नयाँ रोजगारी सृजना गर्नु मूलुकको प्रमुख प्राथमिकता- उद्योग मन्त्री नवीन्द्रराज जोशी
काठमाडौं, २० मंसिर । उद्योग मन्त्री नवीन्द्रराज जोशीले नयाँ रोजगारी सृजना गर्नु अहिले मूलुकको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् । उद्योग मन्त्रालय अन्तरगतको उद्यमशीलता विकास कार्यक्रममा सघाई रहेका नेपाल स्थित राष्ट्रिय एवं अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाका प्रतिनिधिहरु सँगको सोमबार उद्योग मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री जोशीले थप रोजगारी सृजनाका लागि साम्हिक प्रयास फलदायी हुने भएकाले छलफल कार्यक्रमको आयोजना गरिएको बताएका छन् । नेपालको गरिबी निवारण र रोजगारी सृजनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाहरुको महत्वपूर्ण योगदान रहेको भन्दै मन्त्री जोशीले मूलुकका लागि महत्वपूर्ण युवा जनशक्तिलाई रोजगारीको खोजिमा विदेश जानुपर्ने वाध्यताको अन्त्य गर्न आवश्यक रहेको बताए । उद्यमशीलता विकासलाई प्रोत्साहित गर्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको भन्दै उनले उद्योग मन्त्रालयले प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक मोटिभेटर केन्द्र स्थापना गर्न लागिएको बताए । सो अवसरमा उद्योग राज्यमन्त्री कञ्चनबादे श्रेष्ठले स्थानिय श्रोत साधनमा आधारित लघु उद्योगहरुलाई प्रवद्र्धन गर्दै जान जरुरी रहेको बताएका छन् । उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोईरालाले संचालित कार्यक्रमहरुलाई अझ कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्धेश्यले छलफल कार्यक्रमको आयोजना गरिएको बताएका छन् । कार्यक्रममा मन्त्रालयका सहसचिव याम कुमारी खतिवडाले गरिबी निवारणका लघु उद्यम विकास कार्यक्रम प्रभावकारी देखिएको जानकारी गराएका छन् । कार्यक्रममा सहभागी राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाका प्रतिनिधिहरुले वर्तमानमा संचालित सीपमूलक तालिमलाई स्थानिय आवश्यकता अनुरुप परिमार्जन गर्न आवश्यक देखिएको जनाए । लघु उद्यमीको उत्पादन विक्री गर्न मूल्य अभिवृद्धि कर (भ्याट) विल नचाहिने व्यवस्था गर्न उपयुक्त रहेको उनीहरुको सुझाव रहेको थियो । कार्यक्रमबीच समन्वय नहुँदा कार्यक्रमहरु प्रभावकारी हुन नसकेको भन्दै उनीहरुले जिल्ला जिल्लामा गैह्र सरकारी संस्थाहरु मार्फत परिचालित हुने सानो सानो पूँजीलाई एकिकृत गरी बास्केट फण्ड बनाएर परिचालन गर्न सके त्यसले प्रभावकारी परिणाम निकाल्ने बताएका छन् ।
एसिया कप क्रिकेट-नेपाली टोलीको घोषणा
