बुटवल पावरले किन्यो हिमताल हाइड्रोपावरको ६ लाख कित्ता सेयर
काठमाडौं । बुटवल पावर कम्पनीले हिमताल हाइड्रोपावर कम्पनीको ६ लाख एक हजार ३०० कित्ता सेयर किनेको छ । बुधबार मात्रै बुटवल पावरले ६०० मेगावाटको अपर मस्र्याङ्गदी २ जलविद्युत आयोजना विकास गर्ने आयोजन कम्पनी हिमतालको सेयर किनेको हो । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)का अनुसार कम्पनीले हिमतालको स्वामित्वमा रहेको १९.४ प्रतिशत सेयर किनेको हो । हिमताल हाइड्रोको स्वामित्वमा रहेको सो मात्राको सेयर गत पुस १६ गते दाखेल खारेज भई बुटवल पावरको नाममा सेयर स्वामित्व कायम भएको नेप्सेले जनाएको छ ।
राणाले सम्हाले २९औँ प्रधानन्यायाधीशको कार्यभार
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका न्यायाधीशलगायतको उपस्थिति रहेको थियो । राणालाई मङ्गलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन गरिएको थियो । उमेरहदका कारण प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले मङ्गलबारबाट अवकाश लिएपछि नेपालको २९औँ प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने अवसर राणालाई मिलेको हो । पिता युवराजशम्शेर र माता उमा राज्यलक्ष्मीका सन्तानका रुपमा विसं २०१४ मङ्सिर २८ गते काठमाडौँको कालिकास्थानमा उजको जन्म भएको थियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गर्नुभएका राणाले विसं २०३६ मङ्सिर ६ गतेदेखि अधिवक्ताको प्रमाणपत्र प्राप्त गरी विसं २०५२ चैतसम्म कानून व्यवसायीका रुपमा काम गरे । न्यायपरिषद्को सिफारिशमा विसं २०५३ वैशाखदेखि पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशका रुपमा काम शुरु गरेका राणाले विसं २०५२ चैतमा अतिरिक्त न्यायाधीशको नियुक्ति लिएर विसं २०६१ चैत ३० स्थायी न्यायाधीशका रुपमा पुनरावेदन अदालतमा र विसं २०६५ असोज ७ गतेदखि विशेष अदालतमा काम गरे । त्यसक्रममा पुनरावेदन अदालत दीपायल, राजविराज, बुटवलमा कायममुकायम मुख्य न्यायाधीशको काम गर्ने अवसर पाएका थिए । विसं २०७१ जेठ १३ गते सर्वोच्च अदालतमा स्थायी न्यायाधीशका रुपमा नियुक्त भएका थिए । उनले आजै सर्वोच्च अदालतमा पुगी पदभार ग्रहण गरेका छन् । उनको चार वर्षको कार्यकाल रहनेछ ।
कोटेश्वरमा माछापुच्छ्रे बैंकको नयाँ शाखा
काठमाडौैं । माछापुच्छ्रे बैंकले कोटेश्वर शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडाैं महानगरपालिका स्थित कोटेश्वर शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक राममान श्रेष्ठ गरेका हुन् । बैंकले उक्त शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरेको छ । यस्तै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १८ पुगेको छ । बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ८८ वटा शाखाहरु, १०८ वटा एटीएम र ५१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १३९ स्थानवाट ग्राहकमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।
मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४२३ चालकको लाइसेन्स खारेज
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । महाशाखाले पटक–पटक मापसे सेवन गरेर सवारीसाधन चलाएपछि लाइसेन्समा प्वाल पार्दै आएको थियो । विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँच अभियान थालिएको हो । महाशाखाले २०६९ मङ्सिर २२ गतेदेखि मापसे गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्न थालेको हो । हालसम्म विभिन्न चरणमा गरी एक लाख ७८ हजार १९८ चालकको लाइसेन्समा प्वाल पारिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए । पहिलोपटक एक लाख ३७ हजार ९५२, दोस्रो पटक २६ हजार ७२७, तेस्रो पटक आठ हजार ८४०, चौथो पटक तीन हजार १२३ र पाँचौ पटक एक हजार १३३ चालकको लाइसेन्समा प्वाल पारिएको थियो । “खारेज गरिएका सवारी चालकले पुनः परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ,” उनले भने, “दुर्घटना घटाउन र मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको अभिलेख राख्नका लागि उक्त व्यवस्था गरेका हौँ ।” आर्थिक वर्ष २०७०/७१ मा ५२, आव २०७१/७२ मा १२२, २०७२/७३ मा १३३, २०७३/७४ मा ४१, २०७४/७५ मा ५८ र चालू आवमा १७ चालकको लाइसेन्स खारेज गरिएको हो ।
