ग्लोबल आइएमइ बैंकमा १० बैंक तथा फाइनान्स मर्ज, पूँजी ८ अर्ब नाघ्यो
काठमाडौं, १४ असोज । ग्लोबल आइएमई बैंकले राष्ट्रिय स्तरको रिलायबल डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ । १४ असोजमा भएको समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र रिलायबल डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष राधेश्याम अग्रवालले हस्ताक्षर गरेका हुन् । दुवै बैंकबीच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाही ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको ग्लोबल आइएमइ बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा विगत १० वर्षदेखि कारोबार गर्दै आईरहेको रिलायबल डेभलपमेन्ट बैंकको चुक्ता पूजी ७८ करोड ८५ लाख रुपैयाँ रहेको छ । रिलायबल डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी ८ अर्व रुपैयाँ भन्दा बढी हुनेछ । एक्विजिसन पछि ग्लोबल आइएमइ बैंकको निक्षेप ८८ अर्व रुपैयाँ, कर्जा लगानी ७४ अर्व रुपैयाँ र १ सय ११ वटा शाखा कार्यालय पुग्नेछन् । एक्विजिसन पश्चात नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप निजी क्षेत्रको वाणिज्य बैंकहरुमा कुल चुक्ता पुजी ८ अर्व रुपैयाँ पुग्ने यो बैक दोस्रो हुनेछ । ग्लोबल आईएमई बैंकले यसअघि प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने सहमति गरेको छ । यस्तो सहमति गत १ असारमा भएको हो । यो एक्विजिसनको प्रकृयामा रहेको छ । यस भन्दा पहिला साविक कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससंग सफलता पूर्वक मर्जर सम्पन्न गरि सकेको छ भने रिलायबल फाइनान्स लि., शुभ लक्ष्मी फाइनान्स, नेपाल कञ्जुरम डेभलपमेण्ट बैंक लि.सँग मर्जर भै रिलायबल डेभलपमेण्ट बैंक लिमिटेड कायम भएकाले यो एक्विजिसन सम्पन्न भए पछि १०वटा बैंक वित्तीय संस्था मर्जर÷एक्विजिसन भै बनेको पहिलो बैंक हुने छ ।
सिटिजन्स बैंकद्धारा भूकम्पबाट क्षति भएका निजी आवासलाई अनुदान वितरण
काठमाडौं, १४ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि अनुदान रकम वितरण गरेको छ । बैंकले राष्ट्रिय पुननिर्माण प्राधीकरणसँग अनुदान रकम वितरण गर्ने विषयमा सम्झौता गरेको थियो । उक्त सम्झौता बमोजिम यस बैंकले प्राधिकरणले तोकेको लाभग्राहीहरुको खाता खोलि जिल्ला विकास समितिद्वारा पठाईएको रकम सम्बन्धित लाभग्राहीहरुको खातामा जम्मा गरिसकेको छ । यस बैंकले पुनर्निर्माण प्राधिकरणबाट आएको विवरवण अनुसार जम्मा ४ हजार ४७२ जना लाभग्राहीहरुको खाता खोलेको र जसमध्ये बैंकले जम्मा ३ हजार ६९१ जना लाभग्राहीको रकम १८ करोड ४५ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । साथै, २ हजार ३८१ जना लाभग्राहीले बैंकबाट रकम लिइसकेको र बाँकी १ हजार ३१० जना लाभग्राहीहरुको यथासिघ्र खाता सक्रिय गराउने बैंकले जानकारी दिएको छ । साथै रकम प्राप्त गरेको सम्पूर्ण लाभग्राही मध्ये २१५ जना लाभग्राहीहरुको विवरण अपूर्ण रहेकोले त्यस्ता लाभग्राहीहरुको खाता खोल्न बैंक असमर्थ रहेको र उक्त लाभग्राहीहरुको पूर्ण विवरण उपलब्ध गराइदिनुहुन सम्बन्धित निकायलाई जानकारी गराई सकेका छौ । साथै यस बैंकका कर्मचारीहरुले लाभग्राहीहरुको खाता खोल्न सहयोग पु¥याउदै सहज तरिकाले समयमै अनुदान वितरण गर्दै आएको छ । बैंकले भूकम्प प्रभावित जिल्लामा दोलखाको भिमेश्वर नगरपालिका, काभ्रेको बनेपा नगरपालिका र मकवानपुरको हेटौडामा रहेको शाखाबाट निजी आवास अनुदान वितरण सम्बन्धी कार्यविधि परिपालना गर्दै अनुदान रकम वितरण गर्दै आएको बैंकले जनाएको छ ।
