मकवानपुरमा आपत्कालीन विमानस्थल बनाइने
हेटौँडा, २० मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले देशभित्र रहेका विभिन्न पीठको संरक्षण र प्रवद्र्धन गरेर धार्मिक पर्यटक भित्र्याइने बताएका छन् । नारायणी यातायात व्यवसायी सङ्घ र निर्माण व्यवसायी सङ्घले सोमबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले पशुपतिनाथ र लुम्बिनीलाई मात्र नहेरी ओझेलमा परेका पीठको संरक्षण र विकासमा विशेष भूमिका निर्वाह गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। मकवानपुरमा आपत्कालीन विमानस्थल बनाउन उपयुक्त रहेकाले सम्भाव्यता अध्ययनका लागि छिट्टै प्राविधिक टोली खटाइने जानकारी उनले दिए । रासस
सुनचाँदी निर्देशिकामा जर्तीको विवाद, जर्ती ५ प्रतिशत मात्र हुनुपर्ने सरकारी अडान १५ प्रतिशत हुनुपर्ने व्यवसायीको माग
काठमाडौं, २० मंसिर । सरकारले साढे ३ वर्षप्रयास गर्दा पनि सुनचाँदी व्यवस्थापन गर्न तयार गरेको निर्देशिकालाई अन्तिम रुप दिन सकेको छैन । सुनचाँदी व्यवसायी तथा सरकारबीच निर्देशिकामा गरेका व्यवस्थामा सहमति नहुँदा ३ वर्षअघिदेखि निर्देशिका वाणिज्य तथा आपूर्ति मन्त्रालयमै अलमलिएको छ । गत कार्तिक २४ गते मन्त्रालयमा सबै सरोकारवालालाई बोलाएर यस विषयमा छलफल गरे पनि सुनको गर–गहना निर्माणमा जर्ती काट्ने विषयमा सहमति जुट्न नसकेको आपूर्ति मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले जानकारी दिए । व्यवसायीहरुले गर–गहनाको मोडल अनुसार कम्तीमा पनि १५ प्रतिशत जर्ती काट्न पाउने व्यवस्थाको माग गर्दै आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले बताए ।१५ प्रतिशत जर्ती नपाए काम गर्न नसकिने उनको भनाइ छ । पारित हुने तयारीमा रहेको निर्देशिकामा भने जर्ती वापत व्यवसायीहरुले ५ प्रतिशतसम्म मात्र काट्न पाउने व्यवस्था गरेको छ । मन्त्रालयले अब जतिसक्दो छिटो निर्देशिका पारित गरी लामो समयदेखि रोकिएको सुनचाँदी अनुगमन पुनः सुचारू गर्ने तयारी गरिरहेको छ । आपूर्ति मन्त्रालयले सुन, चाँदी, हिरा तथा बहुमूल्य धातुका गहना (अनुगमन तथा नियमन) उपभोक्तावादी संघ संस्थासँग मिलेर अनुगमन गने तयारी गरेको हो । विवाहको लगनमा सुनको कारोबार बढ्ने र वर्षैदेखि ठगिएका उपभोक्तालाई राहत दिन तथा पारदर्शी व्यवसायलाई संस्थागत गर्न अनुगमन शुरु गर्न लागेको हो । सरकारले निर्देशिक बनाएपनि यसले गर्न लागेको व्यवस्थामा सुन चाँदी व्यवसायी र सरकार पक्षबीच सहमति हन नसक्दा त्यति बेला गर्दै आएको बजार अनुगमन कार्य रोकिएको थियो । निर्र्देिशकाको अभावमा गत झण्डै करिब ३ वर्षयता सुनचाँदीको अनुगमन रोकिँदै आएको थियो । निर्देशिका बिना अनुगमन गर्दा व्यवसायीले केका आधारमा अनुगमन गरिएको भनी चर्को विरोध र अनुगमन गर्न