विकासन्युज

राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डे विदामा, एक महिनापछि अनिवार्य अवकाश पाउँदै

काठमाडौं, ३ मंसिर । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशिक तथा नियमन विभाग प्रमुख शिवनाथ पाण्डे आजदेखि विदामा बसेका छन् । राष्ट्र बैंकमा सेवा गरेको ३० वर्ष अवधि पूरा गरेको आधारमा अबको एक महिनापछि उनले अनिवार्य अवकाश पाउँदैछन् । राष्ट्र बैंकमा ३० वर्ष काम गरेको आधारमा कर्मचारीले अनिवार्य अवकाश पाउने व्यवस्था छ । पछिल्लो समयमा पुरानो व्यवस्था परिवर्तन गरेर ५८ वर्ष उमेर उमेर पुगेपछि मात्र अनिवार्य अवकाश हुने व्यवस्था गर्नु पर्ने आवाज राष्ट्र बैंक भित्र उठिरहेको छ । तर यस विषयमा राष्ट्र बैंकभित्रै चर्को विवाद रहेकाेले सञ्चालक समितिले यस विषयमा निर्णय लिन सकेको छैन । पाण्डे राष्ट्र बैंकभित्र कार्यसम्पादन क्षमता राम्रो भएको र स्वच्छ छवि भएको प्रशासकको रुपमा चिनिन्छन् । ५२ वर्षको उमेरमा उनले अवकाश पाएका छन् । ३० वर्षे कार्यकालका अाधारमा कार्यकारी निर्देशक त्रिलाेचन पंकेनीले पनि केही महिनापछि अबकाश पाउँदैछन् ।

नेपाली देशमा काम नपाएर कालापहाड पुग्छन्, भारतीय नेपाल आउँछन्

वीरगन्ज, ३ मङ्सिर । सीमावर्ती भारतको रक्सौल बस्ने व्यास मुखिया एकाबिहानै साइकलमा एक टोकरी स्याउ लिएर वीरगन्जको मीना बजारमा आउने गर्दछन् र दिनभरि व्यापार गरी साँझपख घर फर्किने गर्दछन् । कामको खोजीमा कालापहाड जाने नेपालीको सङ्ख्या धेरै भएपनि सीमापारिका भारतीय नागरिकले भने वीरगन्ज बजारमा सजिलैसँग व्यापार गरी आर्थिक लाभ लिने गरेका छन् । भारतको उत्तर प्रदेश, हरियाणा, पञ्जाब, दिल्ली लगायतका ठाउँमा पुग्ने नेपाली कामदार त्यहाँ खेतीपाती, सडकको काम तथा नोकरी गर्ने गरेका छन् भने भारतीय नागरिकका लागि नेपाली बजार सुलभ व्यवसाय गरिने थलोका रुपमा विकसित हुने गरेको छ । सीमावर्ती भारतीय बजार तथा गाउँबाट दैनिक एक हजारभन्दा बढी भारतीय वीरगन्जबजारमा आई किराना पसल, चिया पसल, खाजा पसल, तरकारी व्यापार लगायतका व्यवसाय गरी साँझपख मोटो रकम लिई आफ्नो घर भारत फर्किने गरेको उनीहरुको दिनचर्या रहेको छ । भारतीय व्यापारीले दैनिक १० लाखभन्दा बढीको व्यापार गरेका छन् भने नेपाली कडा परिश्रम गर्न कालापहाड जाने गरेका छन् । कामको खोजीमा कालापहाड जाने भनी पर्सा, बारा, रौतहट, मकवापुर, चितवन लगायतका ग्रामीण क्षेत्रका युवा भारत जाने गरेका छन् भने भारतका विभिन्न ठाउँमा करिब ६ महिना काम गरी स्वदेश फर्किने गर्दछन् । तर सीमापारि भारतबाट आउने फुट्कर व्यापारीले विभिन्न मौसम अनुसारको व्यापार गरी आर्थिक लाभ लिँदै आएका छन् । उनीहरु फुट्कर व्यापारबाहेक सिकर्मी, डकर्मी, सिरक, डसना बनाउनाका साथै ढुङ्गा, माटोका काम, घर बनाउने, रङ लगाउने जस्ता काम गर्दछन् । “कामको खोजीमा भारत कालापहाड जानुभन्दा आफ्नै देशमा सुन फलाउन सकिन्छ”, मीनाबजारका व्यापारी माधवप्रसाद गुप्ता भन्छन्–“विदेशमा गएर परिश्रम गर्नुभन्दा आफ्नै देशमा पसिना चुहाएर मनग्य आम्दानी गर्न सकिन्छ ।” सीमापारि भारतबाट कामको खोजीमा वीरगन्ज आउने कामदार व्यापार गर्नुका साथै यहाँका कलकारखानामा समेत काम गर्ने गरेका छन् । यहाँ आधाजसो काम गर्ने त भारतीय नै छन् । मीना बजारका अर्का व्यापारी वीरेन्द्रप्रसाद साह भन्नुहुन्छ, “भारतीय सजिलो तरिकाले वीरगन्जमा आएर व्यापार गर्छन् तर नेपाली कामका लागि कालापहाड जानु दुखद हो । ती व्यापारी वीरगन्जका कुनाकाप्चा, टोलगल्लीमा गई सिरक, डसना बनाउने र आर्थिक लाभ लिने गर्छन् तर नेपाली भने अन्यत्र जान्छन् । आफ्नो गाउँसहरमा मिहेनत गरी सुन फलाउन सकिन्छ ।” रासस

