बीमा समूहले उचाल्यो बुधबारको बजार, नेप्से ३० अंकले बढ्दा ६५ करोडको कारोबार
काठमाडौं । बुधबारको सेयर बजारलाई जीवन र निर्जीवन बीमा दुबै समूहले बढाएको छ । दुबै समूहको सूचक एकाएक त्रिपल अंकले बढेपछि नेप्से परिसूचकमा पनि उच्च वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बुधबार जीवन बीमा समूहको सूचक सबैभन्दा बढी ४४३ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको सूचक २४५ अंकले उकालो लागेको छ । कारोबारमा आएका कुल ११ समूहमध्ये फाइनान्स बाहेक बाँकी समूहको सूचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार शुरु भएदेखि उकालो लागेको नेप्से परिसूचक ३०.२६ अंकले बढेर १२१६ अंकमा पुगेको छ । सबै समूहहरु दोहोरो अंकले बढेपछि परिसूचकमा पनि सुधार देखिएको हो । समग्रमा बुधबारको बजार अघिल्लो दिनको तुलनामा २.५५ प्रतिशतले बढेको छ ।
चपाएरै थुके नेपालीले ३ अर्ब रूपैयाँको चुईगम
काठमाडौँ । नेपालमा व्यापार घाटा बढ्दै जानुको कारण अनावश्यक वस्तुको खपत हुनु पनि हो । सानासाना कुरामा पनि परनिर्भर हुने नेपालीहरुको बानीले व्यापार घाटा बढ्न मद्दत गरेको छ । व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६५/०६६ देखि २०७४/०७५ सम्मको १० वर्षमा १ करोड ४६ लाख ९६ हजार २४९ केजी चुइगम आयात भएको छ । १० वर्षको अवधिमा ३ अर्ब २६ करोड ३८ लाख ६६ हजार २५३ रुपैयाँको विदेशी चुइगम नेपालमा खपत भएको हो । यसरी हेर्दा नेपालीहरूले यस अवधिमा ३ अर्ब बराबरको चुइगम पड्काएका छन् । आर्थिक वर्ष २०६५/०६६ मा १८ करोड ६६ लाख २ हजार ५९१ रुपैंयाको १४ लाख ५४ हजार २८९ केजी विदेशी चुइगम नेपालमा खपत भएको थियो भने आर्थिक वर्ष २०६६/०६७ मा २६ करोड ७५ लाख २४ हजार १७९ रुपैंयाको १७ लाख ५३ हजार १५७ केजी विदेशी चुइगम नेपालमा खपत भएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०६७/०६८ मा २६ करोड २१ लाख ७९ हजार ९१२ रुपैंयाको १७ लाख ६२ हजार ८८ केजी विदेशी चुइगम नेपालमा खपत भएएको थियो भने आर्थिक वर्ष २०६८/०६९ मा २६ करोड ३८ लाख ४५ हजार १०१ रुपैंयाको १३ लाख १२ हजार ३ केजी विदेशी चुइगम नेपालमा खपत भयो । यता, आर्थिक वर्ष २०६९/०७० मा ३५ करोड ७६ लाख ४५ हजार ९८४ रुपैंयाको १३ लाख १२ हजार ३ केजी विदेशी चुइगम नेपालमा खपत भएको छ भने आर्थिक वर्ष २०७०/०७१ मा ३६ करोड ६६ लाख २० हजार ३९३ रुपैंयाको १४ लाख १३ हजार ७९ केजी विदेशी चुइगम नेपालमा खपत भएको छ । यसैगरी, आर्थिक वर्ष २०७१/०७२ मा ४१ करोड २९ लाख ५६ हजार २०१ रुपैंयाको १५ लाख ८४ हजार ७८४ केजी विदेशी चुइगम नेपालमा खपत भएको छ भने आर्थिक वर्ष २०७२/०७३ मा ४२ करोड ६५ लाख १० हजार २५८ रुपैंयाको १५ लाख ४८ हजार ७८४ केजी विदेशी चुइगम नेपालमा खपत भएको छ । यसैबीच, तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/०७४ मा ३९ करोड २३ लाख ५३ हजार ३७३ रुपैंयाको १३ लाख ११ हजार २३२ केजी विदेशी चुइगम नेपालमा खपत भएको थियो भने आर्थिक वर्ष २०७४/०७५ मा ३२ करोड २२ लाख १९ हजार २६१ रुपैंयाको १० लाख १ हजार ७९३ केजी विदेशी चुइगम नेपालमा खपत भएको छ । तथ्याङ्कले नेपालबाट पनि चीन र भारतमा चुइगम निर्यात भएको देखाउँछन । तर, आयातको तुलनामा