चार्डपर्वको अवसरमा सेनसि एलइडि टिभी खरिदमा विशेष छुट
काठमाडौं, १४ असोज । सेनसि एलइडि टिभीले विजया–दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । उक्त कम्पनीले विशेष छुटका साथ ग्राहकहरुका लागि १९ इन्च देखि ३२ इन्च सम्मका एलइडि टिभीहरु ल्याएका छन् । टिभी रोजेजस्तो र मूल्य खोजेजस्तो नाराका साथ जापानिज टेक्नोलोजिको ब्राण्ड ग्राहकको मन मनमा बस्न सफल भएको छ । धेरै विशेषता भएको उक्त सेनसि एलइडि टिभीमा प्रिमियम क्वालिटी साउन्ड र एसिडिसि दुबै पावर सप्ला इरहेको छ । साथै, उक्त टिभीमा एचडी रेडी, प्रिमियम साउन्ड र ब्राइट प्यानल जस्ता विशेषता रहेको सेनसि ब्राण्डका सेल्स म्यानेजर यादव राज गौतमले बताएका छन् ।
बेलुका ७ बजेपछि यात्रुबाहक गाडी चलाउन रोक
खोटाङ, १४ असोज । सडक दुर्घटना न्यूनीकरण गर्न खोटाङमा बेलुका ७ बजेपछि यात्रुबाहक गाडी चलाउन रोक लगाइएको छ । निरन्तरको वर्षाका कारण जिल्लाका सडकको अवस्था खराब बनेका कारण बेलुका ७ बजेपछि यात्रुबाहक बस तथा जिप चलाउन रोक लगाइएको हो । यातायात व्यवसायीकै उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले सडक यातायातलाई सुरक्षित र यात्रुमैत्री बनाउन भन्दै रातका समयमा गाडी नचलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए । सडक यातायातलाई सुरक्षित बनाउन ‘टाइमकार्ड’को समेत व्यवस्था गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ । यस्तै, दसैँ र तिहारलाई लक्षित गर्दै खोटाङका प्रमुख सडकलाई मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । वर्षाका कारण अवरुद्ध सडकमध्ये दिक्तेल–हलेसी सडकलाई मर्मत गरेर सञ्चालनमा ल्याउने निर्णय गरिएको हो । सडक कालोपत्रेको प्रारम्भिक चरणको काम गरिरहेकै ठेकेदार कम्पनीलाई बिग्रेका सडकखण्ड मर्मत गर्ने जिम्मा दिइएको प्रजिअ कार्कीले जानकारी दिए । अहिले जिल्लाका सबैजसो सडक वर्षाका कारण अवरुद्ध छन् । रासस
प्रभु मनि ट्रान्स्फर र जनसेवी लघुवित्तबीच रेमिटेन्स सम्झौता
काठमाडौं, १४ असोज । प्रभु मनि ट्रान्स्फर प्रा.लि र जनसेवी लघुवित्त वित्तिय संस्थाबीच रेमिटेन्स सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा प्रभु मनि ट्रान्स्फरका तर्फबाट नायब महाप्रवन्धक रामेश्वर सापकोटा र जनसेवी लघुवित्तका तर्फबाट अध्यक्ष विकास गौचनले हस्ताक्षर गरेका हुन् । पर्वत जिल्लामा प्रधान कार्यालय रहेको लघुवित्तको विभिन्न १०(पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रोल्पा, रुकुम, कास्की, तनहु, लमजुङ्ग र गोरखा) वटा जिल्लाको स्विकृति रहेको छ । सम्झौता पश्चात लघुवित्तका सबै शाखाहरुबाट प्रभु मनि ट्रान्स्फरको रेमिटेन्स सेवा दिने भएको छ । आगामी दशैं सम्ममा सेवा सञ्चालनमा ल्याईने बैंकको लक्ष्य रहेको छ ।
राजस्व चुहावट नियन्त्रणका लागि सक्रिय बन्दै सरकार
