विकासन्युज

एनसीसी र चार विकास बैंकबीच मर्जमा अर्को झमेला, कम्पनी रजिष्ट्रार कार्यालयले स्वीकृति दिन मानेन

काठमाडौं, २१ मंसिर । एनसीसी बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकबीच मर्जरको अन्तिम चरणमा फेरी समस्या सिर्जना भएको छ । यी बैंकहरुबीच मर्जरको लागि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपनि कम्पनी रजिष्ट्रार कार्यालयले स्वीकृति दिन अस्वीकार गरेको छ । मर्जरको लागि नेपाल राष्ट्र बैंकले गत आईतबार अन्तिम स्वीकृति दिने निर्णय गरेको थियो । राष्ट्र बैंकबाट स्वीकृति पाएपछि एनसीसीसहित मर्जरको क्रममा रहेका चार विकास बैंक कम्पनी रजिष्ट्रारको कार्यालयमा स्वीकृति लिन सोमबार पुगेका थिए । तर कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति दिन अस्वीकार गरेको छ । मर्जको विषयमा अदालतमा मुद्दा विचारधिन रहेको र सेयरधनीको तर्फबाट कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी समेत परेकोले स्वीकृत गर्ने निर्णय दिन नसकिएको रजिष्ट्रार प्रेमकुमार श्रेष्ठले विकासन्युजलाई बताए । ‘मर्जको स्वीकृति हुनुपूर्व विशेष साधारणसभाको माग गर्दै एनसीसी बैंकका सेयरधनीहरुले निवेदन पेश गरेका छन् । यो विषय अदालतमा पनि विचाराधिन अवस्थामा रहेछ । त्यसैले मर्ज भएको अभिलेखिकरण गर्ने निर्णय गर्न सकिएन’ श्रेष्ठले विकासन्यूजसँग भने । कम्पनी रजिष्ट्रार कार्यालयले मर्जरमा स्वीकृति दिन नपानेपछि मर्जर प्रकियामा सामेल सबै बैंकका सञ्चालकहरू र संयुक्त मर्जर कमिटि मंगलबार गम्भिर छलपफलमा जुटेका छन् । यो मर्ज प्रक्रियामा रहेको कुमारी बैंकले विशेष साधारणसभाबाट बाहिरिने निर्णय गरेपछि विवादको आवाज उठेको थियो ।  एनसीसी बैंकको सम्पत्ति मूल्याङकन कम गरिएको भन्दै  बैंकका प्रवद्र्धक लक्ष्मीबहादुर श्रेष्ठ अदालत गएपछि मर्जर प्रक्रियामा ढिलाई भएको थियो । लामो छलफलपछि राष्ट्र बैंकले सर्तसहित आईतबार मर्जरको अन्तिम स्वीकृति दिएको थियो । याे पनि एनसीसी र चारवटा विकास बैंक मर्ज हुन नेपाल राष्ट्र बैंकले दियाे अन्तिम स्वीकृति 

