कर्मचारी समायोजन अध्यादेश पालना नगर्ने कर्मचारीलाई कारवाही गर्दै सरकार
काठमाडौँ। सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार समायोजनमा नगई आन्दोलन गर्ने कर्मचारीलाई कारवाही गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा अध्यादेश अनुसार समायोजन नभई आन्दोलन गर्ने कर्मचारीलाई कारवाही गर्ने भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए। उनका अनुसार आन्दोलन गर्ने कर्मचारीलाई ‘निजामति सेवा ऐन–२०४९’ अनुसार आचरण र अनुशासन पालना नगरेको भन्दै कारवाही गर्ने भएको हो । कर्मचारी समायोजन गर्न ल्याइएको अध्यादेश अनुसार समायोजनमा नगएर दैनिकजसो सिंहदरबारभित्र कर्मचारीले सरकार विरुद्ध आन्दोलन गर्न थालेपछि मन्त्रालयले कारवाहीको प्रक्रिया अगाडि बढाएको हो । प्रवक्ता अधिकारीले निजामति कर्मचारी ऐनअनुसार अचारण र अनुशासन पालना नगर्ने कर्मचारीलाई कारवाही गरिने बताएका छन्। उहाँका अनुसार ऐनको परिच्छेद ७ बमोजिम आचरण र अनुशासन वेवास्ता गदै निजामति कर्मचारीले सामाजिक सञ्जाल, पत्रपत्रिका तथा लेखरचनामा सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, सचिव दिनेशकुमार थपलियालगायत मन्त्रालयको आँच आउने गरी अवाञ्छित, अनुचित, गैरजिम्मेवारी, अनुशासनहिन र पेशागत मर्यादा विपरीत सामाजिक सञ्जालमा स्टाट्स, तस्बिर, विचार राख्ने अस्वभाविक क्रियाकलपाप्रति ध्यानाकर्षण जनाउँदै त्यस्ता कर्मचारीलाई पहिचान गरी कारवाही गरिने छ । ऐनमा उल्लेखित आचरण र अनुशासन बेवास्ता गरी आफू निजामती कर्मचारीको भूमिकामा समेत नरहेको जस्तो गरी मन्त्री, सचिव लगायतलाई पद, वर्ण, जात, समुदाय र सम्प्रदायसमेतलाई जोडेर सामाजिक सञ्जालमा गैरजिम्मेवारपूर्ण, अनुशासन र आचरण विपरीत अभिव्यक्ति राख्ने राष्ट्रसेवक कर्मचारीको अभिलेख समेत राखिएको बताइएको छ । उनले समायोजनप्रति भ्रामक, अवाच्छित र दुराशययुक्त क्रियाकलाप गर्ने कर्मचारीलाई निजामति सेवा ऐन–२०४९, सोको नियमावलि–२०५०, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन–२०६४ र सोको नियमावलि–२०६५ र विद्युतीय कारोवार ऐन–२०६३ अनुसार कारवाही गरिने बताए । प्रवक्ता अधिकारीले अध्यादेश–२०७५ अनुसार कर्मचारीलाई समायोजन प्रक्रियामा सहभागी हुन अनुरोध गरेका छन्। सरकारले स्थानीय तहमा कर्मचारी समायोजन गरेर तीनै तहमा बुधबारदेखि सङ्घमा रहेका कर्मचारीको समायोनजका लागि अनलाइन आवेदन माग गरेको छ । सरकारका पूर्व मुख्य सचिव विमल कोइरालाले समायोजनका नाममा आन्दोलन गर्नु ठिक नभएको बताए। उनले कर्मचारीले आफ्नो अनुशासन, मर्यादामा रहनुपर्ने बताए। ‘‘सरकारले कर्मचारीको सेवा सुविधा सुनिश्चित गरेर खटाएको ठाउँमा कर्मचारी जानुपर्दछ’’, उनले भने, ‘‘अहिले कर्मचारी आन्दोलन गर्नुभन्दा पनि खटाएको ठाउँमा जानुपर्दछ ।’’ समायोजन अनुसार सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ समायोजन गरिँदैछ । सरकारले पुस मसान्तभित्र समायोजन सक्ने जनाएको छ । कर्मचारी समायोजन सङ्घीयता कार्यन्वयनको महत्वपूर्ण कडिको रुपमा लिइएको छ। रासस
आइएमई ट्राभलद्वारा चन्द्रागिरिसम्म सटल बस सेवा
काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभलले अंग्रेजी नयाँवर्ष २०१९ को अवसरमा पानीपोखरीदेखि चन्द्रागिरिसम्म सटल बस सेवाको प्रारम्भ गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकहरूको सहज आवागमनलाई मध्यनजर गर्दै यस्तो सुविधा सम्पन्न बस सेवा संचालनमा ल्याएइको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले बताएका छन् । चन्द्रागिरि हिल्सको सीटी सम्पर्क कार्यालय पानीपोखरीस्थित आइएमई कम्प्लेक्सबाट हरेक दिन विहान १० बजे छुट्ने उक्त बस सेवाले लाजिम्पाट, कान्तिपथ, सोह्रखुट्टे, सोल्टीमोड, कलङ्कीहुँदै चन्द्रागिरि हिल्स बेस स्टेसनसम्मको दुरी तय गरिएकाे छ । उक्त बस साँझ ४ बजे चन्द्रागिरि हिल्सको बस स्टेसनबाट छुट्ने छ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सको सीईओमा रमेशकुमार भट्टराई
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रमेशकुमार भट्टराई नियुक्त भएका छन् । इन्स्योरेन्सले पुस १७ गतेदेखि लागू हुने गरी भट्टाईलाई कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ भट्टाराईले आगामी ४ वर्षसम्म कम्पनीको सीईओको कार्यभार सम्हाल्ने छन् । वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका सीईओ भट्टराईसँग बीमा तथा बैकिङ क्षेत्रको ३५ वर्षको कार्य अनुभव रहेको छ । साथै, भट्टराईले बीमा तथा बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृत रूपमा महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाईफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी विकास बैंकमा २२ वर्ष भन्दा बढी समय काम गरिसकेका छन् ।
प्रधानन्यायाधीशमा जबरा सर्वसम्मत
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्वत अनुमोदन गरेको छ । समितिले प्रस्तावित प्रधानन्यायाधीश जबरासँग यही पुस १५ गते संसदीय सुनुवाइ गरेको थियो । सुनुवाइ नसकिएकाले आज सुनुवाइको लागि समितिको बैठक बोलाइएको थियो । समितिका संयोजक लक्ष्मणलाल कर्णले समितिबाट प्रस्तावित प्रधानन्यायाधीश जबराको नाम प्रधानन्यायाधीशका लागि सर्वसम्वत अनुमोदन भएको जानकारी दिए ।
सिन्धु बिकास बैंक र प्रभु इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सिन्धु बिकास बैंक र प्रभु इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले हस्ताक्षर गरेका छन् । सम्झौताबाट सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले प्रभु इन्स्योरेन्सका बीमा लेखहरु लिन, बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सम्पुर्ण सुविधाहरु उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सिन्धु बिकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत प्राप्त गर्ने छन् ।
श्री एयरलाइन्सले ७४ सिट क्षमताको २ जहाज किन्ने, अन्तर्राष्ट्रिय उडानकाे लागि लाइसेन्स माग
काठमाडौं । श्री एयरलाइन्सले २ वटा नयाँ जहाज थप्ने भएको छ । एयरलाइन्सले ७६ सिट क्षमताको २ वटा जहाज खरिद गर्न लागेकाे हाे । ४ वटा आन्तरिक उडान गरिरहेको एयरलाइन्सले जहाजको संख्या बढाएर ६ पुर्याउने भएको छ । नयाँ जहाज किन्नका लागि प्रक्रिया अघि बढिसकेको एयरलाइन्सका प्रबन्ध निर्देशक सुधीर मित्तलले बताए । नयाँ जहाज खरिदका लागि करिब डेढ अर्ब रुपैंया लगानी हुनेछ । दुबै जहाज नेपालभित्रका उडानमा प्रयाेग हुनेछ । हाल एयरलाइन्सले भैरहवा, विराटनगर, भद्रपुर, धनगढी, नेपालगञ्ज लगायत स्थानमा हवाई सेवा उपलब्ध गराइरहेको छ । नयाँ जहाज ल्याएपछि पाेखरा र भरतपुरमा उडान सेवा विस्तार गरिने उनले बताए । यसैगरी एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि सरकारसँग अनुमति माग गरेकाे छ । ‘हाम्राे सेवा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन चाहिरहेका छाैं । त्यसमा लागि हामी अन्तर्राष्ट्रिय उडान अनुमति पर्खिरहेका छाैं’ प्रबन्ध निर्देशक मित्तलले भने । यस कम्पनीसँग विदेशमा पनि हेलिकप्टर सेवा सञ्चालन गरेकाे अनुभव छ । हाल यस कम्पनीसँग ८ वटा हेलिकप्टर रहेको छ ।
