अल्पाइन डेभलपमेन्ट बैंकको संस्थापक निर्देशकमा अधिकारी नियुक्त
काठमाडौं, ६ असोज । अल्पाइन डेभलपमेन्ट बैंकको संस्थापक निर्देशकमा शुदर्शनप्रसाद अधिकारी नियुक्त भएका छन् । भदौ २५ गते बसेको कम्पनीको १६औँ सञ्चालक समितिको बैठकले अधिकारीलाई दोश्रो कार्यकालका लागि संस्थापक निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । अधिकारीले आगामी चार बर्षसम्म कम्पनीको संस्थापक निर्देशकको जिम्मेवारी सम्हाल्नेछन् । कम्पनीले संस्थापक निर्देशकमा अधिकारी रहेको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको छ ।
साढे २ प्रतिशतले घट्यो रेमिट्यान्स
काठमाडौं, ६ असोज । चालु आर्थिक वर्षको पहिलो एक महिनामै रेमिट्यान्स भित्रिने क्रम घटेको छ । साउन महिनामा रेमिट्यान्स आउने क्रम दुई दशमलब ५ प्रतिशतले घटेर ५१ अर्ब ५१ अर्ब ९४ करोडमा सिमित भएको हो । गत आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स २६ दशमलब ३ प्रतिशतले बढेको थियो । रेमिट्यान्स घटेपछि खुद ट्रान्सफर आय पनि २ दशमलब ५ प्रतिशतले कम भएर ५९ अर्ब ७९ करोड रुपैंयाँमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २९.७ प्रतिशतले बढेको थियो ।
परिसूचक र कारोबार दुबै ओरालो लाग्दा दुई कम्पनीको सेयर मूल्य १०% ले वृद्धि
काठमाडौं, ६ असोज । बिहीबार नेप्से परिसूचक १२ अंकले घटेर १७६६ अंकमा पुगेको छ । सेयर बजारमा परिसूचक सँगै कारोबार रकम पनि घटेको छ । सो दिन १४० कम्पनीको जम्मा ९ लाख १६ हजार कित्ता सेयर कारोबार भएको छ । बिहीबार ९० करोड रुपैयाँको करोबार भएको छ । जुन बुधबारको तुलनामा ४ करोड रुपैयाँले घटी हो । बजारमा एभरेष्ट बैंक कन्भर्जन अफ प्रिफेरेन्स र यूनाइटेड फाइनान्स कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । त्यस्तै वेष्ट्रर्न डेभलपमेन्ट बैंकको करिब ८ प्रतिशतले सेयर मूल्य बढेको छ । किसान माइक्रोफाइनान्स वित्तिय संस्था र नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले करिब ५ प्रतिशतले घटेको छ । बिहीबार नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड रुपैयाँको र शिखर इन्स्योरेन्स कम्पनीको ५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र सानिमा बैंकको ४ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ ।
रोयल इनफिल्डको हिमालयन बाइक नेपालमा, मूल्य ५ लाख ६१ हजार
काठमाडौं, ६ असोज । रोयल इनफिल्डको हिमालयन मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ । नेपालको एडभेञ्चर टुरिजमका लागि भन्दै दुगड समुहले हिमालयन मोटरसाइकल नेपाली बजारमा भित्र्याएको हो । ५ लाख ६१ हजार रुपैंयाँ पर्ने एलएस ४१० मोटरसाइक बिशेष नेपालका लागि निर्माण गरिएको हो । उकालो, ओरालो, जंगल र हिमाली सडकहरुका लागि बिशेष फिचरसहित निर्माण गरिएको हिमालयनले नेपालको पर्यटन प्रवद्र्धनमा समेत सहयोग गर्ने कम्पनीले दावी गरेको छ । रोयल इनफिल्डको हिमालयन प्रोजेक्ट लिडर प्रदिप भ्याथ्युले १५ लिटरको पेट्रोल ट्यांकी रहेको त्यसले ४५० किलोमिटर माइलेज दिने बताए । बलियो टायर, शक्तिशाली फ्रन्ट तथा ब्याक ब्रेक सहित सफट् लगेज, जेरि क्यान