विकासन्युज

जेबिल्स फाइनान्सको वार्षिक साधारणसभा पुस २७ गते, कहिले देखि बुक क्लोज?

काठमाडौं, ५ पुस । जेबिल्स फाइनान्सको ७औँ साधारणसभा आगामी पुस २७ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १२ गतेदेखि पुस २७ गते सम्म कम्पनीको बुक क्लोज हुने जानकारी गराएको छ ।

सानिमा बैङ्क राष्ट्रिय पत्रकारिता पुरस्कारबाट दुई लाख बढीको पुरस्कार प्रदान

काठमाडौं, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा ‘प्रेस काउन्सिल- सानिमा बैङ्क राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट दिवंगत पत्रकार कर्ण बोहरालाई मरणोपरान्त पुरस्कृत गरेकी छन् । उक्त समारोहमा बोहराका धर्मपत्नी ममता बोहरालाई रु दुई लाख पचास हजार राशीको सो पुरस्कार प्रदान गरिएको हो ।

खानेपानी चुहावट नियन्त्रण गर्न निर्देशन

काठमाडौं, ५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्युत् चुहावट नियन्त्रणसँगै पानी चुहावट नियन्त्र गर्नसमेत अग्रसरता देखाएका छन् । खासगरी काठमाडौं उपत्यकामा देखिएको खानेपानी चुहावट नियन्त्रण सम्बन्धमा जनताबाट गुनासो आएकाले प्रधानमन्त्रीले सम्बन्धित निकायलाई खटाउन प्रधानमन्त्रीको निजी सचिवालयलाई निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सम्पर्क कक्ष प्रमुख झङ्कनाथ ढकालले जानकारी दिए । सोहीअनुसार कार्यालयले काठमाडौं उपत्यका खानेपानी लिमिटेड र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई निर्देशन दिएको सम्पर्क कक्ष प्रमुख ढकालको भनाइ छ । “काठमाडौं उपत्यकाभित्र कतिपय ठाउँमा पानी आइरहने र कतिपय ठाउँमा हप्ता दिनसम्म पनि नआउने वा पानी बीचमै चुहावट हुने समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ, अब केही दिनमै प्रधानमन्त्री आफैँले पनि निर्देशन दिनेछन्”– ढकालले भने । रासस

औद्योगिक व्यापार मेलामा ११ करोडको आर्थिक कारोबार, १५० हजारद्धारा अवलोकन

पोखरा, ५ पुस । राष्ट्रिय औद्योगिक व्यापार मेलामा ११ करोडभन्दा बढी रुपैयाँको आर्थिक कारोबार भएको छ । गत मंसिर २३ बाट सुरु भई सोमबार सम्पन्न भएको सो मेलामा उक्त रकम बराबरको कारोबार भएको सङ्घका महासचिव दामु अधिकारीले जानकारी दिए। ‘लगानीको सम्वद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ पोखरा उद्योग वाणिज्य सङ्घद्वारा पोखरा प्रदर्शनी केन्द्रमा आयोजित सो मेलामा एक लाख ५० हजार दर्शकले अवलोकन गरेका थिए । औद्योगिक, कृषिजन्य तथा हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरूको प्रवद्र्धन र वजारीकरणमा सघाउ पु¥याउने उद्देश्यले आयोजना गरिएको सो मेलामा २९५ स्टल राखिएको थियो । बृहत विज्ञान प्रदर्शनी सम्पन्न विज्ञान तथा प्रविधि संस्थान र एआरनेस गु्रप टेक्निकल साइन्सको संयुक्त आयोजनामा सञ्चालन भएको बृहत विज्ञान प्रदर्शनी आज सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको सो प्रदर्शनीमा विज्ञान तथा प्रविधि संस्थान, क्याम्पस र माध्यमिक विद्यालयलगायत कास्की जिल्लाका २० वटा संस्थाका विज्ञान विषय लिएर अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो । रासस