माथिल्लो तामाकोसी आयोजनाको कार्य तीव्र गतिमा, ८२ प्रतिशत काम सम्पन्न

काठमाडौं, २१ मंसिर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कार्य तीव्र रुपमा अगाडि बढिरहेको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार स्थानीय काब्रे भिरको ३३७ मिटर लामो सुरुङमार्ग निर्माण सम्पन्न भएको छ । भूकम्पले पहुँचमार्ग भत्काएपछि आयोजनाले जर्मनीबाट सुरुङ बनाउने मेसिन भित्र्याएको थियो । कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजनालाई तोकिएको समयभन्दा शीघ्र सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत कात्तिक २३ गते स्थलगत अवलोकन गरी निर्देशन दिएपछि आयोजनाको कामले गति लिएको हो । प्रधानमन्त्रीले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमार्फत राष्ट्रिय गौरवका आयोजनाको आफैँ निरीक्षण गर्ने निर्णय गरेका छन् । सोही निर्णय बमोजिम माथिल्लो तामाकोसीको स्थलगत अवलोकन गर्दै तोकिएको समयभन्दा छ महिना पहिले सम्पन्न गरे सरकारले पुरस्कृत गर्ने बताएका थिए । प्रवक्ता न्यौपानेका अनुसार सो आयोजनाको ८२ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलका लागि सुनकोसी नदीमा डाइभर्सन बनाएर सामान ल्याउने तयारीमा आयोजना रहेको छ । “विद्युत्गृहको काम पनि अन्तिम चरणमा पुगेको छ,” प्रवक्ता न्यौपानेले भने – “आयोजना आव २०७४/७५ मा सम्पन्न हुन्छ ।” पूर्णरुपमा स्वदेशी लगानीमा निर्माण भइरहेको सो आयोजना गत वर्षको गोरखा भूकम्प र भारतीइ नाकाबन्दीका कारण छ महिनाभन्दा बढी समय अवरुद्ध भएको थियो । यस्तै प्रसारण लाइनको कुल १२७ वटा टावरमध्ये ९६ वटा टावरको फाउन्डेसनको काम सम्पन्न भएको छ भने आधाभन्दा बढी टावरमा तार तान्ने काम भइरहेको छ । सरकारले उक्त आयोजनामा सहिद परिवार र विपन्न नागरिकलाई समेत सेयर उपलब्ध गराउने तयारी गरेको छ । स्थलगत अवलोकनका क्रममा प्रधानमन्त्रीले सरकारको ११ अर्ब रुपैयाँ सेयरमा बदल्ने तयारी गरेको बताएका थिए । अर्थमन्त्रालयले समेत प्रभावकारी रुपमा अगाडि बढेका आयोजनालाई रकमको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ । थौरैमात्रै भौतिक तथा वित्तीय प्रगति भएका राष्ट्रिय गौरवका आयोजनामध्ये हालसम्मकै उल्लिखनीय आयोजनामा माथिल्लो तामाकोसी रहेको राष्ट्रिय योजना आयोगमा प्राप्त भएको प्रतिवेदनमा समेत उल्लेख छ । रासस

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको १६ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं, २१ मंसिर । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले हकप्रद निष्कासन गर्दा विक्रि नभएको १५ हजार नौ सय तीन कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । संस्थाले पुस ६ गते देखि लिलामी सेयरका लागि आवेदन खुला गरेको छ । आवेदन दिदा न्युनतम एक सय भन्दा माथिको हुनुपर्ने छ । आवेदन दिने अन्तिम म्याद पुस १२ गते सम्म तोकिएको छ । लक्ष्मीले सर्वसाधरण समूहको सेयर लिलामीमा बिक्री गर्न लागेको हो । मूल्यको ११ लाख कित्ता हकप्रद सेयर निष्कासन खुला गरेको थियो । त्यसक्रममा बिक्री नभएको सेयर अहिले लिलामीमा लगिएको हो । संस्थाको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

सुनको मुल्यमा गिरावट, एक महिनायता तीन तोला सुनमा तीन हजारले कमी

काठमाडौं , २१ मंसिर । सुनको भाउ ओरालो लागने क्रम जारी रहेको छ । पछिल्लो एक महिनामा मात्र सुन तोलामा तीन हजार रुपैयाँ भन्दा बढीले घटेको छ । मंगलबार सुन प्रतितोला ५३ हजार सात सयमा रुपैयाँमा कारोबार भएको छ । मंसिर लाग्दा प्रतितोला सुन ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । Gold bars ‘मंसिर महिना विवाहको महिना हो, सधै यसवेला भाउ बढ्ने गरेको थियो, तर यसपाली भने सुनको मुल्यमा गिरावट आएको छ ।’ सुन चादी व्यवसायी महासंघका पुर्व अध्यक्ष तेजरत्न शाक्यले भने । सोमबार सुन प्रतितोला ५३ हजार आठसय रुपैयाँमा कारोबार भएको थियो । अमेरिकाको केन्द्रिय बैंकले व्याज बढाउने घोषणा गरेसँग लगानीकर्ताहरुले सुनमा लगानी छोडेकोले सुनको मुल्यमा कमी आएको विष्लेषकहरुको दावी छ । अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुनुभन्दा अघि स्थिरजस्तै रहेको सुनको मूल्य डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएलगत्तै घट्ने क्रम सुरु भएको हो । यसैगरी, चाँदीको भाउ पनि केही तल झरेको छ । चाँदीको मूल्य मंगलबार प्रतितोला सात सय ९० रुपैयाँ कायम भएको छ ।

