विकासन्युज

छाउगोठमा निसास्सिएर १५ वर्षे किशोरीको मृत्यु, अछाममा मात्रै छउपडीबाट १० जना किशोरिको मृत्यु

काठमाडौं ४, पुस । महिनाबारी हुँदा छाउपडी गोठमा सुतेकै अवस्थामा किशोरीले ज्यान गुमाएको एक महिना पुग्न नपाउँदै अछाममा अर्की किशोरीको छाउपडी गोठमै निसास्सिएर ज्यान गएको छ। महिला तथा बालबालिका कार्यालयले सेभ दी चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको छाउपडी निवारण परियोजनाअन्तर्गत एक वर्षअघि छाउपडी गोठमुक्त गाउँ घोषणा गरिएको गाज्राकै छाउपडी गोठमा किशोरीको मृत्यु भएको हो। महिनाबारी भएको बेला छाउपडी गोठमा बसेकी गाज्रा–७ की १५ वर्षीया रोशनी तिरुवाले शनिबार राति गोठमै ज्यान गुमाइन्। महिनाबारी हुँदा एक्लै गोठमा सुतेकी रोशनी आइतबार बिहान मृत अवस्थामा भेटिएको परिवारले जानकारी दिएको छ। यसअघि तिमिल्सेन–७ की डम्बरा उपाध्यायले केही साताअघि छाउपडी गोठमै ज्यान गुमाएकी थिइन्। छउपडी गोठ अघिल्लो दिन बेलुकी ६ बजेतिर खाना खाएर गोठमा सुतेकी रोशनी बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा भेटिएको मृतकका बुबा भरत तिरुवाले जानकारी दिए। ‘बेलुकी खाना खाएर राम्रैसँग सुतेकी हो, बिहान हेर्दा त मृत भेटिइन्’, बुबा भरतले भने्, ‘सुरुमा आमा गएर उठाउँदा नबोलेपछि मैले ढोका फुटाएको हुँ।’ शनिबार स्कुल बिदाको दिन भएकाले रोशनीले दिनभर जंगल गएर एक भारी दाउरा ल्याएकी थिइन्। स्थानीय राष्ट्रभाषा माविमा कक्षा ९ मा अध्ययनरत उनी महिनाबारी भएको तीन दिन भएको परिवारले जानकारी दिएको छ। घटनास्थल पुगेका प्रहरी निरीक्षक बद्रीप्रसाद ढकालले घरदेखि २० फिट टाढा रहेको उक्त गोठ निकै साँघुरो रहेको र ढोकाबाहेक हावा छिर्ने अरू कुनै ठाउँ नहुँदा आगोको धुवाँले निसास्सिएर ज्यान गएको हुन सक्ने बताए। ‘बेलुकी सुत्दा आगो बालेर सुतेको र ढोकासमेत हावा नछिर्ने गरी लगाएकाले निसास्सिएर उनको ज्यान गएको हुन सक्ने देखिन्छ,’ ढकालले भने, ‘गोठभित्र पूरै धुवाँको मुस्लो भएपछि अक्सिजन कमीका कारण उनको ज्यान गएको हुन सक्ने सम्भावना छ।’ छाउपडी निवारण परियोजनाअन्तर्गत २०७२ असोज ९ गते गाज्रालाई छाउपडी गोठमुक्त घोषणा गरिएको थियो। छाउपडी गोठमुक्त घोषणा हुँदा पनि उक्त गोठ त्यहीं छ। त्यही गोठमा करिब एक साता पहिले महिनाबारी हुँदा बसेको अवस्थामा रोशनीकी आमासमेत धुवाँले निसास्सिएपछि मध्यरातमा निस्किएकी थिइन्। गाज्रा छाउपडी गोठमुक्त गाविस घोषणा भए पनि अधिकांश महिला महिनाबारी हुँदा गोठमै बस्छन्। देवीदेउता रिसाउने डरले महिला आफैं घरमा नबसेर गोठमा बस्ने गरेको प्रहरी निरीक्षक ढकालले बताए। रोशनीको शव आइतबार नै पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ। अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माले एक महिनामा दुई महिलाको गोठमा ज्यान जानु दुःखद भएको बताए। हतारहतारमा गोठमुक्त अभियान चलाएर घोषणा गरिए पनि पछि त्यसको नियमित अनुगमन नहुँदा यस्तो समस्या देखापरेको उनले सुनाए। अछाममा पछिल्लो एक दशकमा डम्बरालगायत १० महिला तथा किशोरीले महिनाबारी हुँदा छाउपडी गोठमा बसेको अवस्थामा ज्यान गुमाएका छन्। पाँच वर्षअघि पनि २० दिनको अवधिमा अछाममा दुई महिलाले गोठमै ज्यान गुमाएका थिए। रिडिकोट–४ की १५ वर्षीय शर्मिला भुलको छाउपडी गोठमै धुवाँले निसास्सिएर ज्यान गएको थियो भने त्यसअघि २०६८ माघ १९ मा ढकारी–४ की लक्ष्मी बुढाको गोठमै आगोले जलेर ज्यान गएको थियो। मानिस तथा जंगली जनावरको डरले ढोकाबाहेक अन्य कुनै पनि भाग खाली नराखेर बनाइने छाउपडी गोठमा जाडोयाममा आगो बाल्ने र सुत्दा आगो ननिभाएर सुत्नाले अधिकांशको ज्यान निसास्सिएर जाने गरेको छ। सुत्दा आगो निभाएर सुत्नुपर्छ भन्ने सामान्य जानकारीसमेत नराखेका कारणले बर्सेनि महिलाले गोठमा ज्यान गुमाइरहेका छन्। जिल्लाले पाँच वर्षीय छाउपडी प्रथा निवारण योजना निर्माण गरे पनि उक्त रणनीति कागजमै सीमित छ। अन्नपूर्ण पोस्टबाट ।

