विकासन्युज

ग्यासमा ठगि गर्ने श्रीकृष्ण र नारायणीसहित दर्जन उद्योग कारवाहीमा

काठमाडौं, ८ भदौ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागबाट खटिएको सरकारी अनुगमन टोलीले बुधबार श्रीकृष्ण ग्यास र नारायणी ग्यास उद्योग सहित करिब दर्जन व्यवसायी माथि कारवाही गरेको छ । तौलमा ठगि गरेको, गुणस्तरहित बस्तु बिक्री गरेको, मूल्य सूचि नराखेको लगायतका कैफियतमा सरकारले निम्न उद्योग तथा सेवाका कम्पनीहरुलाई कारवाही गरेको छ ।

ग्रील तथा स्टील ब्यवसायी महासंघले प्रधानमन्त्रीलाई बुझायो पाँच बुँदे माग पत्र

काठमाडौं, ८ भदौ । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी पाँच बुँदे माग राखेको छ । महासंघका अध्यक्ष मोहन कटुवालको नेतृत्वमा गएको व्यवसायीहरुको टोलिले ग्रील तथा स्टील व्यवसाय दर्ता प्रकृया सहज बनाई कानुनी दायरामा ल्याउने र कानुनी दायरामा आउन नचाहने ब्यवसायीलाई कारवाहीको गर्ने ब्यवस्था गर्नु पर्ने, मेटल फेब्रिकेटीङ सम्बन्धि सम्पूर्ण कामहरु ग्रील तथा स्टील ब्यवसायीले मात्र गर्ने ब्यवस्था गर्नु पर्ने, दक्षजनशक्तिको अभाव कम गर्न दक्ष जनशक्ति उत्पादनमा विषेश प्राथमिकता दिनुपर्ने, लोडसडिङको तत्कालिन अल्पकालिन र दीर्घकालीन बिकल्प खोज्नु पर्ने र सरकारद्धारा जारी गरिएको ग्रीलजन्य तयारी सामाग्रीको उपभोक्ता मुल्य सुचिलाई कडाई साथ लागू गर्नु पर्ने माग गरेको हो । अध्यक्ष कटवालले महासंघले ५४ जिल्ला संगठन विस्तार गरिसकेका, यो क्षेत्रमा १ लाख ५० हजार मानिसले रोजगाी पाएको जानकारी दिदै निर्माण कार्यमा यो क्षेत्रको भूमिका बारेमा प्रधानमन्त्रीलाई जनाकारी दिएका छन् । महासंघले आंफनै खर्चमा बार्षिक ५००० दक्ष जनशक्ति उत्पादन गर्दे आईरहेको तर तालिम लिएपछि उनीहरु बिदेशिने गरेको कारण आफूहरु समस्यामा परेको बताए ।

चन्द्रागिरीमा दुई घण्टा चुम्बन (फोटो फिचर)

