विकासन्युज

मर्जरमा रहेका तीन संस्थाले दिए कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम

काठमाडौं, ६ भदौ । महालक्ष्मी फाईनान्स लिमिटेड, सिद्धार्थ फाईनान्स लिमिटेड तथा मालिका विकास बैंक लिमिटेडले स्ट्राटेजिक प्लानिङ फर द सस्टिनेबल ग्रोथ अफ अपकमिङ महालक्ष्मी डेभलपमेन्ट बैंक विषयक तालिमको आयोजना गरेका थिए । बैंकले कर्मचारीको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सो तालिमको आयोजना गरेको हो । बिजनेस एण्ड इन्भेष्टमेन्ट म्यानेजमेन्ट (बिआइएम) ले आयोजना गरेको सो कार्यक्रममा उक्त संस्थाहरुका २१ जना अधिकृत स्तरका कर्मचारीहरुले भाग लिएका थिए । यी संस्थाहरु एक आपसमा गाभिई महालक्ष्मी विकास बैंक लिमिटेड नामको राष्ट्रिय स्तरको विकास बैंकको रुपमा संयुक्त कारोवार गर्ने तयारीमा रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तीन वायुसेवाको उडान बन्द, ६ वटा जहाज ग्राउण्डेड

काठमाडौं, ६ भदौ । नेपालका चल्तीका तीन वटा वायुसेवाको उडान बन्द भएको छ । दुईवटा वायुसेवाको उडान संचालन अनुमति (एओसी) खारेज भएको छ भने एउटा वायुसेवाको एओसी भएर पनि जहाज नहुँदा उडान हुन सकेको छैन ।| नियमति उडानको आन्तरिक वायुसेवा सिम्रिक एयरलाइन्ससँग उडानयोग्य चारवटा जहाज भएपनि एओसी नवीकरण नभएको कारण एक सातादेखि उडान बन्द छ । सिंगल इन्जिनका अन्य दुईवटा वायुसेवा मकालु एयर र एयर काष्टमण्डपको पनि उडान संचालन हुन सकेको छैन । यी दुई सिंगल इन्जिनका दुबै वायुसेवाको एकएक जहाज दुर्घटना भएपछि बाँकी जहाज ग्राउण्डेड भएका हुन् । नियमति उडानको सिम्रिक एयरलाइन्सले १५ महिनादेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उडान इजाजतपत्र (लाइसेन्स) नवीकरण नगराएका कारण गत साउन ३१ गते आइतबारदेखि उडान बन्द छ । यो वायुसेवाको १५  महिनासम्म अनुमति नवीकरण नभएपछि चलिरहेकै वायुसेवा भएपनि अनुमति खारेजीमा पुगेको हो । पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईले मन्त्रालयले दिएको चार वर्षको अनुमतिपत्रलाई सिम्रिकले १५ महिनाको समय दिदाँसम्म नवीकरण गरेन । चार वर्षे इजाजतको म्याद सकिएको एक वर्षसम्म नवीकरण नभए स्वतः खारेजीमा जाने नियम रहेको उनले बताए । सिम्रिकलाई पछिल्लो पटक तीन महिनाको समय दिइसकेको र सो समयमा पनि अनुमति नवीकरण नगरेका कारण स्वतः खारेजमा गएको तर्क राईले संचार माध्यमार्फत दिएका छन् । सिम्रिकले भने भूकम्प र नाकाबन्दीका कारण समयमा नै नवीकरण गर्न नभ्याएको र मानवीय त्रुटिका कारण नवीकरण फेल हुँदा उडान नै बन्द गर्नुपरेको बताएको छ । यो वायुसेवाले पर्यटन सचिव स्तरबाट आवश्यक पहल नभएका कारण एक पटककालागि भन्दै मन्त्रिपरिषद्सम्म नै आफ्नो इजाजत नवीकरणको फाइल अगाडि बढाउन लगाएको छ । एयरलाइन्सको अनुमति खारेजी प्रकृयामा गएकोले र पर्यटन मन्त्री नियुक्त नभएकोले पनि सिम्रिकको काम पर्यटन मन्त्रालयबाट हुन नसकेको मन्त्रालय स्रोतको भनाइ । मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रीपरिषद्ले मात्रै लाइसेन्स नविकरण गर्न सक्छ, अन्यथा सिम्रिक एयरले नयाँ वायुसेवाकै प्रकृयामा नयाँ अनुमति लिनुपर्छ । नयाँ वायुसेवाको लाइसेन्स लिनु पर्दा २० करोड रुपैयाँको चुक्ता पूँजी, २० लाख रुपैयाँ बैंक ग्यारेन्टी, १० हजार निवेदन शुल्क, हरेक उडान रुटको लागि ३० हजार रुपैयाँसहित आवेदन दिनुपर्ने पनि मन्त्रालयको भनाई छ । समस्यामै परेको वायुसेवालाई उद्धार गरेर सिम्रिक सुरु सिम्रिक एयरलाइन्सका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले घरजग्गाबाट डुब्न लागेको राजेद्र शाक्यको गुण एयरलाइन्सलाई किनेर सिम्रिक एयरलाइन्स बनाएका हुन । चार वर्ष अगाडि घरजग्गा कारोबारबाट आर्थिक समस्यामा परेपछि शाक्यको ऋण स्वाप गरेर (सकारेर)  थापाले गुण एयरलाइन्स लिएका हुन । गुणमा त्यतिबेला दुई वटा वायुसेवा थियो । गुणले घरजग्गा समस्याकै कारण एउटा जहाज बेचेर दुईवटा बाँकी बनाएपछि सिम्रिकले किनेको हो । गुणको ७५ प्रतिशत शेयर लिएर संचालन सुरु गरेको सिम्रिकले तीन वर्ष अगाडि मात्रै अग्नि एयरका जहाज पनि संचालन गर्न थालेका हुन । घरजग्गा कारोबारबाटै समस्यामा परेको सुधिर बस्नेतको वायुसेवा अग्नि बन्द भएपछि सिम्रिकले संचालन गरेको हो । अग्निका पाँचवटा जहाज भएपनि सिम्रिकले दुईवटा मात्रै आवश्यक मर्मत गरेर उडाएको थियो । हाल दुईवटै सिम्रिकले आफ्नो बनाइसकेको छ । सिम्रिक एयरलाइन्स संचालन गर्नु पहिले थापाको सिम्रिक एयर नामको हेलिकोप्टर कम्पनी रहेको थियो । यो अहिले पनि संचालनमै छ । डेढ दशकदेखि हेलिकोप्टर संचलान गरिररहेका थापाले यो हेलिकोप्टर संचालनको सुरुवात पनि तत्कालिन कर्णाली एयरको हेलिकोप्टर  किनेर उड्डयन क्षेत्रको व्यवसाय सुरु गरेका हुन । कर्णाली एयर आर्थिक समस्यामा परेपछि थापाले नै उद्दार गरेका हुन । हेलिकोप्टर र एयरलाइन्सको सुरुवात नै अरुलाई अप्ठारो पर्दा उद्दार गरेर भएको भएपनि अहिले मानवीय त्रुटि र हेलचेक्राइका कारण थापाको वायुसेवा सिम्रिकको उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले बताए । मकालुसँग जहाज अभाव र काष्टमण्डपको अनुमति रद्द सिंगल इन्जिनको वायुसेवा मकालुको एउटा जहाज गत साउन २० गते दुर्घटना भएपनि यो वायुसेवासँग एउटा मात्रै जहाज रहेको छ । यो एउटा जहाज पनि प्राविधिक समस्याका कारण बिग्रिएर थन्किएकोले एक महिनादेखि नै उडानमा छैन । काष्टमण्डप एयरको पनि गत फागुनमा एउटा जहाज दुर्घटना परेपछि अर्को एउटा बिग्रिएर थन्किएको थियो । काष्टमण्डपको फागुनमा भएको जहाज दुर्घटनाको नेपला नागरिक उड्डयन प्राधिकरणल आवश्यक जाँच गर्दा उडान मापदण्ड पूरा नगरेको पाइएकोले भएको अर्को एउटालाई पनि उड्न निदएको छैन । प्राधिकरणका अनुसार प्राधिकरणले यो वायुसेवाको सुरक्षाकै लागि उडान अनुमति रद्द गरेको हो । आवश्यक मापदण्ड पूरा गरेर आएको अवस्थामा उडान अनुमति नवीकरण हुनसक्ने प्राधिकरण स्रोतको भनाइ छ ।

