माछापुच्छ्रे बैंकका ग्राहकलाई मेडिसिटि अस्पतालमा ७ प्रतिशतसम्म छुट
काठमाडौं । अब माछापुच्छ्रे बैंकका ग्राहकहरुले नेपाल मेडिसिटि अस्पतालको उपचार सेवामा ७ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो मात्राको छुट पाउने सम्बन्धि मंगलबार माछापुच्छ्रे बैंक र मेडिसिटि अस्पतालबीच एकआपसमा सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा नेपाल मेडिसिटि अस्पतालको तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अब बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।
टेलिकमको प्रबन्ध निर्देशकका लागि ३ जनाको नाम मन्त्रिपरिषदमा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) को प्रवन्ध निर्देशकका लागि ३ जनाको नाम मन्त्रिपरिषदमा पठाउने तयारी गरेको छ । मन्त्रालयले ९ जनाको व्यवसायिक योजना र अन्तरवार्ताबाट उत्कृष्ट ३ जना छनोट गरी मन्त्रिपरिषद पठाउने तयारी गरेको हो । छनोट समितीले सोमबार ५ जना र मंगलबार ४ जनाको अन्तरवार्ता लिएको हो । प्रबन्ध निर्देशकका लागि पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य, डा. बिमल आचार्य, सनाउल्लाह खान, गोकर्णप्रसाद सिटौला, डिल्लीराम अधिकारी, नगेन्द्रकुमार दास, चन्द्रमोहन झा, प्रदीपराज उपाध्यय र संगिता पहाडी (आचार्य) गरी ११ जनाले निवेदन दिएका छन् । मन्त्रालयले प्रबन्ध निर्देशक नियुक्तिको लागि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिमा विज्ञको रुपमा उमाकान्त पराजुलीलाई राखिएको छ भने मन्त्रालय प्रशासन महाशाखाकी प्रमुख राधिका अर्याल सदस्य रहेकी छिन् । मंसिर १७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ३ सदस्यीय छनोट समिति गठन गर्ने निर्णय गरेको थियो । अहिले समितिले प्रतिस्पर्धीको अध्ययन गरिरहेको छ । आवेदकको योजना, शैक्षिक योग्यता, व्यवसायिक अनुभवलाई आधार मानेर ३ उत्कृष्ट व्यक्तिको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । सिफारिस भएका तीन जनामध्ये एकलाई मन्त्रीपरिषदले प्रबन्ध निर्देशकको रुपमा नियुक्त गर्नेछ । समितिलाई प्राप्त अधिकार अनुसार प्रक्रिया सुरु भएको २१ दिन भित्रमा ३ जनाको नाम मन्त्रिपरिषदमा पठाउनु पर्नेछ । गत साउन २९ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेपछि सो पद रिक्त रहको छ । राजभण्डारीले आफ्नो बर्खास्तीको निर्णय गैरकानूनी भएको भन्दै पुनर्बहालीका लागि सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उक्त रिटविरुद्ध सरकारले अन्तरिम आदेश नदिएपछि सरकारलाई नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि बाटो खुलेको थियो । नेपाल दूरसञ्चार प्रधिकरणको तथ्याङ्क अनुसार हाल टेलिकमका १ करोड ९५ लाख प्रयोगकर्ता छन्, जुन कूल प्रयोगकर्ताको ४० प्रतिशत हो । कूल १५ अर्ब चुक्ता पूँजी भएको उक्त कम्पनीमा जनताको समेत लगानी छ । टेलिकमको बजार पूँजीकरण १ खर्ब १५ अर्ब भन्दा बढी छ, जुन सूचिकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै हो । हाल सूर्यभक्त पोखरेलले कामु प्रबन्ध निर्देशकको भूमिका निर्वाह गरिरहेका छन् । लामो समयदेखि नेपाल दूर सञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) प्रमुख कार्यकारी नहुँदा दैनिक प्रशासनिक कार्यमा समेत असर परेको स्रोतको दाबी छ ।