अड्काउने ठाउँ र डिस्क ब्रेकको सुबिधा यसमा रहेको छ । नेपालको बजार अनुसन्धान गरेरै हिमालयन मोटरसाइकल नेपाल भित्र्याएको दुगड समुहका अध्यक्ष मोतीलाल दुगडले बताए । रोयल इनफिल्ड हिमालयनले मोटरसाइकल पारखीहरुका लागि नयाँ आयाम थप्ने कम्पनीले दावी गरेको छ । सन १९०१ मा पहिलो पटक मोटरसाइकल निर्माण गरेको कम्पनीले भारतको आइसर कम्पनीसँग जोइन्ट भेञ्चरमा मोटरसाइकल उत्पादन गर्दै आएको छ । नेपालमा रोयल इनफिल्डका ८ वटा शोरुम रहेका छन् । नेपालमा रोयलको बुलेट ३५० सीसी, थण्डरभोल्ट ५०० सीसी, कन्टिनेन्टल ५३५ सीसी र क्याफे रेसर र हाल भित्रिएको हिमालयन लगायतका मोटरसाइकलहरु बिक्रि भैरहेका छन् ।
हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने
काठमाडौं, ६ असोज । हेटौंडा कपडा उद्योग पुनः संचालन गर्ने सम्वन्धमा वस्तुस्थितिको अध्ययन गरी १५ दिनभित्र सुझावसहित प्रतिवेदन पेश गर्न अर्थशास्त्री एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. पुष्कर बज्राचार्यको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरिएको छ । समितिले उद्योग पुनः सञ्चालनका लागि उपयुक्त मोडालिटी, प्रक्रिया, मेशिन र पूर्वाधारको अवस्था, उद्योगमा हुन सक्ने लगानीका विकल्पहरु र उद्योगबाट हुने उत्पादनको लागि बजारको सम्भाव्यता अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने छ । समितिमा अर्थ मन्त्रालयका सहसचिव हरिशरण पुडासैनी, उद्योग मन्त्रालयका सहसचिव यमलाल भुषाल, नेपाली सेनाको प्रतिनिधि, नेपाल प्रहरीको प्रतिनिधि, सशस्त्र प्रहरीको प्रतिनिधि एवं निजी क्षेत्रबाट रामएकबल यादव, अजय मुडबरी र विना गौतम श्रेष्ठ सदस्य रहेका छन् । सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार हालै मात्रै रुग्ण बनेको नेपाल औषधि लिमिटेडलाई पुनः सञ्चालनको निर्णय गरेको सरकारले आफ्नो पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग पनि पुनः सञ्चालनको तयारी थालेको हो । यो उद्योग २०५७ साल देखि बन्द छ । यस उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्न सक्ने क्षमता छ ।
सुपथ मूल्य पसलमा नै कम तौलको सामान
काठमाडौं, ६ असोज । चाडबाडलाई लक्षित गरी सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा नै कम तौलको सामान भेटिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा साल्ट ट्रेडिङले जावलाखेलमा राखेको पसलमा दुई किलोको चिनीको प्याकेटमा २० ग्राम कम भेटेपछि विभागले सामान तौलेर मात्र बिक्री वितरण गर्न निर्देशन दिएको छ । दुई हप्तादेखि रोकिएको बजार अनुगमन मङ्गलबारदेखि विभागले पुनःतीव्र पारेको छ । गत शनिबारदेखि सरकारले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । विभागले आज १७ वटा पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा दर्ता नगरी सञ्चालन गरेका, सरकारले तोकेअनुसारको मूल्यसूची नराखेको र सरसफाइ नगरेको भन्दै श्री पोखरा फार्मेसी गोँगङ्बु, आमिन फार्मेसी गोँगङ्बु, कामना फार्मेसी गोंगङ्बु, युनिभर्सल फार्मेसी टोखा, श्री जय माँ लक्ष्मी मेडिकल हल टोखा, गोसाइँकुण्ड स्वास्थ्य सेवा केन्द्र