वायुसेवा निगमको जहाज राख्न चीनले चार अर्ब खर्चेर ह्याङगर बनाइदिने, डिजाइन र जहाज राख्ने क्षमता तय

काठमाडौं ३, मंसिर । नेपाल वायुसेवा निगमको जहाज मर्मत गर्न र जहाज राख्नको लागि चीनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ह्याङगर बनाइदिने भएको छ । नेपाल सरकार र चीन सरकारबीच भएको सरकारी सम्झौतापछि चिनियाँ जहाज ल्याउनेपर्ने भएपछि चीनले निगमका लागि एउटा ह्याङगर नै बनाइदिने भएको छ । त्रिभुवन विमानस्थलमा बनाइदिने विमानको मर्मत संभाव गर्न र जहाज राख्न प्रयोग हुने यस्तो ह्याङगरको क्षमता भने वाइडवडिकाका एक, न्यारोबडिका दुई र आन्तरिक उडानका जहाज भने एकैपटकी तीन चारवटा अट्नेसम्म हुने वायुसेवा निगमको इन्जिनियरिङ विभागले जानकारी दिएको छ । विमानस्थमा रहेको निगमको ह्यांगरको फाइल तस्बिर निगमले चिनियाँ जहाज बारम्बार विग्रिरहेन र मर्मत खर्च अधिक हुने तथा चिनियाँ पक्षको असहयोग भएको गुनासोपछि एक वर्ष अगाडि गरेको यस्तो प्रस्तावलाई पुनः अगाडि सारिएको वायुसेवा निगमका एक इन्जिनियरले बताए । उनका अनुसार चीनले अनुदानमा बनाइदिने यस्तो ह्याङगर नेपाली चार अर्ब रुपैयाँसम्म खर्च गरेर अध्याधुनिक बनाइदिने प्रस्ताव गरेको छ । चीनको स्वार्थ नेपालमा जोडिदै गएको र जहाज लिने प्रक्रिया लामो समयसम्म अल्झिएकोले पनि अहिले चार करोड डलरको जहाजका पाटपूर्जा काठमाडौंमा नै उपलवब्ध गराउनेसहितको नयाँ प्रस्ताव आएको निगमको भनाइ छ । निगमका सहायक प्रवक्ता शैलेश कंसाकारका अनुसार चिनियाँ पक्षले निर्देशक तथा महाप्रवन्धकतहमा मात्रै कुराकानी गरेकोले आफूलाई चिनियाँ जहाज र यसको कुने पक्षको बारेमा पनि जानकारी नभएको बताए । उनले यस विषयमा चाइनिजले पहिले पनि प्रताव गरेको र तथा पहिलो प्रतिवेदनमै भएकोसम्म जानरकारी रहेको बताए । थप जानकारी दिने आधिकार भने आफूलाई नभएको प्रतिक्रिया दिए । निगम स्रोतका अनुसार दुईवटा चिनियाँ जहाज आगामी पुस भित्र आउने तय भएको छ । बाँकी दुईवटा पनि केही महिनामा आउने भएकोले निगमले चीनसँग भएको स्पेयर्स पाट्स, ह्यांगर बनाउने प्रस्तावको पूर्ण विवरण सार्वजनिक गर्न चाहेका छैनन् । चीनले बनाइदिने यस्तो ह्याङगरपछि वायुसेवा निमगलाई आफ्ना आन्तरिक उडानका जहाज तथा अन्तर्राष्ट्रिय उडानका जहाजको इन्जिनबाहेकको मर्मत काठमाडौंमा नै हुन सक्ने उल्लेख छ । निजी वायुसेवासँग अत्याधुनिक जहाज विमान मर्मत केन्द्र नेपालमा निजी वायुसेवा कम्पनी बुद्ध एयरसँग मात्रै अत्याधुनिक जहाज मर्मत केन्द्र रहेको छ । बुद्ध एयरले चार वर्षदेखि संचालनमा ल्याएको जहाज मर्मत तथा संभारलाई हाल अन्तर्राष्ट्रिय जहाज पनि मर्मत गर्न सक्ने क्षमतामा पुर्याएको छ । बुद्धले एटीआर र बीचक्र्याफ्टका जहाजको मर्मत नेपालमा नै गर्न थालेको छ । बुद्धको सेवालाई चित्त बुझाई विदेशी वायुसेवाले पनि नेपालमा नै जहाज मर्मतको रुची देखाउन थालेको उल्लेख छ । बुद्धसँग भएको जहाजकै प्रकृतिका जहाज बुद्धले मर्मत गर्न थालेको छ ।

