विकासन्युज

गण्डकी प्रदेश सरकार र विश्व बैंकको आर्थिक सहयोगमा, लुदीखोलामा पक्की पुल बन्दै

काठमाडौं । गण्डकी प्रदेश सरकार र विश्व बैंकको आर्थिक सहयोगमा गोरखाकाे लुदीखोला पक्की पुल बन्ने भएको छ । शहीद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ जोड्ने लुदीखोलामाथि पक्की पुल निर्माण हुने भएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय लमजुङ र विश्व बैंकको आर्थिक सहयोगमा पुल निर्माण हुन लागेको हो । कूल रु तीन करोड ४४ लाख ३१ हजारको लागतमा पुल निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमख राम पराजुलीले जानकारी दिएका छन् । विसं २०७६ असार मसान्तसम्म काम सक्ने गरी पुल निर्माणका लागि नीलगिरि अधिकारी जेभी काठमाडौंसँग ठेक्का सम्झौता भएको छ । कार्यालय प्रमुख पराजुलीले सम्झौता अवधिभित्र जुनसुकै हालतमा पनि पुल निर्माण हुनु पर्ने जनाएका छन् । अन्य विकासको आयोजना जस्तो यसमा सम्झौता अवधि थप गर्न सकिने अवस्था छैन विश्व बैंकको ग्रामीण विकास पूर्वाधार कार्यक्रम अन्तर्गत प्राप्त पुल निर्माणका लागि आएको यो कार्यक्रम असार मसान्तसम्म सम्पन्न गर्नु पर्नेमा जोड दिएका छन् । पुलको कुल लम्बाइ २१ दशमलव ७ किलोमिटर रहनेछ भने चौडाइ छ मिटरको हुने समय पहिले नै पुल निर्माणको काम अघि बढ्नुपर्ने भए पनि जग्गा विवादका कारण केही ढिलाइ भएको आयोजकले बताएको छ । पुल निर्माण भएसँगै शहीद लखन गाउँपालिकाभित्र उत्पादन हुने कृषिजन्य सामग्रीको बजारीकरणका लागि सहज हुने भएको छ । उक्त सडकखण्ड शहीद लखन गाउँपालिकाबाट मुख्य राजमार्ग पृथ्वी राजमार्गसँग जोडिएको सबैभन्दा छोटो दूरीको सडकखण्ड भएकाले पनि त्यहाँका स्थानीयवासीलाई राजधानी काठमाडौँ, पोखरा, चितुवन लगायतका शहर आवातजावतमा छिटो र सजिलो हुनेछ । झोलुङ्गे पुलसमेत नहुँदा त्यस क्षेत्रका स्थानीयवासीले बाह्रै महीना आवातजावतमा हैरानी खेप्दै आएका छन् । रासस

मेलम्चीमा ‘पैसा खायो’ भन्नु ‘साउनमा आँखा फुटेको गोरुले हरियो देखे’ जस्तै हो: मन्त्री मगर

