काठमाडौं । नक्कली आरोहण अनुमति पत्र बनाउने सेभेन समिट ट्रेक प्राइभेट लिमिटेडका ३ जना कर्मचारी पक्राउ परेका छन् । नक्कली आरोहण पत्र निर्माण गरेको आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले प्रालीको ३ जनालाई प्रक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा प्रालीका लिगल डिपार्टमेन्ट हेड, निभेस कार्की, मार्केटिङ म्यानेजर फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याल रहेका छन् । उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको सीआइबीका प्रवक्ता सानुराम भट्टराईले जानकारी दिए । उनीहरुले सगरमाथा आरोहणका लागि १२ जनाको अनुमति लिएकोमा किर्ते गरि १४ जना पुर्याएको सीआइबीले जनाएको छ ।
उनीहरुले सक्कली अनुमति पत्रमा भएको १२ जनाको नाममा १ जना चाईनिज नागरिक र १ जना अष्ट्रेलियन नागरिकको नाम थप गरी १४ जनाको नाम भएको अर्को कीर्ते आरोहण अनुमति पत्र तयार गरी सोलुखुम्बुमा बुझाएका थिए । सोलुखुम्बु र पर्यटन विभाग काठमाडौंबाट पठाएको विवरणमा फरक भएपछि सीआइबीले अनुसन्धान सुरु गरेको थियो ।
यस्ता छन् अनसन्धानबाट खुल्न आएको कुराहरु
१.सगरमाथा आरोहणमा जाने अन्तिम दलमा सक्कली आरोहण पत्रानुसार चाईनिज नागरिक ८ जना, ईन्डियन २ जना, स्पेन १ जना र ब्रिटेन १ जना रहेकोमा नक्कली आरोहण पत्रमा थप भएका २ जना मध्ये १ जना चाइनिज र १ जना अष्ट्रेलियन नागरिक रहेको
२ं. २०७४ चैत्र ३० गते निभेश कार्कीले पर्यटन विभागबाट सक्कली आरोहण पत्र लिनु भन्दा केही दिन अगाडी १४ जनाकै लागि पर्यटन विभागमा पेश गरेको ।
३. तत्पश्चात लिगल डिपार्मेन्ट प्रमुख निभेश कार्की , लेखापाल विजयश्वर अर्याल र फुर्तेन्जी शेर्पाले १४ जनाको सट्टा पर्यटन विभागबाट १२ जनाको मात्र परमीट निकाल्ने र बाँकी २ जनाको परमीट शुल्क वापतको २२,००० र ३ जनाले बाँडी लिने योजना तय गरेको
४. योजना अनुसार निभेश कार्कीले पर्यटन विभागबाट सक्कली छाप लगाएको लेटर प्याड ल्याई सक्कल जस्तै परमिट बनाउने जिम्मा, विजयश्वर अर्यालले लेखा मिलाउने जिम्मा र फुर्तेन्जी शेर्पाले राखि चाहिएको ठाउँमा सोही नक्कली डकुमेन्टलाई वितरण गर्ने जिम्मा लिएको
५. विजयश्वर अर्यालले ७,३५,००० र फुर्तेन्जी शेर्पाले ७२ सय अमेरीकी डलर र बाँकी रकम निभेश कार्कीले लिएको ।
६. निजहरु उपर सरकारी दस्तखत छाप किर्ते र ठगी अनुसार अनुसन्धान भैरहेको ।