विकासन्युज

आइएमई डिजिटल र जनता बैंक नेपालबीच वित्तीय सम्झौता

काठमाडौं । आइएमई समुहद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र जनता बैंक नेपालबीच ‘ आइएमई पे’ मोबाइल मनी मार्फत वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र जनता बैंक नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार जनता बैंक नेपाल ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने भएको छ । साथसाथै जनता बैंक नेपालका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछ । आइएमई डिजिटल सोलुसनकाे यस्ताे छ अवस्था : १८ हजार भन्दाबढी एजेण्ट आउटलेट संजाल भएको आइएमई पे, आइएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको “भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२” बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्ने अनुमति प्राप्त गरेको हो र आइएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ । आइएमई डिजिटलले “आइएमई पे” ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराई राखेको छ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।

चितवनको खैरहनीमा ‘खिचरा’ महोत्सव हुँदै, पुस २८ गतेदेखि शुरु

चितवन। थारु समुदायको महान् पर्व माघी अर्थात छैठौं संस्करणको ‘खिचरा’ महोत्सवको तयारी तीव्र पारिएको छ । चितवनको खैरहनीमा आउँदो पुस २८ गतेदेखि माघ ७ गतेसम्म हुन गइरहेको महोत्सवमा थारु संस्कृति झल्कने घरहरुका साथै खानाका परिकारहरु, बाल उद्यान, अन्य विभिन्न जातजातिका खानाका परिकारहरु समेत महोत्सवमा व्यवस्था गरिने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा बाल उद्यान, कृषि परिसर, अटो परिसरलगायतका स्टलहरु रहनेछन् । महोत्सवमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु समेत हुने बताइएको छ । यस्तै, साँस्कृतिक कार्यक्रमलाई पनि यस वर्ष विशेष जोड दिईएको छ । यस वर्ष चर्चित कलाकाहरुको विशेष प्रस्तुती रहने साँस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए । महोत्सव पुस २८ गतेदेखि पूर्वी चितवनको खैरहनी नगरपालिका-५, गौचरनमा हुन लागेको महोत्सव मुल आयोजक समितिका क्षेत्र नं.७ का अध्यक्ष चुडामणी चौधरीले बताए । थारु समुदायले माघ १ गते नयाँ वर्षको रुपमा खिचरा (माघी) पर्व मनाउँदै आएका छन् । यही वर्षमा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले खिचरा महोत्सव गर्दै आईरहेको छ । महोत्सवमा प्रत्येक वर्ष दर्शकहरुको घुइचो लाग्ने गरेको छ ।

जनता बैंकद्धारा मोरङको मुसहर बस्तीका १५० परिवारलाई कम्बल वितरण

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले बिराटनगर महानगरपालिकावडा नं. १९, बैजनाथपुरको मुसहर बस्तिका १५० परिवारलाई कम्बल र खाद्यपदार्थ वितरण गरेको छ । बैंकले निजामती कर्मचारी श्रीमती संघको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको थियो । बैंकको प्रतिनिधि, निजामती कर्मचारी श्रीमती संघको पदाधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङको प्रतिनिधि र बिराटनगर महानगरपालिका वडा नं. १९ का वडा अध्यक्षको उपस्थितिमा उक्त सामाग्रीहरु वितरण गरिएको थियो । विपन्न वर्गका मुसहर समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रका बस्तीको १५० परिवारको लागि जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्बल उपलब्ध गराएको थियो । निजामती कर्मचारी श्रीमती संघलाई उक्त बस्तीका परिवारको विवरण मोरङ जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको संघले जनाएको छ ।

सेयर बजारमा ५ अंकको गिरावट

काठमाडौं । बुधबारको सेयर बजार ५.४२ अंकले घटेको छ । दिनभर उतारचढाव देखिएको बजारमा परिसूचक ०.४६ प्रतिशतले घटेर ११८० अंकमा झरेको छ । बजारमा कुल १५४ कम्पनीको २५ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(मंगलबार)को बजारमा कुल २२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । त्यस्तै, माइक्रो फाइनान्स र ट्रेडिङ समूह बाहेक कारोबारमा आएका बाँकी समूह ओरालो लागेका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ६८ अंकले ओरालो लागेको छ । माइक्रो फाइनान्स र ट्रेडिङ समूहको सूचक क्रमशः ६.५९ र २.७९ अंकले बढेको छ । बजारमा सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीको सेयर किनबेच भएको छ । कम्पनीको बुधबार मात्रै २ करोड २८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ६७५ रुपैयाँ रहेको छ । बुधबार कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.४२ प्रतिशत कमाएका छन् । उता अरुण काबेली पावरको सेयर मूल्य सबैभन्दा बढी ४.६६ अंकले घटेको छ ।

