सरकारद्धारा स्वदेशी इको प्यानलको प्रयोगमा जोड
भक्तपुर, १३ असोज । सरकारले स्वदेशी इको प्यानलको प्रयोगमा विशेष जोड दिने भएको छ । सहरी विकास सचिव दीपेन्द्रनाथ शर्माले भूकम्पपछिको पुननिर्माणमा स्वदेशी इको प्यानललाई विशेष रुपमा प्रयोग गर्ने बताए । भक्तपुरको जगाती हनुमानचास्थित नेपालमै पहिलो पटक उत्पादित गोरखा इको प्यानल उत्पादन गर्ने इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिको अवलोकन भ्रमणपछि सचिव शर्माले स्वदेशी निर्माण सामाग्रीका उत्पादनमा जोड दिएका हुन् । सचिव शर्माको मन्त्रालयका सहसचिव शिवहरि शर्मा, सहरी विकास विभाका महानिर्देशक रमेशप्रसाद सिंहलगायतका एक दर्जन भन्दा वढी सहरी विकास सम्वन्धित सहसचिव, उपसचिव, इन्जिनियर्सलगायतका अधिकारीले सामूहिक रुपमा कारखानको अवलोकन भ्रमण गरेका थिए । सो अवसरमा गोरखा इको प्यानलका कार्यकारी अधिकृत सीईओ कृष्णभक्त दुवालले गोरखा इको प्यालनका विशेषताबारे प्रस्तुतीकरण गरेका थिए । इको प्यानल भूकम्प प्रतिरोधी मात्रै नभई फायर प्रुफ, साउण्ड प्रुफ भएको जानकारी दिएका थिए । गोरखा इको प्यानल उच्च ताप प्रतिरोधात्मक क्षमतायुक्त हिमाल, तराई अनि पहाड सवैका लागि उपयुक्त भएको उनले जनाए । यसले बाहिरको तातोपन र चिसोपन भित्रबाहिर आउन नदिने उनले जनाए । यो चारघण्टाको फायर प्रुफ (आगो प्रतिरोधात्मक ) रहेको समेत उनले जनाए । यसले एक हजार डिग्री सेल्सियससम्मको आगोलाई चारघण्टासम्म थाम्न सक्ने उनको भनाई छ । यो साउण्ड इन्स्यिुलेशन (साउण्ड प्रुफ) समेत रहेको उनले जनाए । साथै यहाँंको उत्पादन वातावरणमैत्री रहेको उनले प्रष्ट्याए । साथै इको प्यानल भनेपछि अस्थायी निर्माणका लागि मात्रै प्रयोग हुने भन्ने गलत बुझाई रहेको तर यो त्यसो नभई आफूहरुको ७० वर्षको वारेन्टी रहेको उनले जनाए । कम्पनीका अधयक्ष विश्वराम कवांले टोलीको स्वागत गरेका थिए । गोरखा इको प्यानल नेपालमै उत्पादित एउटै मात्रै इको प्यानल हो । नेपालमा प्रयोग हुने अन्य प्रिफ्याब विदेशमा आयातित हुन् । वार्षिक ७० करोड प्रिफ्याब नेपालमा विदेशबाट आयातित हुने तथ्यांक कम्पनीको छ ।
नेपालकाे आन्तरिक उडानमा सामसङ ग्यालेक्सी नोट सेभन प्रतिबन्ध, सेयर मूल्य घट्दो
काठमाडौं, १३ असोज । नेपालमा आन्तरिक उडान भर्दै आएका नेपालका वायुसेवा कम्पनीहरुले सामसङ ग्यालेक्सी नोट सेभन मोबाइल फोन जहाज भित्र लैजान प्रतिबन्ध गरेका छन् । हवाई सेवा कम्पनीहरु बुद्ध एयर, यति एयर, तारा एयर, सिम्रिक एयरलगायतले बिहीबारबाट उक्त फोन आफ्नो जहाजभित्र लैजान प्रतिबन्ध लगाएका छन् । नेपाल नागरिक उड्डय प्राधिकरणले सुरक्षाको कारण देखाउँदै आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीका जहाजमा सामसङ ग्यालेक्सी नोट सेभन मोबाइल फोन लैजान प्रतिबन्ध गर्ने निर्णय गरेपछि ती कम्पनीहरुले विहीबारबाटै सामसङ ग्लोक्सी नोट सेभन प्रतिबन्ध गरेका हुन् । प्राधिकरणको उडान सञ्चालन शाखाका प्रबन्धक