विकासन्युज

बजारको ७५ प्रतिशत हिस्सा टेलिकमको बनाएर छाड्छु : नेपाल टेलिकमका नबनियुक्त प्रबन्ध निर्देशक राजभण्डारीसँगको अन्तरवार्ता

सररकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा सोही कम्पनीको प्रमुख प्राविधिक अधिकृत कामिनी राजभण्डारीलाई नियुक्त गरेको छ । सेयर पुँजी र ग्राहक संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो, वार्षिक १२ अर्ब नाफा गरेर सरकारी लगानी रहेको कम्पनी मध्ये सबैभन्दा अगाडि रहेको यो कम्पनीको कार्यकारी प्रमुख पदमा महिला पुगेको पहिलो पटक हो । को हुन्न त यी महिला ? कसरी हाँक्लिन उनले यति ठूलो कम्पनी ? प्रस्तुत छ विकासन्युजले उनीसँग गरेको टेलिफाेन वार्ता । तपाईको व्यक्तिगत पृष्ठभूमि के हो ? फेसबुक फाेटाे मैले पञ्जाव इन्निनियरिङ कलेज चण्डिगढबाट इलेक्ट्रोक्सि एण्ड कम्यूनिकेशन विषयमा विई गरेको र पछि एआईटी कलेजबाट मास्टर गरेको छु । नेपाल टेलिकममा ३० वर्ष पहिले इन्जिनियरको रुपमा प्रवेश गरेको थिए र आजसम्म प्रमुख प्राविधिक अधिकृत (११ औं तह) मा कार्यरत छु । नेपाल टेलिकममा म अहिले सिनियर मोष्ट नै हुँ । तपाईको पारिवारिक पृष्ठभूमि भन्न मिल्छ ? मेरो श्रीमान एरोनेटिक इन्जिनियर हुनुहुन्छ, दिगम्भरप्रसाद राजभण्डारी । उहाँ प्राइभेट एयरलाईन्समा काम गर्नुहुन्छ । मेरो दुई छोरा छन् । जेठो छोरा कम्प्यूटर साइन्स्मा मास्टर गरेर अमेरिकामा काम गरिरहेको छ । कान्छो छोरा दिल्लीमा कम्प्यूटर इन्जिनियरिङ पढ्दैछ । नेपाल टेलिकम कम्पनी हाँक्ने तपाईको योजना केके छन् ? यहि कम्पनीमा तीस वर्ष काम गरेको अनुभव छ । ५० प्रतिशत भन्दा बढी नेपालीले नेपाल टेलिकमको सेवा लिन्छन् । उनीहरुलाई निरन्तर गुणस्तरीय सेवा दिने मेरो अठौट हो । त्यस्तै, सेवालाई निरन्तर विस्तार गर्ने र बजार हिस्सा बढाउन मेरो प्रयास केन्द्रीत हुन्छ । अहिले टेलिकमले कुल बजारको ५३ प्रतिशत हिस्सा लिएको छ । यसलाई वृद्धि गर्छु । १० वर्षअघि नेपालको दुरसञ्चार बजारमा टेलिकमको एक छत्र राज थियो । सतप्रतिशत बजार टेलिकमको थियो । अहिले ५३ प्रतिशतमा सीमित भयो । अब तपाईले आफ्नो कार्यकालमा बजार हिस्सा कति प्रतिशत पुर्याउनुहुन्छ ? मेरो कार्यकाल तीन वर्षको हुनुपर्छ । तीन वर्ष मैले काम गर्न पाएँ भने टेलिकम्यूनिकेशन मार्केटको ७५ प्रतिशत हिस्सा नेपाल टेलिकमको बनाएर छोड्छु । हरेक वर्ष प्रतिस्पर्धी कम्पनीहरुले नेपाल टेलिकमका ग्राहक खोसेर लगिरहेका छन्, नेपाल टेलिकमको बजार हिस्सा घट्दो छ । बजार हिस्सा ७५ प्रतिशत पुर्याउने तपाईको भनाईलाई कसरी विश्वास गर्ने ? तीन वर्षमा बजारको ७५ प्रतिशत हिस्सा नेपाल टेलिकमको बनाउने मेरो प्रतिवद्धता हो । नियुक्ती पत्रसमेत लिन बाँकी भएको अवस्थामा धेरै कुरा बोल्नु राम्रो हुँदैन । केही दिनपछि तपाईसँग डिटेलमा कुरा गरौंला । आज यति मात्र गर्न चाहान्छु । यसअघिकाे समाचार नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त, नेपालको सबैभन्दा ठूलो कम्पनीको कार्यकारी प्रमुख पनि महिला 