त्रिवेणी विकास बैंकले १९ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, ३ मंसिर । त्रिवेणी विकास बैंकले १९ प्रतिशत बोनस सेयर दिने भएको छ । मंसिर १ गते बसेको बैंक सञ्चालक समितिले उक्त निर्णय गरेको हो । बैंकले मंसिर २४ गतेलाई साधारणसभा भरतपुरमा बोलाएको छ । हाल बैंकको चुक्ता पुँजी ८२ रुपैयाँ छ । बैंकले २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन खुला गरेको छ । हकप्रद सेयर आवदेन मंसिर २७ गतेसम्मको लागि खुला रहेको छ । हकप्रद सेयर बाँडफाँड पछि बैंकको चुक्ता पुँजी १२४ करोड रुपैयाँ हुनेछ । बैंकले १९ प्रतिशतका दरले १५ करोड ५८ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्दैछ । त्यसपछि बैंकको चुक्ता पुँजी करिव १ अर्ब ४० करोड रुपैयाँ हुनेछ । याे बैंक जनता बैंकमा मर्ज हुँदैछ ।

सेवा विकास बैंकको ५१ लाख कित्ता हकप्रद सेयर निष्कासन, मंसिर २३ देखि सेयर आवेदन दिन पाइने

काठमाडौं ३, मंसिर । सेवा विकास बैंकले ५१ लाख ६ हजार ६६२ कित्ता हकप्रद सेयरको निष्कासन खुला गरेको छ । यो बैंकले यही मंसिर २३ गतेबाट निष्कासन खुला गरेको एक सय अंकित रुपैयाँका एक सयेर बराबार १ दशमलव २ को अनुपातमा सेयर निस्कासन गरेको छ । यो बैंकले ४२ करोड ५५ लाख ५५ हजार दुई सय को चुक्ता पँुजीमा १२० प्रतिशत हकप्रद सेयर जारी गर्ने सुचना सार्वजनिक गरेको छ । आगामी पुस २७ गतेसम्म यसको हकप्रद सेयरको आवेदन दिन पाइने छ । यो बैंकको गत असोज १९ गतेसम्मका सेयरधनीले हकप्रदका लागि आवेदन दिन पाउने छ । यो बैंकको सेयर विक्री प्रवन्धक एनएमबी क्यापटिल लिमिटेड हो ।

