विकासन्युज

ब्याजदर विवादमा अमेरिका पनि, फेडेरल रिजर्भ बैंकका अध्यक्ष हटाउने ट्रम्पको तयारी

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडेरल रिजर्भ बैंक(फेड)का अध्यक्षलाई हटाउने तयारी थालेका छन् । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग विवाद बढेपछि रिजर्भ बैंक अफ इण्डियाका गभर्नर उर्जित पटेलले राजीनामा गरेको केहि हप्तापछि नै अमेरिकी केन्द्रिय बैंकका अध्यक्षलाई हटाउने तयारी अघि बढेको हो । फेडका अध्यक्ष जेरोम पावेललाई बर्खास्त गर्ने कानूनी प्रावधानबारे ट्रम्पले ‘अनौपचारिक एवम् गोप्यरूपमा’ छलफल चलाएको अमेरिकी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । राष्ट्रपतिको सहमति विपरित फेडरल बैंक (फेड) ले बैंकको ब्याजदर बढाएपछि ट्रम्पले आपक्ति जनाएका थिए । फेडले आगामी बर्ष पनि ब्याज बढाउने सङ्केत गरेपछि ट्रम्प बैंकका अध्यक्षसँग क्रुद्ध बनेका समाचारमा बताइएको छ । बैंकले यसै बर्षमात्र तेस्रो पटक ब्याजदर बढाएपछि ट्रम्प बैंकका प्रमुखसँग चिढिएका हुन । यद्यपी अमेरिकी ट्रिजरी सेक्रेटरी स्टेभन मनुचिनले ट्रम्पलाई उद्धृत गर्दै पावेललाई हटाउने कुनै योजना नरहेको बताएका छन । “मैले कहिल्यै पावेललाई हटाउन सुझाब मागेको छैन, न त्यसो गर्ने अधिकार ममा रहेको विश्वास नै छ,” मनुचिनले ट्वीटरमार्फत ट्रम्पको प्रतिक्रियालाई उल्लेख गरेका छन् । पावेललाई कार्यकाल पूरा नगरि हटाउन खोज्नुलाई अमेरिकी संविधानले स्वतन्त्र अख्तियार दिएको फेडमाथिको प्रत्यक्ष राजनीतिक हस्तक्षेप हुने र विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रका लागि प्रमुख भूमिका खेल्ने शक्तिशाली संस्थाप्रति नकारात्मक सन्देश जानसक्ने सञ्चारमाध्यमहरूले बताएका छन् । फेडमाथिको हस्तक्षेपले अन्तराष्ट्रिय स्टक बजारमा समेत अस्थव्यस्तता सिर्जना गर्नसक्छ । ट्रम्पको आक्रमक व्यापार नीतिले अमेरिकी डलरलाई विश्वका अन्य मुद्रासँग मजबुत बनाएको र यसले अमेरिकालगायत विश्वव्यापी आर्थिक विकासमा कमी ल्याउने र अर्थबजारलाई कमजोर पार्ने बताउने गरिएको छ । गत शुक्रबार वाल स्ट्रिट (अमेरिकी शेयर) बजारमा तेस्रोपटक प्रत्यक्ष महशुस हुनेगरी गिरावट देखिएको थियो । अमेरिकी शेयर बजारमा गत साता विश्वव्यापी वित्तीय सङ्कटका समय अर्थात् सन् २००८ पछिकै नराम्रो प्रभाब परेको थियो । अमेरिकी केन्द्रीय बैंक अध्यक्ष पावेललाई जानेट यलेनको उत्तराधिकारीका रूपमा यसै बर्षको फेब्रुअरीमा चार बर्षका लागि जिम्मेवारी दिएका थिए । गत मङ्गलबार ट्रम्पले फेडलाई ब्याज बढाएर ‘अझ अर्को गल्ती’ नगर्न चेतावनी दिएका थिए । ट्रम्पले अमेरिकी राष्ट्रपतिद्वारा फेडप्रतिको परम्परागत स्वतन्त्रतामाथि वेवास्था गर्दै उक्त संस्थालाई ‘उन्मादी’ र ‘नियन्त्रण बाहिर’ रहेको जनाउँदै यो अमेरिकी अर्थतन्त्रका लागि चीनभन्दा ठूलो खतरा बनेको आरोप लगाउँदै आएका छन् । सञ्चारमाध्यमहरूले ट्रम्पको पछिल्लो भनाइबारे जानकारी लिन गरेको प्रयासमा फेडका प्रवक्ता तत्काल उपलब्ध भएनन् ।

