विकासन्युज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको जिम्मा चिनियाँ कम्पनीलाई, आज सम्झौता हुँदै

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रिह्याबिलिटेसन’को प्रक्रिया अघि बढेको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पोरेसनसँग सोमबार निर्माण सम्झौता हुँदैछ । उक्त आयोजनाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) उच्च अधिकारीबीच प्रस्तुतीकरण गरिएको थियो । मन्त्री अधिकारीसहित सञ्चारकर्मीको टोलीले क्यानअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले गरिरहेको कामको स्थलगत अवलोकनसमेत गरेको थियो । चिनियाँ निर्माण कम्पनीसँग करबाहेक तीन अर्ब ७५ करोड रन्वे कालोपत्र परिवर्तनका लागि सम्झौता हुन लागेको क्यानले जनाएको छ । सन् १९८० मा निर्माण भएको रन्वे अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन । धावनमार्ग स्तरोन्नतिको काम पाँच महीनाभित्र शुरु हुनुअघि आवश्यक तयारीका लागि पाँच महीनाको समय दिइएको छ । हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख बाबुराम पौडेलले कम्पनीले आवश्यक तयारीका लागि चार महीना भए पुग्ने प्रस्ताव पेस गरे पनि आयोजनाले पाँच महीनाको समय दिएको बताए । क्यानका महानिर्देशक सञ्जिव गौतमका अनुसार आगामी अप्रिल १ बाट धावनमार्ग स्तरोन्नतिको काम शुरु हुनेछ । कम्पनीले पहिलो चरणमा तीन हजार मिटरको रन्वेको कालोपत्र परिवर्तन गर्नु पर्नेछ । दैनिक ८० मिटरका दरले १० घण्टा मिलिङ मेशिनको साथमा राति रन्वे बनाइनेछ । यो क्रममा दैनिक १० घण्टा विमान स्थल बन्द हुनेछ । धावनमार्ग सकेपछि ‘पार्किङ बे’ को काम सुरु गरिनेछ । निर्माण कम्पनीले ४५ दिनको स्तरोन्नतिको तालिका बनाए पनि क्यानले ७० दिनको अवधि तोकेको छ । सन् २०१९ को अप्रिलदेखि विमानस्थल बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म पूर्णरूपमा बन्द गरी रन्वेको कालोपत्र परिवर्तन शुरु गर्न लागेको क्यानले जनाएको छ । स्तरोन्नति गर्न करीब १८ महीना लाग्नेछ । यसैबीच पर्यटनमन्त्री अधिकारीले धावनमार्ग स्तरोन्नतिको काम जतिसक्दो छिटो निर्माण सम्पन्न गर्न आयोजनालाई निर्देशन दिएका छन् । देशकै गरिमासँग जोडिएको विमानस्थलको स्तरोन्नतिपछि विमानस्थलको चाप न्यूनीकरण तथा सेवाको गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने उनको विश्वास छ ।

सिद्धार्थ बैंकको नाफा १३८ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी २५ रुपैंया

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकद्धारा प्रकाशित विवरणअनुसार बैंकले अघिल्लो आर्थिक बर्षको सोही समयको तुलनामा नाफामा १३८ प्रतिशतले वृद्धि गरी ३१ करोड १५ लाख रुपैंया पुर्याएको छ । यो आम्दानी प्रतिशेयर २४ रुपैंया ८१ पैसा हो । अघिल्लो बर्ष बैंकको नाफा १३ करोड ७ लाख रुपैंया थियो । बैंकले उक्त अवधिमा निक्षेप १०० अर्ब रुपैंया कायम गरेको छ । यो गत आर्थिक वर्षको अन्तिम त्रैमासभन्दा कम हो । गत असार मसान्तमा बैंकको निक्षेप १०१ अर्ब रुपैंया थियो । निक्षेप घटे पनि बैंकले तीन महिनाको अवधिमा कर्जा प्रवाह करिब ५ अर्ब रुपैंयाले बढाएर ९० अर्ब ६७ करोड पुर्याउदा ७९.४७ प्रतिशत पुगेको छ । असार मसान्तमा बैंकको कर्जा लगानी ८५ अर्ब ७५ करोड रुपैंया थियो । तीन महिनाको अवधिमा बैंकको रिजर्भ कोषमा भने ५ अर्ब रुपैंयाले बढोत्तरी भएको छ । अघिल्लो आर्थिक वर्षमा निष्क्रिय कर्जा अनुपातमा ठूलो सुधार गरेको बैंकले प्रोभिजन राइटब्याकबाट रिजर्भमा उक्त सुधार गरेको हो । कर्मचारी एवं प्रशासनिक खर्चतर्फ पनि बैंक लागत बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही समयमा २२ करोड १२ लाख रुपैंया कर्मचारी खर्च र १२ करोड ७२ लाख रुपैंया प्रशासनिक खर्च रहेको बैंकको यस त्रैमासमा खर्च बढेर क्रमशः ३३ करोड ५८ लाख र १७ करोड २३ लाख रुपैंया पुगेको छ । बैंकको आधार ब्याजदर १०.६२ प्रतिशत र लगानी कोषको लागत ७.२० प्रतिशत कायम भएको छ भने स्प्रेडदर ४.७७ प्रतिशत छ ।

