प्रभु बैंकको सेयर कारोबार आगामी सातादेखि खुल्ने, राष्ट्र बैंकले दियो अनुमति
काठमाडौं, ७ पुस । नेपाल राष्ट्र बैंकले प्रभु बैंकको सेयर कारोबार फुकुवा गरेको छ । राष्ट्र बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले प्रभु बैंकको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले बिहीबार प्रभु बैंकको सेयर कारोबार खोल्नको लागि नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्ने समेत निर्णय गरिसकेको छ । राष्ट्र बैकका प्रबक्ता नारायण पौडेलका अनुसार प्रभु बैंकको सेयर कारोबार खोल्ने विषयमा सञ्चालक समितिमा छलफल भएको र अव छिट्टै निर्णय सार्वजनिक हुने छ । ग्राण्ड बैंक प्रभु बैंकमा मर्जर भएर एकीकृत कारोबार सुरु भएपछि नेपाल राष्ट्र बैंकले प्रभु बैंकतर्फको मात्र कारोबार फुकुवा गरेर ग्राण्ड बैंकको खराव कर्जा धेरै भएको भन्दै कारोबार रोक्न निर्देशन दिएको थियो । सो निर्देशन पश्चात प्रभु बैंकको मात्र दुई दिन सेयर कारोबार भएको थियो । तर ग्राण्ड बैंक र प्रभु बैंक एकआपसमा गाभिएर एकीकृत कारोबार सुरु गरेपछि प्रभु बैंकको मात्र सेयर कारोबार गर्न नमिल्ने भन्दै धितोपत्र बोर्डले प्रभु बैंकको पनि कारोबार रोकेको थियो । नेपाल स्टक एक्सचेन्जले प्रभु बैकको मात्र कारोबार खोल्दा दुईदिन कारोबार भएको थियो भने सेयर मुल्य १० प्रतिशतले बढेको थियो । राष्ट्र बैंकले ग्राण्ड तर्फको खराब कर्जाको अबस्था जटिल रहेको भन्दै ग्राण्डतर्फको सेयर कारोबार रोकेर कर्जा असुल गर्न प्रभु ब्यवस्थापनलाई दबाब दिइरहेको थियो । बितेको तीन महिनामा प्रभु बैंकले खराब कर्जा असुलीमा उल्लखनीय प्रगति गरेको आधारमा राष्ट्र बैंकले सेयर कारोबार खोल्न अनुमति दिएको राष्ट्र बैंकका एक सञ्चालकले जानकारी दिए । आगामी साताबाट प्रभु बैंकको सेयर नियमित कारोबार हुने भएपछि झण्डै दुई बर्षदेखि पीडित बनेका प्रभु र ग्राण्डका लगानीकर्ता पनि लाभान्वित हुने भएका छन् । साविकको ग्रान्ड बैंक र प्रभु बैंक एक आपसमा गाभ्ने गाभिने कार्य सम्पन्न भई गत माघ २९ गतेदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोवार भएको थियो । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २८ करोड रुपैयाँ खुद नाफा कमाएको प्रभुको चुक्ता पूँजी पाँच अर्ब ८८ करोड रुपैयाँ छ ।
समस्याग्रस्त सबै बैंक तथा फाइनान्स तीन महिना भित्र सञ्चालनमा आउने
