विकासन्युज

प्राइम बैंकको नयाँ शाखा पाँचथरको  फालेलुङ गाँउपालिकामा

काठमाडौं । प्राइम कमर्सियल बैंकले पाँचथरको फालेलुङ गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ । ६९ औं शाखा फालेलुङ गाँउपालिका अध्यक्ष सन्चकुमार केरुङले शाखा कार्यालयको उद्घाटन गरेका थिए । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा रहेको थियो । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने छ ।  

प्रभु इन्स्योरेन्स र चिरायु हस्पिटल एण्ड मेडिकलबीच नगद रहित सम्झौता

काठमाडौं । प्रभु इन्स्योरेन्स र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबीच नगद रहित सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले तथा चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटको तर्फबाट हस्पिटल डाइरेक्टर सन्जिव राजभण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएता पनि बीमा लेखको सिमासम्म नगद रहित सुविधा प्राप्त गर्न सक्नेछन् ।

वाइड वडी घोटाला प्रकरणः छुट्टै छानविन गर्दै सरकार

काठमाडौं । सरकारले वाइड वडी घोटाला प्रकरणबारे  छुट्टै छानविन गर्ने भएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रबिधी मन्त्री गोकुल बास्कोटाले वाइड वडी जहाज खरिद प्रकरणबारे सरकारले छुट्टै छानविन समिति गठन गर्ने संकेत व्यक्त गरेका हुन् । ‘उप समितिले छानविन प्रतिवेदन तयार पारेको छ, अब समितिमा छलफल होला, परिपक्क प्रतिवेदन आएपछि सरकारले आफ्नो पोजिसन स्पष्ट पार्छ, आवश्यक परेमा सरकारले आफैं छानविन पनि गर्न सक्छ’, मन्त्री बास्कोटाले भने । उनले सार्वजनिक लेखा समितिको उप समितिले तयार पारेको प्रतिवेदन पूर्ण नभएको पनि बताएका छन् । ‘उप समितिको प्रतिवेदनकै आधारमा भ्रष्टाचारी घोषणा गरिनु हुन्न, त्यसलाई थप अध्ययन गरिनुपर्छ, अदालतले पुष्टि नगरेसम्म भ्रष्टाचारी प्रमाणित हुन्न’, मन्त्री बास्कोटाले भने । मन्त्रिपरिषदले गठन गर्ने समितिलाई बिभिन्न आरोप आउन सक्ने ठोकुवा पनि गरे । ‘आवश्यक परे सरकारले आफैं छानविन गर्न सक्छ तर भ्रष्टाचारीलाई जोगाउन छानविन गर्न थाल्यो भन्ने आरोप पनि आउन सक्छ’, मन्त्री बास्कोटाले भने । बुधबार सार्वजनिक लेखा समिति अन्तर्गत गठित उप समितिले वाइड वडी जहाज खरिद प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार भएको प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदनले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई कारवाही गर्न सिफारिस गरेको थियो । प्रतिवेदनले गृह सचिव प्रेम कुमार राई र पर्यटन सचिव कृष्ण प्रसाद देवकोटालाई पनि कारवाही सिफारिस गरेको छ । त्यस्तै, नेपाल बायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई पनि तत्काल कारवाही सिफारिस गरेको छ ।

