विकासन्युज

एडिबीद्वारा ३९ अर्ब ३२ करोड सहायता, आर्थिक–सामाजिक क्षेत्रको विकासमा जोड

काठमाडौं । एशियाली विकास बैंकले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब ३९ अर्ब ३२ करोड विकास सहायता गर्ने भएको छ । बैंकले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक)अन्तर्गतको राजमार्ग सुधार परियोजनाका लागि १८ करोड ८० लाख अमेरिकी डलर र प्रकोप सहनशील विद्यालय निर्माण परियोजना कार्यान्वयन गर्न १४ करोड ८९ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ । त्यसैगरी बैंकले एक करोड ५० लाख अमेरिकी डलर अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । अनुदान रकम प्रकोप सहनशील विद्यालय निर्माण परियोजनामा खर्च हुने भएको छ । विकास सहायतासम्बन्धी समझदारीपत्रमा अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभ र अर्थसचिव राजन खनालले हस्ताक्षर गरेका छन् । सासेक राजमार्ग सुधार परियोजना अन्तर्गत पूर्व पश्चिम राजमार्गको पूर्वमा रहेको कमला कञ्चनपुर खण्डको करीब ८७ किलोमिटर सडक सुधार गरी फराकिलो बनाउने, सडक सुरक्षामा सुधार गर्नेछ । प्रकोप सहनशील विद्यालय निर्माण परियोजनाअन्तर्गत भूकम्पबाट असुरक्षित बनेका विद्यालयलाई सुदृढ एवं सुरक्षित तुल्याइनेछ । नेपालको पूर्वाधारलगायत आर्थिक–सामाजिक क्षेत्रको विकासका निम्ति बैंकले विगतदेखि गरिरहेको सहयोगको निरन्तरता हो । त्यस अवसरमा सचिव खनालले ऋण तथा अनुदान सहायताका माध्यमबाट नेपालको सामाजिक–आर्थिक विकासमा बैंकले सघाएकामा हार्दिक कृतज्ञता ज्ञापन गर्दै परियोजना कार्यान्वयन गर्ने निकायलाई निर्धारित समयभित्रै काम पूरा गर्न इमान्दार भएर लाग्नमा जोड् दिएका छन् । देशीय निर्देशक खामुदखानोभले नेपालको आर्थिक विकासमा सासेक परियोजनाबाट मद्दत पुग्ने विश्वास व्यक्त गर्दै त्यसले राष्ट्रिय एवं क्षेत्रीय सम्पर्क विस्तारमा टेवा पुग्ने बताएका छन् । रासस

कैलाश विकास बैंकबाटै जनरल इन्स्योरेन्सको बीमा सेवा पाइने

काठमाडौं । अब जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड(जिआईसी नेपाल)को निर्जीवन बीमा सेवा सुबिधा कैलाश विकास बैंकबाट पाइने भएको छ । मंगलबार दुई संस्थाबीच उक्त बैंकास्योरेन्स सेवा दिने सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अमतृ चरण श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात अब बैंकका ग्राहकले जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधा बैंकका जुनसुकै शाखा कार्यालयबाट लिन सक्नेछन् ।

चालु आर्थिक वर्षमा सुनकोशी मरिन डाइभर्सनको काम शुरु, पाँच वर्ष भित्र सक्ने लक्ष्य

