नेप्से परिसूचक ५५.९४ अंकले ओरालो लाग्दा कारोबार रकममा भने ४७.३८ प्रतिशत वृद्धि
काठमाडौं, ८ पुस । यो साता सेयर बजारमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५५.९४ अंकले ओरालो लागेर अन्तिम दिन १४७५.४१ अंकमा पुगेको छ । साताको अन्तिम दिन बाहेक अन्य दिन नेप्से परिसूचक ओरालो लागेको थियो । साताभर जम्मा दुई अर्ब ८५ करोड १४ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सातामा पाँचै दिन कारोबार भएको बजारमा १५६ कम्पनीको ३६ लाख ३२ हजार दुई सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४७ दशमलब ३८ प्रतिशतले बढी हो । गत साता पनि १५३ कम्पनीहरुको कारोबार भएको थियो । २१ हजार ५१९ कारोबारबाट दुई अर्ब ८५ करोड १४ लाख ३५ हजार रुपैयाँ बराबरका ३६ लाख ३२ हजार दुई सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । साताभर बजारमा कारोबार भएका प्राय सबै परिसूचक ओरालो लागेका छन् । बजारमा कारोबार भएका बीमा समूहको परिसूचक सबैभन्दा बढी अंक ४०३ अंकले ओरालो लागेको छ । त्यस्तै, जलविद्युत, बाणिज्य बैंक, होटल, विकास बैंक र वित्त समूहको परिसूचक क्रमशः १०३.८२, ६२.२६, ५७.९५, २५.८७ र २२.६९ अंकले ओरालो लागेका छन् । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १२.५५ अंकले घटेर ३१८.७६ अंकमा आईपुगेको छ । यस साता पनि सबैभन्दा बढी एभरेष्ट बैंकक ६६ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा र कारोबार संख्याको आधारमा पनि एभरेष्ट बैंक नै अग्रस्थानमा रहेको छ ।
भारतबाट थप ८० मेगावाट विद्युत् आयात हुने, नेपाललाई लोडसेडिङ मुक्त गर्ने तयारी
काठमाडौं, ८ पुस । सरकारले यही पुस १७ गतेदेखि भारतबाट थप ८० मेगावाट विद्युत् आयात गर्ने भएको छ । ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवक्ता प्रबल अधिकारी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालका लागि विद्युत् उपलब्ध गराउने भारतको एनभिभिएनसँग गरेको विद्युत् खरिद सम्झौतापछि थप विद्युत् आयात हुने भएको हो । मुलुकमा जारी ऊर्जा सङ्कट समाधान गर्न र काठमाडौं उपत्यकालाई विद्युत्भार कटौतीमुक्त गरिएको घोषणालाई नरन्तरता दिनसमेत थप विद्युत् आयात बाट सहज हुने छ । भारतले उपलब्ध गराउने थप विद्युत् ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गरिनेछ । सो अन्तरदेशीय प्रसारण लाइनअन्तर्गत मुजफ्फरपुरमा थप एक सय एमभिएको ट्रान्सफर्मर जडान कार्य गत मङ्सिर २८ देखि ३० गतेसम्म दुई दिन लगाएर सम्पन्न भइसकेको छ । अन्तरदेशीय प्रसारणलाइनलाई १३२ केभी क्षमताका व्याट्री चार्ज गरिसकिएको छ । भारतबाट हाल सोही प्रसारण लाइनमार्फत ८० मेगावाट विद्युत् आयात भइरहेको छ । सम्झौताअनुसार २०१७ जनवरी १ देखि पहिलो चरणमा थप ४० मेगावाट विद्युत् आयात हुनेछ भने फ्रेबुअरी १ देखि थप ४० मेगावाट गरी कुल १६० मेगावाट विद्युत् आयात गरिनेछ । उक्त विद्युत्को खरिददर प्रतियुनिट भारतीय मुद्रा ३.६६ रहनेछ । सो विद्युत्को खरिद दर रु ५.