निर्यातको अनुपात भने निकै न्यून देखिन्छ । आर्थिक वर्ष २०७४/०७५ मा नेपालले १ करोड ६९ लाख ७१ हजार रुपियाँको चुइगम विदेशमा पठाएको छ । चीनमा १ करोड ६९ लाख ७१ हजार ७५८ हजार र भारतमा ९ लाख ६९ हजार रुपियाँ बराबरको चुइगम निर्यात भएको छ । नेपालमा आयात हुने चुइगम भने भरत, बङ्गलादेश, कोरिया, चीन, बेलायत, अमेरिका र स्विडेनबाट आउने गरेको छ । आर्थिक वर्ष २०७३/०७४ को तुलनामा आर्थिक वर्ष २०७४/०७४ मा चुइगम आयात ७ करोड १ लाख रुपियाँले घटेको छ । बरिष्ठ अर्थविद् डा. चन्द्रमणी अधिकारीले भने ‘नेपालको उत्पादनलाई प्रोत्साहन गर्ने नीति ल्याउन पर्यो, अहिले व्यापारीहरु मात्रै प्रोत्साहित भएका छन् ।’ नेपालले आन्तरिक उत्पादनहरुलाई बृद्धि गरे मात्रै नेपालको व्यापार घाटा कम हुने अर्थबिद् अधिकरीले बताए । चुइगमका पारखीहरु चुइगम नियमित खानाले मुख गनाउँदैन, दाँत सफा हुन्छ र मानिसलाई बोर फिलिङग नहुने अनुभव सुनाउँछन् ।
आइएमईको दशैंमा बीस लाख योजनाको दोस्रो विजेता घोषणा, बिजेन्द्रले पाए एक लाख
काठमाडौं । आइएमईको दशैंमाबीस लाख योजनाको दोस्रो विजेता घोषणा गरिएको छ । ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत दोस्रो महिनाको विजेताको रुपमा रिया मार्फत अमेरिकाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही बिजेन्द्र थापा घोषित भएका छन् । केन्द्रीय कार्यालय पानीपोखरीमा आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रुद्रराज पौडेलले विजेता बिजेन्द्रको सिफारिसमा उनको माता चिनुमाया थापालाई एक लाख रुपैयाँको चेक स्तान्तरण गरेका छन् । ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरु मध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई‘आइएमई पे’मार्फतरू.१ हजार को बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१०,००० नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१ लख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई रू.२०(बिस) लाख नगद प्रदान गर्ने गरि कार्यक्रम तय गरिएको थियो । १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८४ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले सेवा प्रदान गर्दै आएको छ ।
नेपालमा अवसर नै छैन भन्ने होइन, गर्नेले यहीँपनि राम्रो गरिरहेका छन्ः सबिन्द्र महर्जन
सबिन्द्र महर्जन, प्रमुख कार्यकारी अधिकृत-आईआईएमएस कलेज काठमाडौं। सन् १९८० जनवरीमा जन्मेका सविन्द्र महर्जनले आफ्नो विद्यालय तहको शिक्षा कीर्तिपुरको पुष्प सदनबाट पूरा गरे । नेशनल कलेजबाट प्लस टु गरेका उनले सन् २००३ मा नेपाल इन्जिनियरिङ् क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङ्को अध्ययन पूरा गरे । त्यही सालबाट विभिन्न कलेजहरुमा आईटी पढाउन सुरु गरे । ६ वर्षको शिक्षण पेसापछि उनी २००९ मा माष्टर इन सफ्ट्वेयर इन्जिनियरिङ् कोर्ष अध्ययनका लागि स्वीडेन गए । उनले २०१० मा आईआईएमएस कलेजको स्थापना गरे । पुतलीसडकमा रहेको यस कलेजमा बीसीए, बीएससी सीआईटी, एमबीए, बीआईटी, बीएचएम, बीबीए गरी जम्मा ६ वटा कोर्स पढाई हुने गर्दछ । १२०० विद्यार्थी रहेको कलेजमा ५० को हाराहारीमा पूर्णकालीन कर्मचारी कार्यरत