काठमाडौं । लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको ‘सुनकोशी मरिन डाइभर्सन परियोजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) आगामी चार महीनाभित्र पूरा हुने भएको छ । विस्तृत परियोजना प्रतिवेदन तयार भएपछि ठेक्का प्रक्रिया अगाडि बढाएने ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको भनाई रहेको छ । आयोजनाबाट प्रदेश नं २ को एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । हिमाल, पहाड र तराईलाई समेत जोड्ने भएकाले राष्ट्रिय एकतासमेत निर्माण गर्छ । त्यसकारण पनि सो आयोजना रणनीतिक महत्वको रहेको मन्त्री पुनले बताएका छन् । उक्त परियोजनालाई छिटो सम्पन्न गर्न अत्याधुनिक प्रविधिको प्रयोग गरिने भएको छ । चालू आवभित्रै निर्माणको काम अगाडि बढाउने गरी तयारी गरिएको छ । मन्त्री पुन, मन्त्रालयका उच्च अधिकारी र सिन्धुलीका जनप्रतिनिधिले सोमबार आयोजनास्थलको समेत अध्ययन गरेको थियो । भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा टनेल बोरिङ मेशिन (टिबिएम)को प्रयोगका कारण सहज भएकाले सो आयोजनामा समेत त्यस्तै प्रविधिको प्रयोग गर्ने सोचमा सरकार लागेको छ । टिबिएमको प्रयोगपछि सुरुङ खन्न थालिएको एक वर्षमै ७५ प्रतिशत बढी निर्माण सम्पन्न भएको छ । कूल १२ दशमलब दुई किलोमिटर लामो सुरुङमध्ये हालसम्म करीब १० किमी सुरुङ निर्माण भइसकेको छ । सुनकोशी मरिन डाइभर्सन आयोजना तयारी अवस्थामा रहेकाले यो परियोजना सरकार, प्रधानमन्त्री र मन्त्रालयको प्राथमिकतामा रहेको छ । आयोजनाको निर्माण अवधि पाँच वर्ष लाग्ने अनुमान गरिएको छ । रासस

चितवन प्रहरीको सक्रियताः जवरजस्ती करणी गर्ने १९ जना भारतबाट पक्राउ

चितवन। चितवनमा चालु आर्थिक वर्षमा १५ वटा जवरजस्ती करणीका मुद्धाहरु दर्ता भएका छन् । चालु आर्थिक वर्षमा जिल्लामा भएका १५ वटा जवरजस्ती करणीका मुद्धामा फरार रहेका सबै १९ जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले मंगलवार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यस्तै, चितवन प्रहरीले जवरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई भारतबाट पक्राउ गर्न सफल भएको छ । गएको कार्त्तिक २४ गते बेलुकी अन्दाजी साँढे ७ बजेको समयमा पश्चिम् चितवनकी एक १२ वर्षिया बालिकालार्इ जवरजस्ती करणी गरेको आरोपमा भरतपुर महानगरपालिका वर्डा नम्बर १३ बस्ने वर्ष २७ को राजन बि.कलाई प्रहरीले भारतबाट पक्राउ गर्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरका अनुसार अनुसन्धान र खोजतलासका क्रममा बि.क भारतको गुणगाउँस्थित एक घर भित्र लुकिछिपी बसिरहेको भन्ने जानकारी प्राप्त भएपश्चात चितवनबाट प्रहरी निरीक्षक गणेश पौडेलको कमान्डमा खटिएको प्रहरीको टोलीले घट्ना घटेको ६ दिनपछि उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार निज प्रतिवादीले मोटरसाइकलमा राखेर एकान्त सुनसान ठाउँमा लगी जवरजस्ती करणी गरेको भन्ने जाहेरी परेपछि उनी माथि प्रहरीले खोजी कार्यलाइ तीव्रता दिएको थियो । पक्राउ परेका अभियुक्तलाई सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । मुलुकी अपराध (संहिता) २०७४ परिच्छेद (१८ दफा २१९ को उपदफा ३ (ख) अनुसार १० वा १० वर्ष भन्दा माथि १४ वर्ष भन्दा कम उमेरकी बालिकालाई जवरजस्ती करणी गरेमा १४ वर्ष देखि १६ बर्ष सम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