काठमाडौं, ८ भदौ । कलंकीदेखि थानकोट चेकपोष्टसम्म करिब चार किलोमिटर सडक पार गर्न एक घण्टा लाग्यो । गाडी गुडाउनै कठिन खाल्डाखुल्टी, त्यसमाथि ट्राफिक जाम, गर्मी, धुलो र धुवाँको मुस्लोले त्यो यात्रा यति कठिन भयो कि कथामा सुनिने नर्क नै यहि हो । थकित मोडमा चन्द्रागिरीको बेस स्टेशन पुगियो । लाग्यो नर्कबाट भागेर स्वर्गमा आईपुगियो । जहाँ धुलो, धुँवा र कोलाहल छैन । सफा पीच रोड । व्यवस्थित पार्किङ । ढकमक्क फूल फूलेको बगँैचा सहितको चन्द्रगिरी बेस स्टेशन । चन्द्रागिरी हिलस्टेशनका तर्फबाट राजु पौडेलले स्वागत गरे । धुलाम्मे अनुहारबाट खिस्स दाँत देखाउँदै पहिला रेष्टरुम जाने अनुमति माग्यौं । चन्द्रागिरीको नरम पानीले अनुहारको धुलो पखाल्यौं, टाउको र गर्धनको धुलो पुछ्यौं । हामीलाई बेस स्टेशनको रेष्टुरेण्टमा लगेर बसाउँदै राजु पौडेलले अफर गरे–लञ्चको व्यवस्था माथि छ, यहाँँ चिया लिऊँ कि कफि ? ब्ल्याक टी पिउँदै कुरोकन्थो शुरु भयो । हामीले भन्यौं–‘यहाँसम्म आउन धेरै गाह्रो भयो । बाटो खत्तम रहेछ । यहाँ आईसकेपछि राहत मिल्यो ।’ उनले भने–‘यहाँ आएपछि मलाई कविता लेख्न मनपर्छ । चन्द्र सर (कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकाल) त्यहाँ उभिएर काठमाडौंको नियाल्दै बाटोबाट यता आउँदै गरेका सबै मानिसहरु चन्द्रागिरी जान आएका होलान् भन्ने ठान्नुहुन्छ ।’ चन्द्रागिरी केवुलकार सर्बसाधारणलाई खुला गर्दै अनौपचारिक रुपमा सेवा सञ्चालन गरेको साउन २५ गते करिब १० हजार जनाले केबलकार निःशुल्क चडेको सुनाउँदै दैनिक १० हजार मानिसलाई चन्द्रागिरी यात्रा गराउने कम्पनीको लक्ष्य रहेको उनले बताए । हामीले केबुलकारको यात्रा शुरु गर्यौं । समुन्द्री सतहबाट १४०० मिटर उचाईमा रहेको चन्द्रागिरी बेस स्टेशनबाट २५५१ मिटरको उचाईमा रहेको टप स्टेशन पुग्न साढे दुई किलोमिटर पार गर्नुपर्छ । उक्त दुरी पार गर्न ९ देखि १४ मिनेट लाग्ने रहेछ । तिब्र गतिमा हुँदा चाँडो र विस्तारै चल्दा ढिलो पुगिने । हामी चढेको केबुलकार विस्तारै चल्यो । घना बस्तीबाट माथि उठेको केबुलकार जंगल हुँदै कुहिरोभित्र छिर्यो । ‘यात्रा’ शब्दले अर्थ एउटै हुन्छ । तर यात्राको अनुभव विलकुलै फरक । कलंकीदेखि चेकपोष्ट सम्मको अत्यास लाग्दो यात्रा र केबुलकारमा जंगल माथि उडेर कुहिरो भित्र छिर्दाको यात्राको अनुभव नितान्त फरक । सडकको यात्रामा धुलो, धुवाँ, गर्मी, ध्वानीको कोलाहल र त्यसमा पनि जाम । केबुलकारको यात्रा, शान्त, शितल, निरन्तर एउटै गतिमा । चरा उडेको देख्दा रमाउनेहरु सपनामा आफै उडेको सपना देखेजस्तो । यहाँ सपना होइन, ३८ वटा गुण्डोलाहरु (केबलकार) निरन्तर सयौं यात्रुहरुलाई विपनामा उडाई रहेका छन् । अटोमेटिक चल्ने गुण्डोलाले यात्रुलाई जमिनबाट बादलमा र बादलबाट जमिनमा पुर्याउने काम गरिरह्यो ।   चन्द्रागिरी कुहिरोले ढपक्क डाकेको थियो । दिउँसो १ बजेको मौसम पनि बिहानी ६ बजेतिरको जस्तो । बिहानी पनि भदौको होइन, माघमा तुषारो पर्न लागेको अवस्थामा जस्तो । हामी जुत्ता खोलेर मन्दिर जान लाग्यौं । हामीअघि एक तिर्थालु मन्दिर जाँदै थिए । मन्दिर परिसरमा बसेका फूलपाती व्यवसायीले फूल र पूजाको सामान किन्न आग्रह गरे । ‘हामीले त खाईसक्यौं, के पुजा गर्नु ?’ अघाएका तिर्थालुले भने । ‘यहाँ त दिउँसो पनि बिहानी जस्तै हुन्छ, भर्खरै घाम लाग्ने बेला जस्तो । जतिखेर पनि पूजा गर्न सकिन्छ’ फूलपाती व्यवसायीले आफ्नो कला देखाए । तस्वीरमा भालेश्वर देवता हुन् जहाँ परम्परादेखि पुजा गरिँदै आएको छ । यी देवता अहिले पनि यथावत छन् । चन्द्रागिरी हिलले सो स्थानमा प्यागोडा शैलीमा परम्परालाई टपक्क टिपेर नयाँ शिव मन्दिर बनाएको छ । नयाँ मन्दिर, नयाँ पुजारी तर प्रस्तुति पुरै परम्परागत । झल्को लाग्छ, यो मन्दिर गणतन्त्र आएपछि बनेको होइन, मल्लकाल तिर नै बनेको हुनुपर्छ । हामीले चन्द्रगिरी लेकमा प्रकृतिसँग करिब दुई घण्टा चुम्बन गर्यौं । घरी बादलसँग चुम्बन गर्यौ, घरी घामसँग । तर एउटा सपना मिस गर्ने चिन्ता थियो । पृथ्वीनारायण शाहले जसरी पहिलो पटक सोही स्थानबाट काठमाडौं उपत्यका हेरेर लोभिएका थिए, त्यसरी हामीले काठमाडौं हेर्ने मौका नमिल्ला जस्तो लाग्यो । चन्द्रगिरीबाट हिमाल देखिने, पहाड र तराई देख्न नपाईने हो कि भन्न चिन्ता थियो । अब चिन्ता हट्यो । कहीँ कहीँ बादलको घुम्टो खुल्यो । निलो आकाशसँगै काठकाडौंको घना बस्ती देखिन थाल्यो । आशा लाग्यो, अब हिमाल, पहाड र तराई पनि देख्न पाईन्छ । फोटोका क्रेजीहरुमा नयाँ उत्साह देखियो । अँह, पाईएन । फेरी कुहिरो मडारिएर आयो । तन्नेरीहरु लखर्रलखर्र केबुलकार तिर झर्न थाले । बन्दै गरेको भ्यूटावर, चिल्ड्रेन पार्क, थ्री डी हल लगायत थप पूर्वाधार नियाल्दै फर्कने क्रममा भेट्टिइन–कम्पनीको सेल्स एण्ड मार्केटिङ प्रमुख इन्दिरा पौडेल । उनका अनुसार सफ्ट लञ्च गरेपछि चन्द्रागिरी केबलकारले व्यवसायिक लञ्चको तिथिमिति तय भएको छैन । सरकारसँग ३६ हेक्टर जमिन ४० वर्षको लागि लिजमा लिएर करिव ५ हेक्टरमा जमिनमा केबुलकार, मन्दिर, रेष्टुरेन्ट, होटल, मनोरञ्जन पार्क, थ्रिडी हल, भ्यू टावर निर्माण गरिँदै छ । बेस स्टेशनको १२० रोपनी जमिन कम्पनीले आफैं खरिद गरेको छ । कम्पनीले २०६६ सालमा नेपाल सरकारसँग लिज सम्झौतामा हस्ताक्षर गरेको थियो भने पछिल्लो दुई वर्षदेखि निर्माण कार्य गरिरहेको छ । सबै पूर्वाधार निर्माण हुन अझै धेरै समय लाग्ने देखिन्छ । कम्पनीले हालसम्म साढे तीन अर्ब लगानी गरिसकेको छ भने अझै केहि लगानी थप्ने कम्पनीकी सेल्स एण्ड मार्केटिङ प्रमुख इन्दिरा पौडेलले बताइन् । कम्पनीमा आइएमई ग्रुप, भाटभटेनी ग्रुप, नवराज नेपाल, उत्तम नेपाल, उमा केसीलगायतको लगानी रहेको छ । कति पर्छ केबल कार चढेको ? केबलकार चढ्नका आम नेपालीले सात सय रुपैंयाँको टिकट काट्नु पर्छ । त्यसमा थानकोट, मकवानपुरको फाखेल र चित्लाङका बासिन्दालाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । सार्क मुलुकका पर्यटकहरुका लागि ७ सय भारतीय रुपैंयाँ शुल्क तोकिएको छ भने अन्य मुलुकका पर्यटकले २२ अमेरिकी डलर तिर्नु पर्छ । तीन फिट भन्दा कम उचाई भएका बालबालिकाका लागि निःशुल्क व्यवस्था गरिएको छ भने तीन देखि चार फिट उचाईकाहरुले ४० प्रतिशत छुट प्राप्त गर्नेछन् । जेष्ठ नागरिकले पनि २५ प्रतिशत छुट पाउँछन भने फरक क्षमता भएकाहरुका लागि ४० प्रतिशत सहुलियतको व्यवस्था गरिएको पौडेलले जानकारी दिईन् ।

प्रधानमन्त्रीलाई हस्तकला महासंघको बधाई, निर्यात प्रवद्र्धनमा सघाउन आग्रह

काठमाडौं, ८ भदौ । नेपाल हस्तकला महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएको छ । बुधबार महासंघ अध्यक्ष धर्मराज शाक्य नेतृत्वको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललार्ई बधाई दिएको हो । भेटमा महासंघका अध्यक्ष शाक्यले हस्तकला क्षेत्रको विकास विस्तार र प्रबद्र्धन गर्न सकेको खण्डमा नेपाली अर्थतन्त्रले भोग्दै आएको व्यापार घाटा कम गर्न सकिने बताएका थिए । उनले हस्तकलाको निर्यात प्रवद्र्धनमा सघाउन प्रधानमन्त्री दाहालसँग आग्रह समेत गरेका थिए । नेपाली हस्तकला क्षेत्रको आन्तरिक बजारका साथै अन्तराष्ट्रिय बजारमा भएको निकासी समेत गरी २० अर्ब बराबरको कारोबार रहेको उल्लेख गर्दै उनले व्यापार घाटा कम गर्न पनि हस्तकला उद्योगको प्रवद्र्धन आवश्यक रहेकोमा जोड दिएका थिए । साथै नेपाली हस्तकला क्षेत्रले ११ लाख भन्दा बढि ब्यक्तिलाई प्रत्यक्ष र परोक्ष रुपमा रोजगारीको अवसर प्रदान गर्दै आएको महासंघले बताएको छ । प्रधानमन्त्रीलाई भेट्न महासंघका अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष लगायत महानिर्देशक लगायतको टोली बालुवाटार पुगेको थियो । प्रधानमन्त्री दाहालले पनि हस्तकला उद्योगको प्रवद्र्धन तथा निर्यातमा सघाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रभु बैंकको नयाँ शाखा सिन्धुलीमा

काठमाडौं, ८ भदौ । प्रभु बैंकले बुधबारदेखि नयाँ शाखा सिन्धुलीमा सञ्चालन गरेको छ । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये बनेपा शाखा कार्यालयलाई सिन्धुलीमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सिन्धुली उधोग वाणिज्य संघका अध्यक्ष विनेश कुमार श्रेष्ठले एक समारोहकाबीच गरेका हुन् ।

गरिवी निवारण कोषले विभिन्न जिल्लामा तीन अर्ब ८२ करोड लगानी गर्ने

काठमाडौं, ८ भदौ । गरिवी निवारण कोषले चालु आवमा विभिन्न जिल्लामा तीन अर्ब ८२ करोड २८ लाख ६६ हजार रुपैयाँ लगानी गर्ने भएको छ । सो बजेटअन्तर्गत दुई हजार ५६२ आयआर्जन, २०८ सामुदायिक भौतिक पूर्वाधार परियोजना, ७० पकेट क्षेत्र विकास र ६० सहकारी संस्था सञ्चालनमा सहयोग गर्ने कोषका कार्यकारी निर्देशक नहकुल केसीले जानकारी दिए । यस्तै भूकम्प प्रभावित १३ जिल्लामा चालु आवमा प्राथमिकताका साथ पुनःनिर्माणका कार्यक्रम सञ्चालन गरिने छ । काठमाडौंमा सम्पन्न कोषको ६३औँ सञ्चालक समितिको बैठकले उक्त बजेट तथा कार्यक्रमको अनुमोदन गरेको छ । चालु आवमा कोषसँग आवद्ध सहयोगी संस्थाको सङ्ख्यामा कटौती गरिने, अधुरा योजना पूरा गरिने र सामुदायिक संस्थाको परिपक्वताका आधारमा ती संस्थाको दिगोपनका लागि विभिन्न उपाय अवलम्बन गरिने निर्देशक केसीले जानकारी दिए । कोषका उपाध्यक्ष युवराज पाण्डेका अनुसार हालसम्म कोषले ५५ जिल्लामा २९ हजार सामुदायिक संस्था गठन गरी करिब आठ लाख विपन्न घरधुरीलाई कार्यक्रममा समेटेको छ । “कोषका कार्यक्रमबाट ७८ प्रतिशत महिला सदस्य लाभान्वित छन्,” उनले भने । रासस

भारत सरकारबाट १७ वटा दमकल प्रदान

काठमाडौं, ८ भदौ । आगलागी नियन्त्रणमा सहयोग पुर्याउन भारतले आज नेपाललाई १७ वटा दमकल उपहारस्वरुप प्रदान गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई भारतीय राजदूत रणजीत रायले यहाँ आयोजित कार्यक्रममा ती दमकलको साँचो हस्तान्तरण गरे । त्यस अवसरमा मन्त्री पाण्डेले एउटा दमकलको साँचो काठमाडौं महानगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत सनतकुमार थापालाई सुम्पेका हुन् । मन्त्री पाण्डेले आगलागी नियन्त्रण गर्न भारत सरकारबाट प्राप्त दमकलले थप सहयोग पुर्याउने बताए । राजदूत रायले आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि दमकलकै भर पर्नुपर्ने उल्लेख गर्दै ती दमकलले प्रयोगले यस्ता कामकामा मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् । हाल २१७ नगरपालिकामध्ये ७१ नगरपालिकामा १०१ बटा दमकल रहेको उक्त मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालले जानकारी दिए । उनले भने–“अझै ३४ बटा दमकल खरिदका लागि प्रक्रिया अघि बढाइएको छ, भारत सरकारले आज उपहारस्वरुप हस्तान्तरण गरेको समेत अब १५२ दमकलको सङ्ख्या पुगेको छ ।” रासस