युआनकाे मूल्य दशकयता सबैभन्दा कमजोर, चीनलार्इ गलाउन अमेरिका के के गर्दैछ ?

हङकङ । चीनको मुद्रा युआनको मूल्य यस दशककै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । गत हप्ता चिनियाँ बजारमा एक अमेरिकी डलर बराबर ६.९६ युआनको दर कायम रहेको र ब्यापार विवाद रहँदासम्म चिनियाँ युआन कमजोर नै रहने सम्भावना भएको केजिआई एसियाका कार्यकारी निर्देशक बेन कोङले ब्लुमवर्गलाई बताए । अमेरिकी डलरसँगको अवमूल्यनसँगै चिनियाँ नागरिकले अमेरिकी ब्यापार युद्ध र कमजोर बन्दै गरेको अर्थतन्त्रप्रति चिन्ता व्यक्त गरेका छन् । अमेरिकी डलरसँगको मुल्यमा सन् २००८ को मे महिनापछिकै कमजोर अवस्थामा पुगेको हो । चीनले भने आफ्ना नागरिकलाई यूआनको अवस्था सोचिएभन्दा बढी अर्थात् प्रति डलर ७ युआन कायम हुने जनाएको छ । यो बेइजिङको बजारलाई मनोवैज्ञानिक प्रभाव पर्न नदिन गरिएकोे कदम हो । तर ब्रेकिङ ७ ले अमेरिकी डलरसँगको कमजोर अवस्थाप्रति चिनियाँ बजारको व्यवसायिक विश्वास थप गुम्नसक्ने आँकलनसमेत गरिएको छ । तर अमेरिकाले भने चीनले यूआनलाई थप कमजोर हुन दिने र यसको कारक तत्व चिनियाँ सामानमाथि अमेरिकाले कर वृद्धिलाई देखाउने र यसअघि गर्दै आएको मौद्रिक ‘म्यानिपुलेसन’लाई वैध बनाउने रणनीति भएको दावी गरेको पनि कार्यकारी निर्देशक कोङले बताए । अमेरिका भने चिनियाँ यूआनमा अहिले मात्र प्रभाब परेको नभै यस पहिल्यै चिनियाँ मुद्राको अवमुल्यन भएको दावी गरेको छ । चीनले विश्व समुदायलाई झुक्काएको आरोप अमेरिकाको छ । हुनतः अमेरिकी डलरसँग युआनको अवस्था निकै खस्केका समाचारहरू यस पहिल्यै पनि आउने गरेका थिए । अमेरिकामा चिनियाँ सामानको करवृद्धिका कारण चीनले मूल्य बढाउनुको सट्टा आफ्नो सामानलाई सस्तोमा अर्थात् कम नाफा लिएर बजार नगुमाउने रणनीति चीनको रहेको आशङ्का अमेरिकाले गरेको छ । डलरसँग यूआनको मूल्य स्थिर रहने चीनको दावी  चीनले युआनको दैनिक मूल्य निर्धारण गर्न कडाई गरेको छ । गत मङ्गलबार राज्य सञ्चालित ‘इकोनोमिक इन्फर्मेसन डेली’को प्रथम पृष्ठमा प्रकाशित समिक्षात्मक लेखमा अधिकारीहरूले अमेरिकी मूल्यसँग सात युआन कायम गर्ने तर यसबाट तल झर्न नदिइने उल्लेख छ । चीनको खर्च सन्तुलनका लागि रहेको बजेट छोटो समयमा सकिइहाल्ने अवस्था भने छैन ।  वर्तमान मौद्रिक अधिकारीहरूसँग बजारलाई स्थिर राख्ने सङ्कल्प तथा शक्ति रहेको जनाउँदै चीनमा यस समय परिवर्तनसँग सामना गर्ने प्रशस्त नीतिगत आधारहरू रहेका उनले बताए । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेइजिङको ब्यापार नीति परिवर्तन गर्न बाध्य पार्ने उद्देश्यले वासिङ्टनले चिनियाँ सामानमाथि अर्बौं डलर बराबरको कर थोपरेको छ तर प्रतिक्रियामा अमेरिकामाथि लगाइएको कर अन्यायपूर्ण भएको ट्रम्पको दावी छ । कोङले थपे, “चिनियाँ अधिकारीले पहिल्यै सङ्केत गरिसकेका छन् कि उनीहरूले प्रति अमेरिकी डलरसँग आफ्नो मुद्रालाई सात युआनभन्दा तल नझार्ने बताएका छन् । युआन घटेपनि सातको हाराहारीमा पुग्ने हो त्योभन्दा घट्ने अवस्था भने अहिलेलाई छैन ।” वासिङ्टनले चाहिँ चीनलाई मुद्राको अवैध नियन्त्रण गरेको औपचारिक रूपमै घोषणा गरेको छ जसले ब्यापार युद्धलाई थप चर्काउने अवस्था छ तर युआनको कमजोर अवस्था बेइजिङको विदेशी विनिमय नीतिप्रति चासो देखाउँदै आएको छ । विश्वका शक्तिशाली अर्थतन्त्र चीन र अमेरिकाको ब्यापार युद्धले बाँकि विश्वसमेत तरङ्गित बनेको छ ।