क्यापटेन दीपकुकमार लामाद्वारा हस्ताक्षरित पत्रमा सामसङ ग्यालेक्सी नोट सेभन मोबाइल जहाजभित्र लैजान प्रतिबन्ध प्रतिबन्ध लगाएको उल्लेख छ । चेक इन भइसकेको ब्यागमा पनि उक्त मोबाइल प्रतिबन्ध लगाएको पत्रमा उल्लेख छ । सामसङ नोट धमाधम पड्किन थालेपछि यसअघि नै अन्तर्रा्ष्ट्रिय वायुसेवा कम्पनीहरुले उक्त फोन लैजान प्रतिबन्ध लगाएको थियो । ग्यालेक्सी नोट सेभेन पड्केर तनावमा आएको सामसङको केही दिन अघि ग्यालेक्सी नोट टु मा आगो लागेको थियो । भारतको चेन्नई विमानस्थलमा अवतरण गर्नै लागेको एउटा जहाजमा सवार यात्रुले बोकेको ग्यालेक्सी नोट टु पड्किएको थियो । यसअघि अमेरिकी सङ्घीय प्राधीकरण प्रशासन (एफएए), इन्डोनेसियाको पीटी गरुडा इन्डोनेसिया, इन्डिया लगायत धेरै देशमा ग्यालेक्सी नोट सेभन प्रतिबन्ध गरिसकेका छन् । संसारभरी सामसुङ मोवाइलमा समस्या आएपछि त्यसको धक्का विभिन्न देशका स्टक एक्सचेन्जमा परेको छ । एक महिनामा कम्पनीको सेयर मूल्यसाउथ कोरियन ओनमा १६ लाख ४५ हजारबाट १४६५ हजारसम्म झरेको छ ।
नेपाल टेलिकमको दशैँ तिहार अफरमा २ सय एमबी डाटा सहित रिर्चाजमा १० प्रतिशत बोनस पनि
काठमाडौं, १३ असोज । नेपाल टेलिकमले दशैँ तिहारको अवसरमा विभिन्न अफरहरुका साथै छुट प्रदान गर्ने भएको छ । १. डाटा अफर जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेडका ग्राहकहरुलाई दशैं, तिहार तथा छठको उपलक्ष्यमा डाटा अफर प्रदान गरी त्यसमा निःशुल्क भ्वाइस तथा एसएमएस समेत उपलब्ध गराउने व्यवस्था गरिएको छ । सो अनुसार आगामी असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म १०० एमबीको डाटा ५० रुपैयाँमा र २५० एमबीको डाटा १०० रुपैयाँमा उपलब्ध गराइने छ । १०० एमबी डाटाको अवधि ५ दिन सम्म र २५० एमबी डाटाको अवधि १० दिनसम्म रहने छ । सो अवधिमा डाटा प्रयोगकर्ताले क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्ने कम्पनीले बताएको छ । २. नाइट डाटा अफर कम्पनीका अनुसार जीएसएम तथा सीडीएमए दुवैमा नाइट डाटा अफर पनि उपलब्ध गराइने छ । सो अनुसार राती १० बजे देखि बिहान ६ बजेसम्म ४० रुपैयाँमा ५०० एमबी र ८५ रुपैयाँमा १२०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यी डाटाको अवधि क्रमशः ७ दिन र १५ दिन हुनेछ । नाइट डाटा अफर आगामी असोज १५ देखि ३ महिना सम्म उपलब्ध गराइने छ । ३. भ्वाइस कलमा छुट जीएसएम तथा सीडीएमए मोबाइल सेवा मार्फत कम्पनीकै नेटवर्क भित्र हुने कलमा विद्यमान महसुल दरमा १० प्रतिशत छुट उपलब्ध गराइएको छ । सो अनुसार प्रिपेड मोबाइलबाट प्रति मिनेट १ रुपैयाँ ३५ पैसा र पोष्टपेड मोबाइलबाट प्रति मिनेट ९० पैसामा कल गर्न सकिने छ । उक्त छुट आगामी असोज २२ देखि असोज २९ गते सम्म र कात्तिक १४ देखि २१ गतेसम्म उपलब्ध गराइने छ । ४. एसएमएस अफर हाल जीएसएम तथा सीडीएमए मोबाइल सेवामा प्रति एसएमएस शुल्क १ रुपैयाँ भएकोमा आगामी असोज २२ देखि २९ गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म