लोडसेडिङ घटाउन उर्जालाई पाँच अर्ब ३७ करोड, विद्युत् उपकरण किन्न खर्च गर्नुपर्ने
काठमाडौँ – अर्थ मन्त्रालयले विद्युतीय उपकरण खरिदका लागि ऊर्जा मन्त्रालयलाई पाँच अर्ब ३७ करोड ८० लाख रुपैयाँ खर्च गर्न सहमति दिएको छ । लोडसेडिङ न्यूनीकरणका लागि अर्थ मन्त्रालयले विशेष व्यवस्था गरेर यो रकमको सहमति जनाएको सचिव शान्तराज सुवेदीले जानकारी दिए । ‘लोडसेडिङ न्यूनीकरण गरी जनतालाई राहत हुन्छ भने काम गर्नुस् भनेर बजेटको सहमति दिइएको छ,’ उनले भने, ‘यो रकम नेपाल विद्युत् प्राधिकरणले आफूले ल्याएको कार्यक्रमअनुसार खर्च गर्नेछ ।’ सचिव सुवेदीका अनुसार प्राधिकरणले यो रकमबाट उच्च क्षमताका नयाँ ट्रान्सफर्मर खरिद गर्नेछ । यस्तो ट्रान्सफर्मरबाट प्राविधिक चुहावट नियन्त्रण गर्न सकिने प्राधिकरणको विश्वास छ । यो रकमबाट पोल, तार र मिटर पनि खरिद गरिनेछ । नयाँ पत्रिका दैनिकबाट ।
थप तीन हवाई रुट दिन भारत सकारात्मक, अहिलेको एउटै मात्र रुट भट्टेडाँडाको बिकल्प हुने
काठमाडौं २८, मंसिर । नेपाल आउने जहाजका लागि थप रुट दिन आनाकानी गर्दै आएको भारतल अन्ततः थप तीन रुट खोल्नका लागि अनुमति दिने संकेत गरेको छ। नेपाल र भारतबीच अर्को साता हुने बैठकमा यस्तो सुविधा प्रदान गर्न भारत सकारात्मक रेहको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। आइतबारको मन्त्रिपरिषद बैठकले भारतसँग हवाई रुट तथा हवाई क्षेत्रसँग सम्बन्धित विषयमा वार्ता गर्नका लागि वार्ता टोलीसमेत पठाउने निर्णय गरेको छ । नेपाल र भातबीच २०६६ मा वार्ता भएयता स्थगित भएको थियो । हवाइ रूट खुल्न सकेमा खाडी राष्ट्रबाट नेपालमा हुने उडानको दुरी छोटीनेछ। यस्तै भैरहवा र पोखराको विमानस्थलमा समेत दिल्लीबाट हुने उडान समय छोटिनेछ। सात वर्षपछि हुने वार्ताका लागि भारतले नै नेपाललाई निम्तो दिएको हो। कारोबार दैनिकबाट ।
पाँच दशकदेखि एउटा तुइनको भरमा चार गाविस, तुइन हटाउने सरकारको घोषणा भाषणमै सिमित
जाजरकोट २८, मंसिर । जाजरकोटको पश्चिमी क्षेत्रका चार गाविसका बासिन्दाको सम्बन्ध खोलामा हालिएको तुइनले जोडेको छ। गर्खाकोट र पजारु गाविसबाट बग्ने कुशेखोलामा पुल नहुँदा ती गाविसको सम्बन्ध नै तुइनको भरमा जोडिएको हो। पजारु, गर्खाकोट, कोर्ताङ र टालेगाउँका बासिन्दाले पाँच दशकदेखि कुशेखोलामा हालिएको तुइनबाटै आवतजावत गर्दै आएका छन्। खोलामा पुल नबन्दा स्थानीयवासी ज्यान जोखिममै राखेर तुइनबाटै खोला वारपार गर्ने गरेको पाजरु–७ रुव निवासी धनबहादुर