१२ कक्षा पास गर्नेलाई १ लाख रुपैंया उपलब्ध गराउने सरकारको तयारी

काठमाडौं । विद्यालय भर्ना भई माध्यामिक तहको कक्षा पूरा गर्ने व्यक्तिलाई कम्तीमा १ लाख रुपैंया दिनेगरी प्रदेश नं २ सरकारले शिक्षा बीमा गराउने प्रयास सुरु गरेको छ । सरकारले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रमअन्तर्गत जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएका बालिकाले माध्यामिक तह पूरा गरी २० बर्ष पूरा गरेमा उसलाई कम्तीमा एकलाख रुपैंया दिनेगरी व्यवस्था गर्नेगरी शिक्षाबीमा गराउन प्रदेश २ सरकारले १५ दिनको समयसीमा दिएर बैंक तथा बीमा कम्पनीहरुलाई प्रस्ताव पेश गर्न आह्वान गरेको हो । इच्छुक बैंक तथा बीमा कम्पनीहरुले उक्त समयभित्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रस्ताव पेश गर्नसक्ने प्रदेश नं २ सरकारले जनाएको छ ।

इटालियन कम्पनी मेलम्चीको काममा फर्कियो, ठेक्का तोडेको पत्र फिर्ता

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेक्का तोडेर भाग्न लागेको इटालियन कम्पनी पुनः काममा फर्कन तयार भएको छ । ठेक्का तोडेको पत्र लेखेर स्वदेश फर्कन लागेको कम्पनीले सो पत्र फिर्ता लिएको हो । ‘ठेक्का तोडेको पत्र फिर्ता लिएर सिएमसी काममा फर्कन तयार भएको छ, यसले अब मेलम्चीमाथीको आशंका टरेको छ’, सिएमसीसँगको वार्तामा सहभागी भएका एक अधिकारीले विकासन्युजसँग भने । १७ डिसेम्बरमा सिएमसीले ठेक्का तोडेको पत्र लेखेको थियो । मेलम्च आयोजनाले सिएमसीको बैंक खाता रोक्का गर्न पत्राचार गरेपछि सिएमसीले २१ डिसेम्बरमै पत्र लेखेर ठेक्का तोडेको पुर्व पत्र फिर्ता लिएको थियो । सोही दिन सिएमसीले बैंक खाता रोक्का गर्ने निर्णय विरुद्ध अदालतमा मुद्धा समेत हालेको थियो । आइतबार अदालतमा सिएमसीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले वहस गरेका थिए । सोही वहस पश्चात सिएमसी काममा फर्कन तयार भएको हो ।

विश्वप्रसिद्ध ब्राण्ड किनबोनको आधिकारिक विक्रेता गोर्खा इको प्यानल

  काठमाडौं । चीनको विश्वप्रसिद्ध कम्पनी किनबोनबाट उत्पादित सामानहरुको नेपालको लागि आधिकारिक विक्रेता गोर्खा इको प्यानल भएको छ । गोर्खा इको प्यानलको भगिनी संस्था गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिले त्यसको आधिकारिक विक्रेताका लागि सम्झौता गरेको छ । यसको लागि गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं गोर्खा विण्डोरका सञ्चालक ईन्जिनियर कृष्णभक्त दुवाल र किनबोनका प्रबन्धक मेलिसा दोङले चीनमै संयुक्त हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा प्रबन्धक दोङले आफना उत्पादनमा १० वर्ष वारेन्टी रहेको बताइन् । साथसाथै कलर नखुइलिने पनि उनले जनाइन् । १४ वर्ग किलोमिटर क्षेत्रफलमा सन् १९९९ मा स्थापित किनबोन चीनकै सवैभन्दा ठूलो यूपीभीसीको उत्पादनकर्ता कम्पनी हो । भारतका मुख्य सहरहरु दिल्ली, चेनाई, हैदराबादमा पनि आउटलेट राखेको किनबोनले नेपाली बजारमा पनि आफनो यूपीभीसी प्रबद्र्धन गर्न गोर्खा विण्डोरलाई आधिकारिक विक्रेता दिएको उनले जनाइन् । किनबोन युपीभीसी झ्यालढोका उत्पादन गर्ने संसारकै प्रख्यात कम्पनी हो । किनबोनबाट उत्पादित सामानहरु संसारका २० भन्दा वढी देशहरुमा निर्यात भइरहेका छन् । अमेरिका, भारतलगायतका देशहरुमा उसका सामानहरु विक्रीवितरण भइरहेका छन् । चीनमा मात्रै ९० प्रतिशत भन्दा वढी बजार किनबोनका सामानहरुको रहेको बताइएको छ । आफूहरुले आफनो उत्पादनको गुणस्तरमा कहिले पनि सम्झौता नगरेको र सोही कारणले अमेरिकालगायतका मुलुकहरुमा पनि यूपीभीसी निर्यात भएको उनले बताइन् । किनबोनबाट उत्पादित सामान गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालि पनि काठको विकल्पको रुपमा रहेको युपीभीसी झ्यालढोकाको उत्पादन गर्ने नेपाली कम्पनी हो । मुख्य कार्यालय चाँंगुरोड भक्तपुरमा रहेको यस कम्पनीले विण्डोरका साथै प्रिकाष्ट (कारखानामा पहिला नै तयार पारिएको ढलानका स्लायाब) उत्पादन गर्दै आएको छ । गोर्खा विण्डोरले किनबोनका यूपीभीसी सामानहरु आफूले बनाउने झयालढोकामा प्रयोग गर्नुका साथै अरु कम्पनीहरुलाई पनि बेच्न यो आधिकारिक विक्रेता लिएको जनाएको छ । गोर्खा विण्डोरका सञ्चालक इन्जिनियरि कृष्णभक्त दुवालले आफूहरुले विगत दुई वर्षदेखि विभिन्न देशका विभिन्न ब्राण्डका यूपीभीसीहरु आयात गरी झयालढोका बनाउँंदै आएको र किनबोनको सामान उत्कृष्ट रहेकाले यसपाली नेपालमा प्रबद्र्धन गर्न आधिकारिक विक्रेता लिएको जनाए ।

