कोरियाले सन् २०१८ को सुरुवातमा फाइभ जी चलाउने, कुनकुन देशले गर्दैछन तयारी, नेपालमा फोर जी नै सुरु भएन
काठमाडौं ५ असोज। दक्षिण कोरियाको सबैभन्दा ठूलो टेलिकम कम्पनी एसके टेलिकम र नोकिया नेटवर्कले टेलिकम्युनिकेसन क्षेत्रमा ‘फाइभ जी’ सञ्चालन गर्ने तयारीमा जुटेको छ। विश्वका धेरै मुलुकमा फोर जी सञ्चालन हुन नपाउँदै कोरिया भने एक स्टेप अघि बढेर पाँचौँ पुस्तामा जान लागेको हे । यी कम्पनीले ‘फाइभ जीको विकास तथा डिजाइनका लागि १५.६ अर्ब युरो खर्च गर्दैछन् । दुवै कम्पनीले फाइभ जी टेक्नोलोजीका कम्पोनेन्ट डेभलपमेन्टका लागि युद्धस्तरमा काम अगाडि बढाइरहेको बताइएको छ। फाइभ जीको गिगावाइट लेभलमा डेटा ट्रान्सफर गर्न मिल्ने गरि कोर टेक्नोलोजी र क्लाउड बेस्ड भर्चुअल स्टेसन विकास गरिरहेको जनाएको छ। ‘एउटा फ्लेक्जिवल र प्रोग्रामेवल नेटवर्कको आर्किटेक्ट गर्नु नै फाइभ जी विकास गर्नका लागि पहिलो काम हो’ नोकिया नेटवर्कका रिसर्च अफिसर लाउरी ओक्साननले भने ‘टेलिकम क्षेत्रका लागि देखाउने भन्दा पनि भविष्यमा आउने प्रविधिसँग मेल खाने फरवार्ड कन्टिन्युड कोअपरेसनको आविष्कार गर्ने उद्देश्य हो।’ उनीहरुले इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटियू) मार्फत फाइभ जी विकास गर्नका लागि अनुमति, रोडम्याप र डिजाइन लिइसकेको बताएका छन्। सन् २०२० सम्ममा विश्वभरिमा फाइभ जी प्रविधिको विकस गरिसक्ने लक्ष अनुसार काम भइरहेको कम्पनीले जनाएको छ। तर दक्षिण कोरियाले विश्वमा सवैभन्दा पहिले फाइभ जी नेटवर्कको प्रयोग गर्नका लागि सन् २०१८ भित्रमा नै स्पेक्ट्रम लिएर सन् २०१८ मा कोरियामा हुन लागेको विन्टर ओलम्पिकमा चलाइसक्ने योजना अनुसार काम भइरहेको जनाएको छ। ‘एसके टेलिकमले सन् २०१८ सम्म विश्वकै उच्च गतिको फाइभ जी इन्टरनेट ल्याउनका लागि आर्किटेक्चरको काम गरिसकेको छ र हाम्रो टार्गेट नै उच्च गतिको इन्टरनेट सहित मल्टिमिडियाको म्यासिभ डेटा फ्लो गर्ने रहेको छ’ एसके टेलिकमका सिटिओ अपरेटर एलेक्स जून सुङ चोईले भने ‘हामी नोकियासँग नेटवर्क विस्तारका र फाइभ जी प्लटको विकासका लागि एकदम नजिक भएका काम गरिरहेका छौ।’ के हो फाइभ जी फइभ जी भनेको पाँचौं पुस्ताको वायरलेस टेलिकम्युनिकेसन प्रविधि हो। यो विश्वका धेरै देशहरुमा चलिसकेको र नेपालमा चल्न सुरसार भएको फोरजी प्रविधिभन्दा धेरै एडभान्स र तिब्र गतिको इन्टरनेट र डेटा टान्समिटिङ हुने प्रविधि हो। यो प्रविधिमा डेटा ट्रान्सफर लाखौं प्रयोगकर्ता बीचमा पनि दश मेगावाइटभन्दा धेरै हुनेछ। एकै अफिसमा डेटा ट्रान्सफर गर्दा एक जिवी भन्दा धेरैको स्पिडमा चल्नेछ। फोरजी भन्दा स्पेक्ट्रल इफिसेन्सी धेरै हुनेछ र कभरेज एरिया पनि धेरै हुनेछ। यो प्रविधिलाई सुपर इफिसियन्ट