विकासन्युज

ललितपुरमा मोबाइल एक्स्पो शुरु हुँदै, मोबाइल खरिदमा ७० प्रतिशत छुट

काठमाडौं, १५ भदौ । ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर मोबाइल एक्स्पो २०७३ आयोजना गर्ने भएको छ । उक्त एक्स्पो यहि भदौ २४ गतेदेखि असोज ३ गतेसम्म जारी हुने कम्पनीले जनाएको छ । मल्टिब्राण्ड मोबाइल शोरुम रहेको कम्प्लेक्स तथा मलले ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छुट तथा उपहार योजनासहित मोबाइल एक्स्पो आयोजना गर्न लागेको बुधबार भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । सम्मेलनमा कम्प्लेक्सका पदाधिकारीहरुका साथै मलका लगानीकर्ताहरुको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनमा बोल्दै ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले ललितपुर जिल्लालाई केन्द्रमा राखेर नेपालभरीका मोबाइल प्रेमी तथा खरिदकर्ताहरुका लागि मोबाइल एक्स्पो गर्न लागेको जानकारी दिए । यस एक्स्पोमा हरेक मोबाइल खरिदकर्ताहरुले हात खाली नजाने उपहार प्राप्त गर्नेछन् । उनले भने -“हामीले मोबाइल एक्स्पोको अवसर पारेर न्यूनतम ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट विभिन्न मोबाइल ब्राण्ड तथा एसेसरिजमा राखेका छौं ।” भदौ २४ गतेदेखि आयोजना हुने मोबाइल एक्स्पोमा हरेक ग्राहकहरु उपहार योजनामा सहभागी हुन पाउनेछन् । एक्स्पोको अवधिभर हरेक आगन्तुकले प्रवेश शुल्कको समयमा लक्की ड्र प्राप्त गर्नेछन र त्यसको आधारमा लक्की ड्रबाट दैनिक ३ जनालाई उपहार दिईनेछ । एक्स्पोको अवधिभर नेपालमा भित्रिने विभिन्न नयाँ मोबाइल ब्राण्डहरु तथा नयाँ मोडलहरु पनि सार्वजनिक गराउने योजना कम्पनीको रहेको छ । यसले ग्राहकहरुले बजारमा आएका नयाँ फोनहरुको बारेमा जानकारी लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कम्प्लेक्सबाट सिल प्याक गरिएका मोबाइल फोन मात्र बिक्री गरिने छ र नयाँ प्रविधिहरुको बारेमा जानकारी प्रदान गरिने छ । असोज ३ गतेसम्म आयोजना हुने एक्स्पोमा न्यूनतम ९ सयदेखि १ लाख रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध हुने कम्पनीले जनाएको छ । मोबाइल एक्स्पोमा करिब ३ लाख भन्दा बढिले अवलोकन गर्ने कम्पनीको अनुमान छ । मोबाइल एक्स्पोमा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, ओवीआई, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध गराईने कम्पनीले बताएको छ ।