छन् । आंशिक कर्मचारीको संख्यामा पनि ५० कै हाराहारीमा छन् । कलेजकाे समग्र अवस्था सहित शैक्षिक क्षेत्रका विविधि विषयमा बिकासन्यूजका लागि डोमी शेर्पाले कलेजका प्रमुख कार्यकारी अधिकृत(सीईओ ) सबिन्द्र महर्जनसँग गरेको अन्तरवार्ता: अहिले विद्यार्थीहरुले अत्याधिक मात्रामा कुन विषय रुचाएका छन् ? अहिलेको बजारमा हेर्ने हो भने एकदम बढी स्कोप भएको र सदाबहार विधार्थीहरुद्वारा रुचाईएको बिषयमा म्यानेजमेन्ट अन्तर्गत बीबीए रहेको छ। पहिले देखि नै अत्याधिक बिधार्थीले आफ्नो प्राथमिकतमा यस बिषयलाई राखेका पाईन्छ । त्यस बाहेक अहिलेको समयमा आएर विद्यार्थीको अर्को प्रिय बिषय सूचना प्रबिधि (ईन्फरमेसन टेक्नोलोजी) अर्थात आईटी रहेको छ । हस्पिटालिटी म्यानेजमेन्टतर्फ पनि विधार्थीहरुको रुची बढ्दो छ । हस्पिटालिटी म्यानेजमेन्ट अहिले विद्यार्थीको छनोटमा पर्नको कारण हाम्रो देशको सांस्कृतिक विविधता, पर्यटन ब्यवसाय रहेको छ । नेपालमा जस्तो हस्पिटालिटी म्यानेजमेन्ट पढ्नलाई उपयुक्त देश कुनै पनि छैन। तपाईंहरुको कलेजबाट पास भएर जाने विधार्थीहरुको लागि बजार चाहीँ राष्ट्रिय हो कि अन्तराष्ट्रिय ? बजार राष्ट्रिय कि अन्तराष्ट्रिय छान्ने भन्ने सर्वप्रथम त विद्यर्थीमा निर्भर रहन्छ। यो उसको ईच्छा, चाहना र सपनामा भरपर्छ। हरेक मानिसको आ–आफ्नो चाहना हुन्छन् । त्यसलाई ध्यानमा राख्दै हामीले दुईतर्फी बजार भएको बिषयहरु पढाईरहेका छौ। अहिलेको अवस्थामा नेपालमापनि अवसर एकदम राम्रो रहेको छ। जस्तैः आईटी कोर्स पढ्नुहोस्, तपाईँले मज्जले यहाँकै सूचना प्रविधि कम्पनीमा राम्रो जागिर पाउनुहुन्छ । किन भने यहाँको आईटी कम्पनीलाई एउटा राम्रो आईटी स्टाफ पाउनपनि गार्हो छ। त्यस्तै हस्पिटालिटीमा पनि यहाँ सँगसँगै बाहिर पनि उत्तिकै माग रहेको छ। तर, अहिले अत्याधिक विधार्थी बाहिर जान मन पराउँछन् । यसलाई ट्रेन्ड भन्ने कि खै के भन्ने । बाहिरको सुविधा र पैसा देखेर धेरै मानिसहरु लोभिन्छन् र विदेशी भूमिलाई आफ्नो गन्तव्यको रुपमा चुन्छन् । देशमा यति अवसर छ, तर विद्यर्थीहरु अन्धो भएका छन् । विधार्थीहरु राम्रो अवसरको लागि बाहिर जान्छन् कि यहाँ न्युनतम अवसर पनि नपाएर जान्छन् ? मेरो बुझाई अनुसार राम्रो अवसर विदेशमा पक्कैपनि छ । तर नेपालमा अवसर नै छैन भन्ने होइन, गर्नेले नेपालमै पनि राम्रो गरिरहेका छन् । तर , अहिलेको ट्रेण्ड हेर्ने हो भने विदेश जाने फेशन जस्तै भएको छ । विदेशमा बसेका साथीभाइ तथा आफन्तहरुको लवाइखवाइ र उनीहरुको नेपालमा बसेर काम छैन बाहिर जार्नै पर्छ भन्ने भावनाले गर्दा अहिलेको समाज अत्याधिक प्रभावित भएको छ । जसको कारणले गर्दा दिनहुँ विदेश जाने विधार्थीको संख्या बढ्दो छ। नेपालको राजनीतिक अस्थिरता र दिनहुँ हुने बन्द, हडताल र काम पाउनका लागि चाकडी गर्नुपर्ने अवस्थाका कारण अत्याधिक विद्यर्थीहरु बाहिरिनुको अर्को कारण हो । मानिसहरु नेपालमा मेहनत गर्न चाहदैनन, बाहिर गरिने काम उनीहरुलाई नेपालमा गर्न लाज लाग्छ । मानिसहरु सजिलो खोज्छन् आफुले सिर्जना गरेर केही नयाँ नेपाल मै गर्न चाहदैनन् । यो धारणालाई बदल्न हामी सबै जना लागि पर्न जरुरी छ। प्लस टु पछी यसपाली मात्र अत्याधिक विधार्थीहरु