काठमाडौं, ७ पुस । नेपाल राष्ट्र बैंकले जनरल फाइनान्स लिमिटेडलाई समस्याग्रस्त वित्तीय संस्थाबाट हटाएको छ । समस्याग्रस्तबाट मुक्त भएपछि फाइनान्स कम्पनीले आजदेखि नियमित कारोबार शुरु गरेको छ । राष्ट्र बैंकका गभरनर डा. चिरञ्जीवी नेपालले जनरल फाइनान्सको नयाँ कारोबारको औपचारिक शुभारम्भ गरेका छन् । सो कार्यक्रममा बोल्दै गभरनर नेपालले नेपालको वित्तीय क्षेत्र सुधारको अवस्थामा रहेको बताए । ११ वटा वित्तीय संस्था समस्याग्रस्त अवस्थामा रहेकोमा जनरल फाइनान्स सामान्य अवस्थामा फर्किएको बताउँदै नेपालले बाँकी बैंक तथा वित्तीय संस्थाहरु पनि आगामी तीन महिना भित्र सञ्चालनमा आउने बताए । समस्याग्रस्त ८ वटा बैंक तथा वित्तीय संस्थामा नयाँ लगानीकर्ताको प्रवेश भएको र उनीहरुले आगामी चैत मसान्तसम्ममा सामान्य अवस्थामा सञ्चालन गर्ने प्रतिवद्धता राष्ट्र बैंक समक्ष गरिसकेको डा. नेपालले जानकारी गराए । जनरल फाइनान्समा गोविन्द कुमार श्रेष्ठ, शेष घले, राजेन्द्र कमार शर्मा लगायत गैह्र आवसिय नेपालीले लगानी गरेका छन् । हाल यस कम्पनीको चुक्ता पूँजी २२ करोड रुपैयाँ रहेको छ । आगामी असार मसान्तसम्म ८० करोड रुपैयाँ पुर्याउने प्रतिवद्धता गरेका छन् ।
एनएमबि बैंक, प्रिमियर इन्स्योरेन्स र गुहेश्वरी मर्चेन्टको मुल्य समायोजन, सेयरधनी दर्ता पुस्तिका पनि आजै बन्द
काठमाडौं, ७ पुस । एनएमबि बैंक, प्रिमियम इन्स्योरेन्स र गुह्हेश्वरी मर्चेन्ट फाइनान्सको सेयरमुल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा विहिबार एनएमबि बैंक , प्रिमियर इन्स्योरेन्स र गुहेश्वरी मर्चेन्टक फाइनान्सको सेयरमूल्य समायोजन भएको छ । १९ प्रतिशत मात्र बोनस सेयर समायोजन पश्चात एनएमबि बैंकको प्रतिकित्ता सेयरमूल्य ५२१ रुपैयाँ कायम गरिएको छ । एनएमबिको आधारमूल्य ४६६ रुपैयाँ रहेको छ । त्यस्तै प्रिमियर इन्स्योरेनसले २० प्रतिशत बोनस समायोजनपछि सेयरमूल्य प्रतिकित्ता १३९४ रुपैयाँ कायम भएको छ । प्रिमियरको आधारमूल्य १११० रुपैयाँ रहेको छ । गुहेश्वरी मर्चेन्टको १२ प्रतिशत बोनस समायोजनपछि सेयरमूल्य प्रतिकित्ता २४८ रुपैयाँ कायम गरिएको छ । जसको आधारमूल्य २५९ रुपैयाँ रहेको छ । यी कम्पनीहरुको साधारणसभा प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका पनि आजैबाट बन्द भएको छ ।
नयाँ नेपाल लघुवित्तको पुस २९ गते वार्षिक साधारणसभा, पुस १४ गतेदेखि बुक क्लोज
काठमाडौं, ७ पुस । नयाँ नेपाल लघुवित्त विकास बैंकको आठौं वार्षिक साधारणसभा यही पुस २९ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १४ गतेदेखि पुस २९ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएकोे छ । काभ्रेको धुलिखेलमा रहेको कम्पनीको चुक्ता पूँजी २ करोड रुपैयाँ रहेको छ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता करिब १०२० रुपैयाँमा कारोबार भइरहेको छ ।
नागढुंगा-नौविसे सुरुङमार्ग निर्माणका लागि जापानले दियो १५ अर्व २८ करोड ऋण