‘आप्रवासी कामदार’ सम्बन्धी सार्क घोषणापत्रको प्रारम्भिक मस्यौदा तयार

काठमाडौं, १५ भदौ । पाकिस्तानमा हुन गइरहेको १९औँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा प्रस्तुत हुने ‘आप्रवासी कामदार’ सम्बन्धी घोषणापत्रको प्रारम्भिक मस्यौदा (जिरो ड्राफ्ट) तयार भएको छ । सार्क राष्ट्रबाट रोजगारीका लागि बिदेसिने कामदारको समान न्यूनतम ज्याला, समान कामको लागि समान ज्याला, कामदारको हकहितका लागि सामूहिक प्रतिबद्धता र कामदार लिने गन्तव्य मुलुकसँग सार्क आबद्ध राष्ट्रको सामूहिक सौदाबाजी गर्ने उद्देश्यसहित घोषणापत्र जारी गर्न लागिएको हो । २०७१ मङ्सिर २१ र २२ गते काठमाडौंमा सम्पन्न अठारौँ सार्क सम्मेलनले पारित गरेको ३६ बुँदामध्ये २१ नम्बर बुँदामा सार्क राष्ट्रबाट रोजगारीका लागि जाने आप्रवासी कामदारको सेवा, सुरक्षालगायतका विषयमा सदस्य राष्ट्र सामूहिक रुपमा कार्य गर्ने उल्लेख थियो । सोही बुँदालाई मूर्तरुप दिन गत वैशाख २१ र २२ गते काठमाडौँमा सार्क राष्ट्रका श्रम तथा रोजगार मन्त्रालय हेर्ने उच्च सरकारी अधिकारीको बैठकले सोसम्बन्धी कार्ययोजना पारित गरेको थियो । कार्ययोजनाअनुरुप बैठकले आगामी सार्क सम्मेलनका लागि मस्यौदा तयार पार्ने जिम्मा सार्क सचिवालय र नेपाल सरकारलाई दिएकोमा सोसम्बन्धी प्रारम्भिक मस्यौदा तयार गर्न लागिएको हो । सोहि अनुरुप सार्क सचिवालय, श्रम तथा रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालय र विज्ञ सम्मिलित टोलीले प्रारम्भिक मस्यौदा तयार पारेको हो । मस्यौदालाई श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमा र परराष्ट्र मन्त्रालयले काठमाडौँमै कार्यालय रहेको सार्क सचिवालयमा पठाउने जनाएको छ । सचिवालयले सार्क आबद्ध आठवटै मुलुकमा सहमतिका लागि मस्यौदा पठाउनेछ । ती मुलुकबाट मस्यौदामा सहमति वा परिमार्जनको लागि प्राप्त विवरणको आधारमा सचिवालयले मस्यौदालाई घोषणापत्रको रुपमा आगामी सार्क सम्मेलनमा प्रस्तुत गर्नेछ । प्रारम्भिक मस्यौदाका विषयमा श्रम मन्त्रालयले आज सरोकारवाला निकायबाट राय, सुझाव समेटेको छ । प्राप्त राय, सुझावका आधारमा यसलाई थप परिस्कृत गर्दै सचिवालयमा पठाइने मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले जानकारी दिए। बेरोजगारीका कारण विदेसिएका कामदार सुरक्षाको विषय सार्क स्थापनाको भएको ३१ वर्षपछि प्रवेश पाएको छ, यो नै ठूलो उपलब्धि भएको र यसलाई आगामी सम्मेलनबाट पारित गर्न सके कामदारको पक्षमा ऐतिहासिक काम हुने उनको भनाइ छ । प्रस्तावना, सिद्धान्त, निगरानी संयन्त्र गठनलगायका बुँदा खाकामा समावेश छ । सार्क सबैभन्दा बढी कामदार पठाउने क्षेत्रमा पर्छ । मस्यौदाको प्रस्तावनामा कामदारको सेवा, सुरक्षा, मानवअधिकार, श्रम अधिकारलगायतका विषयमा साझा सहमति कायम गरेर मिलेर काम गर्ने उल्लेख छ । त्यसैगरी कामदारको सीप अभिवृद्धि, सार्कको आर्थिक सम्विृद्धिका लागि पहल गर्ने, आप्रवासको कारण पहिल्याएर त्यसलाई न्यूनीकरण गर्न पहल गर्ने, सामूहिक सहयोगको माध्यम अपनाउने, रोजगारीको नाममा भइरहेको मानव तस्करी रोक्ने मस्यौदामा उल्लेख छ । कार्ययोजनामा सार्कबाट बिदेसिने कामदारको समान सीप अभिवृद्धि क्षमता विकास गर्ने, अभिमुखीकरणको एउटै पाठ्यक्रम विकास गर्ने, कामदारको न्यूनतम ज्याला तय गर्ने, गन्तव्य मुलुकसँग सार्क राष्ट्रले सामूहिक रुपमा सौदाबाजी गर्ने, सूचना आदनाप्रदानका लागि संयन्त्र निर्माण गर्नेलगायतका विषय समावेश गरिएको छ । कामदार पठाउने प्रक्रिया स्वच्छ र नैतिक सीमामा बाँध्न निर्देशिका बनाउने र कार्यान्वयन भए नभएको निरन्तर अनुमगन गर्ने, कामदारले पठाएको विप्रेषण उचित काममा प्रयोगका लागि सदस्य राष्ट्रले राष्ट्रिय कार्ययोजना बनाउने, सामूहिक आर्थिक हितका लागि प्रयास गर्ने, विपे्रषण पठाउँदा लाग्ने कर घटाउन पहल गर्ने तथा कामदारको सुरक्षा, मासिक तलबको नियमितता र जीवनस्तर विकासका लागि कानुनी सुनिश्चितताका लागि पहल गर्ने मस्यौदामा उल्लेख छ । कामदार गएको मुलुकमा युद्ध वा सङ्कट उत्पन्न भए कामदारको उद्धारका लागि संयुक्तरुपमा काम गर्ने विषय समेत प्रस्तावित छ । सबै सदस्य राष्ट्रमा मस्यौदाको विषयमा साझा सहमति बन्न सकेमात्रै यो विषयले आगामी सम्मेलनमा प्रवेश पाउने र पारित हुने सम्भावना रहेकाले यसमा सबै राष्ट्रको भावना समेटिने प्रयास गरिएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक राघुराज काफ्लेले बताए । सार्क सचिवालयकी निर्देशक रीता धितालले परराष्ट्र मन्त्रालयबाट मस्यौदा प्राप्त हुने बित्तिकै आठवटै मुलुकमा मस्यौदालाई पठाइने जानकारी दिँदै आगामी सम्मेलनबाट मस्यौदा पारित हुने विश्वास व्यक्त गरे । १९औँ सार्क सम्मेलन आगामी कात्तिक ४ र ५ गते पाकिस्तानको इस्लामावादमा हुँदैछ । रासस

