सनराइज बैंकको तेह्रौं शाखारहित बैंकिङ्ग सेवा रौतहटको बंकुलमा सञ्चालन
काठमाडौं, २१ मंसिर । सनराइज बैंक लिमिटेडले आफ्नो तेह्रौं शाखारहित बैंकिङ्ग सेवा रौतहटको बंकुलमा सञ्चालन गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यले सो स्थानमा नयाँ शाखा सञ्चालन गरेको हो । सो अवसरमा बैंकको गौर शाखाका प्रमुख बिपत चौधरीले शाखारहित बैंकिङ्ग सेवाका व्यावसायिक प्रतिनिधि खुरसैद खाँँ पैठानलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । बैंकको शाखाहरु नभएको ठाँउबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ्ग सेवा मार्फत एटिएम कार्ड र औंठाको छापबाट, पोइन्ट अफ सेल मेसिनको माध्यमबाट कारोबार गरिन्छ ।
पुनर्निर्माणमा खटिएकालाई ७५ प्रतिशत भत्ता उपलब्ध गराउने कार्य अघि बढ्दै
काठमाडौं, २१ मंसिर । भूकम्प अति प्रभावित विभिन्न जिल्लामा खटिएका प्राविधिकहरुले फिल्ड भत्ता, बिमा, सञ्चार, यातायात सुविधा लगायतका माग राखी कामकाज रोक्ने गतिविधि सम्बन्धी समाचारप्रति राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ध्यानाकर्षण भएको छ । पुननिर्माण प्राधिकरणको निर्देशक समितिको बैठकबाट पुनर्निर्माणमा खटिएका जनशक्तिहरुलाई मापदण्ड र सूचकका आधारमा बढीमा ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता उपलब्ध गराउन निर्णय भई सो को कार्यान्वयनका लागि गृहकार्य अघि बढिसकेको छ । सीमित स्रोत र साधनका बीचपनि पुनर्निर्माणमा खटिएका जनशक्तिहरुलाई कामप्रति जिम्मेवार, जागरुक र प्रोत्साहित गर्न अतिरिक्त सुविधा दिने निर्णय कार्यान्वयन हुने क्रममा रहेको अवस्थामा सेवा सुविधाको विषयलाई लिएर पुनर्निर्माणको काममा बाधा व्यवधान नगर्न, नगराउन र भूकम्प प्रभावित जनसमुदायको उत्थानका लागि पूर्ण रुपमा समर्पित भई पेशागत मर्यादाको समेत ख्याल राखी आ–आफ्नो जिम्मेवारी वहन गर्न प्राधिकरण सम्बन्धित सबै कर्मचारीहरुलाई अनुरोध गर्दछ ।
भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि २८ अर्ब रुपैयाँ निकासा
काठमाडौं, २१ मंसिर । भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई थप रकम निकासा गरेको छ । मंसिर २० गतेको उपप्रधान तथा अर्थमन्त्री स्तरको निर्णय अनुसार अर्थमन्त्रालयले पुनर्निर्माण कोषको रकम परिचालन गर्ने गरी निजी आवास अनुदान वितरण गर्न थप २८ अर्ब रुपैयाँ निकासा गरेको छ । यस्तै भूकम्प प्रभावित जिल्लाहरुमा विद्यालय भवन पुनर्निर्माणका लागि ४ अर्ब रुपैयाँको सिमामा रही विद्यालय पुनर्निर्माण कार्य अघि बढाउन स्रोतको सुनिश्चितता प्रदान गरिएको छ । कार्य प्रगतिका आधारमा थप रकम निकासा गर्दै जाने अर्थ मन्त्रालयले जनाएको छ । सरकारी भवनहरु निर्माण गर्न गप ७५ करोड रुपैयाँ र जग्गा जग्गा मुआब्जा वितरण गन २५ करोड रुपैयाँ गरी नेपाल सरकार स्रोत तर्फको थप १ अर्ब रुपैयाँको पुनर्निर्माण कार्यक्रमहरु सञ्चालन गर्न गराउन सहमति दिएको छ । यसबाट सरकारी विद्यालयहरु, सरकारी भवन तथा ग्रामीण सडकको पुनर्निर्माणमा स्रोत साधनको परिचालन गराउन सहज भएको छ ।