६७ पैसा रहेको छ । विद्यमान बजार मूल्यका आधारमा भारतबाट आयात गरिएको विद्युत्को मूल्य सस्तो रहेको बताइन्छ । विद्युत् आयातसम्बन्धी सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गबीच हस्ताक्षर भएको छ । यस्तै ढल्केबर सवस्टेसनको काम पनि अन्तिम चरणमा रहेकाले सो कार्य सम्पन्न हुनेबित्तिकै थप विद्युत् आयातका लागि पहल गरिने बताइएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले मुलुकमा जारी ऊर्जा सङ्कट समाधान गर्ने लक्ष्यका साथ सरकारले थप विद्युत् आयात गर्ने सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिए । प्राधिकरण र एनभिभिएनबीच लेऊ अथवा देऊ ‘टेक अर पे’ मान्यताका आधारमा विद्युत् खरिद सम्झौता भएको हो । भारतीय नोडल एजेन्सी एनभिभिएनसँग जनवरी, २०१७ देखि मे २०१७ सम्मका लागि प्रारम्भिक चरणमा विद्युत् खरिद सम्झौता गरिएको हो । मुलुकभर हाल एक हजार २८६ मेगावाट विद्युत् माग रहेको छ । नदीमा जलस्तर घटेका कारण आन्तरिक उत्पादन घट्न थालेको अवस्थामा भारतबाट थप विद्युत् आयात गरेर ऊर्जा सङ्कट निवारण गर्न लागिएको प्रवक्ता अधिकारीको भनाइ छ । यस्तै कुशाहा–कटैया, रक्सौल–परवानीपुर प्रसारण लाइनको समेत स्तारोन्नतिको काम जारी रहेका कारण निकट भविष्यमा नै ती प्रसारण लाइनबाट थप ५०/५० मेगावाट विद्युत् आयात गर्ने समझदारीसमेत नेपाल र भारतबीचमा भएको छ । यस्तै टनकपुरबाट समेत थप ४० मेगावाट विद्युत् आयात गर्ने सम्बन्धमा भारतीय पक्षसँग कुराकानी भएको छ । मुलुकलाई विद्युत्भार कटौतीमुक्त गर्ने लक्ष्यका साथ सरकारले ५६० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको छ । गत आवमा भारतबाट ३४७ मेगावाट विद्युत् आयात गरिएको थियो । यस्तै आन्तरिक उत्पादनमा रहेको कुलेखानीलाई हाल नचलाइकन राखिएको छ । विद्युत् अत्यधिक माग हुने समयमा सो आयोजनाबाट पनि विद्युत् उत्पादन गर्न सकिने प्राधिकरणको भनाइ छ । कालीगण्डकी, मध्यमस्र्याङ्दीजस्ता आयोजनालाई पनि साँझको समयमा मात्रै सञ्चालन गर्ने गरी व्यवस्था मिलाइएको छ । आगामी माघ र फागुनमा विद्युत्को माग बढी रहने भएकाले लोड व्यवस्थापन गर्न प्राधिकरणलाई वैकल्पिक स्रोतको आवश्यकता परेको हो । यस्तै ऊर्जा सचिव उपाध्याय र उनका भारतीय समकक्षी पिके पुजारीबीच भएको द्विपक्षीय छलफलका क्रममा नेपालले माग गरेअनुसार नै विद्युत् उपलब्ध गराउन र नेपालको ऊर्जा क्षेत्रको विकासमा भारत सरकारले सहयोग गर्ने सहमति भएको छ । नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता (पिटिए) भएको सन्दर्भमा त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्ने र पछिल्लोपटक भारत सरकारले तयार पारेको विद्युत् खरिदसम्बन्धी निर्देशिकामा देखिएको असहमतिका बारेमा समेत दुई ऊर्जा सचिवबीच छलफल भएको थियो । छलफलका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनसमेत शीघ्र स्वीकृत गरी कार्यान्वयनमा लैजाने सहमति भएको छ । वापकोश नामक परामर्शदाता कम्पनीले सो आयोजनाको प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा हाल अध्ययनको क्रममा रहेको छ । रासस
मेलम्चीको पानी कलङ्की, स्वयम्भू र महाराजगन्जमा तत्काल वितरण नगरिने
