माथिल्लो तामाकोसी जलविद्युतको आईपीओ बिहीबारदेखि,१ हजार कित्तासम्म आवेदन दिन पाइने
काठमाडौं । निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) बिहीबारदेखि निष्कासन हुने भएको छ । प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई चुत्तापुँजीको १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा कात्तिक १९ र ढिलोमा मंसिर १४ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । कोषका अनुसार आईपीओका लागि न्युनतम ५० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिने पाइने छ । नेपाल धितोपत्रबाट स्वीकृती प्राप्त सी–आस्वाका सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आईपीओ भर्न सकिने कोषले जानकारी दिएको छ । आईपीओ आयोजना प्रभावित स्थानीयबासिन्दाले भर्न नपाउने भएका छन् । तामाकोसीले निष्कासन गर्न लागेको यो अन्तिम आईपीओ हो । स्थानीयबासिन्दाका लागि कम्पनीले १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरिसकेको छ । आयोजनाले यसअघि नै सञ्चय कोषका कर्मचारी र पाँच लाख बढी सञ्चयकर्तालाई २४ प्रतिशत आईपीओ निष्कासन गरिसकेको छ । स्थानीय तथा सर्वसाधारणलाई छुट्याएको क्रमशः १० र १५ प्रतिशत आईपीओ बिक्री भएपछि मात्रै कर्मचारीलाई ३ वर्षअघि निष्कासन गरिएको सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत गर्ने तयारी गरिएको हो । कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि छुट्याएको २४ प्रतिशत सेयर बाँडफाँड गरिसकेको छ । तामाकोसीको ९७ प्रतिशत काम सकिएको छ । अब आयोजनाको काम सक्न ३ प्रतिशत मात्र बाँकी छ । आउँदो असारदेखि मात्र बिजुली उत्पादन हुनेछ ।
किसान माइक्रोफाइनान्सको हकप्रद सेयर मंसिर २ देखि निष्कासन हुने
काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले मंसिर २ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले चुत्तापुँजी बढाउन २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार २५० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बन्द पुस ८ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । हकप्रद सेयर निष्कासनपछि संस्थाको चुत्तापुँजी ७ करोड २० लाख ७५ हजार रुपैयाँ पुग्ने छ । कात्तिक १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्ने छन् ।
इसेवाको तिहार अफर सार्वजनिक, एयरलाइन्स् टिकटमा शतप्रतिशत क्यासब्याक पाइने
काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा फोन पे प्रा.लि.ले नेपालीहरूको महान पर्व तिहारलाई लक्षित गर्दै एयरलाइन्स् टिकटमा विभिन्न अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत हरेक दिन ३ जना भाग्यशाली विजेता घोषित हुनेछन् । एयरलाइन्स् टिकट काट्नेहरूमध्ये विजेता छनौट गरी प्रथम पुरस्कार स्वरुप शतप्रतिशत क्यासब्याक, दोश्रो पुरस्कार स्वरुप ५० प्रतिशत रकम क्यासब्याक र तेश्रो पुुरस्कार स्वरुप इसेवा वालेटमा एक हजार रिवार्ड प्वाइन्ट प्रदान गरिने छ । यो अफर कार्तिक २० गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
नेपाल र कोरियाबीच साना तथा मझौला व्यवसाय विकासमा कार्य गर्ने सम्झौता
