मेलम्चीको पानीको पाइप घरघररमा लैजानै अझै एक वर्ष, पानी आउने टुंगो छैन
काठमाडौं १५, असोज । मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीको घरघरमा वितरण गर्ने पाइप लाइन बनाउने काम अबका एक वर्षमा मात्रै पूरा हुने भएको छ । पाइप लाइन निर्माणको काम २०७४ असोज महिनाभित्रै सक्ने योजना रहेको र मेलम्चीको पानी काठमाडौं आउनुअगावै पाइपलाइनको काम सकिने आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । उपआयोजना–२ अन्तर्गतको पाइपलाइन विस्तारको काम हालसम्म पहिलो चरणको वितरण सञ्जाल सुधारमा पाँच सय किमि। पाइपलाइन बिछ्याएको छ भने तीन सय किमि बिछ्याउन बाँकी छ । मेलम्चीको पानी वितरणका लागि आठ सय किमि। पाइपलाइन विस्तार गरिने छ । आयोजना निर्देशनालयका प्रवक्ता लीला ढकालले भने– ‘७० प्रतिशत काम सम्पन्न भइसकेको छ, २०७४ असोजभित्रै काम सम्पन्न गर्छौ, लक्ष्य अनुसार काम भएको छ ।’ निर्देशनालयका अनुसार मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई सोही स्थानमा प्रशोधन गरी उपत्यकाका विभिन्न स्थानमा वितरण गरिने छ । सुन्दरीजलबाट प्रमुख वितरण लाइन हुँदै चक्रपथका विभिन्न स्थानमा पानी ट्याङ्की निर्माणको काम अन्तिम अवस्थामा पुगेको छ । प्रवक्ता ढकालका अनुसार महाङ्कालचौर, बाँसबारी, महाराजगञ्ज, बालाजु र खुमलटारको पानीट्याङ्की निर्माणको काम करिब सकिएको छ । यी पाँचवटा ट्याङ्कीमा चार करोड लिटर पानी सङ्कलन हुनेछ । अन्य तीनवटा आरुबारी, कीर्तिपुर, टिग्नीको पानीट्याङ्की निर्माण भइरहेको छ । भक्तपुरको कटुञ्जेमा जग्गाको मुआब्जाको विवादले गर्दा ढिला भएको प्रवक्ता ढकालले जानकारी दिए । दसैँलगत्तै २४र२५ समूह बनाएर पाइपलाइनको काम आगामी वर्ष सक्ने गरी तीव्र बनाइने प्रवक्ता ढकालले बताए। थोक वितरण प्रणालीतर्फ सुन्दरीजलदेखि महाङ्काल चौरसम्म एक हजार चार सय मिलिमिटर ब्यासको ९.५ किमि। बिछ्याइएको छ । आयोजनाले ८३ हजार ५४९ वटा धारा जडान गर्नुपर्नेछ । हालसम्म झण्डै २५ हजार धारा जडान गरिसकिएको निर्देशनालयले जनाएको छ । गोरखापत्र दैनिकबाट।
वन्यजन्तु चोरीसिकार नियन्त्रणमा नेपाल प्रहरी विश्वमै उत्कृष्ट, अन्तराष्ट्रिय पुरस्कार पाउने
काठमाडौं १५, असोज । वन्यजन्तु चोरीसिकार नियन्त्रणमा योगदान पुर्याएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अन्तराष्ट्रिय पुरस्कार पाउने भएको छ । सन् २०१० देखि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु ऐनअन्तर्गत रहेर नेपाल प्रहरीले गरेको योदानको कदर गर्दै ‘क्लार्क आर वभिन बाइल्डलाइफ ल इन्फोर्समेन्ट अवार्ड’ प्राप्त गरेको हो । विश्वभरबाट प्रचलित कानुनको पालना गर्दै प्रभावकारी काम गरेको भन्दै आगामी ३ अक्टोबरमा व्युरोलाई अवार्ड वितरण गर्न लागिएको छ । विश्वभरका प्रभावकारी काम गर्ने निकायहरुबीच प्रतिस्पर्धामा नेपालले गरेको काममा सफता हासिल गरेको भन्दै अवार्ड दिने निर्णय भएको अमेरिकाको वासिंगटन डीसीस्थित एनिमल वेलफियर इन्स्टिच्युटका अध्यक्ष काथ्यी लिसले इमेलमार्फत जानकारी दिएको समाचार शनिबारको राजधानी दैनिकमा छापिएको छ ।