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त, नेपालको सबैभन्दा ठूलो कम्पनीको कार्यकारी प्रमुख पनि महिला

काठमाडौं, ६ असोज । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त गरेको छ । टेलिकममै प्रमुख प्राविधिक अधिकृत पदमा कार्यरत राजभण्डारीलाई मन्त्रिपरिषदको विहीवार बसेको बैठकले अगामी तीन वर्षको लागि प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । सेयर पुँजीको आधारमा नेपालको सबैभन्दा ठूलो कम्पनीको कार्यकरी प्रमुख पदमा महिला पुगेको यो पहिलो पटक हो । राष्ट्रपति, सभामुख, प्रधानन्याधिश लगायत महत्पपूर्ण पदमा महिला पुगेको अवस्थामा ९५ प्रतिशत सेयर सरकारको स्वामित्वमा रहेको कम्पनीको कार्यकारी प्रमुख पद पनि महिलाले पाएकी छिन् । सरकारी स्वामित्मा रहेका कम्पनी मध्ये नेपाल टेलिकम सबैभन्दा बढी नाफा गर्ने र सरकारलाई सबैभन्दा बढी कर बुझाउने संस्था हो । तर पछिल्लो समय नेपाल टेलिकम प्रतिस्पर्धामा पछाडि धकेलिदै गएको छ । राजभण्डारीले केही महिनाअघि मात्र उत्कृष्ट इन्जिनियर्स अवाड पाएकी थिइन् । ५४ औँ इन्जिनियर्स दिवसको अवसरमा गत साउन ३ गते नेपाल इन्जिनियर्स एसोसिएशनले उनलाई उत्कृष्ट इन्जिनियर्स अवार्ड दिएको थियो । तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मान थाप्दै नवनियुक्त कामिनी राजभण्डारी। टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यको कार्यकाल सकिएपछि सरकारले गत असार २५ मा खुला प्रतिस्पर्धाका आधारमा टेलिकम प्रमुख माग गरेको थियो । त्यसमा नेपाल टेलिकम भित्रबाट ९ जना र बाहिरवाट चार जनाले आवेदन दिएका थिए । सिफारिस समितिले आवेदकमध्येबाट ६ जनालाई सर्टलिष्टमा राखेर अन्तरवार्ता गर्ने र ती मध्येबाट उत्कृष्ट तीनजनालाई विहीवार मन्त्रीपरिषदमा पेश गरेको थियो । छनौट समितिले तयार पारेको सर्ट लिस्टमा टेलिकम भित्रैबाट आवेदन दिनेमध्ये नायब प्रबन्ध निर्देशक कामिनी वाहेक मानव संसाधन प्रमुख रवीन्द्र झा, प्रबन्धकहरू वटुक आनन्द वैद्य, सुनीलकुमार पोखरेल र गुणकेशरी प्रधान थिए । यसैगरी टेलिकम वाहिरबाट मदन खरेल परेका थिए ।

सिप्रदी ट्रेडिङ्गको एक्साईडद्वारा सञ्चालित डिलरमिट सम्पन्न

काठमाडौं, ६ असोज । सिप्रदी ट्रेडिङ्ग प्रा.लिको एक्साइड डिभिजनद्वारा डिलरमिट कार्यक्रमको समापन भएको छ । कम्पनीले आफ्ना डिलरहरुको आवश्यकतालाई ध्यानमा राखि देश भरि छरिएका सबै डिलरहरुलाई एकै ठाउँमा भेला गरि सो कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा एक्साइड ब्याट्रिको राम्रो बिक्री गर्ने डिलरहरुलाई बिधा अनुसार पुरस्कृत गरिएको छ । कम्पनीका अनुसार अटोमोटिभ, इन्र्भटर र माटरसाईकल बिधामा प्लाटिनियम, गोल्ड–सिल्भर परफरमर अवार्डबाटबाट सम्मानित गरिएको छ । सोही कार्यक्रममा एक्साइड ब्याट्रीसँग १६ बर्ष देखि सहकार्य गर्दै आएका अभिषेक इन्टरप्राइजेज राजविराजलाई पनि सम्मान पत्र वितरण गरिएको कम्पनीले जनाएको छ ।

प्राइम बैंकका सिइओ नारायणदास मानन्धरको कार्यकाल थपियो

काठमाडौं, ६ असोज । प्राइम कर्मसियल बैंकका सिइओ नारायणदास मानन्धरको कार्यकाल तीन वर्ष थपिएको छ । भदौ २५ गते बसेको बैंकको २८६औँ सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा मानन्धरको समय थप्ने निर्णय गरेको हो । मानन्धरले प्रमुख कार्यकारी अधिकृत भएर  बैंकमा एक कार्यकाल पुरा गरिसकेका छन् । बिहीबार नेप्सेमा प्रकाशित सूचना अनुसार उनले अझै तीन वर्ष सो बैंकको सिइओ भएर काम गर्नेछन् ।