जनता बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
जनता बैंक र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्री र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छन् । यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै १२८ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जिवन बीमा गर्न सक्नेछन् । साथै शाखाहरुबाटै बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
इन्टरनेटको स्पिड बढाउँदै भायनेट, ल्यायो नयाँ योजनासहित आकर्षक प्याकेजहरु
काठमाडौं । नेपालकै पहिलो एफटीटीएच(फाइबर–टु–द–होम)इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले आफ्नो अन्लिमिटेड इन्टरनेटको स्पिडमा वृद्धि गरिरहेको छ । कम्पनीले इन्टरनेटको स्पिडमा वृद्धि गर्दै ग्राहकहरुको लागि ‘गो फर स्पिड, गो फर भायनेट’ नामक योजना बजारमा ल्याएको छ । स्पिड वृद्धि गर्ने क्रममा भायनेटले २० एमबिपिएसलाई बढाएर ३० एमबिपिएस बनाएको छ भने ३० एमबिपिएस लाई बढाएर ४० एमबिपिएस बनाएको छ । त्यसैगरी, भायनेटले सर्वाधिक ६० एमबिपिएस स्पिड पनि ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको छ । वार्षिक ग्राहकहरुले ३० एमबिपिएस इन्टरनेटको लागि प्रतिमहिना १२०० रुपैयाँ, ४० एमबिपिएस इन्टरनेटको लागि प्रतिमहिना १४०० रुपैयाँ र ६० एमबिपिएस इन्टरनेटको लागि प्रतिमहिना १७२० रुपैयाँ तिर्नु पर्नेछ । यसका साथै, ग्राहकहरुले ५५ एचडी र १३५ वटा एसडी च्यानलहरु रहेको नेट टिभी समेत निःशुल्क पाउन सक्नेछन् । यो योजनाअन्तर्गत भायनेटले ग्राहकहरुलाई ३ महिना र ६ महिनाको लागि पनि विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने छ ।
अनसन बस्न डा. केसी ईलाममा
काठमाडौं। सरकारले तोकिएको समयसिमा भित्र माग पुरा नगरेपछि डा गोविन्द केसीले भोलीबाट अनसन सुरु गर्ने भएका छन्। यो पटक डा केसी इलाममा अनसन बस्ने भएका छन्। अनसनको तयारीका लागि डा केसी इलाम पुगिसकेको डा केसीका सहयोगी जानकारी दिए। उनका अनुसार डा केसीले बुधबारदेखि अनसन बस्ने तयारी गरेका छन्। डा केसीको यो १६ औं अनसन हो। डा केसीले राखेका मागहरुः १. १५औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस्। क) सम्झौताबमोजिम अक्षरसः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस्। ख) गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रि.वि. पदाधिकारीलगायतका व्यक्तिहरूलाई तत्काल सिफारिस बमोजिम बर्खास्ती लगायतका कारबाही गरियोस्। त्रिवि पदाधिकारीहरूद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थामै फिर्ता गरियोस्। ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना सुरु गर्ने व्यवस्था गरियोस्। २. निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस्। साथै, प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाइयोस्। ३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गरियोस्।
