इन्स्टाग्रामले ल्यायो ‘किओर्ड मोडरेसन टुल’, कमेन्ट फिल्टरसहित नचाहिएकोलाई ब्लक गर्ने मिल्ने
काठमाण्डौं, ५ असोज। काठमाडौं। सोसियल नेटवर्किङ साइट इन्टाग्रामले नयाँ फिचर थप गरेको छ। यो सँगै इन्टरनेटमा हुने ट्रोल विरुद्ध इन्स्टाग्रामले महत्वपूर्ण कदम चालेको छ। फेसबुकको फोटो सेयरिङ एप इन्स्टाग्रामले ‘किओर्ड मोडरेसन टुल’ को सुविधा ल्याएको छ, जसले भद्धा कमेन्टहरु आफै हटाइदिनेछ। कुन शब्द, वा वाक्य आफुलाई मनपर्दैन सेटिङमा गई ‘कस्टम किओर्ड’ मा ती शब्द इन्ट्री गरेपछि सो शब्द उल्लेख गरि कसैले कमेन्ट गरे सो कमेन्ट देखिने छैन। यो भन्दा अघि स्वाइप गरेर कमेन्ट डिलिट गर्ने सुविधा पनि कम्पनीले प्रयोगकर्तालाई दिएको थियो। यो नयाँ ‘किओर्ड मोडरेसन टुल’ पहिले ठूला ब्रान्ड अनि व्यावसायिक प्रयोगकर्ताको लागि मात्र उपलब्ध थियो। अब यो सुविधा सबै प्रयोगकर्ताले पाउने भएका हुन। इन्स्टाग्रामले हालै आफ्नो अपडेटेड एपमा पिन्च एण्ड जुम फिचर पनि थपेको छ। यो सुविधासंगै इन्स्टाग्राममा तस्बिर र भिडियो पिन्च जुम गर्न सकिनेछ। आईओएसमा मात्र रिलिज भएको यो फिचर छिट्टै एन्ड्रोइड एपमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ। गत जुनमा इन्स्टाग्रामले आफ्नो सक्रिय प्रयोगकर्ता पाँचसय मिलियन नाघेको घोषणा गरेको थियो।
बिहीबार धरानमा एनसेल मेला हुँदै
काठमाडौं, ५ असोज । देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वको अवसर पारेर आयोजना गरेको एनसेल मेला २०७३ धरान पुगेको छ । आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग खुशीयाली साट्न र चाडपर्वको शुभकामना आदान प्रदान गर्न एनसेलले बिहीबार पब्लिक हाई स्कुल मैदान, धरानमा यो मेला आयोजना गर्न लागेको हो । नारायणगढ, पोखरा र बुटबलमा दर्शक तथा आगन्तुकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्दै मन जित्न सफल यो मेलाले धरानका दर्शकहरुलाई पनि उतिकै रोचक र गीत संगीतमय रमाईलो भेटघाटको अवसर प्रदान गर्ने विश्वास लिईएको छ । बिहान ११ बजे शुरु हुने यस मेलामा दर्शकहरुले चर्चित कलाकारहरुको प्रस्तुती लगायत विविध कार्यक्रम र गतिविधीहरुको मज्जा लिन सक्नेछन् । चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलामा रहेनछन् । मेलामा कलाकारहरु सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, लाउरे, सन्दिप क्षेत्री, रेमोन दास श्रेष्ठ र समृद्घी राईको प्रस्तुतीहरु रहनेछन् । त्यसैगरी चर्चित सांगितीक समुह एक्स व्याण्डले आफ्नो उत्कृष्ट गीतहरु प्रस्तुत गर्ने छ भने डिजे रुपेश र कार्टुन्ज क्रुको प्रस्तुतीले दर्शकहरुलाई थप मनोरन्जन प्रदान गर्नेछ । साँझको समयमा युभि एन्जल्स् (विदेशी कलाकारहरु) ले आफ्ना विषेश प्रस्तुती गर्ने कार्यक्रम रहेको छ । मेलामा सबै उमेर समुहका दर्शकहरुलाई ध्यानमा राखेर रोचक कार्यक्रम तथा स्टलहरु समावेश गरिएका छन् । बालबालिकाका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका छन् । गेम स्टलहरुमा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु रहनेछन् । गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाउनेछन् । विभिन्न मनोरञ्जनात्मक गतिविधीहरुका साथ साथै मेलाका दर्शकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर लिन सक्नेछन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेल एक्सपेरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था मिलाईएको छ । त्यसैगरी एनसेल हाईटेक जोनमा आगन्तुकहरुले ‘भर्चुअल रियालिटी’ को अनौठो अनुभव बटुल्न सक्नेछन् । लाखे नाच, दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदी पनि मेलामा समावेश गरिएका छन् भने नेपाली, ईण्डियन र चाईनिज परिकारका स्टलहरु पनि रहनेछन् । धरान पश्चात एनसेल मेला अब असोज ८ गते बिर्तामोडमा पुगेर आयोजना पश्चात समापन हुनेछ । “तीन शहरहरुमा भव्य आयोजना पश्चात पुर्वमा नजिकिदै गरेको चाडपर्वको अवसरमा आफ्नो ग्राहकहरुसँग शुभकामना आदानप्रदान गर्न र खुसीयाली साट्न यो मेला आयोजना गरिदैछ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । मनोरन्जनात्मक कार्यक्रमहरुले भरिपुर्ण एनसेल मेलाले सबैलाई खुसी बाँड्ने र परिवारजन, आफन्त र साथीभाईसँग नजिक रहन थप उर्जा प्रदान गर्ने कुरामा हामी विश्वस्त छौ । ”
पहिलो किस्ताको रकम दुरुपयोग गर्नेलाई दोस्रोमा सहभागी नगराईने- प्राधिकरण
काठमाडौं, ५ असोज । भूकम्प पीडित जनतालाई घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने अनुदान रकम वितरणका क्रममा मापदण्डमा नपरेका व्यक्तिले पनि विभिन्न जिल्लामा अनुदान लिएको जानकारी प्राप्त हुन आएकाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ध्यानाकर्षण भएको छ । गलत विवरण पेश गरी, झुक्याई वा अन्य कुनै कारणले अनुदान प्राप्त गर्ने सूचीमा नाम परेका तर अनुदान प्राप्त गर्ने मापदण्डमा नपरेका व्यक्तिले पनि विभिन्न जिल्लामा अनुदान सम्झौता गरी आफूले पेश गरेको विवरण झुठ्ठा ठहरे कारवाहीका लागि मञ्जुर गरी सम्झौता गर्ने गरेकोमा सम्झौताको शर्तलाई उल्लघंन गरेको जानकारी प्राप्त भएका छन् । भूकम्प पीडित जनताले प्राप्त गर्ने रकम गलत विवरण पेश गरी अनुदान लिएमा, उजुरी परेमा र छानविनपछि दोषी देखिएमा सरकारले प्रचलित कानून बमोजिम कारवाही गरी सरकारी बाँकी सरह असूल उपर गर्ने प्रावधान रहेकोले सम्झौता बमोजिम अनुदान रकम सदुपयोग गर्न, घर बनाउने काममा मात्र उपयोग गर्न र घर बनाउने समयमा मात्रै सुविधा अनुसार बैंकबाट रकम भुक्तानी लिन अनुरोध छ । पहिलो किस्ता रकम दुरुपयोग गरेको पाइएमा दोस्रो किस्तामा सहभागी नगराउने कानूनी प्रावधान रहेको समेत सबैलाई जानकारी गराइएको छ । त्यसैले गलत विवरण पेश गरी अनुदान सम्झौता गरेकालाई रकम नलिन र लिइसकेको भएमा तत्काल फिर्ता गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछ । भूकम्पबाट घर पूर्ण रुपमा क्षति भएका, एकै परिवारको सदस्यको नाममा अर्काे स्थानमा घर नभएका र अनुदान सम्झौता गरी अनुदान प्राप्त गर्ने सूचीमा परेकाले मात्र अनुदान सहयोग रकम प्राप्त गर्न सक्नेछन् । भूकम्प अतिप्रभावित ११ जिल्लामा भूकम्प पीडित जनतासँग अनुदान सम्झौता भई घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने पहिलो किस्ता ५० हजार रुपैयाँ बैंकबाट वितरण गर्ने क्रम जारी छ । असोज ४ गतेसम्म ४ लाख ५० हजार ३२ घरधनीसँग अनुदान सम्झौता भई बैंक खातामार्फत रकम भुक्तानी गर्ने क्रम जारी रहेको छ । भूकम्पबाट घर भत्किएका सबै घरधनीहरुलाई अनुदान वितरण प्रक्रियामा सहभागी गराइने नीति रहेकोले अनुदान प्राप्त गरेपछि भूकम्प प्रतिरोधी घर पुनर्निर्माण गर्न प्राधिकरण सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ ।