काठमाडौं, १४ असोज । सरकारले राजस्व चुहावटका क्षेत्रहरु पहिचान गर्न विशेष टोली खटाएको छ । विशेष गरी सीमा नाकाबन्दपछि बढ्दै गएको अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न सरकारले सक्रियता बढाउन लागेको हो । चितवनदेखि पूर्व र पश्चिम विशेष (एक÷एक) टोली खटाएर सरकारले राजस्व चुहावटको पहिचान गर्न खोजिएको हो । आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागले सहकार्यमा सो कार्य भइरहेको अर्थ सचिव शान्तराज सुवेदीले बताए । ‘यी दुबै विभागबीच समन्वय गरी राजस्व चुहावटलाई नियन्त्रण गर्ने सम्बन्धमा क्षेत्रहरु पहिचान सम्झौता भइसकेको छ,’ उनले भने ‘ साथै सूचना आदान–प्रदान तथा कार्यगत एकता गरी राजस्व चुहावटालाई नियन्त्रण गर्न पहल पनि गर्ने छन् ।’ राजस्व संकलनलाई प्रभावकारी बनाइ चुहावट नियन्त्रण गर्नु सरकारको पहिलो प्राथमिकता भएको सुवेदीले बताए । भन्सार महशुल निर्धारणदेखि मूल्य अभिवृद्धि, अन्तःशुल्क जस्ता करका विविध क्षेत्रमा हुने गरेको चुहावट नियन्त्रण प्रमुख चुनौती रहेको उनको बुझाइ छ । राजस्व चुहावटको क्षेत्रमा प्रभावकारी पाइला चाल्न सकिएको अवस्थामा भन्सार विन्दुहरूबाट राम्रो भन्सार संकलन गर्न सकिने अवस्था रहेको उनले बताए । पछिल्लो समय भन्सार महसुलको दर घट्दै जानु प्रमुख कारण पनि न्यूनवीजकीकरण वस्तुको मूल्याङ्कनमा जथाभावी मूल्य तोक्नु हो । प्राय आयात भएका वस्तुहरुको मूल्य कुन यथार्थ हो भनी पहिचान हुन सकेको छैन । एउटै वस्तुको मूल्य पनि भन्सारै पिच्छे फरक छ । वस्तुको मूल्याङ्कन फरक भएका कारण देशले प्राप्त गर्ने ठूलो राजस्व गुमिरहेको छ । ‘अब एउटा भन्सार कार्यालयमा गरिएको वस्तुको मूल्याङ्कनलाई अन्य भन्सार कार्यालयसँग मिलान गरेर हेरिने छ,’ उनले भने ‘वस्तुको मूल्याङ्कन फरक भएमा के कारणले किन मूल्य फरक भएको स्पष्टिकरण समेत लिइ यथार्थ मूल्यको पहिचान गर्न मन्त्रालयले निर्देशन दिइसकेको छ ।’ ‘भन्सार विभागमै बसेर वस्तु मूल्याङ्कको भेरिभिकेशन गर्न सकिने व्यवस्था भएकोले पनि अब केही हदसम्म राजस्व चुहावट नियन्त्रण हुने विश्वास लिएका हौ,’ उनले भने । खुला सिमानाबाट हुने चोरी निकासीलाई रोक्न सरकारले स्थानीय तहमा हुने राजस्व चुहावट नियन्त्रण समितिलाई प्रभावकारी रूपमा काम गर्न उत्प्रेरित गर्ने गर्ने भएको छ । यस्ता स्थानमा ती टोलीबाट अनुगमन बढाउने योजना सरकारको छ । यसले गर्दा भन्सार विन्दुबाट नेपाल भित्र्ने धेरै वस्तुको न्यूनवीजकीकरण हुने समस्या हल गर्न पनि सहज हुने उनले बताए । मन्त्रालयका अनुसार न्यून बिजकीकरण नेपालको ठूलो समस्या हो र छ । न्यून बिजकीकरण भएर सामान भन्सारमा जाँचपास भएर आउँछ । यसले भन्सार राजस्व मात्र घटेको होइन, बिक्री कर, मूल्य अभिवृद्धि करलाई पनि प्रभाव पारेको छ । उपभोक्तालाई पनि असर परेको छ । न्यूनवीकीकरणलाई रोक्न सरकारले निजी क्षेत्रलाई अधिकतम खुद्रा मूल्य( एमआरपी) तोकिएका वा सो मूल्य तोकेरमात्र वस्तु नेपाल भित्र्याउन तथा आफूले उ्रत्पादन गरेको वस्तु बजारमा पठाउन निर्देशन दिइसकेको छ । भारतमा जुन वस्तुको अधिकतम खुद्रा मूल्य लेखिएको हुन्छ, तर त्यहि वस्तु नेपाल आउँदा ‘फर सेल इन नेपाल अन्ली’ लेखिएको हुन्छ, तर मूल्य हुँदैन । त्यो न्यून बिजकीकरणका लागि नै प्रश्रय भएको एक व्यापार विज्ञले नाम नबताउँने शर्तमा बताए । यसले गर्दा व्यापारीलाई ठग्न सजिलो भएको उनको भनाइ छ । मदिरा पसल छुट्टै नराख्नेलाई कारवाही गर्ने सरकारले अन्य सामानसँगै मदिरा पसल राख्नेलाई दण्ड सजाय गर्न अभियानको रुपमा एक कार्यक्रमनै सञ्चालन गर्ने भएको छ । सरकारले करिब तीन वर्षअघि मदिराको पसल छ्ुट्टै राख्नुपर्ने व्यवस्था गरेपनि हालसम्म अन्य सामान र मदिरा एकै स्थानबाट विक्री गरिदै आएकोले यसलाई रोक्न यस्तो अभियान चलाउन लागेको हो । सबै टोल टोल तथा गल्ली गल्लीमा यसको अनुगमन गरिने र एकै स्थानमा भए तत्कालै छुट्टै पसलको व्यवस्था गर्न लगाउन सरकारले यस्तो कार्यलाई तिव्रता दिन लागेको हो ।