जगदम्बा स्टिल्सद्वारा नेपाली बजारमा राइनो ५००डी सार्वजनिक

काठमाडौं, ८ भदौ । शंकर ग्रुप अन्तर्गतको जगदम्बा स्टिल्स प्रालिले नेपाली बजारमा ‘ग्यारेण्टेड डक्टिलिटी’ सहितको राइनो ५००डी फलामे छड सार्वजनिक गरेको छ । राइनो ५००डी मजबुती तथा डक्टिलिटी सहितको नयाँ छड हो । कम्पनीका अनुसार ग्रेड एफई ५०० डीमा कम्पनीले सल्फर र फोसफोरसको सम्मिश्रणको अधिकतमम ०.०७५ प्रतिशत मात्र प्रयोग गरेको छ । जसले गर्दा छड अत्यधिक मजबुत हुनुका साथै उच्च डक्टिलिटीको सुनिश्चितता रहेको छ । उत्पादनको खरिदमा कम्पनीले आफ्ना उपभोक्तालाई राइनो ५००डी ग्यारेण्टि कार्डपनि उपलब्ध गराउने छ । उक्त ग्यारेण्टि कार्ड मार्फत उपभोक्तालाई निर्माणमा गुणस्तर र सुरक्षाको प्रत्याभुति दिन चाहेको कम्पनीले बताइएको छ । नयाँ उत्पादन सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै शंकर गु्रपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले अहिले अर्थ ब्यवस्थामा देखिएको उन्नतीका कारण हाउजिङ लगायत पुर्वाधार विकासको क्षेत्रमा ब्यापक अवसरको सिर्जना भएको बताए । भुकम्पिय क्षति न्यूनिकरणका लागि सुरक्षित तथा भुकम्प प्रतिरोधात्मक निर्माण भने ठूलो चुनौतीका रुपमा रहेको बताउँदै अग्रवालले यही चुनौतीको सामना गर्ने सोचका साथ एफई ५००डी गे्रडमा फलामे छड राइनो ५००डी सार्वजनिक गरिएकोे जानकारी दिए । ‘यो नेपालकै पहिलो र आफ्नो प्रकारको एक मात्र अत्यधिक शक्तिशाली र अधिकतम डक्टिलिटी सहितको फलामे छड हो’ उनले भने । कम्पनीले आफ्ना उपभोक्तालाई विश्वस्तरिय उत्पादन तथा गुणस्तर उपलब्ध गराउन नियन्त्रित उत्पादन प्रणाली अन्तर्गत नियन्त्रित कच्चा पदार्थको प्रयोग, नियन्त्रित उत्पादन प्रक्रिया र नियन्त्रित परिमिति (पारामिटर्स) अपनाउने गरेको बताएको छ । कम्पनीका अनुसार राइनो ५००डी फलामे छड नेपाल जस्तो उच्च भुकम्पीय जोखिम सम्भावित क्षेत्रमा साना ब्यक्तिगत घरदेखि ठूल्ठूला पूर्वाधार लगायत परियोजना निर्माणका लागि विशेष उपयुक्त छ । यो बहु तले भवन, पूल, फ्लाइओभर्स तथा बाँध, विण्ड टर्बाइनको जग, औद्योगिक संरचनाहरु, कंक्रिट सडकहरु, टनेल्स, थर्मल तथा जलविद्युतिय पावर स्टेसन्स लगायतको निर्माणका लागि उपयुक्त छ । कम्पनीको नेपाल भर रहेका विशेष खुद्रा विक्रि केन्द्र मार्फत उपभोक्ताले ८ एमएम देखि ३२ एमएम सम्मको साइजमा सहजै राइनो ५००डी रेबार खरिद गर्न सक्छन् । साथै, उपभोक्ताको माग तथा परियोजनाको आवश्यकता अनुसार ३६ एमएम र ४० एमएम साइजमापनि कम्पनीले रेबार उपलब्ध गराउँछ । निर्माण प्रक्रियामा प्रयोगका क्रममा खेर जाने मात्रा न्यूनिकरण तथा कार्यगत सहजताका लागि सबै फलामे छड निर्धारित १२ मिटर लम्बाईका साथ उपलब्ध गराइने कम्पनीले जनाएको छ ।