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजनामा लेनदेन भएको आरोप अस्वीकार गरेकी छिन् । मन्त्री मगरले आफु मेलम्चीको पानी काठमाडौंका बासिन्दालाई बाँड्न आतुर रहेको भन्दै मन्त्रालयले उच्च गतिमा काम गरिरहेको बताएकी हुन् । आज राजधानीमा आयोजित संघीयतामा खानेपानी तथा सरसफाइ र गन्तव्यः दिगो विकास लक्ष्य विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री मगरले यस्तो कुरा बताएकी हुन् । कार्यक्रममा उनले भनिन्–मेलम्ची आयोजनामा पैसा खायो भन्नु साउनमा आँखा फुटेको गोरुले सधैँ हरियो देख्छ भने जस्तै हो । आयोजना निर्माण गरिहेको इटालियन कम्पनी सीएमसीले पुनः काम गर्ने भन्नेमा विस्वास गर्ने वातावरण नभएपनि मन्त्रालयले उच्च स्तरमा वार्ता गरिरहेको छ । कम्पनीले ठेक्का तोडेको पत्र फिर्ता लिएको छ । ठेक्का तोडेको पत्र फिर्ता लिएर सिएमसी काममा फर्कन तयार भएको हो । तर यसमा  मन्त्रालयले विस्वासको आधार खोजिरहेका छ । कम्पनीले १७ डिसेम्बरमा सिएमसीले ठेक्का तोडेको पत्र लेखेको थियो । मेलम्ची आयोजनाले सिएमसीको बैंक खाता रोक्का गर्न पत्राचार गरेपछि सिएमसीले २१ डिसेम्बरमै पत्र लेखेर ठेक्का तोडेको पूर्व पत्र फिर्ता लिएको थियो । सोही दिन सिएमसीले बैंक खाता रोक्का गर्ने निर्णय विरुद्ध अदालतमा मुद्दा समेत हालेको थियो । आइतबार अदालतमा सिएमसीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले वहस गरेका थिए । सोही वहस पश्चात सिएमसी काममा फर्कन तयार भएको हो ।

पाँच अर्ब १२ करोडमा मध्यत्रिशूली गङ्गा जलविद्युत् आयोजना बन्ने, विद्युत् खरिद बिक्री सम्झौता

बेत्रावती । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माणाधीन ‘मध्य त्रिशूली गङ्गा जलविद्युत् आयोजना’सँग विद्युत् खरीद बिक्री सम्झौता (पिपिए) गरेको छ । पर्फेक्ट इनर्जी डेभलप्मेन्ट प्रालि प्रवद्र्धक रहेको १९.४१ मेगावाट क्षमताको आयोजनामार्फत उत्पादित विद्युत् खरिदका लागि कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता कार्य सम्पन्न भएको हो । दुई पक्षबीच भएको सम्झौताअनुसार आयोजनाबाट सुक्खायाममा (मङ्सिर १६ देखि जेठ १५ सम्म) उत्पादन हुने विद्युत् आठ रुपैयाँ ४० पैसा र वर्षायाममा (जेठ १६ देखि मङ्सिर १५ सम्म) उत्पादन हुने विद्युत् चार रुपैयाँ ४० पैसामा खरीद गर्ने आयोजनाको प्रवद्र्धक पर्फेक्ट इनर्जी डेभलप्मेन्ट प्रालिले विज्ञप्तिमार्फत जानकारी दिएको छ । सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका तर्पmबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र विद्युत् व्यापार विभागका प्रमुख प्रवल अधिकारी तथा प्रवद्र्धक कम्पनीका तर्पmबाट कम्पनीका प्रबन्ध सञ्चालक भरतकुमार खड्का र आवसीय इञ्जिनीयर देवेन्द्र बस्नेतले हस्ताक्षर गरे । प्रवद्र्धक कम्पनीका आवासीय इञ्जिनीयर बस्नेतका अनुसार दुई पक्षबीच गत मङ्गलबार पिपिए पत्रमा हस्ताक्षर भएको र बाँकी रहेको ‘अफिसियल’ प्रक्रिया आइतबार पूरा भएको हो । सम्झौताअनुसार आयोजनाले विसं २०८० जेठ १७ सम्ममा निर्माण कार्य सम्पन्न गरी प्राधिकरणलाई विद्युत् उपलब्ध गराउनुपर्ने उल्लेख छ । आयोजना क्यू सेभेन्टी मोडेलमा रहने छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा बाँध बाधेर विदुर नगरपालिका–७ तुप्चे ९बेत्रावती०मा विद्युत् उत्पादन गृह रहने आयोजना पूरा गर्न पाँच अर्ब १२ करोड लाग्ने कम्पनीले जनाएको छ । आयोजनाका तर्फबाट प्रवद्र्धक कम्पनीको ३० प्रतिशत लगानी रहने छ भने बाँकी लगानीको लागि वित्तीय व्यवस्थापनको प्रक्रियामा रहेको छ । रासस