वनलाई रोजगारी र आर्थिक विकासको आधारको रुपमा विकास गरिने
काठमाडौं, ५ असोज । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले वनको सुशासनको विकास, वैज्ञानिक व्यवस्थापन, अतिक्रमण कम गर्ने, मानव वन्यजन्तु द्वन्द्व नियन्त्रण गर्ने तथा वनलाई रोजगारी र आर्थिक विकासको आधारको रुपमा विकास गर्नेलगायतका विषयमा छोटो समयमै परिणाम आउने गरी विभिन्न कार्ययोजना ल्याउन लागेको जानकारी दिएका छन्। मन्त्री भण्डारीले रासससँगको कुराकानीमा वन क्षेत्र काठ, दाउरा आपूर्ति र वन्यजन्तु संरक्षणका लागि मात्र होइन, रोजगारी सिर्जना र देशको समग्र आर्थिक तथा सामाजिक विकास र वातावरण संरक्षणका लागि वन भन्ने नारासहित कार्यक्रम ल्याउन लागिएको जानकारी दिए । पाँच वर्षभित्र काठमा आत्मनिर्भर हुने गरी हाल भइरहेको काठकोे आयातलाई क्रमिक रुपमा प्रतिस्थापन गर्न काठको प्रभावकारी व्यवस्थापन तथा आपूर्ति व्यवस्था मिलाउन आफूले मन्त्रालयको जिम्मेवारी लिनेबित्तिकै समिति गठन गरी काम सुरु गरिसकेको उनले उल्लेख गरेका छन् । वनमा थुप्रिएर बसेका र बजारमा नल्याइएका काठलाई उपयुक्त गुणस्तरको भए काठकै रुपमा बजारमा आपूर्ति गर्ने व्यवस्था मिलाउने, काठको लागि उपयुक्त नदेखिएमा दाउराको रुपमा प्रयोग गर्न व्यवस्था मिलाउने र दाउराको रुपमा पनि उपयोग गर्न नसकिने भए वन क्षेत्रमा नै नष्ट वा व्यवस्थापन गरिने उनको भनाइ छ । हाल काठ आयातको मापदण्ड नभएकाले कमसलखालका काठको पनि आयात हुने गरेको तथा त्यससँगै विभिन्न रोग पनि भित्रिने अवस्था रहेकाले काठ आयातसम्बन्धी मापदण्ड तुरुन्त तयार गरी कार्यान्वयनमा ल्याउन लागिएको मन्त्री भण्डारीले जानकारी दिए। उनले भने, “एकातिर हाम्रै जङ्गलमा काठ खेर गइरहेका छन् भने अर्कोतिर अर्बौं मूल्य बराबरका काठ विदेशबाट आयात गर्नु परेको छ ।” वनमा बढ्दो अतिक्रमण नियन्त्रण गर्न कहाँ र कति भएको छ तथा अतिक्रमण कार्यमा संलग्नको पहिचान, छानबिन तथा मूल्याङ्कन गरी अतिक्रमण घटाउन कार्ययोजना तयार गरी तुरुन्त कार्यान्वयन गर्नु आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ । हाल मुलुकभर एक लाख हेक्टरभन्दा बढी वनको जग्गा अतिक्रमण भइरहेको मन्त्रालयले जनाएको छ । वनको विस्तारसँगै मानव वन्यजन्तु द्वन्द्वका घटना बढ्दै गएको सन्दर्भमा मानव तथा भौतिक क्षति तुरुन्त कम गर्ने उद्देश्यसहित आवश्यक कार्ययोजना बनाई जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र स्थानीयवासीसँग समन्वय गरी काम गर्न जिल्ला वन अधिकृत र बार्डेनलाई निर्देशन भइसकेकाले आगामी दिनमा यस्ता घटनामा कमी आउने उनको विश्वास छ । काठ र वन्यजन्तुका अङ्ग चोरी निकासीका कारक पहिचान गरी चोरी निकासीपूर्ण रुपमा रोक्न आवश्यक कार्ययोजना बनाई लागू