सांसदको सुविधा चारगुणा बढ्दै, सुविधा बढाउन प्रमुख तीन दलको संयुक्त प्रस्ताव

काठमाडौं ३, मंसिर । व्यवस्थापिका संसद्मा पेस भएको ‘संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा’सम्बन्धी विधेयकमा कांग्रेस, एमाले र माओवादीले चारगुणासम्म सुविधा वृद्धिको प्रस्ताव गरेका छन् ।तीन दलका ११ सांसदको संयुक्त हस्ताक्षरसहित बिहीबार दर्ता गराएको संशोधन प्रस्तावमा सांसदको सुविधा चारगुणासम्म थप गर्न प्रस्ताव गरिएको हो । सांसदहरूको तलब र सुविधा वृद्धि गर्न संसद्मा दर्ता भएको संशोधन विधेयक ‘विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भइसकेको छ । सो विधेयकमा संशोधनका लागि दिइएको ७२ घण्टे समय सकिने अन्तिम दिन उनीहरूले सुविधा थप वृद्धि हुनेगरी प्रस्ताव दर्ता गराएका हुन्। दर्ता भएको संशोधन प्रस्ताव हुबहु पारित भए अब एकजना सांसदले पारिश्रमिकबापत मासिक १ लाख ३० हजार रुपैयाँभन्दा बढी रकम प्राप्त गर्नेछन् । हाल सांसदले मासिक ६५ हजार रुपैयाँ तलब बुझ्दै आएका छन् । बिहीबार अपरान्ह कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका चारसहित ११ जनाले संशोधन प्रस्ताव दर्ता गरेका हुन । संशोधन प्रस्ताव गर्ने सदस्यहरूको संसद्मा बहुमत पुग्ने भएकाले उनीको प्रस्तावअनुसार विधेयक पारित हुने निश्चित प्रायः छ । विधेयकमाथिको संयुक्त संशोधनमा कांग्रेसका राम अयोध्याप्रसाद यादव, प्रेमकिशोरप्रसाद साह तेली, एमालेका तारादेवी राई, माओवादी केन्द्रका जुठबहादुर टुहुरेले हस्ताक्षर गरेका छन् । संसद् बैठकको प्रतिदिनको भत्ता प्रस्तावित विधेयकले ५ सय रुपैयाँ हुने उल्लेख गरेकोे थियो । संयुक्त संशोधन प्रस्तावमा १ हजार रुपैयाँ पु¥याउनुपर्ने प्रस्ताव गरिएको छ । सांसदसहित पदाधिकारीलाई फर्निचर खर्चबापत १५ हजार रुपैयाँ दिने प्रस्तावलाई तीन गुणाभन्दा बढी बढाएर उनीहरूले ५० हजार पु¥याउनुपर्ने उल्लेख गरेका छन् । यात्रा बिमाबापतको रकम १० लाख प्रस्ताव गरिएकामा संशोधनमा दुईगुणा बढाएर २० लाख प्रस्ताव गरिएको छ । त्यसैगरी, मृत्यु भएका पदाधिकारी वा सदस्यका परिवारलाई आर्थिक सहायतामा साढे दुईगुणा बढाएर एकमुष्ट रूपमा ५ लाख रुपैंया दिनुपर्ने संशोधन प्रस्ताव दर्ता गरिएको छ । प्रस्तावित विधेयकमा त्यस्तो रकम २ लाख रुपैयाँ मात्र उपलब्ध गराउने उल्लेख छ । यसैगरी, अशक्त भएका पदाधिकारी वा सदस्यलाई आर्थिक सहायताबापत ५० हजार रुपैयाँ उपलब्ध गराइने विधेयकको प्रस्तावमाथि संशोधन राख्दै त्यसलाई चारगुणा बढाएर २ लाख बनाउने प्रस्ताव गरिएको छ । यसैगरी, हाल विपक्षी दलको प्रमुख सचेतक, सत्ता पक्षको सचेत र सभापतिका सदस्यहरूलाई अंगरक्षकको व्यवस्था नरहेकामा ‘हेड प्रहरी कन्स्टेबल’ तहको एकजना अंगरक्षकको व्यवस्था गर्ने गरी संशोधन दर्ता गरिएको छ ।सत्ता पक्षको प्रमुख सचेतक हुनका लागि प्रतिनिधिसभामा बहुमत प्राप्त गर्ने कुनै दल हुनुपर्नेछ । तर, नभएमा प्रतिनिधि सभामा १० प्रतिशतभन्दा बढी सदस्य भएको सत्ता पक्षको संसदीय दलको नेताले प्रतिनिधि सभामा सत्ता पक्षको प्रमुख सचेतक भई काम गर्ने व्यवस्थासहितको संशोधन प्रस्ताव दर्ता गरिएको छ । संसद्का सदस्यलाई कार्यालय सहयोगी, प्रिन्टरसहितको कम्प्युटर र साइकलसमेत उपलब्ध हुने गरी संशोधन प्रस्ताव दर्ता गरिएको छ । संसोधन प्रस्तावमा विधेयकमा उल्लेख भएको पैदल भ्रमणबापत पाइने भत्ताको व्यवस्था हटाइएर भ्रमण मात्र राख्न प्रस्ताव गरिएको छ । सांसद तथा पदाधिकारीले प्रतिमहिना पाउने पारिश्रमिकमा भने संशोधन प्रस्ताव गरिएको छैन । विधेयकमा सांसदको पारिश्रमिक ५५ हजार २ सय ३० रुपैयाँ तोकिएको छ । सांसदहरूको विशेष भत्ता प्रस्तावित विधेयकमा प्रतिमहिना १ हजार हुने उल्लेख छ । त्यसमा संशोधन परेको छैन । बैठक भत्तामा विधेयकले ५ सय प्रस्ताव गरेकामा त्यसलाई दुईगुणा बढाएर हजार रुपैयाँ प्रस्ताव गरिएको छ । सञ्चार सुविधाबापत प्रस्तावित विधेयकमा ३ हजार रुपैयाँ पाउने उल्लेख छ । आवास सुविधा पनि विधेयकको प्रस्तावबमोजिम १८ हजार हुनेछ यसलाई संशोधन गरिएको छैन । यसअघि आवास सुविधाका लागि सांसदले प्रतिमहिना ६ हजार ५ सय रुपैयाँ पाउँथे । राजधानी दैनिकबाट ।

