विकासन्युज

लघुवित्तको कर्जा सीमा कति बढ्यो ?

काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षदेखि लागू हुने गरी लघुवित्त संस्थाले प्रवाह गर्ने कर्जाको सीमा बढेको छ । आगामी आर्थिक बर्षदेखि लागू हुने गरी ल्याइएको मौद्रिक नीति मार्फत लघुवित्त कर्जाको सीमा बढाइएको हो । नयाँ ब्यवस्था अनुसार विपन्न तथा न्यून आय भएका व्यक्तिलाई सामुहिक जमानीमा लघुउद्यम वा व्यवसाय सञ्चालन गर्न प्रति समूह सदस्य १ लाख रुपैयाँबाट बृद्धि गरी ३ लाख रुपैयाँ र विगत दुई वर्षदेखि कर्जा उपयोग गरी असल वर्गमा परेका समूह सदस्यले ३ लाख रुपैयाँबाट ५ लाख रुपैयाँ कर्जा दिन पाउने ब्यवस्था गरिएको छ । नवीकरणीय ऊर्जा प्रविधि अन्तर्गत सोलार सिस्टम र/वा बायोग्यास प्रयोजनको लागि प्रतिपरिवार ६० हजारबाट २ लाख रुपैयाँसम्म कर्जा दिन सकिने भएको छ । विपन्न तथा न्यून आय भएका व्यक्तिलाई धितो लिई लघुउद्यम वा व्यवसाय सञ्चालन गर्न प्रतिसमूह सदस्यले ३ लाख रुपैयाँ कर्जा पाउदै आएकामा अव भने ५ लाख रुपैयाँसम्म र विगत दुई वर्षदेखि कर्जा उपयोग गरी असल वर्गमा परेका समूह सदस्यले पाउदै आएको ५ लाख रुपैयाँबाट बृद्धगरी ७ लाख रुपैयाँसम्म दिन सकिने ब्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्था नभएका गाविसहरुमा लघुवित्त संस्थाहरुबाट स्वीकारयोग्य धितो लिई समूहमा आबद्ध भएका तथा नभएका व्यक्तिहरुलाई लघुउद्यम सञ्चालन गर्न प्रदान गरिने ७ लाख रुपैयाँसम्मको कर्जा सीमा बढाएर १० लाख रुपैयाँ कायम गरिएको । समूहमा आवद्ध नभएका विपन्न तथा न्यून आय भएका व्यक्तिलाई धितो लिई दिइने ६० हजार रुपैयाँ कर्जा सीमालाई बढाएर ३ लाख रुपैयाँ कायम गरिएको छ ।

प्रभु बैंकको नयाँ शाखा काठमाडौंको हात्तीगौंडामा

काठमाडौं, ३१ असार । प्रभु बैंकले आफ्नो नयाँ शाखा कार्यालय काठमाडौंको हात्तीगौंडामा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन बिहीबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले एक समारोहकाबीच सम्पन्न गरेका हुन् । गत वर्ष सम्पन्न मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये कलंकी शाखा कार्यालयलाई हात्तीगौंडामा स्थानान्तरण गरिएको हो । मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको बैंकले जनाएको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