काठमाडौं, ८ पुस । मेलम्चीको पानी चक्रपथभित्रकै केही स्थानमा तत्काल वितरणका लागि नयाँ वितरण सञ्जाल नबन्ने भएको छ । आगामी वर्ष असोजमा मेलम्चीको पानी उपत्यकामा आएपछि कलङ्की, स्वयम्भू र महाराजगन्जको पूर्वी भागमा वितरण गर्न नसकिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । चक्रपथभित्रको केही भागमा बजेट अभाव हुँदा पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याएर नयाँ सञ्जाल निर्माण गर्न नसकिएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिए । “नयाँ सञ्जाल निर्माण गर्न नसकिए पनि यी स्थानमा पुरानो वितरण प्रणालीबाट पानी वितरण गरिन्छ, नयाँ सञ्जाल निर्माणका लागि पनि केही महिनामा ठेक्का आह्वान हुँदैछ, दुई वर्षभित्रमा नयाँ पाइपलाइन बिच्छ्याइन्छ”–उनले भने । चक्रपथ बाहिर गोकर्णेश्वर, जोरपाटी, ललितपुरको कुसुन्ती, नखिपोट, भनिमण्डल, भक्तपुरको टिग्नी र कटुञ्जे क्षेत्रमा पाइप बिच्छ्याउने काम भइरहेको छ । कपन, बौद्ध र बालाजु क्षेत्रभन्दा माथिको भागमा पनि पाइप बिच्छ्याउनका लागि बोलपत्र आह्वान हुँदैछ । यी क्षेत्रमा पनि दुई वर्षमै पाइप बिच्छ्याएर पानी वितरण गरिने निर्देशनालयले जनाएको छ । विसं २०८० सम्म याङ्ग्री र लार्केको गरी दैनिक ५१ करोड लिटर पानी आउने बेलामा उपत्यकाको सबै भागमा पाइपको नयाँ वितरण सञ्जाल बिच्छ्याई पानी वितरण गर्ने योजना छ । त्यसबेलासम्म २४ घन्टा नै पानी वितरण गर्ने गरी गृहकार्य भइरहेको प्रवक्ता ढकालले बताए । रासस
सिनर्जी पावरको साधारण सेयर आजबाट खुला, पुस १२ गतेसम्म आवदेन दिन पाइने
काठमाडौं, ८ पुस । सिनर्जी पावर डेभलपमेन्टको साधारण सेयर आजबाट बिक्री खुला भएको छ । यस कम्पनीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्ब साधारणको लागि निश्काशन गरेको हो । उक्त सेयर पुस ८ गतेदेखि १२ गतेसम्म आवदेन दिन पाइने सो संस्थाले जनाएको छ । नक्सालमा कार्यालय रहेको यस कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
धितोपत्र बोर्डद्धारा ११ वटा बैंकलाई आस्वा प्रणालीमा सहभागी हुने अनुमति
काठमाडौं, ८ पुस । आगामी माघदेखि लागू गर्न लागेको एप्लिकेसन सपोर्टेड वाइ बल्कड् एमाउन्ट अर्थात आस्वा प्रणालीमा ११ वटा बैंकहरु सहभागी हुने भएका छन् । नेपाल धितोपत्र बोर्डले ९ वटा वाणिञ्य बैंक र २ वटा विकास बैंक सहित ११ वटा बैंकहरुलाई यस प्रणालीमा सहभागी हुन अनुमति दिएको हो । बोर्डका अनुसार अनुमति पाउनेमा वाणिज्य बैंकहरुमा सेन्चुरी कमर्सियल बैंक, सनराइज बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, लक्ष्मी बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, एनआइसी एसिया, एनबी बैंक र कुमारी बैंक रेहका छन् । त्यस्तै, विकास बैंकहरुमा एस डेभलपमेन्ट बैंक र कैलास विकास बैंकले अनुमति पाएका छन् । बोर्डका अनुसार अन्य ६ वटा संस्थाहरु प्रक्रियामा रहेका छन् । बोर्डले आगामी माघदेखि सेयर आवेदन दिएपछि बैंक खातामा पैसा रोक्ने गर्ने प्रणाली आस्वा लागू गर्देछ ।
सनराइज बैंकले बोलायो पुस २५ गते विशेष साधारणसभा, १८ गते बुक क्लोज
