विकासन्युज

अब ५ रुपैयाँमै १० लाखको सुरक्षा पाइने, सन नेपाल लाइफले ल्यायाे ५ वर्षे जीवन बीमा

काठमाडौं । अब सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जम्मा ५ रुपैयाँमा १० लाख रुपैयाँ बराबरको सुरक्षा बीमा दिने भएको छ । इन्स्योरेन्सले सर्वसाधारणको जोखीम सुरक्षित गर्ने उद्देश्यले नयाँ जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीका अनुसार यो योजना पाँच वर्ष अवधिको लागि दैनिक पाँच रुपैयाँभन्दा कम लागतमा खरिद गर्न सकिन्छ । जसअन्तर्गत यो बीमाबाट ५ लाख रुपैयाँ बराबर जोखिम र १८ घातक रोगको जोखिम विरुद्ध ५ लाख रुपैयाँ गरी १० लाख रुपैयाँ बराबर सुरक्षण हुने कम्पनीले जनाएको छ । १६ वर्षदेखि ६५ वर्ष उमेरका इच्छुक व्यक्तिले यो बीमा गर्न सक्छन् । यद्दपी उमेरको आधारमा बीमा शुल्कमा केही तल माथी हुन सक्ने इन्स्योरेन्सले बताएको छ ।

बाहिरी चक्रपथमा कलंकको टीका लगाउन तयार छैनः शहरी विकास मन्त्री

काठमाडौं । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बाहिरी चक्रपथमा कलंकको टीका लगाउन आफु तयार नभएको बताएका छन् । आफु हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने मन्त्री नभएकाले कलंकको टीका लगाउन तयार नहुने उनले स्पष्ट पारे । ‘म हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने मान्छे होइन, बाहिरी चक्रपथमा हतारको निर्णय गरेर कालो टीका लगाउन तयार छैन’, मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री राईले भने । केहि भूमाफियाहरुले बाहिरी चक्रपथलाई घेरा बन्दीमा पारेर असफल परियोजना बनाउन लागेको आरोपपनि उनले लगाए । ‘केहि भुमाफियाहरुले ल्याण्ड पुलिङ मात्रै गराएर आयोजना अलपत्र पारेर मलाई बदनाम गराउने प्रयास गरिरहेका छन, तर म सचेत छु’, मन्त्री राईले भने । उनले अर्थमन्त्रालयबाट सहमति आए लगत्तै ७२ किलोमिटर कै जग्गा रोक्का गर्ने घोषणापनि गरे । मन्त्री राईले बाहिरी चक्रपथ आयोजनाको अलाइनमेन्ट भने परिवर्तन हुने पनि स्पष्ट पारे । ‘अर्थबाट सहमति आएकै दिन मन्त्रिपरिषदमा एकै पटक पुरै जग्गा अधिग्रहण गर्ने प्रस्ताव लैजान्छु, जताजता भूमाफियाको जालो छ, त्यहाँ त्यहाँ अलाइनमेन्ट परिवर्तन हुन्छ’, मन्त्री राईले भने । उनले बाहिरी चक्रपथ निर्माणका लागि श्रोत सुनिश्चित गर्न अर्थमन्त्रालयलाई अनुरोध गरिएको जानकारी पनि दिए ।

मालपोतका ९ जना कर्मचारीविरुद्ध मुद्दा दायर, नक्कली जग्गाधनी खडा गरी लिखत पास गरेको अभियोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजार र दमकका कर्मचारीसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले मालपोत कार्यालय डिल्लीजारका मालपोत अधिकृत केशवप्रसाद नेउपाने, राजेन्द्र फुयाँल, नायब सुब्बा लक्ष्मणप्रसाद भट्टराई, खरिदार विजयभक्त श्रेष्ठ, मालपोत कार्यालय दमकका मालपोत अधिकृत अग्नि घिमिरे, नायब सुब्बाद्वय डिल्लीराम कोइराला र जयन्द्रराज खड्काविरुद्ध मुद्दा दायर गरेको छ । यस्तै वयरवन–९ मोरङका फौदराज लिम्बू र अभिवक्ता चन्द्रप्रसाद खनालविरुद्ध रु एक करोड २० लाख बराबरको बिगोसमेत असुलउपर गर्न माग गर्दै आयोगले आज मुद्दा दायर गरेको जनाएको छ । आयोगका अनुसार मालपोत कार्यालय, डिल्लीबजार र दमकका कर्मचारीको मिलेमतोमा टेकमाया आङहाङको नाममा रहेको जग्गाको कीर्ते जग्गाधनी खडा गरी बिक्री गरेको पाइएको छ । झापा दमक नगरपालिका–४ मा रहेको कित्ता नम्बर ४८७३ र ४८७५ को जग्गाको कीर्ते जग्गाधनी दर्ता प्रमाणपुर्जा बनाई नक्कली जग्गाधनी खडा गरी मालपोत कार्यालय, डिल्लीबजारबाट २०६९ साल फागुन ३१ मा जिल्ला बाहिरको (बेजिल्ले) रजिस्ट्रेशनको लिखत पारित गराएको आयोगको दाबी छ ।

टेलिकमको प्रबन्ध निर्देशक बन्न ११ जना प्रतिस्पर्धामा, पूर्व एमडी आचार्यसहित क कस्ले दिए आवेदन ?