आमाबुबाको व्यस्तताले पनि बढाउन सक्छ बाल मनोरोग

काठमाडौं, ५ पुस । सामान्तया बालबालिकाका गतिविधिबारे अभिभावकले गम्भीररुपमा सोच्ने गरेको कमै पाइन्छ । बदलिँदो समय अनुसार आमाबुबाको व्यस्त समयले छोराछोरीसँग बिताउने समय कम दिँदा बालबालिकामा त्यसको असरले मानसिक तनाव पनि बढाएको छ । अझ कामकाजी आमाबुबाले आफ्ना छोराछोरीलाई कम उमेरमै स्कुल पठाउने, पठ्न दबाब दिने, बजारको तयारी खाजा बढी खुवाउने विविध कारणले पनि बालबालिकामा गम्भीर असर गरिहरेको चिकित्सकले बताउँदै आएका छन् । धेरै चकचक, झगडा गर्ने, स्कुल जान नमान्ने, धेरै मानिस भएको ठाउँमा जान नमान्ने, डराउनेजस्ता समस्या आजकलका बच्चामा देखिन थालेको छ । यस्तो समस्या देखिएमा उनीहरुलाई पिट्ने, हकार्ने वा अन्य सजाय दिनुभन्दा अगाडि अभिभावकले उनीहरुमा कुनै बाल मनोरोगका कारण यस्तो भएको छ छैन भनी सोच्नै पर्ने बताउछन् कान्ति बाल अस्पतालका बाल मनोरोग विभागका प्रमुख तथा वरिष्ठ बाल मनोरोग विशेषज्ञ डा अरुण कुँवर । उनले अभिभावकले बाल मनोविज्ञान बुझ्न नसकेर बालबालिकामाथि नकारात्मक व्यवहार गर्दा त्यसको गम्भीर असर देखिन सक्ने हुँदा सजग हुनुपर्ने बताउछन्। बच्चाले उमेर अनुसार सोच्ने कुराहरु सोच्न नसक्नु, धेरै रिसाउने, उमेर अनुसार बालबालिकाको मानसिक र बौद्धिक विकास नहुनु र साधारणभन्दा भिन्न खालको बानी व्यवहार देखाउनु बाल मनोरोगको लक्षण हुन सक्छ । डा कुँवर बालबालिकामा बाल मनोरोगको लक्षण फरकफरक हुने बताउछन् । उनी भन्छन्, “बालबालिकाले उमेरअनुसार आफ्नो क्षमताले काम गर्न नसक्नु, आवश्यकभन्दा धेरै खुसी हुनु, धेरै रिसाउनु, एउटै कुरालाई पटकपटक दो¥याइरहनुलाई पनि बाल मनोरोगको लक्षणका रुपमा बुझ्नुपर्छ ।” कान्ति बाल अस्पतालले खासगरी भूकम्पपछि बालबालिका पारेको मानसिक असरबारे परामर्श दिन डेढ वर्षअघि छुट्टै विभागमार्फत सेवा दिन थालेको हो । अहिले आफ्ना बालबालिकाबारे विभिन्न खाले समस्या लिएर देशभरबाट अभिभावक आउने गरेको कुँवरको भनाइ छ । गत वर्ष ६०० मात्र बिरामी आएका थिए तर यो वर्ष अहिलेसम्म करिब तीन हजार बढीले उपचार र परामर्श लिएको अस्पतालको तथ्याङ्क छ । हिजोआज देखिने बाल मनोरोग वंशाणुगत र वातावरणीय दुवैको कारणले हुने गरेको देखिएको चिकित्सकको भनाइ छ । डा कुँवर भन्छन्, “यदि अभिभावकमध्ये कसैलाई डिप्रेसन छ भने बालबालिकालाई बाल मनोरोग हुने सम्भावना धेरै हुन्छ । अभिभावकलाई डिप्रेसन छ र स्कुलमा पनि बालबालिकालाई बालमैत्री खालको व्यवहार गरिँदैन भने यस्तो समस्या बढेको देखिन्छ ।” अहिले धेरै बालबालिका अचानक बेहोस हुने समस्या पनि बढी देखिएको छ । यो बढी तनावका कारणले हुन्छ । अभिभावकको व्यस्तताको कारण उनीहरुकै समयतालिका अनुसार सबै आफ्ना गतिविधि गर्नुपर्दा बालबालिकामा बढी तनाव थपिएकाले यसतर्फ ध्यान दिनुपर्ने चिकित्सक बताउँछन् । बालबालिकालाई खुसी पार्न लामो समयसम्म टेलिभिजन, मोबाइल हेर्न दिँदा पनि त्यसले बालबालिकामा एकोहोरो हुने, रचनात्मक क्षमतामा ह्रास ल्याउने भएकाले उनीहरुलाई रचनात्मक खेल जस्तो लुँडो, क्यारामबोर्डजस्ता खेलमा प्रेरित गर्दा मानसिक र शारीरिक विकासमा सहयोग पुग्ने डा कुँवरको सल्लाह छ । रासस