कोवाङ सडकको जिम्मा निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीलाई, अध्ययन शुरु

काठमाडौं । बेनी–जोमसोम सडकमा पहिरोको जोखिमको बारेमा प्राविधिक अध्ययन शुरु भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको नारच्याङ पुलदेखि मुस्ताङको कोवाङ खण्डको सडक स्तरोन्नति र कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीले पहिरोको अध्ययन गर्न प्राविधिक टोली खटाएको छ । भूगर्भविद् सञ्जय देवकोटा, राजमार्ग विज्ञ सञ्जीतकुमार झा र वातावरणविद् पूर्णचन्द्रराल राजभण्डारीको टोलीले आइतबारदेखि स्थलगत अध्ययन शुरु गरेको शर्मा–गजुरमुखी कम्पनीका प्रतिनिधि सचिन क्षेत्रीले बताएका छन् । गुइठे, जलथले, काभ्रे, लेते लगायत भुरुङ तातोपानीदेखि कोवाङसम्मको सडक वरपरको क्षेत्रमा पहिरोको जोखिमको बारेमा अध्ययन गरिने भएको हो । निर्माण कम्पनीले आफ्नै खर्चमा विज्ञ ल्याएर अध्ययन शुरु गरेको क्षेत्रीको भनाई रहेको छ । विज्ञ टोलीले दिने प्रतिवेदनको आधारमा आयोजनासँग समन्वय गरेर सडकको संरचना तयार पारिने छ । कालीगण्डकी नदीको पश्चिमी भागको किनारै किनार निर्माणाधीन सडक भिरालो, कमजोर भूगोल र तटीय क्षेत्र भएकाले पहिरो र कटानको जोखिममा छ । गत वर्षात्मा बाढी र पहिरोका कारण शर्मा–गजुरमुखी कम्पनीले काम गरिरहेको क्षेत्रमा रु पाँच करोड मूल्य बरारबको भौतिक क्षति पुर्याएको दाबी गरेको छ । भूगोल अनुकूल, वातावरणलाई असर नपुग्ने गरी संरचना बनाएर दिगो र क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्राविधिक अध्ययन शुरु गरिएको छ । बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर दूरीको सडकलाई कालोपत्रे गर्न चार वटा प्याकेजमा काम भइरहेको छ । मङ्सिर महीनादेखि सडक स्तरोन्नतिको लागि बेनी–जोमसोम सडकमा दैनिक आठ घण्टा सवारी आवतजावत रोकेर काम गर्ने व्यवस्था मिलाइएको छ । बिहान ७ः३० देखि दिउँसो ११ः३० बजेसम्म र दिउँसो २ः३० बजेदेखि ६ः३० बजेसम्म सवारी आवातजावत रोकेर सडक निर्माणको काम गरिँदै आएको छ । रासस