काठमाडौं । नेपाल र कोरियाबीच साना तथा मझौला व्यवसायको विकासमा सहकार्य गर्ने उद्देश्यले मंगलबार एक समारोहका बीच काठमाडौंमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र दक्षिण कोरियाको साना तथा मझौला व्यवसाय निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझादारीपत्रमा महासंघका कार्यवाहक अध्यक्ष शेखर गोल्छा र एसबीसी कोरियाका अध्यक्ष ली साङ जीकले हस्ताक्षर गरेका हुन् । अन्तराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व्यवसायिक सहयोग अभिवृद्धि गर्ने उद्देश्य रहेको कुरा समझदारीपत्रमा उल्लेख गरिएको छ । यसबाट समग्रमा साना तथा मझौला व्यवसायलाई युग सुहाउ“दो रूपमा विकास गरी त्यस मार्फत दुवै देशका जनताको आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । समझदारीपत्रमा यसका उद्देश्य, सहयोगका क्षेत्र, समन्वय गर्ने अधिकारीको व्यवस्था, कार्यान्वयन इकाई, वित्तिय व्यवस्थापन लगायत गरी १५ वटा दफाहरू समेटिएका छन् । साना उद्यमीहरूलाई नीतिगत सुधारमा काम गर्न सक्ने गरी क्षमता विकासमा जोड दिने, दुवै देशमा अवलम्वन गरिएका नीति तथा कानुन, प्रविधि, ज्ञान, शीपको आदान प्रदान, बजार प्रवद्र्धन, विद्यमान ऐन कानूनलाई समय सान्दर्भिक रूपमा संशोधन गर्न आ–आफ्ना सरकारलाई अनुरोध गर्ने पनि समझदारीपत्रमा उल्लेख गरिएको छ । त्यसैगरी, समझदारीपत्रमा दुवै संस्थाको वेभसाइट मार्फत साना तथा मझौला व्यवसाय सम्बन्धी सूचना तथा जानकारी आदान प्रदान गर्ने, एकअर्का देशमा आयोजना हुने व्यापार मेलामा साना तथा मझौला व्यवसाय सम्बन्धी विशेष प्रर्दशनीको प्रवन्ध गर्ने, यस सम्बन्धमा छलफल अन्तरक्रिया आयोजना गर्ने, साना मझौला उद्यमी व्यवसायीहरूको अध्ययन भ्रमणको व्यवस्था समयसमयमा मिलाउने, दुवै देशले अवलम्वन गरेका प्रविधिहरूका विषयमा जानकारी सहित प्रविधि हस्तान्तरणमा सहकार्य गर्ने आदि उल्लेख गरिएको छ । समझदारीपत्र हस्ताक्षर समारोहमा नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको साना तथा मझौला व्यवसायको विकासका लागि उद्यमशीलता र नविनता महत्वपूर्ण तत्व रहेकोमा जोड दिइयो । पर्याप्त वित्तिय पहुँचको अभाव, न्यून उद्यमशीलता, तालिम तथा व्यवसाय सुरु गर्ने जानकारीको अभाव, वजार प्रर्वद्धन तथा संस्थागत विकास हुन नसक्नुनै नेपालमा साना तथा मझौला व्यवसायले भोग्नु परेका प्रमुख समस्या रहेको औल्याउंदै दुवै संस्थाबीच भएको सहकार्य यस क्षेत्रको विकासमा कोशेढुंगा सावित हुने विश्वास समेत सो अवसरमा प्रकट गरियो । समझदारीपत्रमा हस्ताक्षर पश्चात साना तथा मझौला व्यवसायका लागि नेपाल कोरिया बीटुबी अन्तरक्रियाको समेत आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल र कोरिया बीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारको अथाह सम्भावना रहेपनि दुवै देश बीचको व्यापार भने यद्यपी निकै सानो आकारमा रहेकाले आपसी व्यापार प्रवद्र्धनमा समेत यो सहकार्यबाट सघाउ पुग्ने जानकारी दिइएको छ । महासंघमा रहेको तथ्यांक अनुसार आर्थिक वर्ष सन् २०१६÷१७ मा नेपालको कोरियास“ग ८२.६ मिलियन अमेरिकी डलर बराबरको व्यापार घाटा रहेको देखिन्छ ।
सांग्रिला डेभलपमेन्ट बैंक १५आैँ वर्षमा, रक्तदान कार्यक्रमबाट ३२६ प्वाइन्ट रगत संकलन सफल
