तातोपानी नाका नखुल्नुमा नेपालकै कमजोरी, नेपाल सरकारले विकल्प नदिदाँ ढिलाइ
काठमाडौं १०, भदौ । तातोपानी नाका सुचारू हुन नसक्नुमा चीनले नेपालकै कमजोरी औंल्याउन थालेको छ । नेपाल सरकारले कुन रूपमा नाका खोल्ने भन्ने विकल्प नदिँदा नाका खुल्न ढिलाइ भएको हो । सामान मात्र ल्याउने गरी नाका सुचारू गर्न हिउँदमा कुनै समस्या नरहेको चीनको सर्त छ । त्यसका लागि प्रवन्ध मिलाउन नेपाललाई लगातार अनुरोध गर्दा पनि वास्ता नगरेको उसको भनाइ छ । न्यालोम (कुती)बाट सिधा सडक निर्माण गर्दै तत्काललाई सिन्धुपाल्चोकको लार्चामा ल्याउने र पछि काभ्रेको पाँचखालमा नयाँ ड्राइपोर्ट बनेमा त्यहाँ सार्ने गरी काम गर्ने चीनको प्रस्ताव छ । यसमा नेपाल सरकारले तदारुकता नदेखाएको पनि उल्लेख छ । सडक सर्भेका काम दुवैतर्फ भइरहेको भएपनि आगामी हिउँदसम्मा यो बाटोलाई प्रयोगमा ल्याउने गरी काम भइरहेको पनि उल्लेख छ । सामान्य सुधार गरेर बाटो खुलाउने काम भएपनि सुधार स्थरोन्नतिको काम भने निरन्तर आवश्यक रहने उल्लेख छ । समाचार स्रोत कान्तिपुर दैनिक ।
यात्रुबाहक बस त्रिशूलीमा खस्यो, कम्तिमा २० जनाको मृत्यु
काठमाडौं १०, भदौं । तस्बिरः शिब दाहालको ट्विटरबाट गौरबाट पोखरा जाँदै गरेको एउटा यात्रुबाहक बस त्रिशूलीमा दुर्घटना हुँदा कम्तिमा २० जनाको ज्यान गएको छ। ग १ ख ३७०९ नम्बरको बस मुग्लिनको कालीखोला क्षेत्रबाट त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा रहेका एसपी बसन्त कुँवरका अनुसार २० जनाको शव बाहिर निकालिएको छ। १२-१३ जनालाई उपचारको लागि भरतपुर पठाइएको छ। प्रहरीका अनुसार धेरै जनाको हताहत भएपनि यकिन भएको छैन। मुग्लिनबाट नारायणघाटतर्फ चन्डीभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खसेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। बिहान ४ बजे गस्तीमा निस्किएको बेलामा प्रहरी टोलीले नदीमा तैरिरहेको बस देखिएको थियो। स्थानीयबासी प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी घाइतेलाई अस्पताल पठाउने काम भइरहेको छ। बसको केही भागमात्र नदीबाहिर देखिएको थियो। हताहतीको संख्या धेरै रहेको अनुमान प्रहरीको छ । थप विवरण आउन बाँकी छ।
वैदेशीक रोजगारीमा चरण ठगी, निःशुल्कको नाममा दुई लाख उठाइदैं