बिहीबार सम्ममा ४ लाख भुकम्पपीडितको बैंक खातामा ५० हजार रुपैयाँ जम्मा
काठमाडौं, १४ असोज । सरकारले भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि ४ लाख ६ हजार ३ सय ९९ घरधनीको बैंक खातामा ५० हजार रुपैयाँ जम्मा गरिदिएको छ । बिहीबार सम्ममा सो रकम भुकम्प पीडितकोे खातामा जम्मा भएको प्राधिकरणले जनाएको छ ।अनुदान रकम लिन विभिन्न जिल्लाहरुका बैंकहरुमा भूकम्प पीडित घरधनीहरुको भीड लाग्ने गरेको जानकारी प्राप्त भएकोप्रति प्राधिकरणको ध्यानाकर्षण भएको छ । बैंकमा रहेको रकम आवश्यकता अनुसार घर बनाउने समयमा निर्माण सामग्रीहरु खरिदका लागि निकाल्न सकिन्छ । अनुदान रकम बैंकमा मौज्दात रहेको अवधिको बैंक तथा वित्तीय संस्थाहरुले व्याज उपलब्ध गराउने व्यवस्था रहेकाले हतारमा अनुदान रकम ननिकाल्न र घर पुनर्निर्माणको तयारी गरेर घर निर्माण गर्ने समयमा मात्र रकम निकाल्न राष्ट्रिय पुननिर्माण प्राधिकरणले जानकारी दिएको छ । पुननिर्माण प्राधिकरणका अनुसार घर पुनर्निर्माणका लागि प्राप्त अनुदान रकम अन्य क्षेत्रमा प्रयोग गरे कानूनी कारवाही हुने छ । अनुदान रकम घर पुनर्निर्माणमा बाहेक अन्यमा खर्च नगर्न प्राधिकरणले सुझाव दिएको छ । साथै, अनुदान सम्झौताका बेला गरिएको १५ बुँदे सम्झौताको परिपालन गर्न प्राधिकरणले जानकारी दिएको छ ।
कैलाश विकास बैंक २४औँ वर्षमा प्रवेश
काठमाडौं, १४ असोज । कैलाश विकास बैंक लिमिटेड २४ औं बर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो २४औँ बार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यका तथा उपत्यका बाहिर विभिन्न कार्यक्रमहरु सम्पन्न गरेकोछ । यस अवसरमा बैंकले शुक्रबार काठमाडौंको न्यरोड बिशाल बजार शाखामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा ४६ पिन्ट रगत संकलन गरी रक्त संचार केन्द्रलाई हस्तान्तरण गरिएको छ । सोही दिन काठमाडौंको न्यरोड शाखामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भयोे । सो कार्यक्रमबाट ४८ पिन्ट रगत संकलन गरिएको थियो । सोही अवसरमा बिहिबार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा– १७ सितापाइला स्थित पोखरा बिद्धाश्रमलाई एक कार्यक्रमका बिच सहयोग स्वरुप २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त कार्यक्रम बैंकका संचालक गोपाल प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । यसै गरी बैंकले रबिभवन काठमाडौं स्थित आमाघर बृद्धाश्रममा रहेका ४० जना बृद्धाहरुलाई बिहानको खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको थियो । यसै अवसरमा पोखरा १० रामघाट स्थित श्रमीक बाल बालीका तथा मजदुरका छोरा छोरीहरुलाई एक कार्यक्रमका बीच शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । उक्त कार्यक्रम बैंकका सहायक महा प्रवन्धक सूर्यप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम अन्तर्गत शनिबार पोखरामा आयोजित फिर्के–बुलौदी सरसफाई अभियानमा बैंकको सहभागिता सहित ऐक्यवद्धता जनाएर योगदन पुर्याउने कार्यक्रम रहेको छ ।
हुन्डाइद्धारा ट्राफिक प्रहरीलाई ५० थान भिडियो क्यामेरा सहयोग