जेडटिईले ल्यायो ‘वार्म विन्टर अफर’, मोबाइल खरिदमा विभिन्न आकर्षक उपहार

काठमाडौं, ५ पुस । जेडटिईले नेपाली मोबाइल खरिदकर्तालाई लक्षित गरि वार्म विन्टर अफर ल्याएको छ । केहि महिनाअघि नेपाली बजारमा आएको जेडटिइले पछिल्लो समय राम्रो बजार लिइरहेको कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार यस अफर अन्तर्गत मोबाइल खरिदकर्ताले कार्ड स्क्रयाच गरेर विभिन्न सियोर सट (पक्का)उपहार प्राप्त गर्न सक्नेछन् । कार्ड स्क्रयाच गरेर बाल्ट्राको हिटर, बाल्ट्राको थर्मस, बाल्ट्राको इलेक्ट्रीक केटल, २६०० एमएएचको पावर बैँक, सेल्फी स्टीक, १०००० एमएएचको पावर बैँक र नगद उपहार पाउन सक्ने जेडटिईले जनाएको छ । पछिल्लो समय जेडटिइ एक्जोन सेरिजकादुइ वटा स्मार्टफोनहरु बजारमा चर्चित रहेका छन् । जेडटिइ ब्लेड एस ६, एस सेभेन र भि सेभेन लाइट मोडलका स्मार्टफोनहरु कम मुल्यका आकर्षक स्मार्टफोनहरु हुन । जेडटिइ एक्जोन सेरिजमा एक्जोन इ लाइट र एक्जोन मिनि मोडलहरु अहिले बजारमा उपलब्ध छन । १३ मेगा पिक्सलको ड्युलक्यामेरा रहेको एक्जोन इलाइटमा ३ जिबीको र्याम रहेको छ । स्नापड्रागन ८१०, २ गिगाह्र्ट्ज अक्टाकोर प्रोसेसर रहेको यसको मुल्य ३३ हजार ९ सय रहेको कम्पनीले जनाएको छ । यो लगायत अन्य आधा दर्जन आकर्षक सेटहरु नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । इभोलुसन इन्टरप्राइजेजका मार्केटिङ् म्यानेजर विशाल आचार्यले भने, “यो अफर आउँदै गरेको क्रिशमस र अंग्रेजी नयाँ वर्षलाई विषेश लक्षित गरि ल्याइएको हो तर यो अफरलाई जाडो याम भरि नै निरन्तरता दिइनेछ ।” साथै यो अफर जेडटिईका सम्पूर्ण मोबाइल प्रोडक्टहरूमा लागू हुने आचार्यले बताए ।

अरुण कावेली पावर लिमिटेडले जारी गरेको साधारण सेयरको बाँडफाड आज

काठमाडौं, ५ पुस । अरुण काबेली पावर लिमिटेडले जारी गरेको साधारण सेयर मंगलबार दिउसो तीनबजे बाँडफाड हुने भएको छ । कम्पनीले गत कात्तिक ९ गते ३० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गरेको थियो । कम्पनीको साधाराण सेयरमा जारी गरेको रकम भन्दा ४३ गुणा अर्थात १२ अर्व रुपैयाँको सेयर आवेदन परेको थियो । सो कम्पनीले साना लगानीकर्तालाई गोलाप्रथाबाट सेयर बाँडफाड गर्ने प्रवल सम्भावना रहेको कम्पनीका प्रमूख कार्यकारी अधिकृत रमेश न्यौपानेले जानकारी दिए । उनका अनुसार मंगलबार दिउसो तीन बजे सिद्धार्थ क्यापिटलमा बसेर सेयर बाँडफाड गरिने छ । तीन सय ५० देखि पाँच सय कित्तासम्म सेयरको लागि आवेदन दिने सर्वसाधरणले साढे दुई प्रतिशतको दरमा सेयर पाउने सम्भावना रहेको छ । पाँच सय कित्ताभन्दा बढी सेयर माग्ने ठुला लगानीकर्ताले भने २ प्रतिशतको हाराहारीमा सेयर पाउने छन् । सो कम्पनीको धितोपत्र निष्कासन तथा विक्रि प्रबन्धको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।

