विकासन्युज

केसीको अनसन विरुद्ध निजी मेडिकल कलेज सञ्चालकको प्रदर्शन

काठमाडौं,२ साउन । नेपालको शिक्षा क्षेत्रलाई धरासायी बनाएर विदेश विद्यार्थी पठाउने चलखेल बढ्न थालेको भन्दै त्यस्ता निकायलाई प्रोत्साहन दिन नहुने माग गर्दै एशोशिएसन अफ प्राईभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपाललको अगुवाईमा आईतबार काठमाडौंमा प्रदर्शन भएको छ । डाक्टर गोविन्द केसीको आन्दोलन नै पिच्छेको फरक फरक मागका कारण नेपाली बिद्यार्थी बाहिर पठाउने उदेश्य रहेको भन्दै त्यस्ता अभियानलाई प्रोत्साहन गर्न नहुने बताउँदै प्रोफेसर, कलेज संचालन, अविभावक, विद्यार्थी, चिकित्सक, प्रदर्शन गरेका हुन् । भृकुटीमण्डप बाट निस्किएको विरोध र्याली बागबजार, पुरानो वसपार्क, त्रिपुरेश्वर, थापाथली हुदै माईतिघरमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै एशोशिएसन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डाक्टर भोला रिजालले कसैको समर्थन र विरोधमा आफुहरु सडकमा नआएको स्पष्ट पारेका थिए । उनले नेपालमा मेडिकल शिक्षाको स्तर कसरी बढाएर अन्तराष्ट्रिय जगतमा पुर्याउन सकिन्छ भन्ने सोच्न बाध्य बनाउन आएको उल्लेख गरे । रिजालले  कसैलाई धकेल्न हैन  मेडिकल शिक्षालाई जोगाउन आफुहरु सडकमा आएको बताए । उनले भने–नेपाली विद्यार्थीहरुले भारत वर्ष या ईङ्ल्याण्ड बर्षहरुमा त्यहाँ लिएको परिक्षामा नेपाली डाक्टरहरुले सबैभन्दा अब्बल नम्बर ल्याको छन् उनीहरुको प्रमाण हामीसंग छ । यस्तो अवस्थामा पनि अनावश्यक बखेडा र आरोप लगाएर हाम्रो मेडिकल शिक्षा र हजारौ हजार कर्मचारीको रोजिरोटी खोस्ने अभियानमा लागेकाहरुबाट एक ईन्च पनि पछि नहट्ने स्पष्ट पारे । यता उद्योग वाणीज्य महासंघका अध्यक्ष दिनेश श्रेष्ठले केसीको आन्दोलनले निजी क्षेत्र धरासायी बनाएको भन्दै विरोध गरे । उनले निजी क्षेत्रलेनै मुलुकको अर्थतन्त्र धानेको भन्दै मेडिकल क्षेत्रलाई अहित हुने मागमा आफुहरुको सधै विरोध रहने भन्दै एशोशिएसन अफ प्राईभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालको आन्दोन प्रति उद्योग वाणिज्य महासंघको ऐक्यवद्धता रहेको बताए । नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा. अञ्जनी कुमार झाले अनसनरत केसी र निजी मेडिकल कलेज दुबैले जित्ने गरि सम्झौता गर्नुपर्ने बताए ।

