विकासन्युज

एनआईसी एशिया बैंक र जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र जनरल ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात बैंकका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्वन्धी सुविधाका सबै शाखाबाट लिन सक्ने छन् । हाल बैंकले २ सय ३३ शाखा, २ सय २१ एटीएम काउण्टर, १४ एक्सटेन्शन काउण्टर तथा १५ शाखारहित बैङ्किङ एकाई मार्फत वित्तीय सेवा दिँदै आएको छ । गतअसार मसान्त सम्म बैंकले १ खर्ब ४९ अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब २० अर्व रुपैयाँ कर्जा लगानी गरेको कम्पनीले बताएको छ ।

नेप्से १६ अंकले घट्यो, १४५ कम्पनीको सेयर मूल्यमा गिरावट

काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले घटेको छ । करिब एक साता अघिदेखि सामान्य घटबढ भएको बजारमा आइतबार भने १६.६९ अंकको गिरावट आएको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको सो दिनको परिसूचक अन्तत १.४१ प्रतिशतले घटेर ११६३ अंकमा झरेको छ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले मौद्रिक नीति पुँजीबजार मैत्री नहुँदा सेयर बजार निरन्तर घटिरहेको बताएका छन् । उनले अझै घट्ने सम्भावना रहेको बताए। आइतबार कुल १६२ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये १७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । अन्य बाँकी १४५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सबैभन्दा बढी आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.८७ प्रतिशत कमाएका छन् । उता मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले एकैदिन १० प्रतिशत गुमाएका छन् । बजारमा ७ लाख ८१ हजार कित्ता सेयर कुल २५ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर किनबेच भएको छ । यस कम्पनीको एकैदिन ३ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९१० रुपैयाँ रहेको छ । त्यस्तै, बजारमा दुई समूहबाहेक बाँकी समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी लाईफ इन्स्योरेन्स समूहको सूचक १९३ अंकले घटेको छ । त्यस्तै, नन् लाइफ इन्स्योरेन्सको सूचक १०५ अंकले घटेको छ । उत्पादनमूलक ६३, माइक्रोफाइनान्स ३१, हाइड्रोपावर २१, विकास बैंक १३ र बैंकिङ समूह ११ अंकले ओरालो लागेका छन् । उता होटल र ट्रेडिङ समूह क्रमशः ६.७३ र २.११ अंकले उकालो लागेका छन् ।

वैदेशिक सहायता ढाँचा परिवर्तनको तयारी

काठमाडौ । सरकारले वैदेशिक सहायताको ढाँचा परिवर्तनको तयारी गरेको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा अर्थमन्त्रालयका सचिव राजन खनालले सरकार वैदेशिक सहायताको ढाँचा परिवर्तन गर्ने सोचमा रहेको जानकारी दिए। उनले भने, “एकीकृत कोषका आधारमा वैदेशिक सहायता लिनुपर्छ भन्ने सोच अघि बढाइएको छ, दाताबाट एउटा परिमाणको सहयोगको घोषणा हुन्छ, सम्झौतासम्म पुग्दा त्यो घटिसक्छ, कतिपय दाताबाट दिन्छु भनेको रकम आएको छैन ।” मुआब्जालगायत कतिपय कारणले दाताबाट प्राप्त रकम पनि खर्च भएको छैन । आयोजना सञ्चालनको तयारी नपुग्दा प्रतिबद्धता भएको रकमको भाका सर्ने मात्र नभई फिर्तासमेत लैजाने अवस्था भएको सो अवसरमा जानकारी दिइयो । विभिन्न शर्तका कारण भूकम्पछिको पुनः निर्माणको काममा ढिलाइ हुँदा दातृ मुलुकबाट घोषणा भएको सहयोगको प्रतिबद्धता कार्यान्वयन नभएको उल्लेख गर्दै अर्थसचिव खनालले त्यसले गर्दा राजश्वको ठूलो भाग पुनः निर्माणमा लगाउनुपर्ने अवस्था सिर्जना भएको बताए। रासस

