सिप्रदी अर्थमुभर्सले टाटा हिटाचि एक्स १३० र एक्स ७० सार्वजनिक
काठमाडौं । नेपालका लागी टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्सले नयाँ प्रोडक्ट लन्च गरेको छ । हालैमात्र आफ्नो नयाँ प्रोडक्ट टाटा एक्स १३० र एक्स ७० लन्च गरेको छ । विविध विशेषता युक्त टाटा इ एक्स १३० ले कम इन्धन खपतमा कार्य गर्न सक्नुका साथै कम समयमा नै लगानिको प्रतिफल प्रदान गर्ने कुरा उक्त कार्यक्रममा जानकारी दिएका थिए । साथै सिप्रदी अर्थमुभर्सले विगत लामो समयदेखी नेपाली बजारमा बिभीन्न साइजको एक्जाभेटर, ब्याकोन लोडर र व्ह्लि लोडर उपलब्ध गराउदै आएको छ ।
यी तीन मध्ये नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कस्ले मार्ला बाजी ?
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूर सञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को प्रबन्ध निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयले संगीता पहाडी (अर्याल), डिल्लीराम अधिकारी, र बुद्धिप्रसाद आचार्यको नाम मन्त्रिपरिषदमा सिफरिस गरेको हो । मन्त्रालयले ९ जनाको व्यवसायिक योजना र अन्तरवार्ताबाट उत्कृष्ट ३ जना छनोट गरी मन्त्रिपरिषद पठाएको हो । छनोट समितीले सोमबार ५ जना र मंगलबार ४ जनाको अन्तरवार्ता लिएको थियो । प्रबन्ध निर्देशकका लागि पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य, डा बिमल आचार्य, सनाउल्लाह खान, गोकर्णप्रसाद सिटौला, डिल्लीराम अधिकारी, नगेन्द्रकुमार दास, चन्द्रमोहन झा, प्रदीपराज उपाध्यय र संगिता पहाडी (आचार्य) गरी ११ जनाले निवेदन दिएका थिए । यी मध्ये ३ जनाको नाम मन्त्री परिषद्मा पेश भएको हो–मन्त्रालयको प्रवक्ता ऋषिराम तिवारीले बताए । मन्त्रालयले प्रबन्ध निर्देशक नियुक्तिको लागि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिमा विज्ञको रुपमा उमाकान्त पराजुलीलाई राखिएको छ भने मन्त्रालय प्रशासन महाशाखाकी प्रमुख राधिका अर्याल सदस्य रहेकी थिइन् । समितिले आवेदकको योजना, शैक्षिक योग्यता, व्यवसायिक अनुभवलाई आधार मानेर ३ उत्कृष्ट व्यक्तिको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो । सिफारिस भएका तीन जनामध्ये एकलाई मन्त्रीपरिषदले प्रबन्ध निर्देशकको रुपमा नियुक्त गर्नेछ । समितिलाई प्राप्त अधिकार अनुसार प्रक्रिया शुरु भएको २१ दिन भित्रैमा ३ जनाको नाम मन्त्रिपरिषदमा पठाएको हो । गत साउन २९ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेपछि सो पद रिक्त रहको छ । राजभण्डारीले आफ्नो बर्खास्तीको निर्णय गैरकानूनी भएको भन्दै पुनर्बहालीका लागि सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उक्त रिटविरुद्ध सरकारले अन्तरिम आदेश नदिएपछि सरकारलाई नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि बाटो खुलेको थियो । नेपाल दूरसञ्चार प्रधिकरणको तथ्याङ्क अनुसार हाल टेलिकमका १ करोड ९५ लाख प्रयोगकर्ता छन्, जुन कूल प्रयोगकर्ताको ४० प्रतिशत हो । कूल १५ अर्ब चुक्ता पूँजी भएको उक्त कम्पनीमा जनताको समेत लगानी छ । टेलिकमको बजार पूँजीकरण १ खर्ब १५ अर्ब भन्दा बढी छ, जुन सूचिकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै हो । हाल सूर्यभक्त पोखरेलले कामु प्रबन्ध निर्देशकको भूमिका निर्वाह गरिरहेका छन् । लामो समयदेखि नेपाल दूर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) प्रमुख कार्यकारी नहुँदा दैनिक प्रशासनिक कार्यमा समेत असर परेको स्रोतको दाबी छ ।
