै पनि कानुनको उल्लंघन हुँदैन । विशेष साधारणसभाले मर्जमा नजाने निर्णय गर्दा राष्ट्र बैंकले कुमारी बैंकलाई कारवाही गर्छ भन्ने मलाई लाग्दैन । साधारणसभाको निर्णय राष्ट्र बैंकले मान्छ । हामी कानुनअनुसार चल्ने हो भने राष्ट्र बैंकले पनि हाम्रो निर्णयलाई कदर गर्छ । (फ्लोरमा गटट्ट् ताली) म यो फ्लोरलाई महत्वपूर्ण कुरा सुनाउँछु । तपाईहरुलाई भनिएको छैन । समस्या लुकाएर हुँदैन । कुमारी, एनसीसीसहित चार वटा विकास बैंक मर्जपछि बन्ने संस्थाले कम्तिमा तीन वर्ष लाभांश दिन सक्दैन । यो मेरो भनाई होइन, मर्जरका लागि गरिएको डिडिए रिपोर्टले दिएको निष्कर्ष हो । रिपोर्टमा आफ्टर मर्ज (मर्जपछिको अवस्था) शिर्षकमा यस्तो लेखिएको छ । (फ्लोरमा ताली) एनसीसीसँग मर्ज हुँदै गरेको विकास बैंकहरु मध्ये केही विकास बैंकमा अधिक बढी कर्मचारी रहेछन् । उनीहरुले यसअघि नै फाइनान्स कम्पनीसँग मर्ज गरेकाले बढी कर्मचारी हुन गएको रहेछ । ६ वटा बैंक मर्ज हुँदा करिव १४ सय कर्मचारी हुनेरहेछ । कुमारी बैंकसँग ३६ अर्ब निक्षेप छ । कर्मचारी साढे ३ सय कर्मचारी छन् । ६ संस्था मर्ज हुँदा निक्षेप करिव ७८ अर्ब हुन्छ । विजनेश करिब ११५ प्रतिशतले वृद्धि हुँदा कर्मचार ३०० प्रतिशतले वृद्धि हुन्छ । ७०० देखि ८०० कर्मचारी भए पुग्ने ठाउँमा १४०० कर्मचारी राखेर, बल्छि बजार बनाएर हुन्छ ? यस्तो संस्था कसरी चल्छ ? मर्जको मुख्य उदेश्य थोरै कर्मचारीले धेरै विजनेश हेण्डल गर्छ, बढी नाफा दिन्छ भन्ने हो । तर त्यो उदेश्य एनसीसीसँगको मर्जबाट सम्भव छैन । (फ्लोरमा ताली) मर्जपछि सेयर पुँजी ३०६ प्रतिशतले बढ्छ तर विजनेश ११५ प्रतिशतले मात्र बढ्छ । यस्तो मर्ज गरेर कसरी नाफा हुन्छ ? नाफा छैन, फाइदा छैन भने किन मर्जमा जाने ? (फ्लोरमा ताली) अब तपाई मर्जमा जाने पक्षमा हुनुहुन्छ ? म त मर्जको पक्षमा छैन । बाटोमा अगाडि खाल्टो देख्दा देख्दै म त अगाडि बढ्ने पक्षमा छैन । हामी मर्जमा जाने हो भने मर्जपछि बन्ने बैंकको चुक्ता पुँजी ८ अर्ब २४ करोड रुपैयाँ हुन्छ । त्यसपछि बैंकले बोनस सेयर, हकप्रद सेयर केही पनि दिदैन । जब बोनस सेयर, हकप्रद सेयरको सम्भावना हुँदैन, बजारमा सेयरको मूल्य निकै तल जान्छ । मर्जमा गएपछि हामी सबैलाई घाटा हुन्छ भने हामी किन मर्जमा जाने ? (फ्लोरमा ताली) मर्जमा जान हुँदैन भन्ने पक्षमा भोट दिन म तपाईहरुलाई आग्रह गर्छु । धन्यवाद । र यो पनि कुमारी बैंकको विशेष साधारणसभामा चुनाव पक्का, एनसीसी बैंकसँग मर्ज नहुने सम्भावना बढ्यो
साउन २ गतेदेखि सेयर कारोबार एक घण्टा बढ्ने, धितोपत्र बोर्डले दियो पाँच बुँदे निर्देशन