प्रत्येक एसएमएसमा ५० प्रतिशत छुट उपलब्ध गराइने टेलिकमले जनाएको छ । ५. स्थानीय टेलिफोनमा थप १०० कल निःशुल्क कम्पनीले असोज र कात्तिक महिनाको मासिक महसुल २०० रुपैयाँमा थप १०० लोकल कल उपलब्ध गराउने छ । सो अनुसार अब असोज र कात्तिक महिनामा १७५ मा १०० कल थप गरी २७५ लोकल गर्न सकिने छ । त्यसैगरि टेलिकमले दशैं, तिहार तथा छठको समयमा भ्यालिडिटी सकिने भोल्यम बेस्ड तथा अनलिमिटेड एडिएसएलका ग्राहकहरुलाई समय थप गरिने जनाएको छ । वाइम्याक्स तथा फाइवर टु दि होम का ग्राहकको हकमा डेटा भोल्युम बाँकी भएको तर समयावधि सकिएको खण्डमा समय थप गरिने कम्पनीले जनाएको छ । जस अनुसार दशैंको समयमा असोज २२ देखि असोज २८ सम्म भ्यालिडिटी सकिने ग्राहकको अवधि असोज २९ गतेसम्म र तिहार तथा छठको समयमा कात्तिक १४ देखि कात्तिक २० गतेसम्म भ्यालिडिटी सकिने ग्राहकको अवधि कात्तिक २१ गतेसम्म थप गरिने छ । कम्पनीका अनुसार जिएसएम प्रिपेड तथा सिडिएमए प्रिपेडमा एमपिओएस प्रणालीवबाट सय रुपैयाँ वा सो भन्दा माथिको दरको रिचार्ज गर्दा १० प्रतिशत टक टाइम बोनस उपलब्ध गराइने छ ।
एकीकृत व्यापार रणनीति सार्वजनिक
काठमाडौं, १३ असोज । सरकारले निर्यात व्यापार प्रवद्र्धन गर्नका लागि नेपाल एकीकृत व्यापार रणनीति–२०१६ सार्वजनिक गरेको छ । वाणिज्यमन्त्री रोमी गौचन थकालीले बिहीबारआयोजित एक कार्यक्रममा सरकारको पाँच वर्षे रणनीति सार्वजनिक गरेका हुन् । रणनीति सार्वजनिक गर्दै उनले देशमा उत्पादन हुने निर्यात बढाएर आर्थिक वृद्धिदर बनाउनुपर्ने बताए । राजनीतिक अस्थिरताले आर्थिक विकास गर्न नसकिएको बताउँदै उनले संविधान कार्यान्वयन गरेर देशलाई आर्थिक समृद्धितर्फ डोर्याउनुपर्नेमा जोड दिए । उनले छिमेकी मुलुक भारत र चीनमा नै यहाँका उत्पादन भएका वस्तु बढीभन्दा बढी निर्यात गर्न सकिने भए पनि बजार व्यवस्थापनमा चुनौती रहेको उल्लेख गरेका छन् । उनले व्यापार नीति समय समयमा परिमार्जन गरेर अन्तर्राष्ट्रियस्तरमा यहाँका स्थानीय वस्तु निर्यात गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सचिव ङइन्द्रप्रसाद उपाध्यायले अघिल्लो सन् २०१० मा जारी गरिएको रणनीतिभन्दा अहिले कम वस्तु निर्यात गर्ने लक्ष्य लिए पनि ती वस्तुबाट धेरै निर्यात गरेर आर्थिक वृद्धिदर हासिल गर्ने बताए । रणनीतिमा अचैँली, अदुवा, चिया, औषधिका कच्चा पदार्थ, गार्मेन्ट, छाला, छालाका जुत्ता, पस्मिना र कार्पेट गरी नौ प्रकारका वस्तु तथा सेवातर्फ दक्ष कामदार, सूचना प्रविधि र पर्यटन क्षेत्रमा काम गर्न सकिने लक्ष्य लिइएको छ । सन् २०२० सम्म राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनको चार प्रतिशत ती वस्तु र सेवा निर्यात गरेर पु¥याउने लक्ष्य लिइएको उनले जानकारी गराए । कार्यक्रममा आदित्यनारायण कौशधन, राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णीय वाग्ले, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले विदेशमा गएका युवालाई स्वदेशमा नै राखेर उत्पादनमुखी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै देशबाट निकासी हुने वस्तु कम लागतमा उत्पादन गरेर अन्य देशसँग प्रतिस्पर्धी बनाएर बेच्नुपर्ने बताएका छन् । रासस