माछापुच्छ्रे बैंकको १० प्रतिशत नगद लाभांश पारित, अध्यक्षमा डा. महतो चयन
काठमाडौं । माछापुच्छ्रे बैंकको प्रस्तावित १० प्रतिशत नगद लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको २०औँ वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त सभा पोखरामा बैंकका संचालक समितिका अध्यक्ष रोशन के.सीको सभापतित्वमा सम्पन्न भएकाे छ । सभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा.बिरेन्द्रप्रसाद महतो, रोशन के.सी. र गोपीकृष्ण न्यौपानेलाई सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेको छ । साथै, सभापछि बसेको सञ्चालक समितिको बैठकले डा.बिरेन्द्रप्रसाद महतोलाई बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ । साथै, उक्त साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को लागि जी.पी. राजवाहक एन्ड कम्पनीलाई लेखा परीक्षक नियुक्ती गर्ने निर्णय पनि गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८१ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैयाँ संचित छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमाससम्ममा ३७ करोड १६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । साथै, २०७५ असोज मसान्त सम्ममा बैंकले ७७ अर्ब ९८ करोड रुपैयाँ निक्षेप परिचालन गरी ७१ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले हालसम्म ८८ वटा शाखाहरु लगायत २ एक्सटेन्सन काउन्टर र ५२ शाखा रहित बैकिङ्ग सेवाबाट सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १०८ वटा एटीएमहरु संचालनमा रहेको छ ।
समायोजनले कुनैपनि कर्मचारीको वृत्ति विकास रोकिँदैन: मन्त्री पण्डित
काठमाडौँ । सरकारले कुनैपनि राष्ट्र सेवकको वृत्ति विकासलाई नरोक्ने गरी कर्मचारी समायोजन अध्यादेश विधेयक, २०७५ ल्याएको स्पष्ट पारेको छ । राष्ट्रियसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सबै कर्मचारीलाई सहजरूपमा सेवा सुविधा तथा वृत्ति विकासका लागि मन्त्रालयले विशेष ध्यान दिएको बताए । आधिकारिक टे«ड युनियनसँग पनि समायोजनका बारेमा छलफल भएको र उहाँहरूले पनि सहमति जनाएको जानकारी दिँदै मन्त्री पण्डितले अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत हुँदासम्म सबै समस्या समाधान हुने विश्वास व्यक्त गरे । नागरिकलाई स्थानीय तहमा नै सहजरूपमा सेवा सुविधा उपलब्ध गराउने लक्ष्यका साथ कर्मचारी व्यवस्थापन गर्न लागेको भन्दै अवसर र जिम्मेवारीको समेत बाँडफाँट गरेर काम गर्ने संस्कार बसाल्न लागिएको बताए । सङ्घीय सरकारको मूल्य र मान्यतालाई प्रभावकारी कार्यान्वयन गर्न उक्त अध्यादेश ल्याइएको मन्त्री पण्डितको भनाइ थियो । मन्त्री पण्डितले प्रदेश र स्थानीय तहसँग जोडिएका अन्य कानूनसमेत छिट्टै सदनमा प्रस्तुत गर्ने जानकारी दिए । सङ्घीयता कार्यान्वयनका सम्बन्धमा जोडिएका सबै नियम तथा कानून निर्माणमा सरकारले ध्यान दिएकोसमेत उनको भनाइ थियो । राष्ट्रियसभाको आजको बैठकले ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