काठमाडौं, ३१ असार । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले धितोपत्रको दोस्रो बजार कारोबार अवधी एक घण्टा बढाएको छ । साउन २ गतेदेखि अब दैनिक चार घण्टा सेयर बजार खुल्नेछ । नेप्सेले सरोकारवाला निकायहरुको सुझाव अनुसार सेयर कारोबारको समयावधी वृद्धि गरेको जनाएको छ । साउन २ गतेदेखि सेयर बजार बिहान ११ बजे खुलेर ३ बजे बन्द हुनेछ । ‘सरोकारवालाहरुसँगको छलफल पछि एक घण्टा समय थप्ने निर्णय गरेका हौं, अब लगानी कर्ताले समय पुगेन भनेर गर्ने गुनासो कम हुन्छ’, नेप्सेका प्रवक्ता शम्भु पन्तले विकासन्युजसँग भने । उता, नेपाल धितोपत्र बोर्डले भने लगानी कर्ताहरुलाई सुविधाका लागि पाँच बुँदे निर्देशन दिएको छ । बोर्डले तत्कालै क्लियरिङ बैंकको संख्या थप्न, स्वचालित कारोबार प्रणालीमा देखिएको समस्या तत्काल सुधार गर्न, कारोबार राफसाफ र फछ्र्यौट सम्बन्धमा समयमै पेइन र पेआउटको व्यवस्था चुस्त दुरुस्त बनाउन निर्देशन दिएको हो । त्यस्तै, बोर्डले सेटलमेन्ट ग्यारेण्टी फण्डको कार्यान्वयन तत्काल गराउन तथा धितोपत्रको कारोबार तथा दलाल व्यवसायीको कामकारवाहीको कडा अनुगमन गर्न समेत निर्देशन दिएको हो । नेप्सेका प्रवक्ता पन्तले बोर्डले दिएका बजार विकास सम्बन्धी निर्देेशनहरु कार्यान्वयनका लागि नेप्से प्रतिवद्ध रहेको बताए ।
नेवार बस्तीमा एकीकृत बस्तीको पुनःनिर्माण अभियान सुरु
काठमाडौं, ३१ असार । काठमाडौंको भित्री नेवार बस्तीमा एकीकृत बस्ती पुनःनिर्माण अभियान सुरु भएको छ । गत वर्ष वैशाख १२ को विनाशकारी भूकम्पबाट प्रभावित काठमाडौँ महानगरपालिकाको वडा नं १८ भित्र पर्ने दुम्बोचुक तथा ल्होँह गल्लीमा रहेका ५४ घर परिवारको संयुक्त आवास निर्माण गरिन लागिएको हो । निर्माण कार्यलाई प्रक्रियामा लगेपछि त्यसको परिणाम के हुने तथा त्यसबाट स्थानीय नेवार बासिन्दालाई के लाभ हुने भन्ने विषयमा काठमाडौं उपत्यका विकास प्राधिकरण तथा स्थानीयवासीबीच आज छलफल भयो । झन्डै तीन रोपनी जग्गामा ५४ परिवारका लागि संयुक्त आवास निर्माण हुने भए पनि सयौँ वर्षदेखि आफ्नो घरमा बस्दै आएका कतिपय जग्गाधनीले अझै जग्गाधनी पुर्जा तथा निस्सा नलिएको तथा कतिपयको जग्गाधनी प्रमाणपुर्जा भूकम्पबाट क्षति भएको घरमा नै पुरिएर हराएको वा बिग्रेको अवस्थामा भएकाले बस्ती निर्माण गर्न केही समस्या देखिएको स्थानीयवासीले बताएका छन् । कार्यक्रममा पूर्व भौतिक योजनामन्त्री हिसिला यमीले काठमाडौंको भित्री नेवार वस्तीमा २१औँ शताब्दीमा संयुक्त आवासको अवधारणा लागू हुन लागेकामा खुसी प्रकट गरेका छन् । प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले संयुक्त आवास निर्माण भए पनि जग्गाको स्वामित्व घरधनी नै हुने र कथम्कदाचित जग्गाधनी प्रमाणपुर्जा लिन नपाएको वा हराएको अवस्थामा पनि उनीहरुको जग्गाधनी पुर्जा लिन प्राधिकरणले सहयोग र सल्लाह दिने तर उनीहरुको हक नखोसिने स्पष्ट पारे । उक्त आवास ७६० वर्ग फुटमा फैलिने छ र संरचना पाँच तलाको हुने छ । यही साउन १० भित्र