चार घण्टे बजारमा दोहोरो अंकको वृद्धि, ९ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं, २ साउन । चार घण्टा खुलेको बजारमा नेप्से परिसूचक २७ दशमलब ५९ अंकले बढेर १७४५ अंकमा पुगेको छ । पहिलो दिन १३६ कम्पनीको २२ लाख ७२ हजार कित्ता सेयर एक अर्ब ३६ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । चार घण्टा खुल्ने बजारको पहिलो दिन करिब ९ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी माच्छापुच्छ«े बैंकको १० प्रतिशतले सेयर मूल्य बढेको छ । त्यस्तै, बोटलर्स नेपाल(तराई), किसान माइक्रोफाइनान्स वित्तिय संस्था, तिनाउ डेभलपमेन्ट बैंक, जलविद्युत तथा विकास कम्पनी, जनउत्थान समुदायिक लगुवित्त विकास बैंक, सिद्धार्थ बैंक लगायत कृषि विकास बैंक र कैलाश बैंकको हाराहारी १० प्रतिशतले सेयर मूल्य बढेको छ । सो दिन सात कम्पनीका लागानीकर्ताले १० प्रतिशत गुमाएका छन् । बजारमा बैंकिङ्, उत्पादनमूलक, अन्य र फाइनान्स समूहको परिसूचक क्रमशः ५०, ४०, २४ र ५ अंकले उकालो लागेका छन् । बाकी सबै समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी इन्स्योरेन्स समूहको परिसूचक ४८ अंकले झरेको छ । त्यस्तै, विकास बैंक, हाइड्रोपावर र होटल समूहको परिसूचक क्रमशः ३१, २५ र ९ अंकले घटेको छ । आइतबार सबैभन्दा बढी जलविद्युत् लगानी तथा विकास कम्पनीको करिब १२ करोड ७२ लाख ६३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । फष्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको करिब ६ करोड बढी रुपैयाँको सेयर किनबेच भएका छन् । त्यस्तै, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको करिब ५ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

ग्रोमोर मर्चेन्ट बैंकरद्धारा प्रभु क्यापिटल लिमिटेडको नाममा कारोबार शुरु

काठमाडौं, २ साउन । ग्रोमोर मर्चेन्ट बैंकर लिमिटेडले श्रावण २ गते आइतबारदेखि नाम परिवर्तन गरि प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार शुभारम्भ गरेको छ । प्रभु बैंक लिमिटेडका अध्यक्ष देवी प्रकाश भट्टचनले एक समारोहबीच प्रभु क्यापिटल लिमिटेडको उद्घाटन गरेका हुन् । कम्पनीले प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार गर्न थालेपछि अझ स्तरीय सेवा प्रदान गर्ने बताएको छ ।

मेघा बैंक नेपालको ४ बराबर १ को अनुपातमा हकप्रद जारी हुँदै

काठमाडौं, २ साउन । मेघा बैंक नेपालले ४ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि आगामी साउन १० गते कम्पनीले बुक क्लोज गर्ने भएको छ । गत पुस २६ गते सम्पन्न साधारणसभा र असार ३१ गतेको नेपाल धितोपत्र बोर्डको निर्णय अनुसार हकप्रद सेयर निश्काशन गर्न लागिएको सो संस्थाले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब २४ करोड ५ लाख ७५ हजार रुपैयाँ रहेको छ । आइतबार बैंकको हाराहारी ५ सय ६५ रुपैयाँमा सेयर कारोबार भइरहेको छ ।

नागरिकता बनाउँदा १० हजार खर्च

बनेपा, २ साउन । काभ्रेपलाञ्चोकको दुर्गम गाविस मानिने महाभारत शृङ्खलाडाँडापारिका बासिन्दा नागरिकता बनाउन १० हजार रुपैयाँसम्म खर्च गरेर धुलिखेल आउन बाध्य भएका छन् । डाँडापारिका गाविसलाई लक्षित गरी घर्तीछाप गाविसमा इलाका प्रशासन कार्यालय स्थापना गरे पनि कर्मचारी गाउँ जान नमान्दा स्थानीयलाई नागरिकताका लागि धुलिखेल आउन सास्ती खेप्नुपरेको हो । घर्तीछाप गाविस–५ का नन्दलाल रानामगरले नागरिकता बनाउन सदरमुकाम धुलिखेलसम्म पुग्दा १० हजार ख रुपैयाँसम्म खर्च लाग्ने गरेको दुखेसो पोखेका छन्। उनले गाउँबाट दुई दिनसम्म हिँडेर नागरिकता बनाउनुपर्ने र नागरिकताको लागि दुईजना जानुपर्ने भएकाले पाँच दिनसम्म बस्दा महँगो खर्च गर्न बाध्य भएको बताए । काभे्रपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले गृह मन्त्रालयले कर्मचारी तोके पनि कार्यालयमा हाजिर हुन नआएको जानकारी दिए। घर्तीछाप गाविसमा रहेको जनकल्याण उमाविका शिक्षक गिरिराज महराले सदरमुकामसम्म जाने रकम कै अभावमा डाँडापारिका धेरै स्थानीयवासीले नागरिकता नै नबनाएको जानकारी दिए । घर्तीछापका गाविस सचिव रेवतीरमण निरौलाले शाखा अधिकृतलाई काजमा खटाए पनि कर्मचारी इलाका प्रशासन कार्यालयमा नगएको बताए । आर्थिक अवस्था कमजोर र सडकको पूर्वाधार समेत नपुगेका घर्तीछाप, बनखुचौर, फोक्सिङटार, गोकुले, बुढाखानी, साल्मेचाकल, साल्धारा, फलामेटार, डाँडागाउँ र मिल्चे गाविसका स्थानीय सरकारी सेवा सुविधा लिन कै लागि ठूलो आर्थिक नोक्सानी व्यहोरेर धुलिखेल आउने गर्दछन् । डाँडापारीका आठ गाविसलाई पायक पर्ने स्थान भन्दै घर्तीछाप गाविसमा तीन वर्ष अगाडि नै इलाका प्रशासन कार्यालय राख्ने निर्णय भएको थियो । रासस