बर्जर रंगफ्युजनका विजेताहरु घोषणा
काठमाडौं, १३ असोज । बर्जर पेन्ट्सले सफल योजना बर्जर रंगफ्युजनको विजेताहरुको घोषणा गरेको छ । कार्यक्रममा योजना प्रबद्र्धक हास्यकलाकार सन्दीप क्षेत्रीले नर्णायक मण्डलीबाट छानिएका उत्कृष्ट २ सय घरहरु मध्येबाट ११ जना भाग्य शाली विजेताहरुको नामलक्की ड्र मार्फत निकालेका थिए । विजेताहरुमध्ये काठमाडौंका शन्त गिरीले बम्पर उपहार स्वरुप पल्सर २२० सी.सी. बाइक जितेका छन् । विराटनगरका भक्तबहादुर खत्री र काठमाडौंकी राधिका भेटवालले एक–एक थानडियो स्कूटर जितेका हुन् । यसैगरी, बुटवलका त्रिलोचन ज्ञवाली,अनुलमान सिंह र विराटनगरका खिलनाथ दाहालले सामसङ ग्यालेक्सी एस् सिक्स एडज फोन जितेका छन् । यसका साथै, काठमाडौंका कृष्णकुमार लामा, जनकपुरका महाशंकर साह, विराटनगरका गणेश कार्की, नेपालगञ्जका सबिनाशाही र काठमाडौंका रमेश थापाले क्रमशः एक–एक थान सामसङ् ग्यालेक्सी ए सेभेन जितेका छन् । सो कार्यक्रममा कम्पनीले शहरोन्मुख शहरहरुबाट योजनामा सहभागिता जनाएका २१ उत्कृष्ट घरधनीहरुको पनि घोषणा गरेको छ । जसले सामसङ् ग्यालेक्सी जे सेभेन मोबाइल फोन उपहार स्वरुप प्राप्त गरेका कार्यक्रम आयोजकले बताएका छन् ।
ग्रामीण क्षेत्रमा वित्तिय सेवा पुर्याउन सानिमा बैंक र यू के ऐड सक्षमबीच सम्झौता
काठमाडौं, १३ असोज । सानिमा बैंक लिमिटेड र यूके ऐड सक्षम एक्सेस टु फाइनान्सबीच ग्रामीण क्षेत्रमा प्रत्यक्ष वित्तिय पहुँच पुर्याउने सम्बन्धि सम्झौता भएको छ । उक्त दुई कम्पनीले नेपालमा मध्य र सुदुर–पश्चिमका १३ जिल्लाहरुमा विपन्न वर्ग कर्जा प्रवाह सबल बनाउनका लागी साझेदारी गरेका हुन् । उक्त साझेदारीमा सानिमा बैंकका तर्फबाट सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्द र यु.के.ऐड सक्षमका तर्फबाट टिम लिडर बलजित बोहराले हस्ताक्षर गरेका छन् । हाल यो क्षेत्रमा बढ्दै गएको विपन्न कर्जाहरु जस्तै कृषि कर्जा तथा साना तथा मझौला कर्जा समेट्नका लागी कालिकोट जिल्लामा सानिमा बैंकको नँया शाखा सञ्चालन गरिने बैंकले जनाएको छ । यस कार्यक्रम अन्तर्गत लक्षित जिल्लाहरु झापा, धादिङ्ग, चितवन, सुनसरी, बांके, सखुंवासभा, रुपन्देही, मकवानपुर, कैलाली, दाङ, सुर्खेत, कञ्चनपुर र कालिकोट हुन् । कालिकोटमा प्रस्तावित उक्त शाखाले बैंकको निक्षेप सकंलन तथा कर्जा प्रदान गर्ने सुविधा लगायत अन्य थप बैंकिङ्ग सेवाहरु ग्रामिण भेग सम्म पु¥याउने योजना रहेको छ । बैंकले उपरोक्त जिल्लाहरुमा अवस्थित शाखाहरुबाट विपन्न वर्गमा समर्पित भएर काम गर्न आवश्यक जनशक्ति परिचालन गरिसकेको जनाएको छ । सानिमा बैंक स्थापनाकाल देखि नै बिपन्न वर्ग कर्जामा लगानी गर्दै आएको र आगामी दिनमा समेत उक्त क्षेत्रमा लगानी बढाउदै जाने योजना रहेको सानिमा बंैकका नायब प्रमुख कार्यकारी अधिकृत चन्दले बताएका छन् । अन्य बैंक तथा वित्तिय संस्थाबाट बित्तीय सेवा परिपूर्ति नभएका समुह/माजलाई सानिमा बैंकको माध्यमबाट सेवा प्रदान गर्न सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास यू.के. ऐड सक्षमका टिम लिडर बोहराले बताए ।