पहिला निर्देशिका पारित गर्न दवाब दिएपछि तीन वर्षअघि बहुमूल्य धातुको अनुगमन रोेकिएको थियो । त्यसयता सुनचाँदीको अनुगमन हुन सकेको छैन । सरकारले २०६९ सालमै निर्र्देिशका पारित गर्ने तयारी गरे पनि गहना निर्माण गर्ने जर्तिलगायत विषय तथा राजनीतिक अस्थिरता कारण अघि बढ्न सकेको थिएन । ऋब सरकारले बजार अनुगमन गर्दा गुणस्तर तथा नापतौल विभागले तयार गरेको सुनचाँदी कारोबारको मापदण्ड र निर्र्देिशकाको आधारमा गर्ने छ । सुनचाँदी कारोबारमा हाल भइरहेको ठगी रोक्न अनुगमन टोलीलाई पनि थप बलियो र प्रभावकारी बनाउने निर्र्देिशकामा उल्लेख छ । यस्ता छन् बजार अनुगमनका आधारहरु गहनाको उत्पादन, आपूर्ति, मूल्य, नापतौल, गुणस्तर र विक्री वितरणका सम्बन्धमा अनुगमन गर्नेछ । त्यस्तै, टोलीले गहना निर्माणमा प्रयोग गरिने जर्ती (गहना बनाउँदा टुक्रिएर खेरा जाने सुन), रसायन, निर्माण प्रक्रिया, कच्चा पदार्थको मौज्दात लगायतमा पनि अनुगमन गरिने भएको छ । अबदेखि गहना बनाउँदा अधिकतम ५ प्रतिशतभन्दा बढी जर्ति राख्न नपाइने व्यवस्था निर्देशिकामा उल्लेख गरिएको छ । निर्देशिकाको मस्यौदामा कुनै फर्म वा कम्पनीले व्यवसायीक प्रयोजनका लागि कारोबार गर्दा सम्बन्धित धातुका गहनाको जर्ती गहनाको प्रकृति अनुसार शून्यदेखि ५ प्रतिशत कायम गर्नुपर्ने उल्लेख गरिएको छ । हिरा वा अन्य बहुमूल्य धातुका हकमा भने क्रेता र विक्रेताको आपसी सहमतिमा जर्ती कायम गर्न निर्देशिकाले सुझाएको छ । ज्याला भने उपभोक्ताको हित अनुकुल हुनेगरी द्विपक्षीय सहमतिमा कायम गर्नुपर्ने उल्लेख गरिएको छ । गहनाको उत्पादन, विक्री वितरणबाट उपभोक्ताको स्वास्थ्य, सुरक्षा र सम्पत्तिमा प्रतिकूल असर परे÷नपरेको र कारोबारमा कानूनी प्रक्रिया पूरा गरे र नगरेको लगायतका विषयमा पनि टोलीले अनुगमन गर्ने बताइएको छ । साथै पारित हुने तयारीमा रहेको निर्देशिकामा आफूखुसी र हानिकारक रसायन प्रयोग गर्न नपाइने व्यवस्था निर्देशिकाले गरेको छ । निर्दे्शिकाले गहना बनाउँदा आफूखुसी र हानिकारक रसायन प्रयोग गर्ने प्रवृतिलाईसमेत कडाई गरेको छ । ‘२४ क्यारेटको सुनको गहना तयार गर्दा प्रयोग गरिने रसायनको गुणस्तर एक क्यारेट मुनिको रसायनमात्र प्रयोग गर्नुपर्नेछ,’ श्रेष्ठले भने, ‘अन्य क्यारेटको गहना तयार गर्दा प्रयोग गरिने रसायन सोही क्यारेटसँग मिल्ने प्रकृतिको हुनुपर्नेछ ।’ गहना तयार गर्दा क्याडमियम, लिड, क्रोमोनियम, ब्रोमियम, मर्करीजस्ता मानव स्वास्थ्यलाई हानि गर्ने रसायन प्रयोग गर्न नपाईने भएको उल्लेख छ । सुनको गहना निर्माण गर्दा सामान्यतया रसायतका लागि तामाको प्रयोग गर्दै आएकोमा पछिल्लो समय सुनमा शुद्धता ल्याउन व्यवसयीहरुले जिङको प्रयोग गर्न थालेका छन् । सुन, चाँदी, हिरा तथा बहुमूल्य धातुको गहना विक्री वितरणका लागि राख्दा तौल, शुद्वता, रसायन, जर्ति र ज्यालालगायतका विषय स्पष्ट उल्लेख गरिएको हुनपर्दछ ।