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशक बन्न ११ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन बुधबार ४ बजेसम्म ११ जनाको आवेदन परेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अब प्रारम्भिक छनोट सुरु गरेको छ । मन्त्रालयले माग गरेको मापदण्ड अनुसार भए नभएको रुजू गरी अन्तिम नामावली निकाल्नेछ । निर्देशकका लागि पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य, डा. बिमल आचार्य, सनाउल्लाह खान, गोकर्णप्रसाद सिटौला, डिल्लीराम अधिकारी, नगेन्द्र कुमार दास, चन्द्र मोहन झा, प्रदिपराज उपाध्यय, संगिता पहाडी (आचार्य) लगायत ११ जनाले निवेदन दिएका छन् । यी मध्ये मन्त्रालयले योग्यता नपुगेको भन्दै २ जनाको आवेदन अस्वीकृत गरेको छ । सरकारले प्रबन्ध निर्देशक नियुक्तिको लागि ३ सदस्यीय समिति गठन गरिसकेको छ । मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा ३ सदस्यीय समिति गठन भएको हो । समितीमा विज्ञको रुपमा उमाकान्त पराजुलीलाई राखिएको छ भने मन्त्रालय प्रशासन महाशाखाकी प्रमुख राधिका अर्याल सदस्य रहेकी छिन् । सरकारले मंसिर १७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ३ सदस्यीय छनोट समिति गठन गर्ने निर्णय गरेको थियो । प्रारम्भिक छनोट भएपछि समितिले प्रतिस्पर्धीको अध्ययन गर्नेछ । आवेदकको योजना, शैक्षिक योग्यता, व्यवसायिक अनुभवलाई आधार मानेर ३ उत्कृष्ट व्यक्तिको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । सिफारिस भएका तीन जनामध्ये एकलाई मन्त्रीपरिषदले प्रबन्ध निर्देशकको रुपमा नियुक्त गर्नेछ । गत साउन २९ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेपछि टेलिकममा कार्यकारी प्रमुखको पद रिक्त थियो । राजभण्डारीले आफ्नो बर्खास्तीको निर्णय गैरकानूनी भएको भन्दै पुनर्बहालीका लागि सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उक्त रिटविरुद्ध सरकारले अन्तरिम आदेश नदिएपछि सरकारलाई नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि बाटो खुलेको थियो । नेपाल दूरसञ्चार प्रधिकरणको तथ्याङ्क अनुसार हाल टेलिकमका १ करोड ९५ लाख प्रयोगकर्ता छन्, जुन कूल प्रयोगकर्ताको ४० प्रतिशत हो । कुल १५ अर्ब चुक्ता पूँजी भएको उक्त कम्पनीमा जनताको समेत लगानी छ । टेलिकमको बजार पुँजीकरण १ खर्ब १५ अर्ब भन्दा बढी छ, जुन सूचिकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै हो । टेलिकममा हाल सूर्यभक्त पोखरेलले कामु प्रबन्ध निर्देशकको भूमिका निर्वाह गरिरहेका छन् । लामो समयदेखि टेलिकममा प्रमुख कार्यकारी नहुँदा कम्पनीको दैनिक प्रशासनिक कार्यमा समेत असर परेको टेलिकम स्रोतको दाबी छ ।

गरिमा विकास बैंकले दाङ र कैलालीमा खोल्यो नयाँ शाखा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले दाङ र कैलालीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले बुधबार एक कार्यक्रमकाबीच दाङको घोराही र कैलालीको धनगढी शाखा कार्यालयको उद्घाटन गरेको छ । घोराही शाखा कार्यालयको उद्घाटन घोराही उप-महानगरपालिकाका मेयर नरुलाल चौधरी र धनगढी शाखाको उद्घाटन धनगढी उप-महानगरपालिकाका मेयर निर्प ओडले गरेका छन् । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हालसम्म ६६ वटा शाखा र १५ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टैनै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्ने तयारी गरिरहेको छ