सडक दुर्घटनाप्रति प्रधानमन्त्रीको चासो, सुधार गर्न दिए चारबुँदे निर्देशन

काठमाडौं, ६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले यातायातसम्बन्धी कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन सेवा प्रदायक कार्यालय थप्ने लगायत चारबुँदे निर्देशन दिएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र सचिव अर्जुनकुमार कार्कीलाई सोमबार बिहान निवासमा बोलाई प्रधानमन्त्रीले यथाशीघ्र उपत्यकामा तीनवटा सेवाप्रदायक कार्यालय थप्न निर्देशन दिएका हुन् । सो अवसरमा प्रधानमन्त्री दाहालले “उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स), ब्लुबुकको नवीकरण, ‘रुट परमिट’ लगायतका कामलाई सेवाग्राहीको चाहनाअनुसार सहज बनाउन भक्तपुरमा एक र काठमाडौंमा दुई गरी तीन यातायात व्यवस्था कार्यालय थपेर छिटो सेवा दिने व्यवस्था गर्नुहोस्” – उनको निर्देशन उद्धृत गर्दै स्वकीय उपसचिव मनोहरि तिमल्सिनाले राससलाई जानकारी दिए । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाका लागि विद्यालय, क्याम्पसको भवन भाडामा लिएर छ महिनामा एकैचोटी चार, पाँच हजारको सङ्ख्यामा परीक्षा दिन सकिने व्यवस्था गर्न, अनलाइन फारामको व्यवस्था गर्न, नवीकरण, ‘रुट परमिट’ लगायतका कामलाई अनलाइन प्रणालीबाट प्रारम्भ गर्न, क्याम्पसका स्वयम्सेवा गर्न चाहने विद्यार्थीलाई अभिमुखीकरण तालिम दिएर काममा खट्नसक्ने व्यवस्था मिलाउन पनि प्रधानमन्त्री दाहालले निर्देशन दिए । सो अवसरमा मन्त्री लेखकले आवश्यक गृहकार्य गरेर प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए स्वकीय उपसचिव तिमल्सिनाले बताए । रासस

शिखर शुको दशैं–तिहार योजना, जेन्स शुको खरिदमा लेडिज स्यान्डल उपहार

काठमाडौं, ६ भदौ । नेपालको फुटवेयर ब्राण्ड शिखर शुले ‘शिखर धमाक्का, हरेक जेन्स शुजको खरिदमा, आकर्षक लेडिज स्यान्डल उपहार पक्का’ सार्वजनिक गरेको छ । कम्पनीले नेपालीहरुको महान चाड दशैं–तिहारलाई लक्षित सो योजना ल्याएको हो । उक्त योजना अन्तगर्त शुले ‘शिखर धमाक्का, हरेक जेन्स शुजको खरिदमा, आकर्षक लेडिज स्यान्डल उपहार पक्का‘ सार्वजनिक गरेको छ । जस अन्तर्गत शिखर ब्राण्डका हरेक १५ सय रुपैयाँ(एमआरपी) वा सो भन्दा बढीको जुत्ता खरिदमा ग्राहकहरुले शिखरको एक जोर आकर्षक ‘लेडिज सेण्डल’ पक्का उपहार पाउनेछन् । यस योजनाबाट ग्राहकले तत्काल लाभ उठाउन सक्ने भएकाले यसको बिक्रीमा थप उत्साह थपिने कम्पनीले विश्वास लिएको छ । कम्पनीका अनुसार ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिदै आएको छ । शिखर सु अब कन्भेयर मेसिन, पियू मेसिन (पोली युरेथेन) र डिएमएस (बुट बनाउने) मेसिनले सुसज्जित भैसकेको छ । कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको लागि जुत्ता लगायतका करिब छ सय डिजाइनका जुत्ता चप्पल उत्पादन गर्दै आएको छ ।