काठमाडौं १०, भदौं । अलपत्र नागरिकको उद्धार र वैदेशिक रोजागारीमा दुख पाएका नेपाली नागरिकलाई सहज रुपमा स्वदेश फर्काउन सरकारले विशेष पहल गरिरहेको बेला केही म्यानपावर व्यावसायी भने यही मौकाको सदुपयोग गरेर कमाउ धन्दा चलाइरहेको पत्ता लागेको छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ । प्रगतिशिल वैदेशिक रोजगार व्यावसायी संघको नाममा रहेको एमालेको म्यानपावर संस्था सम्वद्ध व्यक्तिले त्यस्तो धन्दा चलाएको बताइन्छ । निशुल्क टिकट र निशुल्क प्रवेशाज्ञा लागू गरिएको भएपनि मनलाग्दी रुपमा गरिब युवालाई ठग्ने काममा उनीहरु लागेको बताइन्छ । वैदेशिक रोजगारीमा जान चाहने युवालाई सहज रुपमा सो अवसर प्रदान गर्ने सरकारको लक्ष्य भएपनि केही स्वार्थी समूहको योजनामा सरकारको घोषणालाई कार्यान्वयन हुन नदिन ज्यान फालेर लागेको बताइन्छ । दैनिक एक हजार भन्दा बढी युवा रोजगारीको खोजीमा विदेसिरहेका छन् । उनीहरुलाई निशुल्क रुपमा पठाइएको भन्दै दलालहरुले दैनिक एक अर्ब भन्दा बढी रकम उठाइरहेको बताइन्छ । तर वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड भने कानमा तेल हालेर बसेको छ । म्यानपावर व्यावसयीलाई कारवाही गर्न र उनीहरुलाई कानुनी दायरमा ल्याउने तर्फ कुनै पहल गरिएको छैन ।
क्रिकेटका नाममा मानव तस्करी, नेपालको छविमै धक्का
काठमाडौं १०, भदौं । जापानमा हालै सम्पन्न एक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुन गएका टोलीमा केही गैर–खेलाडीलाई समेत सहभागी गराएको र उनीहरूलाई जापानमै छोडेर आएको आशंकामा छानबिन अघि बढाउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसिले नेपाली क्रिकेटका सरोकारवालालाई निर्देशन दिएको छ । यस विषयमा युवा तथा खेलकुदमन्त्रीले समेत विशेष चासो देखाउँदै छानबिन प्रक्रिया अघि बढाएका छन् । गत जुलाई १५ मा नेपालको बेस्ट फुटबल क्रिकेट ९एफसी० काठमाडौं क्लबले सातजना राष्ट्रिय खेलाडीसहित सदस्यीय टोली जापान लिएर गएको थियो । जापानमा उनीहरूले स्थानीय क्लबसँग दुई दिनमा तीनवटा म्याच खेलेका थिए । उक्त मैत्रीपूर्ण म्याचका लागि सिनियर नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य सिद्धान्त लोहनीसहित यु १९ टोलीका प्रेम तामाङ, अमित श्रेष्ठ सौरभ खनाल, फैजल खान रामनरेश गिरी र राष्ट्रिय खेलाडी सोनु तामाङ जापान गएका थिए । समाचार स्रोत अन्नपूर्ण पोष्ट ।
कांग्रेसले मन्त्री बन्नेको नामावली दियो, आजै शपथ
काठमाडौं १०, भदौ । पुष्कमल दाहाल प्रधानमन्त्री बनेको तीन सातापछि सत्ता साझेदार कांग्रेसले आफ्नो पाटिको तर्फबाट मन्त्री हुनेको नामावली टुंगो लगाएको छ । कांग्रेसले मन्त्रीको नाम छनोट गरेकोले आज शुक्रबार विहानै सपथ हुने बताइएको छ । कांग्रेसभित्रकै लामो आन्तरिक किचलोपछि नेपाली कांग्रेसले मन्त्रीहरुको सूचीलाई अन्तिम रूप दिएको हो । योसँगै पुष्पकमल दाहाल नेतृत्व सरकारमा कांग्रेसको भागमा १५ मन्त्रालय परेका छन्। यसअघि १३ मन्त्रालय दिने