सेयर बजारमा अबैध सम्पत्ति लगानी भएको शंका, बोर्डले बनायो छानविन समिति

काठमाडौं, ३१ असार । सेयर बजारमा स्रोत नखुलेको र अबैध सम्पत्ति लगानी भएको शंका गर्दै धितोपत्र वोर्डले छानविन समिति नै बनाएको छ । सम्पत्ति शुद्धीकरण हुनवाट रोक्नलाई बोर्डले विहिवार एक छानविन समिति गठन गरेको हो । ‘हालको कारोबार संख्या र रकमको वृद्धिलाई हेर्दा धितोपत्र बजारमा समेत स्रोत नखुलेको रकम पनि प्रशस्त लगानी भएको आशंकालाई दृष्टिगत गरी सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा तथा धितोपत्र दलालले ग्राहकसँग गरेको कारोबार मोडालिटी सम्बन्धमा अध्ययनतथा छानविन गर्न समिति गठन गरिएको छ,’ बोर्ड विज्ञप्ति जारी गर्दै भनेको छ । यस्तो समिति बोर्डको सुपरिवेक्षण तथा अनुसन्धान विभागका प्रमुखकार्यकारी निर्देशकको संयोजकत्वमा गठन भएको हो । समितिमा बोर्डको कानुन तथा प्रबलीकरण महाशाखा, नियमन महाशाखा र सुपरिवेक्षण महाशाखाका निर्देशकहरु सदस्यको रुपमा रहने छन् । अध्ययन तथा छानविनलाई प्रभावकारी बनाउन उक्त समितिमा आवश्यक्ता अनुसार अर्थ मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धाग विभाग र अन्य विज्ञहरु समेतलाई आमन्त्रण गर्ने व्यवस्था गरिएको छ । समितिले एक महिना भित्र प्रतिवेदन पेश गर्ने व्यवस्था गरिएको छ । तत्पश्चात सो समितिले धितोपत्रको कारोबार, सम्पत्ति शुद्धीकरण तथा बोर्डमा प्राप्त हुने उजुरीको निरन्तर रुपमा सशक्त सुपरिवेक्षण तथा छानविन कार्य गरी बजारको स्वच्छता र पारदर्शीताका लागि निरन्तर रुपमा कार्य गर्ने व्यवस्था पनि गरिएको छ । धितो पत्रबजार विगत भन्दा व्यापक भई सर्वसाधारण लगानीकर्ता, सूचीकृत संगठित संस्था, धितोपत्र कारोबार, धितोपत्र व्यवसायीको संख्या बढ्न गएको तथा बजारको दायरा समेत फराकिलो भएको छ । यसैकारण बजारको सुपरिवेक्षण गर्ने कार्य थप चुनौतीपूर्ण हुदै गएको बोर्डले उल्लेख गरेको छ । पछिल्लो समयमा धितोपत्र बजारमा विभिन्न किसिमका उजुरी, समस्या तथा गुनासाहरु बोर्डमा प्राप्त हुने क्रममा तीव्रता आएको बताइएको छ । विगत केही समय देखि धितोपत्र दोस्रो बजारमा हुने कारोबारको संख्या तथा रकममा समेत बृद्धि भएको र हाल दैनिक रुपमा एक अर्ब भन्दा बढीको कारोबार भैरहेको छ ।

विशाल ग्रुपले ह्यायात होटलको सेयरमा साढे १५ करोड लगानी गर्यो, नेपाल बैंकले १७ करोड कमायो

अनुज अग्रवाल, प्रबन्ध निर्देशक, विशाल ग्रुप काठमाडौं, ३१ असार । विशाल ग्रुपले तारागाउँ रिजेन्सी होटल लिमिटेडको सवा ६ लाख कित्ता सेयर किनेको छ । ग्रुपले प्रतिकित्ता औषत २४६ रुपैयाँमा ६ लाख २७ हजार ५०० कित्ता सेयर किनेको हो । उक्त सेयर किन्न विशाल ग्रुपले १५ करोड ४३ लाख रुपैयाँ खर्च गरेको छ । विशाल ग्र्रुप अन्तरगत रहेका विभिन्न कम्पनीहरुको नाममा उक्त सेयर खरिद भएको छ । यूनाईटेड डिष्ट्रिव्यूटर्स नेपाल प्रालिले ३ लाख ५० हजार कित्ता सेयर किनेको छ । त्यस्तै सोहि ग्रुप अन्तरगत रहेका लाईफ केयर डिष्ट्रिव्यूटर कम्पनीले १ लाख ५० हजार कित्ता सेयर किनेको छ । विशाल ग्रूप अन्तरगत एशियन डिष्ट्रिव्यूटरले २५ हजार कित्ता, ग्लोवल ट्रेडिङले २५ हजार कित्ता, भिजी ओटोमोवाईल्सले १५ हजार कित्ता, पूजा इन्टरनेशनलले १५ हजार कित्ता सेयर लिएको छ । त्यस्तै गणेश प्रपर्टीज एण्ड इन्भेष्टमेन्ट कम्पनीले ४७ हजार ५०० कित्ता सेयर लिएको छ । नेपाल बैंक लिमिटेडले तारागाउँ रिजेन्सी होटल लिमिटेडको ७ लाख कित्ता सेयर बिक्री गर्ने क्रममा विशाल ग्रुपले उक्त सेयर टेण्डर प्रक्रियाबाट लिएको हो । नेपाल बैंकले बिक्री गरेको ७ लाख कित्ता सेयर मध्ये ७२ हजार ५०० कित्ता मात्र अरुले हात बारेका छन् । बैंकका एक सञ्चालकले दिएको जानकारी अनुसार राजु केसीले अधिकतम मूल्यमा टेण्डर हालेका थिए । प्रतिकित्ता २६० कबोल गरी १०० कित्ता मागेका थिए । सूर्या लाईफ इन्स्योरेन्सले २५ हजार कित्ता र नेपाल रिइन्स्योरेन्स कम्पनीले ४७ हजार ४०० कित्ता सेयर पाएको छ । तारागाउँ रिजेन्सी होटलको सेयर बिक्रीबाट बैंकले १७ करोड २२ लाख रुपैयाँ आम्दानी गरेको छ । उक्त सेयर बिक्री गर्दा बैंकले प्रतिकित्ता औषतमा २४६ रुपैयाँमा हात पारेको छ । पुँजीगत लाभ कर तिरपछि बैंकलाई करिव १५ करोड रुपैयाँ बचत हुने ती सञ्चालकले बतायो । उक्त रकम बैंकको चालु आर्थिक वर्षको नाफामा जोडिने भएको छ । नेपाल बैंकले तारागाउँको सेयरको प्रतिकित्ता न्यूनतम २१६ रुपैयाँ मूल्य राखेर बढाबढमा लिलामी गरेको थियो । बिक्री गरिएको सेयरमा सबैभन्दा बढी विशाल ग्रुपले किन्न सफल भएको छ ।