बाहिर गएको पाईएको छ, जसको कारणले कलेजहरुलाई विधार्थी पाउन मुस्किल भईरहेको छ। तपाईंहरु पूर्णरुपमा टेक्निकल बिषय पढाउनुहुन्छ ? करियर काउन्सिलिङको पाटो के छ तपाईंहरुकोमा ? करियर काउन्सिलिङको पाटो हामीले पूर्ण रुपमा निभाएका छौँ । हामी विधार्थीहरुलाई त्यही तहको शिक्षा कम दरमा पढाईरहेका छौँ । हामी हरेक सेमेस्टरमा विभिन्न विश्वविद्यालयबाट शिक्षाविद्हरु ल्याएर करियर काउन्सिलिङ दिन्छौं । भोलि गएर नेपालमा अथवा विदेशमा गएर के गर्ने भन्ने कुराको बारेमा मुख्य ध्यान दिन्छौँ । तपाईंहरुले जस्तै अध्ययन गराउने कलेजहरुको भिडमा चिनाउन पर्दा तपाईं आफुहरुलाई कसरी चिनाउनु हुन्छ ? काठमाण्डौ भ्याली भित्रका अन्य कलेजहरुसँग दाँज्ने भन्दा पनि हामी आफुले आफुलाई दाँज्न अझ मन पराउँछौ। हामीले सबैभन्दा पहिला यहाँसम्म पुग्नको लागि धेरै मेहनत गरेका छौ, विधार्थीहरुलाई एउटा अभिभावकले जसरी माया गरेर राखेका छौँ । कमसेकम उनीहरुलाई पढ्दा समस्या नहोस् भनेर हरेक सुविधाहरु उपलब्ध गराएका छौँ । यहाँका हरेक विद्यार्थीहरु हाम्रो परिवार सरह छन् । अहिलेको आईएमएसले पनि बजारमा आफ्नो छुट्टै पहिचान बनाएको छ र यो एउटा राम्रो ब्रान्डको रुपमा स्थापित भएको जस्तो हामीलाई लाग्छ । गुणस्तरको आधारमा हामी आफुलाई नेपालको सबैभन्दा राम्रो कलेज त भन्दैनौ, तर पक्कैपनि नेपालको राम्रो कलेजमा भने हामी गनिन्छौ नै । बजारमा धेरै विकल्पहरू छन्, त्यसो हो भने एउटा विधार्थीले किन आईएमएस छान्ने ? अवश्यपनि बजारमा बिकल्पहरु धेरै नै छन् र यस कुरालाई हामी नकार्न सक्दैनौ। किन आईआईएमएस भन्ने प्रश्नमा म के भन्न चाहन्छु भने यदी कोही विद्यार्थी हस्पिटालिटी अथवा टेक्निकल बिषय पढ्न चाहन्छन् भने उनीहरुले यो बिषय कलेज गएर आएर घरमा पढ्छु भनेर हुँदैन । यसको लागि व्यावहारिक ज्ञान नभई हुँदै हुँदैन। त्यस कोर्स पढ्नलाई जुन तरिकाको व्यावहारिक ज्ञान आवश्यक हुन्छ त्यो हामी प्रदान गर्छौ जस्तै हरेक हप्ता हाम्रो कलेजमा केही न केही व्यावहारिक ज्ञानका कार्यहरु भईरहेको हुन्छ। हामी सैद्धान्तिक अध्ययनमा मात्र ध्यान दिदैनौं, विधार्थीहरुलाई राम्रो एक्सपोजर पनि प्रदान गर्छौ । हरेक हप्ता हाम्रो कलेजमा पढाई बाहेक केही न केही भईरहेको हुन्छ। सुलभ शुल्कमा पढाई सँगसँगै व्यक्तित्व विकासको लागि विद्यार्थीहरुले आईआईएमएसलाई रोज्न सक्छन्। हरेक कलेजले पढाउन चाँही पढाउँछन् तर व्यावहारिक ज्ञानमा जति एक्स्पोजर दिन्छु भन्छन् त्यती दिदैनन्, यसबारेमा के भन्नुहुन्छ ? होटल म्यानेजमेन्ट र आईटी प्राक्टिकल बिना पढाउन असम्भव छ। हाम्रो होटल म्यानेजमेन्टको कोर्स जुन विश्वविद्यालयबाट मान्यता प्राप्त छ, त्यस विश्वविद्यालयमा भएको यो कोर्ष मूल्याङ्कनको आधारमा पढाईने कोर्ष हो । अब त्यसमा तपाईंको रिसर्च, प्रोजेक्ट, फिल्ड वोर्क, प्राक्टिकल नगरी सुख नै छैन। यती मात्र नभएर गेस्ट प्रोफेसरहरुपनि हामी समय समयमा बोलाउँछौ। बाहिरबाट कम्पनीहरुको उच्च तहको सीइओ, म्यानेजरहरु बोलाएरपनि हामी विद्यार्थीहरुलाई उनीहरुको अनुभवको बारेमा जानकार गराउँछौ, जसले गर्दा उनीहरुलाई पनि आगामी दिनमा समयसँग अघि बढ्न सजिलो हुन्छ । हस्पिटालिटी बिषयमा प्राक्टिकल गराउने