एनसेलको ‘दोब्बर पैसा ब्याक’ अफर
काठमाडौं, १३ असोज । देशको अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले चाडपर्वको अवसरमा ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम मेन ब्यालेन्सबाट प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर रकम बोनस ब्यालेन्स स्वरुप फिर्ता पाउनेछन् । चाडपर्वको अवसर पारी आफ्ना ग्राहकलाई थप लाभ प्रदान गर्ने उद्देश्यले ल्याएको यो योजना बिहीबार (असोज १३) बाट लागु भएको छ । एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले १७१२४ मा डायल गरि यो योजनामा निःशुल्क सहभागी भई लाभ लिन सक्नेछन् । सहभागितासँगै ग्राहकले बोनस प्राप्त गर्न आफुले प्रयोग गर्नुपर्ने रकमको जानकारी पाउनेछन् । उक्त रकम बराबरको मेन ब्यालेन्स प्रयोग हुने बितिक्कै सोहि रकम बराबरको दोब्बर रकम बोनस ब्यालेन्सको रुपमा तत्काल प्राप्त गर्न सक्नेछन् । प्राप्त बोनस रकम ग्राहकले एनसेल नेटर्वक भित्र कल गर्न, एसएमएस, एमएमएस पठाउन तथा ईन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । बोनस एक दिनमा एक पटक मात्र प्राप्त हुनेछ र प्राप्त बोनस त्यहि दिन मध्यरात सम्म मान्य हुनेछ । भोलिपल्ट पुनः तोकिएको रकम बराबरको मेन ब्यालेन्स प्रयोग हुँदा ग्राहकले दोब्बर बोनस प्राप्त गर्नेछन् । यसरी एक पटक योजनामा सहभागी भएपछि ग्राहकले योजना अवधिभर प्रत्येक दिन बोनस प्राप्त गरि आफ्ना प्रियजनसँग थप सम्पर्कमा रहन सक्नेछन् । यसका साथै ग्राहकले १७१२४ मा खाली म्यासेज (ब्ल्याङ्क म्यासेज) पठाई आफुले प्रयोग गरेको रकमको जानकारी पाउन सक्नेछन् । “चाडपर्वको बेलामा हामी आफ्ना परिवारजन, आफन्तहरु तथा साथीभाईसँग अझ बढि सम्पर्कमा रहन चाहन्छौं ।” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “ग्राहकको यहि चाहनालाई कदर गर्दै यो योजना ल्याएको छौ । यसले ग्राहकलाई थप लाभ प्रदान गर्दै आफ्ना प्रियजनसँग अझ बढी सम्पर्कमा रहन सहज बनाउने छ ।” यो योजना ९० दिनको लागी मान्य हुनेछ ।
ग्रामीण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पर्वतकुमार कार्की नियुक्त
काठमाडौं, १३ असोज । नेपाल ग्रामीण विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पर्वतकुमार कार्की नियुक्त भएका छन् । असोज ९ गते बसेको ६७ औँ बैंक सञ्चालक समितिको बैठकले कार्कीलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । कार्कीले आगामी ४ वर्ष सम्म ग्रामीण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।