गिरीले बताए। राजनीतिक दलका नेता र कर्मचारीलाई पुल बनाउन बारम्बार आग्रह गरे पनि सुनुवाइ नभएको गिरीले गुनासो गरे। ती चार गाविस मात्र नभएर यस बाटो भएर पश्चिमी क्षेत्रमा आवतजावत गर्ने सबैले तुइनको सहारा लिनुपर्ने बाध्यता छ। खोला तर्ने क्रममा तुइनबाट खसेर अहिलेसम्म तीनजनाको ज्यान गएको स्थानीय जयलाल सार्कीले बताए। ‘तीनजनाको ज्यान गइसक्यो, पुल नबन्दा अझै के हुने हो,’ उनले प्रश्न गरे। विशेष गरी पजारुको रुव र गर्खाकोटको खोलीका स्थानीयले भने मेलापात, जन्ती, मलामी र घाटघट्टसमेत आउन जान तुइन तर्नुपर्छ। ती गाउँमा लाग्ने मेला र जात्राका बेला स्थानीयलाई निकै आपत् पर्ने गरेको छ। धेरै मान्छेले खोला तर्ने बेलामा हैरानी बेहोर्नुपर्ने स्थानीयवासीको भनाइ छ। त्यस्तै, खोलाका दुई किनारामा पर्ने गर्खाकोटका खोली र पजारुको रुव निवासीले हरेक दिन तुइनबाटै आवतजावत गर्ने गरेको खोली निवासी प्रसाद शाहीले जानकारी दिए। ‘वारिपारि गाउँ छन्। मध्यभागमा खोला। सबै काम गर्दा तुइनकै भरोसा छ। पाँच दशकदेखि यही तुइनले नै जीवन धानेको छ,’ शाहीले भने। गर्खाकोटको शिवपुरी उच्च माध्यमिक विद्यालयमा पजारुबाट पढ्न जाने विद्यार्थीसमेत तुइनबाट नै कुशेखोला तर्ने गरेका छन्। विद्यालय जाँदा डराएर जानुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ। ‘अरूबेला सजिलो भए पनि वर्षाद्मा भने निकै कठिन हुने डर लाग्ने गरेको कक्षा ११ का छात्र ज्ञानबहादुर खत्रीले बताए। ‘ठूलो बाढी र भेल आएका बेला तुइन नै पानीले छोएको हुन्छ। त्यस्तो बेला स्कुल नै नगएर फर्कनुपर्छ,’ खत्रीले राजधानीसँग भने। यस्तो अवस्थाले विद्यार्थीलाई निकै चिन्तित बनाउने गरेको उनको भनाइ छ। सरकारले अघिल्लो आर्थिक वर्षमै देशभरिबाट तुइन विस्थापित गर्ने भने पनि जाजरकोटको दुर्गम गाउँका बासिन्दाको तुइन तर्नुपर्ने बाध्यता अझै हटेको छैन। जिल्लाको अति दुर्गम मानिने यो गाउँमा दलका नेताहरू चुनावका बेला पुगे पनि सरकारी कर्मचारी भने पुग्दै नपुग्ने स्थानीयवासीको भनाइ छ। ‘नेताले चुनावमा पुल हालिदिने सबैले भन्छन्, तर चुनावपछि कसैले फर्केर हेरेका छैनन्,’ स्थानीय ददे कामी भन्छन्, ‘तुइनको पीडा हटाउन पुल बनाउने नाममा कतिले हाम्रा भोट बटुले, तर कसैले वाचा पूरा गरेनन्।’ राजधानी दैनिकबाट ।
सुनको मूल्य प्रतितोला ५० हजारसम्ममा आउने, अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकोले नेपालमा पनि घट्दै