जुन ठूला ल्याबहरु चाहिन्छन्, त्यस्ता ल्याबहरु यहाँ उपलब्ध छन् । एउटा फाईभ स्टार होटलमा जुन किचेन हुन्छ, त्यस्तै खालको किचन हाम्रोमा छ। जुन सामाग्रीहरु उनीहरुले प्रयोग गरिरहेका हुन्छन् त्यो हामीले यहाँपनि प्रयोग गर्छौ । हाम्रो कोर्षको माग अनुसार हामी नियमित रुपमा विधार्थीहरुलाई होटलहरु लैजाने गर्छौ। हाम्रा विद्यार्थीहरुले एकेडेमिक कोर्ष मात्र नभएर ईएलई भन्ने कोर्ष पढ्नु पर्ने हुन्छ। त्यो कोर्ष १ बर्षको हुन्छ जसमा विद्यार्थीले १०० पोईन्ट्स संकलन गर्नुपर्ने हुन्छ। अनि एकबर्षमा यती अंक संकलन गर्नलाई विधार्थीले ७–८ वटा ईभेन्ट गर्नुपर्ने हुन्छ। यसरी काम गर्दा विधार्थीहरुले धेरै सिक्ने गर्छन् र आगामी दिनमा उनीहरुलाई बजारमा गएर भिड्न सक्षम हुन्छन्। एउटा अहिले लहर चलेको छ, हाम्रोमा आउनुहोस् टप गर्नुहोस् हामी तपाईंको जागिर पक्का गर्नेछौं, के यो संभव छ ? हामी जागिर पक्का भनेर भन्दैनौं, तर यहाँ आएर पढेपछी हामी सक्षम बनाउँछौ भने हामी अवश्य भन्छौँ। एउटा सक्षम मानिसले जागिरको लागि त्यती दुःख गर्नु पर्दैन भन्ने हाम्रो दर्शन रहेको छ। त्यसैले जागिर दिने आश्वासन हामी दिन्नौ, हामी जागिरको लागि ब्यक्तिलाई सक्षम बनाउँछौ। के तपाईंलाई पूर्वाधारले विद्यार्थीको पढाईमा सहयोग पुर्याउँछ जस्तो लाग्छ ? पढ्नको लागि वातवारण र पूर्वाधार राम्रो हुन एकदम जरुरी छ। हरेक कक्षाकोठामा मल्टीमिडियादेखी लिएर एसी हुन आवश्यक रहेको हामीले देखेका छौँ । गर्मी महिनामा पसिना निकाल्दै पढ्नु र राम्रो तापक्रम र वातवरणमा पढ्दा बेग्लै किसिमको आनन्द आउँछ। कक्षाकोठाको संरचना पनि थिएटर शैलीको विधार्थीको संख्या नि ठिक्क राख्दा विधार्थीलाई धेरै मद्दत हुने गर्दछ। संरचना नमिलेको कक्षाकोठा र धेरै संख्यामा विद्यार्थीले अध्ययनमा असर गर्ने गर्दछ। त्यस्तै कक्षाकोठामा आवश्यक मल्टीमिडियाहरु उपलब्ध हुँदा विधार्थीको ज्ञानको सीमा किताबभित्र मात्रा रहदैन। त्यसैले मलाई लाग्छ कि विद्यार्थीको पढाईमा राम्रा पूर्वाधारले निकै सहयोग पुर्याउँछ। त्यही कुरालाई ध्यानमा राख्दै हामीले आईआईएमएसका हरेक कक्षाकोठालाई विधार्थीलाई चाहिने पूर्वाधारबाट पूर्ण गराएका छौँ । कस्तो छ तपाईंहरुको शुल्क संरचना कस्तो छ ? हाम्रो सुल्क संरचना नेपाली बजारलाई हेरेर सबैलाई उचित हुने शुल्क राखेका छौं । जस्तै हाम्रोमा आईटी विधार्थीले ६ लाखमा पढ्न सक्छन्, जुन अन्य विश्वविद्यालयमा धेरै महँगो हुने गरेको छ। हाम्रोमा भएको हरेक कोर्स ६–७ लाखको हाराहारीमा विद्यार्थीहरुले पढ्न सक्छन् । नेपालमा शिक्षाको अवस्था कस्तो रहेको छ ? नेपालको शिक्षा प्रणाली बिकास भईरहेको अवस्थामा छ। हामी पास हुनको लागि पढ्छौ, केही अध्ययन गर्न, सिक्न, जान्नको लागि हामी पढ्दैनौ । फाईनल परीक्षा छ, यती अंक ल्याउनु पर्छ भन्ने होडबाजीमा हामी पढ्छौ। तर, अहिले यो बिस्तारै बद्लिदै छ। अहिलेको जमाना पास गर्ने भन्दापनि कौशल उन्मुख ब्यक्ति चाहिन्छ। तर, अझैपनि धेरै मानिसहरु त्यही पुराना धारणालाई अंगालीरहेका छन् । यसलाई बदल्न जरुरी छ।
अपडेटः नेप्सेले नाघ्यो १२०० अंक, सबै सूचकमा छायाे हरियाली
काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले बढेको छ । दिउँसो २ बजेसम्म नेप्से परिसूचक २२.४१ अंकले बढेर १२०८ अंकमा पुगेको छ । सो दिनको बजार शुरु भएदेखि नै निरन्तर उकालो लागिरहेको छ । सो अवधिसम्म कुल १६४ कम्पनीको ४४ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भईसकेको छ । सबैभन्दा बढी नेपाल बैंकको सेयर किनबेच भईरहेको छ । कारोबार शुरु भएको तीन घण्टाको अवधिमा दुई कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । नागरिक लगानी कोष र विशाल बजार कम्पनीका लगानीकर्ताले क्रमशः ९.९९ र ९.९७ प्रतिशत कमाएका छन् । यता कारोबारमा आएका ११ वटै समूह हरिया भएका छन् । यसअवधिसम्म सबैभन्दा बढी जीवन बीमा समूहको सूचक २३२ अंकले बढेको छ ।
वार्षिक १६ हजार बिरामी आउने तातोपानी कुण्ड भाडामा दिन प्रस्ताव
म्याग्दी । प्राकृतिक उपचारस्थलको रूपमा परिचित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड सञ्चालनका लागि निजी क्षेत्रलाई भाडामा दिन प्रस्ताव आएको छ । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले बेनी नगरपालिका र सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिलाई कुण्ड सञ्चालनका लागि निजी क्षेत्रलाई भाडामा दिन प्रस्ताव गरेको हो । नगरपालिकाको कार्यालयमा मङ्गलबार आयोजित छलफलमा मोनाका अध्यक्ष चक्र थापा र पूर्वअध्यक्ष योगेन्द्र क्षेत्रीले कुण्ड निजी क्षेत्रलाई भाडामा दिन प्रस्ताव गरेका थिए । उनीहरूले स्थानीयवासी र प्रवासी म्याग्देलीको लगानीमा अहिलेको भन्दा फरक हिसाबले व्यवस्थित रूपमा कुण्ड सञ्चालन गरेर पर्यटन प्रवद्र्धन गर्न सकिने भएकाले निजी क्षेत्रलाई भाडामा लिन प्रस्ताव गरे । नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्य र सचिव कृष्ण खड्कालगायतले समुदायसँग छलफल गरेर मात्र निर्णय गर्न सकिने बताए । लगानी, व्यवस्थापन र सञ्चालनको मोडल स्पष्ट हुनुपर्ने र स्थानीयवासीको भावना बुझ्न थप छलफल गर्ने निर्णय भएको बैठकमा सहभागी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए । प्रवासीले केही वर्षयता विभिन्न माध्यमबाट कुण्ड भाडामा दिनका लागि प्रस्ताव र पहल गर्दै आएका छन् । छलफलमा बेनपाका वडाध्यक्ष र कार्यपालिका सदस्य, मोनाका पदाधिकारी र तातोपानीका अगुवाको सहभागिता रहेको थियो । समुदायद्वारा सञ्चालित र विकास गरिएको कुण्डको आम्दानीले स्थानीय सरस्वती माध्यमिक विद्यालयमा निजी स्रोतका ११ शिक्षकको तलबभत्ताको व्यवस्थापन गरिँदै आएको छ । कुण्डको प्रवेश शुल्क र चन्दा सहयोगबाट पूर्वाधार निर्माण, कर्मचारीको तलब, व्यवस्थापन, नदी नियन्त्रणका साथै सामुदायिक गतिविधि र विकास निर्माणका काम गरिएको छ । म्याग्दी नदीको किनारमा जमीनभित्रबाट वीरेनुनको गन्धसहित निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा स्नान गरेमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुनेलगायतका स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । कुण्डमा वार्षिक १६ हजार भन्दा बढी बिरामी आउने गरेका छन् । कुण्ड व्यवस्थापन समितिलाई ३०० प्रवेश शुल्क तिरेर दैनिक दुई पटकका दरले दश दिनसम्म तलाउमा स्नान गर्न सकिन्छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालय स्थापना, अर्थमन्त्री खतिवडा भन्छन्-अब सरकारले जथाभावी ऋण नउठाओस्