काठमाडौं, ८ पुस । सनराइज बैंकले यही पुस २५ गते आफ्नो विशेष साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस १८ गते कम्पनीको बुक क्लोज हुने बैंकले जनाएको छ । पुस ७ गते बसेको बैंकको २५८औँ बैंक सञ्चालक समितिको बैठले साधारणसभा सम्बन्धि निर्णय गरेको हो । तर बैंकले उक्त सभामा के विषयमा छलफल गर्ने भनेर चाँहि नेप्सेमा जनाएको छैन ।
बुटवल पावरको २७ प्रतिशत लाभांश पारित, चुक्ता पूँजी १ अर्ब ७९ करोड रुपैयाँ पुग्ने
काठमाडौं, ८ पुस । बुटवल पावर कम्पनीको प्रस्तावित २७ प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार बसेको कम्पनीको २४ औं साधारण सभाले ७ प्रतिशत बोनस सेयर तथा २० प्रतिशत नगद लाभांस गरि सो मात्राको लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । साथै साधारणसभाले बोर्डले तोकका शर्त र मापदण्डहरु पुरा गरेर एफपिओ निष्कासनको प्रक्रिया अगाडि बढाउने प्रस्ताव समेत पारित गरेको छ । उक्त कार्यक्रममा सभाले नयाँ सेयर निष्कासन (एफपिओ) जारी गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । बोनस सेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ ।
दिपायल विमानस्थलको कालोपत्रेको काम सुरु, करिब साढे ५ करोड रुपैयाँको लागत
डोटी, ८ पुस । विगत १० वर्षअगाडिदेखि गौचरनमा परिणत भएको दीपायल विमानस्थलको कालोपत्र गर्ने कार्य सुरु भएको छ । असारमा कालोपत्र गर्नका निम्ति निस्किएको टेन्डर गत कात्तिकमा आएर सम्झौता भइसकेपश्चात् कार्य अगाडि बढेको नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत बालकृष्ण रेग्मीले बताए । विमानस्थललाई कालोपत्र गर्नका निम्ति आवश्यक सामान दीपायल ल्याउने कार्य भइरहेको समेत रेग्मीले जानकारी दिएका छन् । “कालोपत्र गर्नका निम्ति अधिकतम रुपमा गिट्टीको आवश्यकता हुन्छ, त्यसका निम्ति क्रसर फिट गर्ने कार्य भइरहेको छ”, अधिकृत रेग्मीले बताए । विमानस्थल कालोपत्रको कार्य द्रुतगतिमा अगाडि बढ्ने समेत रेग्मीले बताएका छन् । सपना गाल्बा जेवी निर्माण समितिले कालोपत्र गरिरहेको विमानस्थलमा करिब पाँच करोड ५० लाख रुपैयाँको रकम खर्च हुने विमानस्थल कालोपत्रका साइट इन्चार्जसमेत रहेका अधिकृत रेग्मीले जानकारी दिएका छन् । करिब साढे चारसय मिटर लम्बाइ भएको विमानस्थलको कालोपत्र गर्ने कार्य १५ महिना भित्रै सकिने बताइएको छ । सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दीपायलमा अवस्थित विमानस्थल कालोपत्र हुँदा यहाँका जनतामा हर्ष छाएको छ । १० वर्षदेखि ओझेलमा परेको विमानस्थल कालोपत्र गर्नका निम्ति डोटी क्षेत्र नं २ का सांसद प्रेमबहादुर आलेमगरले आफूले ठूलो मिहेनत गर्नु परेको बताएका छन् । डोटेली जनताको माया र स्नेहले आफूलाई विकास गर्नका निम्ति थप उत्साह दिएको उनले बताए । अबका दिनमा विमानस्थललाई नियमित सञ्चालनका निम्ति त्यहाँका जनताले सहयोग गर्नुपर्नेमा आलेमगरको जोड रहेको थियो । सुदूरपश्चिमको मुटुमा रहेको विमानस्थल कालोपत्र हुने भएपछि छिमेकी जिल्ला अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, दार्चुला लगायतका जनतालाई सहज हुने देखिएको छ । रासस