विकासन्युज

कालिका लघुवित्तले ७५ प्रतिशत हकप्रद निश्कासन गर्ने, सेयर मूल्य घट्यो

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ७५ प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ । संस्थाले आर्थिक वर्षको २०७५ असार मसान्तको चुक्ता पुँजीको सो मात्राको सेयर जारी गर्ने प्रस्ताव गरेको हो । संचालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । ७५ प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी १७ करोड ५० लाख रुपैयाँ पुग्ने छ । संस्थाले हकप्रद सेयर घोषणा सँगै कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बुधबार प्रतिकित्ता ११०४ रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य बिहीबार प्रतिकित्ता १०४५ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनमा ५९ रुपैयाँ घटी हो । बिहीबार संस्थाको सेयर मूल्य घटेर प्रतिकित्ता १०१० रुपैयाँसम्म कारोबार भएको थियो ।

सेटल्मेन्ट ग्यारेन्टी फण्ड खोल्ने प्रक्रिया अघि बढ्यो, शेयर किन्नेले पैसा नतिरे पनि बेच्नेले पैसा पाउने

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले भुक्तानी सुनिश्चित कोष (सेटल्मेन्ट ग्यारेन्टी फण्ड) गठन गर्ने प्रक्रिया अघि बढाएको छ । नेपाल धितोपत्र बोर्डले बुधबार सीडीएससीलाई त्यस्तो कोष स्थापना गर्न निर्देशन दिँदैगर्दा सीडीएससी भने त्यो कार्यमा एक कदम माथि पुर्याएकाे हाे । त्यसका लागि त्यस्तो कोष गठन गर्ने र त्यसलाई सञ्चालन गर्ने संयन्त्रबारे निर्णय भइसकेको बताइएको छ । ‘कोष दर्ता प्रक्रियाका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको छ, हाम्रो तर्फबाट संयन्त्र तयार पनि भइसकेको छ, दर्ता प्रक्रिया टुङ्गिएलगत्तै यो सञ्चालनमा आउँछ ।’ सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले विकासन्यूजसँग भने । धितोपत्र सूचीकरण तथा कारोबार विनियावलीमा भएको व्यवस्थाअनुसार कोषको सञ्चालन दर्ता र सञ्चालन प्रक्रिया अघि बढ्ने प्रमुख कार्यकारी अधिकृत गुप्ताको भनाई थियो । दर्ता प्रक्रिया टुङ्गिएपछि कोषको नाममा बैंक खाता खुल्ने र त्यसलगत्तै कोषले आफ्नो काम गर्न थाल्ने जानकारी समेत गुप्ताले दिए । गत साउन १ गतेदेखि लागु भएको धितोपत्र सूचीकरण तथा कारोबार नियमावलीको नियम २५, २६, २७ र २८ मा राफसाफ प्रणालीबारे व्यवस्था गरिएको छ जसमध्ये नियम २७ ले सेटल्मेन्ट ग्यारेन्टी फण्डको व्यवस्था गरेको छ । यसमा धितोपत्र व्यवसायीले कारोबार सेटलमेन्ट गर्न नसकेमा कोषमार्फत गर्ने र पछि सावा र ब्याजसहित असुलउपर गर्ने व्यवस्था छ । राफसाफ कोषमा धितोपत्र सेवा प्रदान गर्ने संस्था र धितोपत्र दलाल राफसाफ कोषमा धितोपत्रले प्रत्येक वर्षको मुनाफाको पहिलो ५ वर्षसम्म ०.५ प्रतिशत र त्यसपछि ०.२५ प्रतिशत रकम कोषमा बुझाउनुपर्ने व्यवस्था नियमावलीले गरेको छ । यस्तो कोष नहुँदा कुनै कारणले शेयर राफसाफमा ढिलाई भएमा शेयर बिक्रेताले पैसा पाउन ढिलो हुने अवस्था थियो । तर कोष गठन भएपछि बिक्रेताले समयमै रकम प्राप्त गर्ने सुनिश्चितता प्राप्त हुनेछ ।

चौतारी लघुवित्तको सेयर कारोबार खुला, मूल्य रेञ्ज कतिदेखि कतिसम्म ?