पहिलो त्रैमासिक विवरणमा प्रभु बैंकको चमत्कार, नाफा १५६ प्रतिशतले बढ्दा कस्ता छन् अन्य सूचक ?

काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वित्तीय विवरणहरुमा चामत्कारिक सुधार गरेको छ । बैंकले अघिल्लो बर्षको सोही अवधिको तुलनामा नाफा (फ्रि प्रोफिट) मा १५६ प्रतिशतले वृद्धि गर्दा प्रतिशेयर आम्दानी २९.१३ रुपैंया कायम भएको छ । बैंकले आफ्नो रिजर्भ कोषलाई बढाएर ३ अर्ब ९६ करोडबाट बढाएर ४ अर्ब ८५ करोड पुर्याएको छ । उक्त अवधिमा बैंकले निक्षेपलाई ८२ अर्बबाट बढाएर १०३ अर्ब पुर्याएको छ भने कर्जा लगानी ६६ अर्ब ७४ करोडबाट बढाएर ८६ अर्ब पुर्याउँदा निष्क्रिय कर्जा अनुपात ४.२३ प्रतिशतबाट घटाएर २.५१ प्रतिशतमा झारेको छ । अत्यधिक कर्मचारी खर्च हुने गरेको आरोप लाग्दै आएको उक्त बैंकले व्यवसाय विस्तारमा गरेको चामत्कारिक सुधारका बाबजुद कर्मचारी खर्च घटाएर ४५ करोडबाट ४३ करोडमा सीमित गराएको छ । नयाँ शाखाहरु विस्तारसँगै मर्जर र प्राप्तिपश्चात् बैंकमा रहेको ठूलो संख्याको कर्मचारीहरुको उचित समायोजन गरेपछि बैंकको कर्मचारी व्यवस्थापन खर्चमा उल्लेखनीय सुधार आएको हो । बैंकले पहिलो त्रैमासको अन्त्यसम्ममा कर्जा निक्षेप अनुपातलाई ७५.६८ प्रतिशतमा सीमित राखेको छ । यो अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा केही खुकुलो अवस्था हो । बढ्दो लगानीयोग्य पुँजी अभावकाबीच सो अनुपातले बजारमा बैंकको कर्जा प्रवाह क्षमता अझै उच्च रहेको देखाउँछ । सो समयमा बैंकको आधार ब्याजदर ९.४९ प्रतिशत हुँदा लगानीयोग्य कोष (कस्ट अफ फण्ड) को लागत ६.१८ प्रतिशत छ । यसले बैंकको स्प्रेडदर ३.३१ प्रतिशत रहेको देखाउँछ । बैंकले मूल्य आम्दानी अनुपात पनि ८.२९ प्रतिशत कायम गरेको छ । यो अनुपातले उक्त बैंकको शेयरमा गरिने लगानीबाट प्राप्त हुने प्रतिफल उच्च ब्याजदरयुक्त मुद्दती खाताको भन्दा उच्च रहेको देखिन्छ । बैंकको प्रतिशेयर नेटवर्थ १५९.०१ रुपैंया कायम भएको छ । तात्कालिन समयमा समस्याग्रस्त अवस्थामा रहेका किष्ट बैंक, ग्राण्ड बैंक लगायतसँग मर्जर गरी जोखिम उठाएको बैंकको यो विवरणले बैंक अब उक्त बैंकहरुमा रहेको समस्याको ह्याङ्ओभरबाट माथि उठिसकेको स्पष्ठ हुन्छ । अब उक्त बैंकले लगानीकर्तालाई हरेक वर्ष प्रतिफल दिन सक्षम हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताइसकेका छन् ।