तिनाउ डेभलपमेन्ट बैंकले २६ प्रतिशत लाभांश दिने

काठमाडौं, १५ भदौ । तिनाउ डेभलपमेन्ट बैंकले सेयरधनीलाई २६ दशमलब ३१५७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २५ प्रतिशत बोनस सेयर र १ दशमलब ३१५७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) सहित सो मात्रामा लाभांश दिने निणर्य राखेको हो । सो निणर्य बुधबार बसेको बैंकको १९६औँ सञ्चालक समितिको बैठकले राखेको हो । बैठकको निणर्य नेपाल राष्ट्र बैंकले स्विीकृत दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।

जापानद्वारा पौने दुई अर्ब बढी अनुदान सहयोग

काठमाडौं, १५ भदौ । जापान सरकारले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसर पारेर दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई एक अर्ब ८३ करोड २० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र द्विपक्षीय दौंत्य सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव समारोहमा भाग लिन नेपालको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका जापानका विदेश राज्यमन्त्री नोबु किसाइको उपस्थितिमा अनुदान सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । अर्थ मन्त्रालयमा बुधबार आयोजित विशेष समारोहमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र अर्थ मन्त्रलायका सचिव लोकदर्शन रेग्मीले नेपालका प्रमुख विमानस्थलको हवाई सुरक्षा सुधार परियोजनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित आठवटा विमानस्थलमा हवाई सुरक्षा सुधार परियोजना कार्यान्वयन गर्न जापानले एक अर्ब ५१ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने छ । त्यसैगरी विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न जापानले रु ३१ करोड ३० लाख अनुदानस्वरुप प्रदान गर्नेछ । उक्त अनुदानसम्बन्धी सम्झौतापत्रमा यहाँस्थित जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०का प्रमुख जुन साकुमा र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्यालले हस्ताक्षर गरे । त्यस अवसरमा राजदूत ओगावाले नेपालको विकास प्रयासमा जापानले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे भने सचिव रेग्मीले नेपालको सामाजिक–आर्थिक उन्नयनका निम्ति जापानले गरेको योगदानप्रति आभार प्रकट गरेका छन् । रासस

नेपाली बजारमा सुजुकी एक्सेस १२५ भित्रियो, मूल्य १ लाख ८९ हजार

काठमाडौं, १५ भदौ । विशाल गु्रप अन्तर्गत भी.जी. अटोमोबाइल्सले भृकुटीमण्डपमा भइरहेको नाडा अटो शोबाट सुजुकी एक्सेस १२५ स्कूटर नेपाली बजारमा ल्याएको छ । भी.जी. अटोमोबाइल्सका मार्केटिङ्ग प्रबन्धक समित सिंहले भने, “सुजुकी एक्सेस १२५ ग्राहकको उत्कृष्ट छनोट हुनेछ । उत्कृष्ट बनावट, प्रविधि र अनुभवले सुजुकी एक्सेस १२५ नेपालको उत्कृष्ट बन्नेछ ।” सुजुकी एक्सेस १२५ संशोधित भई नयाँ बनावटमा आएको छ । हेड ल्याम्पमा थ्रिडी लोगो रहेको सुजुकी एक्सेस को अगाडि १२ इन्चको टायर, एलइडी टेल ल्याम्प जस्ता विशेषताहरु थप गरिएको छ । नयाँ सुजुकी एक्सेस १२५ १८७० मिलिमिटर लम्बाई, ६५५ मिलिमिटर चौडाई, ११६० मिलिमिटर उचाईको छ भने यसको तौल १०२ के.जी. रहेको कम्पनीले जनाएको छ । थप एक्सेसमा फराकिलो सिट र इजी स्टार्ट सिस्टमजस्ता अन्य विशेषताहरु पनि रहेका छन् । सुजुकी एक्सेसले कम इन्धन खपत गर्नुका साथै यसको ६४ कि.लि माइलेज रहेको छ । हाल स्कूटर ४ विभिन्न रङ्गहरुमा उपलब्ध छन् । कम्पनीका अनुसार बजारमा यसको मूल्य एक लाख ९ सय रुपैयाँ रहेको छ ।

