जीएमआरले माथिल्लो कर्णाली बनाउन लगानी जुटाउन सकेन, समय १५ दिन मात्र बाँकी
काठमाडौ । जीएमआर अपरकर्णाली हाइड्रोपावर लिमिटेडले ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना बनाउन दोस्रो पटक पनि लगानी जुटाउन असफल भएको छ । लगानी बोर्डसंग गरेको आयोजना विकास सम्झौता (पीडीए) अनुसार आउदो असोज १ गते अर्थात सेप्टेम्बर १८ तारिखसम्म लगानी जुटाइ सक्नुपर्ने छ । बोर्डले दिएको समय सकिन अब १५ दिन मात्र बाँकी छ । जीएमआरले ६ महिनाअघि नै पुनःम्याद थप्न प्रस्ताव गरेको छ । जीएमआरले काबु बाहिरको परिस्थिती सिर्जना (फोर्समेजर) भएको जिकिर गर्दे लगानी बोर्डमा पुनःम्याद थप्न प्रस्ताव गरेको हो । बोर्डले उसको प्रस्तावको बारेमा निर्णय नगरेको बोर्डका प्रवत्ता उत्तमभक्त वाग्लेले बताए । जीएमआर र बोर्डबीच सन् २०१४ मा भएको पीडीए अनुसार आउदो असोज २ गते अर्थात सेप्टेम्बर १८ सम्म माथिल्लो कर्णालीका लागि लगानी जुटाउनु पर्ने उल्लेख छ । सरकारले वनको जग्गा उपलब्ध नगराएको र विद्युत व्यापार सम्झौता (पीटीए) भन्दा फरक ढंगले भारतको विद्युत नियमन आयोगले कार्यविधि ल्याएका कारण बिजुलीको बजार निश्चित गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाबाट लगानी जुटाउन नसकेको जिकिर जीएमआरले गरेको छ । सरकारले वनको समस्या समधान गरेको छ । पीटीएको कार्यविधिले गर्दा भारतको एनभीभीएन विद्युत व्यापार कम्पनीसंग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) हुन सकेको छैन् । पीपीए नभएसम्म बैंकले लगानी गर्देनन् । पीडीएमा २ वर्षभित्रलगानी जुटाउने व्यवस्था भएपनि सोहीअनुसार २ वर्ष सकिएपछि सरकारले पुनः १ वर्ष म्याद थप गरिसकेको छ । सुरुमा १ खर्ब १५ अर्ब रुपैयाँ अनुमानित लागत तय गरेपनि आयोजनाको काममा भएको ढिलाइले लागत बढेर १ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । जीएमआरले नेपाललाई १२ प्रतिशत निःशुल्क बिजुली अर्थात १०८ मेगावाट दिएपछि बाँकी रहेको ५ सय मेगावाट बिजुली बेच्न बंगलादेश सरकार र ३ सय मेगावाट बिजुली बिक्रीका लागि भारतको एनभीभीएन विद्युतव्यापार कम्पनीसंग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ । उसले भारतको हरियणा राज्यमा बिजुली बेच्ने बताएको छ । जीएमआरले आयोजना बनाउन बोलपत्र आब्हान गरी प्रस्तावको मूल्याँकन गरिरहेको छ । निजी जग्गा खरिदका लागि प्रतिरोपनी ८ लाख ९५ हजार रुपैयाँ मुआब्जा निर्धारण गरी वितरणको तयारी भइरहेको छ । सरकारले आयोजनाका लागि जग्गाको हदवन्दी फुकुवा समेत गरेको छ । आयोजना प्रभावितका लागिपुर्नबास र पुर्नस्थापन (आरएपी) कार्यक्रम तयार भएको छ । आयोजनाबाट तल्लोतटीय क्षेत्रमा पार्ने प्रभावको बारेमा अध्ययन गरी प्रतिवेदन तयार भइसकेको र समितिले सोको समीक्षा गरिरहेको छ । आयोजना बनाउन ७० प्रतिशत ऋण र बाँकी ३० प्रतिशत स्वपुँजी परिचालन हुने लगानी संरचना तयार गरिएको छ । गत असोजको पहिलो साता भित्र लगानी जुटाउने गरी सन् २०१४ सेप्टेम्बर १९ मा बोर्ड र जीएमआरबीच पीडीए भएको थियो । पीडीएमा सन २०१६ सेप्टेम्बर १९ सम्मलगानी जुटाउन