गरिने उनले प्रतिबद्धता जनाए। यसका लागि अलग्गै सफ्वेयर तयार गरी काठ लोडिङ भएदेखि जिल्लाअन्तर ढुवानीको सम्पूर्ण विवरण वन विभागले सङ्कलन गरी काठ उत्पादन भएको ठाउँबाट जिल्लाभित्र भएका काठ ‘लोडिङ’ र ढुवानीको विवरण जिल्ला वन कार्यालयले तयार गर्ने व्यवस्था मिलाउन लागिएको मन्त्री भण्डारीले बताए । वनसम्बन्धी विद्यमान ऐन, नीति, निर्देशिका तथा कार्यविधिको कार्यान्वयनको अवस्था र प्रभावकारिताको विश्लेषण गरी वैज्ञानिक वन व्यवस्थापन तथा सुशासन सुधारका लागि मन्त्रालयले आवश्यक संशोधनको प्रक्रिया सुरु गरिसकेको छ । वन ऐन, २०४९ लाई समयसापेक्ष रुपमा संशोधन गर्न व्यवस्थापिका–संसद्को वातावरण संरक्षण समितिमा दफावार छलफल सुरु भइसकेको छ । वन क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्रको सहभागितामा जोड दिइने र यसका लागि ऐनमा आवश्यक संशोधन गरिने उनले बताए । मन्त्री भण्डारीले वनबाट राज्य र जनताले बढीभन्दा बढी लाभ लिन सकून् भनेर ऐनलाई समयसापेक्ष संशोधन गर्न लागिएको बताए । वन अतिक्रमण हटाउन, वैज्ञानिक विधिबाट काठको उत्पादनमा वृद्धि गरी विदेशी काठको आयात विस्थापन गर्न र ढलापडा काठको उचित सदुपयोग गर्न पनि ऐन संशोधनको आवश्यकता परेको उनको भनाइ थियो । रासस
सेयर बजार निरन्तर ओरालो, ९४ करोडको कारोबार, परिसूचक १७७९ अंकमा
काठमाडौं, ५ असोज । यो साताको शुरु देखि नै सेयर बजार निरन्तर ओरालो तिर लागिरहेको छ । बुधबार पनि नेप्से परिसूचक ७ दशमलब ३७ अंकले घटेर १७७९ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको देखिन्छ । सो दिन १४२ कम्पनीको २२ लाख १९ हजार कित्ता सेयर ९४ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ । सो दिन दुई समूहको परिसूचक सामान्य अंकले घटेको छ भने बाँकी अरु समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक करिब ५० अंकले घटेको छ । त्यस्तै, बीमा, हाइड्रोपावर, होटल, बैंकिङ् र फाइनान्स समूहको परिसूचक क्रमशः ३४, २०, ११, ८ र १ अंकले ओरालो लागेका छन् । विकास बैंक र अन्य समूहको परिसूचक क्रमश ०.६३ र ०.२९ अंकले उक्लिएका छन् । बजारमा सनराइज बैंक र नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल बङ्गलादेश बैंक, सिद्धार्थ बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको ४ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्थाका लागानीकर्ताले सबैभन्दा बढी ७ प्रतिशत कमाएका छन् । नविल ब्यालेन्स फण्ड १ का लागानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् ।
पोखरा फाइनान्सको १३ प्रतिशत बोनस दिने निर्णय राष्ट्र बैंकबाट स्वीकृत
काठमाडौं, ५ असोज । पोखरा फाइनान्स लिमिटेडको १३ दशमलब ५ प्रतिशत बोनस सेयर दिने निर्णयलाई राष्ट्र बैंकले स्वीकृती दिएको छ । त्यसका साथै फाइनान्सले कर प्रयोजनको लागि राखेको ०.७१ प्रतिशत नगद लाभांश दिने निर्णयलाई पनि बैंकले स्वीकृत गरेको छ । बैंकले स्वीकृत गरेको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।
एकिकृत कारोबार लगत्तै सेयर कारोबार खुल्ने, मर्ज तोडिएमा १५ भित्र कारोबार गर्नैपर्ने
