सैँतिस अर्ब राजस्व सङ्कलन, लक्ष्य भन्दा दुई अर्व ६१ करोड बढी
पर्सा, ३ मङ्सिर । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा वीरगन्ज भन्सार कार्यालयले ३६ अर्ब ९७ करोड ८५ लाख ९१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यसअवधिको लागि भन्सार विभागले ३४ अर्ब ३७ करोड २२ लाख रुपैयाँको लक्ष्य राखेको थियो । कार्यालयका प्रमूम भन्सार अधिकृत सेवन्तक पोखरेलका अनुसार भन्सार राजस्वतर्फ १३ अर्ब ७१ करोड ९३ लाख ५७ हजार, मूल्य अभिवृद्धी करतर्फ रु १३ अर्ब १३ करोड ३८ लाख २४ हजार, अन्तः शुल्कतर्फ रु आठ अर्ब नौ करोड ६३ लाख २८ हजार तथा अन्यतर्फ रु ६१ करोड ४९ लाख १३ हजार राजस्व सङ्कलन भएको थियो । आवको पहिलो चौमासिकका लागि विभागले दिएको लक्ष्यको तुलनमा ७ दशमलव ५८ प्रतिशत अर्थात् दुई अर्ब ६१ करोड ६३ लाख ५३ हजार बढी राजस्व सङ्कलन गरेको छ । रासस
कम्पनी ऐन संशोधन विधेयक संसदमा प्रस्तुत
काठमाडौँ, ३ मङ्सिर । व्यवस्थापिका–संसद्को आजको बैठकमा कम्पनी ऐन (पहिलो संशोधन) विधेयक, २०७३ प्रस्तुत भएको छ ।उद्योगमन्त्री नवीन्द्रराज जोशीले उक्त विधेयक प्रस्तुत गर्दै जनताले घरमै बसेर बिद्युतीय माध्यमबाट पनि उद्योग दर्ता गर्न मिल्ने तथा विदेशी लगानीलाई आकर्षित गर्ने प्रावधान विधेयकमा भएको जानकारी दिए । उनले विकसित मुलुकको उदाहरण हेर्दा आर्थिक समृद्धिका लागि विदेशी लगानी आवश्यक रहेको बताउँदै विदेशी लगानीको माध्यमबाट स्वदेशमा रोजगारी बढ्ने अपेक्षा गरे । विधेयक प्रस्तुत गर्ने प्रस्तावको विरोध गर्दै नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगरले सो ऐनले विदेशी प्रभुत्व बढ्ने र सरकारको जिम्मेवारी कम हुँदै जाने बताइन् । उनको सो विरोधको सूचना बैठकले अस्वीकृत गरेको थियो । रासस
कात्तिक ३० गते विषेष अदालतबाट सफाइ पाएपछि सांसद् लामाको निलम्बन फकुवा
काठमाडौँ, ३ मङ्सिर । व्यवस्थापिका–संसद्को शुक्रबार बसेको बैठकले नेकपा (माओवादी केन्द्र) का सांसद डा .ल्यारक्याल लामा को सांसद पदको निलम्वन फुकुवा गरेको छ । सभामुख ओनसरी घर्तिले लामाले विशेष अदालतबाट सफाइ पाइसकेकोले उनको सांसद पदको निलम्वन फुकुवा भएको बताएकी हुन । सभामुख घर्तिले विषेष अदालते सफाइ दिएको पत्र संसदमा बढेर सुनाएकी थिइन् । लामालाई गत कात्तिक ३० गते अदालतले सफाइ दिएको थियो । बैङ्कको लकरमा अवैध हतियार भेटिएको भन्दै लामामाथि मुद्दा दायर भएको थियो । बैठकमा राष्ट्रपतिले विभिन्न विधेयक प्रमाणीकरण गरिएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो । रासस
नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ– उपप्रधानमन्त्री महरा
काठमाडौँ, ३ मङ्सिर । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिवद्ध रहेको बताएका छन् । अर्थ मन्त्रालयमा शुक्रबा चिनियाँ राजदूत यू होङसँगको शिष्टाचार भेटवार्ताका क्रममा उनले नेपाली भूमिबाट चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने दृढता व्यक्त गरे । उपप्रधानमन्त्री महराले असल छिमेकी र मित्रको हिसाबले पनि नेपालले चीनको चासो र अपेक्षालाई सम्बोधन गर्ने बताउँदै नेपालको विकासका लागि चीन सरकारबाट उपलब्ध भएको सहयोगप्रति उच्च सम्मान प्रकट गरे । नेपालको विकास र समृद्धिका लागि आगामी दिनमा पनि चीनबाट थप सहयोग उपलब्ध हुने विश्वास व्यक्त गरेको उपप्रधानमन्त्री महराका प्रेस संयोजक त्रिभुवन पौडेलले जानकारी दिए । चीन सरकारबाट अगाडि बढाइएका नेपालका विकास आयोजना र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने उपप्रधानमन्त्री महराले बताए । सो अवसरमा राजदूत होङले नेपालको विकास र समृद्धिमा चीन सरकारको तर्फबाट उपलब्ध भइरहेको सहयोग निरन्तर रहने तथा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे । रासस