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १४औं वर्ष पार गरी १५औं बर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । बैंकले “रक्तदान-जीवनदान” भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरेको हो । बैंकले आफ्नो केन्द्रीय कार्यालय बालुुवाटार, पोखराको कलष्टर कार्यालयहरु र नेपालगञ्ज तथा शाखा कार्यालयहरु नारायणगढ र बुुटवलमा नेपाल रेडक्रस सोसाईटीको सहयोगमा बैंकका ग्राहक, संचालक, शेयरधनी, कर्मचारीहरुद्धारा रक्तदान गरि कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा केन्द्रीय कार्यालय बालुुवाटार काठमाडौमा ४५ प्वाइन्ट, कलष्टर कार्यालय पोखरामा १४२ प्वाइन्ट, नेपालगञ्जमा ८८ प्वाइन्ट, तथा शाखा कार्यालय नारायणगढमा २१ प्वाइन्ट, र बुुटवलमा ३० प्वाइन्ट गरि कुल ३२६ प्वाइन्ट रगत संकलन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए ।
आइएमईको ‘दशैंमा २० लाख’ योजनाको पहिलो विजेता घोषित, मल्लले जिते एक लाख रुपैयाँ
काठमाडौं । नेपालको रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले ‘दशैंमा २० लाख’ योजना अन्तर्गत पहिलो महिनाको विजेता घोषित गरेको छ । क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही नेत्रबहादुर मल्ल सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट पहिलो महिनाको विजेता घोषित भएका छन् । उक्त योजना अन्तर्गत सेवाग्राही मल्लले नगद एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय पानी पोखरीमा एक कार्यक्रम गरी सो योजनाको विजेता घोषणा गरेको हो । यो योजना आगामी मङ्गसिर मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट एकजना, साप्ताहिक ‘लक्की ड्र’ बाट पाँच जना र दैनिक ‘लक्की ड्र’ बाट तीन सयजना सेवाग्राहीहरू विजेता घोषित भएका छन् ।
टिच फर नेपाललाई सिद्धार्थ बैंकको सहयोग, बालबालिकालार्इ स्वयंसेवी शिक्षकबाट प्रशिक्षण दिइने
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले टिच फर नेपाललाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । मंगलबार बैंकका निर्देशक विरेन्द्रकुमार शाहले टिच फर नेपाललाई सो मात्राको चेक हस्तान्तरण गरेका हुन् । बैंकले समुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षा सबल बनाउनका लागि टिच फर नेपालसँग सहकार्य गरेको हो । सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण जिल्लाका सार्वजनिक स्कूलहरुमा गुणस्तिरय शिक्षा प्रदान गर्ने कार्यका लागि उक्त सहयोग गरेको हो । यस अभियानबाट देशका विभिन्न ग्रामीण जिल्लाका सार्वजनिक विद्यालयका बालबालिकाहरुलाई २ वर्षको लागि स्वयंसेवी शिक्षकको माध्यमबाट गणित, विज्ञान र अंग्रेजी विषयमा प्रशिक्षण दिने बैंकले जनाएको छ । बैंकको वित्तीय सहयोगले ग्रामीण जिल्लाका निम्न स्तरको सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षा सुधारको लागि सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
कर्जा प्रवाहमा बैंक तथा वित्तीय संस्थाको मनोमानी, क्षमताभन्दा बढी ऋणले वित्तीय संकटको जोखिम