मंसिर मसान्तभित्र प्रतिवेदन बुझाइने आयोगको तयारी
काठमाडौं, २० मंसिर । स्थानीय तह पुनःसंरचना गर्न गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण आयोगले यही मंसिर मसान्तभित्र आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ । तराईका सात जिल्लाबाहेक सबै जिल्लाबाट पुनःसंरचना सिफारिस आइसकेकाले मङ्सिरभित्र प्रतिवेदन बुझाइने तयारी भएको आयोगका अध्यक्ष बालानन्द पौडेलले जानकारी गराए । तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सप्तरीबाहेक सबै जिल्लाको प्रतिवेदन आयोगमा आइसकेको छ । आयोगले ६८ जिल्लाका प्राप्त प्रतिवेदनलाई अन्तिम तयार पार्ने काम गरिरहेको आयोगका सदस्य सुनिलरञ्जन सिंहले जानकारी गराए । “हामी सरकारलाई प्रतिवेदन बुझाउनका लागि आन्तरिक तयारीमा छौँ”, उनले भने, “सात जिल्लालाई केही दिनभित्र ठोस निर्णय गरी सरकारलाई प्रतिवेदन बुझाउँछौँ ।” यसअघि आयोगले मङ्सिरको दोस्रो हप्ता प्रतिवेदन बुझाउने भनेको थियो । विसं २०७२ चैतमा स्थानीय निकायको पुनःसंरचना गर्न गठित आयोगले पहिलो चरणमा चैत ४ गतेदेखि काम थालेको हो । रासस
सात प्रदेशमा एकीकृत नमूना बस्ती निर्माण गर्न धुर्मुस-सुन्तली फाउन्डेसनलाई सरकारले सहयोग गर्छः मन्त्री पाण्डे
काठमाडौं, २० मंसिर । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले पहुँच र पहिचानका हिसाबले पछाडि पारिएका र विकेन्द्रित रुपमा रहेका सीमान्तकृत, लोपोन्मुख जाति समुदायमा एकीकृत वस्ती निर्माण गरी उनीहरुको उत्थानका लागि गरिने सबै काममा सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । चर्चित हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस)सँग मन्त्रालयमा भएको भेटमा उनले एकीकृत बस्ती निर्माणका लागि सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउँदै ‘जनता आवास कार्यक्रम’सँगै जोडेर एकीकृत वस्ती निर्माण गर्न धुर्मस–सुन्तली फाउन्डेसनलाई सुझाव दिए । एकीकृत बस्ती निर्माण गर्दा पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने गरी आयआर्जनको विषयलाई पनि सँगै जोड्नुपर्ने उनको भनाइ थियो । एकीकृत वस्ती नै पर्यटकीय गन्तव्य हुन सक्ने गरी सात वटै प्रदेशमा एकीकृत वस्ती निर्माण गर्नुपर्नेमा मन्त्री पाण्डेले जोड दिनुभयो । उनले भने, “एकीकृत वस्तीमा ‘होम स्टे’ सञ्चालन आर्थिक उपार्जन गर्न सकियोस् ।” सो अवसरमा भूकम्पपीडितलाई एकीकृत नमूना वस्ती निर्माण गरी हस्तान्तरण गरेका चर्चित हास्यकलाकार धुर्मुसले सात प्रदेशमा एकीकृत नमूना वस्ती निर्माण गर्ने आफ्नो चाहना रहेको बताएका थिए । उनले फाउन्डेसनले छिट्टै नै सात प्रदेशमा एकीकृत