बाल्ट्राले ल्यायो रिमोटबाट चल्ने नयाँ हिटर, घरको भित्तामा पनि राख्न मिल्ने

काठमाडौं । बाल्ट्रा होम एप्लाइन्सेसले बाल्ट्राका विभिन्न गुणस्तरीय ग्याँस तथा ईलेक्ट्रोनिक नयाँ हिटर र गिजरहरु नेपाली बजारमा भित्राएको छ । घर, होटेल, अफिस आदिमा प्रयोग गर्न सकिने बाल्ट्राका हिटर तथा गिजरहरु बजेट सुहाउँदो र नवीनतम प्रविधि प्रयोग गरी बनाइएको छ । त्यसैगरी, बाल्ट्राले यस जाडोयामको समयमा पिटिसि वाल हिटरलाई नेपाली बजारमा ल्याएको छ । घरको भित्तामा राख्न सकिने यस पिटिसि वाल हिटरमा डिजिटर डिस्प्ले र रिमोट कन्ट्रोल समेत रहेको छ । एफेक्ट र क्यालोर नामक दुई फरक मोडलमा उपलब्ध यस हिटरलाई नेपालमै पहिलो पटक बाल्ट्राले नेपाली बजारमा भित्राएको हो । बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको छ ।

राष्ट्र बैंकले ३२ जिल्लामा लघुवित्त कार्यक्रम गर्न स्वीकृती प्राप्त, ग्रामिण विकासमा केन्द्रित भएर विस्तार गर्ने 

  काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ३२ जिल्लामा लघुवित्त कार्यक्रम विस्तार गर्ने स्वीकृती प्राप्त गरेकाे छ । वोमी माइक्रोफाइनान्स वित्तीय सस्थाले  “लघुवित्त कार्यक्रम प्रभावकारीता तथा व्यवस्थापन” ले उद्योग वाणिज्य संघ नारायणगढको सभाहलमा शाखा कार्यालयमा कार्यरत २२ जना कर्मचारीलाई तालिम प्रदान गरेको छ । उक्त कार्यक्रममा विभिन्न संस्थाका प्रमुख तथा विभागिय प्रमुखका साथै विभिन्न बैंकमा कार्यरत अधिकृतहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ज्यातिनगर शाखाका प्रमुख श्री नेत्र प्रसाद गौतमले लघुवित्तमा बजारिकरण, एरिया प्रमुखमा भवनाथ सापकोटाले लघुवित्तमा जोखिम, एरिया प्रमुख बसिर मियाले लघुवित्तमा समय व्यवस्थापन, एरिया प्रमुख बलराम कालाखेतिले उत्प्रेरणा, र विमल कोईरालाले लघुवित्त बचतको महत्वबारे प्रशिक्षण प्रदान गरेका छन् । साथै विभागीय प्रमुख घनश्याम भट्टराईले आधारभुत लेखा सम्बन्धी र का.मु.नायम महाप्रबन्धकले लघुवित्तमा कर्जाको बारेमा प्रशिक्षण दिएका छा् । कार्यक्रमको सुरुवात तथा औचित्य बारे प्रमुख कार्यकारी अधिकृत प्रमेख आचार्यले गरेका हुन् भने लघुवित्तमा काम गर्ने कर्मचारीमा हुनु पर्ने गुण बारे जानकारी दिदै प्रमुख कार्यकारी अधिकृतले कार्यक्रमको समापन गरेका थिए । ४० वटा शाखामा संचालन भइरहेको उक्त लघुवित्त शाखामा २६ हजार ५ सय ६४ सदस्यबाट १ अर्ब ३७ करोड लघु कर्जाको साथै बचत परिचालनमा ५० करोड उठाउन बाँकी रहेको छ । राष्ट्रिय स्तरबाट संस्थाको निकट भविष्यमा लघुवित्तमा स्तरोन्नती भई देशका विभिन्न ग्रामिण क्षेत्र लक्षित स्थानहरुमा शाखा विस्तार गर्ने योजना रहेको छ ।

