हाथवे फाइनान्सको २ लाख ७० हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत
काठमाडौं । बिहीबार हाथवे फाइनान्स कम्पनीको २ लाख ७० हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब संस्थाको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ । सुनसरीको धरानमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको छ ।
पाइपलाइनमा रहेका ‘कमजोर कम्पनी’ले आइपीओ अनुमति पाउँछन् कि पाउँदैनन् ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ र एफपीओ निष्काशन प्रक्रिया नरोक्ने भएको छ । मुद्राबजार तथा पूँजीबजारको विद्यमान समस्या समाधानका लागि अर्थ मन्त्रालयद्वारा गठित राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको समिति गत पुस ४ गते अर्थमन्त्रीलाई बुझाएको प्रतिवेदनअनुरुप कानून नबनुञ्जेल पनि आईपीओ तथा एफपीओ निष्कासन प्रक्रिया नरोकिने भएको हो । समितिले तत्काल लागु गर्नुपर्ने भनेर सुझाव दिएकोले सोही सुझाव अनुसार बाझिने गरी बोर्डले प्रक्रिया अघि बढाउँछ कि बढाउँदैन भन्ने द्विविधा उत्पन्न भएको थियो । बोर्डका प्रवक्ता निरज गिरीले बोर्डले कानून संशोधनका लागि प्रक्रिया अघि बढाइसकेको, तर यो प्रक्रिया पूरा नहुञ्जेल विद्यमान कानून अनुसार नै आईपीओ निष्कासन प्रक्रिया लगायत बोर्डका अन्य कामहरु अघि बढ्ने दाबी गरे । समितिको प्रतिवेदनले ४ भन्दा कमजोर रेटिङ भएका कम्पनीहरुलाई आईपीओ निष्कासन गर्न नदिने व्यवस्था गर्न सुझाएको थियो । त्यस्तै प्रिमियम मूल्यमा आइपीओ र एफपीओ जारी गर्दा क्रमशः नेटवर्थको २ गुणा र नेटवर्थ बराबर भन्दा बढी मूल्यमा जारी गर्न नदिन सुझाव दिइएको थियो । हाल बोर्डमा प्रिमियम मूल्यमा आईपीओ र एफपीओका लागि कुनै आवेदन परेको अवस्था नभए पनि कमजोर रेटिङ भएका कम्पनीहरुले समेत आईपीओ निष्कासनका लागि आवेदन दिएका छन् । कार्यान्वयनको तयारी शुरु भइसक्योः प्रवक्ता नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले समितिले दिएको सुझावअनुसार बोर्डले गर्नुपर्ने कामहरु अघि बढाइसकेको बताए । हामीले गर्नुपर्ने भनेका अधिकांश कामहरु कानून संशोधन गरेपछि मात्र अघि बढ्छ, सुझाव समितिको प्रतिवेदनले दिएका सुझावका आधारमा त्यसका लागि प्रक्रिया अघि बढाइसकेका छौं, प्रवक्ता गिरीले भने । उनले कानून संशोधन नभएसम्म धितोपत्र बोर्डको कुनैपनि काम प्रभावित नहुने प्रष्ट पारे । बोर्डलाई दवाव दिन लगानीकर्ताको भेला नेपाल स्टक एक्सचेञ्जअगाडि बजार सुधारको काग गर्दै रिले र आमरण अनसन बसेका लगानीकर्ताको समूहले शुक्रबार बिहानका लागि काठमाडौंको भृकुटीमण्डपमा भेला बोलाएका छन् । शेयर बजार दबाब समूहका संयोजक हरि ढकालले लगानीकर्ताहरुलाई ११ः३० बजे भृकुटीमण्डपको खुल्ला स्थानमा भेला हुन आह्वान गरेका छन् । उनले राष्ट्र बैंकले पूँजी बजार सुधारका लागि गरेको व्यवस्थालाई आफूहरुले सकारात्मक रुपमा लिएको भन्दै धितोपत्र बोर्ड लगायत सम्वद्ध पक्षलाई पनि सुझाव कार्यान्वयनका लागि दवाब दिन रणनीति बनाउन भेला डाकिएको बताए ।
इनर्जी बैकिङ गर्न भारत सहमत, नेपालमा बढी हुने विद्युत् उपयोग गर्ने