मोवाइल नेटवर्क, सुपरफास्ट मोवाइल नेटवर्क र फाइवर र वारयलेस कम्युनिकेसनको हाइब्रिडका रुपमा लिन सकिन्छ। कुनकुन देशले गर्दैछन् फाइभजीको अनुसन्धान संसारमा सवैभन्दा पहिले सन् २००८ मा दक्षिण कोरियाले फाइभ जी का लागि रिसर्च गर्नका लागि फ्रेमवर्क बनाएको थियो र सोहि धारणा अनुसार विश्वमा नै पहिले कोरियाले फाइभ जी चलाउने प्राय निश्चित रहेको छ। अप्रिल २००८ मा नै अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले पनि जियोफ ब्राउन र मेसिन टु मेसिन इन्टलिजेन्स(एमटुएमआई) कर्पोरेसनसँग मिलेर फाइभ जी प्रविधिको विकासका लागि काम अगाडि बढाएको थियो। त्यस्तै सन् २०१२ मा बेलायतले ‘यनिभर्सिटी अफ सुर्रे’मा फाइभ जी आविष्कार केन्द्रको सुरुवात गरेको थियो। केही बर्ष पहिलेसम्म उसले कोरियाको रिसर्च सेन्टरभन्दा धेरै काम अगाडी बढाइसकेको जनाएको थियो तर अहिले कोरियाले उछिनिसकेको छ। सन् २०१२ मा नै अमेरिकाको न्युयोर्क विश्वविद्यालयले मल्टिडिसिप्लिनरी अनुसन्धान केन्द्र खोलेको थियो, त्यसै भित्र उसले फाइभ जीको पनि रिसर्च गर्ने केन्द्र बनाएको थियो। त्यस्तै सन् २०१२ मा नै युरोपेली युनियनले पनि ५० मिलियन युरोको लगानीमा सन् २०२० सम्म चलाउनेगरी फाइभ जी मोवाइल टेक्नोलोजीको अनुसन्धान गरिरहेको छ। चिनिया कम्पनी हुवावेले सन् २०१३ मा फाइभ जी प्रविधिको विकासका लागि दक्षिणी इटालीको मेल्टा टापुमा ६ सय मिलियन अमेरिकी डलरको लगानीमा रिसर्च सेन्टर खोलेको थियो। हाल हुवावे र इरिक्सन कम्पनीले संयुक्त रुपमा फाइभ जी टेक्नोलोजीको परीक्षण गरिरहेका छन्। त्यस्तै सन् २०१३ मा नै सामसङ इलेक्ट्रोनिक्सले फाइभ जी प्रविधिका लागी १० जिवी प्रतिसेकेन्डमा डेटा ट्रान्सफरको सफलतापुर्वक परिक्षण गरेको थियो। उसले फाइभ जी टेक्नोलोजिवाट दुई किलोमिटर भित्रमा एक जिवी प्रतिसेकेन्डका दरले डेटा ट्रान्सफर गरेको थियो। रुसको टेलिकम कम्पनी मेगाफोन र चीनको हुवावेले रसियामा फाइभ जी प्रविधको विकासका लागि संयुक्त रुपमा काम गरिरहेका छन्। रुसले पनि सन् २०१८ मा नै त्यहाँ हुने विश्वकप फुटवलको सुरुवातमा सार्वजनिक गर्ने घोषणा गरेको छ। एजेन्सीहरुको सहयोगमा
ट्वीटरको नयाँ फिचर, जिआइएफ, फोटो र भिडियोमा अक्षर नगनिने
काठमाडौं, ५ असोज। माइक्रो ब्लगिङ्ग साइट ट्वीटरले प्रयोगकर्तामैत्रि एउटा ठूलो घोषणा गरेको छ । अब ट्वीटमा एट्याच गरिने फोटो, जीआईएफ फोटो र भिडियो १४० अक्षरको हिस्सा हुनेछैनन् । तर अहिले यसलाई ट्वीटरले परीक्षण गरिरहेको छ । यसको परीक्षणका लाग ट्वीटरले थोरे सङ्ख्याका प्रयोगर्तालाई यो सुविधा दिएको छ । यसका अलावा कम्पनीले ट्वीटरमा कयौं अन्य परिवर्तन पनि गरेको छ । अहिलेसम्म ट्वीटरमा कुनै पनि ट्वीटका लागि १४० अक्षरको सीमा