भृकुटीमण्डपमा अब सवारी रोक्न नपाइने, यी हुन् नयाँ बस स्टपहरु (सूचिसहित)
काठमाडौं । उपत्यकाको ट्राफिक जाम कम गर्न पिक एण्ड ड्रपको तालिका फेरिएको छ । ट्राफिक प्रहरी महाशाखाले पुस १ गते लागू गरेको तालिका पुनः परिमार्जन गरेको हो । महाशाखाले रत्नपार्क, सभागृह अगाडि, बिसौनी एनएसी काठमाडौं मल अगाडिको स्थानलाई ५ वटा बिसौनीमा विभाजन गरेको छ । बालाजु क्षेत्रबाट टुँडिखेल घुम्ने सवारीलाई भृकुटीमण्डपमा यात्रु चढाउने र ओराल्न रोक लगाएको छ । अब सो क्षेत्रको सवारी काठमाडौं मल एनएसी अगाडि रोकेर यात्रु चढाउन र ओराल्न पाउनेछ । टुँडिखेल वरिपरि अव्यवस्थित तरिकाले एउटै सवारी साधनले थुप्रै ठाँउमा यात्रु चढाउने र ओराल्ने गरेका कारण ट्राफिक व्यवस्थापनमा समस्या देखिएको थियो । त्यसकारण यात्रुहरु चढाउने र ओराल्ने स्थान परिवर्तन गर्नु परेको महाशाखाले जनाएको छ । एउटा सवारी साधनले टुँडिखेल वरिपरि एक स्थानमा मात्रै यात्रु चढाउने र ओराल्ने स्थानको व्यस्था गरिएको छ। यस्ता छन् नयाँ बस स्टपहरु
बन्यो शक्तिशाली यातायात प्राधिकरण, उपत्यकामा ३०० इलेक्ट्रिक बस सञ्चालन गरिने
काठमाडौं । सरकारले शक्तिशाली यातायात प्राधिकरण बनाउने भएको छ । मन्त्रिपरिषदको बैठकले यातायात प्राधिकरण निर्माण गर्ने निर्णय गरेको हो । सरकारले प्राधिकरण मार्फत नै ३०० सय वटा इलेक्ट्रिक बस सञ्चालन गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एउटा मात्र विभागले ३२ लाख सवारी नियन्त्रण गर्न नसक्ने भन्दै प्राधिकरणको अवधारणा ल्याइएको हो । प्राधिकरणले देशैभरी यातायात व्यवस्थापन गर्ने गरी सो अवधारणपत्र स्वीकृत गरको हो । अब यातायात व्यवस्था विभागलाई खारेज गरी सम्पूर्ण अधिकार प्राधिकरणमा ल्याउन बाटो खुलेको छ ।
साना किसानको २३ लाख ऋण मिनाहा, सयौँ कृषकले राहत पाए
पर्वत । सरकारले हालै गरेको साना किसानको ऋण मिनाहा गर्ने घोषणाबाट पर्वतका सयौँ कृषकले राहत पाएका छन् । सरकारले कृषि क्षेत्रमा लगानी गर्न ऋण लिएका तर विविध कारणले भुक्तानी गर्न नसकेका कृषकको ऋण मिनाहा गर्ने घोषणा गरेपछि पर्वतका कृषकले लिएको २३ लाख ३८ हजार ७२० मिनाहा हुने भएको हो । आव २०७४\७५ को असार मसान्तसम्म पर्वतका विभिन्न क्षेत्रका कृषकबाट ब्याज १८ लाख ९३ हजार १२८ र साँवा चार लाख ४५ हजार ५९२ गरी रु २३ लाख ३८ हजार ७२० असुल गर्न बाँकी रहेको कृषि विकास बैंक कुश्मा शाखाका प्रमुख महेश पौडेलले जानकारी दिए । पौडेलका अनुसार जिल्लाका चार सहकारी संस्थामार्फत कृषकले ऋण लिएका थिए । बैंकबाट ऋण लिएर कृषकलाई वितरण गरेका तर अहिले अस्तित्वमै नरहेका सहकारी संस्थाहरूको ऋण मिनाहा भएको हो । यसबाट कतिपय जग्गा धितो राखेर ऋण लिएकाहरू समस्यामा परेका थिए । पर्वतका गुप्तेश्वर सहकारी संस्था लिमिटेडले ब्याजसहित ११ लाख ७४ हजार ३५६, हडरे देउराली सहकारी फलेवासले दुई लाख ३८ हजार ३८६, धौलागिरि सहकारी मोदी–२ देउपुरले दुई लाख ९७ हजार, आदर्श बहुमुखी सहकारीले तीन लाख २५ हजार १५ र सोही सहकारीले अर्को शीर्षकमा लगेको रु तीन लाख तीन हजार ९६२ ब्याजसहित असुल गर्नुपर्ने बक्यौता रहेको थियो । हालै बसेको मन्त्रिपरिषद्को बैठकले ऋण मिनाहा गर्ने घोषणा गरेपछि ती सहकारीमार्फत ऋण लिएका सबै कृषक ऋणमुक्त बनेको शाखा प्रबन्धक पौडेलले बताए । उनका अनुसार कतिपय जग्गा धितो राखेकाले बैंकमा सम्पर्क राखी फकुवा गर्न सकिने समेत जानकारी दिए ।