काठमाडौँ । वर्षाको समयमा नेपालमा बढी हुने विद्युत् उपयोग गर्ने गरी ‘इनर्जी बैंकिङ’ गर्न भारत सहमत भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत् आदानप्रदान समिति पावर एक्सचेञ्ज कमिटी (पिइसी) को १३औँ बैठकले नेपाल र भारतबीच इनर्जी बैकिङ गर्ने निर्णय गरेको हो । नेपालले लामो समयदेखि बर्खायाममा उत्पादित बिजुली भारत निर्यात गर्ने र हिउँदमा उताबाट लिने गरी भारतसँग इनर्जी बैकिङ गर्ने प्रस्ताव अगाडि बढाएको थियो । आगामी वर्षदेखि माथिल्लो तामाकोशीलगायत केही आयोजना निर्माण सम्पन्न हुने र बर्खायामको विद्युत् नेपाललाई बढी हुने भएकाले त्यसको विकल्पका रुपमा भारत पठाएर इनर्जी बैंकिङ गर्न सकिने विषयमा छलफल हुँदै आएको थियो । नेपालबाट बैठकको नेतृत्व गरेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई मुलुकका विद्युत् खरीद–बिक्रीकर्तामार्फत इनर्जी बैकिङ गर्ने सहमति भएको जानकारी दिए । पिइसीको बैठकले इनर्जी बैकिङको विधि र प्रारुप समेटिएको निर्देशिकाको मस्यौदामा सहमति जुटाई अन्तिम रुप दिइएको हो । इनर्जी बैकिङको विधि र प्रारुप समेटिएको निर्देशिकालाई आगामी जनवरीमा बस्ने दुई मुलुकका सहसचिवस्तरीय ‘ज्वाइन्ट वर्किङ ग्रुप’ र सचिवस्तरीय ‘ज्वाइन्ट स्टेरिङ कमिटी’को बैठकले अनुमोदन गर्नेछ । यसअघि ‘ज्वाइन्ट स्टेरिङ कमिटी’ले इनर्जी बैकिङको विधि र प्रारुप तयार गर्न दुई मुलुकबीचको प्राविधिक कमिटीलाई निर्देशन दिएको थियो । “इनर्जी बैकिङका लागि तयार पारिएको निर्देशिकमा सहमति जुटेको छ, यसलाई दुई मुलुकबीचको विद्युत् व्यापार सम्झौताअन्तर्गतका सहसचिव र सचिवस्तरीय कमिटीले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ”, कार्यकारी निर्देशक घिसिङले भने, “इनर्जी बैकिङमा नेपाललाई ठूलो सफलता हासिल भएको छ, यो नेपालको ऊर्जा क्षेत्रको कोशेढुङ्गा हो ।” पिइसी बैठकले नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण अगाडि बढाउने निर्णय गरेको छ । बैठकमा सहभागी प्राधिकरणका प्रवक्ता एवं विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले नेपालले शुरुका पाँच÷सात वर्ष ‘इनर्जी बुक’ गर्न प्रस्ताव गरेको र त्यसमा भारत सकारात्मक रहेको बताए । “लाइन निर्माण गर्न करीब चार वर्ष लाग्ने भएकाले शुरुका पाँच÷सात वर्ष नेपालले इनर्जी बुक गर्ने र त्यसपछि नेपालले उक्त लाइन विद्युत् निर्यातका लागि प्रयोग गर्ने भएकाले सोही अनुसार लगानीको प्रारुप तयार हुनेछ”, उनले भने, “हामीले इनर्जी बुक गरेको पाँच÷सात वर्षमा पनि भारततर्फ विद्युत् लैजाँदा सम्बन्धित विद्युत् निर्यातकर्ताबाट प्रसारण शुुल्क असुल गर्न सक्ने विषयमा सहमति जुटेको छ ।” दुई मुलुकबीच विद्युत् आदानप्रदान गर्न निर्माण गरिएको पहिलो ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनलाई लगानीयोग्य बनाउन नेपालले २५ वर्षसम्म इनर्जी बुक गरेको छ । तर नेपालले दोस्रो अन्तरदेशीय प्रसारण लाइनमा पाँच÷सात वर्षमात्रै बुकिङ गर्ने भएको हो । “आयोजना निर्माण तथा सञ्चालन गर्न भारततर्फ स्थापना हुने कम्पनीमा नेपाललाई ५० प्रतिशतसम्म शेयर लगानी गर्न दिन भारतीय पक्ष सकारात्मक देखिएको छ”, प्रवक्ता अधिकारीले भने । पहिलो अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा सञ्चालनका लागि भारततर्फ निर्माण भएको कम्पनीमा प्राधिकरणको दश प्रतिशत मात्रै शेयर छ । बैठकमा प्राधिकरणले उत्तर विहार विद्युत् वितरण कम्पनीमार्फत आयात गरिरहेको विद्युत्को खरीद दरका विषयमा पनि छलफल भएको थियो । प्राधिकरणले पिइसीले तय गरेको मूल्यका आधारमा प्राधिकरणले विहार, उत्तरप्रदेश र उत्तराखण्डबाट आवश्यक परेको बेला मात्रै ‘लिने र तिर्ने’ आधारमा विद्युत् आयात गरिरहेको छ । भारतले केही दिनअघि मात्रै छिमेकी मुलुकसँगको विद्युत् आयातनिर्यातका लागि निर्देशिका जारी गरेकाले त्यसको अन्तरवस्तुमाथि छलफल गरेर मात्रै खरीद दरका बारेमा आवश्यक निर्णय गर्ने सहमति भएको प्रवक्ता अधिकारीले जानकारी दिए । नयाँ निर्देशिका आएको सन्दर्भमा पिइसीको सान्दर्भिकता हुने÷नहुने लगायतका विषयमा सम्बन्धित निकायहरुसँग थप छलफल गरी आवश्यक निर्णय