काठमाडौं, २० मंसिर । एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । यही मंसिर २८ गतेसम्म श्रीलंकामा हुने उक्त प्रतियोगिताका लागि १९ सदस्यीय खेलाडी छनोट भएका छन् जसमा वैकल्पिक चार खेलाडी छन् । कप्तानको जिम्मेवारी सन्दीप लामिछानेले पाएका छन् । त्यस्तै छनोट हुने खेलाडीहरुमा अभिनाश कर्ण, असिफ शेख, दीपेन्द्रसिंह ऐरी र सन्दीप सुनार छन् । त्यसैगरी रवीन्द्रजङ्ग शाही, आदिल खान, भीम सार्की, अनिलकुमार शाह, पवन सर्राफ, सुवार्णकर उराव, कमलसिंह ऐरी, नन्दन यादव, प्रकाश केसी र रोहितकुमार पौडेल छन् । वैकल्पिक खेलाडीमा शाहव आलम, किशोर महतो, विक्रम भुसाल र सुशान्त थापा छनोटमा परेका छन् । अन्तरर्राष्ट्रि«य क्रिकेट परिषद्को एसिया क्षेत्रका अधिकृत वेंकटपथी राजु मुख्य प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोद दासको छनोट समितिले उक्त टोलीको घोषणा गरेको हो । रासस
दोलखाको २७ प्रतिशत विकास निर्माणका योजना सम्झौतामा समस्या
दोलखा, २० मंसिर । दोलखाका करिब २७ प्रतिशत विकास निर्माणका योजनाहरु स्थानीय उपभोक्ता समूहहरु र जिल्ला विकास समितिबीच समन्वय नहुँदा सम्झौता हुन सकेका छैनन् । सम्पूर्ण प्रक्रिया पु¥याएर निवेदन दिए पनि दोलखा जिल्ला विकास समितिले सम्झौता प्रक्रिया अघि नबढाएका कारण योजना सम्झौता हुन नसकेको उपभोक्ता समूहहरुको गुनासो छ । सम्झौताका लागि निवेदन दिएका ७५ वटा उपभोक्ता समितिका पदाधिकारीसहितका सदस्यले जिविसका कारण योजना सम्झौतामा ढिलाइ भएको आरोप लगाएका छन् । जिविस दोलखाले कुल २७३ वटा विकास निर्माणका योजना अघि बढाएको योजना अधिकृत कृष्ण कार्कीले जानकारी दिए । जिविसका अनुसार १७ जना प्राविधिक भए पनि लागत अनुमान तयार नहुँदा योजना सम्झौता हुन नसकेको हो । जिविसले योजना सम्झौताका लागि समयसीमा तोकेर स्थानीय रेडियोहरुबाट विगत एक महिनादेखि आह्वान गरे पनि अत्यन्त न्यून मात्रामा निवेदन आएको र सम्झौता भएको पाइएको छ । जिविसले अनुदानतर्फको ५३, ग्रामीण खानेपानीतर्फ १०, साना सिँचाइतर्फ २३, पुरातत्वतर्फ ३८, दुई जिल्ला तथा आर्थिक केन्द्र जोड्ने सडकतर्फ ३४, पर्यटन पूर्वाधार १३, पर्यटन प्रतिष्ठानतर्फ छ, ऊर्जाको रोयल्टीतर्फ ६४ र स्थानीय मागमा आधारित ३२ गरी २७३ योजना कार्यान्वयन गर्ने योजना अघि सारेको छ । रासस
क्यासीको उपाध्यक्षमा प्रदीप कुमार श्रेष्ठ निर्वाचित
काठमाडौं, २० मंसिर । एशिया प्रशान्त क्षेत्रहरुका उद्योग वाणिज्य समुहको सर्वोच्च छाता संगठन कन्फडेरेशन अफ एशिया प्यासिफिक चेम्बर अफ कर्मश एण्ड इण्डष्ट्रि (क्यासी) को ताइवानमा सम्पन्न ३०औं सम्मेलन तथा ५० औं वार्षिकोत्सवबाट आउँदो कार्यकालको लागि पुनः उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष श्रेष्ठ नेपालको प्रतिष्ठित औद्योगिक घराना पञ्चकन्या उद्योग समूहका प्रबन्ध निर्देशक समेत हुन् । एशिया प्रशान्त क्षेत्रमा आर्थिक समृद्धि, व्यापारिक साझेदारीको अभिवृद्धि गर्ने उद्देश्यले सन १९६६ मा स्थापना भएको क्यासीमा रसिया, कोरिया, जापान, ताइवान, भारत, पाकिस्तान, थाइल्यान्ड, इरान, बङलादेश, हङकङ, अस्ट्रेलिया, मलेशिया, सिंगापुर लगायत २६ राष्ट्रका कुल २८ उद्योग संगठनहरु सदस्य रहेका छन् ।