काठमाडौं, १४ असोज । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिद्धारा कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरीलाई ५० थान क्यामेरा हस्तान्तरण गरेको छ । हुन्डाई मोटर्सले ल्याएको अभियान अन्तर्गत ६ वटा विषय ड्रिम मुभ, नेक्स्ट मुभ, इजि मुभ, ग्रीन मुभ, सेभ मुभ र ह्यापी मुभमा गर्दै आएको छ । यी हरेक कदमले समाजमा गर्दै आएको योगदानमा कम्पनीको दृष्टिकोण झल्किएरहेको छ । ट्राफिक सुरक्षा अभियान अन्तराष्ट्रिय हुन्डाई कर्पोरेट सामाजिक उत्तरदायित्वको मुख्य आधार रहि आएको छ । सेफ मुभ अन्तर्गत हुन्डाई ५० थान ड्यास कम ट्राफिकलाई हस्तान्तरण गरेको छ । सो ड्यासबोर्डको क्यामेराले गाडीको वाइन्ड स्क्रिनबाट निरन्तर भिडियो रेकर्ड गर्न सक्ने छ । सो क्यामेरा वाइन्ड स्क्रिनको भित्री भाग वा ड्यासबोर्डको माथिल्लो भागमा जडान गर्न सकिने छ । यसले दुर्घटनाको प्रमाण दिनुका साथै ट्राफिक नियम उल्लंघन र बीमा ठगीहरु पनि नियन्त्रण गर्न सहयोय पुर्याउने छ । यसले ट्राफिक व्यवस्थापनको पनि अध्ययन गर्न सघाउने छ । उक्त क्यामेराले २४ एफपिएस भिडियो १२८० * ७२० पिक्सेलमा रेकडिङ् गर्दछ । साउन्ड रेकडिङ् र ६४ जिबीको मेमोरी कार्ड सपोर्ट गनुको सार्थ यसले २४ घण्टा निरन्तर भिडियो रेकर्ड गर्दछ । साथै यसमा रहेको जिपिएसले गाडीको गति देखाउँदछ । यसमा वाइड एन्जल लेन्स छ भने यसले १३२ डिग्रीको दृश्य वाइड स्क्रीनबाट देखाउँदछ ।
सरकारको दशैं तयारीः सहुलियत पसलदेखि नयाँ नोट हुँदै घर जाने टिकटसम्म
काठमाडौं, १५ असोज । नेपालीहरुको सबै भन्दा ठुलो चाड दशैं नजिकिँदै गर्दा आम नेपाली जनजीवन ‘फेस्टिभल मुड’मा प्रवेश गरिरहेको छ ।नेपालीका घर घरमा आफ्नो आर्थिक अवस्था अनुसार दशैंको तयारी तथा स्वागत गरिरहेका छन् । सबै भन्दा ठुलो चाड भएकैले होला सरकारले पनि राष्ट्रिय रुपमै दशैंको जोडतोडले तयारी गरिरहेको छ । पहिलो तयारीः सहुलियत पसल सरकारले दशैंतमा आम उपभोक्तालाई सहुलियत दिन भन्दै असोज १ गतेदेखि उपत्यकामा १३ र जिल्लाबाहिर २५ ठाउँमा सहुलियत पसल सञ्चालन गरिरहेको छ । सहुलियत पसलमा साल्ट ट्रेडिङले नुन, चिनी, चामल, पिठो, मैदा, दाल, गेडागुडीको व्यवस्था मिलाइरहेको छ । साल्टले प्रतिकिलो चिनीमा ५ रुपैयाँ छुट दिइरहेको छ । नुनमा प्रतिकिलो २ रुपैयाँ छुट सुबिधा छ । ७८ प्रकारका खाद्य वस्तुहरूमा थप छुट दिने व्यवस्था मिलाइएको छ । नेसनल ट्रेडिङले विद्युतीय सामान, मेसिनेरी पार्टपुर्जामा छुट उपलब्ध गराइरहेको छ । खाद्य संस्थानले १५ थरीका चामल र गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ छुट दिइरहेको छ । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो १० रुपैयाँ, पनिरमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइरहेको छ । उपत्यका चक्रपथ आसपासका मुख्य बजारमा तीनवटा गाडीद्वारा घुम्ती सेवा पसल पनि सञ्चालन भैरहेको छ । त्यसमा एक व्यक्तिले नुन ३ केजी र चिनी ६ किलोसम्म किन्न पाउनेछन् । उपत्यका भित्र रामशाहपथ (सिंहदरबार), थापाथली, नख्खु, टेकु, जडीबुटी (कोटेश्वर), सूर्यबिनायक(भक्तपुर), बूढानीलकण्ठ (नारायणस्थान), बौद्ध, सतुंगल, नयाँ बानेश्वर, कालिमाटी (साल्ट ट्रेडिङ परिसर) मा सञ्चालन भैरहेका छन् । उपत्यका बाहिर भने कृष्णनगर, सुर्खेत, नेपालगन्ज, टीकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेल्धुरा, बेलौरी, त्रिशूली, बैतडी, हटौंडा, पोखरामा सञ्चालनमा छन् । त्यस्तै, अछाम, बाजुरा, बझाङ, बिर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगन्ज, बाग्लुङ, भैरहवालगायत स्थानमा पसल सञ्चालनमा छन् । ग्यासमा राहत नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घटाइसकेको छ । हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँमा उपलब्ध छ । हवाई इन्धनमा पनि राहत नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाइसकेको छ । हाल आन्तरिक उडान तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८९ रुपैयाँ छ । मासुका लागि खसीबोका नेपाल खाद्य संस्थानले शदैंका लागि करिब तीन हजार खसी बोका ल्याएको छ । मुस्ताङबाट एक हजार ५०० च्याङ्ग्रा तथा भारतका विभिन्न ठाउँबाट सोही संख्यामा खसी बोका ल्याइएको हो ।यी खसीबोकाघटस्थापनाका दिनदेखि बेचिनेछन् । घर जानलाई टिकट पनि सरकारले उपत्यका बाहिर जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङको व्यवस्था गरेको छ । उपत्यकका बिभिन्न स्थानबाट असोज ७ गतेबाट टिकट बुकिङ खुल्ला गरिएको छ । नयाँ नोट पनि राम्रै लाउँ, मिठै खाउ भन्ने मान्यतालाई पछ्याउँदै नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा ल्याउँदैछ । असोज १६ गतेबाट केन्द्रिय बैंकले दशैंका लागि भन्दै पाँच, १०, २०, ५०, १०० र पाँच सय दरका नयाँ नोट बजारमा ल्याउन लागेको हो ।
सहकारी ऐन संशोधन विधेयक पारित, एक व्यक्ति दुई सहकारीको सदस्य बन्न नपाउने
काठमाडौं, १४ असोज । व्यवस्थापिका – संसद्को बैठकमा “सहकारी विधेयक, २०७३ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । विसं २०४८ मा बनेको सहकारी ऐनलाई संशोधन गर्न नयाँ विधेयक आएको हो । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सदनको आजको बैठकमा सो प्रस्तावलाई सदन समक्ष प्रस्तुत गरेका थिए । सो विधेयकको सैद्धान्तिक पक्षमाथि भाग लिँदै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले सहकारी र वाणिज्य बैँकबीचको काम स्पष्ट हुनुपर्ने र सहकारीको भावनाअनुरुप सहकारीको अनुगमन गर्नुपर्नेमा जोड दिए । नेकपा (एमाले)का सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारी ऐन २०४८ लाई समयसापेक्ष बनाउन नयाँ विधेयक आउनु राम्रो भएको बताए । उनका अनुसार विसं २०४८ मा आठसयको हारहारीमा रहेका सहकारीमा एकलाख सदस्य सङ्ख्या रहेकामा हाल ३२ हजार सहकारी संस्थामा ५१ लाख सदस्य आवद्ध भई ५३ अर्ब रुपैयाँ पुँजी परिचालन भइराखेको छ । सोही पार्टीका गुरुप्रसाद बुर्लाकोटीले सहकारी अर्थतन्त्रको प्रमुख खम्बाको रुपमा संविधानले समेत स्वीकार गरिसकेको अवस्थामा विधेयकलाई अझ परिमार्जन गर्न सुझाव दिए । सोही पार्टीका पशुपति चौलागार्इँले नेपालको अर्थतन्त्रलाई माथि उकास्न सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताए । नेकपा (एमाले)का केशव बडाल र रेवतीरमण भण्डारीले नेपाली काँग्रेसका भरतकुमार साहले सहकारीलाई प्रवद्र्धन र समृद्धि गर्न विधेयकले काम गर्ने छ भनेका छन् । छलफलमा भाग लिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कुन्तीकुमारी शाहीले सहकारीबाट जनता ठगिने र पीडित हुनबाट जोगिन नयाँ विधेयक आवश्यक रहेकामा जोड दिए । छलफलमा १६ जना सांसदले भाग लिएका थिए। सहकारीले आथिक एवम् सामाजिक विकासमा टेवा पुगेको छ : मन्त्री थानी छलफलमा उठेका प्रश्नका जवाफ दिँदै सहकारी तथा गरिबी निवारण मन्त्री थानीले बैँक पुग्न नसकेका ग्रामीण कुनाकन्दरामा सहकारी पुगी ग्रामीण जनताको आर्थिक उन्नतिमा लागि परेको बताए । मन्त्री थानीले सहकारीमा ५३ लाख जनसङ्ख्या आवद्ध भएको जानकारी दिँदै सहकारीले आथिक एवम् सामाजिक विकासमा टेवा पुगेको छ भने । उनले १३३ सहकारी समस्याग्रस्त रहेको चर्चा गर्दै एक व्यक्ति एक सहकारी विधेयकको मुख्य उद्देश्य रहेको बताए। रासस
आश्रित विधयेक जस्ताको तस्तै पारित, विपक्षी एमाले चुपचाप बस्यो
काठमाडौं, १४ असोज । ब्यवस्थापिका संसदको शुक्रवारको बैठकले बजेटसँग आश्रित तीन विधयेक बहुमतले पारित गरेको छ । एमाले नेतृत्वको सरकारको समयमा संसदमा पेश गरिएको सो विधयेक तत्कालिन सत्ता साझेदार नेकपा माओवादी केन्द्र र तत्कालिन प्रमुख विपक्षी नेपाली काँग्रेसले विपक्षमा मतदान गरेको कारण अस्वीकृत भएको थियो । अहिले नेकपा माओवादी केन्द्रको नेतृत्वमा गठन भएको सरकारले सो विधयेक जस्ताको तस्तै संसदमा पेश गरेर पारित गरेको हो । सो सयममा विधयेक पेश गर्ने एमाले अहिले विपक्षमा छ । आजको बैठकमा एमालेले पक्ष वा विपक्षमा नबोली चुपचाप बसेको एमाले संसदीय दलको प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । व्यवस्थापिका–संसद्को बैठकले अर्थतन्त्रसम्बन्धी तीन विधेयकलाई बहुमतले पारित गरेको हाे । ती विधेयकमा आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत (एक्काइसौँ संशोधन) विधेयक २०७३ रहेका छन् । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सदनको शुक्रबारको बैठकमा ती विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदन समक्ष प्रस्तुत गरेका थिए । ती विधेयकलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले समेत सदन समक्ष प्रस्तुत गरेको थियो । तर तत्कालीन सत्ता साझेदार प्रमुख दल नेकपा (माओवादी केन्द्र्) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएका कारण ती विधेयक पारित हुन सकेका थिएन । ती विधेयकका सैद्धान्तिक पक्षमाथिको छलफलमा नेपाली काँग्रेसका भरतकुमार साह र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भाग लिएका थिए । अर्थमन्त्री महराले आर्थिक समृद्धिमा सरकारले जोड दिएको, विलासीमा उपकरणमा उच्च कर लगाइएको, करका दरलाई समयसापेक्ष रुपमा परिमार्जन गरिएको बताए । उनले कर चुहावट नियन्त्रणमा सरकारले उच्च प्राथमिकता दिएको, कर प्रणालीमा सुधार भइराखेको पनि जानकारी दिए। व्यवस्थापिका–संसद्को अर्को बैठक २०७३ असोज १६ गते आइतबार दिनको १ बजे बस्ने छ । रासस