समझदारी भए पनि आन्तरिक भागबन्डा मिलाएर मन्त्रालय थपिएको छ। जसमध्ये पार्टी सभापति देउवाको भागमा ८, वरिष्ठ नेता रामचन्द्र पौडेलको भागमा ५, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काको भागमा एकएक मन्त्रालय परेका छन् । बिहीबार मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई बुझाइएकोले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेर सपथ गराउने तयारी भइरहेको छ। को को थपिए मन्त्रीको लिष्टमा अर्जुननरसिंह केसी — सहरी विकास प्रकाशशरण महत — परराष्ट्र बालकृष्ण खाँड — रक्षा सूर्यमान गुरूङ — श्रम तथा रोजगार केशवकुमार बुढाथोकी — सामान्य प्रशासन रोमी गौचन थकाली — वाणिज्य सीतादेवी यादव — शान्ति तथा पुनर्थापना जीवनबहादुर शाही — पर्यटन दीपक गिरी — सिँचाइ नवीन्द्रराज जोशी — उद्योग शंकर भण्डारी — वन गगन थापा — स्वास्थ्य हृदयराम थानी — सहकारी तथा गरिबी निवारण
गुगल र उवरलाई पछाडि पार्दै सिंगापुरमा चल्यो विश्वको पहिलो सेल्फ ड्राइभिङ ट्याक्सी
काठमाडौं ९ भदौ। सिंगापुरको नुटोनोमी डिब्ट्स अटोनोमस क्यावले विश्वका ठूलाठूला टेक कम्पनीहरुलाई उछिन्दै सडकमा आफैं चल्ने (सेल्फ ड्राइभिङ) कार/ट्याक्सी विहिवार सफलतापुर्वक लन्च गरेको छ। उसले अमेरिकाका विश्वविख्यात टेक कम्पनी उवर र गुगललाई उछिनेको हो। विश्वबजारमा कसले सवैभन्दा पहिले सेल्फ ड्राइभ ट्याक्सी दौडाउने भन्ने होड चलिरहेका बेला सिंगापुरको यो कम्पनीले सफलता हात पारेको हो। यसअघि गुगल र चीनको इन्टरनेट जाइन्ट कम्पनी ‘बैदु’ले सफलतापुर्वक सेल्फ ड्राइभिङ कारको परिक्षण गरेका थिए तर यो कम्पनीले पब्लिकका लागि नै सेवा सुरु गरेको जनाएको छ। कम्पनीले अमेरिकाको म्यासाच्युसिट्सवाट दुईजना वैज्ञानिकलाई वोलाएर सिंगापुरका सडकमा सेल्फ ड्राइभिङ कारको सम्भाव्यताका लागि अध्ययन गर्न लगाएको जनाएको छ। नढाँटी भन्दा उवरले परम्परगत तरिकाले सेल्फ ड्राइभिङ ट्याक्सीको प्रयोगमा जोड दिइरहेको छ’ नुटोनोमीका चिफ अपरेटिङ अफिसर डोङ पार्करले भने ‘प्रविधिको तिव्र प्रतिस्पर्धामा हामी जित्ने लक्ष्यका साथ अगाडी बढेका थियौं र सफल पनि भएका छौं।’ पार्करले भने, ‘हामीसंगै सिंगापुर सरकारले सेल्फ ड्राइभिङ कारका लागि एउटा कोशेढुङ्गा पार गरेको छ। सिंगापुरको उत्तरी एक जिल्लामा करिब एक माइल वरपरसम्म यसले सजिलै आवतजावत गर्न सक्छ। यसको विस्तारका लागि हामी लागिरहेका छौं।’ कम्पनीले सन् २०१८ भित्रमा सिंगापुरका सवै आइल्याण्डका अटोनोमस ट्याक्सी कम्पनीहरुलाई यो सेवा हस्तान्तरण गर्ने योजना रहेको जनाएको छ। ‘हामी सेल्फ ड्राइभिङ ट्याक्सी ग्राहकका लागि संसारमा कन्जुमर सर्भिस दिने पहिलो देश भएका छौं’ पार्करले भने। कम्पनीले अब सिंगापुरका जनता र यहाँ घुम्न आउने पर्यटकले गाडीको इन्जिनको प्रदुषण र अनावश्यक झन्झटवाट मुक्ति पाउने बताएको छ।