प्रविधिमा नेपालीको पहुँच विकसित मुलुक सरह

काठमाडौं, ३१ असार। नेपाल सन् २०२२ सम्म विकासोन्मुख मुलुकको सूचीमा पार्ने सरकारको योजनामाथि सूचना प्रविधिले एउटा इटा थप गरेको छ। हालै सार्वजनिक गरिएको ‘विश्व सूचना प्रविधि प्रतिवेदन २०१६’ ले विश्वका १३९ मुलुकमध्ये सूचना प्रविधिको समग्र विकासको अवस्थाको सूचकमा नेपाल ११८ औं स्थानमा रहेको देखाएको छ । नेपालीको सूचना प्रविधिमा पहुँच भने विकसित मुलुककै हाराहारीमा रहेको पाइएको छ । तर, खरिद क्षमता सूचकमा भने नेपालको स्थान मात्र ३० औंमा छ । विकसित मुलुकहरूकै स्थान नेपालभन्दा तल देखिन्छ । खरिद क्षमता सूचकमा जापान ४९, नर्वे २८, क्यानडा ६१, स्वीट्जरल्यानड ७०, अस्ट्रेलिया ५७, स्वीडेन २५, सिंगापुर ७२, जर्मनी ५५ स्थानमा देखिन्छन् । फोरमले बर्सेनि यस्तो प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । पछिल्ला वर्षका प्रतिवेदनहरूमा पनि नेपालको स्थान अन्य सूचकमा स्थान पछाडि भए पनि खरिद क्षमता सूचकमा निकै अगाडि छ । विश्वका मुलुकहरूका सूचना प्रविधिको अवस्थालाई चित्रण गर्न विभिन्न चार सहसूचक र तीभित्रका दश उपसूचकमा वर्गीकरण गरेर अध्ययन गरिएको थियो । जसमध्ये पहिलो वातावरणको सूचकमा नेपाल विश्वका मुलुकमध्ये ११० स्थानमा छ । वातावरणभित्रको राजनीतिक तथा नियमनको वातावरण उपसूचकमा ११४ र व्यवसाय तथा आविश्कार वातावरणमा नेपालको स्थान ९९ औं छ। अध्ययनको तेस्रो सहसूचक प्रयोगको छ, जसमा नेपालको स्थान १२९ औं देखिएको छ । सो सहसूचकको व्यक्तिगत प्रयोग, व्यावसायिक प्रयोग र सरकारी प्रयोग गरी तीन उपसूचकमा क्रमशः ११७, १२८ र १२९ औं स्थानमा नेपाल छ । यसको अर्थ नेपालमा व्यक्तिगत प्रयोग नै बढी भइरहेको भन्ने नै हो । सूचना प्रविधिको व्यावसायिक र सरकारी निकायको प्रयोग भने करिब करिब एउटै स्तरमा देखिन्छ । चौथो र अन्तिम सूचक प्रभावको छ जसमा नेपालको स्थान १२८ औं छ । अमेरिकामा सार्वजनिक भएका ग्याजेट साताभरमै नेपालीका हातमा आइपुग्छन् । महँगो ब्रान्ड एप्पलदेखि अन्य चलेका ब्राण्डका महँगा स्मार्ट फोन बोक्ने नेपालीको संख्या पनि बढ्दो छ । यी व्यवहारहरूका सूचना प्रविधिमा चासो र खरिद गर्ने तत्परता पनि बढी भएको पुष्टि वल्र्ड इकोनोमिक फोरमको पछिल्लो प्रतिवेदनले गरेको छ । बढ्दो रेमिट्यान्स र सूचना प्रविधिप्रति नेपालीको मोह बढ्नाले पनि नेपालीहरू महंगा ग्याजेट खरिद गर्नमा अगाडि रहेको विज्ञहरूको तर्क छ ।