शुरु भयो शिखर सुज एकल प्रदर्शनी, कम्तीमा १५ प्रतिशत छुट
काठमाडौँ । भृकुटी मण्डपमा आजदेखि शिखर सुज एकल प्रदर्शनी शुरु भएको छ । प्रदेश नम्बर ३ का आर्थिक मामिला मन्त्री कैलाश ढुंगेलले एक समारोहका बीच प्रदर्शनीको उद्घाटन गरे । सो अवसरमा मन्त्री ढुंगेलले स्वदेशी उद्योगको प्रबद्र्धनमा प्रदेश सरकार सक्दो सहयोग गर्न तयार रहेको बताए । २० दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा जुत्ता खरिद गर्दा कम्तीमा १५ प्रतिशत छुट हुने कम्पनीले जनाएको छ । शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईँले नेपाली ग्राहकहरुका लागि आकर्षक र सस्तो जुत्ता उत्पादन गर्दै आएको र आगामी दिनमा नेपालीहरुको भावना र चाहनालाई बुझेर आफ्ना उत्पादन ग्राहक समक्ष ल्याउने बताए ।
बाँकेको नरैनापुर ‘ल्याप्चे मुक्त’ गाउँपालिका निर्माण अभियानको शुरुवात
काठमाडौं । बाँके जिल्लाको नरैनापुर गाउँपालिकालाई ‘ल्याप्चे मुक्त’ गाउँपालिकाका निर्माण गर्ने अभियान अगाडी सरेको छ । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले, गाउँपालिकाका बनाउने अभियान शुरु गरेको जानकारी दिँदै १२ हजार बढी नागरिक निरक्षर रहेको बताएका छन् । गाउँपालिकामा निरक्षरको तथ्याङ्क सङ्कलन गरेर साक्षर बनाउँनुको साथै ‘ल्याप्चे मुक्त’ क्षेत्र बनाउने अभियान रहेको गाउँपालिका अध्यक्षले जानकारी दिएका छन् । ल्याप्चेका कारण सामाजिक सुरक्षाभत्ता वितरणमा समेत समस्या भइरहेको हुँदा तथ्याङ्क सङ्कलन गरेर पहिलो चरणमा तीन हजारलाई साक्षर बनाइने भएको छ । अध्यक्ष साहका अनुसार पहिलो चरणमा साक्षर गराएकाले बाँकी रहेका निरक्षरलार्ई साक्षर बनाउन परिचालन गर्ने गरी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् । चैतभित्र तीन हजार निरक्षरलाई साक्षर बनाउने लक्ष्य अनुसार गाउँपालिकाका छवटै वडामा खटिने १०० सहजकर्तालाई रु १४ लाख मूल्य बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । नरैनापुरसँगै नेपालगञ्ज उपमहानगरका विभिन्न वडा र बाँकेमा गरी अझै ८० हजारको हाराहारीमा नागरिक निरक्षर रहेको तथ्याङ्कले जनाएको छ । उक्त गाउँपालिकालाई साक्षर बनाउन अभियान सुचारु गरेको बताएका छन ।रासस
रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित, यस्तो छ नयाँ नेतृत्व
काठमाडौं । नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । विहीबार राजधानी काठमाडौंमा सम्पन्न १३ औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो । पोखरेल आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । साधारण सभाले सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लिका चन्द्र टण्डनलाई उपाध्यक्ष, नेपाल रेमिट इ. प्रा.