प्राधिकरणका तीन सञ्चालकसँग सात दिनभित्र स्पष्टीकरण बुझाउन आग्रह

काठमाडौं, २१ मंसिर । पदीय मर्यादा विपरीत काम गरेको भन्दै ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकलाई मंगलबार सार्वजनिक सूचनामार्फत पत्र बुझ्न भनेको छ । ऊर्जा मन्त्रालयले एक सूचना प्रकाशित गरी प्राधिकरणका सञ्चालकत्रय मनोजकुमार मिश्र, लक्ष्मणप्रसाद अग्रवाल र सुरज लामिछानेलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन आग्रह गरेको हो । उनीहरुले मन्त्रालयले काटेको स्पष्टीकरणपत्र बुझ्न अस्वीकार गर्दै आएका थिए । प्राधिकरण सञ्चालक समितिका सदस्य रहेका तीनै जनाले पदीय मर्यादा विपरीत तथा प्राधिकरण ऐन, २०४१ को दफा १५ विपरीत काम गरेको पाइएकाले स्पष्टीकरण मागिएको हो । गत शुक्रबार पठाइएको पत्र बुझ्न अस्वीकार गरेकाले उनीहरुलाई सार्वजनिक सूचनामार्फत नै सात दिनभित्र पत्र बुझ्न र बुझ्ने काम नभए कानुनअनुसार कारबाही हुने मन्त्रालयको सूचनामा उल्लेख छ । ऊर्जाको स्पष्टीकरणपत्रमा अनधिकृत रुपमा सञ्चालक समितिको बैठक बस्ने तथा बैठकको निर्णय कार्यान्वयन गर्न दबाब दिने, त्यस्ता बैठकको निर्णय एवम् सूचना सार्वजनिक रुपमा प्रचार गर्नेजस्ता कार्य गरी प्राधिकरणको हित विपरीत काम गरेको पाइएकाले सार्वजनिक सूचनामार्फत स्पष्टीकरणपत्र सार्वजनिक गरिएको सूचनामा स्पष्ट पारिएको छ । मन्त्रीस्तरीय निर्णयअनुसार स्पष्टीकरण पेस गर्नेसम्बन्धी पत्र घर तथा कार्यालयमा बुझाउन जाँदा उपलब्ध नभएको र घरपरिवारले समेत बुझ्न अस्वीकार गरेको हुँदा सूचनामार्फत जानकारी गराइएको हो । सूचना प्रकाशित भएको मितिले सात दिनभित्र स्पष्टीकरणपत्र नबुझेको खण्डमा कानुनअनुसार कारबाही हुने मन्त्रालयले जनाएको छ । प्राधिकरणले अगाडि बढाएको विद्युत् कटौती नगर्ने अभियानलाई समेत सञ्चालकत्रयले अवरोध खडा गर्दै आएको बताइन्छ ।