गर्ने सहमति भएको छ । बैठकको निर्णयअनुसार प्राधिकरणले अहिले ३३ र १३२ केभी प्रसारण लाइनमार्फत प्रतियुनिट ६ र पाँच रुपैयाँ ५५ पैसा भारुमा विद्युत् खरीद गरी आयात गरिरहेको छ । बढी विद्युत् माग हुने समय अप्ठ्यारो परेको बेला मात्रै विहारबाट पिइसीले तय गरेको दरमा भारतबाट विद्युत् आयात गरिएको प्राधिकरणले जनाएको छ । विहारबाट सिराहा, जलेश्वर, वीरगञ्ज, विराटनगरमा ३३ केभी र कुशाहा–१, कुशाहा–२, गण्डक र परवानीपुरबाट १३२ केभी प्रसारण लाइनमार्फत विद्युत् आयात भइरहेको छ । उत्तरप्रदेशबाट ३३ केभीमार्फत नेपालगञ्जमा र उत्तराखण्डबाट ११ केभीमार्फत विद्युत् आयात गरी दार्चुला र बैतडीमा उपलब्ध गराइएको छ । प्राधिकरणले ५ जुलाई २०१८ मा सम्पन्न पिइसीको १२औँ बैठकमा आयात भइरहेको दरमा कति पनि भाउ बढाउन नसकिने अडान लिएपछि तीन महीनापछि पुनः बैठक बसेर दर तय गर्ने निर्णय भएको थियो । रासस
धरहराको जगमा ओलीको फूलअक्षता, एकै पटक ५४ जनाले अवलोकन गर्न मिल्नेछ(भिडियो)
काठमाडौं । प्रधानमन्त्री खड्कप्रसाद ओलीले नयाँ बन्न लागेको धरहराको जगमा फूलअक्षता चढाएका हुन् । सरकारका प्रभावशाली मन्त्रीहरु लिएर सुन्धारा पुगेका ओलीले धरहराको औपचारिक शिलान्यास गरेका हुन् । ठेकेदार कम्पनीलाई औलो देखाउँदै ओलीले भने-‘यो दुई वर्षभन्दा बढी कट्नु हुदैंन, समयमै निर्माण सम्पन्न गर्दा चौतर्फी नाफा छ किन ढिला गर्ने ?’ महानगरका मेयर विद्यासुन्दर शाक्यले निर्माणसँगै वातावरण संरक्षणमा समेत ध्यान दिन आग्रह गरे । कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा मगर, पर्यटन मन्त्री रविन्द्र अधिकारी, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवाली लगायतको सहभागिता रहेको थियो । जमिनमाथी ८१.२ मिटर अग्लो हुने बाहिरबाट हेर्दा ११ तलाको धराहराको २२ औं तल्लासम्म लिफट् हुनेछ र सोही तल्लाबाट उपत्यकाको अवलोकन गर्न सकिनेछ । एकै पटक ५४ जनाले धरहराबाट अवलोकन गर्न सक्नेछन् । अण्डर ग्राउण्ड २ तलासहित धरहरा ६९.२ मिटर उचाईको हुनेछ । त्यसमाथी ३६ फिटको गुम्बज निर्माण गरिनेछ । २२ तल्ले धरहराको बिच भागमा लिफ्ट रहनेछ । धरहराको वरिपरि कुनै पनि प्रकार ठुला व्यवसायीक संरचना निर्माण गरिने छैन् । धरहरामा एउटा म्युजियम रहनेछ । संग्राहलयमा पुरातात्विक महत्वको सामाग्री राखिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । ढलेको धरहरालाई भने काँचको पर्दामा राखिनेछ । धरहरा निर्माण रमण कन्स्ट्रक्सनले गरिरहेको छ । भिडियो
कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । बोनस सेयरपछि कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता १७१.४३ रुपैयाँमा झरेको छ । जसको आधार मूल्य १९३ रुपैयाँ रहेको थियो । समायोजन पछि खुलेको पहिलो कारोबारमा विकास बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता १७४ रुपैयाँ पुगेको छ ।
खानेपानी मन्त्री मगर भन्छिन्- मेलम्चीमा कमिशनबारे प्रमाण दिनुस्, कारवाही गर्छौँ
काठमाण्डौ । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसीसँग कमिशन मागिएको आरोप बारे प्रमाण दिए कारवाही गर्ने बताएकी छिन् । प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा मन्त्री मगरले यस्तो बताएकी हुन् । मेलम्ची खानेपानी आयोजनाको विद्यमान अवस्थाको बारेमा बिहीबार छलफल भएको हो । सो छलफलमा समिति सभापति कल्याणी खड्का र साँसद राजेन्द्र लिङ्देनले ठेकेदार कम्पनीसँग कमिशन माग भएको कुरा उठाएका थिए । साँसदले खानेपानी मन्त्रीलाई सोधे-मेलम्चीमा कमिशन माग्ने को हो ? विकास समिति बैठकमा साँसदको प्रश्नः मेलम्चीको पानी कहिले आउँछ ?