दुई संस्थाको बोनस सेयर सूचिकृत
काठमाडौं । बिहीबार दुई संस्थाको ४ लाख ७७ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । सो दिन मेरो माइक्रोफाइनान्स वित्तीय संस्था र जनउत्थान लघुवित्त वित्तीय संस्थाको सो मात्राको सेयर सूचिकृत भएको हो । सो मध्ये मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको ४ लाख २९ हजार कित्ता सेयर सूचिकृत भएको छ । त्यस्तै, जनउत्थान लघुवित्त वित्तीय संस्थाको ४८ हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।
लामो समय पछि कारोबार रकममा उत्साह, एकैदिन अर्बौँ बढीको सेयर किनबेच
काठमाडौं । सेयर बजारमा लामोसमय पछि कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । बिहीबारको बजारमा कुल एक अर्ब १२ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ४७ करोड रुपैयाँ बढी हो । बुधबारको सेयर बजारमा ६५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । केही समययता नेप्से परिसूचकमा उच्च वृद्धि भएता पनि कारोबार रकममा खासै सुधार आउन सकेको थिएन । बजारमा करोडभन्दा माथिको कारोबार नभएको महिनौँ भएको थियो । तर बिहीबारको बजारमा भने कुल २८ लाख ७२ हजार ५५१ कित्ता सेयर अर्बौ रुपैयाँमा किनबेच भएको छ । सो दिन कुल १७४ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एकैदिन १४ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ११५५ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंकको ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । समग्रमा बिहीबारको नेप्से परिसूचक १.०८ अंकले घटेर १२१५ अंकमा झरेको छ ।
रक्तदानमा चरम लापरवाही, गर्भवती महिलामा एचआइभी !
मादुरी, तामिलनाडु । उपचारका लागि अस्पताल भर्ना भएकी एक गर्भवती महिलालाई यहाँको एक अस्पतालमा एचआइभी पोजेटिभ भएको रगत दिइएपछि उनी पनि सङ्क्रमित भएकी छिन् । तामिलनाडु राज्यका प्रदेश स्वास्थ्यसचिव जे राधाकृष्णले गर्भवती महिलालाई एचआइभी पोजेटिभ भएका व्यक्तिले रगत दिएको थाहा भएको बताए । पहिलेदेखि नै एचआइभी पोजेटिभ भएका ती व्यक्तिले अस्पतालका कर्मचारीलाई समेत खबर नगरी रक्तदान गरेको श्री राधाकृष्णले जानकारी दिए । उक्त व्यक्तिले जानाजान रक्तदान गरेको हो वा होइन भन्ने अनुसन्धान पनि भइरहेको अस्पताल प्रशासनले जनाएको छ । उनले दुर्भाग्यबस ती व्यक्तिमा एआइभी पोजेटिभ भएको जानकारी अस्पताललाई नभएको बताए । उक्त घटनामा प्रमुख जिम्मेवार देखिएका प्रयोगशालाका प्राविधिक र परामर्शदातालाई अवकाश दिइएको छ । पीडित महिलाका श्रीमानले गर्भमा रहेको बच्चामा एचआइभी सङ्क्रमित हुन नदिन सबै उपाय अपनाउन अस्पताल प्रशासनसँग आग्रह गरेका छन् । रासस÷एएनआई
