अस्थायी शिक्षकले अवकाशका लागि निवेदन दिन सक्ने, उपदान लिनेले नयाँ विज्ञापन पर्खनु नपर्ने
काठमाडौं ९, भदौ । उपदान रोज्ने मनःस्थिति बनाइसकेका अस्थायी शिक्षकले अवकाशका लागि अहिले नै निवेदन दिनसक्ने शिक्षा मन्त्रालयले प्रस्ट गरेको छ। शिक्षा मन्त्रालय र युनिसेफले पत्रकारका लागि आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा मन्त्रालयका सहसचिव हरि लम्सालले नयाँ शिक्षक विज्ञापनको दरखास्त दिनु अन्तिम मितिसम्म प्रतिस्पर्धामा जाने वा उपदान सुविधा लिई छाड्ने भन्नेबारेमा स्वेच्छाले घोषणा गर्न सकिने बताएको खबर आजको गोरखापत्रमा छापिएको छ। ‘उपदान रोज्न चाहने शिक्षक निवेदन बोकेर शिक्षा मन्त्रालयमा आउन थाल्नुभएको छ, उपदान नै लिएर बस्छु भन्ने निर्णय गरिसक्नुभएका शिक्षकले शिक्षक नियुक्तिको नयाँ विज्ञापनसम्म प्रतीक्षा गरिरहनु पर्दैन,’ उनले भने। उनले तत्काल जागिर छाड्न चाहने त्यस्ता शिक्षकलाई निवेदन दिएलगत्तै उपदान रकम दिई बिदा गर्न केही समय लाग्ने स्पष्ट गर्दै भने, ‘पछि बोलाएर रकम भुक्तानी गर्छौ।’ देशभरिमा २८ हजार शिक्षक पदका लागि सरकारले विज्ञापन गर्ने तयारी गरेको छ । हाल कार्यरत अस्थायी शिक्षकलाई उमेरको हदबन्दी नलागे पनि उनीहरूलाई शिक्षक छनोटको परीक्षा वा उपदानमध्ये एउटा रोज्न सक्ने अवसर दिइने भएको छ। परीक्षा रोजेका शिक्षक असफल भएमा उपदान नपाउने स्पष्ट व्यवस्था गरिएको छ। संशोधित शिक्षा ऐनले पाँचदेखि १० वर्षसम्म शिक्षण गरेका शिक्षकलाई प्रतिवर्ष आधा महिनाबराबरको तलब, १० देखि १५ वर्ष सेवा गरेका शिक्षकलाई एक महिनाबराबरको र १५ वर्षभन्दा बढी सेवा गरेका शिक्षकलाई प्रतिवर्ष डेढ महिनाबराबरको तलब उपलब्ध गराई बिदा गर्न सकिने व्यवस्था गरेको छ । मन्त्रालयका सहसचिव डा. लम्सालले २० वर्षभन्दा बढी अवधि सेवा गरेका शिक्षकले २० वर्षभन्दा बढी अवधिको उपदान नपाउने स्पष्ट गरे। मन्त्रालयले २०४९ पुस २० गतेभन्दा अघि, २०४९ पुस २० गतेदेखि २०६१ साउन २१ गतेसम्म र २०६१ साउन २२ देखि २०७२ असोज २ गतेसम्म रिक्त हुने दरबन्दीमा छुट्टाछुट्टै विज्ञापन गर्नेछ । २०६१ साउन २२ देखि २०७२ असोज २ गतेसम्मको रिक्त हुने दरबन्दीमा गरिने विज्ञापनमा ४९ प्रतिशत आन्तरिक र ५१ प्रतिशत खुला प्रतिस्पर्धा गराइनेछ।
पूर्वराष्ट्रपतिले मागे अमेरिका जाने खर्च, उपचार गर्न एक करोड भन्दा बढी लाग्ने