रुरल माइक्रोफाइनान्सको साधारणसभा पुस २७ गते, पुस १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज

काठमाडौं, ३ पुस । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरले आगामी पुस २७ गते १८ औँ वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस १२ गतेदेखि पुस २७ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । उक्त निर्णय पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेकोे हो ।

मञ्जुश्री फाइनान्सले १७५ प्रतिशत हकप्रद निष्कासन गर्ने, पुस २९ गते साधारणसभा

काठमाडौं, ३ पुस । मञ्जुश्री फाइनान्सले १७५ प्रतिशत (१ बराबर १.७५ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । उक्त निर्णयलाई गत जेठ २६ गते बसेको कम्पनीको विशेष साधारणसभाले पारित गरिसकेको पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जनाएको छ । उक्त बैठकको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । कम्पनीको ९औँ वार्षिक साधारणसभा यहि पुस २९ गते हुने भएको छ । सोही प्रयोजनको लागि फाइनान्सले आगामी पुस ९ गतेदेखि पुस २९ सम्म सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको १८ प्रतिशत बोनस र शतप्रतिशत हकप्रद पारित

काठमाडौं, ३ पुस । लुम्बिनी जनरल इन्स्योरेन्सको प्रस्तावित १८ दशमलब १८ प्रतिशत बोनस र शून्य दशमलब ९६ प्रतिशत नगद लभांश पारित भएको छ । उक्त लाभांश मंसिर ३० गते बसेको कम्पनीको १२औँ वार्षिक साधारणसभाले पारित गरेको हो । साथै, सभाले सो मात्राको बोनस वितरण पश्चात शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीको प्रस्तावलाई पनि पारित गरेको छ ।

तराईका २ सडक चार लेनका बन्दै, एडिबीको सहुलियत दरमा १८ अर्ब १५ करोड ऋण

काठमाडौं, ३ पुस । नारायणगढ–बुटवलको ११५ किलोमिटर र भैरहवा–लुम्बिनीको १८ किलोमिटर सडक आगामी साढे तीन बर्षभित्रै चार लेनको सडकमा स्तरोन्नति हुने भएका छन् । भैरहवा–लुम्बिनी खण्डको १८ किलोमिटर सडक आगामी ३ बर्षभित्रै चार लेनको सडकमा विस्तारित हुँदैछ भने नारायणगढ–वुटवलको ११५ किलोमिटर सडक आगामी साढे तीन बर्षभित्रै चार लेनको सुबिधा सम्पन्न सडकमा रुपान्तरित हुँदैछन् । त्यसका लागि एसियाली विकास बैंकले १८ अर्ब १५ करोड रुपैंयाँ सहुलियत दरको ऋण उपलब्ध गराउँदैछ । त्यस्तो सम्झौतामा आगामी जनवरी महिनामा हस्ताक्षर गर्ने अन्तिम तयारी भैरहेको छ । त्यस्तै, लुम्बिनीदेखि तौलिहवासम्मको २२ किलोमिटर खण्ड पनि २ लेनको सडक बन्नेछ । हाल भैरहवा लुम्बिनी सडक २ लेनको र लुम्बिनी तौलिहवा सडक सिंगल लेनका छन् । लुम्बिनी क्षेत्र विकास कोषले पौराणिक महत्वका समान नष्ट हुन सक्ने भन्दै लुम्बिनी तौलिहवामा भने डबल लेनको सडक मात्रै बनाउन सकिने बताएको छ । यो सडकको स्तरोन्नति ३ बर्षभित्रै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । एसियाली विकास बैंकले साउथ एसियन सब रेजिओनल इकोनोमिक कोअपरेशन रोड कनेक्टिीभीटी प्रोजेक्ट अन्तर्गत सो सडकको स्तरोन्नतिका लागि सहुलियत ऋण उपलब्ध गराउन लागेको हो । एडिबीले नारायणगढ–बुटवल खण्डका लागि १६ अर्ब र भैरहवा–लुम्बिनी–तौलिहवा खण्डका लागि २ अर्ब १५ करोड रुपैंयाँ ऋण दिन लागेको हो । यी दुबै सडक निर्माण गर्दा खरिद गरिने समानमा लाग्ने भ्याट भने नेपाल सरकारले व्यहोर्नुपर्नेछ । यी दुबै सडकहरुको विस्तृत परियोजना रिपोर्ट(डिपिआर) तयार भैसकेको सडक विभागको आयोजना कार्यान्वयन निर्देशनालय(एडिबी)का इञ्जिनियर प्रदिपराज शाक्यले बताए । नारायणगढ–बुटवल खण्डको दाउन्नेमा ८ किलोमिटर सडक भने डबल लेनको मात्रै हुनेछ त्यसमा फुटपाथ र साइकल लेन राखिने विभागका इञ्जिनियर शाक्यले जानकारी दिए । यो आयोजना आगामी साढे तीन बर्षभित्रै सम्पन्न हुने उनले जानकारी पनि दिए । ‘तराईका जनताको जिवनस्तरसँग जोडिएका यी सडककको निर्माण तिब्र गतिहा अघि बढ्नेछ’, विभागका सिनियर डिभिजनल इञ्जिनियर कमलदेव प्रसाद साहले भने ।