काठमाडौँ । एकीकृत रुपमा सार्वजनिक ऋण व्यवस्थापन गर्ने उद्देश्यले सरकारले सार्वजनिक ऋण व्यवस्थापन कार्यालय स्थापना गरेको छ । अर्थमन्त्रालय मातहत रहने भएपनि स्वायत्त संस्थाको रुपमा आज काठमाडौँको पुतलीसडकमा स्थापना भएको कार्यालयको अर्थमन्त्री डा युवराज खतिवडाले उद्घाटन गरे । यसअघि आन्तरिक ऋण उठाउने कार्य नेपाल राष्ट्र बैंकमार्फत हुँदै आएको थियो भने बाह्य तथा आन्तरिक ऋणको व्यवस्थापन महालेखा नियन्त्रण कार्यालयको ऋण तथा लगानी शाखाले गर्दै आएको थियो । अर्थ मन्त्रालयका कतिपय कामसहित तीनै क्षेत्रको ऋण व्यवस्थापन गर्न उक्त कार्यालयले एकीकृत रुपमा काम गर्नेछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट राष्ट्र बैंक, महालेखा नियन्त्रण कार्यालय र अर्थमन्त्रालय तीन क्षेत्रको काम एकीकृत रुमपा हुने कार्यालय प्रमुख विष्णुराज ढकालले बताए । सरकारको वित्तीय नीति र मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि समेत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सहयोग गर्ने छ । सार्वजनिक संस्थानमा ऋण तथा शेयर लगानी गर्ने, लगानीको असुली तथा व्यवस्थापन गर्ने काम यसले गर्छ । अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा र आर्थिक नीति विष्लेशण महाशाखाबाट सम्पादित आन्तरिक तथा बाह्य ऋणका केही काम गर्ने जिम्मेवारी समेत कार्यालयले पाएको छ । सार्वजनिक ऋण नीतिको मस्यौदा तयार पार्ने, ऋणपत्र दोस्रो बजारको कारोवार व्यवस्थापन गर्ने, सरकारी जमानतको अभिलेख व्यवस्थापन, जमानती कमिसन असुल गर्ने, जमानतसम्बन्धी सम्झौता प्राप्त गरी अध्यावधिक गर्ने, सार्वजनिक ऋण तथा लगानीको अध्ययन अनुगमन र प्रकाशन गर्ने काम कार्यालयको हो । यस्तै आन्तरिक तथा वैदेशिक भुक्तानीका लागि त्रिवर्षीय बजेट तर्जुमा गर्ने, आन्तरिक ऋण उठाउने सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई सुझाव दिने र आयोगबाट प्राप्त निर्देशन पालना गर्ने जिम्मेवारीसमेत रहेको कार्यालय प्रमुख ढकालले बताए । सरकारको सार्वजनिक ऋण नीति तर्जुमा गर्न अर्थ मन्त्रालयलाई कार्यालयले सुझाव दिने छ । कार्यालय सञ्चालनका लागि राष्ट्र बैंक ऐन संशोधन गर्न भने बाँकी नै रहेको जनाइएको छ । सो अवसरमा अर्थमन्त्री खतिवडाले कार्यालयबाट सरकारी वित्तीय र मौद्रिक नीतिमा थप प्रभावकारिता आउने विश्वास व्यक्त गरे। सङ्घीय सरकारका लागि स्रोत धेरै उठाउनु पर्ने अवस्थामा स्थापना भएको कार्यालयबाट ठूलो अपेक्षा गरिएको उनले बताए । नेपालको कुल गार्हस्थ्य उत्पादनमा ६० प्रतिशत ऋण उठाउने योजनामा यति सकिँदैन या योभन्दा बढी उठाउन सकिन्छ भनेर सुझाव दिनसमेत उनले आग्रह गरे । अर्थमन्त्री खतिवडाले भने, “विकास गर्न पूँजी चाहिन्छ, यसका लागि राज्य स्रोतले पुग्दैन, अनुदानले मात्रै विकास हुन सक्दैन, अब उठाउने ऋणको व्यवस्थापनमा यो कार्यालयको महत्वपूर्ण जिम्मेवारी छ ।” विगतमा ऋण उठाउने, ऋणपत्र जारी गर्ने, भुक्तानी अवधि हेर्ने, भुक्तानी लिने एउटै निकाय हुँदा त्यो शृङ्खलामा कतै टुट्यो भने भुक्तानी ढिलो या नचाहिने भुक्तानी हुन जाने