नसके १ वर्षम्यादथप्न सक्ने व्यवस्थाअनुसार सो समय पनि गुज्रिदै छ । पीडीए अनुसार जीएमआरले आगामी सन् २०२१ को अन्त्यमा सम्पन्न गरी सन् २०४६ मा सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । जीएमआरले आधादर्जन अन्तराष्ट्रिय बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भने पनि हालसम्म उनीहरुबाट आशयपत्र लिने बाहेक ऋण सम्झौताको अवस्थामा पुगेको छैन् । आयोजनामा विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी), एसियाली विकास बैंक (एडीबी) युरोपियन इन्भेष्टमेन्ट बैंक (ईआईबी), जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) जर्मन विकास बैंक (केएफडब्ल्यु), सीडीसीलगायत ९ बैंक तथा वित्तीय संस्थाले लगानीका लागि आशयपत्र दिएका छन् । माथिल्लो कर्णालीमामा २७ प्रतिशत विद्युत् प्राधिकरण, १० प्रतिशत आइएफसी र ६३ प्रतिशत जीएमआरको स्वामित्व हुने गरी लगानी संरचना तयार गरिएको छ । १२ प्रतिशत निःशुल्क ऊर्जा अर्थात १०८ मेगावाट बिजुली र २७ प्रतिशत निःशुल्क सेयर दिने प्रस्ताव गरेपछि सन् २००८ मा उसले माथिल्लो कर्णाली पाएको हो । आयोजनाले सुर्खेत, दैलेख र आछम जिल्लालाई प्रभावित बनाउने छ । स्थानिय बासिन्दालाई वर्षभरी विद्युतआपूर्ति गर्न अर्को २ मेगावाटको सानो आयोजना निःशुल्क बनाइदिने छ ।
समयभित्र विकास निर्माणका काम सम्पन्न गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार भौतिक पूर्वाधार विकासमा निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने बताएका छन् ।उनले भने “आर्थिक समृद्धिको प्रमुख आधार भौतिक पूर्वाधार विकास हो, यसको विकासमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्न चाहन्छ ।” उनले सार्वजानिक खरिद ऐन तथा नियमावलीलाई समसामयिक सुधार गरिने बताउँदै समयभित्र विकास निर्माणका गुणस्तरीय काम सम्पन्न गर्न आग्रह गरे । प्रम देउवाले भने “विकास खर्च सन्तोषजनक छैन, निर्माण सम्पन्न भएका कामको समेत गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको छ, यसतर्फ म सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु चाहन्छु ।” निर्माण व्यवसायीका समेत व्यावसायिक दक्षता र क्षमता अभिवृद्धि गर्न जरुरी रहेको छ उनले बताए । सो अवसरमा प्रम देउवाले गैरआवासीय संघका अध्यक्ष शेष घले, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउद र अन्तरराष्ट्रिय निर्माण व्यवसायी महासंघका अध्यक्ष दातु माथ्यु टिलाई सम्मान गरे । महासंघका अध्यक्ष शरदकुमार गौतमले सार्वजानिक खरिद ऐन तथा नियमावलीलाई संशोधन गर्न माग गरे । हाल देशमा करिब १२ हजार निर्माण व्यवसायी रहेका छन् । कार्यक्रममा सिँचाइमन्त्री सञ्जयकुमार गौतम, वाणिज्यमन्त्री मीन विश्वकर्मा, भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङ, महासंघका पूर्व अध्यक्ष विक्रम पाण्डे तथा नेकपा (एमाले) भौतिक पूर्वाधार विकास विभागका प्रमुख डा विजय पौडेलले गुणस्तरीय पूर्वाधार समयभित्र सम्पन्न गर्नुपर्ने आवश्यकतामा जोड दिए । रासस