सानिमा लाइफले ल्यायो ‘सानिमा जीवन श्री’ योजना, बीमाङ्कमा ७० रुपैयाँ बोनस पाइने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले “सानिमा जीवन श्री” नामक नयाँ जीवन बीमा बजारमा ल्याएको छ । इन्स्योरेन्सले कम्पनीको प्रविधिक तथा व्यवसायिक समूह र जीवन बीमाका विशेषज्ञ बीमाङ्कीको समुहबाट उक्त योजना ल्याएको हो । यस योजना अन्तर्गत जीवन बीमा गर्दा पुरा बीमा अवधिको लागि प्रतिहजार बीमाङ्कमा ७० रुपैयाँ बोनस ग्यारेन्टी गरिएको कम्पनीले जानकारी दिएको छ । योजनाको बीमा शुल्क भुक्तानी अवधि ६, १०, १५ र १८ वर्ष र बीमा अवधि १०, १५, २० र २५ वर्ष निर्धारण गरिए कम्पनीले जनाएको छ । सो योजनामा न्यूनतम बीमाङ्क ५ लाख रुपैयाँ र अधिक्तम बीमाङ्क आयश्रोतको आधारमा निर्धारण गरिने छ । कम्पनीले १६ वर्षदेखि अधिकक्तम ६० वर्ष उमेरका व्यक्तिहरुलाई लक्षित गरी उक्त योजना ल्याएको हो । त्यस्तै, न्यूनतम बीमा अवधि १० वर्ष र अधिक्तम २५ वर्ष रहेको छ । बीमाङ्क रकम भुक्तानी दिने अवस्था बीमा समाप्ती मितिसम्म बीमित जीवीत रहेमा बीमा लेखको शर्तहरुको अधिनमा रही प्रत्यक वर्ष पुरा बीमा अवधिको बोनस एकमुष्ट प्रदान गरिनेछ । प्रत्येक वर्ष प्रतिहजार बीमाङ्कमा ७० रुपैयाँ ग्यारेण्टी बोनस समेत एकमुष्ट प्रदान गरिने इन्स्योरेन्सले जनाएको छ । त्यस्तै, बीमा अवधिभित्र बीमालेख चालु रहेको अवस्था बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क प्रदान गरिने छ ।

‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गर्दै प्रदेश सरकार

काठमाडौं। प्रदेश ३ सरकारले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम संचालन गर्ने भएको छ। दुई वर्षअघि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक विद्याल एक नर्स’ कार्यक्रम संचालनमा ल्याउने योजना बनाएको थियो। कार्यक्रम संचालनका लागि प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले प्रदेशभित्रका सामुदायिक विद्यालयका प्राध्यानाध्यापक, स्थानीय पालिकाका प्रतिनिधि लगायतलाई एक दिने अभिमूखीकरण तालिम प्रदान गरेको छ। पहिलो चरणमा छनौट गरिएका १३ जिल्लाका २० विद्यालयमा यो कार्यक्रम संचालन गरिने जानकारी प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। कार्यक्रम अन्तर्गत परिवार नियोजन, यौन तथा यौनिकता, व्यक्तिगत र वातावरणीय सरसफाई तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी परार्मश सेवा प्रदान गरिने लक्ष्य लिइएको छ। यसैगरी, स्वस्थ जीवनशैली, स्वस्थकर खानपिनका सम्बन्धमा परामर्श र विद्यालय स्वास्थ्य इकाई निर्माण गरी विद्यार्थीलाई स्वास्थ्य सेवा पनि प्रदान गरिनेछ। सामान्य स्वास्थ्य परीक्षण, पोषण लेखाजोखा, नियमित स्वस्थ जीवनशैलीबारे जानकारी गराउन, प्राथमिक उपचारको व्यवस्था, अभिभावक-बालबालिकाको स्वास्थ्य र स्वस्थ जीवनशैलीका बारेमा जानकारी गराउने लगायतका काम पनि विद्यालयका नर्सले गर्नेछन्।