५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाको अधिकांश निर्माण कार्य सम्पन्न, भदौ दोर्सो साताबाट सञ्चालनमा

काठमाडौं, ६ भदौ । ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी  ‘ए’ आयोजना भदौ दोर्सो साताबाट सञ्चालनमा आउने भएको छ । आयोजना निर्माणको अधिकांश कार्य अन्तिम चरणमा पुगेकोले भदौ दोस्रो साताबाट विद्युत् उत्पादन गर्न थाल्ने प्रवद्र्धक कम्पनी सिनो हाइड्रो–सगरमाथा पावर कम्पनीले जानकारी दिएको छ । ‘रन अफ रिभर’ प्रविधिमा निर्माणधिन उक्त आयोजना निर्धारित समय अगष्ट ३० देखि विद्युत् उत्पादन थाल्ने लक्ष्य सहित तिव्र गतिमा अघि बढाइएको पावर कम्पनीका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले जानकारी दिए । चीनको चर्चित तथा बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको सुरुङ, विद्युतगृह, बाँध क्षेत्र र प्रशारण लाइनको काम तीव्र रुपमा अघि बढेको बताइएको छ । करिब १२ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरि निर्माण कार्य शुरु गरिएको उक्त आयोजनामा २५/२५ मेगावाटको दुई ओटा टर्वाइन रहनेछन् । आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेकोले अब विद्युत उत्पादन गर्न कुनै व्यवधान नआउने अधिकारीले बताए । आयोजनामा चिनियाँ सिनो हाइड्रो पावर कम्पनीको ९० प्रतिशत र नेपाली सगरमाथा पावर कम्पनीको १० प्रतिशत लगानी रहेको छ । आयोजनामा विद्युतगृह सिभिलतर्फको ९५ प्रतिशत, मेकानिकलतर्फको ८५ प्रतिशत र इलेक्ट्रोमेकानिकलतर्फको तीन चौथाइ भन्दाबढी काम सम्पन्न भइसकेको छ । बाँधको सिभिलतर्फको सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्रवद्र्धक कम्पनीका अनुसार अहिले बाँध परीक्षणको कार्य भइरहेको छ । लमजुङको भुलभुलेमा निर्माणाधिन उक्त आयोजनाको बाँधको ढोका र जलाशय परीक्षण शुरु गरिएको हो । बाँधका तीन ओटा मूल ढोका रहेका छन् । बाँधको दुई ओटा ढोका बन्द गरी परीक्षण कार्य शुरु गरिएको अधिकारीले जानकारी दिएका छन् । ‘दुई ढोका बन्द गर्दा अर्थात बाँधमा पानीको सहत बढ्दा के कस्तो प्रभाव पर्छ एवम् कति पानीको सहत बढ्छ भनी पहिचान गर्न लागिएको हो,’ उनले भने ‘ढोकालगाउँदा १ हजार २ सय मिटर पानीको सहत बढेको छ ।’ अहिले वर्षाको समय भएकाले पनि पानीको सहत बढेको हो । कम्पनीले आयोजना निर्माणका साथै प्रशारण लाइन निर्माण कार्यलाई पनि सगँसगै अघि बढाएको छ । विद्युत प्रशारणका लागि ५४ ओटा टावर निर्माण गर्नु पर्नेमा सबै निर्माण कार्य सम्मन्न हुन लागेको बताइएको छ ।