काठमाडौं ९, भदौ । पूर्वराष्ट्रपति रामवरण यादवले उपचारका लागि अमेरिका जानुपर्ने भन्दै सरकारसँग रकम मागेका छन् । भारतको चण्डिगढमा हालै भएको उपचारपछि अमेरिका जानुपर्ने भन्दै पूर्वराष्ट्रपति यादवले सरकारसँग खर्च मागेका हुन् । अमेरिकामा हुने उपचारका लागि आर्थिक व्यवस्था मिलाउन आग्रह गर्दै बुधबार उनका स्वकीय सहायक किरण पन्थीले मुख्य सचिव सोमलाल सुवेदीलाई भेटेर पत्रसमेत बुझाएका छन् । यादव प्रोस्टेट ट्युमर (पिसाबसम्बन्धी समस्या)का कारण बिरामी भएर साउन तेस्रो साता चण्डिगढ गएका थिए । पुष्पकमल दाहाल नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद बैठकले भारतमा भएको उनको स्वास्थ्योपचारका लागि १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । उक्त रकम यादवले बुझिसकेका छैनन् । चण्डिगढमा चिकित्सकले उच्च चिकित्सा प्रविधि प्रयोग गरी केही हप्ताभित्रै शल्यक्रिया गराउन सुझाव दिएकाले पूर्वराष्ट्रपति यादव यथाशीघ्र सुविधासम्पन्न अस्पताल जानुपर्ने भएको उनका स्वकीय सचिवालयले मुख्य सचिवलाई बुझाएको पत्रमा उल्लेख छ । नेपालमा उक्त सुविधा नरहेको भन्दै अमेरिका जान इच्छुक यादवले त्यहाँको एक अस्पतालमा सेप्टेम्बर दोस्रो साताका लागि समय पाएका छन् । पूर्वराष्ट्रपति यादव, छोरी अनिता, सुरक्षाकर्मी र सहयोगी गरी ४ जनाको यातायात, कम्तीमा डेढ महिनाको अमेरिका बसाइ र अस्पतालमा गरेर एक करोडभन्दा बढी रकम खर्च हुने अनुमान गरिएको छ । यादव निकट स्रोतका अनुसार अप्रेसन गराउन खोजेको अस्पतालमा सुरुमै ३७ हजार डलर डिपोजिट गर्न भनेको छ । अस्पतालमा ६३ हजार डलर खर्च हुने अनुमान छ । समाचार स्रोत कान्तिपुर दैनिक ।
पशुपति क्षेत्रको पुनर्निर्माणको अनुमति भारतलाई, सम्पदा पुनर्निमाणमा छ देशले सघाउने
काठमाडौं ९, भदौ । अघिल्लो वर्षको बैशाखमा गएको भूकम्पले क्षतिग्रस्त बनेका पशुपति परिसरका २५ भन्दा बढी मठमन्दिर, सत्तलसहितका सम्पदा जिर्णोद्वार र पुनर्निर्माणका लागि भारत सरकारलाई अनुमति दिने सरोकारवाला निकायको सहमति जुटेको छ । पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषबीच मंगलबार यो सहमति जुटेको हो । त्यस अनुसार झण्डै एक अर्ब ४० करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको जिर्णोद्वार प्रकिया अघि बढाउन अब अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयले तदारूकता देखाउनुपर्नेछ । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार यो जिर्णोद्वार योजनाभित्र पशुपतिनाथको मुख्य मन्दिर भने समावेश गरिएको छैन। पसुपति क्षेत्रको सम्पदा भारतले पाउने भएपछि अन्य क्षेत्रमा देखिएको साचोलाई पनि अनुमति दिने पुरातत्व विभागको भनाई छ । विभागका अनुसार भारतले पसुपति परिसरका २५ वटा सम्पदा बाहेक काठमाडौंको सेतो मछेन्द्रनाथ, पाटनको भिमसेन मन्दिर पनि पुनर्निमाण गर्ने भएको छ । भारतसँगै नेपालको सम्पदा पुनर्निमाणमा विभिन्न छ देशले सघाउने भएका छन् । ६ देशको सहयोग प्रतिवद्धता आइसकेको विभागको भनाइ छ। चीनले वसन्तपुरको नौतले दरवबार, नुवाकोटको साततले दरबार, तलेजु मन्दिरसहितको सम्पदा पुनर्निमाण गर्न सघाउने भएको छ । श्रीलंकाले बुङमतिको रातो मच्छेन्द्रनाथ, स्वयम्भूको आनन्दकुटी विहार, जर्मनीले चाँगुनारायण सत्तल, तिलेश्वर महादेव, अमेरिकाले तलेजुअगाडिको वागेश्वरी मन्दिर, कृष्ण मन्दिर, शंकरनाराण, चारनारायण र जापानले हनुमानढोका गद्दि बैंठक निर्माण सहयोग गर्ने जानकारी पुरातत्व विभागले दिएको छ ।