होण्डाको ‘होण्डा नेपाल ड्रिम कप’ रेसिङ्ग च्याम्पियनशिप सम्पन्न
काठमाडौं । नेपालमा पहिलो पटक होण्डाले ‘होण्डा नेपाल ड्रिम कप’ रेसिङ्ग च्याम्पियनशिप आयोजना गरेको छ । नेपाल अटोमोबाईल स्पोर्टस् एसोसियसन ( नासा)को साझेदारीमा होण्डाले आयोजना गरेको ‘होण्डा नेपाल ड्रिम कप’लाई नेपाल मोटरसाइकल फेडरेशनले प्रमाणित गरेको थियो । रेसिङ्गका लागि उत्साहित होण्डा राईडरहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त च्याम्पियनशिपमा ३० जना प्रतियोगीहरुको सहभागिता रहेको थियो । पुष १३ र १४ गते ग्वार्को अवस्थित होण्डाको सेफ्टी राईडिङ्ग सेन्टरमा सम्पन्न उक्त च्याम्पियनशिप सिविआर २५० आर र १४९ ( १६५ सिसि गरि २ भागमा विभाजन गरिएको थियो । उक्त च्याम्पियनशिपमा सिविआर २५० आर अन्तर्गत पहिलो हुने विजेताले नगद रु.५० हजार, दास्रोले रु ३० हजार, तेस्रोले रु २० हजार प्राप्त गरेका थिए । त्यस्तै १४९ ( १६५ सिसि अन्तर्गत पहिलो हुनेले नगद रु २५ हजार, दास्रोले रु १५ हजार र तेस्रोले रु १० हजार प्राप्त गरेका थिए ।
वैशाखमा नेपालको भूउपग्रह प्रक्षेपण हुँदै, ‘बर्डस थ्री’ भूउपग्रह निर्माण गर्न सरकार दियो २ करोड
गोदावरी । नेपालले आगामी वैशाखमा आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो । ‘बर्डस थ्री’ नामक भूउपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकाल बताउँछन् । सरकारले सहुलियत मूल्यमा तीन भूउपग्रह एकैसाथ निर्माण तथा प्रक्षेपणका लागि उक्त रकम पठाएको उनले जानकारी दिए । वैशाखदेखि प्रक्षेपण हुने उक्त भूउपग्रहबाट देशका विभिन्न स्थानको तस्वीर दैनिक सङ्कलन तथा हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना प्रवाह गरिनेछ । जापानमा भूउपग्रह निर्माण भई अमेरिकाबाट प्रक्षेपण गरिने जनाइएको छ । सङ्काय प्रमुख ढकालले भने, “२०७६ सालको शुरुआतसँगै नाष्टका वैज्ञानिक र विज्ञान तथा प्रविधिमन्त्री जापान पुगेर भूउपग्रह प्रक्षेपण गर्ने कार्यक्रम छ ।” प्रक्षेपणपछि नेपालको आफ्नै भूउपग्रह नहुँदा अन्य मुलुकसँग ठूलो रकम खर्चेर सूचना तथा जानकारी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ । सफल प्रक्षेपणपछि नेपालका इञ्जिनीयर अन्य मुलुकभन्दा कम छैनन् भन्ने प्रमाणित पनि हुनेछ । उक्त भूउपग्रहले नेपालको आकाशमा दैनिक पाँचदेखि १० मिनेटसम्म तस्वीर अभिलेखीकरण गर्नेछ । प्राप्त हुने तस्वीर र सूचनालाई नाष्टले आफ्नै कार्यालयको ‘ग्राउन्ड स्टेशन’मा भण्डारण गर्नेछ । नेपालले भाडाका भूउपग्रहबाट सूचना तथा जानकारी लिँदैआएको छ । रासस
पाँच महिनामा यी सात भन्सारबाट निर्यात शून्य
