एभरेष्ट बैंकद्वारा रत्न राज्य विद्यालयलाई शद्ध पिउने पानी वितरण
काठमाडौं, १० असोज । एभरेष्ट बैंकले बानेश्वरको रत्न राज्य उच्च माध्यमिक विद्यालयलाई शुद्ध पिउने पानी सेवा हस्तान्तरण गरेको छ । उक्त सेवाको उद्घाटन भूतपूर्व उप प्रधानमन्त्री प्रकाशमान सिंह तथा बैंकका अध्यक्ष बिके श्रेष्ठले गरेका हुन् । उक्त कार्यक्रममा पूर्व मन्त्री, सभासदहरु, पन्जाव नेशनल बैंक तथा एभरेष्ट बैंकका उच्च पदस्त अधिकारीहरुको उपस्थीति थियो । एभरेष्ट बैंक सामाजिक उत्तरदायित्व प्रति सम्बेदनशिल रहेको छ । साथै यस अन्तरगत बृहत जनहितका लागि बिशेषत राम्रो स्वास्थ्य, गुणस्तरीय शिक्षा, जनचेतना, पूर्वाधार लगायतका क्षेत्रमा योगदान गर्दै आएको छ । साथै बैंकले विद्यालयहरुलाई कम्प्यूटर, उपकरणहरु तथा अन्य आवश्यक सामाग्री समेत प्रदान गर्दै आएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
सिटी एक्सप्रेसको दशैँ तिहार योजनामा काठमाडौँमा ४ आना घडेरी
काठमाडौं, १० असोज । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ(तिहारको अवसरमा ‘सिटी बनाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस्’ नामक उपहार योजना ल्याएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत् असोज १० देखि पुस ९ गतेसम्म कारोबार गर्ने ग्राहकहरूमध्ये १ जना भाग्यशाली ग्राहकले काठमाडौँ उपत्यकाभित्र नै ४ आना जग्गा प्राप्त गर्ने अवसर पाउने कम्पनीले जनाएको छ । यस्तै हरेक हप्ता १ जना भाग्यशाली विजेताले ३२ इन्च एलइडी टेलिभिजन पनि प्राप्त गर्नेछन् । १२ हप्तासम्म सञ्चालन गरिने यो योजनाबाट १२ जना भाग्यशाली विजेता घोषणा गरिनेछ । सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक श्री चन्द्र टण्डनले भने, ‘हामीले विगतमा गाडी तथा मोटरसाइकलजस्ता उपहार दिँदै आएका थियौँ । तर यो वर्षको दसैँ(तिहारलाई मध्यनजर गर्दै जग्गा नै दिने निर्णय गरेका हौँ ।’ घडेरी तथा जग्गा सपना तथा भविष्यसँग पनि भावनात्मक रूपमा जोडिएको हुनाले ग्राहकहरूको सपनाको कदर गर्दै जग्गा नै दिन लागिएको उनले बताए ।
दिल्लीबाट काठमाडौं आउँदै गरेको एयरवसको आकस्मिक अवतरण, सबै यात्रुहरू सुरक्षित
काठमाडौं, १० असोज । नेपाल वायुसेवा निगमको दिल्लीबाट काठमाडौं आउँदै गरेको २०५ उडान नम्बरको एयरबस काठमाडौं बिमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौं विमास्थल नजिकैको १२ हजार ५०० फिटमा उडान गरिहेको यो जहाजको ककपीटमा धुवाँ देखिएपछि आकस्मिक अवतरण गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । उनका अनुसार जहाज आकस्मिक आवतरण गरेकोले जहाज तथा विमानस्थलको निरीक्षणका लागि एक घण्टा विमानस्थल बन्द गरिएको हो । निगमको यो जहाज पूर्ण क्षमतामा यात्रु बोकेर दिल्लीबाट काठमाडौं आएको थियो । यो जहाज दिउँसो ३ बजेर २७ मिनेटमा आकस्मिक अवतरण गरेको थियाे । त्यसपछि एयरपोर्टमा फुल इमर्जेन्सी घोषणा गरेर तीन बजेर ४० मिनेटमा प्लेनलाई ल्याण्ड गरिएको ठाकुरले जानकारी दिए। ठाकुरका अनुसार करिब आधा घण्टा जति एयरपोर्टलाई बन्द गरी इमर्जेन्सी अवस्थामा राखेर सम्पूर्ण तयारी हालतमा राखिएको थियो। एम्वुलेन्स, हवाइ सुरक्षा लगायत अन्य सुरक्षाको बन्दोवस्त पूर्ण रुपमा तयार राखिएको उनले जानकारी दिए। तीन बजेर ५६ मिनेटसम्म एयरपोर्ट बन्द गरिएको थियो। सो समयमा कुनैपनि हवाइ उडान र अवतरणको काम नभएको ठाकुरले बताए। अहिले एयरपोर्ट नियमित अवस्थामा चलेको छ। जहाज आकस्मिक अवतरण गरेका कारण विमानस्थल कार्यालयले संभावित जोखिम न्युनिकरणका लागि दमकलसहितका सम्पूर्ण आकस्मिक उद्धारका सामग्री तयारी अवस्थामा राखेको छ । जहाज सुरक्षित अवतरण गरेकोले यात्रु सुरक्षित रहेको र विमानस्थलको अवस्था पनि सामान्य रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