काठमाडौं २८, मंसिर । स्थानीय बजारमा सुनको मूल्य प्रतितोलामा ५० हजार रुपैयाँसम्म झर्ने देखिएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै गएकाले पनि मूल्य घटेर ५० हजार रुपैयाँमा आउने अनुमान गरिएको हो। ‘अन्तर्राष्ट्रिय बजारमा डलर मजवुद हुँदै गएकाले सुनको मूल्य अझै घट्ने अनुमान गरिएको छ’, सुनचाँदी व्यवसायी तजरत्न शाक्य भन्छन्,‘यहीँ अनुपातमा सुनको मूल्य घट्दै गए प्रतितोला ५० हजार रुपैयाँसम्म झर्ने अनुमान गरिएको छ ।’ विश्लेषकका अनुसार डलर मजबुद बन्दै जानु, सेयरबजारमा लगानीकर्ता आकर्षित हुनु, अमेरिकी फेडर बैंकले व्याजदरमा बृद्धि गर्नुसँग रोजगारीमा आएको वृद्धिजस्ता कारणले सुनको मूल्य क्रमशः ओरालो लाग्दै गएको हो। कारोबार दैनिकबाट ।
राजधानी २४सै घण्टा पुग्ने बिजुली बीचैमा गायब, चुहावटबाट वार्षिक १३ अर्ब रुपैयाँ गुम्यो
काठमाडौं, २८ मंसिर । मुलुकमा अहिले आपूर्ति भइरहेको नौ सय मेगावाट बिजुलीमध्ये दुई सय ४० मेगावाट अर्थात् २६ प्रतिशत चुहावट भइरहेको छ । हाल काठमाडौं उपत्यकामा आवश्यक पर्नेबराबरको बिजुली चुहावट भइरहेको छ । यसमध्ये विद्युत् प्रसारण लाइन तथा उपकरणबाट १२ प्रतिशत प्राविधिक चुहावट हुने गरेको छ । कुल २६ प्रतिशत चुहावटमध्ये १४ प्रतिशत बिजुली चोरी भइरहेको छ । प्रसारण लाइनबाट डाइरेक्ट हुकिङ, घरमा राखिएको मिटर रिडिङ गर्न नदिने, पुराना मिटरलगायतबाट बिजुली चोरी हुने गरेको छ । कतिपय ठाउँमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीकै मिलेमतोमा चोरी हुने गरेको पाइएको छ । चुहावटबाट वार्षिक १३ अर्ब रुपैयाँ गुम्यो एक प्रतिशत चुहावटबराबर नेपाल विद्युत् प्राधिकरणले ५० करोड रुपैयाँ गुमाइरहेको छ । २६ प्रतिशत चुहावटबाट प्राधिकरणले वार्षिक रूपमा १३ अर्ब रुपैयाँ गुमाउँदै आएको छ । अहिले प्राधिकरणको वार्षिक घाटा ११ अर्ब ७९ करोड र सञ्चित नोक्सानी ३७ अर्ब ६० करोड रुपैयाँ छ । २५ दशमलव ७८ प्रतिशत चुहावटमध्ये वितरण लाइनमा १९ दशमलव ८०, प्रसारण लाइनमा चार दशमलव ८२ र उत्पादनमा एक दशमलव १६ प्रतिशत चुहावट रहेको प्राधिकरणले जनाएको छ । चुहावट नियन्त्रणका लागि प्राधिकरणले अहिले अभियान नै चलाइरहेको छ । राजनीतिक दबाबले विद्युत् चोरलाई सजाय दिन कठिनाइ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ राजनीतिक दबाबका कारण विद्युत् चोरीमा संलग्न व्यक्तिलाई कारबाही गर्न नसकिएको बताउँछन् । ‘राजनीतिक तह र सुरक्षा निकायले पर्याप्त सहयोग गरेमा केही समयमै विद्युत् चुहावट १० प्रतिशतले घटाउन सकिन्छ,’ उनले भने, ‘विद्युत् चोरी नियन्त्रण ऐन २०५८ को दफा १७ बमोजिम विद्युत् चोरीसम्बन्धी मुद्दाको वादी सरकार हुने व्यवस्था अनिवार्य रूपले स्थानीय प्रशासनले कार्यान्वयनमा ल्याइदिनुपर्छ ।’ बिजुली चोरी भएको भेटिएमा सुरक्षाकर्मीबाट अन्य चोरीसरह कारबाही हुनुपर्ने उनले माग गरे । ‘अत्यधिक चुहावट हुने एरियामा विद्युत् कटौती गर्ने र चोरीमा संलग्न ठूला ग्राहकको लाइन तीन महिनासम्म काट्ने तयारी गरिरहेका छौँ,’ घिसिङले भने । सबैभन्दा बढी चोरी तराई–मधेसमा प्राधिकरणका अनुसार सबैभन्दा बढी बिजुली चोरी तराई–मधेसमा हुने गरेको छ । प्राधिकरणको जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गतका धनुषा, महोत्तरी, रौतहट, सप्तरी, पर्सालगायतका जिल्लामा अत्यधिक बिजुली चोरी हुने गरेको छ । तराई–मधेसका आठ वितरण केन्द्रबाट ५० प्रतिशतभन्दा बढी बिजुली चुहावट हुन्छ । विगतमा वितरण केन्द्रमा कर्मचारी क्षमताका आधारमा भन्दा पनि हाकिमलाई जसले बढी रकम दिने गर्छ, उसैलाई पठाउने प्रवृत्ति प्राधिकरणमा छ । पैसा बुझाएर केन्द्रमा जाँदा चुहावट नियन्त्रण गर्नभन्दा लगानी उठाउनमै केन्द्रित हुने गरेको प्राधिकरणका कर्मचारी बताउँछन् । नयाँ पत्रिका दैनिकबाट ।
देशैभर विपन्नलाई निःशुल्क उपचार, विपन्न-बेवारिसे र असहायका लागि निःशुल्क सेवा लेखेको स्टिकर
काठमाडौ २८, मंसिर । मुलुकभरका निजी स्वास्थ्य संस्था आगामी पुस १ गतेदेखि विपन्न, बेवारिस, असहाय, ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिलाई निःशुल्क उपचार दिन सहमत भएका छन् । नीतिगत व्यवस्था भएको आठ वर्षपछि निःशुल्क सेवा दिन तयार भएका निजी स्वास्थ्य संस्थाको अनुगमन गर्न स्वास्थ्य मन्त्रालयले एक समितिसमेत गठन गरेको छ । निजी अस्पतालको छाता संगठन अफिन र स्वास्थ्य मन्त्रालयलबीच भएको सम्झौताअनुसार चिकित्सक परामर्श, प्रयोगशाला, शड्ढया, नर्सिङ केयर, रेडियोलोजी र अक्सिजन निःशुल्क हुनेछ । हेल्थपोष्टको फाइल तस्बिर स्वास्थ्यमन्त्री गगन थापाले निजी अस्पतालले औषधि र शल्यक्रिया पनि निःशुल्क प्रदान गर्ने विषयमा मन्त्रालयसँग छलफल जारी रहेको र नतिजा सकारात्मक आउनेमा आशावादी रहेको बताए । उनले निःशुल्क सेवा कसरी दिने भन्ने सम्बन्धमा स्पष्ट अवधारणा बनाएको र सेवा लिने क्रममा कोही पनि ठगिन नपाउने दाबी गरे । सेवा लिनका लागि काठमाडौंको हकमा वीर अस्पताल र उपत्यकाबाहिरका लागि गाविस वा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य मन्त्रालयको