मुक्तिनाथ विकास बैंकद्धारा छुट्टाछुट्टै स्थान सहयोग प्रदान

काठमाडौं । मुक्तिनाथ विकास बैंकद्धारा छुट्टाछुट्टै ५ स्थान सहयोग गरेको छ । मुक्तिनाथ विकास बैंकले सिराहाको गोलबजार र कास्कीको बुढीबजार शाखाले टोल तथा बजारमा १०/१० वटा डस्टबीन वितरण, रुपन्देहीको भैरहवा र कोटिहवाशाखा तथा स्याङ्गजाको चापाकोट र गल्याङ्ग शाखाहरुले नजिकका वृद्धाश्रम तथा अनाथालयमा ब्ल्याङ्गकेट वितरण गरेको छ । काठमाण्डौंको कुलेश्वर शाखाले रवि भवनको आमा घरमा खाद्यान्न वितरण, उदयपुरको कटारी शाखाले त्रिवेणी माध्यामिक विद्यालयलाई स्वीटर वितरण, पर्साको वीरगञ्ज शाखाले समता विद्यालयका विद्यार्थीहरुलाई जुत्तामोजा वितरण, झापाको विर्तामोड शाखाले अरुणोदय आधारभुत विद्यालयका विद्यार्थीहरुलाई आवश्यक स्टेस्नरी सामान वितरण गरेको छ । सिन्धुलीको कमलामाई शाखाले श्री नवज्योति बहिरा माध्यामिक विद्यालयलाई आवश्यक स्टेस्नरी सामान तथा पानी फिल्टर वितरण, तनँहुको दुलेगौंडा शाखाले वि पि कम्युनिटि हस्पिटललाई १ थान पानी शुद्धिकरण मेसिन वितरण तथा क्षेत्रीय कार्यालय पोखरा अन्तर्गतका शाखा कार्यालयहरुले वास्यान वृद्धाश्रमलाई आवश्यक सामाग्री वितरण तथा वृहत रक्तदान कार्यक्रम गरी मनाएका छन् । बैंकले साप्ताहिक वार्षिक उत्सव विशेष कार्यक्रम हप्ताभरी नै सञ्चालन गर्दै आइरहेको छ ।

१२ औँ चितवन महोत्सव पुस २५ देखी ४ माघसम्म हुने, पहिलो पटक कृत्रिम चिडियाखाना पनि

काठमाडौँ । १२ औं चितवन महोत्सव यहि पौष २५ देखि माघ ४ गतेसम्म संचालन हुने भएको छ । महोत्सव नारायणी नदीकिनार नारायणगढमा हुने भएको छ । चितवनको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथै उद्योग व्यवसाय प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले प्रत्येक २/२ वर्षको अन्तरालमा चितवन महोत्सव हुँदै आएको छ । महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् । चितवन महोत्सवका मूल संयोजक सहनलाल प्रधानले ‘पहिले पहिलेको चितवन महोत्सव र अहिलेको चितवन महोत्सवमा केही फरक अनुभूति देखिने छ ।’ नेपालमा नै पहिलो पटक कृत्रिम चिडियाखाना समेत रहने बताए । महोत्सवमा ८ वटा विशेष स्टल र ५३० वटा स्टल रहनेछन् । यसवर्ष महोत्सवमा कृत्रिम चिडियाखाना थप गरिएको छ । पर्यटन र कृषिलाई प्राथमिकता दिइएको छ । महोत्सव अवधिभर कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनमा आधारित विभिन्न कार्यशालाहरु हुनेछन् । कुल ५ लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको कारोबार हुने अनुमान गरिएको छ । ‘बालुवामा कुँदिएको २० फिट लम्बाइ, १० फिट चौडाइ रहेको माछाको कलात्मक आकृतिसमेत महोत्सव परिसरमा रहन्छ । यसवर्षको चितवन महोत्सवको समापन प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गर्नै छन् ।

सिटी एक्स्प्रेसको“लखपति एक्स्प्रेस” योजनाको तेस्रो महिनाको १ लाख विजेता मोरङ्गकाे रूना 

काठमाडौं । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजना अन्तर्गत साउदी अरबको अरब नेशनल बैंक, टेलिमनिबाट पैसा पठाई तेस्रो महिनाको रु १ लाखको मासिक लक्कीड्रमा परी मोरङ्गकी रुना धिमाल विजेता घोषित भएको छन् । ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी पुरस्कार हस्तान्तरण गरिएको छ । यस उपहार योजना अवधिमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत १ हजार ८०जनाले रु२०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ३६जना विजेताले रु १० हजार र २ जनाले रु १ लाख जिति सकेका छन् । सिटी एक्स्प्रेसको“लखपति एक्स्प्रेस”उपहार योजना अन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्ने त्यसैगरी साप्ताहिक रुपमा तीनजना विजेताहरुले रु १० लाख र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनाले रु १ लाख जित्न सक्ने, उपहार योजनाको अन्त्यमा एकजना भाग्य शाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर १२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा रु १२ लाख सम्म जित्न सक्नेछन् ।