महिन्द्रा टू व्हीलर्सद्धारा महिन्द्रा मोजो नेपाली बजारमा सार्वजनिक

काठमाडौं, १५ भदौ । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टू व्हीलर्सले नयाँ बाइक महिन्द्रा मोजो नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंमा जारी नाडा अटो सोमा उक्त मोटर साईकल सार्वजनिक गरेको हो । उक्त बाईक सार्वजनिक गर्न महिन्द्रा टू व्हीलर्सका सिनियर भाइस–प्रेसिडेन्ट (आर एण्ड डी) पी.एस. अशोक र एमटिडब्लुएलका प्रमुख कार्यकारी अध्यक्ष सहायल भारतको पुणेबाट बाईकमा नै आएका थिए । मोजोको दमदार पावर प्रमाणित गर्न उनीहरु पुणेदेखि काठमाडौंसम्म करिब २ हजार ८८ किलोमिटर लामो दूरी बाइकमा यात्रा गरेका हुन् । एमटिडब्लुएलका प्रमुख कार्यकारी अध्यक्ष सहायलका अनुसार मोजो महिन्द्रको फ्ल्याग्शिप मोडल हो । यो बाईक भारतमा लोकप्रिय हुँदै आएको छ । अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले महिन्द्रा टू व्हीलर्सको तर्फबाट आएको सबैभन्दा उत्साहजनक प्रोडक्टहरु मध्ये एक मोजो मोटर साइकललाई नेपालमा ल्याउन पाएकोमा खुशी व्यक्त गरे । मोजोेमा लो–फ्रिक्सन पिस्टन तथा रिङ्ग भएको स्टेट–अफ–आर्ट डिओएचस इन्जिनछ । एडभान्स्ड् इएफआइ, इरिडियम स्पार्क प्लग, रेजोनेटर–फिटेड इन्टेक सिस्टम तथा ट्वीन एक्जहस्ट् यसका विशेषता हुन् । मोजोमा उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको कम्पनीले जनाएको छ । ३२० एमएमको रेडियल्ली–माउन्टेड फ्रन्ट डिस्क ब्रेक तथा पिरेली डिएब्लो रोस्सो टू टायर पनि रहेको छ । बाइकमा २१ लिटरको इन्धन क्षमता भएको फ्युल ट्यांक छ । सबैभन्दा बढी इन्धन क्षमताको ट्याङ्की भएकोले लामो दूरी तय गर्नको लागि सजिलो हुने कम्पनीले जनाएको छ ।