परिसूचक २६ अंकले उक्लियो, सबै समूहमा हरियाली, एभरेष्टको २२ करोडको कारोबार
काठमाडौं, १० असोज । धेरै दिन पछि सेयर बजारमा हरियाली छाएको छ । सोमबार नेप्से परिसूचक २६ दशमलब ४६ अंकले बढेर १७५७ अंकमा पुगेको छ । सो दिन १३२ कम्पनीको ११ लाख ४१ हजार कित्ता सेयर करिब एक अर्ब बढी रुपैयाँमा किनबेच भएको छ । सो दिन कारोबार भएका ७ बटै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ८७ अंकले उकालो लागेको छ । त्यस्तै होटल, बैंकिङ् र हाइड्रोपावर समूहको परिसूचक क्रमशः ५४, ३१ र २१ अंकले उकालो लागेका छन् । बजारमा सबैभन्दा बढी एभरेष्ट बैंकको २२ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्र्त, नेपाल बङ्गलादेश बैंकको १० करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी नादी ग्रुप पावरका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् भने पोखरा फाइनान्सका लगानीकर्ताले करिब ५ प्रतिशत गुमाएका छन् ।
सेल्फीप्रेमीका लागि जेडटिइ एस ७ नेपाली बजारमा, मूल्य २६ हजार ५ सय रुपैयाँ
काठमाडौं, १० असोज । नेपालका लागि जेडटिई स्मार्टफोनको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजेजले प्रिमियम मिडरेन्ज स्मार्टफोनको रुपमा ‘जेडटिई ब्लेड एस ७’ बजारमा उपलब्ध गराएको छ । कम्पनीले दशैँ क्यास ब्याक अफरसहित ब्लेड एस ७ सार्वजनिक गरेको हो । उक्त ब्लेड एस ७ मा ५ इन्च को फूल एचडी डिस्प्ले रहेको छ । ४४१ पिक्सेल डेन्सिटी भएकाले फोनको पिक्चर गुणस्तर आकर्षक रहेको छ । साथै, फोनको अगाडि र पछाडि दुबैभागमा कोर्निङ गोरिल्ला ग्लास ३ को सुरक्षा रहेको कम्पनीले बताएको छ । फोनको क्यामेरा र यसमा प्रयोग भएका कम्पोनेन्टहरु हुन् । ब्लेड एस ७ को अगाडि र पछाडि दुबैपट्टि १३/१३ मेगपिक्सलको क्यामेरा प्रयोग गरिएको छ । पछाडिको क्यामेरामा फ्लाससहित लेजर अटो फोकसको प्रयोग गरिएको छ जुन एप्पलको आइफोनमा प्रयोग हुन्छ । यस लेजर अटोफोकसको मद्दतले फोटो जुम गर्दा क्यामेरा स्टेबल हुनुका साथै सफा फोटो आउँदछ । यसैगरी, सेल्फी फोटोप्रमीहरुको लागि पनि यो फोन एक उत्कृष्ट रोजाई बन्नेछ । एलइडी फ्लाससहित १३ मेगापिक्सलको फ्रन्ट क्यामेरा भएकाले प्रयोगकर्ताले आकर्षक र नेचुरल सेल्फी फोटोको मज्जा लिन पाउने छन् । क्यामेराका अन्य फिचरहरुमा जिओ–ट्यागिङ, फेस डिटेक्सन, एचडिआर र पानोरोमा रहेका छन् । स्मार्टफोनमा ३ जिबी र्याम र ३२ जिबीको इन्टर्नन स्टोरेज रहेको छ । एसडी कार्डको प्रयोग गरेर १२८ जिबीसम्म एक्स्टर्नल मेमोरी बढाउन सकिने छ । एन्ड्रोइड ललिपप ५.१ अपरेटिङ सिस्टमा चल्ने यस फोनमा अक्टा कोर १.५ गिगाहर्ज स्नाप्ड्रागन ६१५ प्रोसेसरको प्रयोग भएकाले फोन दु्रत गतिमा चल्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार फोनमा झिक्न नमिल्ने २ हजार ५ सय एमएएच ब्याट्री प्रयोग गरिएको छ । होम बटनमा फिङ्गरप्रिन्ट सेन्सर रहेको छ । ब्लेड एस ७ का अन्य फिचरहरुमा डुअल सिम, एफएम रेडियाे लगायत छन् । स्मार्टफोनको बजार मूल्य २६ हजार ५ सय रुपैयाँ रहेको छ । नेपालीको महान चाड दशैलाई मध्यनजर गरेर जेडटिई ब्लेड एस ७ को खरिदमा २ हजार दशै क्यास ब्याक अफर दिइएको छ । यसरी खरिदकर्ताले २४ हजार ५ सय रुपैयाँमै यो स्मार्टफोन प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।