सुमार्गीको रोकिएको पैसामा प्रधानमन्त्रीको चासो, नेपाल ल्याउन लागिएको ११ अर्ब रूपैयाँ रोकिएको
काठमाडौं ९, भदौ । नेपालमा भित्र्याउँन लागिएको वैदेशिक लगानीको स्रोत नखेलेको भन्दै लामो समयदेखि रोकिएको व्यापारी अजय सुमार्गीको पैसामा प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन् । अर्थ मन्त्रालय र राष्ट्र बैंकका उच्च अधिकारीहरूको सामूहिक बैठक आयोजना गरी रोकिएको रकमबारे सोधखोज गरेको हुन् ।दाहालले सबै अधिकारीको धारणा बुझे पनि कुनै पनि निकायलाई केही निर्देशन दिएका छैनन् । ‘कार्यालय समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्रीसँग गतसाता छलफल भएको हो,’ बैठकमा सहभागी एक अधिकारीले भने । ती अधिकारीका अनुसार बैठकमा राष्ट्र बैंकका गभर्नर चिरञ्जिवि नेपाल, राजश्व सचिव राजन खनाल, प्रधानमन्त्री कार्यालयका दुई सचिव, अर्थ र प्रधानमन्त्री कार्यालयका केही सह-सचिवहरू र राष्ट्र बैंकका अन्य अधिकारीहरू सहभागी थिए । बैठकमा दाहालले सरकारी अधिकारीसँग रकम रोकिनुको कारण, कानुनी व्यवस्थालगायतका विषयमा जानकारी लिएका थिए । दाहाल निकटकै व्यापारी सुमार्गीले प्रत्यक्ष वैदेशिक लगानी एफडिआईका रूपमा नेपाल ल्याउन लागिएको ११ अर्ब रूपैयाँ रोकिएको छ । यो रकममध्ये साढे तीन अर्ब रुपैयाँ सुमर्गीको बैंक खातामा आएपछि स्रोत नखुलेको भन्दै नेपाल राष्ट बैंकले चलाउन नमिल्ने गरि खाता रोकेको थियो । यो रकम रोकिएपछि सुमार्गीको अरु रकम पनि खातामा आएको छैन । समाचार स्रोत कान्तिपुर दैनिक
फिनल्यान्डमा ‘फोर जी’सेवामा नयाँ रेकर्डः १.९ जिबीपिएस स्पीडको डाउनलिंक
काठमाडौं, ८ भदौ । फिनल्यान्डको दूसञ्चार सेवाप्रदायक इलिसाले फोर जीमा नयाँ विश्व रेकर्डसहित डाउनलिंक स्पीड परीक्षण गरेको जनाएको छ। इलिसाले प्रेस विज्ञप्ती जारी गर्दै फोर जीको दुनियमा सबैभन्दा बढी गतिको इन्टरनेट उपलब्ध भएको दाबी गरेको छ। यो गति अर्को जेनेरेसनको प्रविधिको लागि पनि अवसर भएको र प्रविधिको दुनियामा नै नयाँ आविष्कार भएको उसले दाबी गरेको छ। अहिलेसम्म सैद्धान्तिक रुपमा फोर जीमा ४५० एमबिपिएसमात्र हुने मानिन्छ तर इलिसाले चिनिया दूरसञ्चार भेन्डरसँगको सहकार्यमा इलिसाले १.९ जिविपिएस गतिको डाउनलिंक गति परीक्षण भइसकेको प्रष्ट पारेको टेलिजियोग्राफी अनलाईले समाचार लेखेको छ।
भूकम्प पिडितलाई ट्याक्सी दर्ताको नम्बर गोलाप्रथावाट कात्तिकमा दिइने