मर्जरको खर्च पाँच करोड रुपैयाँ, कसले तिर्ने भन्नेमा विवाद, कुमारी बैंक नतिर्ने पक्षमा

काठमाडौं, २ साउन । कुमारी बैंकसँगै एनसीसी बैंक, इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंकबीच मर्जरको प्रक्रियामा करिब ५ करोड रुपैयाँ खर्च भएको छ । कुमारी बैंक उक्त मर्जर प्रक्रियाबाट वाहिरीएपछि खर्च कसले बेहोर्ने भन्ने विषयमा विवाद भएको छ । एनसीसी, चार विकास बैंक र कुमारी मर्जर सम्झौता मर्जर सम्वन्धि सम्झौतामा ‘मर्जर प्रक्रियाबाट जो बाहिरन्छ, उसले मर्जर प्रक्रियामा भएको सबै खर्च बोहोर्नु पर्ने सर्त छ । त्यसको आधारमा सबै खर्च कुमारी बैंकले बोहोर्नुपर्छ’ संयुक्त मर्जर कमिटिका एक सदस्यले विकासन्युजसँग भने । कुमारी बैंकले अहिलेसम्म सयुक्त मर्जर कमिटिको खातामा ७६ लाख रुपैयाँ भुक्तानी दिएको छ । त्यो वाहेक अन्य खर्च कुमारी बैंक अन्य भूक्तानी नदिने कुमारी बैंक स्रोतले बतायो । ६ वटै संस्थाले मर्जर सम्बन्धि निर्णय गर्न बोलाएको साधारणसभा गर्नु पूर्व संयुक्त मर्जर कमिटिको खाताबाट ४ करोड ५० लाख रुपैयाँ खर्च भएको छ । ‘६ वटा बैंकको सफ्टवेयर मर्ज गर्ने ठेक्का लिएको मर्कन्टाईलसँग १ करोड ४० लाख रुपैयाँमा सम्झौता भएको छ । पुरै निकास हुन बाँकी छ’ स्रोतले भन्यो ‘डीडीए रिपोर्ट बनाएबाफत चाटर्ड एकाउन्ट कम्पनी पीवाईसीको मालिक युद्धप्रसाल वलीले ३७ लाख रुपैयाँ लगे । एनपीए र एनबीए भ्यालुएशन गर्ने विभिन्न कम्पनीले २५ लाख रुपैयाँ लगे, संयुक्त मर्जर कमिटिका १५ जनाले २२ लाख ५० हजार भत्ता खाए, प्रशासनिक खर्च २० लाख भयो ।’ स्रोतका अनुसार अहिलेसम्म संयुक्त मर्जर कमिटिको २५ वटा बैंठक बसेको छ । मर्जर कमिटिमा १५ जना सदस्य छन् । प्रतिव्यक्ति कर कटाएर ६ हजार रुपैयाँ भत्ता बाँडिएको थियो । २२ लाख ५० हजार रुपैयाँ भत्तामै सकियो । उनीहरुलाई खुवाउन, पिलाउन पनि ठूलै खर्च भएको छ । संयुक्त मर्ज कमिटिलाई सहयोग गर्न ६ जना कर्मचारी खटाईएको थियो । उनीहरुको तलवमा पनि ठूलो खर्च भयो । मर्जप्रक्रियामा सहभागि सबैं संस्थाले नेटवर्थको ०.०२ प्रतिशत रकम संयुक्त मर्जर कमिटिको खातामा राखिएको छ । ‘एकिकृत कारोबार हुन अझै तीन महिना लाग्छ । खर्च ५ करोड नाघ्न सक्छ । कुमारी बैंक मर्जर प्रक्रियाबाट वाहिरीएकोले सफ्टवयेर तथा एकाउण्ट मर्ज अन्तरगत मर्कन्टायललाई भुक्तानी कम गर्न सकियो भने ५ करोड खर्च नहुन पनि सक्छ’ स्रोतले भन्यो । यो मर्जरको खर्च विवाद अदालत जान सक्ने अनुमान गरिएको छ । कुमारी बैंकको विशेष साधारणसभामा मर्ज खर्च अनुमोदन गर्न कम्पनी सचिवले प्रस्ताव गर्दा ध्यनीमतले अस्वीकार गरेको छ । यद्यपी बैंकले माईन्यूटमा अहिलेसम्म भएको खर्च साधारणसभाले अनुमोदन गरेको लेख्न सक्छ । अदालत वा नियामक निकायलगायत सक्षम निकायको आदेशमा बाहेक मर्जर प्रक्रियाबाट वाहिरीने संस्थाले मर्जर प्रक्रियामा भएका सबै खर्च वाहिरीने संस्थाले वेहोर्ने बेहोरा मर्जर कमिटिबीच सम्झौता भएकोले यो विषय अदालनमा पुग्न सक्ने सम्भावना रहेको स्रोतले बतायो ।