२६ बाणिज्य बैंकले बढाए ३ अर्ब नाफा, तीन महिनामा कमाए ९ अर्ब २९ करोड
काठमाडौं, ३ मंसिर । चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा २६ वटा बाणिज्य बैंकहरुले ९ अर्ब २९ करोड ६७ लाख नाफा कमाएका छन् । यो नाफा गत आर्थिक बर्षको सोही अवधीमा तिनै बैंकहरुले कमाएको नाफा भन्दा ३ अर्ब एक करोड ८५ लाख रुपैंयाँले बढि हो । गत आवको पहिलो त्रैमासिकमा २६ बाणिज्य बैंकहरुले जम्मा ६ अर्ब २७ करोड ८२ लाख नाफा कमाएका थिए । नेपाल बंगलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंक बाहेक सबै बाणिज्य बैंकहरुले पहिलो तीन महिनाको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । यसरी वित्तिय विवरण सार्वजनिक गर्ने अधिकांश बैंकका नाफा वृद्धि भएको छ । तर राष्ट्रिय बाणिज्य बैंक र सिभिल बैंकको नाफा भने घटेको छ । गत आवको पहिलो त्रैमासिकमा ६० करोड ३९ लाख नाफा कमाउन सफल भएको राष्ट्रिय बाणिज्य बैंक यसपाली खुम्चेर ५० करोडमा झरेको छ भने ५ करोड ५८ लाख कमाएको सिभिल पनि यसपाली खुम्चेर एक करोड ४५ लाखमा सिमित भएको छ । पहिलो तीन महिनामा सबै भन्दा धेरै नाफा कमाउने बैंकका रुपमा नेपाल बैंक लिमिटेड स्थापित भएको छ । गत आवको पहिलो तीन महिनामा ४४ करोड ४३ लाख नाफा कमाएको नेपाल बैंकले चालु आवको सोही अवधीमा भने एक अर्ब ६६ करोड नाफा कमाउन सफल भएको छ । त्यस बाहेक सिटिजन्स बैंकले १४ करोेडबाट बढाएर ३४ करोड नाफा कमाउन सफल भएको छ भने कुमारी बैंकले पनि गत बर्षको ४ करोड नाफालाई बढाएर १३ करोड पुर्याएको छ । ग्लोबल आइएमई बैंकले ३१ करोड नाफालाई बढाएर ४१ करोड ६७ लाख पुर्याएको छ । त्यस्तै, एनएमबी बैंक पनि धेरै नाफा वृद्धि गर्ने बैंकको सूचिमा अग्रस्थानमै देखिन्छ । गत आवको पहिलो तीन महिनामा जम्मा १४ करोड २८ लाख नाफा कमाएको एनएमबीले चालु आवको सोही अवधीमा ३८ करोड ६१ लाख नाफा पुर्याएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४२ करोड ३८ लाखबाट बढेर ७७ करोडमा पुगेको छ । एनआइसी एसिया बैंकले पनि १७ करोडबाट बढाएर २६ करोड १० लाख नाफा कमाउन सफल भएको छ । गत आवको पहिलो त्रैमासिकमा १७ करोड ३१ लाख नाफा कमाएको माछापुछ्रे बैंकले यसपाली २४ करोड ६९ लाख नाफा आर्जन गरेको देखिन्छ । यस बाहेक सानिमा बैंक, मेगा बैंक, नेपाल एसबिआई बैंक, प्रभु, लक्ष्मी, सनराइज, स्ट्याण्डर्ड चाटर्ड, सिद्धार्थ, एभरेष्ट, बैंक अफ कमाठाडौं लुम्बिनी, नबिल, कृषि विकास बैंक, प्राइम, एनसीसी लगायतका बैंकले नाफा बढाएका छन् ।
विद्युत् चोरीको आरोपमा चार पक्राउ
बनेपा, ३ मङ्सिर । नेपाल विद्युत् प्राधिकरण बनेपा शाखाले विद्युत् चोरी गरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । प्रहरीसहितको विद्युत् चुहावट नियन्त्रण टोलीले विभिन्न विद्युतीय सामानसहित उनीहरुलाई बिहीबार काभ्रेपलाञ्चोकको देउपुर क्षेत्रबाट पक्राउ गरिएको शाखा प्रमुख नवलकिशोर गोइतले जानकारी दिए । पक्राउ पर्नेमा देउपुरका ३० वर्षीय बलराम खड्का, सोही ठाउँका अर्जुन विक, कमल चौलागाईं र अर्जुन ढकाल रहेका छन् । उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा ल्याइएको छ । उनीहरुबाट फ्रिज, मोर्टर, टिभीलगायतका सामानसमेत बरामद गरिएको छ । पक्राउ परेकाले प्रयोग गरेको विद्युत् भार पहिचान भएपछि उनीहरुलाई जरिवाना तिराइने उनले बताए । शाखा प्रमुख गोइतले जिल्लाभर विद्युत् चुहावटका लागि प्रहरीसहित विद्युत्का कर्मचारी परिचालन भएको जानकारी दिँदै निगरानी बढाउने र विद्युत् चुहावटमा संलग्नलाई पक्राउ गर्ने योजना छ भने । यसैबीच काठमाडौँ विश्वविद्यालय उपकुलपतिको कार्यकक्षमा भएको तोडफोडमा संलग्न भएको आरोपमा एकजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । काठमाडौँमा अस्थायी बसोबास गर्ने अर्घाखाँची, ठाडा गाविस–७ बस्ने सुशील खनाललाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको जनाएको छ । रासस