सनराइज बैकले अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने, ब्याजदर दश प्रतिशत

काठमाडौं । सनराइज बैंक लिमिटेडले १ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । “सनराइज डिबेञ्चर २०८०” (ऋणपत्र) जारी गर्न बैंकले प्रभु क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा आइतबार बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोलाप्रसाद पाठकले सम्झौतामा हस्ताक्षर गरेका छन् । पाँच वर्षमा परिपक्व अवधि रहेको उक्त ऋणपत्रले वार्षिक दश प्रतिशत ब्याज प्रदान गर्नेछ भने व्याज भुक्तानी अर्धबार्षिक रुपमा हुने सनराईज बैंकले जनाएको छ । बैंकले निष्काशन गर्ने कूल ऋण पत्र मध्ये ८० प्रतिशत अर्थात ८० करोड रुपैँया बराबरको ८ लाख कित्ता प्राइभेट प्लेसमेण्ट मार्पmत बिक्री गरिनेछ भने २० प्रतिशत अर्थात २० करोड रुपैँया बराबरको २ लाख कित्ता सर्वसाधारणलाई खुल्ला गरिनेछ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १०२ वटा शाखा, २४ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११० वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । असोज मसान्तमा बैंकको कुल निक्षेप ७५ अर्ब ७९ करोड रहेको छ भने कुल कर्जा ६६ अर्ब ८२ करोड रहेको छ ।

राष्ट्र बैंकले १४३ करोड रूपैयाँ बोलकबोलबाट लगानी गर्ने

काठमाडौ । नेपाल राष्ट्र बैंकले सिलबन्दी बोलपत्रमार्फत बैंक तथा वित्तीय संस्थामा १ अर्ब ४३ करोड १२ लाख रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी मङ्सिर २ गतेदेखि २०७६ कात्तिक ३० गतेसम्मका लागि मुद्धती निक्षेपमा त्रैमासिकरुपमा व्याज भुक्तानी हुने गरी लगानी गर्ने भएको छ । बैंकले एक सूचनामार्फत आफूले लिन चाहेको रकम तथा सो रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाई सिलबन्दी दरभाउपत्रसम्बन्धी फारम भरी पेश गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई रु एक अर्ब १४ करोड ५० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकलाई रु २१ करोड ४६ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ७ करोड १६ लाख रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले यही कात्तिक २० गते मङ्गलबार अपराह्न ३ बजेसम्म आवेदन दिन आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, बैंकबाट तोकिएको न्यूनतम पूँजी कोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सोभन्दा बढी रहेको बैंक तथा वित्तिय संस्थाले भाग लिन पाउने शर्त राखिएको छ । यस्तै कर्जा÷स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समयसमयमा निर्धारण गरेको सीमाभित्र रहेको, अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको, घर कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक, प्रमुख कार्यकारी अधिकृतलाई कुनै पनि जरिवान भएको हुन नहुने प्रावधान छ । सुधारात्मक कारवाही भएको भए फुकुवा भएको छ महीना पूरा भएको, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिएको हुनुपर्ने शर्तसमेत राखिएको छ । रासस