बायुसेवा निगमले १ अर्ब ५८ करोड ऋण तिर्यो, चार बर्षपछि दोहा उडान भर्दै

काठमाडौँ, ३० असार :  नेपाल वायुसेवा निगमले दुईवटा जहाज खरिदबापत डेढ अर्ब रुपैयाँ ऋण चुक्ता गरको छ। निगमले दुईवटा एयरवसको १५६ सीट क्षमताका जहाज खरिद गर्न कर्मचारी संचय कोषबाट लिएको १० अर्ब ऋण मध्ये एक अर्ब ५८ करोड ६२ लाख रुपैयाँ बुझाएको हो। वायुसेवा निगमले दुई वटा एयर बस किन्न कर्मचारी संचय कोषबाट लिएको ऋणको सावाँ र व्याजबापतको यो रकम नियमले चुक्ता गरेको हो। निगमले आगामी १५ वर्षसम्मम हरेक तीनतीन महिनामा संचयकोषलाई ३२ करोड ३६ लाख १७ हजार चार सय २१ रुपैयाँ बुझाउने भएको छ। संचायकोषबाट लिएको ऋणको सावाँ र ब्याजमार्फतको रकम तोकिएकै समयमा नियमति रुपमा भुक्तानी गर्दै आएको पनि निगमले जानकारी दिएको छ। निगमले जहाज ल्याएर उडान गर्न थालेपिछ पहिलो तीन महिनामा २९ करोड १८ लाख रुपैयाँको पहिलो किस्ता तिरेको थियो। त्यसपछि भने हरके महिना तिर्ने शुल्क ३२ करोड ३६ लाख रहेको छ। वायुसेवा निगमले चार वर्षपछि संयुक्त अरब इमिरेट्स (युएई) को दुवई उडान भर्ने भएको छ। निगमले २०६९ साउनदेखि बन्द गरेको दुवाईको उडान आगामी भदौ २ गतेबाट पुनः सुचारु गर्ने भएको छ। निगमले हरेक मंगलबार, बिहीबार र आइतबार गरी सातामा तीन उडान गर्ने भएको छ। वायुसेवा निगमको जहाज अभाव भएर खुम्चिएको अन्तर्राष्ट्रिय उडान यात्रा एयरबसको दुई जहाज थपसँगै विस्तारै बढ्न थालेको छ। निगमले एयरबसबाटै दुवाई उडान गर्ने भएको छ। निगमले चीनमा पनि उडान गर्ने तयारी गरिरहेको छ।  

वित्तीय क्षेत्रका मुख्य ६ सुधार: २१ अर्ब सेयर पुँजी थपियो, ६४ वटा बैंक तथा फाइनान्स विलय