काठमाडौं, ८ भदौ। भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी दर्ता नम्बर उपलब्ध गराउन दुई महिनापछि गोलाप्रथा हुने भएको छ । गत साउन २ देखि यही भदौ ५ गतेसम्म दर्ता भएका निवेदनको जाँच गरी तीनपुस्तेसहितको सूची प्रकाशनको प्रक्रिया पूरा गर्न दुई महिना लाग्ने भएकाले त्यसपछि मात्र गोलाप्रथाबाट छनोटको प्रक्रिया सुरु हुने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए। “सोचेभन्दा धेरै बढीले आवेदन दर्ता गराएकाले यसको जाँचका लागि पनि समय लाग्नेछ, जाँचपछि भूकम्पपीडित नभए तिनको आवेदन खारेज हुन्छ, पीडितले पनि एकभन्दा बढी निवेदन दर्ता गराए त्यो पनि खारेज गरिनेछ” – उनले भने। भौतिक पूर्वाधार तथा यातायात मन्त्रिस्तरीय निर्णयअनुसार साउन ५ गतेदेखि ट्याक्सी दर्ताको प्रक्रिया सुरु भएको हो । भूकम्पपीडितले दर्ता गर्न पाउने गरी विसं २०७२ जेठ २८ र सोही वर्षको चैत २१ को मन्त्रिस्तरीय निर्णयअनुसार दर्ता खोलिएको मन्त्रालयले जनाएको छ । ट्याक्सी दर्ताका लागि साउन ५ देखि भदौ २ गतेसम्मको समय तोकिएको थियो । भदौ २ गते र त्यसपछि लगातार दुई दिन सार्वजनिक बिदा परेकाले आइतबार आवेदन दिने अन्तिम मिति थपिएको थियो । भूकम्पपीडित परिचयपत्र पाएकालाई अहिलेको भन्दा गुणस्तर र क्षमता कम नहुने गरी एक हजार ५०० ट्याक्सी दर्ता नम्बर उपलब्ध गराउन विभागले आवेदन खुलाएको हो । भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुरका भूकम्पपीडित परिचयपत्र पाएकाले आवेदन दर्ता गराएका हुन् । निवेदन दर्ताको अन्तिम मिति आइतबारसम्म एक लाख ४७ हजार १६९ ले आवेदन दर्ता गराएको यातायात व्यवस्था कार्यालय, साना÷ठूला सवारी, बाग्मतीका कार्यालय प्रमुख तिलक पौडेलले जानकारी दिए। आवेदनका लागि प्रत्येक आवेदकबाट १०० का दरले एक करोड ४७ लाख १६ हजार ९०० रुपैयाँ राजस्व उठेको कार्यालयले जनाएको छ । चौध वर्षपछि गत वर्ष विभागले एक हजार ८०० ट्याक्सी दर्ता नं गोलाप्रथाद्वारा छनोट गरी आवेदकलाई बाँडेको थियो । देशभरका नागरिकबाट आवेदन दर्ताका लागि सूचना प्रकाशित गरिएकामा आठ हजार ५०० ले मात्र आवेदन दिएको विभागले जनाएको छ । त्यसबेला आवेदन शुल्क एक हजार तोकिएको थियो । रासस
डेलले नेपालमा सेभेन जेनेरेसनका दुई मोडेलका ल्यापटप लन्च गर्यो
काठमाडौं, ८ भदौ। डेलले नेपालमा दुई मोडेलका नयाँ ल्यापटप सार्वजनिक गरेको छ। कम्पनीले इन्सपिरन ५००० सिरिजमा १३ र १५ इन्चका ल्यापटप सार्वजनिक गरेको हो। अन्तराष्ट्रिय बजारमा यी ल्यापटपको मूल्य तोकिएपनि नेपाली बजारमा आइपुग्दा कति मूल्य पर्ने हो भनेर यकिन गरिएको छैन। अहिलेसम्मको नयाँ टेक्नोलोजी प्रयोग गरेर निर्माण गरिएको यो ल्यापटपमा माइक्रोसफ्टको ‘विन्डोज-१०’ अपरेटिङ सिस्टम प्रयोग गरिएको छ। कम्पनीले यी मोडेलका ल्यापटपहरु विशेष गरी नेपालका विद्यार्थीहरुलाई फोकस गरेर ल्याएको बताएको छ। त्यस्तै