विश्वको सबैभन्दा ठूलो विमान क्र्यासल्यान्ड गर्दा दुर्घटना
काठमाडौं ९ भदौ। विश्वको सबैभन्दा ठूलो विमान क्र्यासल्यान्डिङ गर्ने क्रममा दुर्घटनामा परी क्षतिग्रस्त भएको छ। दोस्रो टेस्ट फ्लाइटका क्रममा सो दुर्घटना भएको हो। विमान सञ्चालकका अनुसार दुर्घटनामा कोही घाइते भएका छैनन्। उडिरहेका बेला समस्या आएपछि इङ्ल्यान्डको क्र्याडिङटन विमानस्थलमा विमानलाई क्रसल्यान्डिङ प्रयास गरिएको थियो। ‘क्र्यासल्यान्डिङ गर्ने क्रममा एयरल्यान्डर क्षतिग्रस्त भएको छ’, विमान निर्माता हाइबर्ड एयर भेइकल्स (एचएभी) ले भनेको छ, ‘चालक दलका सबै सुरक्षित छन्। कोही घाइते भएका छैनन्।’ विमानको ककपिटमा क्षति पुगेको छ। जहाजले टेलिग्राफको खम्बामा ठोक्किर दिँदा अग्रभागमा क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन्। यो जहाज सुरुमा अमेरिकाले मिटरिङ गर्ने उद्देश्यले निर्माण गरेको थियो। एचएभीले यसलाई मनिटिरिङ, सञ्चार तथा यात्रु बोक्ने विमानको रुपमा विकास गर्ने प्रयास गरिरहेको छ। २०२१ सम्ममा यसको व्यवसायिक उडान गर्ने कम्पनीको तयारी छ। ९२ मिटर लामो एयरलाइन्डर १० सो विमान हेलिकोप्टर र एयरसीप प्रविधिको मिश्रण हो।
आइफोन सेभेनमा विशेष क्यामेरा हुने
क्यालिर्फोनीया ९ भदौ। एप्पलको आइफोन सेभेन मोड्युल रेयर क्यमरा अप्टिकल इमेज स्टेबलाइजर सहित आउने भएको छ। म्याक र्युमरले सार्वजनीक गरेको तस्बिर अनुसार आइफोन सेभेनको मोड्युल क्यमरा ४.७ इन्चको हुने र यसमा अप्टिकल इमेज स्टेबलाइजर हुने जनाइएको छ। उक्त सिङगल लेन्स क्यामरामा चार सानो कटआउटस हुने र यसले आकर्षक तस्बिर लिन सकिने जनाइएको छ । सार्वजनीक गरिएको क्यामरा सन् २०१४ मा बजारमा आएको आइफोन सिक्स र आइफोन सिक्स प्लसमा भएका रियर क्यामरा भन्दा उत्कृष्ट र गुणस्तिरीय हुने जनाइएको छ । विगतमा आएका आइफोन सिक्स र आइफोन सिक्स प्लसमा भएका रियर क्यामरा कटआउटस रहित थियो ।आइफोनले ४.७ इन्चको सिङगल लेन्स क्यामरलाई अप्टिकल स्टेबलाइजरका साथ अझै गुणस्तिरीय रुपमा ल्याउने र ५.५ इन्चको अर्को मोडमा ड्यिुल लेन्स क्यामरा र ३ जिबी र्याम जडान गरिने बताइएको छ। एप्पलले आफुहरुले ल्याउने अप्टिकल इमेज स्टेबलाइजर सहितको क्यामरा नै उक्त मोवाइल बिक्रीको आकर्षणको केन्द्र हुने बताइएको छ। एप्पलले आइफोन सेभेन सेम्टेम्बर ७ र आइफोन सेभने प्लस सेम्टेम्बर ९ सम्ममा बजारमा ल्याउने विश्वास गरिएको छ।