सात बैंक तथा वित्तीय संस्था मर्जर र एक्वायर गरेको प्रभु बैंकको सेयर कारोवार खोल्न राष्ट्र बैंकको स्वीकृति, ७९ हजार सेयरधनीलाई फाइदा
काठमाडौं, १४ असोज । नेपाल राष्ट्र बैंकले प्रभु बैंकको सेयर कारोवार खुल्ला गर्नको लागि स्वीकृति दिएको छ । मर्जर र एक्विजिसन प्रक्रियामा रहेका संस्थाहरुको एकिकृत कारोवार लगत्तै तथा मर्जर र एक्विजिसन प्रक्रिया तोडिएर त्यसको १५ दिनभित्रमा सेयर कारोवार खुल्ला गरिसक्न धितोपत्र वोर्डले निर्देशन दिएपछि लामो सयमदेखि सेयर कारोवार रोकिएका दुबै बैंकको कारोवार खुल्ला गर्न राष्ट्र बैंकले स्वीकृति दिएको हो । प्रभुको सेयर कारोवार खुल्ला गर्न राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको पत्र प्राप्त भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सहायक प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । नेप्सेले यस्तो पत्र गत बुधबार पाएको हो । प्रभु बैंकमा ७ ओटा बैंक तथा वित्तीय संस्था मर्जर र एक्विजिसनको रुपमा विलय भएका छन् । प्रभुसँग किष्ट बैंक, गौरिशंकर डेभलपमेन्ट बैंक, जेनिथ फाइनान्स, बैभव फाइनान्स र सम्बृद्धि विकास बैंक मर्ज भएका छन् भने प्रभुले ग्राण्ड बैंकलाई एक्वायर गरेको छ । सेयर कारोवार खुलेसँग बैंकका करिब ७९ हजार सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर विक्री गर्न पाउने भएका छन् । प्रभु बैंकमा सुरुमा किष्ट बैंक, गौरिशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स मर्ज भएका थिए । सोही मर्जरको कारण तत्कालिन प्रभु विकास बैंक र किष्ट बैंकको सेयर कारोवार ३० चैत २०७० देखि रोकिएको थियो । यी बैंक तथा वित्तीय संस्थाहरुको मर्जर सम्पन्न भएर प्रभु बैंकको नामवाट २९ भदौ २०७१ देखि एकिकृत कारोबार भएको थियो । चारओट बैंक तथा वित्तीय संस्थाविच मर्जर सम्पन्न भएपनि प्रभु बैंकको सेयर कारोवार खुल्ला भएको थिएन । यही विचमा ग्राण्ड बैंकलाई प्रभु बैंकले एक्वायर गर्ने सम्झौता भएपछि ग्राण्डको पनि सेयर कारोवार रोकिएको थियो । ग्राण्ड बैंकको सेयर कारोवार २४ असोज २०७२ देखि रोकिएको थियो । प्रभु बैंकले ग्राण्ड बंैकसँगको एक्वायर सम्पन्न गरेर २९ माघ २०७२ देखि एकिकृत कारोवार संचालन गरेपनि अहिलेसम्म सेयर कारोवार भने खुलेको थिए ।
हिमालयन बैंकको ६४ लाख कित्ता हकप्रद सेयर आउँदै, धितोपत्र बोर्डले दियो निष्काशन अनुमति
काठमाडौं, १४ असोज । हिमालयन बैंकले हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ । बैंकले ७ कित्ता बराबर एक कित्ताको अनुपातमा ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद सेयर निष्काशनको अनुमति पाएको हो । नेपाल धितोपत्र बोर्डले असोज १२ गते हिमालयन बैंकलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो । बैंकले लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । हिमालयन बैंकले गत आर्थिक बर्षको असार मसान्तसम्ममा एक अर्ब ९१ करोड नाफा कमाएको थियो । चार अर्ब ४९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ३७ करोड रहेको छ । बैंकको प्रति सेयर आम्दानी ४२ रुपैंयाँ ५८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १९७ रुपैंयाँ २५ पैसा रहेको छ ।