नयाँ सिईओ आएपछि राष्ट्रिय वाणिज्य बैंक अधोगतिमा , नाफा १७ प्रतिशतले घट्यो

काठमाडौं, ३ मंसिर । राष्ट्रिय वाणिज्य बैंकको नाफा १७ प्रतिशतले घटेको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा ५० करोड ८ लाख रुपैयाँ मात्र नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६० करोड ३९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । सबै वाणिज्य बैंकहरुको नाफा उच्चदरले बढेको समयमा राष्ट्रिय वाणिज्य बैंकको नाफा भने उच्च दरले घटेको छ । नाफा घटेपछि यस बैंकमा केही महिनाअघि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेका किरण श्रेष्ठको कार्यसम्पादन क्षमतामा प्रश्न उठेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेल रहेको सरकारले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरको थियो । क्षमताको आधारमा नभई राजनीतिक शक्तिको आडमा श्रेष्ठलाई नियुक्त गरिएको त्यति बेलामा नै आरोप लागेको थियो । यस बैंकमा १०० प्रतिशत लगानी सरकारको छ । २०५० को दशकमा राजनीतिक चलखेलले गम्भिर संकटमा परेको यो बैंक विश्व बैंक लगायत विदेशी संस्थाबाट ऋण लिएर सुधार गरिएको थियो । विदेशी व्यवस्थापनले समालेपछि सुधारको क्रममा रहेको यस बैंकले विगत करिव १० वर्ष पछाडि फर्कन परेको थिएन । यस बैंकमा सर्वसाधारणको निक्षेप १ खर्ब ४६ अर्ब रुपैयाँ छ । बैंकले करिव ८६ अर्ब रुपैयाँ कर्जा सापटी दिएको छ भने ४१ अर्ब रुपैयाँ लगानी गरेको छ । बैंकको सेयर पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब २३ करोड रुपैयाँ छ ।