मुख्यमन्त्री पौडेल भन्छन्-परियोजना बैंकको कार्यान्वयन छिट्टै हुन्छ

हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शुरु गर्न लागेको परियोजना बैकलाई छिट्टै नै कार्यान्वयनको चरणमा लगिने बताएका छन् । आईतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको छलफलमा बोल्दै उनले पहिलो चरणमा प्रदेश सरकारले आफ्ना सातवटै मन्त्रालयले गर्ने कामका योजनाहरुलाई परियोजना बैंकमा राखेर मात्र कार्य प्रकृया अगाडि बढाईने बताए । योजनाहरु हरेकका खल्तीबाट आउन लागेको भन्दै मुख्यमन्त्री पौडेलले परियोजना बैंकमा समाबेश योजनाहरुलाई प्राथामिकतामा राखिने बताए । ‘परियोजना बैंक बनेपछि खल्तीबाट आउने योजनाहरुको अन्त्य हुनेछ’–मुख्यमन्त्री पौडेलले भने । व्यक्तिका खल्तीबाट आउने योजनाहरुलाई निरुत्साहित गर्दै संस्थागत योजनाहरु कार्यान्वयनमा परियोजना बैकको भूमिका महत्वपुर्ण हुने उनको भनाई छ । चालु आर्थिक बर्षका योजनाहरु सुरु भईसकेकाले आगामी आर्थिक बर्षमा परियोजना बैंकका योजनाहरु कार्यान्वयनमा लैजाने सरकारको तयारी छ । चालु आर्थिक बर्षभित्र नै परियोजना बैंक निर्माण गरी आगामी आवबाट लागू गर्ने गरी तयारी भएको राष्ट्रिय नीति तथा योजना आयोगका उपाध्यक्ष डा। खिमलाल देवकोटाले जानकारी दिए । बैंकको स्थापना पछि व्यक्तिगत स्वार्थ भन्दा पनि सामाजिक आबश्यकका आधारमा छनौट गर्ने र कार्यन्वनका चरणमा लैजाने पनि सरकारले योजना अगाडि सारेको छ । परियोजना बैंक योजना कार्यान्वयनमा विभिन्न समस्या हुने भन्दै प्रदेश सरकारले परियोजना बैंक स्थापनाको कार्यलाई तिब्रता दिन लागेको हो । परियोजना बैकको पहिलो चरणको खाका तयार पारेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब केबल भण्डारीले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रस्तुती समेत गरे । कार्यक्रममा विभिन्न प्रदेशका मन्त्रालयका सचिबहरु समेत सहभागि थिए ।