सिफारिस चाहिन्छ । सुशासन ऐन २०६४ को दफा ४५ र र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०६४ अनुसार १० प्रतिशत शड्ढयामा निःशुल्क उपचार दिनुपर्ने भए पनि कार्यान्वयनमा निजी अस्पतालले अटेर गरेका थिए । निर्देशिकामा बिरामीलाई दिएको सेवाबारे अभिलेख राख्ने र मन्त्रालयमा प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । ती अस्पतालले बिरामीलाई स्वयम् घोषणा फाराम भराई त्यसको रेकर्ड जिल्ला जनस्वास्थ्य कार्यालय, मन्त्रालयलगायत सम्बन्धित निकायमा पठाउनुपर्नेछ । यस्तै विपन्न, बेवारिसे र असहाय बिरामीका लागि निःशुल्क सेवा लेखेको स्टिकर टाँसिएको हुनुपर्नेछ । सूचनाबोर्डमा अस्पतालमा निःशुल्क उपचाररत बिरामीको विवरण राख्नुपर्नेछ । निःशुल्क उपचार सेवा कार्यान्वयन नभए बिरामीले मन्त्रालय वा जिल्ला जनस्वास्थ्य कार्यालयमा उजुरी दिन सक्नेछन् । अन्नपूर्ण पोस्टबाट ।
मध्यपहाडी राजमार्गले दैनिकी सहज, बाटोको पहुँचले स्थानियलाई रहत
काठमाडौं २८ मंसिर । दैलेख साततलाका रमेश थापाको तरकारी खेती निकै फस्टाएको छ । १ वर्षदेखि उनी पूर्ण रूपमा तरकारी खेतीमा लागेका छन् । आफ्नै गाउँछेउबाट मध्यपहाडी राजमार्ग खोलिएपछि तरकारी बेच्न उनले टाढा जानु नपर्ने भएको छ । यसले पनि उनलाई तरीकारी खेतीमा लाग्न हौस्याएको छ । ‘टाढा जान पर्दैन, गाउँमै गाडी आइपुग्छ,’ उनले भने, ‘अरु खेती गर्दा वर्ष दिन खानै पुग्दैन थियो, तरकारी खेती गर्न थालेपछि नगद कमाई हुन थालेको छ ।’ उनी अब पूरै खेतमा तरकारी लगाउने सोचाईमा छन् । उनको घर नजिकको सहर राकम कर्णाली हो । राजमार्ग खुलेपछि अब यहाँसम्म पुग्न सजिलो भएको छ । सजिलो बाटो भएपछि आफ्ना उत्पादन बेच्न पनि गाह्रो छैन । मध्यपहाडी राजमार्गमा पर्ने १० नयाँ सहरमध्ये राकम कर्णाली एक हो । ‘राष्ट्रिय गौरवको आयोजना’ घोषणासँगै नयाँ सहरमा व्यापार र अन्य प्रयोजनका लागि बसाई सर्ने क्रम सुरु भएको छ । प्रत्येक दिन राजमार्ग छेउछाउमा पसल थापेर सानातिना व्यवसाय गर्नेको संख्या बढो छ । चिया, तरकारी पसलेले राजमार्ग छेउछाउका मानिसको जीवनस्तर उकासिन थालेको छ । पाँचथरको चियोभन्ज्याङ (नेपाल,भारत सीमा)देखि बैतडीको झुलाघाट (महाकाली नदी) जोड्ने सडक निर्माणसँगै गाउँमा विकास पूर्वाधार आइपुग्ने आशा स्थानीयको छ । पहाडै पहाड हुँदै पूर्वं,पश्चिम जोड्ने मध्यपहाडी मार्ग पूर्वको अन्तिम विन्दु पाँचथर च्याङथापुको भारतीय सीमावर्ती चिवा भन्याङसम्म जोडिएको छ । च्याङथापुदेखि