स्कुल, कलेज र परिवारका लागि पनि एउटा राम्रो र आकर्षक कम्प्युटिङका लागि भरपर्दो रहेको जनाएको छ। डेलको दक्षिण एसियामा व्यापार हेर्ने प्रमुख अमित मुखर्जीले विश्वका धेरै देशहरुमा डेलको व्यापार अग्रस्थानमा रहेको र नेपालमा पनि डेलले व्यापारमा प्रथम स्थान ओगटेको बताए। उनले डेलले संसारका इन्नोभेटिभ टेक्नोलोजी प्रयोग गरेर ग्राहकको मन जितेको बताए। ‘इन्सपिरन १३ – ५०००’ १३ इन्चको यो ल्यापटपमा सेभेन जेनेरेसनको ‘आई ७’ इन्टेल प्रोसेसर रहेको छ भने विन्डोजको लेटेस्ट भर्सन ‘विन्डोज १० प्रो’ रहेको छ। १६ जिवि डिडिआर फोर मेमोरी रहेको यो ल्यापटपमा २ टिबी स्टोरेज क्षमता रहेको छ। ट्रु लाईफ एलइडी व्याकलाइट टच डिस्प्ले भएको यो ल्यापटपमा वाइड एङ्गल एचडी डिस्प्ले रहेको छ। ‘इन्सपिरन १५ – ५०००’ इन्सपिरन सिरिजमा १५ इन्चको यो ल्यापटपमा पनि इन्टेलको लेटेस्ट सेभेन जेनेरेसनको ‘आई ७’ प्रोसेसर रहेको छ भने विन्डोजको लेटेस्ट ‘विन्डोज टेन प्रो’ अपरेटिङ सिस्टम रहेको छ। ८ र १६ जिबी डिडिआर ४ र्याममा उपलब्ध यो मोडेलको ल्यापटपमा अप्सनल रुपमा इन्फ्रारेड क्यामेरा रहेको छ। टच स्क्रिन भएको यो ल्यापटपमा पनि २ टिबी स्टोरेज क्षमता रेहेको छ भने इक्सटर्नल र इन्टरनल दुवै रुपमा ‘व्लु रे’ डिभिडी रिडर/राइटर राख्ने व्यवस्था रहेको छ। अबको दुइमहिनाभित्र वजारमा उपलव्ध गराउने योजनाका साथ कम्पनीले काम थालेको बताएको छ। एकबर्ष वारेन्टीका साथ उपलब्ध हुने यी ल्यापटपहरुमा इन्टरनेसनल वारेन्टी समेत उपलब्ध गराउने मुखर्जीले जानकारी दिए।
यामाहा मोटर्सद्वारा चार बर्षमा १० लाख स्कुटर उत्पादन
काठमाडौं, ८ भदौ। यामाहा मोटर इन्डियाले विगत चार बर्षमा आफ्नो उन्पादन प्लान्टवाट १० लाख थान स्कुटरको उत्पादन गरेको जनाएको छ। कम्पनीले भारतीय प्लान्टमा ४ बर्ष अघि पहिलो स्कुटर उत्पादन गरेको थियो । यामाहाले ग्रेटर नोएडाको सुरजपुर प्लान्टमा १० औं लाख स्कुटरको रुपमा अहिलेको नयाँ स्कुटर फेसिनोको उत्पादन गरेको जनाएको छ। कम्पनीले यस बर्ष भारतीय बजारमा १० प्रतिशत बजार हिस्साका साथ अगाडि बढ्ने जनाएको छ। सन् १०१२ मा यामाहाले सिग्नस रे मोडलको स्कुटरका साथ भारतीय बजारमा आएको थियो। १० लाख स्कुटरमध्ये करीव ८० हजार स्कुटर भारत बाहिर निर्यात भएको कम्पनीले बताएको छ । कम्पनीले मुख्य रुपमा नेपाल, मेक्सिको, श्रीलंका, कोस्टारिका, डोमिनिकन रिपब्लिक र इक्वेडोर जस्ता देशमा स्कुटर निर्यात गर्छ । सिग्नस रे विशेष रुपमा महिला वर्गको लागि उत्पादन गरिएको थियो । कम्पनीले हाल भारतमा सिग्नस रे, सिग्नस अल्फा, सिग्नस रे जेड आर र लेटेस्ट उत्पादन फेसिनो मोडलका स्कुटर उत्पादन गर्दे आएको छ। नेपालमा यामाहाका उत्पादनहरु मोरङ अटो वर्कस (एमएडब्ल्यु) इन्टरप्राइजेजले विक्रिवितरण गर्दै आएको छ।