नागिडाडा आन्तरिक विमानस्थलकाे काम सुस्त, क्षेत्र निर्धारण नै हुन सकेन

काठमाडौं । नागिडाडा आन्तरिक विमानस्थलको काम सुस्त गतिमा अघि बढेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग्याउन बनाउन लागिएको सो विमान स्थलको कार्यप्रगति हुन सकेको छैन । नागरिक उड्यान प्राधिकरणले विमानस्थलको क्षेत्र निर्धारण र वातावरणिय प्रभाव मूल्याङकन वातावरण मन्त्रालयमा पेश गरेको छ । तर हालसम्म स्वीकृति हुन सकेको छैन । नागिडाडा विमानस्थलको कार्यप्रगति सन्तोसजनक नरहेको प्राधिकरणका प्रवक्ता बिरेन्द्र श्रेष्ठले बताए । ‘नागिडाडामा विमानस्थल बनाउन केहि भौगाेलिक कठिनाई रहेको छ, तर यसको क्षेत्र निर्धारण नै हुन नसकेकोले अरु काम अघि बढ्न सकेको छैन, प्रवक्ता श्रेष्ठले विकासन्युजसँग भने क्षेत्र निर्धारणको काम भएपछि डीपीआर निर्माणको लागि काम अघि बढाउँछौं ।’ नागिडाडाको क्षेत्र निर्धारण सम्बन्धी फाइल अध्ययनकै क्रममा रहेको मन्त्रालय स्रोतले जनाएको छ । बनेपा नगरपालिकाको ११ र १२ नम्बर वडामा पर्ने विमानस्थल निर्माणबाट पर्ने स्थानीय क्षेत्रमा भौतिक, जैविक, सामाजिक, आर्थिक र साँस्कृतिक प्रणाली र पर्ने प्रभावको अध्ययन गरी प्राधिकरणले स्वीकृतिको लागि वातावरण मन्त्रालयमा प्रस्ताव पेश गरेको थियो । ईआईएको प्रतिवेदन परामर्शदाता प्याक्ट कन्सलट्यान्ट प्राइभेट लिमिटेडले तयार पारेको हो । विमानस्थल बन्ने स्थान नागिडाडा आन्तरिक हवाइजाहाज उडान र अवतरणकाका लागि निर्माण हुने प्रस्तावित विमानस्थलको उत्तर–दक्षिण फैलिने रनवे स्ट्रीप १५०० मि। १५० मी, एप्रोन ५५ हजार वर्गमिटर र विमानस्थल टर्मिनल स्टाफ क्वाटर समेत गरी थप ७ हजार वर्गमिटर रहनेछ । चालू आर्थिक वर्षका लागि यस आयोजनामा २५ करोड बजेट विनियोजन गरिएको छ । विमानस्थल निर्माण हुने जग्गा अधिकांश सरकारी रहेको छ । नागीडाडा पनौती र पाटनबाट नजिकैको दुरीमा पर्ने भएकाले सडक सञ्जालसँग जोडिन पनि सहज रहेको छ । एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा विमानको चाप अधिक भएपछि आन्तरिक उडानलाई अलग गर्न लागिएको हो । यस विमानस्थलमा १२ सय मिटरको धावनमार्ग र ३ सय मिटरको चौडाईमा फैलाउन सकिनेछ भने २५ देखि ३० वटा विमान पार्किङ गर्न सकिनेछ । यो विमानस्थल साना विमानका लागि मात्र उपुत्त हुनेछ । विमानस्थल निर्माणमा सामान्य भन्दा धेरै खर्च लाग्ने इन्जिनियरहरुले प्रारम्भिक अनुमान गरेको छ । आन्तरिक उडानले नै ६५ प्रतिशत ओगट्ने भएकोले अन्तराष्ट्रिय उडानमा समस्या पर्ने गरेको विमानस्थलका अधिकारीहरु बताउछन् । एक मात्र अन्तराष्ट्रिय विमानस्थल व्यस्त बन्दा जहाजहरु अवतरण गर्न १ देखि २ घण्टासम्म आकासमै होल्डिङ गर्नुपर्ने समस्या रहेको छ । याे पनि हेर्नुहाेस् नागीडाँडामा विमानस्थल ४० मिटर खार्नुपर्ने, २० लाख क्युबिक मिटर माटो अन्तर्राष्ट्रिय विमानस्थल ल्याइने

पर्यटकीय सम्भावना रहेको म्याग्दीकाे स्वर्गाश्रम र बेलढुङ्कोमा पदयात्रा मेला आयोजना हुँदै