रहेको छ । यस सीमामा फोटो, जीआईफ फोटो र भिडियो पनि सामेल छन् । उदाहरणका लागि यदि तपाईंले कुनै फोटोसहित ट्वीट गर्नुहुन्छ भने तपाईंको ट्वीट ११८ अक्षरमा घट्छ । साधरणतया २२ अक्षरको फोटो हुने गरेको छ। अब ट्वीटरको यो घोषणापछि केही हप्तामै फोटोसँग ट्वीट गर्दा १४० अक्षर नै पाइनेछ । यसले धेरै ट्वीटर प्रयोगकर्तालाई खुसी बनाउनेछ । छोटो शब्दमा ट्वीट गर्नुपर्ने भएकाले धेरै मानिसले यो समस्यामा गुनासो गर्दै आएका थिए । ट्वीटरले एक भिडियो ट्वीट गर्दै अब फोटो र अन्य मिडिया एट्याच गरेर सेयर गर्नुपरेमा यसलाई १४० अक्षरभित्र गनिने छैन । रिप्लाईमा मिल्नेछ धेरै सहूलियत नयाँ अपडेटसँगै अब कुनै ट्वीटको रिप्लाईमा जोडिने युजर नेम अब क्यारेक्टरमा गनिने छैन । यसभन्दा अघि कुनै ट्वीट कनभर्सेसनमा युजरनेम लेख्दा पनि अक्षरको गणना हुन्थ्यो । यो नयाँ फिचर ट्वीटर फ्यानका लागि विशेष सुविधा हो । आफ्नै ट्वीट पनि अब क्वेट ट्वीट हुने ट्वीटरले एक अर्को खास फिचरको पनि घोषणा गरेको छ । यस घोषणा अनुसार ट्वीटर प्रयोगकर्ताले आफ्नै ट्वीट पनि क्वेट-रिट्वीट गर्न सक्नेछन् । आफ्नो ट्वीटलाई क्वेट-ट्वीट गर्ने सुविधा पनि नयाँ हुनेछ ।
प्रचण्ड नेतृत्वको सरकारबाट चीनले धोका पाएको महशुस गरेको छः सु लियाङ
प्रचण्डका नामले चिनिने नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा अन्ततः भारतीय समकक्षी नरेन्द्र मोदीसँग हात मिलाएका छन् । नेपाली मिडियामा प्रकाशित तस्बिरहरुमा प्रचण्ड उत्साह जडित मुस्कानमा देखिन्छन् । उनले आशाका साथ आँखीभौं उघारेर मोदीसँग आँखा मिलाएका छन् । नेपाल र चिनियाँ नागरिकले प्रचण्डमाथी ठुलो आशा गरेका थिए । प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतकै गर्ने परपम्परालाई तोड्दै प्रचण्डले सन २००८ मा पहिलो भ्रमण चीनको गरे । तर आठ बर्षपछि प्रचण्ड पनि विगतमा बर्णन गरिएका जस्ता रहेनन् । बरु उनी झन अरु भन्दा बढि नै राजनीतिक स्वार्थ प्रति भारतसँग सचेत देखिए । उनको भारत भ्रमणका अवधीमा पश्चेश्वर बहुउदेश्यि आयोजना, भूकम्पपछिको पुननिर्माण, र पुर्व पश्चिम रेल वे विस्तार कार्यक्रमहरु उच्चस्तरीय भेटघाटका मुल एजेण्डा बने । जबकी यी आयोजनाहरुमा चिनियाँ चासो पनि थियो र चीनले सुरु गरेको चाईना बेल्ट र रोड इनिसियटिभले नेपाललाई ठुलै फाईदा पुग्नेथियो ।यस्तो परिस्थितिका विरुद्ध नेपाली नागरिकले सहयोग गर्न सक्दैनन् तर प्रचण्डलाई सोध्न सक्छन–‘प्रचण्डले नयाँ दिल्लीसँग भातृत्वपूर्ण सम्बन्ध बनाउँदै छन वा भारत अधिनस्थ नेपालको अवस्था निर्माण गर्दैछन् ?’ जब प्रचण्डले भारत भ्रमणका लागि मोदीको निम्ता प्राप्त गरे तब भारतसँग द्धिदेशिय सम्झौताका प्रारुपहरु तयार हुन थालेका थिए । ठिक त्यति नै बेला पुर्व प्रधानमन्त्री खड्ग प्रसाद ओलीले चीनसँग गरेका महत्वपुर्ण सम्झौताहरु कार्यान्वयन नहुने आंशका बढे । त्यसपछि आफ्ना बिशेष दुत चीन पठाउनुको विकल्प प्रचण्डसँग थिएन । यसले पनि नेपाल–चीनबिचको सम्बन्धमा अकस्मात अम्लियपन उत्पन्न भयो । र अकल्पनिय रुपमा चिनियाँ नेताहरुको नेपाल भ्रमण स्थगित हुनपुग्यो । नेपाल र चीनबिचको सम्बन्ध अकस्मात तोडिने संवेदनशिल अवस्थामा पुग्यो । यसबाट पक्कै पनि चीनले आफुलाई धोखा भएको महशुस गर्यो । जबकी काठमाडौंलाई नयाँ दिल्लीको दबावबाट मुक्त हुन बेइजिङको सहायता आवश्यक पर्दथ्यो र त्यसका लागि नेपालले चीनको नजिक आएर बेइजिङसँग महत्वपुर्ण र सम्वेदनशिल सम्झौताहरुमा हस्ताक्षर गरेको थियो जसले नेपाललाई भारतको निर्भरताबाट माथी उठ्न मदत गर्दथ्यो । तर पुनः काठमाडौं प्रति भारतको दृष्टिकोणले केहि प्रश्रय पाएको छ । मुलुकका लागि चीनसँग मिलेर गरिएका पुर्ववत प्रतिवद्धताहरुलाई नेपाली राजनीतिज्ञहरुले पछाडी धकेलिदिएका छन् । सायद नेपालका राजनीतिज्ञहरु बेइजिङ र दिल्लीलाई समानदुरीको मित्रवत व्यवहार गर्न चाहादैनन् । भारतीयका तर्फबाट नेपालका राजनीतिज्ञहरुमाथी दिइएको दबावले बेइजिङ–काठमाडौं सम्बन्ध निर्माणमा महत्वपुर्ण भूमिका खेलिरहेको छ । यदि राष्ट्रिय हितमा आधारित कुटनीति छ भने यो अन्तिम हुने छैन्, किन की परिपक्क कुटनीतिमा नैतिकता, न्याय र एकता आवश्यक हुन्छ । चीनले नेपाल र भारतको सम्बन्धमा कहिल्यै बाधा पुर्याएको छैन् । तर नयाँ दिल्लीले नेपाल–चीन सम्बन्धमा सधै हस्तक्षेप गरिरहेको छ । बेइजिङले सधै नेपालको विश्वास जित्ने प्रयास मात्रै गरिरहेको छ । नेपालले चीनसँग राम्रो सम्बन्ध विकास गर्न छोडेर भारतसँग बार्गेनिङ गर्ने माध्यमका रुपमा प्रयोग गर्न खोजेको हो भने यसले नेपालको स्थायीत्व, स्वतन्त्रता र पहिचानमै आघात पुग्न सक्छ । नेपाल र भारतको सिमामा डिफेन्स फोर्सको तैनाथी छैन, नेपाल र भारतबीच सञ्चारका धेरै माध्यमहरु पनि छन तर चीनसँग त्यस्तो सुबिधा छैन् । जब बेइजिङ र काठमाडौंले तीन वटै पक्षसँग सन्तुलित सम्बन्ध कायम गर्न खोज्छन् भने तेश्रो पक्ष स्वत सन्तुलित सम्बन्धका पक्षमा आउनै पर्ने हुन्छ । आजको नेपालले अवसरवादी बन्नु आवश्यक छैन् । तर राजनितिज्ञले दुरदर्शी र रणनीतिक हुनु आवश्यक छ । त्यस प्रकारका राजनीतिज्ञले मात्रै चीनले उपलब्ध गराएको वन बेल्ट वन रोड अवसरको सदुपयोग गर्न सक्नेछन् । नयाँ दिल्ली माथीको निर्भरतालाई कम गर्ने र विस्तारै पूर्ण स्वतन्त्र मुलुकका रुपमा पुनस्थापित हुने बाटोमा नेपाल अघि बढ्नु पर्छ । प्रचण्ड सन २००८ को आफ्नै बाटोबाट निकै टाढा पुगिसकेका छन् । जबकी ओलीले त्यसलाई रणनीतिक रुपले पुनः संरचना गरेका थिए । प्रचण्डले भारतको तिब्र दबाबमा ओलीले सुरु गरेको प्रक्रिया अवरुद्ध पारेका छन् । के प्रचण्डले उनको पुर्ववत निष्कर्ष र अभियान बिर्सेका हुन् ? नागरिक जवाफको पखाईमा रहेका छन् । तर जवाफ हुनेछ–‘चीन यो प्रक्रियाबाट टाढै बस्नेछ ।’ चीन–नेपाल सम्बन्धमा बेइजिङले केहि गुमाउने छैन, बरु काठमाडौंले धेरै कुरा प्राप्त गर्नेछ । त्यसकारण नेपालले सोच्नै पर्नेछ की उसले धेरै अवसरहरु गुमाउनेछ । (लेखक बेइजिङ इन्टरनेशनल स्टडिज युनिभर्सीटीको इण्डियन स्टडी सेन्टरका कार्यकारी निर्देशक हुन् र यो लेख ग्लोबल टाइम्सबाट अनुवाद गरिएको हो)
हिमालय एअरलाइन्सले असोज १५ गतेदेखि काठमाडौं–कोलम्बो नियमित उडान भर्ने
काठमाडौं, ४ असोज । नेपाल–चीनको सँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले आफ्नो दोश्रो नियमित गन्तब्य श्रीलंकाको राजधानी कोलम्बोबाट शुरु गर्ने भएको छ । एअरलाइन्सले काठमाडौं–कोलम्बो–काठमाडौं सीधा उडान गरेर असोज १५ गतेदेखि नियमीत उडान सेवा शुरु गर्ने भएको छ । ८ बिजनेस क्लास तथा १५० इकोनोमी क्लास सहित जम्मा १५८ सीट क्षमता बोकेको एअरलाइन्सको एअरबस ३२०–२१४ ले नयाँ रुटको उडान गर्नेछ । उडान तालिका अनुसार एअरलाइन्स्ले साताको ३ दिन उडान गर्नेछ । उडान नं एचनाइन ६७३ को उक्त विमान मङ्गलबार, बिहिबार र शनिबार काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, बाट ११:३० बजे (स्थानीय समय) उडेर १५:१५ बजे (स्थानीय समय) बन्दरानायक अन्तराष्ट्रिय विमानस्थल, कोलोम्बोमा अवतरण गर्नेछ । त्यसैगरि कोलोम्बोबाट उडान नं एचनाइन ६७३ को सोहि विमान १६:१५ बजे (स्थानीय समय) उडेर २०:१५ बजे (स्थानीय समय) काठमाडौँमा अवतरण गर्नेछ । एअरलाइन्सको भाइस प्रेसिडेन्ट कोलम्बो उडानबारे बताउँदै भने,“अघिल्लो २ गैर निर्धारीत कोलम्बो उडानहरुबाट प्राप्त उत्साहजनक प्रतिक्रियाबाट यो रुट हामीले सम्भावना बोकेको रुट पायौँ । दुई देश बीच वर्षौ देखिको यात्रुहरुको चापलाई अध्ययन गरेर हामीले यो गन्तब्य शुरु गर्ने निर्णय गरेका हौँ । दुई देश बीच पर्यटन प्रवर्धन गर्न कोलम्बो जस्तो महत्वपुर्ण बजारमा सेवा विस्तार गर्न पाएकोमा हामी निकै खुसी छौँ । उडानले नेपाल र श्रीलंका बीच पर्यटन प्रवर्धन गर्दै दुई देश बीच नयाँ व्यापारीक अवसरहरु प्रदान गर्न सघाउ पु¥याउने छ ।” एअरलाइन्सले क्लासीक ट्राभल्सलाई कोलम्बोको लागि जेनरल सेल्स एजेन्ट (जिएसए) नियुक्त गरेको छ । सो कम्पनीले श्रीलंकामा एअरलाइन्सको बजार विकास, सिट आरक्षण, टिकेटिङ लगायत सेवाहरु प्रदान गर्नेछ । एअरलाइन्सले कोलम्बोको लागि एकोहोरो र दोहोरो भाडादर क्रमशः २९ हजार १९१ रुपैयाँ र ५० हजार ०४१ रुपैयाँदेखि शुरु गरेको छ । उक्त भाडा सरकारी कर सहित रहेको एअरलाइन्सले जनाएको छ ।