प्रवाहित कर्जा ७.४ प्रतिशतले वृद्धि, घरजग्गामा १५ प्रतिशत मात्र बैंकको लगानी

काठमाडौं, ३ पुस । चालु आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २.७ प्रतिशतले मात्र बढेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चार महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको ७.८ प्रतिशत र विकास बैंकहरुको ९ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको ७.२ प्रतिशतले घटेको छ । बाणिज्य बैंक र विकास बैंकहरुको तुलनामा वित्त कम्पनीहरुले कर्जा प्रबाहमा धेरै व्याज लिने भएकोले कर्जा प्रबाहमा कमी भएको हो । यस अवधिमा कृषि क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशत, निर्माण क्षेत्र तर्फको कर्जा ७.३ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा ७ प्रतिशत, सेवा उद्योगतर्फको कर्जा ८.१ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.१ प्रतिशतले बढेको छ । गत कार्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६०.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.९ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ५९.७ प्रतिशत र १२.६ प्रतिशत मात्र रहेको थियो । कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये घरजग्गा क्षेत्रमा १५ प्रतिशत अर्थात २ खर्व ७० अर्ब ४० करोड रुपैयाँ कर्जा प्रबाह भएको छ । कात्तिक मसान्त सम्कममा बैंक तथा वित्तीय संस्थाहरूले सेयरको धितोमा प्रवाह गरेको मार्जिन प्रकृतिको कर्जा कुल कर्जाको २.२ प्रतिशत आर्थात ३९ अर्ब ३० करोड रुपैयाँ रहेको छ । त्यस्तै, वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल कर्जाको २.५ प्रतिशत आर्थात ३७ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ७.४ प्रतिशत ( ५ अर्ब ३५ करोड) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ प्रतिशतले घटेको थियो ।

प्रभु बैंकको नयाँ शाखा मनाङमा सञ्चालन

काठमाडौं, ३ पुस । आइतबारदेखि प्रभु बैंकले मनाङ जिल्लाको चामेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले यूके एड “सक्षम” को सहकार्यमा उक्त स्थानमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । साथै धारापानी,अपर मनाङ, ताल, ढुकुरपोखरी र पिसाङमा शाखा रहित बैंकिङ्ग सेवापनि सञ्चालनमा ल्याइएकोे बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक प्रलोभनमा पारी युवतीहरुलाई ओमानसम्म पुर्याउने तीन नेपाली प्रहरीद्धारा पक्राउ

काठमाडौं, ३ पुस । नेपाली युवतीहरुलाई आकर्षक तलव भत्ता पाइने भन्दै बैदेशिक रोजगारीका क्रममा ओमानमा लैजाने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । ति गिरोहले आर्थिक रुपमा विपन्न नेपाली युवतीहरुलाई राम्रो जागिर र तलव पाइन्छ भन्दै ओमानमा लैजाने गरेको पाइएको छ । पक्राउ पर्नेहरुमा नवलपरासीका ३५ बर्षीय राज कुमार खरेल, ताप्लेजुङका ४६ पूर्ण बहादुर लिम्बु र रुपन्देहीका ४१ बर्षीय हरिप्रसाद थारु रहेको प्रहरीले जनाएको छ । उनीहरु कुवेत पठाई काम दिलाउने भनि नेपालको सुनौलीबाट भारतको नयाँ दिल्ली, श्रीलंका हुँदै कुवेत तथा दुवईबाट ओमानसम्म पठाउने कार्यमा सम्लग्न रहेको प्रहरीले जनाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले दिल्ली, श्रीलंका, कुवेत दुवइ तथा ओमानमा युवतीहरूको शारीरिक तथा मानसिक यातना तथा यौन हिंसा हुने गरेको पाइएको जानकारी दिएको छ । उनीहरुलाई प्रहरीले मानब बेचबिखन तथा ओसार पसार मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।