काठमाडौं ।  प्रशस्त धार्मिक र पर्यटकीय सम्भावना क्षेत्र स्वर्गाश्रम र बेलढुङ्को प्रचारप्रसार गरी आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले पदयात्रा र मेला आयोजना गरिने भएको छ । म्याग्दीको बेनी नगरपालिका–३ मा अवस्थित उक्त स्थानमा विभिन्न सङ्घसंस्थाको सहकार्यमा स्थानीय स्वर्गाश्रम युवा क्लबले आयोजना गर्ने मेला पुस २६ देखि माघ ३ गतेसम्म सञ्चालन हुनेछ । माघे सङ्क्रान्ति पर्वको अवसर पारेर आयोजना गर्न लागिएको ‘माघे सङ्क्रान्ति सांस्कृतिक तथा पर्यटन मेला २०७५’ मा धार्मिक तथा पर्यटकीय क्षेत्र स्वर्गाश्रम, बेलढुङ्गा लगायत भकिम्लीमा रहेका सम्भावनायुक्त ठाउँमा पर्यटन प्रवद्र्धनका विषयमा छलफल समेत हुने आयोजक समितिका प्रचारप्रसार संयोजक कमल पुनले जानकारी दिएका छन् । स्थानीय कला संस्कृतिको सम्वद्र्धन, माघे सङ्क्रान्ति मेला पर्यटन प्रवद्र्धन भन्ने मूल नाराको साथ हुन लागेको उक्त कार्यक्रममा आयोजना गरिएको जनाएका छन् । पुस २९ गते म्याग्दी भ्रमण वर्षलाई लक्षित गरी पर्यटन पदयात्रासमेत गरिने कलबका अध्यक्ष भीम पुनले बताएका छन् । रासस

कामना सेवा विकास बैंकद्वारा अर्चलबोट आमा समूहलाई डस्ट्विनप्रदान

काठमाडौं । कामना सेवाविकास बैंकले पोखराको अर्चलबोट स्थित “अर्चलबोट आमा समूह”लाई डस्ट्विन लगायतका सरसफाइका सामग्री प्रदान गरेको छ । पोखरा महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रामेश्वर मल्लको अध्यक्षतामा आयोजित बैंकका सञ्चालक सदस्य चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा पूर्व संचालक विष्णुराज पराजुलीले संयुक्त रुपमा आमा समूहका अध्यक्ष कल्पना पराजुलीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । आमा समूहको महत्वपूर्ण भूमिकाले भविष्यमा सकरात्मक परिवर्तन ल्याउने सक्ने र बैंकले उक्त सामाग्रीहरुको पूर्ण सदुपयोग हुने विश्वासलिएको सञ्चालक सदस्य चतुराखर अधिकारीले बताएका छन् । यस अवसरमा बैंकका सञ्चालक देवकृष्ण काफ्लेले स्वच्छ सफा पोखरा अभियान अन्र्तगत उक्त सामाग्रीहरु प्रदान गरेको हो ।

नेपाल टेलिकमले तोक्यो साधारणसभाको मिति, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले साधारणसभा बोलाएको छ । टेलिकमको आइतबार बसेको सञ्चालक समितिको ८०३ औं बैठकको निर्णयअनुुसार कम्पनीले आफ्नो ११ औं साधारणसभा पुस ३० गते भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा दिउँसो ३ बजे बस्नेगरी तयारी गरेको टेलिकमले जनाएको छ । साधारणसभामा सञ्चालक समितिको प्रतिवेदन र अघिल्लो आर्थिक वर्षको आर्थिक प्रतिवेदन पारित गर्नुको साथै आगामी आवको लागि लेखापरीक्षक नियुक्त गर्नुबाहेक सञ्चालक समितिले तनेकेको प्रतिकित्ता ५५ रुपैंया बराबरको जगद लाभांश बाँड्ने प्रस्ताव पारित गर्ने भएको छ । उक्त प्रयोजनका लागि पुस १२ गतेदेखि साधारणसभाको दिनसम्म बुक क्लोज हुनेछ । जसअनुसार पुस ११ गतेसम्म शेयर स्वामित्व भएका शेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।