प्राधिकरणले एकीकृत बस्ती वा संयुक्त आवास बनाउन एउटा कमिटी बनाइने भएको छ । दुम्बो चुकका स्थानीय बासिन्दा विजयानन्द वैद्यले संयुक्त आवास निर्माण कार्य राम्रो कदम भए पनि आफ्नो १२ परिवार रहेको एउटै घरको १४ आना जग्गाको हालसम्म जग्गाधनी प्रमाण पुर्जा र निस्सासमेत लिइनसकेकाले समस्या भइरहेकोतर्फ ध्यानाकर्षण गरेका छन् । एकीकृत बस्ती पुनःनिर्माण अभियानका संयोजक मचाराजा महर्जनले एकीकृत बस्तीभित्रका स्थानीय बासिन्दालाई घर निर्माणमा सघाउ पु¥याउने उद्देश्यले अभियानले लामो समयदेखि पहल गर्दैआएको बताउँदै पहिलो पटक निर्माण हुन लागेको यो अभियान अन्य ठाउँमा पनि विस्तार गर्न उपयुक्त हुने सुझाव दिएका थिए। रासस
डिडिसीको नयाँ उत्पादन दाना र टि मिल्क बजारमा
काठमाडौ, ३१ असार । दुग्ध विकास संस्थानले आफ्नो ४८ औं वार्षिकोत्सवमा विभिन्न नयाँ उत्पादन बजारमा ल्याउने भएको छ । संस्थानले नेपालको पशुपक्षी दान क्षेत्रमा रहेको निजी क्षेत्रको एकाधिकारकार तोड्दै पहिलोपटक डिडिसी दाना बजारमा ल्याउने भएको छ भने चियाका लागि टि मिल्क नामक छुट्टै दुधको पनि बिक्री सुरु गर्ने भएको छ । संस्थानले वार्षिकोत्सव र भावी योजनाबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । संस्थानका महाप्रवन्धक गंगाप्रसाद तिमल्सिनाले संस्थानको यही साउन १ गते हुने वार्षिकोत्सव कार्यक्रममा उक्त उत्पादनहरु सार्वजनिक गरिने बताए । संस्थानले चियाका लागि उत्पादन गरेको दुध फयाट कम भएको र वाक्लो रहेकोले हाल प्रचलनमा रहेको दुधभन्दा २ कप बढी चिया बनाउन सकिने जनाएको छ । संस्थानले होटलहरु व्यवसायीहरुको मागअनुसार वजार अध्ययन गरेरै टि मिल्क बजारमा ल्याउन लागेको संस्थानका उपमहाप्रवन्धक इश्वरी प्रसाद अधिकारीले बताए । उनका अनुसार टि मिल्कमा फयाटको मात्रा १.५ प्रतिशत रहेको छ भने एसएनएफको मात्रा सबैभन्दा बढी ९.५ प्रतिशत रहेको छ । सामान्य दुधमा एसएनएफको मात्रा ८ प्रतिशत र फयाटको मात्रा ३ प्रतिशत हुने गरेको छ । टि मिल्कका कारण थप १० हजार लिटर दुधको खपत बढ्ने संस्थानको अनुमान छ । त्यस्तै सस्थानले हेटौडामा सञ्चालनमा ल्याएको पशु आहार कारखानाबाट हालसम्म ७० हजार मेटिकटन दाना परीक्षणस्वरुप किसानसम्म पुगिसकेको र किसानबाट उत्साहजक प्रतिक्रिया आएको संस्थानले दाबी गरेको छ । निजी क्षत्रको तुलनामा सस्तो र गुणस्तरीय रहेकोले पनि डिडिसी दानाका लागि बजारको कुनै समस्या नरहेको पनि संस्थानका अधिकारीहरुले बताएका छन् । संस्थानले आगामी योजनाअन्तर्गत दुध तथा दुग्ध जन्य पदार्थको विविधिकरण गर्दै जाने भएको छ । मिल्क होलिडे समस्या न्यूनीकरणका लागि विराटननगरस्थित पाउडर प्लान्टको क्षमता विस्तार गर्ने, बुटवलमा युएचटी प्लान्ट स्थापनाका साथैै नेपालगंज र अत्तरियामा प्रसोधन कारखानको क्षमता विस्तार गर्ने, खुमलटारमा दही उत्पादन कारखाना स्थापना गर्ने, भुस तथा दाउरा व्वाइलर प्लान्ट सञ्चालनमा ल्याइ डिजेल खपत घटाउने लगायत रहेका छन् । संस्थानले हाल ग्रामीण क्षेत्रबाट दैनिक साढे दुइ लाख लिटर दुध संकलन गरी शहरी क्षेत्रमा दैनिकरुपमा १ लाख ८० हजार लिटर प्रसोधित दुध विक्री वितरण गर्दै आएको छ ।