हिमालय एअरलाईन्सको काठमाण्डौं र दमामबीच सीधा उडान शुरु, ३० किलोसम्म लगेज निःशुल्क
काठमाडौं । हिमालय एअरलाईन्सले काठमाण्डौं र साउदी अरेबियाको दमाम शहरबीच सिधा उडान थालेको छ । काठमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमामको लागि पहिलो उडान शुक्रबार राती २२ः३०मा उडेको थियो । उत्साहपूर्ण यात्रु संख्याका साथ उडेको सो उडान दमाम स्थित किङ्गफाहाद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार स्थानीय समय अनुसार बिहान पौनै एकमा अवतरण गरेको छ । नेपाल तथा साउदी अरेबियाबीच सीधा उडान गर्ने हिमालय एअरलाईन्स नेपालको पहिलो वायुसेवा कम्पनीे हो । एअरलाईन्सलले काठमाण्डौं-दमाम-काठमाण्डौंबीच दैनिक उडान भर्ने जनाएको छ । हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठल यसपालीको चाडपर्व र जाडो याममा धेरै भन्दा धेरै नेपालीले आफ्नो देश आउन सीधा उडानको सेवा प्राप्त गर्न सक्ने गरि हिमालय एअरलाईन्सले यस उडानको शुभारम्भ गरेको बताए । यस उडानले साउदी अरेबियामा विभिन्न पेशामा संलग्न करिब ५ लाख नेपालीलाई सुलभ भाडादरमा सीधा उडानको सुविधा प्रदान गर्ने उनले बताए । एअरलाईन्सले इकोनोमीक्लासको लागि ३० के.जी र बिजनेस क्लास को लागि ४० के. जी निःशुल्क ब्यागेज सुविधाको व्यवस्था गरिएको जनाएको छ ।
सचिन डाँगी बने वाई वाई ग्लोकल टिन हिरो २०१७
काठमाडौं । “वाई वाई ग्लोकल टिन हिरो २०१७”को उपाधी सचिन डाँगीले जितेका छन् । समाज विकासमा सक्रियसचिन डाँगीले वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी समाजसेवी अल्बिना पर्बिन , एप डेभलपर आयुष पाण्डेय, उद्यमी प्रिथ्यु सिंह ठकुरी, बाल अधिकारकर्मी राजाराम बस्नेत र आविष्कारक तन्मय चौधरीलाई पछि पार्दै सो उपाधी जितेका हुन् । शुक्रबार राजधानीमा आयोजित वाई वाई ग्लोकल टिन हिरो २०१७ को उपाधी कार्यक्रमको निर्णायकहरुले सो ट्रफी बिजेतालाई हस्तान्तरण गरेका छन् । वाई वाई ग्लोकल टिन हिरो बन्नका लागि ३२१ जना किशोर किशोरीले आवेदन गरेको थिए । आवेदकहरुले आफु समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्राम्मिंग, रोबोटिक्स, उद्यमी र समुदाय विकास जस्ता गरेको कामले समाजमा परेको सकारात्मक असर देखाएर आफ्नो कौशलता देखाएका थिए । निर्णयक मण्डलमा रहेका यूनडीपीका कन्ट्री डीरेक्टर रेनौड मेएर, बैद्य अर्गनाईजेशनका अध्यक्ष सुरज बैद्य, सोल्टी क्राउन प्लालाका महाप्रबंधक उपौल मजुमदार, नायिका रिचा शर्मा र विज्ञापनकर्मी रंजित आचार्यले पाठ्यक्रम बाहेकको उपलब्धि सुरुवात र आफ्नो कामको प्रभावको आधारमा उत्कृष्ट ६ को छनौट गरेका थिए । अन्तिम ६ प्रतिस्पर्धीसँग एसएमएस भोटिंग राउण्ड र प्रतिस्पर्धीको छुट्टाछुट्टै हुने अन्तर्वार्ताको आधारमा यो वर्षको टिन हिरो छानिएको छ ।
नागरिक लगानी कोषको २१ प्रतिशत बोनस पारित, संचालकमा दुई जना निर्वाचित