यती डेभलपमेण्ट बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर बैंक विद्युतीय भुक्तानी सम्झौता
काठमाडौं, २१ मंसिर । यती डेभलपमेण्ट बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीसेवा सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई आधुनिक बैकिङ्ग सुबिधा उपलब्ध गराउदैं जाने उद्देश्यले उक्त कम्पनीसँगको सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र नेपाल क्लियरिङ्ग हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौतामा हस्ताक्षर गरेका छन् । बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्ण रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने बैंकले जनाएको छ ।
नयाँ बस पार्कका व्यवसायी आन्दोलित, २६ गते बस पार्क बन्द
काठमाडौं, २१ मंसिर । बालाजुस्थित नयाँ बस पार्कभित्रका व्यवसायी आन्दोलनमा उत्रेका छन् । ठेकेदारसँग मिलेर नगर प्रहरीले दुःख दिइरहेको भन्दै उनीहरुले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर व्यवसायीयहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । संयुक्त उद्योग वाणिज्य महासंघका अध्यक्ष युवराज पराजुलीले महानगरपालिका र निर्माणको जिम्मा दिइएको लोत्से बहुउद्देश्यीय कम्पनीबीचको सम्झौता नै अन्तर्राष्ट्रिय मापदण्ड विपरित भएको बताए । ‘गरिएको भनिएको सम्झौता नै मापदण्ड विपरित छ, राज्यको सम्पतीमाथि निजी कम्पनीको एकाधिकार हुने गरी गरिएका सम्झौताको खारेजी गर्नुपर्छ’ पराजुलीले भने । कार्यक्रममा बोल्दै गोंगबुलाई अन्तर्राष्ट्रियस्तरका बसपार्क बनाउनु खुशी कुरा भएपनि विभिन्न ठूला सपिङ कम्पलेक्सहरु निर्माण गरेर साना व्यवसायीयहरुले उठिबास लगाउन लागेको बताएका छन् । ‘बस पार्क अन्तर्राष्ट्रिस्तरको बन्नु राम्रो कुरा हो तर दलाल कम्पनीहरुले साना व्यवसायीहरुको लगाउने तायरी गरिरहेका छन्’ व्यवसायी दामोदर घिमिरेले भने । व्यवसायी ठोकबहादुर गौतमले ठेकेदार कम्पनीसँग मिलेर नगर प्रहरीलेले दुःख दिइरहेकाले आफूहरु आन्दोलनमा जानु परेको बताए । निजी कम्पनीको योजनामा आफूहरुलाई उठिबास लगाउन नगरपालिकाले नगर प्रहरी परिचालन गरेको उनले दाबी गरे । ‘बसपार्कमा दिउँसै लुट भइरहेको छ, जे मन लाग्छ त्यही गरिरहेका छन् । यसमा पार्टीका नेतादेखि कर्मचारीको मिलोमतोमा गरिबको साँझ–विहानको गास खोस्न काम भइरेको छ’ गौतमले भने । त्यस्तै बसपार्कभित्र