फस्टायो गरिबसँग जोडिएको व्यापार, माइक्रोफाइनान्सको बोनस ८० प्रतिशतसम्म

काठमाडौं, २१ मंसिर । गरिबहरुको उत्थानको लागि खोलिएको लघुवित्त विकास बैंकहरुले गरिबलाई नै लगानी गरी कमाएको रकमबाट लगानीकर्ताहरुलाई ८० प्रतिशत सम्म लाभांश बाँडेका छन् । उनीहरुले गत आर्थिक वर्षको नाफाबाट ८० प्रतिशतसम्म लाभांश दिएका हुन् । नेपाल राष्ट्र बैंकबाट ४२ वटा माइक्रोफाइनान्सहरुले स्वीकृति लिएकोमा हालसम्म १४ वटा माइक्रोफाइनान्सले लाभांशको घोषणा गरिसकेका छन् । अहिलेसम्मकै सबैभन्दा बढी नागवेली लघुवित्त विकास बैंकले आफ्ना लगानीकर्ताहरुलाई ६० प्रतिशत बोनस र २० प्रतिशत नगद गरी ८० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै स्वाबलम्बन लघुवित्त विकास बैंकले ३४ प्रतिशत बोनस सेयर र १९.६८ प्रतिशत नगद लाभांश गरी ५३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । निर्धन उत्थान विकास बैंकले २० प्रतिशत सेयर र ११.५७ प्रतिशत नगद गरी ३१.७५ प्रतिशत लाभांश घोषणा गरेको , भने एनएमबी माइक्रोफाइनान्सले २५ बोनस, १.३१ प्रतिशत नगद गरी २६.३१ प्रतिशत लाभांश दिने घोषणा गरी सकेको छ । मेरो माइक्रोफाइनान्सले १० नगद १० प्रतिशत बोनस सेयर गरी २० प्रतिशत, फस्ट माइक्रोफाइनान्स वित्तिय संस्थाले १५ बोनस सेयर र ०.७९ नगद गरी जम्मा १५.७९ प्रतिशत, विजय लघुवित्त विकास बैंकले १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी २० प्रतिशत, किसान माइक्रोफाइनान्सले ६१ प्रतिशत बोनस र ३.२१ नगद गरी ६४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै रिलायवल माइक्रो फाइनान्सले २० प्रतिशत नगद लाभांश मात्र दिने भएको छ ,भने वोमी माइक्रो फाइनान्स वित्तिय संस्थाले २० प्रतिशत सेयर र १.११ प्रतिशत नगदगरी २१.११ प्रतिशत लाभांसको घोषणा गरेको छ । आइएलएफ्सीओ माइक्रोफाइनान्सले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी ५.२६ प्रतिशत, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ५० प्रतिशत बोनस र २.३६ प्रतिशत नगद गरी ५२.३६ प्रतिशत लाभांश दिने भएको छ । छिमेक लघुवित्त विकास बैंकले ४० प्रतिशत बोनस सेयर र १२.७ प्रतिशत नगद लाभांश गरी ५२.७ प्रतिशत लाभांश घोषणा गरेको भने रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी २० प्रतिशत लाभांस दिने घोषणा गरेको छ । यसरी गरिवसँग जोडिएर व्यापार गर्ने माइक्रोफाइनान्सहरुले आगामी दिनमा भने यत्ति धेरै मात्रामा लाभांश दिन सक्ने छैनन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत माइक्रोफाइनान्सहरुको स्प्रेडदर ७ प्रतिशत तोकेको छ भने बैंकहरुले पनि दुई प्रतिशत प्रत्यक्ष रुपमा विपन्न वर्गमा लगानी गर्नुपर्ने छ । यसअघि क वर्गका बाणिज्य बैंकहरुबाट सस्तो व्याजदरमा विपन्न वर्ग कर्जा लिइ २४ प्रतिशत सम्म व्याज लिने गरेका थिए । जसबाट उनीहरुले राम्रो नाफा कमाइरहेका थिए ।

एनएलजी इन्स्योरेन्स कम्पनीले २६ प्रतिशत लाभांश दिने, पूँजी ५० करोड रुपैयाँ नाघ्ने

काठमाडौं, २१ मंसिर । एनएलजी इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २६ दशमलब ३१५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलब ३१५ प्रतिशत नगद लाभांश गरी सो मात्रामा लाभांश दिने निणर्य गरेको छ । उक्त निणर्य मंगलबार बिहान बसेको कम्पनीको १९४औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिको बैठकले पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पश्चात कम्पनीको पूँजी ५० करोड रुपैयाँ नाघ्ने छ । मंगलबार कम्पनीको प्रतिकित्ता सेयर करिब १६८७ रुपैयाँमा कारोबार भइरहेको छ ।