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको आज(बिहीबार)बाट सेयर कारोबार गर्न सकिने छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १११.८८ देखि २९५.२३ रुपैयाँसम्म मूल्य तोकेको छ । जुनसुकै कम्पनीको सेयर नेप्सेमा सूचिकरण भएको ७ दिनमा पहिलो कारोबार शुरु हुनेछ । बुटवलको बुद्धपथमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको हालसम्म १८ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ । साथै, कम्पनीको चुक्ता पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ ।

चीनकाे सबैभन्दा ठूलाे टेलिकमकाे स्मार्टफाेन नेपाली बजारमा, १८ हजारदेखि ४२ हजारसम्म पर्ने

काठमाडौँ । चीनकाे सबैभन्दा ठूलाे कम्पनीकाे सहब्राण्डकाे रुपमा रहेकाे अनरले नयाँ वर्षमा नयाँ स्मार्टफाेन ल्याएकाे छ । क्राताेस टेक्नाेलाेजीले साे ब्राण्डका स्मार्टफाेनहरुलार्इ नेपाली बजारमा भित्र्याएर बुधबारदेखि बिक्री सुरु गरेकाे छ । टेक्नाेलाेजीले ४ माेडलका स्मार्टफाेनहरु ल्याएकाे छ जसमा अनर सेभेन ए, अनर सेभेन एस, अनर ऐट एक्स र अनर प्ले माेडलहरु छन् । अनर सेभेन ए मूल्य १८ हजार ४९०, अनर सेभेन एसकाे १५ हजार ४९०, अनर ऐट एक्सको ३२ हजार ४९० र अनर प्लको ४२ हजार ४९० रुपैंया ताेकिएकाे छ । यी स्मार्टफाेनहरु प्रयाेगकर्ताहरुलार्इ चलाउन सजिलाे र रचनात्मक रहेकाे दाबी कम्पनीले गरेकाे छ । यसले स्मार्टफाेनकाे दुनियामा छुट्टै पहिचान बनाउन सफल हुने विश्वास पनि कम्पनीकाे छ । स्मार्टफाेनकाे लञ्चिङ कार्यक्रममा अनर कम्पनीका रिर्चस मेन्गीले भने ‘यो ब्राण्डको रचना नै डिजिटल दुनियाँको सागहरु सम्बोधन गरियको छ । ’  डिजिटल युगको आवश्यकता, अनरको मूल्य र कार्य दक्षताको अनुपातमा सटिक रुपमा सन्तुलित ब्राण्ड भएको उनले बताए ।

सेञ्चुरी बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र एशियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र एशियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ । बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२९ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

महोत्तरीको बर्दिवासमा गुडविल फाइनान्सको नयाँ शाखा

काठमाडौं । गुडविल फाइनान्सको चौंधौ शाखा महोत्तरी जिल्लाको बर्दिवासमा उद्घाटन गरेका छन्र। बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्की तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुदाधरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । प्रदेश नं. २ मा गुडविल फाइनान्सको विस्तारसँगै पाँचथरको फिदिम देखि बाँकेको नेपालगञ्ज साथै प्रदेश नं. ७ को राजधानी धनगढीमा पनि शाखा स्थापनासँगै सेवा प्रदान गर्दै आएको छ ।