काठमाडौं । नागरिक लगानी कोषले आफ्ना सेयरधनीहरुलाई २१ दशमलव ८५ प्रतिशत बोनस दिने प्रस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको २१ औँ सभाले सो मात्राको बोनस दिने प्रस्तावलाई पारित गरेको हो । साथै, कम्पनीले कर प्रयोजनको लागि १ दशमलव १५ प्रतिशत नगद लाभांस दिने भएको छ । आ.ब २०७१/७२ मा कोषले ४८ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो बर्षको तुलनामा ३१ दशमलव २१ प्रतिसत बढि हो । आम्दानीमा कुल खर्च,कर अघिको नाफा र आयकर कटाएपछिको खुद नाफा १८ करोड ६१ लाख ४६ हजार रुपैया रहेको छ । सभाले कोषमा नयाँ संचालकहरु चयन गरेको छ । सर्वसाधरण सेयरधनीको तर्फबाट अशोक बुढाथोकी र अन्य बित्तिय संस्था समुहबाट नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि कमलेश कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए । निर्वाचित संचालकको अवधि ५ बर्ष रहने छ ।
बर्जर पेन्ट्सको ‘बर्जर रङ्ग म्याजिकल अफर’ शुरु, विजेतालाई रेनल्ट क्वीड कार
काठमाडौं । बर्जर पेन्ट्सले एक नयाँ सिजनल उपहार योजना “बर्जर रङ्ग म्याजिकल अफर” शुरु गरेको छ । पेन्ट्सले प्रत्येक वर्ष झैं यस वर्ष पनि ग्राहकको घरलाई यो सिजनमा नगद पुरस्कारहरुले भरिपूर्ण बनाउन उक्त योजना शुरु गरेको हो । यस अभियानको लागि चर्चित नायक अनु्प विक्रमशाही र नायिका स्वस्तिमा खड्का सद्भावनादूत रहेका छन् । यस उपहार योजनामा बम्पर उपहारका एकजना भाग्यशाली विजेताले रेनल्ट क्वीड कार पुरस्कार प्राप्त गर्नेछन् । १०० भन्दा बढी विजेताहरुले नगद २५ लाख रुपैयाँसम्म जित्न सक्नेछन् । विज्ञहरुको एक निर्णायक मण्डल र सेलिब्रेटीको सम्हले चयन गरेका ५ भिन्न क्षेत्रकाउत्कृष्ट १० वटा रङ्गाइएका घरका घरधनीहरुले नगद १ लाख रुपैयाँसम्म र सानाशहरका २० वटा घरका घरधनीहरुले नगद २० हजार रुपैयाँसम्मनगद पुरस्कार जित्न सक्नेछन् । यसैगरी एक्सपि उत्पादनहरु र सेवा खरीद गर्दा ग्राहकले १०० वर्गफिट सिल्कइलुसन डिजाइनर फिनिसका साथै थप पक्का रिवार्ड प्राप्त गर्नेछन् । अन्य प्रमो ब्राण्डका ग्राहकहरुले पक्का रिवाड वापत् १०० वर्गफिट सिल्कइलुसन डिजाइनको अवसर पाउँनेछन् । यस उपहार योजनामा सहभागी बन्न ग्राहकले आफ्नो घरको रङ्ग रोगनकार्य शुरु गर्नु अघि टोल फ्रि नं. १६६०–०१–२३४३४(एनटिसी) वा ९८०१५७१००१ (एनसेल) माफोन गरेर अथवा?बर्जरश्र टाइप गरी ३३३७७माएसएमएस पठाएर आफूलाई दर्ता गराउनु पर्नेछ । एकपटक दर्ता कार्य पूरा भएपछि हरेक घरको लागि छुट्टाछुट्ट्ै एक विशेष दर्ता कोड फोन सम्पर्कको समयमावा स्वचालितएसएमएस प्रणाली मार्फत् उपलब्ध गराइनेछ । साथै जुरीज च्वाइस र पब्लिक च्वाइस (बर्जर फेसबुक पेजमाअपलोड भएका घरहरु मध्ये सबैभन्दा बढी लाइक्स पाउने घर) ले १० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । यो योजना अन्तर्गत दर्ता गर्ने अवधि यही भदौ १५ गतेदेखि मंसिर १५ सम्म कायम गरिएको छ । साथै, घर रङ्गाउने कार्य यही पुष १५ गतेसम्ममा पूरा गरिसक्नु पर्ने कम्पनीले जनाएको छ ।
ललितपुर मोबाइल एक्स्पो सुरु, पहिलो दिनमै १० हजारद्धारा अवलोकन