२७ वर्षदेखि सुरक्षित यात्रा प्रदान गर्दै पर्यटक सवारी, करिब १२ सय पर्यटक सवारी

काठमाडौं १५, भदौ । नेपालम पर्यटक सवारी (हरिया प्लेट)को सुरुवात भएको २७ वर्ष भैसकेको छ । सन् १९९० बाट सुरु भएको पर्यटक सवारीले हालसम्म सुरक्षित यात्रा प्रदान गर्न सफल भएको पर्यटक वस व्यवसायी संघले जानकारी दिएको छ । संघका अध्यक्ष श्रीकान्त आचार्यका अनुसार नेपालमा छिटफूट सवारी दुर्घटनामा पर्यटक सवारी पनि पर्नु सामान्य विषय हो तर, कुनै ठूलो मानवीय क्षति हुनेगरी पर्यटक सवारी दुर्घटना भएका छैनन् । पछिल्लो समय नेपालमा सडक जति धेरै बढ्दै गएको छ सवारी साधानको जोखिम पनि त्यति नै बढिरहेको देखिएको छ । विगत एक दशकको तथ्यांक हेर्ने हो भने पनि नेपालमा ४३ हजार सात सय वटा सवारी दुर्घटना भैसकेका छन् । नेपालमा हालसम्म २४ लाख सवारीसाधान भित्रिएका छन् । यस मध्ये दैनिक ६ लाख सवारीसाधान काठमाडौं उपत्यकामा नै दौडने गरेका छन् । सवारी साधान धेरै र सडकमा चाप बढी हुन थालेका कारण दुर्घटनाको दर पनि बढ्दै गएको छ । पछिल्ला समय सडक र सवारीको नियम पालना नगर्ने र चालकको लापर्वाहिका कारण पनि सवारी दुर्घटना आकासिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । सवारी साधान असुरक्षित भएको होइन, चालककै कारण असुरक्षित हुने गरेको पनि प्रहरीको भनाइ छ । नेपालमा संख्यामा थोरै भएपनि लामो छोटो दुरी सबैक्षेत्र दैडने गरेको सडकमै दौडने पर्यटक सवारी भने निकै सुरक्षित देखिएको छ । सार्वजनिक सवारी साधानको तुलनामा कम दुर्घटना भएको, यात्रुको विश्वसनियताको साधन बन्दै गएको र पर्यटक सवारी साधनले पनि यात्रु सेवालाई विषेश ध्यान दिएको व्यवसायीको भनाइ छ । ‘पर्यटक सवारीको निश्चित मापदण्ड हुने, गति सिमित राख्नुपर्ने, सवारीमा हुनसक्न कमी कमजोरीको मूल्यांकन गरेर सुधारको उपाय अबलम्बन गरिहाल्ने कारण पनि हामीले विश्वसनिय सेवा दिन सकिरहेका छौं’ आचार्यले भने । यात्रुको अधिकारलाई ध्यानमा दिने बानी सबैभन्दा राम्रो पक्ष हो । सुरक्षित यात्रा गर्न पाउने सबै यात्रुको अधिकार हो । हामीले समय समयमा दिने तालिम र हरेक सवारी साधनको कम्पनीसँग हुने टिमवर्क नै पर्यटक सवारीको सफलताको पाटो भएको दाबी आचार्यको छ । कति छन् पर्यटक सवारी नेपालमा हरियो नम्वर प्लेटका सवारी साधान संचालन गर्न रूटमा चल्ने ठूला र रूटमा नचल्ने साना हलुका सवारी गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ । ट्राभल तथा टुर कम्पनीले प्रयोग गर्ने ठूला सवारी सडकको रूटमा पर्यटक बोकेर हुँइकिने गरेका छन् । साना सावारी भने विमानस्थलबाट पर्यटक ल्याउने, पुर्याउने र आवश्यक पर्दा रिजर्भमा जाने गरेका छन् । यस्ता सवारीमा कार, जिप र भ्यान छन् । साना सवारीका साधन नेपाल टुरिष्ट भेइकल एसोसिएशन (एनटीभीए) अन्र्तगत रहेका छन् । यी सवारी नेपालमा हाल एक हजारको संख्यामा रहेका छन् । काठमाडौंबाट चितवन, पोखरासहितका सडक रुपटमा गुड्ने ठूला पर्यटक सवारी करीब एक सय ५० वटा जति छन् । यी सवारी हरिया नम्बर प्लेटका हुन । विभिन्न ट्राभल एजेन्सीले पर्यटक बोक्न भित्र्याएका यस्ता सवारी साधन काठमाडौं भित्रबाट सेवा दिने र बाहिरबाटगरी एक सय ५० भन्दा बढी नभएको टुरिष्ट बस एसोसिएशनको भनाइ छ । सबै गरी पर्यटक सवारी करिब १२ सय वटा जति छन् । कहाँ दोडन्छ पर्यटक सवारी उपत्यकामा पर्यटकलाई विमानस्थल जाने ल्याउनेदेखि विभिन्न पर्यटकीय गन्तव्यमा जाने सवारी साधान कार, जिप र भ्यान हुन । यी सवारी साधार सडक रूटमा गुड्दैनन । सम्बन्धित कम्पनीले आफ्ना पर्यटकलाई विभिन्न आन्तरिक पर्यटकीय गन्तव्यमा लैजाने र ल्याउनेदेखि उपत्यकाभित्रै संचालन हुने गरेका छन् । अन्य ठूला पर्यटकीय सवारी साधान भने काठमाडौंबाट पोखरा, चितवन, विराटनगरहितका गन्तव्यमा संचलन हुने गरेका छन् । पोखराबाट पनि चितवन, काठमाडौं, लुम्बिनीसहितका गन्तव्यमा जाने गरेका छन् । व्यवसायीले पर्यटक सवारीलाई काठमाडौं दिल्ली र पोखरा दिल्ली पनि संचालन गरिरहेका छन् । यी ठूला यात्रुबाहक पर्यटक सवारीले आन्तरिक तथा वाह्य पर्यटकलाई सेवा दिने गरेका छन् । आधुनिक सेवा सुविधामा पर्यटक सवारी पर्यटक सवारी साधन संचालन गर्ने व्यवसायीको अनुसार नेपालमा पछिल्लो समय विभिन्न सेवा र सुविधामा पर्यटक सवारी नेपाल भित्रन थालेका छन् । अन्तर्राष्ट्रिय स्तरमा पर्यटक सवारीले दिने सेवा तथा सुविधालाई पर्यटक सवारीले नेपालमा पनि सुविधा दिन थालेका हुन । यस्ता पर्यटक सवारी एसी, वाईफाई, आरामदायी सिट, सवारी साधानभित्रै चिया कफिको सुविधासहतिका सेवामा संचालन हुन थालिसकेको व्यवसायीको भनाइ छ । नेपाल भित्रिएकै सवारी साधानले हरियो नंम्बर प्लेट लिएर सडकमा गुड्ने गरेका कारण पहिल्यै पर्यटक सवारी भनेर कुनै चर्चा हुने गरेको छैन । नेपालमा आएकै सवारी व्यवसायीले खरिद गर्ने र पर्यटन मन्त्रालयबाट आवश्यक मापदण्ड पु¥याएर हरियो नम्बर प्लेटको सुविधा लिने गरेका छन् । के छ पर्यटक सवारीमा सुविधा नेपालमा व्यवसायीक प्रवद्र्धन गर्न सरकारले हरियो नम्बर प्लेटको सवारी दर्ता गर्ने सुविधा दिएको हो । कुनै पनि ट्राभल कम्पनीले आफूले गर्ने वार्षिक कारोबार, व्यवसायको प्रकृति, पर्यटकीय सेवासहितको विवरण खुलाएर पर्यटन मन्त्रालय अन्तर्गनको पर्यटन विभागमा आवदेन दिएर मात्रै हरियो नम्बर प्लेट लिन सक्छन् । पर्यटन मन्त्रालयले सिफारिश गरेको आधारमा मात्रै व्यवसायीले निजी नम्बर प्लेटलाई हरियोमा परिवर्तन गर्न पाउने व्यवस्था छ । यस्ता सवारी उपत्यकाकै पर्यटकीय सेवा र सुविधामा प्रयोग हुने गरेका छन् । हरियो नम्बरको सवारी साधानलाई आयात गर्दा भन्सार छुट, सडकमा गुड्न पर्यटक बोक्ने भएकै कारण प्राथमितासहितको सेवा र सुविधा हुने गरेको छ ।