विराटनगर आयो रेल, मंसिर २६ देखि नियमित सञ्चालन हुने

मोरङ । भारतको बथनाहादेखि मोरङको विराटनगर महानगरपालिकाको बुधनगरसम्म आज रेल आइपुगेको छ । निर्माण सम्पन्न भएको रेल्वे कस्टम यार्ड र भारतीय रेल्वे स्टेशन बथनाहातर्फबाट ट्र्याकमा फलाम लिक बिछ्याउँदै ३.३ किलोमिटरसम्म विस्तार र परीक्षण गर्ने क्रममा रेल बुधनगर ल्याइएको हो । हालसम्म रेल्वेको परीक्षण भइसकेको जोगवनी–विराटनगर निर्माण कम्पनी इरकोनका राजाराम भगतले जानकारी दिए । परीक्षणका क्रममा आइतबार रेलको इञ्जिनको डिब्बा ल्याइएको हो । आगामी मङ्सिर २६ गतेदेखि नियमितरुपमा सञ्चालन गरिने उनले बताए। सो मार्गका चल्ने रेल भने यात्रुवाहक होइन । कच्चा पदार्थ ढुवानी गर्न सहजताका लागि व्यापारी व्यवसायीले प्रयोग गर्नेछन् । बथनाहा–कटहरी १८ किमी दूरीको रेलमार्गमध्ये बथनाहा–बुधनगरको आठ किमी रेलमार्ग निर्माण भएपछि रेलको परीक्षण गरिएको हो । रेल्वे निर्माण कम्पनी इन्कोरका असिस्टेन्ट मेनेजर रणवीर कुमारका अनुसार आगामी पुससम्ममा रेल्वे निर्माणको काम सम्पन्न गर्नुपर्ने सीमा भएपनि नेपालतर्फ भएको जग्गा मुआब्जा विवादका कारण १८ किलोमिटरमै काम नसकिने देखिएको छ । भारतको बथनाहाबाट बुधनगर आइपुगेको रेलको इञ्जिन बोक्ने डब्बामा भरतको रेल विभाग र निर्माण कम्पनी इरकोनका प्रतिनिधि सवार थिए । रेलबाट उत्रिएका इरकोन कम्पनीको सञ्चालक अश्विनी कुमारले सञ्चारकर्मीसँग कुरा गर्दै मङ्सिर २६ गतेदेखि निर्वाधरुपमा सञ्चालन हुने बताए । रेल आउनु दुई घण्टा अगावैदेखि स्थानीय कुरेर बसेका थिए । विराटनगर–१८ का वडाध्यक्ष सञ्जय साहले बुधनगरमा रेल आएपछि सबैलाई फाइदा पुग्ने बताउछन् । नेपाल र भारत सरकारबीच सन् २०१० मा विभिन्न पाँच स्थानमा रेलमार्ग विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यसको सम्पूर्ण खर्च भारत सरकारले बेहोर्ने र नेपालतर्फको जमीनको मुआब्जा नेपाल सरकारले व्यहोर्ने समझदारी भएको थियो । समझदारी अनुसार सन् २०१७ सम्ममा नेपाली भूमिमा रेल ल्याई पु¥याउनुपर्ने भएपनि विराटनगर–जोगवनी रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवादले असर गरेको छ । रासस

धरहरा निर्माणमा सहयोग गर्ने स्थानीय समुदायको प्रतिबद्धता

काठमाडौ । धरहरा निर्माणको पूर्वाधार तथा सहजीकरणसँग जोडिएका निकाय र स्थानीय समुदायले धरहरा पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा आइतबार आयोजित कार्यक्रममा सहभागीले धरहरा पुनःनिर्माणका लागि त्यहाँ भएका पूर्वाधार हटाएर सहजीकरण गर्ने र भविष्यमा आइपर्ने काममा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चयकोष, नेपाल राष्ट्र बैंक, गोश्वारा हुलाक कार्यालय, महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले धरहरा पुनःनिर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । टेलिकमका प्रबन्धक झवीन्दलाल उपाध्यायले तत्कालीन र दीर्घकालीन हिसाबले सहज हुने गरी टेलिफोनको लाइन व्यवस्थापन गरेर धरहरा निर्माणमा सहयोग गर्ने बताए । सञ्चयकोषका कायम मुकायम वरिष्ठ प्रबन्धक शान्ता गौतमले धरहरा पुनःनिर्माणलाई सहयोग र स्थानीय समुदायलाई सहज हुने गरी बाटो खोल्न तयार रहेको बताइन । प्राधिकरणले स्थानीय समुदायलाई सहज हुने गरी बाटोको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबै निकाय र स्थानीय समुदायसँग समन्वय गरी धरहरा निर्माणको कामलाई अघि बढाइने बताए । कार्यक्रममा प्राधिकरणका कार्यकारी सदस्यद्वय ध्रुवप्रसाद शर्मा र डा चन्द्रबहादुर श्रेष्ठ, सहसचिव राजुमान मानन्धर, टेलिकमका निमित्त प्रबन्ध निर्देशक सूर्यभक्त पोखरेल, विद्युत् प्राधिकरणका थिरकुमार खत्री, खानेपानी लिमिटेडका महाप्रबन्धक महेश भट्टराई, महानगरीय ट्राफिक वृत्तका रामकुमार खनाल, नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका निर्देशक अनुज दाहाल, हुलाक कार्यालयका प्रमुख वेदप्रसाद भण्डारी, धरहराको ठेक्का पाएको कम्पनी जिआइइटिसीका प्रतिनिधि रमन महतो, वडा नं २२ का वडाध्यक्ष महर्जनलगायतले धरहरा पुनःनिर्माणमा सहयोगको प्रतिबद्धता जनाए। रासस