सिटिसी मोबाइल एक्स्पो असोज ७ गतेदेखि शुरु, मोबाइल खरिदमा ५० प्रतिशत छुट
काठमाडौं, ४ असोज । सिटिसी मोबाइल बजारले नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा मोबाइल पारखीहरुका लागि सामसुङ् मोबाइल जे२सिक्स ‘सिटिसी मोबाइल एक्स्पो २०१६’ आयोजना गर्न लागेको छ । उक्त एक्स्पो असोज ७ गतेदेखि असोज १५ गतेसम्म आयोजना गर्न लागिएको छ । उक्त एक्स्पोको मुख्य प्रायोजक सामसुङ् मोबाइल जे२सिक्स रहेको कम्पनीले बताएको छ । सिटिसी मोबाइल एक्स्पोको पावर्ड बाइमा कलर्स, जियोनी र लाभा मोबाइल रहेका छन् । यसैगरी मुख्य प्रायोजकमा ओविआई, स्पाइस, एम आई (स्याओमी), एपेक्स डिजिटल, जेटिई, सिजी, इन्टेक्स, रेज, केन्ट, हुवावे, यु.एम.आई. सिटिभि मोबाइल रहेका छन् । यसैगरि सह प्रायोजकमा कार्वन पानासोनिक, टचकन, सेलम्याक्स, मेइजु मोबाइल र टाइम्स रेमिट रहेका छन् । एक्स्पोमा ८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल सेटको कारोबार गरिने आयोजकले बताएका छन् । ब्राण्डेड मोबाइल र एसेसरिजको खरिदमा आकर्षक छुटको सुबिधा रहेको कम्पनीले जनाएको छ । त्यसका साथै केही कम्पनी मार्फत मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बताइएको छ । एक हप्तासम्म चल्ने एक्स्पोमा निःशुल्क प्रवेश तथा पार्किङको व्यवस्था गरिएको छ । साथै फ्रि वाइफाईको मज्जा पनि उठाउन सकिनेछ । एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई हरेक दिन ६ जना लक्की ड्र मार्फत मोबाइल जित्ने अवसर पनि प्रदान गरिने छ । यस एक्स्पोमा हरेक दिनको अफरमा भारी छुटका साथै हरेक दिन लक्की ड्र मार्फत भाग्यशाली अवलोकनकर्ता र खरीदकर्ताहरुलाई प्रत्येक दिन ५ जनालाई मोबाइलका साथै क्यास रिवेट भौचर जसमा २५०० देखि १० हजार खरिद भौचरहरु प्रदान गरिने कम्पनीले जनाएको छ । उक्त एक्स्पोले दशैं तिहारको अवसरमा फेस्टिभ अफरको पनि शुरुवात गर्ने बताएको छ । जसमा यस एक्स्पोदेखि दशैं तिहार र छठसम्म यस सिटिसि मोबाइल बजारमा स्मार्टफोन खरिद गर्ने भाग्यशाली विजेतालाई लक्की ड्र मार्फत बम्पर उपहार होण्डा हर्नेट मोटरसाइकलका साथै टिभी, फ्रिज, भ्याकुम क्लिनर, रुम हिटर, वासिङ्गमेशीन र मोबाइलहरु प्रदान गरिनेछ । मोबाइल एक्स्पोमा आधुनिक प्रविधिका मोबाइल, ट्याबलेट र एसेसरिजको बिक्री बितरण गरिनेछ । धेरै भन्दा धेरै उपहार अफर, लक्की ड्र, तथा सुपथ मुल्यमा मोबाइलको कारोबार गर्ने लक्ष्य लिएको सामसुङ् मोबाइल जे२सिक्समा ३ लाखभन्दा बढी अवलोकन कर्ता आउने विश्वास आयोजकले लिएको छ ।
आर्थिक गतिविधि बढ्यो, सरकारको राजश्व लक्ष्यभन्दा ७ प्रतिशतले बढी