लामो समयदेखि व्यपार गर्दै आएकी देवकी खरेलले विना व्यवस्थापन आफूहरुको उठिबास लगाउन लागेका कारण आन्दोलनमा जानुको विकल्प नभएको बताइन् । पत्रकार सम्मेलनमा बोल्दै व्यवसायी कार्यक्रममा व्यवसायी हरिचन्द्र पाठकले राजनीतिक पार्टीका नेताहरुको संरक्षणमा रहेको लोत्से कम्पनीको स्वार्थअनुसार नगर प्रहरीले धरपकड गरिरहेको बताए । उनले आफूहरु नयाँ बन्ने संरचनामा चलन चल्तीको भाडा तिर्न तयार रहेको धारणा राखे । एक सय ६१ रोपनीमा फैलिको नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउने भन्दै सरकारले व्यवसायीलाई उठाउन लागेको छ । तर, व्यवसायीहरुले नयाँ बन्ने संरचनामै आफ्नो व्यवस्थापन हुनु पर्ने माग राख्दै आएका छन् ।
खोटाङ–काठमाडौं यातायात शुरु
खोटाङ, २१ मंसिर । सदरमुकाम दिक्तेलबाट काठमाडौंलगायत तराईका विभिन्न जिल्लासँग सिधा यातायात शुरु भएको छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसी नदीमा अस्थायी बेलिब्रिज जडान गरेपछि सिधा यातायात सुरु भएको हो । नदीमा पानीको बहाव बढेसँगै गत जेठमा झिकिएको बेलिब्रिज पुनः जडान गरेर मङ्गलबारबाट यातायात शुरु भएको हो । दोभान निर्माण सेवा प्रालिले रु ६० लाखको लागतमा जडान गरेको बेलिब्रिज हिउँदभर सञ्चालन हुने सञ्चालक झङ्कार खड्काले बताए । बेलिब्रिज सञ्चालनमा आएसँगै काठमाडौँबाट खोटाङ्सम्म नियमित बस सञ्चालन भएको यातायात व्यवसायी सङ्घका जिल्ला सचिव रामकुमार हिङ्माङले बताए । बेलिब्रिज सञ्चालनमा आएसँगै यात्रा गर्न तथा दैनिक उपभोग्यवस्तु ओसारपसार गर्न सहज भएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र लयालुले बताए । विसं २०६६ मा सुरु गरिएको जयरामघाटस्थित पक्की पुल निर्माणमा ढिलाई भएका कारण त्यसको विकल्पमा बेलिब्रिज जडान गरिएको हो । रासस
पिपुल्स इन्भेष्टमेन्ट कम्पनीले १० लाख ८० हजार कित्ता साधारण सेयर जारी गर्ने
काठमाडौं, २१ मंसिर । पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको नवौ बार्षिक साधारणसभाले आफ्ना शेयरधनीलाई २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले सर्वसाधारणको लागी १० करोड ८० लाख रुपैया बराबरको १० लाख ८० हजार कित्ता साधारण शेयर पनि निष्कासन गर्ने निर्णय गरेको छ । साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले कम्पनीले उत्पादन मुलक तथा उर्जा क्षेत्रमा लगानी बढाउने जानकारी दिए । साधारणसभाले गुरुप्रसाद न्यौपानेको अध्यक्षतामा यमलाल रिजाल, माणिकरत्न शाक्य, कर्णप्रसाद देवभण्डारी, शिवहरि दंगाल, राजेन्द्र शाक्य, बेनबहादुर ढकाल, हरिहर कार्की, घनश्याम न्यौपानेलाई सञ्चालकमा चुनेको छ ।
काठमाडौंको फोहरबाट ७ मेगावाट विद्युत, कृषकलाई कम्पोष्ट मल र ग्यास पनि, ८ अर्ब खर्चेर काम सुरु हुँदै