चारहजार एटीएमका डाटा र पिन चोरी, प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले थप विवरण खोज्दै

काठमाडौं ३, मंसिर । जासुसी उपकरण बोकेर नेपाल आएका टर्किस, रोमानियन र बुल्गेरियन नागरिकले विभिन्न बैंकका ४ हजार ग्राहकको पिन नम्बर चोरी गरेको खुलेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोका अनुसार एटिएम बुथमा गोप्य क्यामरा लगायतका उपकरण जडान गरी उनीहरुले नेपाली ग्राहकको पिन नम्बर चोरी गरेका हुन् । चोरी गरिएका पिन नम्बर सोही समूहका अन्य सदस्यलाई इमेल गरेर पठाएको पनि खुलेको छ । ‘तर, ती पिन नम्बर कुन कुन बैंकका हुन् र त्यसबाट पैसा निकालिएको छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले कान्तिपुरसँग भने । ब्युरोले कात्तिकमा बुल्गेरिया, रोमानिया र टर्किका गरि ८ जना पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको साथबाट नक्कली एटिएम कार्ड, नेपाली बैंकका कार्डको विवरण र पिनसँगै त्यसको चोरीमा प्रयोग हुने उपकरण फेला परेको थियो । उनीहरुको साथबाट प्रहरीले गोप्य क्यामरा फिस आई, एटिएम मेसिनबाट अर्काको पिन नम्बर चोर्न सघाउने कार्ड स्किमिङ मेसिन, रित्तो कार्डमा पिन नम्बर राख्ने कार्ड पर्सनलाइजेसन मेसिन, एटिएम बुथको नम्बर दवाउन प्रयोग हुने किप्याड, कार्ड काट्ने र घोट्ने मेसिन लगायतका उपकरण र पिन नम्बर संग्रह गरिएको ल्यापटप फेला परेको थियो । उनीहरुको ल्यापटप र इमेल हेर्दा उनीहरुले नेपाली एटिएम बुथबाट संकलन गरेको पिन विवरण र पासवर्ड फेला परेका हुन् । पक्राउ परेकाहरुले पिन नम्बर चोरी गर्न दरबारमार्ग, ठमेल, कान्तिपथमा रहेका विभिन्न बैंकका एटिएम बुथ प्रयोग गरेको खुलेको थियो । प्रहरीले २०७१ देखि हालसम्म चोरी भएको २ करोड ३७ लाख रुपैयाँ फेला पारेको छ । टर्किस नागरिक मेहेमेत गुलेन र बुल्गेरियन नागरिक पेट्रोस्लाभ रिस्तोवबाट प्रहरीले एक करोड ६८ लाख रुपैया फेला पारेको थियो । रोमानियाली नागरिक पेड्रा ओरिलियन, बुल्गेरियन नागरिक डिमा एनातासोव स्टेफानोव र रोमानियाली गिता हुजुम, लोसिफ मोरारु र एलेक्स क्रिष्टियान लगायतबाट प्रहरीले ६६ लाख रुपैंया फेला परे पनि ती रकम कुन कुन बैंकका ग्राहकको हो भने खुलिसकेको छैन । कुन कुन बैंकका कुन कुन ग्राहकको पिन चोरी भएको हो भन्ने विवरण उपलब्ध गराउन राष्ट्र बैंकलाई पत्राचार गरिए पनि जानकारी नआइसकेको ब्युरोका एक अधिकारीले जानकारी दिए । कान्तिपुर दैनिकबाट ।