एउटा नाकाबाट ल्याउन एलसी खोलिएको सामान अर्कै नाकाबाट भित्र्याउन पाइने

काठमाडौं, ६ भदौ । अबदेखि सामान आयात गर्दा जुन भन्सारवाट पनि ल्याउन पाइने भएको छ । यसअघि एलसी खोल्दा तोकिएको भन्सार नाकाबाट मात्रै सामान भित्र्याउन पाउने ब्यवस्थामा पुनरावलोकन गर्दै यस्तो ब्यवस्था गरिएको हो । नेपाल राष्ट्र बैंकले आइतवार निर्देशन जारी गर्दै एउटा भन्सार नाकाबाट सामान भित्र्याउने भनिए पनि सामान आइपुग्दासम्म अर्कै नाकाबाट भित्र्याउनु पर्ने अवस्था आए त्यसो गर्न सकिने ब्यवस्था गरिएको जानकारी दिएको छ । गत वर्ष तराई मधेस केन्द्रित केही राजनीतिक दलले वीरगन्ज भन्सार नाकामा अवरोध गरेपछि नाका परिवर्तन (रिरुट) गरेर सामान नेपाल भित्र्याइएको थियो । यसरी भन्सार नाका परिवर्तन गर्न प्रक्रियागत झन्झट भएको कारण यस्तो ब्यवस्था गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि भन्सार नाका परिवर्तन गरेर सामान भित्र्याउन वाणिज्य मन्त्रालय, नेपाल राष्ट्र बैंक र भन्सार कार्यालयमार्फत अर्थ मन्त्रालयको पनि स्वीकृति चाहिन्थ्यो । अब भने एलसी खोल्ने बैंकले कागजात हेरेर औचित्यको आधारमा जुन भन्सार नाकाबाट पनि भित्र्याउन पाइने गरी ब्यवस्था मिलाउन सक्ने भएको छ । यस्तो ब्यवस्थाले बाणिज्य विभागको अनावश्यक झन्झट हटेको छ । ‘प्रत्येक भन्सार बिन्दुबाट सामान आयात गर्दा हुने मालवस्तुको परिमाण र रकम प्रतीतपत्र (एलसी)मा स्पष्ट खुल्ने अवस्थामा सम्बन्धित बैंकहरूबाट मालवस्तुको आयात भए/नभएको अनुगमन गर्ने गरी आयात गरिएका मालवस्तु एकभन्दा बढी भन्सार बिन्दुबाट पैठारी गर्न सकिनेछ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ । नयाँ व्यवस्थाअनुसार कुनै भन्सार कार्यालयबाट मालवस्तु पैठारी गर्ने गरी एलसी खोलेको, तर कारणवश सो भन्सार कार्यालयको सट्टा अन्य भन्सार कार्यालयबाट पैठारी गर्नुपर्ने अवस्था परे सम्बन्धित आयातकर्ताबाट भन्सार परिवर्तन गर्नुपर्ने औचित्य पुष्टि हुने कागजात लिई एलसी खोलेको बैंकले पैठारी हुने भन्सार नाका संशोधन गरेको प्रमाण पैठारी हुने भन्सार कार्यालयमा पेस गर्नुपर्नेछ । यसरी, पैठारी हुने भन्सार बिन्दु परिवर्तनका लागि अन्य निकायको अनुमति वा सिफारिस आवश्यक पर्नेछैन । यस प्रयोजनका लागि एकपटक फाराम जारी भइसकेपछि सोको सक्कल प्रति प्राप्त नभई अर्काे फारम जारी गर्न भने पाइनेछैन । अबदेखि पनि पैठारी हुने मालवस्तुका लागि एलसी खोल्दाकै अवस्थामा भन्सार बिन्दु भने उल्लेख गर्नुपर्नेछ । यसअघि पनि यस्तै व्यवस्था थियो । एलसी खोलेर भारतबाट मालसामान आयात गर्दा समेत यस्तो व्यवस्था लागू हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले ४१ प्रतिशत लाभांश दिने