नेपालको व्यापार तथा लगानी वृद्धि गर्न कुवेतका राजदूत तत्पर
काठमाडौं, २० मंसिर । नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी र नेपालका लागि कुवेतका राजदूत यूसेफ बिन मोहमद अल–हेल बीच भेटघाट भएको छ । सोमबार चेम्वर भवनमा भएको उक्त भेटमा दुई देश बीचको व्यापार तथा लगानी अभिवृद्धि सम्वन्धमा छलफल भएको छ । छलफलका अवसरमा नवनियुक्त राजदूतलाई चेम्वर भवनमा स्वागत गर्दै अध्यक्ष राजेश काजी श्रेष्ठले राजदूतको कार्यकालमा दुई देश बीचको आर्थिक सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष श्रेष्ठले भूकम्प पश्चात नेपालमा पुर्नस्थापना र पुर्ननिर्माणका लागि पूजीँ र प्रविधिको आवश्यकता रहेको बताएका छन् । अध्यक्ष श्रेष्ठले नेपालमा लगानीको वातावरण बन्दै गएकोले नेपालको कृषि, जलश्रोत, पुर्वाधारको विकास, खनिज तथा खनिजजन्य उद्योग, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्न अनुरोध गरेका छन् । उनले सस्तो श्रम, चीन र भारत जस्ता दुई ठूला आर्थिक राष्ट्र सम्मको सहज बजारका कारण नेपाल लगानीको लागि उपयुक्त भएको बताएका छन् । अध्यक्ष श्रेष्ठले नेपालबाट कतारमा निर्यात हुने बस्तुहरुको प्रवद्र्धनमा समेत राजदूतको रचनात्मक सहयोगको अपेक्षा गरिएको बताएका छन् । नेपालका लागि कुवेतका राजदूतले दुई देशबीचको सम्वन्ध विस्तारमा नेपाल र कतारबीचको आर्थिक सम्वन्ध अभिवृद्धि गर्न आफू सदा तत्पर रहने बताएका छन् । राजदूतले दुई देश बीचको आर्थिक सामाजिक सम्वन्ध विस्तारमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुदाँ उच्चस्तरीय भ्रमण प्रतिनिधि मण्डलमा निजी क्षेत्रको सहभागिता बढाउन, मेला तथा प्रदर्शनीमा सहभागिता बढाउनु पर्नेमा जोड दिएका छन् ।
फागुन १९ र २० गते काठमाडौंमा लगानी सम्मेलन, तयार भए १० परियोजना
काठमाडौं, २० मंसिर । नेपालमा वैदेशिक लगानी भित्र्याउन भन्दै आगामी फागुन १९ र २० गते काठमाडौंमा लगानी प्रवद्र्धन सम्मेलन आयोजना हुँदैछ । उद्योग मन्त्रालय र लगानी बोर्डको समन्वयमा आयोजना हुने लगानी सम्मेलनका लागि भन्दै यतिबेला बिभिन्न १० वटा परियोजना तयार भएका छन् । त्यसमा नेपालले लगानीको अत्याधिक सम्भावना भएका क्षेत्र भनेर छुट्याएको उर्जा, पर्यटन, शिक्षा, स्वास्थ्य, उत्पादन मुलक क्षेत्र, कृषि, खानी, यातायात, बैंक तथा वित्तिय क्षेत्र र सूचना तथा प्रबिधी लगायतका परियोजना तयार भएका हुन् । ‘हामी नेपालमा वैदेशिक लगानी भित्र्याउने उदेश्यसहित आयोजना गर्न लागिएको लगानी प्रवद्र्धन सम्मेलनमा १० वटा परियोजना पेश गर्दैछौं, त्यसमा लगानी गर्नका लागि आव्हान गरिनेछ’, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने । उनले त्यस्ता परियोजना समेटिएको विस्तृत प्रस्ताव उद्योग मन्त्रालयमा पठाइसकिएको समेत जानकारी दिए । यसरी तयार भएका सामाग्रीहरुलाई सम्मेलनका क्रमा आमन्त्रित विदेशी लगानी कर्ता समक्ष पेश गरिनेछ । त्यसमा लगानी योग्य आयोजनाका विशेषता, सम्भावित प्रतिफल, कानुनी व्यवस्था, नेपालले उपलब्ध गराउने सुबिधा लगायतको विस्तृत जानकारी समावेश गरिनेछ ।