एनआईसी एशियाको शाखा सुनसरीको प्रकाशपुर र इनरुवामा

काठमाडौं । एनआईसी एशिया बैंकको २ नयाँ शाखा कार्यालय सुनसरीका प्रकाशपुर र इनरुवामा विस्तार भएको छ । इनरुवानगरपालिका वडा नं.१ शान्तिचोक स्थित इनरुवाशाखाको इनरुवा नगरपालिकाका मेयर राजन मेहताबाट र बराहक्षेत्र १०, सुनसरी स्थित प्रकाशपुर शाखाको बराह क्षेत्र नगरपालिकाका मेयर निलम खनालबाट समुद्घाटन भएको छ । मुलुकभर २७० शाखा कार्यालयहरु, २८६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरेको छ । बैंकको वासलातको आकार रू. २१० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १५५ अर्ब पुगेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४लाख रहेको छ ।  

पहाड फोडेर काठमाडौं र तराई/मधेश जोड्दै फास्ट ट्रयाक, युद्धस्तरमा काम गर्दै नेपाली सेना

काठमाडौं । तराई मधेश र पहाडको सिधा दुरी धेरै नभएपनि भौगोलिक अवस्थितीले निकै टाढा रहेको अनुभूति दिलाईरहेको छ । यतिबेला काठमाडौं र तराईलाई जोड्ने चार विकल्प छन, पहिलो हो नारायणगढ मुग्लिन हुँदै नागढुंगा सडक, दोश्रो सडक हो हेटौँडा दामन हुँदै नौबिसे काठमाडौं सडक । तेश्रो विकल्पका रुपमा हेटौँडा कुलेखानी काठमाडौं सडक । र, चौथो विकल्पका रुपमा बर्दिबास सिन्धुली धुलिखेल सडक । यी सबै सडकबाट तराई मधेश हुँदै काठमाडौं आईपुग्न कम्तिमा आधा दिन खर्चनु पर्छ । https://bikashnewscdn.prixacdn.net/uploads/2018/12/fast_rack.mp4 तर, अबको केहि बर्षभित्रै काठमाडौं र तराई मधेशको दुरी एक घण्टामै छोटिँदै छ फास्ट ट्रयाकबाट । काठमाडौंबाट निजगढको दुरीलाई फास्ट ट्रयाकले ७६.२ किलोमिटर दुरीमा सिमित गर्दैछ । अझै सुरुङको संख्या र लम्बाई बढाउँदो संघिय राजधानी र तराई मधेशको दुरी ७३ किलोमिटरमै छोटिँदैछ र यात्रा एक घण्टा भन्दा कम समयमै सम्पन्न हुँदैछ । हो, त्यति सडकको नाम हो काठमाडौं तराई मधेश द्रुत मार्ग जसलाई छोटकरीमा फास्ट ट्रयाकको नामले चिनिन्छ । यतिबेला नेपाली सेनाको टोलीले तराई मधेश र पहाड जोड्ने फास्ट ट्रयाक निर्माणका लागि धमाधम पहाड फोरिरहेको छ । महाभारत, शिवालिग र चुरे पर्वत फोेरेर सेनाले देश भित्रको दुरी मेट्दैछ ।  प्रतिकिलोमिटर १२० घण्टाको स्पीडमा यहाँ सवारी साधनहरु गुड्नेछन् । एसियाली मापदण्डको यो सडक देशको समृद्धिमा कोशे ढुंगा सावित हुनेछ । सेनाले १० ठाउँमा क्याम्प खडा गरेर युद्धस्तरमा काम गरिरहेको छ । सांसद टोली स्थलगत अध्ययनमा संघिय संसदको विकास तथा प्रबिधि समिति सभापति कल्याणीकुमारी खड्का नेतृत्वको संसदिय समितिले फास्ट ट्रयाक निर्माणको स्थलगत अध्ययन गरेको छ । पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल, पूर्व मन्त्री प्रभु शाह, अनिल झा, सांसदहरु दामोदर भण्डारी, गणेश पहाडी, इन्दु शर्मा सहित सञ्चार कर्मीहरुको टोलीले धमाधम निर्माण भैरहेको सडकको अवलोकन गरेका थिए । सेनाले युद्धस्तरमै काम गरेको देखेपछि सांसदहरुको टोलीले समयमै सडक निर्माण हुनेमा आशावादी रहेको प्रतिक्रिया जनाए । यद्यपी सेनाले निर्माण गरेका स्थायी प्रकृतिको भौतिक संरचनाले भने मितव्ययीतामा केहि प्रश्न उठाएको उनीहरुले बताए । त्यस्तै, सडक निर्माणका क्रममा वातावरणीय पक्षलाई पनि ध्यान दिनुपर्ने सांसदहरुको निष्कर्ष रह्यो । पूर्व प्रधानमन्त्री माधव नेपालले सेनाको कामबाट सडक निर्माणमा सन्तोष गर्ने ठाउँ देखिएको बताए ।‘यो सडकको ट्रयाक खोल्ने जिम्मा सेनालाई मेरै सरकारले दिएको थियो, शिलान्यास गर्न पनि मै आउने सोँचेको थिएँ तर भ्याइन, अहिले निर्माणको समेत जिम्मेवारी पाएको सेनाले जुन रफ्तारमा काम गरिरहेको छ, त्यसले आशा जगाएको छ’, पूर्व प्रधानमन्त्री नेपालले भने । समिति सभापति कल्याणी खड्काले पनि सेनाले गरिरहेको निर्माण कार्य सराह्रनिय भएको बताईन् ।‘नेपाली सेनाले द्रुतगतिमा काम गरिरहेको छ, यो गतिलाई अझै बढाउन हामीले सघाउनु पर्छ, समयमै काम सम्पन्न गर्न के सहयोग गर्नुपर्ने हो त्यसका लागि समिति तयार छ’, खड्काले भनिन् । यद्यपी वित्तिय अनुशासनका सवालमा भने समिति सधै चनाखो रहने सभापति खड्काले बताईन् । ठेकेदारमा पनि दंग बुदुनेमा पहाड काट्ने जिम्मेवारी पाएको मृत सञ्जीवनी कन्स्ट्रक्सनका सञ्चालक बिरबहादुर लामाले सेनाकै स्पीडमा काम गरिएको बताए । ‘एक दिन काम रोकियो भने सेनाको टोली घरमै लिन जान्छन्, हामी सेनाले जसरी नै युद्धस्तरमा काम गरिरहेका छौं,स्थानीय अवरोध पनि सेनाले नै हटाउँछ, पैसा भुक्तानीमा पनि कुनै समस्या छैन्’, ठेकेदार कम्पनीका सञ्चालक लामाले भने ।  बदुनेको पहाड फोड्ने आफ्नो जिम्मेवारी समयमै सम्पन्न गरेर सेनालाई हस्तान्तरण गर्न लागेको पनि उनले जानकारी दिए । युद्ध जस्तै कठिन कामः सेना सेनाको फास्ट ट्रयाक आयोजनाका प्रमुख योगेन्द्र खाँणलेपनि युद्ध जस्तै कठिन जिम्मेवारीलाई कुशलता पुर्वक सम्पन्न गर्ने बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम तीब्र, दोस्रो चरणको टेन्डर अन्तिम चरणमा