गोंगङ्बु, श्री पाटन ओम पोलिकिल्निक लगनखेल, फेमेली माइल डेन्टल केयर सेन्टल लगनखेललाई मूल्यसूची राख्न, दर्ता गरी सञ्चालन गर्न निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए । विभिन्न स्थानका खाद्य पसलमा गरिएको अनुगमनमा नापतौल मेसिन नभएको, मिति नाघेको खाद्य सामग्री भेटिएको, लेबल नभएको र सरसफाइ नभएको हुँदा श्री पसलमा सेजवाल डिपार्टमेन्टल स्टोर जावलाखेल, भाटभटेनी सुपर स्टोर बौद्ध, मेघा मार्ट खुमल्टार, श्री राम स्टोर खुमल्टारलाई मिति सकिएको सामग्री बिक्री वितरण रोकी नापतौल मेसिन राख्न निर्देशन दिइएको छ । बाजेको सेकुवा प्राली बत्तिसपुतली, बाजेको सेकुवा प्राली सिनामङ्गल, श्री बाजेको सेकुवा, कमलपोखरीलाई सरसफाइ गरी पसल सञ्चालन गर्न निर्देशन दिइएको छ । रासस
पुल र बस्ती संरक्षणमा चार करोड २५ लाख रुपैयाँ खर्च लाग्ने
पोखरा, ६ असोज । कास्की जिल्लाको पोखरा उपमहानगरपालिका–१७ स्थित दोविल्लामा केही दिनयता लगातार परेको पानीका कारण फुस्रो खोलाको कटानबाट प्रभावित बस्ती र पुल संरक्षण गर्न चार करोड २५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति कास्कीले जिल्लामा बाढीका कारण भएको क्षतिबारे सरोकारवाला निकायसँग जिल्ला प्रशासन कार्यालयमा गरेको छलफलमा सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर नवराज बास्तोलाले उक्त जानकारी दिए । उनले पुल र बस्तीमा परेको क्षति सम्बन्धमा स्थलगत अवलोकन गरेको जानकारी दिँदै पुलको पूर्व किनारातर्फ २५० मिटर लम्बाइको पक्की पर्खाल र तारजाली लगाउनु आवश्यक भएको हुँदा सडक डिभिजन र पुल महाशाखामा बजेट निकासका लागि पत्राचार गरिसकिएको बताए । फुस्रेखोलाको लगातारको कटानले सो क्षेत्रका ४२ घरपरिवारमध्ये १५ घर उच्च जोखिममा परेको र पक्की पुलबाट मालबाहक साधन आवागमनमा समेत रोक लगाइएको छ भने सो क्षेत्रमा रहेका विभिन्न संस्थाका भौतिक संरचना जोखिममा परेका छन् । बाढीका कारण कास्की जिल्लाका कृषितर्फ लगभग दुई करोड छ लाख ७४ हजार रुपैयाँ क्षति भएको जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख रमेशप्रसाद कोइरालाले सो अवसरमा जानकारी दिए । उनका अनुसार जिल्लामा तरकारी, धान, माछा एवम् पशुपालनतर्फ धेरै क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक हरिप्रसाद मैनालीले विगतका तुलनामा जिल्लामा मानवीय क्षतिमा कमी आए पनि भौतिक क्षति भने धेरै भएको बताए । उनले बाढीले भत्केका बाटो तथा ढल मर्मतका लागि चाडपर्व अगाडि नै नगरपालिकाले कार्य अघि बढाउनुपर्ने धारणा राखे । कार्यक्रममा जिल्लास्थित सिँचाइ, खानेपानी, रेडक्रस, पशुसेवा, जलउत्पन्न, भूसंरक्षणलगायत विभिन्न कार्यालय एवम् जिल्लाका राजनीतिक पार्टी प्रतिनिधिको सहभागिता रहेको थियो । रासस
साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २७ प्रतिशत बोनस सेयर दिने
काठमाडौं, ६ असोज । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पूँजी ८६ करोड ८४ लाख रुपैयाँ रहेको छ भने बोनस सेयर पश्चात बैंकको पूँजी एक अर्ब १० करोड रुपैयाँ पुग्ने छ । बिहीबार बैंकको प्रतिकित्ता सेयर ६३३ रुपैयाँमा कारोबार भइरहेको छ ।