मेलम्चीको पानी वितरण गर्न जनशक्ति अभाव, कोठैबाट नियन्त्रण गर्ने प्रविधिको खोजी

bikashnews.com काठमाडौं, ५ पुस । उपत्यकामा मेलम्चीको पानी वितरण एवम् व्यवस्थापन गर्न दक्ष प्राविधिक जनशक्तिको अभाव हुने देखिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले खानेपानीको पाइपलाइन बिच्छ्याउने काम सुरु गरे पनि वितरण प्रणालीलाई सुव्यवस्थित गर्न आवश्यक जनशक्ति पर्याप्त नरहेको जनाएको छ । हाल उपत्यकामा पानी वितरण एवम् व्यवस्थापनको काम गरिरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग आवश्यक मात्रामा प्राविधिक जनशक्ति नहुँदा मेलम्चीको पानी राजधानी आए पनि वितरण एवम् व्यवस्थापनमा सहजता नदेखिएको निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकाल बताउछन् । “निर्देशनालयले केयुकेएलसँग १३ जना प्राविधिक कर्मचारीलाई अहिलेदेखि कामसहित तालिम दिएर दक्ष बनाउन माग गर्दा करारमा लिएर तीन जना मात्र पठाउन सक्यो, ३० लाख जनसङ्ख्यालाई पानी व्यवस्थापन गर्ने संस्थासँग प्राविधिक कर्मचारी नहुनुले मेलम्चीको पानी आएपछि व्यवस्थापनमा समस्या हुनसक्ने देखाउँछ”– उनले भने । उपत्यकामा पानी व्यवस्थापनका लागि ५०० युवा प्राविधिक कर्मचारी चाहिने निर्देशनालयको भनाइ छ । पानी व्यवस्थापनको यो समस्या समाधानका लागि निर्देशनालयले केही वर्षमा ‘स्काडा’ प्रणालीमा जाने तयारी गरेको छ । यसका लागि १५ दिनपछि नै ठेक्का आह्वान गर्न लागिएको निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए । “यो प्रणाली जडानका लागि एसियाली विकास बैंकले ५० करोड रुपैयाँ ऋण सहयोग गरेको छ, एक वर्षमा उपत्यकाको खानेपानीमा यो स्वचालित प्रणाली जडान गरिसक्ने निर्देशनालयको लक्ष्य छ”– उनले भने । के हो ‘स्काडा’ प्रणाली ? ‘स्काडा’ खानेपानीमा एउटै कक्षबाट नियन्त्रण गरिने प्रणाली हो । नियन्त्रण कक्षकै कम्प्युटरबाट कहाँ कति पानी बगिरहेको छ भन्ने यो प्रणालीबाट थाहा पाउन सकिन्छ । यो प्रणाली जडान गरेपछि ‘मिटर रिडिङ’ बाहेकका काम स्वचालित रुपमा गर्न सकिन्छ । ‘अटोमेसन’ समेत भनिने यो प्रणाली हाल नेपालको रुपन्देही र नवलपरासी जिल्लामा जडान गरिएको छ । रुपन्देहीको करैया मक्राहार खानेपानी आयोजनामा १५ हजार जनसङ्ख्या र नवलपरासीको मुकुन्दपुर खानेपानी आयोजनामा ३० हजार जनसङ्ख्यालाई वितरण गरिएको पानीमा यो प्रणालीको व्यवस्था गरिएको आयोजना निर्देशक खत्रीले जानकारी दिए । स्वचालित प्रणालीबाटै ग्राहकको धारामा कति पानी खपत भयो भन्ने थाहा पाउन सकिने प्रविधिको विकास भइसकेको छ । तर यो प्रणाली भने नेपालमा १० वर्षपछि मात्र लागू गरिने निर्देशनालयले जनाएको छ । चीनको साङ्घाई, जापानको योकाहामा र दक्षिण कोरियाको सियोल सहरमा जडान भएको स्वचालित ‘स्काडा’ प्रणालीमा पनि मिटर रिडिङ मानिसले गर्ने गरेको अवलोकन भ्रमणका क्रममा देखिएको निर्देशनालयका प्रवक्ता ढकालले बताए । “स्वचालित मिटर प्रणाली महँगो छ, अहिले ग्राहक कहाँ हालिएको मिटरको रु दुई हजार पर्छ, स्वचालित मिटरको १० हजार रुपैयाँ पर्छ, प्रविधिमा पनि बढी खर्च लाग्छ, त्यसैले १० वर्षसम्म पानी वितरण गरेर जम्मा भएको पैसाले स्वचालित मिटर जडान गर्ने तयारीमा छौँ, अहिलेको बेरोजगारी समस्याका कारण पनि तत्काल स्वचालित मिटर प्रणालीमा नगइएको हो”– उनले भने । स्वचालित प्रणालीबाट कहाँ ट्याङ्की छ रु पाइप, भल्भ कहाँ कहाँ छन् र कहाँको वितरण प्रणालीमा के भइरहेको छ भन्ने कम्प्युटरमा क्लिक गरेर थाहा पाउन सकिन्छ । यसैले यो प्रणालीमा ३० लाख जनसङ्ख्यालाई पानी व्यवस्थापन एवम् वितरणको काम गर्न १७० कर्मचारी भए पुग्छ । एक वर्षभित्र अनामनगर, मीनभवन र महाँकालचौरका तीन पानीपोखरी एवम् नयाँ निर्माण भइरहेका नौ पानीपोखरी महाँकालचौर ८० लाख लिटर, बाँसबारी ९५ लाख लिटर, पानीपोखरी ७५ लाख लिटर, बालाजु ७० लाख लिटर, खुमलटार ९५ लाख लिटर, आरुबारी ८५ लाख लिटर, कीर्तिपुर ६० लाख लिटर, कटुञ्जेमा ६० लाख लिटर र भक्तपुरको टिग्नीमा ३० लाख लिटरको पानीपोखरीमा स्वचालित ‘स्काडा’ प्रणाली जडान भइसक्नेछ । स्वचालित ‘स्काडा’ प्रणाली अनुसार उपत्यकालाई ३१ क्षेत्र र ८३७ एकाइमा विभाजन गरी एउटै कोठाबाट पानी वितरणको अवस्था निरीक्षण गर्न सक्ने प्रविधिको विकास गर्ने निर्देशनालयको लक्ष्य छ । यसअनुसार क्षेत्र र एकाइको मिटर रिडिङ प्रणालीले नै गर्नेछ । मेलम्चीको पानी आएपछि पानी वितरण सजिलो बनाउन हाल निर्देशनालयले केयुकेएलको ग्राहक भएका घरधनीको मिटर जडानसम्मको काम निःशुल्क गरिरहेको छ । मिटरभन्दाभित्रको काम मात्र ग्राहकले गर्नुपर्छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले २०६४ साल फागुन १ गतेदेखि ३० वर्षका लागि उपत्यकाको खानेपानीको व्यवस्थापन नेपाल खानेपानी संस्थानबाट लिमिटेडलाई लिजमा दिएको छ । लिमिटेडमा सुरुदेखि नै विभिन्न किसिमका विवाद आएकाले राम्रोसँग काम गर्न नसकेको उपभोक्ताको गुनासो छ । बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणा लिमिटेडको काम सन्तोषजनक नरहेको स्वीकार्छन् । “लिमिटेडको छिटो साधारणसभा गरी प्रबन्धपत्र र विनियमावली संशोधन गरेर प्राविधिकलगायत आवश्यक जनशक्ति थप गर्न निर्देशन दिएका छौँ”– उनले भने। बोर्डले प्रत्येक हप्ताको सोमबार र शुक्रबार लिमिटेडको कार्यसञ्चालन एवम् वितरण प्रणालीको अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा सन्तुष्ट नभएकाले पटक पटक काम सुधार गर्न निर्देशन दिइएको बोर्डका अनुगमन समिति संयोजक शम्भु कडरियाले बताए । लिमिटेडका महाप्रबन्धक महेशप्रसाद भट्टराई हाल प्राविधिक कर्मचारी कम भएर पानी वितरण गर्न नसक्ने विश्लेषण गरिएको बताउछन् । “लिमिटेडमा एक हजार २०५ कर्मचारीको दरबन्दी छ, यसमध्ये प्राविधिक कर्मचारीको सङ्ख्या थोरै छ, हाल ५२ जना मात्र इन्जिनियर कार्यरत छन्, २२ जना प्राविधि थप गर्न विज्ञापन भएको छ, दरबन्दी सङ्ख्या पनि थप गर्न सञ्चालक समितिमा प्रस्ताव लैजाने तयारीमा छौँ”– उनले भने । पदपूर्तिपछि लिमिटेडले मेलम्ची र निर्देशनालयले बनाएको संरचनामा पानी वितरण र व्यवस्थापनको काम गर्न सक्ने उनले जानकारी दिए । रासस