पशुपति पेन्ट्सको नयाँ शोरुम बुटवलमा
बुटवल, १० असोज । पशुपति पेन्ट्सले बुटवलको कालिका नगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीकाे आधिकारिक विक्रेता भैरव कलर ट्रेडर्सद्वारा उक्त स्थानमा नयाँ शोरुमकाे सञ्चालन गरिएकाे हो । नयाँ शोरुमको समुद्घाटन पशुपति पेन्ट्सका कन्ट्रि म्यानेजर सन्तोश श्रेष्ठद्वारा गरिएको हो । समुद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले नयाँ शोरुमबाट आफ्ना उपभोक्ताले कम्पनीका समग्र उत्पादनहरु थप सहजताका साथ प्राप्त गर्न सक्ने बताए । पशुपति पेन्ट्सले दशैँ तिहारको अवसरमा ग्राहकलाई लक्षित गर्दैै महापर्वको रङ्गोत्सव उपहार योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत ४० हजार रुपैयाँ बराबर वा सो भन्दा बढीको इमल्सन खरिद गर्दा उपभोक्ताहरुका लागि विभिन्न आकर्षक उपहारहरुको ब्यवस्था गरिएको छ । योजनाको बम्पर उपहार स्वरूप एक जना भाग्यशाली विजेताले रोयल एन्फिल्डको बुलेट बाइक उपहारका रुपमा प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । उक्त शोरुमबाट उपभोक्तालाई गुणस्तरिय सेवा प्रदान गर्न आफू सँधै प्रतिबद्ध रहेको कम्पनीका सञ्चालक चिरञ्जिवी खनालले बताए ।
सिद्धार्थ विकास बैंकले २५ प्रतिशत लाभांश दिने
काठमाडौं, १० असोज । सिद्धार्थ डेभलपमेन्ट बैंकले २५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७२÷७३ को नाफाबाट लगानी कर्तालाई २५ प्रतिशत बोनस सेयर दिन लागेको हो । एक अर्ब १४ करोड चुक्ता पुँजी रहेको बैंकले गत आवमा ३३ करोड १३ लाख नाफा कमाएको थियो । बैंकले हालसम्मकै उच्चतम लाभांश वितरण गरेको प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए ।
पाँचतारे होटल एभरेष्ट डेढ वर्षदेखि बन्द, १० अर्बको लगानी अलपत्र, ३ सय जना मजदुर बेरोजगार
काठमाडौं १०, असोज । राजधानीको पाँचतारे होटल दि एभरेष्ट करीब डेढ वर्षदेखि पूर्ण रुपमा बन्द भएको छ । २८ वर्षसम्म सफल रूपमा संचालनमा आएको यो होटल बन्द हुदा होटलमा कम गर्ने करीब ३ सय जना मजदुर बेरोजगार बनेका छन् । सन् १९८७ मा सुरु भएको यो होटल अन्तर्राष्ट्रिय ब्राण्ड शेराटनले करीब आठ वर्ष संचालन गरेको थियो । विसं २०७२ सालको भूकम्पपछि बन्द भएको यो होटल खुलाउँन व्यवस्थापनको चासो छैन । मजदुरको पहल र संसदको अन्तर्राष्ट्रिय सम्वन्ध र श्रम समितिले तुरुन्त होटल खुलाउन दिएको निर्देशनलाई व्यवस्थापनले वास्ता नगरेका कारण होटलको १० अर्बको सम्पती अलपत्र परेको छ । १६० कोठा रहेको यो होटल ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ । यो होटलमा एउटा क्यासिनो पनि रहेको छ । होटल लामो समयदेखि बन्द भएको कारण क्यासिनोमा भएको गेमिङ मेसिन, होटलले प्रयोग गर्ने विभिन्न दैनिक उपभोगका इलेट्रोनिक्स सामान विग्रिएका छन् । होटल नियमित सफाइ नहुँदा र कर्मचारीको निगरानीमा रहन छोडेकोले कोठासम्मनै पानी पस्ने, ढुँसी