अनलाइन काराेबार अब पूर्ण स्वचालित, ४ बैंकमा खाता हुनेले शेयर किन्न ब्रोकर कहाँ जानै नपर्ने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक र प्रभु बैंकमा खाता हुने ग्राहकले अब शेयर कारोबारका लागि ब्रोकर कहाँ जानै नपर्ने भएको छ । नेप्सेले आफ्नो सिस्टममा ती बैंकलाई एकीकृत गरेसँगै आइतबारदेखि नै अनलाइन कारोबार गर्नसक्ने व्यवस्था मिलाएको जनाएको छ । योसँगै नेप्सेको कारोबार प्रणाली पूर्ण स्वचालित बनेको छ । बैंक इन्ट्रिगेसनसँगै मंगलबार नेप्सेले विज्ञप्ती जारी लगानीकर्ताहरुलाई यसको व्यवस्थाबारे थप प्रष्ट पारेको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीद्धारा जारी गरिएको विज्ञप्तीमा अनलाइन कारोबार गर्नेलाई एउटा डिम्याट खाताको लागि एउटै खाताको मात्र प्रयोग गर्न, ब्रोकरसँग सम्झौता गरेर युजरनेम र पासवर्ड लिई आवश्यक धरौटी बुझाउन र ऋण धितोमा रहेको शेयर विक्री नगर्न लगानीकर्ताहरुलाई आग्रह गरेको छ । साथै नेप्सेले निकट भविष्यमै विद्युतीय हस्तान्तरण गर्न सक्ने सबै बैंकबाट राफसाफको व्यवस्था गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्दै अनलाइनमार्फत् कारोबार गर्न नचाहने लगानीकर्ताका लागि ब्रोकर कार्यालयमा फोन गरेर अर्डर टिपाउने यसअघिको व्यवस्था कायमै रहेको समेत जनाएको छ । यसका लागि युजरनेम र पासवर्ड लिएर कारोबार गरेकाहरुले समेत फेरि म्यानुअल सिस्टमबाट कारोबार गर्न चाहेमा त्यो समेत उपलब्ध हुनेछ । हेर्नुहाेस् नेप्सेकाे विज्ञप्तीकाे पूर्ण पाठ
रिलायन्स लाइफ इन्स्योरेन्सले एकैदिन उद्घाटन गर्याे ७ नयाँ शाखा
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले एकैदिन ७ नयाँ शाखाहरुको उद्घाटन गरेको छ । इन्स्योरेन्सले मंगलबार मात्रै वीरगंज, पाल्पा, नारायणगढ, हेटौंडा,घोराही, तुलसीपुर र बुटवलगरी ७ वटा शाखाहरुको उद्घाटन सम्पन्न गरेको हो । वीरगंजशाखाको उद्घाटन कम्पनीका अध्यक्ष ताराचन्द केडिया र वीरगंज महानगरपालिकाका नगर उपप्रमुख शान्ति कार्कीले संयुक्त रुपमा गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली र नायब कार्यकारी अधिकृत निराजन कंडेलका साथमा पाल्पा शाखाको पाल्पा उद्योग वाणिज्य महासंघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, नारायणगढ शाखाको चितवन उद्योग वाणिज्य महासंघका अध्यक्ष सहनलाल प्रधान र हेटौंडा शाखाको मकवानपुर उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्ण कटवालले गरेका छन् । कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कंडेलका साथमा घोराही शाखाको घोराही उपमहानगरपालिका नगर उप-प्रमुख, सीता न्यौपाने, तुलसीपुर शाखाको उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे र बुटवल शाखाको प्रदेशन ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले गरेका हुन् ।