ललितपुर । ललितपुर लगनखेलमा रहेको ललितपुर मल दोस्रो तल्लामा अवस्थित ललितपुर मोबाइल कम्प्लेक्सले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको मोबाईल मेला आजदेखि शुरु भएको छ । यस मोबाइल मेला २०७४ एक कार्यक्रमका बीच सांसद मदन बहादुर अमात्यले उद्घाटन गरेका हुन् । आजदेखि शुरु भएको मोबाइल मेलाको पहिलो दिन करिब १० हजार व्यक्तिले अवलोकन गरेका छन् । उक्त एक्स्पो यहि भदौ २६ गतेसम्म आयोजना हुने भएको छ । ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले नेपालमा नै पहिलो पटक नौलो अवधारणामा मल्टिब्राण्ड मोबाइल शोरुम संचालन गरिएको भन्दै कम्प्लेक्सको वार्षिकोत्सवको अवसर पारेर मोबाइल मेला गर्न लागिएको जानकारी दिए । अध्यक्ष बस्नेतले ग्राहकहरुलाई सूपथ मूल्यमा मोबाइल खरिद गर्ने वातावरण बनाउन मेला आयोजना गर्न लागिएको बताए । उनले कम्प्लेक्समा ग्राहकहरुलाई गुणस्तरीय मोबाइल फोनहरु तथा एसेसरिज मात्र बिक्री गरिने दाबी गरेका छन् । कार्यक्रममा ललितपुर मलका अध्यक्ष नेपाल डंगोलले आर्थिक गतिबिधि बढाउन यो मलले सहयोग गर्ने अपेक्षा गर्दै मल हरेक पुस्ताका ग्राहकहरुको लागि उपयुक्त रहेको बताए ।अन्तर्राष्ट्रियस्तरको नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम रहेको मोबाइल कम्प्लेक्सले ग्राहकहरुलाई मोबाइलसँग सम्बन्धित विभिन्न सेवा सुविधाहरु एकै स्थानबाट प्रदान गर्दै आएको छ । मोबाइल मेलामा न्यूनतम ९ सयदेखि १ लाख २५ हजार रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध हुनेछ । मेलाको अवधिभर कुनैपनि मोबाइल वा एसोसोरिज खरिदमा ५ देखि ७० प्रतिशतसम्मको नगद छुट ग्राहकले प्राप्त गर्नेछन् । मेलामा विभिन्न कम्पनीहरुले बजारमा आएका नयाँ स्मार्टफोनहरु पनि सार्वजनिक गरिने छ । यसअघिको एक्स्पोमा विभिन्न कम्पनीहरुले स्मार्टफोन लन्च गरेको र यो पटक पनि नेपालमा भित्रिएका विभिन्न नयाँ स्मार्टफोनहरु सार्वजनिक हुनेछन् । ललितपुर मलको दोस्रो तल्लामा कम्प्लेक्समा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा आईसकेएका छन् । त्यस्तै कम्प्लेक्समा सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम संचालन गरिएको छ, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् । मोबाइल मेलामा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट, डिटिसी, लाभा, कलर्स, ओप्पो, सोनी, वन प्लस ब्राण्डका फोनहरु उपलब्ध गराईनेछ ।
सेजनको अध्यक्षमा पुष्पराज आचार्य निर्वाचित, उपाध्यक्षमा प्रभात भट्टराई
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १८ औं साधारणसभाले पुष्पराज आचार्यको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ। सो सभाबाट सेजनको उपाध्यक्षमा प्रभात भट्टराई, महासचिवमा भीम गौतम, सचिवमा सुजन ओली र कोषाध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन् । त्यस्तै कार्यसमितिको सदस्यमा एलिजा उप्रेती, हिमाल पौडेल, सागर घिमिरे, कृष्ण रिजाल र शिव बोहरा चयन भएका छन् । यसअघि अध्यक्षमा निर्वाचित आचार्य सेजनका उपाध्यक्ष थिए । महासचिव गौतम कोषाध्यक्ष थिए । सचिव ओली र कोषाध्यक्ष भट्टराई कार्यसमितिका सदस्य थिए । निर्वाचित भएपछि सम्बोधन गर्दै आचार्यले सेजन सबैको सामुहिक संस्था भएकाले सबै समेटेर लैजाने प्रतिबद्धता व्यक्त गरे ।