मुक्तिनाथ विकास बैंकद्धारा हिमालयन माध्यमिक विद्यालयका विद्यार्थीलाई सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंकको न्युरोड शाखाले न्युरोडको हिमालयन माध्यमिक विद्यालयको १५० विद्यार्थीहरुलाई आवश्यक स्टेस्नरी सामान सहयाेग गरेकाे छ । बद्रिबास शाखाले बद्रिबास नगरपालिकालाई १० वटा डस्टबीन र तुल्सीपुर शाखाले तुलसीपुर उपमहानगरपालिकालाई २० वटा डस्टबीन हस्तान्तरण गरेको छ । बैंकले साप्ताहिक वार्षिकोत्सव विशेष कार्यक्रम हप्ता भरि सञ्चालन गर्दै आइरहेको छ । बैंकले संस्थागत, सामाजिक उत्तदायित्वको विभिन्न कार्यक्रमहरु गर्दै जाने कुरा समेत बताएको छ ।
बाँकेमा साक्षरता अभियान, ८० हजार नागरिक निरक्षर
काठमाडौं । कागजमा वर्षेनी साक्षर प्रतिशत बढाउँदै गएको बाँकेमा अहिले पनि ८० हजार बढी नागरिक निरक्षर छन् । जिल्लाका दुर्गम गाउँपालिकामा मात्रै नभई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमै थुप्रै नागरिक निरक्षर रहेका छन् । साक्षर वडा घोषणा भइसकेको नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १ र २४ मा समेत निरक्षरको सङ्ख्या थुप्रै रहेको भेटिएको छ । उपमहानगरपालिकासँगै जोडिएको नरैनापुर गाउँपालिकामा मात्रै करीब १२ हजार नागरिक निरक्षर रहेको भेटिएका छन् । यो एउटै गाउँपालिकाको तथ्याङ्कले पनि बाँकेमा निरक्षर अभियान कागजमै सीमित रहेको प्रष्ट देखिएको छ । सरकारी तथ्याङ्क अनुसार निरक्षरमध्ये महिला ५० हजार ४६९ र पुरुष ३४ हजार ६१५ अझै निरक्षर छन् । पाँच लाख ४ हजार ५४८ जनसङ्ख्या रहेको जिल्लामा एक लाख ७६ हजार २५५ महिला र दुई लाख १२ हजार ६३२ पुरुष साक्षर रहेको कागजी तथ्याङ्कले देखाएको छ । ३५ हजार जनसङ्ख्या रहेको नरैनापुरमा १२ हजार निरक्षर रहनुले जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाको अवस्थामा पनि सुधार हुन नसकेको आँकलन गरिएको छ तर, तत्कालीन जिल्ला शिक्षा तथा अहिलेको शिक्षा एकाइ समितिसँग बाँकेमा निरक्षर नागरिकको विवरण नै छैन । बाँकेमा निरक्षरको सङ्ख्या बढी रहे पनि तत्कालीन जिल्ला शिक्षा कार्यालय बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापा निरक्षरको यकिन विवरण नभएको बताएका छन् । राष्ट्रिय योजना आयोगका अनुसार बाँकेको साक्षरता दर ५६ प्रतिशत छ । यसले पनि बाँकेमा ४४ प्रतिशत नागरिक निरक्षर रहेको देखाएको छ । तर, स्थानीय तहमा गएर सर्वेक्षण गर्ने हो भने यो सङ्ख्या कागजमा घटेपनि सङ्ख्यात्मक रूपमा उत्तिकै रहेको छ । शिक्षा नै विकासको मूल आधार हो भन्दै शैक्षिक सुधारमा सरकारले गरेको लगानी बाँकेका हकमा बालुवामा पानीझै भएको छ । नरैनापुरको यो निरक्षर अवस्थाले पनि सरकारको हरेक गाउँ र जिल्ला पूर्ण साक्षर बनाउने अभियान अलपत्र देखिएको छ । साक्षरको तथ्याङ्क घट्ने–बढ्ने क्रम जारी रहने गरेको जनाउँदै सो कार्यालयका कर्मचारीहरूले सोही कारणले बढी निरक्षर देखिएको हुनसक्ने बताएका छन् । एक कर्मचारीले भन्नुभयो, “वर्षौैं पढ्दा त बिर्सिन्छन् भने जम्मा तीन महीना पढेकाले सधैँ सम्झिने हुन् भन्ने विषय सामुदायिक सिकाइ केन्द्रमार्फत सञ्चालन गरिने निरन्तर शिक्षामा करीब डेढ सय कक्षाका लागि कोटा आए पनि यी कक्षासमेत प्रभावकारी हुनसकेका छैनन् । साक्षर घोषणा