दश रुपैयाँमा सर्ट बेचेर दैनिक १५ सय आम्दानी, सेकेण्ड ह्याण्ड सामानको व्यापारबाट विद्यालय बनाउन २७ लाख सहयोग

काठमाडौं, २१ मंसिर । तपाइँलाई सुन्दा अचम्म लाग्ला, १० रुपैयाँमा सर्ट बेचेर दैनिक एक हजार ५०० रुपैयाँ आम्दानी हुन्छ भन्दा । तर काठमाडौंको सामाखुशीमा रहेको सुखावती स्टोरले १० रुपैयाँको सर्ट बेचेर दैनिक एक हजार ५०० आम्दानी गर्ने गरेको छ । जागिरको मोहले हङकङ हुँदै कोरिया छिरेका कास्कीका चीजमान गुरुङले छ वर्षे कामपछि स्वदेश फर्केर कोरियन खानाका स्वाद नेपालीलाई चखाउन पोखरामा ह्याङकुक सराङ रेस्टुराँ खोले । काठमाडौं ठमेलमा त्यसको विस्तार गरे । तर यतिमै उनको मन नेपालमै नरमाएपछि फेरि उनी कोरिया फर्किएर पाँचवर्ष बिताए । साढे दुईवर्ष ब्युटिफूल स्टोरमा काम गरे जहाँ एकचोटी प्रयोग भएका सामान सङ्कलन, छनोट, प्रशोधन, पुनःप्रयोग र त्यसको मूल्य निर्धारण गरी बेचिन्छ । यस्ता स्टोर कोरियामा १०० भन्दा बढी छन् । चीजमानले कोरिया पुगेर ब्युटिफुल स्टोरमा सिकेको त्यो सीप एवम् अनुभवलाई सामाखुशीको टाउन प्लानिङमा अहिले प्रयोगमा ल्याइएको छ सुखवती स्टोर खोलेर । “घर र अफिसमा कुनै सामान किफायती र धेरै समय मर्मत गरी पनि उपयोग गर्नुपर्छ, कुनै सामान आफूलाई पुग्यो भन्ने लागेपछि अरुका लागि मर्मत, सुधार वा प्रशोधन गरेर प्रयोग गर्न दान दिन सकिन्छ,” सुखवती स्टोरका अध्यक्ष चीजमान भन्छन् । सुखवतीको सार ‘एकको वेकार अरुको साकार ।’ तपार्इँको पुरानो सामान अरुको लागि नयाँ हुन सक्छ । मायाँ बाडौँ, खुसी बढाऔँ । यही सोचअनुरुप भान्साका सामान, लत्ताकपडा, जुत्ता, गमला, विद्युतीय सामग्री, सिडी, किताब र बच्चाको खेलौनासहितका सामग्री संस्थाले दान लिन्छ । “कपडा आफैँ धुन्छौँ, सिउँछौँ र आइरन लगाएर चिटिक्क पार्छौं, अरु सामान मर्मत वा प्रशोधन गरी नयाँ बनाउँछौँ र नचिताएको सस्तो मूल्यमा बेच्छौँ,” उक्त स्टोरमा स्वयम्सेवा गरिरहेकी लक्ष्मीदेवी गुरुङले भनिन् । पति सिङ्गापुरको लाहुरे हुँदा उतै दुई दशक बसेकी गुरुङ जस्तै कमला गुरुङ, केशकुमारी राना, रञ्जना तामाङ, कल्पना गुरुङ, सङ्गु सुब्बासहितका महिला तथा अन्य गरी १३ जनाले त्यस स्टोरमा स्वयम्सेवा गरिरहेका छन् । सुखवती फाउन्डेसनबाट काम अघि बढाइएको यो अहिले सुखवती स्टोरका नामले अघि बढेको छ । सुरुमा यति धेरै दान आउला भन्ने सोचिएन । अहिले धेरै कपडा आउन थालेपछि मानिसले नभ्याउने