राष्ट्रिय बीमा कम्पनीका सीईओको राजिनामा स्वीकृत, पुस २० गतेदेखि लागू हुने

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) बीर विक्रम रायमाझीको राजिनामा स्वीकृत भएको छ । कम्पनीले सीईओ रायमाझीको राजिनामा पुस २० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । कम्पनीको १७०औँ संचालक समितिको बैठकले सीईओ रायमाझीको राजिनामा स्वीकृत गरेको हो ।

५ महिनामा भित्रियो ५ अर्ब ८० करोडको लगानी, हवाई क्षेत्रमा भूटानी ड्रुकएयरको इन्ट्री

काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा ५ अर्ब ८५ करोड ४० लाख रुपैँयाको विदेशी लगानी नेपाल भित्रिएको छ । कम्पनी रजिष्टार कार्यालयका अनुसार पछिलो ५ महिनामा २४ वटा विदेशी कम्पनी मार्फत लगानी भित्रिएको हो । नयाँ दर्ता भएका विदेशी कम्पनीमध्ये सबैभन्दा धेरै चुक्ता पूँजीे भूटानको ड्रुकएयर कर्पोरेशनको रहेको छ । सो कर्पोरेशनको चुक्ता पूँजी ५ अर्ब रुपैँया रहेको छ । हवाइजहाज र हेलिकप्टर सञ्चालनका लागि सो कम्पनी दर्ता भएको छ । चालु आर्थिक वर्षको पछिलो ५ महिनामा दर्ता भएको दोस्रो ठूलो विदेशी कम्पनीमा चीन नेशनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन रहेको छ । यो कम्पनीले निर्माण सम्बन्धी काम गर्ने उद्देश्य लिएको छ । कम्पनी रजिष्ट्राको कार्यालयमा दर्ता भएका कम्पनीहरुमध्ये अधिकांश कम्पनीहरु निमार्ण सम्बन्धी काम गर्ने उद्देश्य लिएका छन् । कम्पनी रजिष्ट्रार कार्यलयका कम्पनी रजिष्ट्रार भुवनहरि आचार्यका अनुसार विदेशी कम्पनीहरुले नेपालमा लगानीको वातावरण भएकाले ठूला कम्पनीहरु दर्ता गरिरहेको बताए । दर्ता भएका सबै विदेशी कम्पनी प्रदेश नम्बर ३ मा सञ्चालन हुने छन् ।

नेपाल एसबीआई बैंकको सेयर मूल्य घट्यो, आज किन्नेले बोनस नपाउने

काठमाडौं । बुधबार नेपाल एसबीआई बैंकको सेयर मूल्य प्रतिकित्ता ८ रुपैयाँले घटेको छ । मंगलबार प्रतिकित्ता ४०३ रुपैयाँमा कारोबार बन्द भएको यस बैंकको सेयर बुधबार ३९५ रुपैयाँमा झरेको छ । बैंकले गत वर्षको नाफा वितरणका लागि आजबाट बुक क्लोज गरेको छ । आज सेयर किन्नले गत वर्षको नाफाबाट बैंकले दिन लागेको ५ प्रतिशत बोनस सेयर ५ बोनस पाउने छैनन् । बोनस सेयरपछि नेप्सेले मूल्य समायोजन गरि यस बैंकको सेयर प्रतिकित्ता ४०३ रुपैयाँ तोकेको छ ।

यूएईमा गयो १०३ जना नेपालीको ज्यान, ४ को शव अझै आएन

काठमाडौँ । सन् २०१८ मा संयुक्त अरब इमिरेट्स(युएई) मा विभिन्न कारणबाट १०३ नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा आठ महिला र ९५ पुरुष रहेको आवुधावीस्थित नेपाली दूतावासले जनाएको छ । मृतकमध्ये तीन महिला र ४४ पुरुषको प्राकृतिक कारण, तीन महिला र ३० पुरुषको आत्महत्या तथा दुई महिला र २१ पुरुष कामदारको दुर्घटनामा परेर मृत्यु भएको हो । मृतक मध्ये सूर्य विक, अमृतबहादुर कार्की, सिर्जना बराल र अशोक भट्टराईको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ । उनीहरुको मृत्युका कारणबारे अध्ययन भइरहेकाले शव पठाउन ढिलाइ भएको र छिट्टै नेपाल पठाइने दूतावासले जनाएको छ ।