सुकुम्बासी समस्या सधैका लागि समाधान हुन्छ : मन्त्री पाण्डे
चितवन, ३ मङ्सिर । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सुकुम्बासी समस्या सधैँका लागि समाधान गर्न सरकार लागिपरेको बताएका छन् । ऐन निर्माण गरी सुकुम्बासी समस्या सधैंका लागि समाधान गर्न सकिन्छ, उनले शुक्रबार चितवनका पत्रकारहरुसँग कुराकारी गर्दै भने– “एक महिनाभित्रमा ऐन निर्माण गरेर सधैका लागि सुकुम्वासी समस्या समाधान गर्ने गृह कार्यमा सरकार लागेको छ ।” मन्त्री पाण्डेले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरुलाई बासस्थानको व्यवस्था मिलाउन सरकार गम्भीर रहेको चर्चागर्दै सुकुम्बासी समस्या समाधानका लागि सरकारलाई सबै दलको सहयोग चाहिएको छ बताए । माडि बाँदरझुलाका सुकुम्बासीलाई जिल्लाको अन्य क्षेत्रमा स्थानान्तरण गर्ने काम सुरु गरिएको उल्लेखगर्दै उहाँले जिल्लाका ऐलानी जग्गाको अध्ययन गर्न मालपोत कार्यालय भरतपुरका अधिकृत हरिकृष्ण सुवेदीको संयोजकत्वमा सरकारले एक समिति गठन गरिएको जानकारी दिए । मन्त्री पाण्डेले जिल्लाका ६५ स्थानका ऐलानी जग्गाको अवस्थाका बारेमा अध्ययन गरेर १० दिनभित्रमा समितिले प्रतिवेदन बुझाउने र सो को आधारमा त्यहाँका बासिन्दालाई उपयुक्त स्थानमा स्थानान्तरण गरिने बताए । रासस
बैंक नहुँदा राहदानी जारी हुन सकेन, राहदानीको रकम जम्मा गर्न दुईदिन हिडेर सदरमुकाम
बैतडी, ३ मङ्सिर । बैतडीको पुरचौँडी क्षेत्रका एक दर्जन गाविसका सर्वसाधारण बैंक नहुदा राहदानी सेवा लिनबाट बञ्चित भएका छन् । सो क्षेत्रमा राहदानी सेवा दिने असार पहिलो साता हाटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयबाट रा बैंक नहुदा राहदानी जारी हुन सकेन । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार राहदानीका लागि आवश्यक पर्ने रकम जम्मा गर्ने बैंक नहुँदा पुरचौँडी क्षेत्रका एक दर्जन गाविसका सर्वसाधारण दुई दिन लगाएर सदरमुकाम आउनुपर्ने बाध्यता हट्न सकेको छैन । असार ६ गतेदेखि इलाका प्रशासन कार्यालय स्थापना गरिएपनि राहदानीको काम गर्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए । “पुरचौँडी हाटमा कुनै पनि बैंक छैनन्, रकम जम्मा गर्ने व्यवस्था नहुँदासम्म त्यो काम गर्न सकिँदैन”, भने , “यसका लागि सर्वसाधारण सदरमुकाममा नै पुग्नुपर्छ ।” हाललाई इलाका प्रशासन कार्यालयवाट सिफारिस बनाएर जिल्ला प्रसासनबाट जारी गर्ने गरेको जानकारी गराउँदै राहदानीका लागि वैकल्पिक व्यवस्थाको तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी कुँवरले बताए । इलाका प्रशासनले नेपाली नागरिकताको प्रमाणपत्र, प्रतिलिपि, नाबालक परिचयपत्र, विभिन्न सिफारिस, प्रमाणित गर्नुपर्ने कागजात लगायतका सेवा दिनुका साथै स्थानीय बजार अनुगमन, कार्यालयको अनुगमन लगायतका कामसमेत गरिरहेको छ । कार्यालय स्थापनापश्चात् राहदानीबाहेक अन्य सेवा प्रदान गरिँदै आएकाले पुरचौँडी क्षेत्रका हाट, मल्लादेही, कोटिला, तल्लादेही, मठैराज, भूमिराज, विजयपुर, न्वादेउ, महादेवस्थान, भटना, कुवाकोट गाविसका झन्डै ६० हजारभन्दा बढी बासिन्दा लाभान्वित भएका छन् । रासस