अब अनलाईनबाट अर्डर गरेको खानाको पैसा मोबाईलबाटै तिर्न सकिने
काठमाडौं । अब अनलाईनबाट अर्डर गरेको खानाको पैसा मोबाईलबाटै तिर्न सकिने भएको छ । उक्त सेवाको लागि मोबाईल भुक्तानी सेवाप्रदायक ‘खल्ती’ र अन्लाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी ‘फुडमान्डु’ बीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा खल्तीका डाइरेक्टर अमित अग्रवाल र फुडमान्डुका संस्थापक तथा सीईओ मनोहर अधिकारीले हस्ताक्षर गरेका छन् । यस साझेदारी पश्चात फुडमान्डुबाट अर्डर गरेको खानाको पैसा खल्तीमार्फत मोबाईलबाटै तिर्न सकिने भएको छ । साथै, साझेदारी सुरुवातको अफर स्वरुप प्रयोगकर्ताले खल्तीमार्फत फुडमान्डुमा गर्ने प्रत्येक भुक्तानीमा ५ प्रतिशत क्यास ब्याक पाउने छन् । कार्यक्रममा खल्तीका निर्देशक अमित अग्रवालले अन्लाईनबाट खाना अर्डर गर्न रुचाउने ग्राहकहरुले अब खल्ती वालेट प्रयोग गरेर बिना झन्झट मोबाईलबाटै सजिलै पैसा भुक्तानी गर्न सक्ने बताएका छन् । त्यस्तै, फुडमान्डुका संस्थापक तथा सीईओ मनोहर अधिकारीले अब फुडमान्डुका ग्राहकहरूले भुक्तानी गर्नको लागि नगद पैसामा मात्रै भर पर्नु पर्दैन । साथै, साझेदारीको फल स्वरुप फुडमान्डुका ग्राहकहरुले काठमाडौं र ललितपुरका ३०० भन्दा बढी रेस्टुरेन्टबाट आफूले चाहेको खाना अर्डर गर्न र खल्ती एप प्रयोग गरेर मोबाईलबाटै भुक्तानी गर्न सक्ने बताएका छन् । छिमेकी देशहरू भारत, चीन र बंगलादेशको तुलनामा नेपाल मोबाइल भुक्तानीको प्रयोगमा धेरै पछाडी छ । यस साझेदारीले नेपालीहरुमा अनलाईन मार्फत सामान खरिद गर्दा मोबाईलबाटै भुक्तानी गर्ने बानीको सुरुवात हुने आशा गरिएको छ ।
प्लस टु र स्नातक तहमा छात्रवृत्ति दिदै भारतीय राजदुतावास, तपाईं पनि पर्नुहुन्छ कि ?
काठमाडौं । भारतीय राजदूतावास काठमाडौंले नेपालमा अध्ययन गरीरहेका नेपाली विद्यार्थीहरुबाट महात्मा गान्धी तथा स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि अनलाइन आवेदन आव्हान गरेको छ । आवेदकको पारिवारिक वार्षिक आय २ लाख भन्दा कम हुनुपर्नेछ। आवेदक नेपाल सरकारबाट मान्यता प्राप्त कुनैपनि कलेजमा पढिरहेको हुनु पर्नेछ। महात्मा गान्धी छात्रवृत्तिको लागि विद्यार्थीले कम्तिमा पनि कक्षा १० मा ६० प्रतिशत कूल अंक प्राप्त गरेको र कक्षा ११ मा अध्ययन गरिरहेको हुनुपर्ने छ। स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि आवेदकले कम्तिमा पनि प्लस २ मा ७० प्रतिसत कूल अंक र नेपालको कुनैपनि मान्यता प्राप्त शैक्षिक संस्थामा स्नातक तहको प्रथम बर्ष वा प्रथम सेमेस्टरमा भर्ना भएको नियमित विद्यार्थी हुनुपर्नेछ। आवेदकले पढिरहेको संस्थाको प्रधानध्यापकद्वारा प्रमाणित प्रमाणपत्र पेस गर्नु पर्नेछ। अनलाईन आवेदन www.goischolarship.com.np मा पठाउनुपर्नेछ। आवेदनको अन्तिम म्याद पौष २९ सम्म रहेको छ।