काठमाडौं, ५ असोज । नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तिय संस्था मर्ज भएर एकिकृत कारोबार सुरु भए लगत्तै सेयर कारोबारको व्यवस्था मिलाउन निर्देशन दिएको छ । बोर्डले बुधबार सूचिकृत कम्पनीहरुलाई मर्जपछिको एकिकृत कारोबार लगत्तै सेयर कारोबारको व्यवस्था गर्न निर्देशन दिएको हो । हाल एकिकृत कारोबार सुरु भएपछि नेपाल राष्ट्र बैंकको स्विकृतिमा मात्रै सेयर कारोबार खुल्ला गर्न पाउने व्यवस्था रहेको छ । केन्द्रिय बैंकले एक हप्तादेखि एक बर्षसम्ममा सेयर कारोबारका लागि अनुमति दिँदै आएको छ । प्रभु बैंकले मर्जपछि एकिकृत कारोबार थालेको एक वर्ष पुग्नै लागेपनि केन्द्रिय बैंकले सेयर कारोबारका लागि अनुमति र्दिएको छैन् । त्यस्तै, बोर्डले मर्जर तोडिएको १५ दिनभित्रै सेयर कारोबार खुल्ला गर्ने व्यवस्था मिलाउन पनि सूचिकृत बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ । हाल कुमारी र एनसीसी बैंक सम्मिलित मेगा मर्ज तोडिएपछि यी संस्थाको सेयर कारोबार बन्द रहेको छ । बोर्डले आफ्नो निर्देशनमा भनेको छ–‘सूचीकृत कम्पनीहरुको गाभ्ने/गाभिने कार्य सम्पन्न भई एकीकृत कारोबार शुरु भएसंगै शेयर कारोबार शुरु गर्ने व्यवस्था गर्ने र सो हुन नसकेमा वढीमा १५(पन्ध्र) दिन भित्र अनिवार्य रुपमा कारोबार हुने व्यवस्था गर्ने ।’ बोर्डको निर्देशनले नेपाल राष्ट्र बैंकको निर्णय प्रक्रियालाई छिटो र सहज बनाउन दबाव दिएको छ । हाल केन्द्रिय बैंकले मर्जपछिको एकिकृत कारोबार र मर्ज तोडिएका संस्थाहरुको सेयर कारोबार खुलाउन तजबिजमा निर्णय गर्दै आएको छ । ठोस मापदण्ड बिनै केन्द्रिय बैंकले कुनै संस्थालाई एक हप्तामै सेयर कारोबारको अनुमति दिने गरेको छ भने कुनैले बर्षदिन बित्दा समेत सेयर कारोबार खुलाउन अनुमति पाउने गरेका छैनन् । बोर्डको यो निर्देशनले लगानीको हित हुने देखिन्छ ।
सुबिसुको दशैं तिहार योजनामा किल्यर टीभी र वाइरलेस केवल मोडम सित्तैमा
काठमाडौं, ५ असोज । नेपालको एक अग्रणी टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेटले नेपालीहरुको महान चाड दशैं तिहारको अवसर पारेर आफ्ना ग्राहकवर्गहरु लागि ‘दशैं तिहार योजना’ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकवर्गले प्रस्तुत गरिएका ईन्टरनेट र क्लियर टिभि प्याकेजको खरिदमा फ्रि किल्यर टीभी एचडी सेट–टप बक्स र वाइरलेस केवल मोडम सित्तैमा प्राप्त गर्न सक्ने छन् । दशैं अफर अन्तर्गत ग्राहकहरुले विभिन्न अफरहरु छुट्टाछुट्टै मूल्यमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकहरुले किल्यर टीभी २ हजार ९९९ रुपैयाँ, केवल इन्टरनेट ५ हजार ९९९ रुपैयाँ, केवल इन्टरनेट एण्ड किल्यर टीभी कोम्बो ५ हजार ९९९ रुपैयाँमा प्राप्त गर्न सक्ने बताएको छ । ग्राहकहरुले अन्य अफरहरुमा अनलिमिटेड केवल इन्टरनेट एण्ड किल्यर टीभी कोम्बो अफर ७ हजार ९९९ रुपैयाँ र फिप्त्थ इन्टरनेट एण्ड किल्यर टीभी कोम्बो ९ हजार ९९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार ईन्टरनेट, क्लियर टीभी र ईन्टरनेट र क्लियर टीभीको कोम्बो प्याकेज खरिद गर्न सक्नेछन् । यो योजना सिमित अबधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।