समस्या टर्ने विश्वास उनको छ । पूँजी बजारसँग जोडिएको विषय भएकाले कार्यालय राम्ररी व्यवस्थापन गर्नसके प्रभावकारी हुने र सरकारी ऋणपत्रको दोस्रो बजार विकास हुने अर्थमन्त्री खतिवडाले बताए । “विकासको क्रममा सार्वजनिक ऋणको अनुपात घट्दै गएको नेपाल अनौठो मुलुक होला, विकास खर्च गर्न नसकेको कारणले र वित्तीय साधन स्रोत परिचालन गर्न नसकेको कारणले त्यो ऋण तल आएको हो, अर्थमन्त्री खतिवडाले भने, “धेरै राम्रो काम गरेर, धेरै विकास गरेर आएको होइन, भौतिक पूर्वाधारमा पछि पर्दै गएको प्रतिविम्ब नै सार्वजनिक ऋण घट्दै जानु हो ।” उनले अबको दुई वर्षमा १० खर्ब रकम भौतिक पूर्वाधारलाई मात्रै चाहिने र पूर्वपश्चिम सडकलाई स्तरोेन्नति, रेलमार्गलाइ पूर्ण गर्ने र पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्नका लागि मात्रै २० खर्ब रकम चाहिने अवस्था रहेको बताए । नेपाललाई विकास गरी दिगो व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा र चाहेको पूर्वाधारमा तथा पूँजी निर्माणमा प्रयोग गर्नुपर्नेमा जोड दिए । “यसका लागि अब सरकारले जथाभावी ऋण नउठाओस्, जिम्मेवार होस्, राष्ट्र बैंक पनि सरकारी ऋणपत्रतिर नहेरोस्, त्यसैका लागि यो कार्यालय हो, ” उनले भने । स्वायत्त संस्था भए पनि काम गर्ने क्षमता नभए अर्थमन्त्रालयबाट निर्देशित हुनैपर्ने उनको भनाइ थियो । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले सार्वजनिक ऋण व्यवस्थापन कार्यालय स्थापना गर्न छ वर्ष अघिदेखि नै प्रयास थालिएको जानकारी दिए । विगतमा राष्ट्र बैंकको एउटा सानो भाग रहेकोमा अब छुट्टै कार्यालय भएकाले सरकारको पूँजी बजार र आन्तरिक ऋण व्यवस्थापनमा सहज हुने उहाँले विश्वास व्यक्त गरे । यसले वैदेशिक ऋण समय मै आउने र आन्तरिक ऋण समयमै व्यवस्थापन हुने विश्वास डा नेपालको छ । अर्थमन्त्रालयका सहसचिव मुकुन्द पौडेलले लामो प्रयासपछि कार्यालय स्थापना गर्न सफल भएको जानकारी गराउँदै कार्यालयलाई व्यवस्थित गराउन मन्त्रालयबाट आवश्यक सहयोग हुने प्रतिबद्धता जनाए । रासस
महिला चेम्बरका अध्यक्ष डा. शाक्य इजरायलका लागि नेपाली राजदुतमा नियुक्ती
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गत महिला चेम्बर प्रतिनिधि र प्रधानमन्त्री के.पी ओलीबीच भेट गरि महिला चेम्बरका अध्यक्ष डा. अन्जान शाक्यलाई इजरायलका लागि नेपालका राजदुत नियुक्त गरिएको छ । सरकारको यस निर्णयले महिला उद्यमीप्रतिको विश्वास प्रतिबिम्बित भएसँगै सम्पूर्ण महिला उद्यमीमा उत्साहको फैलिएको छ । एक महिला बराबर १० पुरुषको क्षमता हुने बताउँदै महिलाहरुमा असिम सम्भावना लुकेको हुँदा आउँदा दिनहरुमा सरकारको तर्फबाट सक्दो सहयोग रहने प्रधामन्त्री ओलीले बताएका छन् । महिला उद्यमीहरुबाट समाज र राष्ट्रले ठूलो आशा रहेको बताउँदै सबैसँग हातेमालो गरि अगाडी बढाउन र विदेशमा निर्यात गर्न गुणस्तरिय उत्पादनमा जोड दिन ओलीले बताएका छन् । महिला चेम्बरमा आबद्ध उद्यमी महिलाहरु अरुको भरमा नपरि आफ्नै उत्पादनमा लाग्न प्रोत्साहन गरेका छन् । प्रतिनिधिमण्डमा हाल महिला चेम्त्ररका उपाध्यक्षमा उर्मिला श्रेष्ठ, सुष्मा शर्मा लगायतका २२ जना महिला सदस्य रहेका छन् ।