७६ करोड खर्चेर दारी काट्छन् नेपाली, कपाल काट्ने कैँचीलाई अढाई करोड खर्च

काठमाडौं, ६ असोज । दैनिक लाखौं नेपालीले दारी काट्छन् र सोही मात्रामा कपाल पनि । त्यही दारी कपाल काट्ने मेसिनका  लागि करोडौं रुपैंयाँ विदेशीने गरेको छ । गत आर्थिक वर्षमा मात्रै नेपालीले ७६ करोड ७३ हजार ५ सय ५५ रुपैंयाँ बराबरका दारी काट्ने मेसिन प्रयोग गरेका छन् । नेपालीले ४६ लाख ४७ हजार रुपैंयाँ बराबरका २६ लाख २९ हजार व्लेड प्रयोग गरेका छन् । सात करोड ६ लाख रुपैंयाँ बराबरको २६ लाख वटा रेजर प्रयोग गरेका छन् भने ६८ करोड ४६ लाख ६२ हजार एक सय ३६ रुपैंयाँ बराबरको सेफ्टी रेजर ब्लेड प्रयोग गरेका छन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार एक लाख १५ हजार ३ सय ५५ रुपैंयाँ मुल्य बराबरका रेजर तथा ब्लेडका पार्टपुर्जा आयात गरिएको छ । नेपालले कपाल काट्ने कैँची मात्रै २ करोड ४३ लाख ७४ हजार एक सय ४७ रुपैंयाँ बराबरको आयात गरेको छ । सो रकमबाट २० लाख ५७ हजार ७ सय ९५ वटा कैचीँ आयात गरेको छ । नेपालले चीन, भारत, अमेरिका, बेलायत, युएइ, पाकिस्तान, बंगलादेश, जर्मनी, फ्रान्स, मेक्सिको, भियतनाम, रसिया, दक्षिण कोरिया, पोल्याण्ड, चेक रिपब्लिक, ताइवान, नेदरल्याण्ड, मलेसिया, ग्रीस लगायतका २४ देशबाट दारी तथा कपाल काट्ने समान आयात गर्दै आएको छ ।

इजरायली वैज्ञानिक सेक्चमेनले चढे काठमाडौंको चन्द्रागिरि

काठमाडौं, ६ असोज । लोवा स्टेट युनिभर्सिटी मटरियल साइन्सका प्राध्यापक एवं सन् २०११ मा रसायन शास्त्रको नोवेल पुरस्कार विजेता इजरायली वैज्ञानिक डान सेक्चमेन काठमाडौंको चन्द्रागिरिमा निर्माण भएको केबुलकारको भ्रमण गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका बोर्ड डाइरेक्टर एवं आईएमई समूहका प्रवन्ध निर्देशक हेम राज ढकालले उनलाई चन्द्रागिरि हिल्स स्थित स्वागत कक्षमा स्वागत गरेका हुन् । १३ औं अन्तर्राष्टिय क्वाजिक्रिस्टल सम्मेलनमा भाग लिन आएका सेक्चमेनले चन्द्रागिरि परियोजना नेपालको पर्यटन विकासमा महत्वपूर्ण हुने बताएका छन् । उनलाई निर्देशक ढकालले भालेश्वर महादेव मन्दिरको चित्र सहित मायाको चिनो प्रदान गरेका थिए ।

ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा कैलालीमा

काठमाडौं, ६ असोज । ग्लोबल आइएमई बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा कैलाली जिल्लामा थप २ वटा शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बिहीबारदेखि बैंकले कैलाली जिल्लाको ओलानी र सोल्टामा उक्त सेवा शुरु गरेकोे हो । उक्त दुई सेवाको बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटाले व्यवसायीक प्रतिनिधिलाई प्रमाणपत्र तथा मसिन हस्तान्तरण गरेर उद्घाटन गरेका छन् । बैंकिङ्ग सेवा उपभोग गर्न टाढा सम्म धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै बैंकले शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेको बैंकले जनाएको छ । उक्त सेवाको सञ्चालन पछि स्थानिय बासिन्दाले घरदैलोबाटै सेवा उपभोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । बैंकले ओलानीमा शुरु गरेको सेवा सञ्चालनका लागि स्थानिय नविन बहादुर सिंह र सोल्टामा गरेको सेवाको लागि स्थानिय हिरादेवि जैसीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । कैलालीमा शुरु गरिएका २ सेवा सहित ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ४४ पुगेको छ । ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवामा पैसा जम्मा गर्नेे, भुक्तानी गर्ने, मोवाईल रिर्चाज गर्ने तथा आफ्नो खाताबाट अरुको खातामा पैसा ट्रान्सफर गर्ने लगायतका सुबिधा रहेका छन् । ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सेवा पुग्न नसकेका स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट आधारभुत बंैकिङ्ग सेवा पुर्याउदै आएको छ । यस संगै ग्लोबल आइएमई बैंकका ९१ शाखा, १०३ एटिएम र ४४ शाखारहित बैंकिङ्ग सेवा पुगेका छन् ।