सन् २०१८ मा अमेरिकी मनोरञ्जन उद्योग डिस्नेको आम्दानी सात अर्ब डलर

काठमाडौं । मनोरञ्जन उद्योगमा विश्वकै ठूलो कम्पनी डिस्नेले लगातार दोस्रो वर्ष सन् २०१८ मा करिब ७ अर्ब अमेरिकी डलरको व्यापार गरेको छ । डिस्नेले सन् २०१८ मा विश्वव्यापी रुपमा चर्चित “ब्लाक प्यान्थर”, “एभेन्जर्सः इन्फिनिटी वार” देखि एनिमेटेड सिक्वेल चलचित्र “इन्क्रेडिबल २” र पछिल्लो “स्टार वार्स” चलचित्र बजारमा ल्याएको थियो । बक्स अफिसमा वार्षिक ७ अर्ब डलरभन्दा बढी आर्जन गर्ने विश्वकै एकमात्र कम्पनी डिस्नेको सन् २०१६ को आम्दानी ७ अर्ब ६० करोड डलर थियो । डिस्ने, पिक्सार, मार्भेल स्टुडियो र लुकास फिल्मलाई मन पराउने विश्वभरका समर्थकलाई धेरै धेरै धन्यवाद,” वाल्ट डिस्ने स्टुडियोका अध्यक्ष अलान होर्नले बताएका थिए । उत्तर अमेरिकामा डिस्नेले झण्डै ३ अर्ब १० करोड डलर आम्दानी गरेको थियो । डिस्नेका केही चलचित्र अहिले विश्वकै उत्कृष्ट १० स्थानभित्र रहेका छन् । “ब्लाक प्यान्थर”, “एभेन्जर्सः इन्फिनिटी वार”, “इन्क्रेडिबल २” र “स्टार वार्स” समेतका प्रत्येक चलचित्रले संयुक्तराज्य अमेरिका र क्यानाडामा ६० करोड अमेरिकी डलरभन्दा बढी कमाएका छन् । यी चलचित्रले कूल चार अर्ब ६४ करोड अमेरिकी डलर आम्दानी गरेका छन् । सन् २०१९ मा डिस्नेले अर्को फड्को मार्दैछ । “क्याप्टेन मार्भेल” र “एभेन्जर्सः इन्डगेम” नयाँ स्वरुपमा आउँदैछ भने “फ्रोजेन २” र “स्टार वार्सः इपिसोड नाइन” वर्षको अन्त्यमा बक्स अफिसमा आउनेछ । एनिमेटेड चलचित्रका नयाँ संस्करणका रुपमा “डम्बो”, “अल्लादीन” र “दी लायन किङ” बजारमा आउँदैछन् भने डिस्नेको सहायक कम्पनी पिक्सारको उत्पादनका रुपमा “टोय स्टोरी फोर” पनि यसै वर्ष बक्स अफिसमा आउनेछ । रासस एएफपी

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको शुल्क वृद्धि, सर्वसाधारण र अधिकारकर्मी विरोधमा

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको स्वास्थ्य शुल्क वृद्धि गर्ने निर्णयविरुद्ध चौतर्फी विरोध भएको छ । प्रतिष्ठानले केही दिन अघि स्वास्थ्य सेवामा शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो । अस्पतालमा गुणस्तरीय तथा प्रभावकारी सेवा नहुँदै जनतालाई मारमा पार्ने गरी भएको शुल्क वृद्धिको निर्णय फिर्ता गर्न जिल्लास्थित सम्बद्ध निकायले आग्रह गरेका छन् । बिरामी भर्ना शुल्कमा रु २५ बाट रु १०० पुर्याइएको छ भने आकस्मिक बिरामी भर्ना शुल्कमा रु २५ बाट रु २०० पुर्याइएको छ । साथै सुत्केरी महिलाले प्रसूति गराए बापत सुत्केरी खर्च प्राप्त गर्दै आएकोमा उल्टो रु सात हजारदेखि रु १२ हजार लाग्ने भएपछि सर्वसाधारणदेखि अधिकारकर्मी शुल्क वृद्धिको विरोधमा उत्रिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिले विज्ञप्ति नै जारी गरेर तत्कालको सेवा सुविधाकै अवस्थामा शुल्क वृद्धि गर्नु गलत भएको बताएको छ । तत्कालीन राप्ती उपक्षेत्रीय अस्पतालले दिँदै आएको सेवा सुविधामा गरेको कटौतीको कुराले सरोकार समितिको ध्यानाकर्षण भएको जनाएको छ । सेवा सुविधाको अवस्थामा शुल्क वृद्धि र पाई आएको सुविधा कटौतीले प्रतिष्ठानप्रति नै नकारात्मक भावना वृद्धि हुने भएकाले शुल्क वृद्धि नगर्न र पाई आएको सेवा सुविधा कायम गराउन जोडदार माग गरिरहेको संयोजक नारायण भुसालले उल्लेख गरेका छन् । प्रतिष्ठानको विषयमा प्रतिनिधिसभा सदस्य सांसद मेटमणि चौधरीले सरकारले स्वास्थ्य सेवालाई भरपर्दो, सर्वसुलभ र निःशुल्क बनाउने घोषणा गरे पनि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले खिल्ली उडाएको जनाएका छन् । प्रतिष्ठानको कदमविरुद्ध नेकपा दाङ, राष्ट्रिय जनमोर्चा दाङ र नागरिक समाज दाङले समेत विज्ञप्ति जारी गरेर विरोध जनाएका छन् । रासस