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तथा कर्जा प्रवाहमा उल्टो बाटो समात्दा बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको पहिलो २ महिनाको सार्वजनिक गरेको आर्थिक तथा मौद्रिक स्थितिसम्बन्धी तथ्याङ्कले यस्तो देखाएको हो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले ७४ अर्ब ४९ करोड ७९ लाख रुपैंया बराबरको कर्जा प्रवाह वृद्धि गरेका छन् । यो दर अघिल्लो आर्थिक वर्षको अन्त्यको तुलनामा ३.१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा यो वृद्धिदर १.९ प्रतिशत थियो । निक्षेप संकलनतर्फ भने बैंक तथा वित्तीय संस्थाले खासै प्रगति गर्न सकेका छैनन् । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले कुल ३९ अर्ब १४ करोड ६१ हजार रुपैंया निक्षेप वृद्धि गरेका छन् । यो वृद्धिदर १.४ प्रतिशत हो । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा सो वृद्धिदर २.१ प्रतिशत थियो । अर्थतन्त्रमा मौद्रिक सन्तुलन कायम हुन निक्षेप तथा कर्जाको वृद्धिदर सामान्यतया बराबर हुनुपर्छ । तर निक्षेप वृद्धिमा कमजोर हुनु र अत्यधिक कर्जा प्रवाहतर्फ लाग्नुले बैकिङ क्षेत्रमा मौद्रिक संकट उत्पन्न हुने गरेको छ । केही सरकारी बैंकबाहेक अधिकांश बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाहको स्थिति सीमान्त अवस्थामा पुगिसकेको छ । बैंकहरुको प्राथमिक पृुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ८०ः२० को सीमा नजिक पुगिसकेको बैंकरले बताएका छन् । लगानीयोग्य पुँजीको अभाव कायम रहे केही दिनमै कर्जा प्रवाह बन्द हुने संभावना रहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालको भनाई छ । ‘निक्षेप बढ्न सकेन, कर्जाको माग अत्यधिक छ । हाम्रो बैंकको पनि सीसीडी रेसियोले सीमा भेट्न लागिसक्यो ।’ दाहालले भने– ‘यस्तै अवस्था आए कर्जा प्रवाह बन्द गर्नुपर्छ ।’ सानिमा बैंकले हालसम्म कर्जा लगानी गरिरहेको र सीसीडी रेसियो ७८ प्रतिशत पुगेको उनले जानकारी दिए । यता राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा यस्तो अवस्था आउनुमा बैंकर दोषी भएको जिकिर गर्छन । विकासन्युजसंग कुरा गर्दै थापाले भने “क्षमता भन्दा बढी लगानी गर्दा समस्या आएको हो । निक्षेप बढाएर कर्जा लगानी गर्न बाटो खुला छ ।” बैंक तथा वित्तीय संस्थाले आर्थिक बर्षको अन्तिम त्रैमासमा कर्जा प्रवाह नगर्ने भएकोले कर्जा मागका फारामहरुको चाङ लाग्दा नयाँ आर्थिक बर्ष सुरु भएपछि बैंकहरुमा कर्जाको माग बढ्ने गरेको बैंकरहरु बताउँछन् । केही बैंकहरुले आफ्ना पुराना ग्राहकसँगको सम्बन्ध जोगाइ राख्नका लागि कम सीसीडी रेसियो भएका बैंकहरुलाई आफ्नो असल कर्जा किनिदिन अनुरोध समेत गर्न थालेका छन् । सामान्यतया १ रुपैंया निक्षेप संकलन हुँदा बैंक तथा वित्तीय संस्थाहरु ८० पैसा कर्जा प्रवाहका लागि योग्य हुन्छन् । तर बैंकहरु निक्षेप संकलनको अवस्था वास्ता नगरी कर्जा प्रवाहमै केन्द्रित हुनाले बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव देखिएको छ । यस्तो समस्या अनन्तकालसम्म लम्बिनसक्ने सम्भावना छ । पछिल्ला ३ वर्षयता पहिलो त्रैमाशपछि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको संकट बढ्दै गएको छ । केन्द्रीय बैंकले लगानीयोग्य पुँजी बढाउन अनिवार्य नगद अनुपात (सीआरआर) को सीमा घटाउदा बजारमा ४८ अर्ब रुपैयाँ तरलता थपिएको छ । यस्तै विदेशबाट डलर र भारुमा ऋण लिन केन्द्रीय बैंकले खुला गरेको छ । आधादर्जन बैंकले विदेशबाट ऋण लिने तयार गरेपनि महंगो हुने अवस्था आएपछि आँट गर्न सकेका छैनन् ।