खेलकुद सम्बन्धी थेसिस लेख्ने विद्यार्थीलाई खेलकुद मन्त्रालयले सहयोग गर्ने
काठमाडौं। स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई खेलकुद सम्बन्धी थेसिस लेखनमा युवा तथा खेलकुद मन्त्रालयले सहयोग गर्ने भएको छ। मन्त्रालयको चालु आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम अन्तरगत स्नातकोत्तर तहमा शारीरिक शिक्षा वा खेल विज्ञान विषयमा अध्ययनरत्त विद्याथीहरुलाई प्रोत्साहन गर्ने प्रयोजका साथ स्नातकोत्तर तहमा अध्ययनरत्त विद्यार्थीलाई खेलकुद सम्बन्धी थेसिस लेखनमा विद्यार्थी प्रोत्साहन सम्बन्धी कार्यविधि, २०७५ अनुसार प्रोत्साहन तथा सहयोग गर्ने भएको हो । त्यसका लागि इच्छुक विद्यार्थीले पुष २६ गते भित्रमा युवा तथा खेलकुद मन्त्रालयको खेलकुद प्रवद्र्धन शाखामा आवेदन पेश गर्न सक्ने मन्त्रालयद्वारा प्रकाशित सुचनामा उल्लेख गरेको छ।
साँसदले खानेपानी मन्त्रीलाई सोधे-मेलम्चीमा कमिशन माग्ने को हो ?
काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनामा ठेकेदार कम्पनी सिएमसीले काम गर्ने कि छोड्ने भन्ने अन्यौलता कै बीच कमिशनको कुरा उठ्न थालेको छ । मेलम्ची अब के हुन्छ ? कहिले आउँछ मेलम्चीको पानी ? यी प्रश्नहरु उठिरहेका बेला प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा मेलम्ची खानेपानी आयोजनको विद्यमान अवस्थाको बारेमा छलफल भएको छ । सो बैठकमा मेलम्चीमा कमिशनको बारेमा कुरा उठेको छ । छलफलमा विकास समिति सभापति कल्याणी खड्काले आफैँ बनाउने भनेको केही दिन पछि फेरि उसैले बनाउँछ किन भनेको भनी खानेपानी मन्त्री बिना मगरलाई प्रश्न गरेकी थिइन् । सभापति खड्काले भनिन्–अब कहिले आउँछ मेलम्ची भन्दिनुस् । बरु केही समयपछिको मिति तोक्नुस् तर भनेको मिति एकिन होस् । अर्कोतर्फ निर्माण कम्पनी सिएमसीलाई भुक्तानीको कुरा के हो ? यसको जवाफ चाहियो–सभापति खड्काको प्रश्न थियो । सो छलफलमा साँसद राजेन्द्र लिङ्देन भने–कमिशनको कुरा उठाए, कम्पनी लाखौं दिन तयार थियो रे, तर करोडौंको कुरा आएपछि ठेक्का तोकेको रे । यो कुरा नागरिकसम्म पुगिसकेको छ । कमिशन माग्नेलाई कारवाही गर्नु पर्छ–उनले भने । मेलम्ची प्रकरणमा विकास समितिले छानबीन समिति बनाउनु पर्ने कुरा उनले उठाएका थिए । समितिको बैठकमा पूर्व प्रधानमन्त्री तथा साँसद भलनाथ खनालले मेलम्ची आयोजनाको इतिहास सुनाएका थिए । यो आयोजना ३ दशक देखिको आयोजना हो । मन्त्रीलाई थाहा रहेनछ–उनले भने । खनालले मेलम्ची आयोजना पञ्चायतमा सोचिएको आयोजना भएको बताए । मेलम्चीले प्रजातन्त्र र गणतन्त्र काल भोगिसक्यो । अझै बनेको छैन । मन्त्रीले राम्रो नेतृत्व दिन सक्नु भएन–उनले छलफलमा भने । अब आफैँ बनाउन सकिन्छ कि नाई ? उनको प्रश्न थियो । विकास समिति बैठकमा साँसदको प्रश्नः मेलम्चीको पानी कहिले आउँछ ?