काठमाडौं, ७ पुस । जापान सरकारले नेपालको नागढुंगा सुरुङमार्ग निर्माण योजनाको लागि १५ अर्व २८ करोड ऋण दिने भएको छ । सो योजनाको लागि ऋण दिने सम्झौतामा अर्थसचिव डा.शान्तराज सुवेदी र जापानी राजदुत मासागी ओगावाले हस्ताक्षर गरे । सम्झौता हस्ताक्षरमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार मन्त्री रमेश लेखकको पनि उपस्थिति रहेको थियो । ऋण ०.०१ प्रतिशत व्याजमा जापान सरकारले नेपाललाई उपलव्ध गराएको हो । सुरुङ मार्ग २.५ किलोमिटर लामो हुने अर्थमन्त्रालयले जनाएको छ । सो योजना सन् २०२२ सम्ममा पुरा गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
तरलता अभाव हुदा निक्षेप र कर्जाको व्याजदर बढ्दै, निक्षेपकर्तालाई भने फाइदा
काठमाडौं, ७ पुस । बजारमा तरलता (लगानीयोग्य रकम) अभाव हुदा निक्षेपको व्याजदरमा बृद्धि भइरहेको छ । पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थाहरुले निक्षेपको व्याजदर समेत बढाइरहेका छन् । तीन महिनाअघि सम्म निक्षेपमा २ प्रतिशतसम्म व्याज दिने बैंकहरुले तरलता अभाव भएपछि निक्षेप तान्नको लागि व्याजदर बढाउन प्रतिष्पर्धा गरीरहेका छन् । जसले गर्दा निक्षेपकर्तालाई फाइदा पुगेको छ । केही समययता सिभिल बैंकले निक्षेपको व्याज ८.२५ प्रतिशत सम्म पुर्याएको छ भने हिमालयन बैंकले ७.७५ प्रतिशत सम्म व्याज दिने घोषणा गरेको छ । त्यस्तै नविल बैंकले पनि निक्षेपको व्याज बढाएर ७.५० प्रतिशतसम्म पुर्याएको छ । कतिपय पुराना बैंकहरुले पनि व्याज बढाएका छन् । तरलता अभाव भएपछि निक्षेप तान्नको लागि बैंक तथा वित्तीय संस्थाहरुविच प्रतिष्पर्धा हुने गरेको छ । त्यस्तै निक्षेपमा व्याज बढेपछि बैंकहरुले कर्जाको व्याज पनि बढाउनेछन् । बैंकर्स संघका पूर्व अध्यक्ष उपेन्द्र पौडेलका अनुसार बजारमा तरलताको अभाव हुदा निक्षेपको व्याजदरमा बृद्धि भएको हो । ‘निक्षेपको व्याजदर बढ्दा स्वतः कर्जाको व्याजदर पनि बढ्छ र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन्छ ।’ पौडेलले भने । संस्थागत निक्षेपकर्ताको हकमा बैकर्स संघले १० प्रतिशत भन्दा व्याज नदिने निर्णय गरेको छ । यसअघि २०६६ सालमा तरलता अभाव हुदा बैंकहरुले संस्थागत निक्षेपकर्ताहरुलाई १३ प्रतिशतसम्म व्याज दिएर निक्षेप लिएका थिए । डेभलपमेन्ट बैकर एसोसिएनका अध्यक्ष कृष्णराज लामिछानेले तरलता अभाव भएको बताउँदै कतिपय बैंकहरुमा त तरलता अत्यधिक कसिलो हुदै गएकोले उनीहरु अब लगानी विस्तार गर्न नसक्ने अवस्थामा रहेको पनि बताए । उनले नीजी बैंकहरुसँगथ ब्याजदर बढाएर निक्षेप तान्नुको विकल्प नभएकोले व्याजदरमा बृद्धि गरिएकोे दावी गरे । उनले केही सरकारी बैंकमा तरलता बढी भएपनि निजी बैंक तथा वित्तिय