गरिएको तत्कालीन नौबस्ता गाविस र नेपालगञ्ज उपमहानगरपालिकाकै केही वडामा समेत अहिले पनि निरक्षर नागरिक रहेका छन् । तत्कालीन सीतापुर र मनिकापुरले साक्षर घोषणाका लागि अनुमति लिए पनि धेरै नागरिक निरक्षर रहेकै कारण अहिले पनि घोषणा गर्न नसकिएको वडा नं १८ मनिकापुरका वडाध्यक्ष कृष्ण कार्की बताएका छन् । गाउँपालिकामा निकै ठूलो जनसङ्ख्या निरक्षर रहेकाले साक्षर बनाउने अभियान सञ्चालन गरिएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत बताएका छन् । अहिले पनि नरैनापुर गाउँपालिकामा रहेका यी निरक्षरले सरकारी कामकाजमा औँठाछाप नै प्रयोग गर्दै आएको पाइएको गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले जानकारी दिएका छन् । रासस
वाइड बडीमा यसरी भयो अनियमितता (प्रतिवेदन सहित)
काठमाडौँ । वाइडबडी खरिदमा अनियमितता भएको ठहर सहित छानबीन उपसमितिले पर्यटन मन्त्री रवीन्द्र अधिकारलाई तत्काल कारवाही गर्न शिफारिस गरेको छ । सांसद राजेन्द्र केसीको संयोजकत्वमा गठित समितिले वाइड बडी खरिद प्रक्रिया कानून सम्मत नदेखिएको प्रतिवेदन आज लेखा समितिमा बुझाएको छ । पूर्वमन्त्री २ जना, सचिव ३ जना र नेपाल बायु सेवा निगमका महानिर्देशक सुगतरत्न कंशाकारमाथि पनि छानबीन र कारवाहीको शिफारिस गरिएको छ । वाइड बडी खरिदमा यसरी भयो अनियमितता, प्रतिवेदनले यही भन्छ :
चितवन राष्ट्रिय निकुञ्ज प्लास्टिकमुक्त बन्दै, नगरपालिकाकाे यस्ताे छ कार्ययोजना
काठमाडाैं । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्र्ज क्षेत्रमा प्लास्टिक निषेध गरेको छ । प्लास्टिक खाएर दुर्लभ वन्यजन्तुको मर्ने क्रम बढ्न थालेपछि प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताएका छन् । ढकालका अनुसार विगत दुई वर्षदेखि कसरामा रहेको मुख्यालयले निकुञ्जमा प्लास्टिक न्यूनीकरणको अभियान थालनी गरेको भए पनि मंगलबार औपचारिक रुपमा निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको हो । घोषणा भएसँगै जंगल घुम्न जाने पर्यटक तथा निकुञ्जभित्र रहेका नेपाली सेना र निकुञ्जका अधिकारीले प्लास्टिक र प्लास्टिकजन्य वस्तु निकुञ्जमा फाल्न पाउने छैनन् । सुरूवाती चरणमा लैजान दिने र फाल्न नदिने तथा केही समयपछि निकुञ्जमा प्लास्टिक निषेध गरिने भएको छ । प्लास्टिकमुक्त क्षेत्र घोषणालाई कार्यान्वयन गरी अर्थपूर्ण बनाउन नगरपालिकाले केही कार्ययोजना पनि बनाएको छ । निकुञ्जभित्र सेनाको ५० वटा पोस्टमा बस्ने सेनालाई प्लास्टिक झोलाको विकल्पमा कपडाको झोला प्रयोग गर्न लगाउने, जंगल घुम्न जाने पर्यटकलाई प्लास्टिक र प्लास्टिकजन्य सामग्री निकुञ्जमा नलैजान आग्रह गर्ने, मिनरल वाटरको बोतलको विकल्प खोज्न आग्रह गर्ने र निकुञ्जका ठाउँठाउँमा डस्टविन राख्ने तयारी भएको छ । जनचेतनाका लागि सूचनाको माध्यमको अधिकतम उपयोग गरी टेलिभिजन, रेडियो, सूचना बोर्ड, पोस्टर र स्टिकर बनाएर ठाउँठाउँमा टाँस गर्ने योजना रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले बताएका छन् । बाढीले बगाएर ल्याएको प्लास्टिक र जंगल घुम्न जाने पर्यटकले फालेका प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुका कारण निकुञ्ज प्रदूषित भएसँगै त्यसले जनावरलाई समेत मृत्युको मुखमा पुर्याएको छ । प्लास्टिक खाएर सबैभन्दा धेरै चरा मर्ने गरेको भेटिएको छ । निकुञ्जमा प्लास्टिक खाएर दैनिक २ वटा चरा मर्ने गरेको संरक्षणकर्मीहरुले बताएका छन् । निकुञ्ज स्थापना भएको लामो समय बितिसक्दा पनि यहाँ संरक्षणको सवालमा अथाह चुनौती छन् । मानव–वन्यजन्तुबीचको द्वन्द्व, राहत प्रक्रिया, नदीजन्य पदार्थ माथिको चाप, पूर्वाधार निर्माण, कर्मचारी आपूर्ति, नदी कटानजस्ता चुनौतीहरु विद्यमान रहेको प्रमुख संरक्षण अधिकृत ढकालले बताएका छन् ।