पश्चिम झुलाघाट जोड्ने १ हजार ७ सय ५६ किलोमिटरको क्षेत्रमा ट्रयाक जोडिसकेकाले यातायात सञ्चालनमा आएका छन् । त्यसमध्ये नुवाकोटको पाटी भज्याङदेखि बैतडीको झुलाघाटसम्मको १ हजार ९७ किमि पश्चिम खण्डमा पर्छ, भने ६ सय ५९ किलोमिटर पूर्वी खण्डमा पर्छ । मध्यपहाडी लोकमार्ग पश्चिम खण्डका प्रमुख सुर्य भाटले यस खण्डको बैतडी, बाग्लुङ र रुकुम खण्डको करिब ३७ किमि सडक कालोपत्रे भइसकेको बताए । कान्तिपुर दैनिकबाट ।
नेपाली प्रवद्धक रहेको कम्पनी सगुनले डलरमा मिनी आइपिओ निकाल्दै
वासिङ्टन। अमेरिकामा रहेका नेपालीले शुरु गरेको कम्पनी सगुनले सामाजिक सञ्जालकै इतिहासमा पहिलोपटक मिनी आइपिओमार्फत लगानी जुटाउने भएको छ । मिनी आइपिओमार्फत लगानी जुटाउने सगुन नेपालीहरुले शुरु गरेको पहिलो मात्र नभइ सामाजिक सञ्जालका रुपमा पहिलो ग्लोवल कम्पनी पनि हुने भएको हो। सामाजिक सञ्जालकै क्षेत्रमा सगुन ‘ रेगुलेसन ए प्लस ‘ मार्फत लगानीको अवसर दिने बिश्वकै पहिलो कम्पनी हुने तयारीमा छ । अमेरिकी स्टक एक्सचेन्जले करिव डेढ महिना भित्र सगुनलाई मिनी आइपिओ मार्फत लगानी जुटाउने स्विकृती दिन सक्ने बताइएको छ। यसका लागि सगुनले आफ्ना तर्फबाट सबै प्रक्रिया पुरा गरि अमेरिकी स्टक एक्सचेन्जमा आवदेन गरिसकेको छ। अमेरिकी नयाँ कानुन अनुसार प्राइभेट कम्पनीमा पनि सर्वसाधारणले लगानी गर्न पाउने भएपछि स्टार्टअप कम्पनीको रुपमा स्थापना भएको सगुनले सर्वसाधारणबाट लगानी जुटाउने अन्तिम तयारीमा जुटेको हो । मिनी आइपिओमा २ अर्व जुटाउँदै यस चरणमा भने सगुनले २ करोड डलर अर्थात करिव २ अर्व भन्दा वढी रकमको मिनी आइपिओ जारी गर्न लागेको हो । यो योजनामा बिश्वभर रहेका सर्वसाधारण लगानीकर्ताबाट सगुनमा लगानी गर्न चाहनेले प्रति शेयर २३ डलरका दरले कम्तिमा २९९ डलर लगानी गर्नुपर्ने हुन्छ । करीब ३० हजार नेपाली रुपैयाँ लगानी गरेर अमेरिकी स्टार्ट अप कम्पनीको शेयर होल्डर बन्ने अवसर पाउने भएपछि यसप्रतिको चासो सर्वसाधारण लगानीकर्ताहरुमाझ बढेको छ । त्यसभन्दा बढी आफ्नो क्षमता अनुसार जति पनि लगानी गर्न सकिने बताइएको छ । मिनि आइपीओ जारी गर्दा सगुनले ८ लाख ७० हजार कित्ता शेयर जारी गर्नेछ । जुन कुल शेयरको २१ प्रतिशत हो । विदेशमा बस्ने नेपालीहरुको लागि सगुन जस्ता कम्पनीमा लगानीको अवसर महत्वपूर्ण हुने बताइएको छ । दामासाहीमा नभइ अगाडी आवदेन गर्नेले मागेजति शेयर पाउने भएको कारण शुरुमै शेयर खरिद गर्नुपर्ने अमेरिकी पूँजी वजारका जानकारहरु बताउँछन् ।