नमूना वस्ती निर्माण गर्न लागेकाले सरकारको सहयोग आवश्यक रहेको बताए । साथै उनले सिन्धुपाल्चोकको गिरान्चौरमा निर्माण गरेको ‘धुर्मुस–सुन्तली एकीकृत वस्ती’सम्म पुग्ने सडक कालोपत्रे गर्न सरकारसँग सहयोग मागेका थिए । उनले बर्सेनि आगलागीबाट पीडित बन्दै आएका महोत्तरीको मुसहर वस्तीलगायत अन्य सीमान्तकृत र लोपोन्मुख समुदायमा पनि एकीकृत नमूना वस्ती निर्माण गर्ने फाउन्डेसनको योजना रहेको बताएका छन् । सो अवसरमा मन्त्री पाण्डेले गिरान्चौरको एकीकृत नमूना वस्तीसम्म पुग्ने सडक तत्काल कालोपत्र गरिने र सात वटा प्रदेशमा एकीकृत नमूना वस्ती निर्माण गर्न धुर्मुस–सुन्तली फाउन्डेसनलाई मन्त्रालयले सहयोग गर्ने बताए । यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनले काभ्रेको पहरी वस्ती र सिन्धुपाल्चोकको गिरान्चौरका भूकम्पपीडितका लागि नमूना एकीकृत वस्ती निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको थियो ।
साउदीका रोजगारदाता कम्पनी रेड जोनमा पर्ने क्रम बढ्दै, नेपालबाट कामदार पठाउन रोकिने
काठमाडौं, २० मंसिर। बैदेशिक रोजगारको लागि साउदी अरव जाने तयारीमा रहेका कामदारहरुलाई बैदेशिक रोजगार विभागबाट पुरा जानकारी लिएर मात्र जान आग्रह गरेको छ । पछिल्लो समय साउदी सरकारले विभिन्न रोजगारदाता कम्पनीहरुलाई कार्वाहि गरी रेड जोनमा राखेका कारण त्यस्ता कम्पनीहरु रोजगारको हिसावले असुरक्षित हुने हुँदा विभागले आवश्यक जानकारी लिएर मात्र जान आग्रह गरेको हो । साउदी सरकारले कति र कस्ता कम्पनीहरुलाई रेड जोनमा राखेको हो त्यसको यकिन तथ्यांक नआएपनि कार्वाहि फुकुवा गरी ग्रिन जोनमा सूचिकरण नगरेसम्म त्यस्ता कम्पनीबाट कामदारको माग आएपनि नेपालबाट कामदार पठाउन रोक लगाइने विभागले जनाएको छ । साउदी अरवमा रेड जोनमा पर्ने कम्पनीहरु बढ्दै गएका कारण समस्या देखिएकोले श्रम मन्त्रालय, विभाग र बैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिहरुविच भएको छलफलबाट कामदार पठाउन रोक लगाउने सहमति भएको छ । रेड जोनमा परेका कम्पनीहरुमा मात्र नभएर साउदी अरवमा रोजगारीका लागि पुगेका नेपालीहरु समस्यामा पर्ने क्रम बढ्दै गएको अवस्थामा त्यसको निराकरण गर्न पनि विस्तृतमा छलफल भएको बैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डले बताए । उनले भने– साउदीमा थुप्रै समस्या देखिएका छन् र तोकिएको काम, तलव र सुविधा नपाइ नेपाल फर्किनु पर्ने अवस्था छ, यसको समाधानको लागि व्यवसायी र विभागविच सहमति जुटेको छ । यसैगरी नेपाली कामदारलाई समस्यामा पार्ने कम्पनीका विषयमा नेपाली दूतावासमा उजुरी परे त्यस्ता कम्पनीमा समेत कामदार पठाउन रोकिने विभागले जनाएको छ । तोकिएको काम, तलव र सुविधा नदिइ नेपाल फर्किनु पर्ने अवस्थामा कम्पनीले तत्काल