काठमाडौं, ४ असोज । अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०७३/७४ को दुई महिनामा ८० अर्ब ४७ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा असुली भएको राजस्व लक्ष्यको तुलनामा ७ प्रतिशतले बढी हो । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको यस अवधिमा ७५ अर्ब ३६ करोड ५ लाख राजस्व असुली गर्ने लक्ष्य लिएको थियो । गत आवको तुलनामा यस वर्ष अर्थतन्त्र चलायमान हुनाका साथै आर्थिक गतिविधि बढेकोले राजस्व संकलन राम्रो भएको मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा प्रमुख लक्ष्मण अर्यालले जानकारी दिए । चालू आवमा संकलित राजस्वमध्ये ७५ अर्ब ५० करोड ४० लाख रुपैयाँ कर राजस्व हो भने ४ अर्ब ९७ करोड ६ लाख रुपैयाँ गैर कर राजस्व हो । सरकारले चालूको दुई महिनामा ७० अर्ब ३८ करोड २९ लाख रुपैयाँ कर राजस्वको लक्ष्य तोकेको थियो भने ४ अर्ब ९७ करोड ७७ लाख गैर करको लक्ष्य निर्धारण गरेको छ । अहिलको अवस्था अनुसारमात्रै पनि राजस्व उठ्ने हो भने पनि यस वर्ष लक्ष्यभन्दा करिब २५ प्रतिशत राजस्व बढी असुल हुने मन्त्रालयको हिसाव छ । मन्त्रालयले चालू आवमा संकलन गरेको राजस्व गत आर्थिक वर्ष २०७२/७३ को तुलनामा ४२ प्रतिशतले बढी हो । गत आवको साउन र भदौमा सरकारले ५३ अर्ब ७ करोड ९४ लाख राजस्व संकलन गरेको थियो । २०७१/७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्प तथा ६ महीना लामो तराई–मधेश बन्दाका कारणले सीमा नाकामा भएको अवरोध लगायतका कारण अर्थ तन्त्रमा सुस्ताएको थियो । अर्थतन्त्र शिथिल र आर्थिक गतिविधिहरु पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको कारणले राजस्व संकलन कम भएको मन्त्रालयको भनाइ छ । गत आवमा भएका उद्योगहरु पनि अधिकांश बन्द भएको र सञ्चालितमध्ये पनि केही पूर्ण क्षमतामा चल्न सकेका थिएनन् । सो कारण राजस्व संकलनका आन्तरिक तथा वाह्य स्रोत दुबै गुम्दा सरकारले पहिलो २ महीनासम्म रू.५३ अर्बमात्र राजस्व संकलन गरेको थियो । चालू आवमा भने यी सबै परिस्थितिमा सुधार आएकाले सरकारले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो । सरकारले चालू आवमा ५ खर्ब ६५ अर्ब ८९ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रोखेको छ । गत आवमा ४ खर्ब ८२ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
बजार दोहोरो अंकले घट्दा चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि, १३४ करोडको कारोबार