भएकाले लुगाधुने मेसिनको आवश्यकता महसुस भएको स्टोरकी सचिव कमला गुरुङ बताउछन् । धोएर सिलाइएका टिसर्ट, बेल्ट, जुत्ताको मूल्य मात्र रु १० राखिएको छ । त्योभन्दा अलि राम्रा जिन्स पाइन्ट, सर्ट, टिसर्ट, कुर्ता, केटाकेटीका लुगा २०, ४०, ८०, १०० र २५० रुपैयाँ मूल्य राखिएको छ । “यति सस्तो मूल्यमा पनि कपडा र सामान पाइन्छ भनेर एकथरि विश्वास गर्दैनन्, अर्कोथरि हामीलाई जिस्काएको भनेर भन्छन्, किनकी १०/२० रुपैयाँमा साग पनि पाइँदैन, कपडा कसरी पाइन्छ! भनेर जिस्काउँछन्, कोषाध्यक्ष केशकुमारी राना अनुभव सुनाउछन् । सामाखुशी टाउन प्लानिङको बिक्रीकक्षमा पुनःप्रयोगका सामान कसरी नयाँ बनाउने, मूल्य निर्धारण गर्ने र कपडा किन सस्तो प¥यो भनेर सोध्न आउनेको भीड बढ्दै गएको स्टोरकी सदस्य रञ्जना तामाङ बताउछन् । कपडा, भान्सा र विद्युतीय सामान छिटो बिक्री हुन्छ । स्टोरले सामान दिने क्रम र बिक्री बढेपछि कलङ्की, जोरपाटी, फुटुङ हुँदै चक्रपथ बाहिर यस्तै कक्ष खोल्ने सोच राखेको अध्यक्ष गुरुङले बताए । “सामान किफायती ढङ्गले प्रयोग गर्ने र प्रयोग गरेपछि पुनःप्रयोगमा ल्याउने काम भोलि ठूलो मात्रामा हुन सक्यो भने देशकै स्रोतसाधनको समेत बचत हुन्छ, अरु देशको भर पर्नुपर्दैन,” सदस्य कल्पना गुरुङ भन्छन् । डेढ वर्षमा दुई हजार सामान सङ्कलन गरी पुनःप्रयोग योग्यको प्रशोधन गरी विक्री गरिएको छ । राजधानीका मेला महोत्सवमा १९ पटक स्टल राख्दा रु एक लाख २० हजार आर्जन भयो । असार यता रु दुईलाख बढीको बिक्री भएको छ । मेलामा किशोरकिशोरी बढी झुम्मिए पनि मध्यम र कम आयकालाई यसले मद्दत पुग्ने सदस्य राजेन्द्र लामाको भनाइ छ । विनाशकारी भूकम्पपछि संस्थाले भूकम्पपीडितलाई तत्काल खाद्यान्न, कपडा र अत्यावश्यक सामग्री वितरण गर्यो। कोरियाको ब्युटिफुल स्टोर फाउन्डेसनको सहयोगमा संस्थाले रसुवा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र दोलखाका १३ गाउँ विकास समितिका झन्डै पाँच हजार ८०० घरपरिवारलाई ८० लाख रुपैयाँ बराबरको आठ हजार सिरक वितरण गर्यो । ह्याप्पी फ्याक्ट्री कोरियाको सहयोगमा संस्थाले नुवाकोट हिलेखर्कमा २७ लाख रुपैयाँमा गारबेँसी निमाविको भवन पनि बनाएको छ । काभ्रेको दोलालघाटमा छकोठे विद्यालय भवन र शौचालय तथा सिन्धुपाल्चोकको बतासेमा दुईकोठे नयाँ विद्यालय भवन तथा तीनकोठे विद्यालय भवन मर्मत गरिने पनि सो संस्थाले जनाएको छ । रासस