ओपोले उद्योगकै पहिलो ह्याण्डसेट सार्वजनिक गर्दै, वाटरड्रप स्क्रिनको प्रयोग

काठमाडौं । सेल्फी एक्स्पर्ट, ओपोले लोकप्रिय एफसिरिज अन्तर्गत नयाँ संस्करण ओपो एफनाइन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार पृथक वाटरड्रप स्क्रिन डिजाइन प्रयोग गरिएकोे यो उद्योगकै पहिलो ह्याण्डसेट हुनेछ । फोनको अघिल्लो भागमा रहेको टप नोचमारिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ । यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै ठूलो स्क्रिनको मज्जा लिन सघाउने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार ओपो एफनाइनमा रहेको ९०.८ रेसियो सहितको १९.५ :९ वाटरड्रप स्क्रिनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक देखाउँछ । वाटरड्रप डिजाइनको अवधारणालाई थप जीवन्तता प्रदान गर्न फोनमा क्यामेरा र फ्ल्याश लाइट एकै साथ उपलब्ध गरिएको छ । यिनलाई झट्ट हेर्दा एक अर्कामा आकर्षित भइरहेका पानीका दूई थोपा झैँ देखिन्छ । नयाँ फोनकै माध्यमबाट ओपोले कम्प्याक्ट स्पेशियल स्ट्रक्चरको सुनिश्चितता प्रदान गर्दै प्राकृतिक आवाज प्रदान गर्न नयाँ च्यानल साउण्ड कन्डक्सन पनि उपलब्ध गराएको छ । वाटरड्रप स्क्रिनलाई जीवन्तता प्रदान गर्न फोनको स्क्रिन डिजाइनमा विस्तारित राउण्डेड कर्नरहरुको प्रयोग गरिएका छन् । यसले फोन समाउँदा सहजताको अनुभव प्रदान गर्नुका साथै फोनलाई थप आकर्षक रुप पनि प्रदान गरेको छ । स्क्रिनसंग समायोजना गरिएको क्यामेरालाई कम्पनीले फ्रण्ट कोटिङ फिल्म सहितकालो रंगमा पेण्ट गरेको छ । यसले फोनको अघिल्लो भागको ईण्टिग्रिटी झल्काउन समेत उल्लेख्य भुमिका खेलेको छ । उद्योगकै अग्रगामी फ्लिपएलईडी प्रविधि, रिसिभर टप स्टेरिङ साउण्ड कन्डक्सन, लाइट सेन्सेसन हर्न सेप्ड लाइट कन्डक्सन, ग्यापएप्रोचिङ डिजाइन लगायत ४६ ओटा प्याटेन्ट सहितओपो एफनाइनको डिजाइन आँखाका लागि आरामदायी र जीवन्त दृष्यानुभूति प्रदान गर्ने सोचका साथ गरिएको कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमको बजार हिस्सा बढेर ५१ प्रतिशत पुग्यो, गत वर्ष १५ अर्ब ६६ करोड नाफा