‘हामी तत्काल लगानी गर्न सकिने केहि प्रोजेक्ट तयार पारेर पेश गर्दैछौं, त्यससँगै एकद्धार प्रणालीबाट काम गरिदिने व्यवस्थाको ग्यारेण्टी समेत गर्ने प्रयास गर्नछौं’, अधिकारीले भने । ३५० विदेशी लगानी कर्ता आउने सम्मेलनमा ३५० जना भन्दा बढि विदेशी लगानी कर्ता आउने दावी गरिएको छ । त्यसका साथै विश्वका उत्कृष्ठ अर्थशास्त्रीहरु र प्रतिष्ठित केहि उद्योगपतिलाई समेत निम्त्याउने तयारी भैरहेको उद्योग मन्त्री नविन्द्रराज जोशीलाई उदृत गर्दै प्रेस संयोजक प्रदिप चापागाईँले बताए । सम्मेलन अघि नै सबै ऐन ल्याउने तयारी मन्त्रालयले लगानी प्रवद्र्धन सम्मेलन अघि नै लगानीसँग सम्बन्धित सम्पुर्ण ऐन ल्याउने तयारी गरेको छ । हाल सेज ऐन र औद्योगीक व्यवसाय प्रवद्र्धन ऐनको संसोधन विधेयक संसदबाट पारित भैसकेका छन् । त्यस्तै, कम्पनी ऐनको संसोधन बिधेयक संसदमा टेबल गरेर समितिमा पठाएको छ भने वैदेशिक लगानी तथा प्रबिधी हस्तान्तरण ऐनको मस्यौदा तयार भैसकेको छ । त्यसैगरि वौद्धिक सम्पति सम्बन्धि ऐनको पनि मस्यौदा तयार भैसकेको छ । यी सबै ऐन ल्याएर वैदेशिक लगानी कर्तालाई नेपाल लगानीका लागि उपयुक्त गन्तव्यका रुपमा स्थापित भैसकेको सन्देश दिन चाहेको उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए ।
सिटिजन्स बैंक इन्टरनेशनलले २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रवन्धकमा सानिमा क्यापिटल नियुक्त
काठमाडौं, २० मंसिर । सिटिजन्स बैंक इन्टरनेशनले २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त सेयर निष्कासनको लागि बैंकले बिक्री प्रवन्धकको रुपमा नक्सालको सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सिटिजन्स बैंकको दशौं वार्षिक साधारण सभावाट पारित अनुसार बैंकले एक करोड ३८ लाख ४३ हजार ३०० कित्ता हकप्रद शेयर चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा निष्काशन गर्ने भएको छ । उक्त सम्झौता पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् । हाल बैंकको चुक्ता पूँजी ५ अर्व ५३ करोड रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद सेयरको वाँडफाँड पश्चात बैंकको चुक्ता पूँजी ६ अर्व ९२ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालकमा दिपकमान श्रेष्ठ नियुक्त
काठमाडौं, २० मंसिर । नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालकमा पुन दिपकमान श्रेष्ठ नियुक्त भएका छन् । मंसिर २० गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आगामी एक कार्यकालका लागि फेरि सञ्चालकमा नियुक्त गरेको हो । यस अघि देखिनै श्रेष्ठले बैंकको सञ्चालकको जिम्मेवारी सम्हाली सकेका छन् ।