लिका रितेश मित्तल महासचिवमा निर्वाचित गरेको छ । सुर्य रेमिटका संजय सिग्देल कोषाध्यक्ष, आइपे रेमिटका इन्द्र शर्मा सचिव चुनिएका छन् । कार्यसमिति सदस्यहरुमा युमा श्रेष्ठ (हिमालयन बैंक), प्रविन अधिकारी (युनाइटेड रेमिट), दीपेन्द्र खनाल (इजीलिकं) चुनिएका छन् । विधानअनुसार निवर्तमान अध्यक्ष दिवाकर थापा कार्यसमितिमा रहनेछन् । कार्यसमितिको अध्यक्षमा चयन भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानमा आफ्नो नेतृत्व निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।सबै रेमिटेन्स कम्पनीहरू संगठित भइ आफ्ना समस्याहरू सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्यले २०६० सालमा नेपाल रेमिटर्स एसोसिएसनको स्थापना गरिएको थियो ।
प्राधिकरणको नाफा ७ अर्बभन्दा बढी, चालु आवमा ३८ अर्ब ११ करोड बजेट विनियोजन
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पछिल्ला वर्षमा निरन्तर नाफा आर्जन गर्न सफल भएको छ । प्राधिकरणले स्थापनापछि पहिलोपटक आव २०६८/६९ मा नाफा आर्जन गरेको थियो । पछिल्ला वर्षमा पनि निरन्तररूपमा आर्जन गर्दै सात अर्बभन्दा बढी नाफा पुर्याएको छ । प्राधिकरणको २०औँ वार्षिकोत्सवका अवसरमा हालै सार्वजनिक गरिएको प्रतिवेदनअनुसार आव २०७३/७४ सम्मको कूल सञ्चित नाफा सरकारलाई बुझाउने लाभांशबापतको रकम कट्टा गरेपछि ७ अर्ब ३७ करोड ५६ रुपैयाँ लाख पुगेको छ । सो नाफाको आधारमा महालेखा परीक्षकबाट प्रमाणित आव २०७२/७३ सम्मको वित्तीय विवरणबमोजिम सरकारको शेयर लगानीको लाभांशबापत छुट्याइएको रकम एक अर्ब ६३ करोड ५६ लाख रुपैयाँ भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले आव २०७४/७५ मा छ अर्ब २३ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ । उक्त आवका लागि प्राधिकरणको आय विमानस्थल विकास शुल्कबाहेक पाँच अर्ब ४९ करोड ४३ लाख रुपैयाँ प्रक्षेपण गरेकोमा ७४ करोड १६ लाख रुपैयाँ वृद्धि भई छ अर्बभन्दा बढी आम्दानी गर्न सफल भएको हो । चालू आव २०७५/७६ मा प्राधिकरणले ३८ अर्ब ११ करोड ६९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटमध्ये पूँजीगत खर्चतर्फ ३४ अर्ब २५ करोड चार लाख रुपैयाँ तथा कार्य सञ्चालनतर्फ तीन अर्ब ८६ करोड ६५ लाख रुपैयाँ निर्धारण गरिएको छ । आव २०७४/७५ मा क्यानले पूँजीगत खर्चतर्फ ३२ अर्ब ६५ करोड १४ लाख रुपैयाँ र कार्य सञ्चालनतर्फ तीन अर्ब ५३ करोड १५ लाख रुपैयाँ गरी जम्मा ३६ अर्ब १८ करोड २८ लाख रुपैयाँ व्यय अनुमान गरिएकोमा पूँजीगत खर्च १७ अर्ब तीन करोड ९४ लाख र कार्य सञ्चालन खर्च दुई अर्ब २२ करोड ८० लाख रुपैयाँ गरी जम्मा १९ अर्ब २६ करोड ७५ लाख रुपैयाँ खर्च भएको क्यानले जनाएको छ । चालू आव २०७५/७६ को स्रोततर्फ आम्दानी पाँच अर्ब ९६ करोड ९३ लाख रुपैयाँ, विमानस्थल विकास शुल्क दुई अर्ब ६४ करोड ५० लाख रुपैयाँ एवं ऋण, शेयर तथा अनुदानबाट २० अर्ब ८५ करोड रुपैयाँ गरी जम्मा २९ अर्ब ४६ करोड ४३ लाख रुपैयाँ हुने अनुमान गरिएको क्यानले जनाएको छ । प्राधिकरणले मूल्य अभिवृद्धि कर, साँवा ब्याज भुक्तानी र लाभांशबापतको रकम गरी जम्मा तीन अर्ब २४ करोड ८९ लाख रुपैयाँ सरकारलाई भुक्तानी गरी राजश्वमा उल्लेखनीय योगदान गरेको जनाएको छ । रासस