गनाउँने, सुनासानको वातावरण भएको र होटलबाट तत्कालिन समयमा गेष्ट सार्दा भएको सामान पनि अझै छरपष्ट रूपमै रहेको छ । होटल २०७२ वैशाख २९ गतेको भूकम्पले बस्न नमिल्ने गरी क्षति भएको थियो । यो क्षतिपछि पर्यटन मन्त्रालयको एक प्राविधिक टोलिले सोही वर्षको जेठ १३ गते गरेको स्थलगत अनुगमनपछि होटलमा पर्यटक राख्न नमिल्ने भन्दै रातो स्टिकर टाँसेको थियो । अघिल्लो वर्षको जेठ १४ गतेबाट सम्पूर्ण पर्यटक हटाएर बन्द भएको यो होटल पुननिर्माण नहुँदा र व्यवस्थापनले पनि होटल संचालनको चासो नदेखाउँदा पूर्ण रूपमा बन्द भएको हो । भारतीय लगानीकर्ता लारी परिवारको यो होटल बन्द हुँदा ३ सय जना नेपाली कामदार नै बेरोजगार भएका छन् । यो होटल भारतीय नागरिक मस्कुर अहमद लारीको अध्यक्षतामा उनकै परिवारका सदस्य संचालक समितिमा रहेका थिए । मजदुर समस्याको बाहानमा होटल बन्द होटल व्यवस्थापनले पटक पटक कर्मचारी युनियले सहयोग नगरेको आरोप लगाउँदै आएको थियो । होटल व्यवस्थापन स्रोतका अनुसार कर्र्मचारी युनियनको सहयोग नभएको कारण होटल बन्द नै गरिएको हो । मजदुरले पटक पटक असहयोग गरेकोले पनि मजदुर समस्याकै कारण होटल नखुलेको उल्लेख छ । होटल व्यवस्थापनले भूकम्पले बनाएको क्षतिपछि बढाएको थियो । होटलले २०७२ जेठ ३२ गते नै श्रम ऐन २०४८ को दफा १२ बमोजिम सम्पूर्ण कामदार कर्मचारी कटौति गर्न नेपाल सरकारसमक्ष अनुमति मागेको थियो । होटल राम्रोसँग चलेको भएपनि होटल मालिकले विस्तारै मजदुर विवाद निकालेर होटल बन्द गराएको उल्लेख छ । होटलका कर्मचारीले भने नियतबस होटल बन्द गरेको आरोप लगाएका छन् । कर्मचारीले होटलको पुनर्निर्माण गरी भएकै कर्मचारीबाट होटल संचालन गर्न माग गरेर संसदको श्रम समितिसमक्ष पुगेको भएपनि होटल भने पुन संचालन हुन सकेन । दि एभरेष्ट होटल संयुक्त संघर्ष समिति संयोजक होम सुवेदीका अनुसार होटलको आवश्यक मर्मत गरी छिटो संचालन गर्न कर्मचारीले साथ रहेकोले कर्मचारी कटौति नगर्न गरेको पटकपटको मागलाई व्यवस्थापनल वास्तै गरेन् । नेपाल लगानी बढ्दै गइरहेको अरु होटल आने क्रम भइरहेको समयमा भएकै होटल बन्द हुनुले कर्मचारीको रोजीरोटि खोजिनुका साथै लगानीको वातावरण नै विग्रदै गएको सन्देश प्रभाव भएको छ । नेपालमा उत्कृष्ट सेवा दिइरहेको यो होटल हरेक वर्ष लाभमा हुँदा पनि व्यवस्थापनले अझै संचालनको चासो देखाएका छैनन् । होटल निकट स्रोतका अनुसार व्यवस्थापनले पूरै होटल रिनोभेसन गर्न चाहेका भएपनि प्रक्रिया भने अगाडि बढेको छैन । होटल नहुँदा क्यासिनो लगानीकर्ता विच्किए होटल नभएको कारण क्यासिनोमा लगानी गर्न चाहेका लगानीकर्ता पनि फिर्ता गएका छन् । होटल भएपछि मात्रै क्यासिनो संचालन हुने भएकोले पनि भारतीय लगानीकताले क्यासिनो संचालन गर्न चाहेको भएपनि प्रक्रिया अगाडि नै बढ्न पाएन् । एभरेष्ट होटलमा क्यासिनो नभएको कारण यसका लगानीकर्ता इम्पेरियल समूह अहिले होटल अन्नपूर्णको क्यासिनोमा लगानी गर्न थालेको पनि उल्लेख छ । होटलबाट नै पानी, वत्ति क्यासिनोमा जाने हुुुन्छ । होटलमै आएका पाहुना क्यासिनो जाने भएकोले कुनै पनि क्यासिनो संचालन हुन होटल अनिवार्य छ । क्यासिनोमा करीब पाँच सय कर्मचारीले काम पाउने भएपनि यो होटल बन्द हुँदा यसको क्यासिनोमा काम गर्ने कर्मचारी पनि बेरोजगार भएका छन् । एभरेष्ट क्यासिनोमा पनि झण्डै पाँच सय जना कर्मचारी थिए ।