काठमाडौं, ३० असार । नेपाल राष्ट्र बैंकमा गभर्नर डा चिरञ्जीवि नेपालले वित्तीय क्षेत्रमा उल्लेख्य सुधार भएको बताएका छन् । आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले भने–निक्षेप परिचालन, वित्तीय प्रगाढता, पहुँच, सचेतना लगायतका वित्तीय सूचकहरु सुधारोन्मुख रहेका छन् । वित्तीय क्षेत्रको स्थायित्व एवम्सुदृढीकरणका लागि अगाडि बढाइएको कानूनी सुधार, बैंक तथा वित्तीय संस्थाहरुको पुँजी वृद्धि एवम्बासेल–३ जस्ता नियमनकारी व्यवस्थाहरु कार्यान्वयनको क्रममा रहेको उनले बताए । साथै, तेस्रो चरणको वित्तीय क्षेत्र सुधार कार्यक्रमको तयारी भईरहेको उनले जानकारी दिए । २०७३ जेठ मसान्तसम्ममा ९६ वटा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभिएर ३५ वटा संस्था कायम भएका छन् । त्यसैगरी, हालसम्म १ वाणिज्य बैंकले २ वित्त कम्पनी र १ विकास बैंकले अर्को १ विकास बैंकलाई प्राप्ति गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी २०७३ जेठमा रु. १६२ अर्ब २६ करोड पुगेको छ । २०७२ असार मसान्तमा यी संस्थाहरुको चुक्ता पुँजी रु. १४१ अर्ब ६० करोड रहेको थियो । २०७३ जेठ मसान्तमा वाणिज्य बैंकहरुको शाखा संख्या १८५१, विकास बैंकहरुको ८४८, वित्त कम्पनीहरुको १९० र लघुवित्त संस्थाहरुको १३३० गरी कुल शाखा संख्या ४२१९ पुगेको छ । तोकिएका कृषि व्यवसायको लागि बैंक तथा वित्तीय संस्थाहरूबाट ६ प्रतिशतको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन भएको व्यवस्था अन्र्तगत २०७२ चैत मसान्तसम्ममा २३४२ जना किसानहरूलाई रु. १ अर्ब ९९ करोड कर्जा प्रवाह भएको जानकारी दिए यसलाई वित्तीय क्षेत्रको सुधार भनेका छन् । उत्पादनमूलक क्षेत्रहरु कृषि, ऊर्जा, पर्यटन क्षेत्र र घरेलु तथा साना उद्योगमा बैंक तथा वित्तीय संस्थाले कुल कर्जा लगानीको १६.८ प्रतिशत कर्जा लगानी गरेको विषयलाई राम्रो उपलब्धिको रुपमा अथ्र्याएका छन् । प्रवाहित कुल कर्जाको न्यूनतम २० प्रतिशत यस क्षेत्रमा प्रवाह गर्नु पर्ने राष्ट्र बैंकको नियम भएपनि उल्लेखित लगानीलाई सुधारको संकेत भनेको छन् । २०७३ जेठ मसान्तसम्ममा रु. ६ अर्ब २२ करोडको साधारण पुनरकर्जा तथा रु. १ अर्ब ३० करोडको निर्यात पुनरकर्जा उपयोग हुनुलाई पनि उनले राम्रो भनेको छन् । २ लाखसम्मको बैंक निक्षेपलाई सुरक्षण गर्ने व्यवस्था अनुरुप २०७३ जेठ मसान्तसम्ममा १५० बैंक तथा वित्तीय संस्थाहरुको जम्मा रु. ३१८ अर्ब ३६ करोड निक्षेपको सुरक्षण गरिएको छ । कर्जा सुरक्षण व्यवस्था अन्र्तगत कुल रु. २ अर्ब ९३ करोड कर्जा सुरक्षण भएको छ ।

आर्थिक वृद्धि ९० प्रतिशत कम, मुद्रास्फिति १७ प्रतिशतले बढी

गर्भनर नेपालका साथ राष्ट्र बैंक सञ्चालक रामहरि अर्याल काठमाडौं, ३० असार । आर्थिक वर्ष २०७२/७३ मा आर्थिक वृद्धि सरकारको लक्ष्यभन्दा ९० प्रतिशत कम भएको छ । तर मूल्यवृद्धि नियन्त्रण लक्ष्य सीमा भन्दा करिव १७ प्रतिशतले बढी भएको छ । आर्थिक वर्ष २०७२/७३ मा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ०.६ प्रतिशत मात्र हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । यसअघि सरकारको आर्थिक सर्वेक्षणले ०.७७ प्रतिशत आर्थिक वृद्धिदर रहने जनाएको थियो । ‘आर्थिक वर्ष २०७२/७३मा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर लक्षित ६ प्रतिशतभन्दा अत्यन्त न्यून ०.६ प्रतिशत रहने अनुमान छ’ मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले भने । उत्पादन मूल्यको आधारमा कृषि क्षेत्रको वृद्धिदर १.३ प्रतिशत र गैर–कृषि क्षेत्रको वृद्धिदर ०.६ प्रतिशत रहने अनुमान छ । आर्थिक वर्ष २०७१÷७२ मा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर २.७ प्रतिशत रहेको थियो । तर आर्थिक वृद्धि लक्ष्यभन्दा लक्ष्यभन्दा ९० प्रतिशत कम हुँदा मुद्रास्फिति दर लक्ष्यभन्दा करिव १७ प्रतिशतले बढी भएको छ । ‘आर्थिक वर्ष २०७२/७३ मा वार्षिक औसत मुद्रास्फीति दर ८.५ प्रतिशत रहने प्रक्षेपण थियो । सीमा नाका सृजित आपूर्ति व्यवधानका कारण चालु आर्थिक वर्षको एघार महिनामा औसत उपभोक्ता मुद्रास्फीति दर ९.९ प्रतिशत रहेको छ’ गभर्नर नेपालले भने ।