संस्थामा भने तरलताको अभाव नै रहेको बताए । नेपाल राष्ट्र बैंकका प्रबक्ता नारायण पौडलका अनुसार बजारमा निजी बैंकहरुसँग तरलता अभाव भएपनि ओभरअलमा तरलता अभाव देखिएको छैन । उनले भने,‘हाम्रो सिस्टममा तरलता अभाव देखिदैन उल्टै १३ अर्व तरलता रहेको देखिन्छ तर नीजी क्षेत्रमा भने तरलता अभाव हुदै गएको कुरा भने साँचो हो । उनले केही बैंकहरुसँग तरलता बढी हुदा ओभरअल सिस्टममा नै तरलता बढी देखाएको बताए ।
नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चार घन्टा बन्द, यात्रुलाई सास्ती
चितवन, ७ पुस । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चारघन्टा बन्द हुने भएको छ । विस्तारका लागि बिहान ११ देखि दिउँसो ३ बजेसम्म दैनिक चारघन्टा सडक आवागमन रोकिने भएपछि वैकल्पिक मार्गको प्रयोग गर्न नारायणगढ–मुग्लिन सडक आयोजनाले आग्रह गरेको छ । सो सडकखण्डको सबैभन्दा संवेदनशील र कठिन ठाउँमा सडक विस्तार गर्न लागिएकाले रोकिएको समय अघिपछि पनि ट्राफिक जामका कारण यात्रुले दुःख पाउने र सडक विस्तारमा अवरोध हुने हुँदा वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको हो । सो सडकको मुग्लिनदेखि कालीखोलासम्मको दुई किलोमिटर भागमा सडक चौडा गरिँदैछ । आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सो क्षेत्रमा ५.५ मिटर मात्रै सडक चौडा छ । जहाँ विस्तार गरेर सडक १० मिटर फराकिलो बनाइँदैछ । त्यसका लागि भित्ता काट्नुको विकल्प नरहेको भन्दै उनले एकसय ५० फिट अग्लो पहाडलाई काटेर सडक चौडा गरिने बताए । यहाँ कडा चट्टान रहेका छन् । खनालका अनुसार एउटा ब्रेकरले दैनिक ५० देखि ६० घनमिटर मात्रै चट्टान काट्न सक्छ । यसैगरी, सडकको १६ किलोमा पाँचसय मिटर र घुमाउनेमा दुईसय मिटर लामो डाँडो नै काट्नुपर्ने हुन्छ । यसका लागि आयोजनाले स्थानीय प्रशासनसँग दैनिक आठ घन्टा सडक रोक्न माग गरेको भएपनि ट्राफिक व्यवस्थापन गर्न कठिन हुने भन्दै आजदेखि बिहान ११ देखि दिउँसो तीन बजेसम्म मात्रै चार घन्टा आवागमन रोक्न अनुमति दिएको छ । सडक विभागको योजना तथा डिजाइन महाशाखाले गरेको सर्वेक्षणअनुसार सो सडक हुँदै दैनिक ६ हजार एकसय ७७ हाराहारीमा सवारी आवागमन हुने गर्दछ । दिउँसो चार घन्टाको समयमा सो सडक हुँदै जाने एकहजार चारसय २६ सवारीसाधन अर्थात् २३।