काठमाडौं, ४ असोज । मंगलबार नेप्से परिसूचक १७ दशमलब ९८ अंकले घटेको छ । बजार शुरु हुँदा १८०६ अंकमा रहेको परिसूचक बन्द हुँदा भने घटेर १७८६ अंकमा पुगेको छ । सो दिन परिसूचक साथै कारोबार रकममा पनि गिरावट आएको छ । मंगलबार १४४ कम्पनीको १६ लाख १५ हजार कित्ता सेयर किनबेच भएको छ । आइतबार बजारमा २ अर्ब ४६ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको थियो भने आज जम्मा एक अर्ब ३४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका ७ समूह मध्ये ५ समूहको परिसूचक ओरालो लागेका छन् भने बाँकीको परिसूचक दाहोरो अंकले उकालो लागेका छन् । सो दिन हाइड्रोपावर, बैंकिङ्, विकास बैंक, फाइनान्स र अन्य समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् । बीमा र होटल समूहको परिसूचक भने क्रमशः ३५ र १४ अंकले उकालो लागेका छन् । सो दिन ४ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सेती फाइनान्स र मिरमिरे माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, किसान माइक्रोफाइनान्स वित्तिय संस्था र नगडी ग्रुप पावर कम्पनीका लागानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी करिब ६ प्रतिशत र अल्पाइन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशत गुमाएका छन् । बजारमा नबिल बैंकको सबैभन्दा बढी १७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । एनआइसी एसिया बैंकको पनि साँढे १२ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
स्लीपवेलको ‘माइ म्याट्रेस’ नेपाली बजारमा सार्वजनिक
काठमाडौं, ४ असोज । भारतको नम्बर १ म्याट्रेस कम्पनी स्लीपवेलले नेपालका लागि आफ्नो योजना सार्वजनिक गरेको छ । सन् १९७१ देखि पियु फोम ब्यबसायमा संलग्न ब्यबसायिक घराना शिला ग्रुप अन्र्तगतको स्लीपवेल भारतमा सबैभन्दा बढी बिक्री हुने म्याट्रेस ब्राण्ड हो । भारत तथा अष्ट्रेलियामा मुख्य कारोबार रहेपनि बाषिर्क ३० करोड अमेरिकी डलरभन्दा बढी कारोबार र १५०० भन्दा बढी कामदार कर्मचारी रहेको कम्पनी भारतको मात्र नभई पियु फोम ब्यापारमा दक्षिण पुर्वि एशियाकै ठुला ५ कम्पनिहरु मध्ये एक भएको कम्पनीले जनाएको छ । कम्पनीका भाईस प्रेसिडेन्ट बसन्त सिंघलले स्लीपवेल एक परिपक्व ब्राण्ड भईसकेकाले उपभोक्ताका आकांक्षाहरुलाई निकै जिम्वारीका साथ कम्पनीले लिने गरेको बताए । उपभोक्ताहरुको प्राथमिकता अनुसार कम्पनीले हालै अत्याधुुनिक प्रबिधिमा उत्पादित माई म्याट्रेस सिरिज बजारमा ल्याएको छ । यस सिरिजका उत्पादनहरु उपभोक्ताको चाहना र बजेट अनुसारको कडापन, रंग, र मुल्यमा उपलब्ध छ । माई म्याट्रेस सिरिज प्रबिधि र आरामदियताको एक समिश्रण हो, जसले स्लीपवेलको माई म्याट्रेसलाई अन्य ब्राण्डभन्दा उच्चस्थानमा उभ्याएको छ । राजधानिको लाजिम्पाट स्थित होटर्ल याडिसनमा भएको कार्यक्रममा स्लीपवेलका तोकिएका म्याट्रेसको खरिदमा एउटा तकिया सित्तैमा पाईने उपभोक्ता उपहार कार्यक्रम समेत कम्पनीका भाईस प्रेसिडेन्ट बसन्त सिंघलले सार्वजनिक गरे । यो उपहार कार्यक्रम यहि असोज २ गते देखि कार्तिक १७ गतेसम्म नेपालभरी लागु गरिएको कम्पनीको भनाइ छ ।