काठमाडौं । सरकार स्वामित्वको नेपाल टेलिकमको बजार हिस्सा बढेर ५१ प्रतिशत पुगेको छ । यसअघि ४९ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा २ प्रतिशत बढाएर ५१ प्रतिशत पुर्याएको हो ।

गत जेठ मसान्तसम्म कम्पनीका टेलिफोन ग्राहक आधार १ करोड ९७ लाख ४७ हजार ४४५ पुगेको प्रवत्ता प्रतिभा वैद्यले बताइन् । उनका अनुसार इन्टरनेट ग्राहक आधार १ करोड ६ लाख ५२ हजार ४२९ रहेको छ । यसरी २०७४ असार मसान्तको तुलनामा कम्पनीको ग्राहक आधार टेलिफोनतर्फ २१ लाख ४५ हजार २२३ र इन्टरनेटतर्फ २२ लाख २६ हजार ५३५ ले बृद्धि भएको उनले जानकारी दिइन् ।
गत वर्ष टेलिकमको नाफा १.९२ प्रतिशत वृद्धि भई १५ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ पुगेको छ । नाफमा भएको वृद्धिले प्रतिसेयर आम्दानी (ईपीएस) पनि १.९६ प्रतिशत बढेर १०४ रुपैयाँ ४५ पैसा पुगेको वैद्यले बताइन् । टेलिकमको आम्दानी २.१९ प्रतिशत बढेर ४५ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।
टेलिकमले पाँचथरको चियो भञ्ज्याङदेखि गोर्खा-धादिङको आरुघाटसम्म २ हजार १७९ किलोमिटर अप्टिकल फाइवर नेटवर्क विस्तार गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७५।७६ मा पोष्टपेडतर्फ ५९ हजार ८३० लाइन र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन वितरण गर्ने लक्ष्य लिइएको छ ।
सातै प्रदेशमा फोरजी एटीई सेवा विस्तारको काम अघि बढिसकेको वैद्यले जानकारी दिइन् । यस आर्थिक वर्षमा सीडीएमए प्रविधिका ८१ हजार ६ सय २ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य लिइएको छ । भ्वाइस सेवातर्फ कुल २७ लाख ३३ हजार टेलिफोन लाइन थप वितरण गरी टेलिघनत्व ७० प्रतिशत पुर्याउने तथा डाटा सेवाको घनत्व पनि बृद्धि गर्दै ४५ प्रतिशत पुर्याउने टेलिकमकाे लक्ष्य रहेको छ ।