०९ प्रतिशत सवारीसाधन प्रभावित हुने देखिन्छ । यसका अतिरिक्त अन्य समयमा हुने सवारीको चाप त्यत्तिकै रहन्छ जसका लागि वैकल्पिक मार्गको विकल्प नभएको आयोजनाले जनाएको छ । आयोजनाले सार्वजनिक गरेको सवारी रुटअनुसार राजधानी काठमाडौँबाट पूर्वतर्फ जाने तीनवटा वैकल्पिक मार्ग प्रयोग गर्दा छोटो दूरीमा गन्तव्य पुग्न सकिने देखिन्छ । पश्चिमतर्फ भने एउटा मात्रै वैकल्पिक मार्ग भएकाले केही लामो दूरी यात्रा गर्नुपर्ने हुन्छ । इन्जिनियर खनालका अनुसार पूर्व जान बिपी राजमार्ग, त्रिभुवन राजपथ र हेटौँडा–भीमफेदी–बल्खु मार्ग प्रयोग गर्न सकिन्छ भने पश्चिमका लागि पृथ्वीराजमार्ग हुँदै सिद्धार्थ राजमार्ग प्रयोग गरेर गन्तव्यसम्म जान सकिन्छ । ती मार्गबाट १२ मिटरभन्दा लामा र बढी भार भएका ट्रकको हकमा भने नारायणगढ–मुग्लिन सडकको विकल्प नभएको खनालले बताए । वैकल्पिक रुपमा बिपी राजमार्ग प्रयोग गरेर बनेपा हुँदै बर्दिबाससम्म पुग्दा एकसय ७७ किलोमिटर, त्रिभुवन राजपथ प्रयोग गरेर नौबिसेबाट हेटौँडा पुग्दा एकसय आठ किलोमिटर, बल्खुबाट भीमफेदी हुँदै हेटौँडासम्म जाँदा एकसय ४६ किलोमिटर दूरी छोटो हुने आयोजनाले जनाएको छ । पश्चिम नेपालतर्फ भने मुग्लिनबाट पोखरा हुँदै बुटवल जाँदा ७१ किलोमिटर दूरी लामो हुने देखिएको छ । सवारी आवागमन बन्द भएपछि हुने सवारी जामलाई व्यवस्थित गर्न सडकखण्डमा चौबिसै घन्टा मोटरसाइकलमा प्रहरी परिचालन गरिँदैछ भने बिग्रेका सवारी हटाउनका लागि क्रेन र डोजर तयारी अवस्थामा राखिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले यात्रुवाहक सवारी र मालवाहक सवारीलाई फरक फरक लाइन लगाएर यात्रुवाहकलाई प्राथमिकता दिएर सडक पार गराउने व्यवस्था गरिएको बताए । रासस ––––––
नेपालको अन्तर्राष्ट्रिय हवाई रुट २० मिनेट छोट्टियो, भारतको अधिकांश आकास नेपालका लागि खुला
काठमाडौं ७, पुस । नेपाल र भारतबीच हवाई सेवाको पहुँच विस्तारको विषयमा नयाँ सम्झौता भएको छ । भारतको नयाँ दिल्लीमा बुधबार र विहिबार भएको हवाई सेवा तथा हवाई ट्राफिक संचालन गर्ने तथा हवाई मार्ग र प्रवेश विन्दु सम्वन्धमा नयाँ सम्झौता भएको छ । नेपाल र भारतबीच भएको दुईपक्षिय हवाई सेवाको हिमालयन रुट २ (बाग्डोग्रा—गुहाटी— सिलचर —इम्फाल) नामक हवाई रुट निर्धारण गर्न भारतीय पक्षले सहमति जनाएको छ । दुई पक्षिय सम्झौता अनुसार नेपालले मागेको हिमालयन रुटमा सहमति भएको हो । यो सहमति पश्चात काठमाडौं, बागडोरा, गुहाटी, सिलचर, इम्फाल, कुन्मीङ हुँदै हङ्कङ जोड्ने हवाई रुट खुला भएको छ । अहिले नेपालबाट हङ्कङ जान वंगलादेश हुँदै जानुपर्ने लामो दुरीलाई यो हिमालयन रुटको अनुमतिले एक सय नटिकल माइल तथा करीब २० मिनेटको हवाई दुरी छोटो हुने भएको छ । यो सहमति पछि नेपालबाट बाहिरिने र भित्रने हवाई रुट बढाउन नेपालले गरेको प्रस्तावलाई भारतले औपचारिक रूपमै सहमति दिएको उल्लेख छ । यो रुटबाट नेपाल भित्रदा अन्तर्राष्ट्रिय उडानका वायुसेवाले हाल सीमरामाथिको आकाश हुँदै आउनुपर्ने एउटै मात्र रुटलाई भारतले थप गरिदिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए । उनले बुधबार र बिहीबारको नेपाल भारत सहमतिको विज्ञप्ती पनि सार्वजनिक गरेका छन । विज्ञप्तीमा थप हवाई रुट दिने सहमति भएको उल्लेख छ । काठमाडौबाट विराटनगर तथा महेन्द्रनगर हुँदै भारतको आकाश भएर उडान गर्ने वायुसेवाले नयाँ र छोटो रुट पाएको हो । हिमालय रुट २ को अनुमतिले युरोप र हङकङ जाने रुटसमेत छोटो हुने भएको छ । यो अनुमतिले नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाले प्रत्यक्ष लाभ लिन पाउने तथा अन्तर्राष्ट्रिय उडानका अन्य विदेशी वायुसेवाले हिमालयन रुट प्रयोग गर्ने भएकोले नेपालले आर्थिक लाभ समेत पाउने भएको छ । हिमालयन रुटको अनुमतिले टोकियोबाट लण्डन जाने जहाजले पनि छोटो हवाई रुटका कारण नेपालको आकाश प्रयोग गरेर गर्न सक्ने भएकोले हवाई क्षेत्रको राजस्व बढ्ने प्राधिकरणको भनाइ छ । उड्डयन नियम अनुसार कुनै पनि देशमाथिको आकाशमा जहाज उडान हुँदा फ्लाई ओभर शुल्क तिर्नुपर्ने हुन्छ । यस्तो शुल्क देश अनुसार फरक फरक हुन्छ । नेपालले यो रुट खुला भएपछि अब उड्डयन नियमावलीमै यो फ्लाई ओशर शुल्क तोकिने भएको छ । अहिले भने प्राधिकरणले न्युनतम एरोनटिकल चार्स मात्र लिने गरेको जानकारी दिएको छ । हरेक उडानमै कम्तिमा साढे तीन लाख फाइदा हिमालयन रुटलाई अनुमति दिने सहमति पछि नेपाल वायुसेवा निगमलाई एउटा अन्तर्राष्ट्रिय उडानमा कम्तिमा साढे तीन लाख फाइदा हुने भएको छ । काठमाडौंबाट हङ्कङ जाँदा बंगलादेश हुँदै जाने गरिएको अव हिमालय रुट २ प्रयोग गर्दा करीब २० मिनेटको दुरी छोटो पर्ने भएको छ । यो दुरी घटेपछि निगमलाई १३ सय लिटर इन्धन बचत, एकतर्फि उडानमै एक सय डलर, फ्लाई ओभर शुल्क घट्ने भएकोले हरेक उडानमा तीन लाख ६४ हजार रुपैयाँ फाइदा हुने छ । यसबाट समय, जहाजको इन्जिन आवर, इन्धन तथा नगद खर्चमा नै कम हुने उल्लेख छ । उडान दुरी छोटो भएपछि सम्वन्धित देशको आशास प्रयोग गरेवापत निगले तिर्दे आएको फ्लाई ओभर शुल्क उडानको दुरी अनुसार कम हुन्छ । हाल निगमले हरेक अन्तर्राष्ट्रिय उडानमा नेपाली आकाशको प्रयोग गरेवापत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बाहिरिदा र भित्रदा ३४५/३४५ डलर बुझाउने गरेको छ । ओभर फ्लाइ ओभर शुल्कबापत सम्वन्धित मुलुकले लिने यस्तो रकममा भारत जाँदा २७० डलर, फर्कदा ३११ डलर, वंगलादेश जाँदा ४२० डलर, फर्कदा ४२० डलर नै तिर्दै आएको छ । निगमले चीन जाँदा ३०२ र फर्कदा २७० डलर, हङ्कङ जाँदा आउँदा १४२ डलर, म्यान्मार जाँदा÷आउँदा २३८ डलर तिर्दे आएको छ । यसरी विदेशी आकाश प्रयोग गरेवापत बुझाउनुपर्ने शुल्क निगमले काठमाडौबाट हङ्कङसम्म जादा १६ सय १० र फर्कदा १५ सय ४० डलर तिर्ने गरेको निगमले जानकारी दिएको छ ।