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा हेरिएको गौतम बुद्ध विमानस्थल निर्माणको काम तीब्र गतिमा अघि बढेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी तीब्र गतिमा काम अघि बढाएको हो । अहिले हवाई पूर्वाधार र जमिन पूर्वाधारको काम धमाधम भैरहेको छ । पूर्वाधारका १२ विधामा ६० प्रतिशत काम सकिएको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता बिरेन्द्र श्रेष्ठले बताए । उनका अनुसार विमानस्थलमा हाल २४ घण्टा नै काम भैरहेको छ । कात्तिक १५ गतेदेखि सुरु भएको धावनमार्ग कालोपत्रेको काम अबको ६ महिनामा सकिनेछ । हाल विमानस्थलको ३ हजार मिटर लामो र ४५ मिटर चौडाइको रनवे, ट्याक्सी वे, घाङग्रा खोला, सहायक रोड, टर्मिनल बिल्डिङ, प्यासेन्जर बिल्डिङ, कन्ट्रोल टावर, एयर कार्गो, सब स्टेशन बिल्डिङको काम भैरहेको छ । आयोजनामा चालु आर्थिक वर्षको लागि ६ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । ५ महिनामा यस आयोजनामा ३ अर्ब ३९ करोड खर्च भैसकेको छ । विमानस्थलको टेक्निकल काम तर्फको टेण्डरको काम अन्तिम चरणमा पुगेको प्रवक्ता श्रेष्ठले बताए । टेक्निकल कामतर्फ भ्वाइस् कम्यूनिकेटिङ कन्ट्रोल प्रणाली, एटीएम कम्युनिकेशन, मेटोरोलोजिकल इक्युप्मेन्टस्, एटीएम कन्सोलेस्, इस्टुमेन्ट ल्याण्डिङ सिस्टम लगायत कामको लागि टेन्डर अन्तिम चरणमा पुगेको छ । यसका लागि एडीबीका प्रतिनिधि समावेश टोलीले केहि दिनमै कम्पनी छनोट गर्ने प्रवक्ता श्रेष्ठले बताए ।