काठमाडौं । सरकार स्वामित्वको नेपाल टेलिकमको बजार हिस्सा बढेर ५१ प्रतिशत पुगेको छ । यसअघि ४९ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा २ प्रतिशत बढाएर ५१ प्रतिशत पुर्याएको हो । गत जेठ मसान्तसम्म कम्पनीका टेलिफोन ग्राहक आधार १ करोड ९७ लाख ४७ हजार ४४५ पुगेको प्रवत्ता प्रतिभा वैद्यले बताइन् । उनका अनुसार इन्टरनेट ग्राहक आधार १ करोड ६ लाख ५२ हजार ४२९ रहेको छ । यसरी २०७४ असार मसान्तको तुलनामा कम्पनीको ग्राहक आधार टेलिफोनतर्फ २१ लाख ४५ हजार २२३ र इन्टरनेटतर्फ २२ लाख २६ हजार ५३५ ले बृद्धि भएको उनले जानकारी दिइन् । गत वर्ष टेलिकमको नाफा १.९२ प्रतिशत वृद्धि भई १५ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ पुगेको छ । नाफमा भएको वृद्धिले प्रतिसेयर आम्दानी (ईपीएस) पनि १.९६ प्रतिशत बढेर १०४ रुपैयाँ ४५ पैसा पुगेको वैद्यले बताइन् । टेलिकमको आम्दानी २.१९ प्रतिशत बढेर ४५ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ पुगेको छ । टेलिकमले पाँचथरको चियो भञ्ज्याङदेखि गोर्खा-धादिङको आरुघाटसम्म २ हजार १७९ किलोमिटर अप्टिकल फाइवर नेटवर्क विस्तार गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७५।७६ मा पोष्टपेडतर्फ ५९ हजार ८३० लाइन र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन वितरण गर्ने लक्ष्य लिइएको छ । सातै प्रदेशमा फोरजी एटीई सेवा विस्तारको काम अघि बढिसकेको वैद्यले जानकारी दिइन् । यस आर्थिक वर्षमा सीडीएमए प्रविधिका ८१ हजार ६ सय २ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य लिइएको छ । भ्वाइस सेवातर्फ कुल २७ लाख ३३ हजार टेलिफोन लाइन‍ थप वितरण गरी टेलिघनत्व ७० प्रतिशत पुर्याउने तथा डाटा सेवाको घनत्व पनि बृद्धि गर्दै ४५ प्रतिशत पुर्याउने टेलिकमकाे लक्ष्य रहेको छ ।

बिहानैदेखि जयपृथ्वी राजमार्ग बन्द, यात्रु अलपत्र

बैतडी । केही दिनदेखिको लगातारको वर्षाले सडकमा पहिरो खस्दा आइतबार बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध छ । बैतडीको सिगास गाउँपालिका-९ श्रीभावरमा आज बिहान ६.३० बजे पहिरो खस्दा सडक रोकिएको बनेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यातायातका साधन पूर्णरुपमा बन्द हुँदा लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् । बन्द सडक डोजरको सहयताले खुलाउने प्रयास भइरहेकोे छ । रासस

अपि पावरले धमाधम जलविद्युत आयोजना बनाउँदै, जडित क्षमता ७५ मेगावाट पुग्ने

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले जलविद्युत र सोलार गरी ७५ मेगाावाट बिजुली उत्पादन गर्ने भएको छ । सुदुरपश्चिमको दार्चुलामा ८.५ मेगावाटको नौगाड आयोजना सञ्चालन गरिरहेको अपिले यो वर्षभित्र अर्को ८ मेगावाटको माथिल्लो नौगाड आयोजना सम्पन्न गर्ने भएको छ । यस्तै अपिले यो वर्षभित्र १८ मेगावाट बिजुली सोलारबाट उत्पादन गर्ने जानकारी दिएको छ । यस्तै ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना बनाउन तयारी थालेको छ । अपिले चमेलिया आयोजना बनाउन नेपाल विद्युत प्राधिकरणको विद्युत जडान सम्झौता (ग्रिड कनेक्सन) सम्झौता गरेको छ । चमेलिया जलविुद्यत आयोजनबाट उत्पादित विद्युत शक्ति बँलाच सव स्टेशनको १३२ के.भि. वसबारमा जडान गरिनेछ । ४० मेगावटको माथिल्लो चमेलिया जलविद्युत आयोजना अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको यो तेस्रो आयोजना हो । कम्पनीले हाल निर्माण गरिरहेको ८ मेगावटको अपर नौगाड जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । नीजि जलविद्युत क्षेत्रबाट देशको चरम लोडसेडिङ अन्त्य गर्न अपि पावर कम्पनीले महत्वपूण भूमिका खेल्दै आएको छ । अपीमा सर्वसाधारणको सेयर लगानी रहेको छ । यस्तै अपिले सोलार र चमेलिया आयोजना बनाउनका लागि लगानी जुटाउन हकप्रद सेयर निष्कासन गर्न लागेको छ । उसले हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।