काठमाडौं, ६ भदौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ४१ प्रतिशत लाभांश दिने भएको छ । आजै बसेको बैंक सञ्चालक समितिको बैठकले लगानी कर्तालाई २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्विकृति र आगामी साधारण सभाबाट पारित भएसँगै बैंकका लगानी कर्ताले सो मात्रामा बोनस सेयर र नगद लाभांश प्राप्त गर्नेछन् ।

पूर्व अर्थमन्त्री र अर्थमन्त्रीका सल्लाहकार नै कानुन उल्लघनकर्ता, जनही ५/५ हजार जरिवाना

काठमाडौं, ६ भदौ । पूर्व अर्थमन्त्री डा. रामशरण महत र पूर्वअर्थमन्त्री विष्णु पौडेलका प्रमुख आर्थिक सल्लाहकार डा. गोविन्द नेपालले भ्रष्टाचार निवारण ऐनको बर्खिलाप गरेका छन् । डा. महतले अर्थमन्त्री बनेको समयमा कानुन उल्लघन गरेका हुन भने डा. नेपालले राष्ट्रिय योजना आयोगको सदस्य भएको बेलामा कानुन उल्लघन गरेका हुन् । पूर्वअर्थमन्त्री डा. महत तत्कालिन अर्थमन्त्री महतले आर्थिक बर्ष २०७१/७२ मा सम्पत्ति विवरण नबुझाएर कानुनको उल्लघन गरेका राष्ट्रिय सतर्कता केन्द्रले जानकारी दिएको छ । विवरण नबुझाएकोमा दुबै ब्यक्तिलाई कारवाही गर्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले बताए । ‘समयमै विवरण नबुझाउने सार्वजनिक पदाधिकारीको विवरण अख्तियार पठाएका छौं, अख्तियारले ५ हजार रुपैयाँ जरिवाना तिराएर पुन विवरण भर्न लगाउने हो, यसरी कारवाही भइरहेको जानकारी हामीलाई प्राप्त भएको छ,’ प्रवक्ता लामिछानेले भने । अर्थमन्त्रालयका पूर्व आर्थिक सल्लाहकार डा. नेपाल सो आर्थिक बर्षमा विवरण बुझाउनु पर्ने सार्वजनिक पदाधिकारीमध्ये २२ हजार ८ सयले विवरण बुझाएका छैनन् । तत्कालिन उर्जा मन्त्री राधा ज्ञवालीले पनि समय गुज्रेपछि विवरण बुझाइकी छिन् । समयमै विवरण नबुझाउनेहरुमा तत्कालिन अर्थमन्त्री डा. महत र योजना आयोगका तत्कालिन सदस्य तथा अर्थमन्त्रालयका पूर्व प्रमुख आर्थिक सल्लाहकार डा. नेपाल पनि रहेका छन् । यस्तै कर्णाली विकास आयोग र सुदुरपश्चिम विकास आयोगका पदाधिकारीले विवरण बुझाएका छैनन् । नेपाल राष्ट्र बैंकका ५ जना कर्मचारी, राष्ट्रिय बाणिज्य र कृषि विकास बैंकका ३०/३० जना, उच्च माध्यामिक शिक्षा परिषदका ३० जना, नेपाल वायुसेवा निगमका ३ सय जना र जिल्ला विकास समिति तथा नगरपालिकाका कर्मचारीमध्ये १४५० जनाले विवरण बुझाएका छैनन् । यस्तै नेपाल टेलिकमका ४० जना, त्रिभुवन विश्वविद्यालयका २५ जना, कृषि अनुसन्धान परिषदका ७० जना र ७० ओटा सरकारी अस्पतालका कुनै पनि पदाधिकारी र कर्मचारीले विवरण बुझाएका छैनन् ।