काठमाडौं, २१ मंसिर । काठमाडौं उपत्यकाको फोहर मैलाबाट ७ मेगावाट विद्युत, कम्पोष्ट मल र प्राकृतिक ग्यास उत्पादन हुने भएको छ । लगानी बोर्डको अगुवाईमा फिनल्याण्ड र भारतीय कम्पनीले काठमाडौं, भक्तपुर, ललितपुर र किर्तिपुरको फोहर मैला व्यवस्थापनद्धारा विद्युत, कम्पोष्ट मल र प्राकृतिक ग्यास उत्पादन गर्न लागेका हुन् । फिनल्याण्डको फिनिस कम्पनी कम्पुनिकेशन ओवाई र नेपालको द अर्गानिक भिलेज मिलेर खडा गरिएको नेपवेष्ट कम्पनीले ६ अर्ब ३० करोडको लगानीमा काठमाडौंको फोहर व्यवस्थापन गर्न लागेका हुन् । त्यस्तै, बिभिजे इण्डिया लिमिटेड, ग्रीनफिल्ड वेष्ट म्यानेजमेन्ट लिमिटेड र क्रिस इन्टरनेशनल प्रालीले जोइन्ट भेञ्चरमा स्थापना गरेको क्लिन भ्याली लिमिटेडले एक अर्ब ९० करोडको लागतमा भक्तपुर, ललितपुर र किर्तिपुरको फोहर व्यवस्थापन गर्न लागेका हुन् । त्यसका लागि नुवाकोटको ओखरपौवास्थित बञ्चरे डाडामा ४०० रोपनी जमिनमा फोहर मैला प्रसोधन केन्द्र निर्माण हुनेछ । लगानी बोर्डका सह प्रवक्ता खगेन्द्र रिजालका अनुसार यी कम्पनीले २ बर्षमा परियोजना निर्माण सम्पन्न गर्नेछन् भने २२ बर्ष सञ्चालन गरेर नेपाल सरकारलाई बुझाउने छन् । यी दुबै परियोजनाबाट ७ मेगावाट विद्युत उत्पादन हुनेछ भने कम्पोष्ट मल र कम्प्रेस नेचुुरल ग्यास, आरडिएफ इन्धन(रेसिड्युल डेराइभ्ड फ्युल) उत्पादन गरिनेछ । ८४ प्रतिशत फोहर मैला काम लाग्ने यो परियोजनाले फोहर मैलाको जम्मा १६ प्रतिशत मात्रै निर्मलीकरण गर्नुपर्ने पदार्थका रुपमा छाड्नेछ । अर्थात फोहोरको ८४ प्रतिशत हिस्सा पुनः प्रयोग गरिनेछ । कहाँ अड्कियो गाँठो ? लगानी बोर्डका सह प्रवक्ता रिजालका अनुसार यी दुबै कम्पनीसँग तीन महिना भित्र छलफल सम्पन्न गर्नेगरि काम अघि बढेको छ । तर २०६९ मा ल्याइएको लगानी बोर्ड निमावलीले कुल परियोजना लागतको शुन्य दशमलब २ प्रतिशत शुल्क लिएर मात्रै परियोजना निर्माण गर्न दिन सकिने व्यवस्था गरेको छ । आवेदक कम्पनीले आफ्नो परियोजना नियमावली आउनु भन्दा अघि नै स्विकृतिको चरणमा पुगेकोले सो व्यवस्था लागु नहुने अडान लिँदै आएको छ । ‘डिपिआर स्विकृत भैसकेको छ, छलफल अपेक्षाकृत सफलता उन्मुख भयो भने तीन महिना भित्रै सम्झौता गरेर निर्माण आरम्भ हुनेछ’, सह प्रवक्ता रिजालले भने । ‘यी दुबै कम्पनीले पहिले नै प्रक्रिया अघि बढाएको हुनाले हामी शुन्य दशमलब २ प्रतिशत शुल्क तिर्दैनौं भनेका छन्, अब लगानी बोर्डको बैठकले टुङग्याउनु पर्छ’, सह प्रवक्ता रिजालले भने । एउटा घरले फोहोर फालेको १७० देखि २०० रुपैँया परियोजना निर्माणका लागि आवेदन दिएका कम्पनीहरुले प्रति घर १७० रुपैंयाँ देखि २०० रुपैंयाँसम्म शुल्क असुलेर फोहर उठाउने प्रस्ताव गरेका छन् ।