८० स्थानमा भूकम्प पूर्वसूूचना प्रणाली जडान, जोखिमबाट बचाउन सकिने नाष्टको दाबी

गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले भूकम्पको २० सेकेन्डअगावै पूर्वसूचना दिने प्रणालीको विकास गरिरहेको छ । हाल नाष्टले कास्की र भैरहवाका ८० स्थानमा भूकम्प पूर्वसूूचना प्रणाली (सेन्सर) जडान गरिसकेको छ । देशका महत्वपूर्ण स्थानमा त्यस्ता सेन्सर जडान गर्न लाग्ने खर्चको विवरण तयार पार्न नाष्टले सर्वेक्षण गरिरहेको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए । “सेन्सर जडान भएका हरेक स्थानका मानिसमा भूकम्पको सूचना प्रवाह गरिन्छ”, ढकालले भने, “नाष्टले हरेक १५ किलोमिटर दूरीमा नेपालको मध्यभागमा पर्ने कास्की र भैरहवाको ८० वटा स्थानमा भूकम्प मापन प्रणाली सेन्सर जडान गरिसकेको छ ।” भूकम्प आउनु पूर्व सेन्सरमा तरङ्ग आउँछ । पहिलो तरङ्ग आएको २० सेकेन्डमा दोस्रो तरङ्ग आउने क्रममा मानिसलाई यसको जोखिमबाट बचाउन सकिन्छ । काठमाडौँलाई केन्द्रबिन्दु बनाएर भूकम्प आउँदा भूकम्प पूर्वसूचना प्रणालीले जानकारी दिएता पनि मानिसलाई तत्काल नजिकै पर्ने जोखिमका बारेमा बताउन नभ्याइने ढकालले जानकारी दिए । यस सूचना प्रणालीको सुविधा स्मार्ट फोन र मोबाइल एप्समा प्रत्यक्ष दिन नाष्टले नेपाल टेलिकम र एनसेलका प्रमुखसँग छलफल अघि बढाएको थियो । ढकालले भने, “नेपाल टेलिकम र एनसेलका प्रमुखले नाष्टको योजनालाई समर्थन गरेता पनि आर्थिक सहयोग गर्र्ने प्रतिबद्धता प्राप्त भएको छैन ।” चाइनिज लाइफ इन्सुुरेन्स कम्पनीले यस सूचना प्रणालीको विकास गरेको हो । यस प्रणालीले चिनियाँ भाषामा सूचना दिने गर्छ । नाष्टले नेपालमा भित्र्याउन लागेको यस सूचना प्रणालीलाई अङ्ग्रेजी भाषामा रूपान्तरण गर्न चिनियाँ कम्पनीसँग आग्रह गरेको ढकालले बताए ।

कर्मचारी समायोजनका लागि सूचना सार्वजनिक, २१ दिनभित्र अनलाइन फारम भर्नै पर्ने

काठमाण्डौ । सरकारले निजामती कर्मचारी समायोजनका लागि सूचना सार्वजनिक गरेको छ। सामान्य प्रशासन मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै सूचना सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा समायोजनमा जाने कर्मचारीले मन्त्रालयको वेबसाइटबाट फारम भर्नुपर्ने बतायो । मन्त्रालयले २१ दिनभित्र अनलाइन फारम भर्न बाध्यकारी सूचना जारी गरेको हो । कर्मचारी समायोजन अध्यादेश २०७५ दफा ५ को उपदफा १ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समयोजन गर्न समायोजन डट जिओभी डट एनपीमार्फत् अनलाइन फारम भर्नु पर्नेछ । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा अध्यादेशअनुसार अनलाइन फारम नभर्ने कर्मचारीलाई जर्बजस्ती समायोजन प्रक्रियामा सामेल गराइने उल्लेख छ। मन्त्रालयले देशभर १ लाख ३८ हजार १७८ दरबन्दी कायम गरिएको जानकारी दिएको छ। नयाँ दरबन्दीअनुसार संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दी रहने छन्।

सबैभन्दा लामो ‘रेल–रोड ब्रिज’ उद्घाटन, भारतले भन्यो–सीमाना सुरक्षाको आधार भो

बोगिविल, भारत । भारतले मङ्गलबार उत्तरपूर्वी राज्य आसाममा रहेको सबैभन्दा लामो ‘रेल–रोड ब्रिज’ को उद्घाटन गरेको छ । पुलको सञ्चालनले भारतको चीनसँगको संवेदनशील मानिएको सीमानामा सुरक्षालाई प्रत्याभूत गर्न नयाँ बाटो खुलेको भारतीय अधिकारीले जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रम्हपुत्र नदीमा बनाइएको ४.९ किलोमिटर लामो बोगिविल पुलको एक भब्य समारोहबीच उद्घाटन गरे । पुल निर्माण गर्न करिब दुई दशक लागेको र निर्माण खर्च ८० करोड अमेरिकी डलर खर्च लागेको भारतीय अधिकारीले बताएका छन् । दिब्रुगढ शहर नजिकै बनाइएको उक्त पुलका कारण चीनसँग नाका रहेको अरुणाञ्चल प्रदेशमा सुरक्षाका लागि सैन्य गतिविधिलाई पुर्याउन सहज हुनेछ । भारतले चीनसँग १९६२ को युद्धमा सैनालाई सहज तैनाथ गर्न नसक्दा अरूणाञ्चल प्रदेशको केही भूमि गुमाएको बुझाई भारतीय पक्षको रहेको छ । पुलले ६० टन बराबरको वजन धान्नसक्ने दावी गरिएको छ जसका कारण युद्धका लागि आवश्यक लडाकू जेटलाई पुलमा नै अवतरण गर्न सकिनेछ । भारतले रणनीतिक सुरक्षाका लागि महत्व राख्ने ९.१ किलोमिटर लामो अर्को एउटा पुलको पनि सन् २०१७ मा निर्माण सम्पन्न गरेको थियो । रासस÷एएफपी