अपर तामाकोशीको सेयर रजिष्ट्रार एनसिएम मर्चेन्ट बैंक

काठमाडौं, २ साउन । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । सो कार्यको लागि आयोजना प्रमुख बिज्ञानप्रसाद श्रेष्ठ र एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रबन्ध संचालक बिजयलाल श्रेष्ठबीच असार ३० गते द्धिपक्षीय सम्झौता भएको हो ।

सिटिजन्स बैंकमा प्रिमियर फिनान्स गाभियो, आजबाट एकिकृत कारोबार

काठमाडौं, २ साउन । सिटिजन्स बैंक इन्टरनेसनममा प्रिमियर फिनान्स कम्पनी औपचारिक रुपमा गाभिएको छ । उक्त फाइनान्स एक्विजिशन भएपछि आजदेखि एकीकृत कारोवार शुरु गरेको सिटिजन्स बैंकले जनाएको छ । उक्त फाइनान्स प्राप्ति गर्न नेपाल राष्ट्र बैंकले गत असास २० गते र कम्पनी रजिष्ट्रारको कार्यालयले २४ गते स्वीकृति दिएको थियो । सिटिजन्स बैंकले यसअघि नेपाल हाउजिंग एंड मर्चेन्ट फाइनान्स लि. र पिपुल्स फाइनान्सलाई प्राप्ति (एक्विजिशन) गरेको थियो । प्रिमियर फाइनान्स एक्विजिशन पश्चात बैंकको चुक्ता पूंजी ३ करोड ५६ लाख रुपैयाँले बृद्घि भई कुल चुक्ता पुँजी ३ अर्ब १० करोड पुगेको छ । बैंकको कूल निक्षेप ४८ अर्ब ८ करोड र कर्जा ४१ अर्ब ८ करोड रुपैयाँ भएको बैंकले जनाएको छ । उक्त संस्था प्राप्ति भए पश्चात बैंकको २ शाखाहरु थप भई उपत्यका भित्र २४ शाखा र उपत्यका बाहिर ३४ शाखा गरी मुलुक भर कुल ५८ शाखाहरु र ९३ वटा शाखा रहित बैंकिंङ्ग सञ्जालबाट सेवा प्रदान बैंकका प्रवक्ता तथा नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले जानकारी दिए ।