दोलखाका चार हजार विद्युत् पोल जीर्ण अवस्थामा, ठूलो क्षति हुनसक्ने अनुमान

दोलखा, ६ असोज । नेपाल विद्युत् प्राधिकरण दोलखा शाखाले जिल्लाभर चार हजार काठका पोल जीर्ण अवस्थामा रहेको जनाएको छ । जिल्लामा केही सातादेखि अनियमित रुपमा विद्युत् आपूर्ति गडबड भएपछि पछिल्लो समय प्राधिकरण दोलखा शाखा विवादमा फसेको थियो । शाखाका प्रमुख शेरबहादुर सुनुवारले जिल्लामा चार हजार काठका पोल जीर्ण अवस्थामा पुगेको र वर्षात्को समयमा धेरै पोल ढल्ने गरेकाले विद्युत् समय समयमा सर्ट हुने गरेको जानकारी दिए । लामोसाँघुबाट विद्युत् ल्याउन निकै समस्या भएको बताउँदै उनले वर्षात्को समयमा सबैभन्दा बढी विद्युत् अनियमितता हुने गरेको बताए । लामोसाघुदेखि मुडेसम्म जङ्गल हुँदै विद्युत् ल्याउनुपर्ने भएकाले पनि समस्या आएकाले समधानको लागि माथिल्लो निकायसँग छलफल भइरहेपनि कार्यान्वयन हुन सकेको छैन । चार हजार पोल फेर्नको लागि करिब १० करोड रुपैयाँ लाग्छ तर त्यत्तिको रकम कार्यालयले खर्च गर्नसक्ने अवस्था नभएको प्रमुख सुनुवारले जानकारी दिए । काठको पोल जीर्ण भएपछि जुनसुकै बेला ठूलो दुर्घटना हुनसक्ने भएकाले स्थानीयलाई सचेत रहन कार्यालयले आग्रह गरेको छ । जिल्ला विकास समितिलाई विद्युत् मार्फत आउने राजस्वको केही प्रतिशत विद्युत् प्राधिकरणलाई छुट्याउन आग्रह गर्दा पनि बेवास्ता गरेको कार्यालयको भनाइ छ । दोलखामा गम्भीर दुर्घटना हुनसक्ने नेपाल विद्युत् प्राधिकरण दोलखा शाखाले विस्तार भएका विद्युत् प्रसारण लाइन जिर्ण भएका कारण दोलखामा गम्भीर दुर्घटना हुनसक्ने औँल्याइएको छ । आव २०७२/०७३ को प्रतिवेदनमा अनुसार कुनै पनि दिन, कुनै पनि क्षण प्रसारण लाइनको कारण गम्भीर दुर्घटना हुनसक्ने सो शाखाले जनाएको हो । प्रतिवेदन अनुसार जिल्लाका विभिन्न स्थानमा गाडिएको चार हजार काठको पोल जीर्ण अवस्थामा रहेको र फेरबदलको लागि कुनै पहलन बताइएको छ । जिल्लामा ३३ केभी प्रसारण लाइन रहेकामा नियमित विद्युत् आपूर्तिमा समस्या भइरहने, सिंगटी सवस्टेसन चालु हुननसक्दा ११ केभी प्रसारण लाइन समेत अवरुद्ध हुने गरेको शाखाका लेखाप्रमुख टेकबहादुर श्रेष्ठले जानकारी दिए । जिल्लामा ३३ केभी लाइन १३१ किलोमिटर, ११ केभी लाइन ३८३ किलोमिटर र ४००/२३० भोल्ट लाइन ०५२ किलोमिटर रहेको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा १० आंशिक र ११ पूर्णरुपले विद्युतीकरण हुन बाँकी गाविस रहेको र २७ गाविस र दुई नगरपालिकामा भने राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युतीकरण भएको त्यस्तै समुदायस्तरबाट चार गाविसमा विद्युतीकरण भएको र ती स्थानमा समेत पोल जीर्ण भए पछि कुनै पनि बेला दुर्घटना हुनसक्ने औँल्याइएको हो । रासस