एक्जिट पर्मिट दिने लिखित सम्झौता गरेमा मात्र कामदार पठाउन पनि सरकारी अधिकारी तथा व्यवसायी सहमत भएको रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले बताए । उनका अनुसार मेगा रिक्रुटमेन्ट प्रकृतिका कामदार आपूर्ति गर्ने कम्पनीहरुबाट मागपत्र आएमा त्यस्ता रोजगारदाता कम्पनीको नाम उल्लेख गरी रोजगारदाता कम्पनी र कामदार आपूर्ति गर्ने कम्पनीबीच भएको सम्झौता लगायत राखेर श्रमस्वीकृति दिन विभाग सहमत भएको छ ।
अलैँचीको भाउ नपाएपछि गोरखाका किसान चिन्तित, किन्ने व्यापारी नआएको गुनासो
गोरखा, २० मंसिर । अलैँची उत्पादन हुने जिल्लाको रुपमा पहिचान बनाएको गोरखामा यस वर्ष अलैँचीको भाउ नपाएपछि किसान चिन्तित भएका छन् । गतवर्ष किसानका घरघरै आएर व्यापारीले अलैँची किन्ने गरेकामा यसवर्ष अलैँची तयार भइसके पनि व्यापारी नआएपछि किसान चिन्तित बनेका हुन् । जिल्लाको हंशपुर, खरिबोट, थालाजुङ, मुच्चोक, केराबारीलगायत गाविस अलैँचीको पकेट क्षेत्र मानिए पनि उत्पादन भएको अलैँची बिक्री नभएको हंशपुर–४ का विष्णुहरि अधिकारी बताउछन्। उनी भन्छन् – “गतवर्ष विभिन्न क्षेत्रबाट व्यापारी आएर अलैँची लिएर जान्थे अहिले कोही आएका छैनन् ।” गतवर्ष पूर्वी नेपालको झापा, इलामलगायतका क्षेत्रबाट आउने व्यापारीले स्थानीय व्यापारीसँग मिलेर अलैँची खरिद गर्दै आएका उनले बताए । भूकम्पले जमिनको माटो हल्लाएको र चिस्यान हराउँदै गएकाले गत वर्षको तुलनामा यस वर्ष अलैँचीको उत्पादन घटेको सम्बद्ध किसान बताउँछन् । अलैँची उत्पादन बढदै गएको र प्रतिकेजी मूल्य बर्सेनि बढेपछि किसानले धान फल्ने खेत मासेर अलैँची खेती विस्तार गरेका थिए । गतवर्ष असोज, कात्तिकमै व्यापार हुने गरे पनि थोरै अलैँची फलेको यसवर्ष भने मङ्सिर तेस्रो हप्ता बितिसक्दा पनि अलैँचीको बिक्री हुन नसकेको किसान अङ्गराम दवाडीले बताए । उनले भने – “बोरामा अलैँची थुपारेका छौँ, अझै बिक्री भएको छैन ।” गतवर्ष अलैँची प्रतिकिलो दुई हजार २५० रुपैयाँमा बिक्री भएकामा अहिले व्यापारीले प्रतिकिलो जम्मा एक हजार ५०० मात्र दिएपछि अलैँची बिक्री नगरेको अर्का किसान सीता अधिकारीले जानकारी दिए । हंशपुर–९ का किसान किरण प्रधानले यसवर्ष अलैँचीको उत्पादनमा कमी आएको जानकारी दिए । उनले भने – “गतवर्ष एक क्विन्टल अलैँची बिक्री गरेको थिएँ, यसवर्ष २५ केजी मात्र उत्पादन भएको छ ।” किसानले गतवर्ष अलैँची बिक्री गरी रु छ करोड गाउँमा भित्र्याएका थिए । गोरखामा उत्पादन हुने अलैँची रामशाही जातको हो । उत्पादन भएको अलैँची बिक्री गर्न जिल्ला कृषि विकास कार्यालयले कुनै पहल नगरेको किसानहरुको गुनासो छ । कार्यालय प्रमुख यमकुमार श्रेष्ठले गत वर्ष अलैँची बिक्री वितरणमा कुनै पनि समस्या नरहेको हुँदा यसवर्ष पनि ढिलोचाँडो बिक्री हुने दाबी गरेका छन्। उनले अलैँची बिक्रीका लागि कार्यालयले किसान र व्यापारीबीच सम्बन्ध गर्ने काममा लागेको स्पष्ट पारे । श्रेष्ठले केही वर्षदेखि जिल्ला कृषि कार्यालयले अलैँचीको बेर्ना अनुदानमा उपलब्ध गराइरहेको बताए । उनले भूकम्पपछि पानीका मुहान सुकेको, चिस्यान हराएको र ढुसीजस्ता रोगको सङ्क्रमणले अलैँचीको उत्पादन घटेको बताएका छन् । रासस