काठमाडौँ । मुलुकमा हाल सञ्चालनमा रहेका कूल ३१ भन्सारमध्ये सात भन्सारबाट निर्यात शून्य रहेको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्याङ्कअनुसार जलेश्वर, सुनसरी, जनकपुर, सर्लाही, भद्रपुर तथा अन्य दुई भन्सारबाट निर्यात शून्य रहेको छ । ती भन्सारबाट आयातको मात्रा समेत असाध्यै नगन्य मात्रामा भएको पाइएको छ । यस्तै कञ्चनपुर, गौर, सिराहा भन्सारबाट पनि नगन्य मात्रामा मात्रै आयात र निर्यात भएको पाइएको छ । चालू आवको पछिल्लो पाँच महिनाको विवरणअनुसार वीरगञ्ज भन्सारबाट ३४ दशमलव २७ प्रतिशत बराबरको आयात भएको छ । सो भन्सारबाट दुई खर्ब सात अर्ब ९९ करोड ७५ लाख ३१ हजार बराबरको माल वस्तु आयात हुँदा छ अर्ब ७३ करोड ५७ लाख बराबरको मात्रै निर्यात भएको छ । प्रतिशतका आधारमा वीरगञ्ज भन्सारबाट १७ दशमलव ९६ प्रतिशत बराबरको माल वस्तु मात्रै निर्यात भएको छ । पछिल्लो दिनमा भैरहवा भन्सारबाट आयात हुने मालवस्तुको मात्रा समेत बढ्दै गएको पाइएको छ । चालू आवको पाँच महीनामा सो भन्सारबाट एक खर्ब एक अर्ब ९० करोड १९ लाख १९ हजार बराबरको सामान आयात भएको छ । प्रतिशतका आधारमा १६ दशमलव ७९ प्रतिशत सामान सोही भन्सारबाट आयात भएको छ तर सोही भन्सारबाट रु एक अर्ब ३६ करोढ ६१ लाख ३३ हजार बराबरको अर्थात तीन दशमलव ६४ प्रतिशत मात्रै निर्यात भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ दशमलव ५९ प्रतिशत मालवस्तु आयात भएको छ । त्यो भनेको ७६ अर्ब ४३ करोड ४७ लाख २० हजार बराबरको माल वस्तु आयात भएको छ । सो भन्सारबाट १० अर्ब ८५ करोड ८६ लाख ६९ हजार बराबरको निर्यात भएको छ । निर्यात गर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अग्रस्थानमा रहेको छ । प्रतिशतका आधारमा २८ दशमलव ९५ प्रतिशत सामान उक्त भन्सारबाट निर्यात भएको छ । चौथो स्थानमा विराटनगर भन्सार रहेको छ । सो भन्सारबाट ७२ अर्ब २३ करोड ३२ लाख ७१ हजार अर्थात् ११ दशमलव ९० प्रतिशत बराबरको माल वस्तु आयात हुँदा १० अर्ब ६० करोड ३४ लाख १७ हजार अर्थात् २८ दशमलव २७ प्रतिशत निर्यात भएको छ । वीरगञ्ज सुख्खा भन्सारबाट ६१ अर्ब ८५ लाख ४६ हजार ५० हजार अर्थात् १० दशमलव १९ प्रतिशतको आयात हुँदा एक अर्ब ८१ करोड ३६ लाख ७७ हजार अर्थात् चार दशमलव ८४ प्रतिशतको निर्यात भएको छ । नेपालगञ्ज भन्सारबाट २३ अर्ब ३० करोडको आयात हुँदा रु ८९ करोड ४५ लाख ९१ हजारको निर्यात भएको छ । रसुवा भन्सारबाट १७ अर्ब ३४ करोड ८१ लाख ५९ हजार बराबरको आयात भएको छ । सोही नाकाबाट ५३ करोड १६ लाख २८ हजारको मात्रै निर्यात भएको छ । मेची भन्सारबाट १६ अर्ब एक करोड ३५ लाख ६३ हजारको आयात हुँदा चार अर्ब १७ करोड छ लाख ६२ हजारको निर्यात भएको छ । कञ्चनपुर भन्सारबाट चालू आवको पाँच महीनामा १० अर्ब ५० करोड ५४ लाख ५३ हजारको आयात हुँदा १३ करोड ४७ लाख ७६ हजार बराबरको निर्यात भएको छ । कैलाली भन्सारले पाँच महीनामा आठ अर्ब २९ करोड ४५ लाख ५५ हजारको आयात गरेको छ भने निर्यात २८ करोड ५६ लाख ४९ हजारको मात्रै निर्यात गरेको छ । जलेश्वर भन्सारबाट चार अर्ब ३७ करोड १० लाख ९७ हजार बराबरको आयात हुँदा निर्यात भने शून्य रहेको छ । भन्सार विभागका अनुसार हाल देशभर ३१ भन्सार सञ्चालनमा छन् ।