संसद्मा बजेटले स्थान पाएन, सरकार विरुद्ध अविश्वास प्रस्तावमा छलफल साउन ६ गते
काठमाडौं, ३१ असार । बजेटसम्बन्धी विधेयक पारित गर्ने मितिका बारेमा दलहरुबीच सहमति नहुँदा व्यवस्थापिका–संसद्को बैठक आगामी साउन ६ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेका लागि तोकिएको बैठक सूचना टाँस गरेर साउन ६ गते ११ बजेसम्मका लागि स्थगित गरिएको हो । प्रमुख विपक्षी दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेपछि दलहरुबीच बजेटसम्बन्धी विधेयक कहिले पारित गर्ने भन्ने सम्बन्धमा कुरा नमिल्दा बैठक स्थगित भएको बताइएको छ । साउन ६ गते बस्ने बैठकमा माओवादी केन्द्रका अध्यक्षसहित २८१ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल हुने संसद् सचिवालयको सूचनामा उल्लेख छ । सरकार बजेटसम्बन्धी अन्य विधेयक तत्काल पारित गराउने पक्षमा छ । काँग्रेस र माओवादी केन्द्रमा भने सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले उक्त प्रस्तावअघि बजेटसम्बन्धी विधेयक पारित गर्दा सरकारका पक्षमा बहुमत देखिने भय उत्पन्न भएको छ । प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिइसकेकाले सरकार अल्पमतमा परेको अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुको बुझाइ छ । संसद्को कार्य सञ्चालन नियमावलीअनुसार बुधबार संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव परिपक्व हुन एक साता लाग्नेछ । उक्त प्रस्ताव सम्बन्धको प्रक्रिया आगामी साउन ६ गते मात्र अघि बढ्ने संसद् सचिवालयले जनाएको छ । आजको कार्यसूचीमा सभामुखले राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको बेहोरा पढेर सुनाउने र सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले समितिको १८ औँ प्रतिवेदन, २०७३ पेश गर्नुहुने विषय थियो । त्यस्तै ‘आर्थिक विधेयक, २०७३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७३’ र ‘ऋण तथा जमानत (एक्काइसौँं संशोधन) विधेयक, २०७३’ मा दफाबार छलफल गरी पारित गर्ने कार्यसूची थियो । यसअघि संसद्ले ‘विनियोजन विधेयक, २०७३’ पारित गरिसकेको छ । सरकारबाट गत मङ्गलबार समर्थन फिर्ता भएको माओवादी केन्द्रले आर्थिक विषयका उक्त विधेयक अविश्वास प्रस्ताव पारित नभएसम्म अघि नबढाउने निर्णय गरेको छ । तर सरकार र प्रमुख सत्तारुढ दल नेकपा (एमाले) ले भने अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय गरेको छ । रासस