चरेस किनबेच गर्ने दुई जना पक्राउ, प्रहरीद्धारा ७९ हजार रुपैयाँसमेत बरामद
जाजरकोट, २० मंसिर । प्रहरीले सात किलो चरेस किनबेच गर्दा गर्दै आइतबार दुई जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । सीमा गाविस–९ सीमा बजारमा सदरमुकामबाट गएको बसबाट झरेर पसलमा गई बिक्री गर्दै गरेको आरोपमा जाजरकोट प्रहरीले बाँके नौवस्था–८ की तुलसा शाही र नौवस्था–७ का हरिबहादुर कमलाई पक्राउ गरेको थियो । तुलसाले बमलाई बिक्री गर्दै गर्दा फेला पारिएको प्रहरीको भनाइ छ । बमबाट ७९ हजार रुपैयाँसमेत बरामद गरेको छ । विशेष सूचनाका आधारमा बिक्री भइरहेको सूचना पाएपछि सदरमुकामबाट प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले तिनलाई पक्राउ गरेको बताइएको छ । एक हप्ताभित्र जाजरकोट प्रहरीले तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरिसकेको छ । रासस
अस्ट्रेलियाबाट विद्यालयलाई छ लाख रुपैयाँ सहयोग प्राप्त
म्याग्दी, २० मंसिर । म्याग्दीको रिसिनचौतारीस्थित धौलागिरि प्राविलाई अस्ट्रेलियाबाट छ लाखभन्दा बढी रुपैयाँ सहयोग प्राप्त भएको छ । अस्ट्रेलियामा बस्दै आएकी पिप्लेकी जममाया मल्लको पहलमा विद्यालयलाई छ लाख १० हजार रुपैयाँ सहयोग उपलब्ध भएको हो । मल्लको नेतृत्वमा विद्यालयमा पुगेका आठ अस्ट्रेलियालीले सोमबार विद्यालयलाई उक्त सहयोग हस्तान्तरण गरेका छन् । कार्यक्रममा विद्यालयका प्रअ मनबहादुर पुर्जालाई सहयोगदाता मल्लले उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । विद्यालयलाई शैक्षिक सामग्रीसमेत उपलब्ध गराइएको छ । त्यस्तै उनीहरुले स्थानीय चौतारी आमा समूहलाई १० हजार रुपैयाँ सहयोग गरेका छन् । कार्यक्रममा सहयोगदातालाई अभिनन्दन गरिएको थियो । उक्त अवसरमा विद्यालयमा नवनिर्मित दुईकोठे भवनको समेत उद्घाटन गरिएको छ । जिल्ला शिक्षा कार्यालयको रु सात लाख ५० हजार सहयोग र स्थानीयवासीको जनश्रमदान गरी रु १५ लाख ६२ हजारको लागतमा निर्मित भवनको मुक्तिधाम मावि स्रोत केन्द्रका स्रोत व्यक्ति दुतबहादुर गर्वुजाले उद्घाटन गरेका हुन्। कार्यक्रममा विद्यालयका प्रअ पुर्जाले आफ्ना स्वर्गीय बुबा तानवीरको स्मृतिमा विद्यालयलाई १० हजार एक सय पाँच रुपैयाँ र गर्वुजाले स्व बाजे पुनिराम, बजै बिखमा र आमा धनमायाको स्मृतिमा पाँच हजार पाँच सय ५५ रुपैयाँ सहयोग प्रदान गरेका थिए । रासस