एलआईसी नेपालको ‘जीवन श्री’ योजना बजारमा

काठमाडौं, १५ भदौ । एलआईसी नेपालले ‘जीवन श्री’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । “तपाई… खुसीको खाता खोल्नुहोस्” भन्ने सन्देशका साथ कम्पनीले न्युनतम् ७ वर्षदेखि ५० वर्ष उमेरसम्मका ग्राहकहरुलाई लक्षित गरी सो योजना ल्याएको हो । बीमा अवधि १५ वर्ष र न्युनतम बीमाङ्क रकम ५ लाख रुपैयाँ रहने यस बीमा योजनामा विमितलाई पहिलो ५ वर्षका लागि ६५ हजार प्रति वर्ष सुनिश्चित लाभ बोनसको रुपमा प्रदान गर्ने कम्पनीले जनाएको छ । यस योजनामा विमितले वीमाशुल्क ५ वर्षमा तिरेर १५ वर्षसम्म दुर्घटना लाभसहितको जीवन बीमा सुविधा लिन सक्नेछन् । सो योजनामा बीमाशुल्क अत्यन्त न्युन तर प्रतिफल उच्च रहेको छ । २ वर्षको बीमाशुल्क भुक्तानीपश्चात् विमितले कम्पनीबाट कर्जा तथा बीमा सुविधासमेत लिन सक्नेछन् । कम्पनीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले विमितले वित्तीय अनिश्चितताको समयमा आफ्नो लगानीबाट जीवन बीमासहित सुनिश्चित प्रतिफल ‘जीवन श्री’ योजनाले मानसिक शान्ति प्रदान गर्ने बताएका छन् ।