नेपालीलाई खुरुखुरु भिसा दिँदै अष्ट्रेलिया, यो वर्ष सबैभन्दा बढी भिसा पाउनेमा नेपाली

काठमाडौं। पछिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष अष्ट्रेलियामा भिसा पाउने दर बढ्नेमा सबैभन्दा अगाडि नेपाली रहेका छन्। अष्ट्रेलियाको आन्तरिक विभागको अनुसार अस्ट्रेलिया बाहिर बसेर भिसा आवेदन गर्ने नेपालीहरुको भिसा पाउने दर ४१.५ प्रतिशतले वृद्धि भएको हो। यस बर्ष भिसा पाउने दरमा भारत ३२.५ प्रतिशत सहित दोस्रो स्थानमा छ भने चीन ३.५ प्रतिशत सहित तेस्रो स्थानमा रहेको छ। २०१७/१८ को अवधिमा ४१३,३२७ विद्यार्थीले भिसा आवेदन दिएकोमा अष्ट्रेलियन सरकारले ३७८,२९२ विद्यार्थीहरुलाई मात्र भिसा प्रदान गरेको थियो। (१ जुलाई २०१७ देखि ३० जून २०१८ सम्म) अष्ट्रेलिया भित्र र अष्ट्रेलिया बाहिर रहेका नेपालीले पछिल्लो महिना मात्र २,२३१ भिसा पाउँदै हालको आर्थिक वर्षमा राम्रो गरिरहेका छन्। गत बर्षको नोभेम्बरमा मात्र १,४४४ विद्यार्थीलाई भिसा दिइएको तुलनामा यस बर्षको संख्या ५४.५ प्रतिशतले वृद्धि भएको देखिन्छ। चार देशहरु चीन, भारत, नेपाल र ब्राजीलले अष्ट्रेलियाका शिक्षा उधोगको नेतृत्व गरिरहेको छ। यस वर्षको ३० जुनसम्ममा अष्ट्रेलियामा विद्यार्थी भिसा पाउनेमा ५० प्रतिशत संख्या चीन, भारत, नेपाल र ब्राजीलको रहेको छ।

एभरेष्ट बैंकले लुम्विनी विकास कोषलाई कुर्सी हस्तान्तरण

काठमाडौं । एभरेष्ट बैंकद्वारा लुम्विनी विश्व सम्पदा क्षेत्रमा अवस्थित मायादेवी मन्दिर परिसर तथा यस परिसरका अन्य ठाउँमा पर्यटकको थकान मेटाउनका लागि २० थान बस्ने कुर्सी लुम्विनी विकास कोषलाई हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठद्वारा कार्यक्रमका प्रमुख अतिथि भेनेरेबल मित्तीया शाक्यपुत्त लाई कुर्सी हस्तान्तरण गरेका छन्र । उक्त कार्यक्रममा लुम्विनी विकास कोषका कोषाध्क्षय सुरेन्द्र मुनिशाक्य, परियोजना प्रबन्धक सरोज भट्टराई, बोर्ड सदस्य अमारिका कोहर लगायत लुम्विनी विकास कोषका वरिष्ठ पदाधिकारीहरु, विभिन्न गुम्बाका पदाधिकारीहरु,, स्थानीय व्यापारीहरु, होटल व्यवसायहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो । एभरेष्ट बैंकले आफ्ना १० लाखभन्दा ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ । बैंकले हाल आफ्ना ८६ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत आन्तिरिक तथा बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आएको छ ।